कला/साहित्य सोमबार, चैत २४, २०७६

चलचित्रमा कोरोना कहर: कर मिनाहा माग गर्दै चलचित्र निर्माता संघ

नुनुता राई

चलचित्रमा कोरोना कहर: कर मिनाहा माग गर्दै चलचित्र निर्माता संघ

प्रदर्शनको तयारीमा रहेका नेपाली चलचित्रहरू बन्दाबन्दीको चपेटामा परेका छन् । कोरोनाभाइरस (कोभिड १९) संक्रमण नियन्त्रणका लागि नेपाल सरकारले अत्यावश्यक काम बाहेक सार्वजनिक भिडभाडमा नजान अनुरोध गरेपछि ३० फागुनमा प्रदर्शनको तयारीमा रहेको ‘म यस्तो गीत गाउँछु–२’ ले प्रर्दशन मिति स्थगित गरेको थियो ।

त्यस्तै ७ चैत्रमा प्रदर्शन मिति तय गरेको ‘नीरफूल’ र २८ चैत्रमा प्रदर्शनको तयारीमा रहेको ‘प्रेम गीत –३’ ले पनि प्रदर्शन मिति स्थगित गरेको छ । यी तीन चलचित्रसँगै अरु १० वटा नेपाली चलचित्रहरूको प्रदर्शन स्थगित भएको निर्माता संघका अध्यक्ष आकाश अधिकारीले बताए ।

चैत्र महिनामा छायांकन थालिएको र छायांकन अनुमति लिईएका १० चलचित्रहरूको र बैशाख महिनामा छायांकन हुने करिब २० वटा चलचित्रहरुले छायांकन मिति स्थगित गरेको अधिकारीले बताए ।

कोरोनाभाइरस (कोभिड १९) संक्रमणको आतंकले विश्वलाई त्रसित बनाएको छ । नेपाल सरकारले संक्रमण फैलन सक्ने जोखिम कम गर्न ११ चैत्रदेखि बन्दाबन्दी गर्दै आईरहेको छ ।

नेपालमा पर्यटन क्षेत्रपछि यसले सबैभन्दा ठूलो असर चलचित्र उद्योगलाई गरेको चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीको जिकिर छ । उनी भन्छन् ‘पर्यटन क्षेत्रपछि नेपालीचलचित्र उद्योगमा यसले बढी असर गरेको छ । ७२ सालको भूकम्पले भन्दा कोरोनाभाइरस (कोभिड १९) ले ठूलो असर देखिन्छ ।’

प्रदर्शनको मिति तय गरिसकेको सबै फिल्महरू अनिश्चिकालीन स्थगित भएका छन् । अधिकारीका अनुसार यसको घाटा केही कम गर्न नेपाल राष्ट्र ब्याङ्कले ऋणको ब्याज र चलचित्र प्रदर्शन गरेबापत सरकारले उठाउने सम्पुर्ण करहरू दश महिनादेखि एक वर्षसम्म मिनाहा गर्नुपर्ने माग राखेर राष्ट्र ब्याङ्क र अर्थमन्त्रालयमा अनुरोधपत्र पठाइएको छ ।

व्यत्तिगत रुपमा सहभागी भएर अनुरोध गर्न सक्ने अवस्था नरहेको कारण इमेल गरेर अनुरोध गरेको अधिकारीले जानकारी दिए ।

करिब अढाई लाख जना चलचित्रसँग प्रत्यक्ष तथा अप्रत्यक्ष आबद्घ रहेको र यो महामारीले उनीहरूको रोजीरोटीमा समस्या पारेको अधिकारीको भनाई छ । उनी भन्छन् ‘अधिकांश चलचित्रकर्मीले चलचित्र निर्माण गर्न ब्याङ्कबाट ऋण लिएका हुन्छन् । त्यही फिल्म समयमा चल्न नपाउँदा पूरै घाटा बेहोर्नु पर्छ । यसबाट माथि उठ्न हामीलाई सरकारको सहयोग चाहिन्छ । त्यसैले हामीले सम्बन्धित निकायसँग अनुनय गरिरहेका छौं ।’

सरकारको सहयोग भएन भने चलचित्र उद्योगलाई टिकाउन मुस्किल हुने उनको भनाई छ ।

यसको प्रभाव भूकम्पको भन्दा लामो समयसम्म जाने र महामारी कम भएपनि सामान्य अवस्थामा आउन कम्तिमा एक वर्ष लाग्ने भएकोले एक वर्षसम्मको छूट माग गरेको अधिकारीले बताए । नेपाल राष्ट्र ब्याङ्कले असार मसान्तसम्म ऋण तिर्न भने पनि चलचित्रको सम्पूर्ण कारोबार ठप्प भएको अवस्थामा चलचित्रकर्मीले ऋण तिर्न नसक्ने उनको भनाई छ ।

नेपाल सरकारले चलचित्र उद्योगलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगभित्र राखेपछि राज्यले दिने सेवा, सुविधा पाउनुपर्ने उनी बताउँछन् । कोरोनाभाइरसको जोखिम हटेपनि चलचित्र उद्योगलाई माथि उठ्न समय लाग्ने उनी बताउँछन् ।

उनी भन्छन् ‘अहिले यो कोरोनाभाइरस संक्रमणले शारीरिक दूरी कायम राख्नुपर्ने अप्ठ्यारो अवस्था सिर्जना गरेको छ । त्यसले गर्दा जोखिम हटेको घोषणा भएपनि दर्शकहरू हलसम्म सहजै जादैनन् ।, त्यस्ले गर्दा हामीले लामो समयसम्म घाटा बेहोर्नुपर्ने हुन्छ ।’

 

प्रतिकृया दिनुहोस