सुशील प्याकुरेल
आजका सामाजिक सञ्जाल र डिजिटल अभियानको युगमा पर्चाको प्रभाव कल्पना गर्न कठिन हुन सक्छ । तर, राणाशासनको कठोर नियन्त्रणबीच प्रजा–परिषद्ले वितरण गरेको पर्चाले जनचेतना जगाउँदै नेपालमा प्रजातान्त्रिक आन्दोलनको बीजारोपण गरेको थियो ।
असार ९, आज पर्चा दिवस । ‘पर्चाको पनि दिवस हुन्छ र’ भन्ने धेरैलाई लाग्न सक्छ । अहिलेका नवयुवालाई त पर्चा एउटा कथा मात्र हुन सक्छ। तर, कुनै बेला पर्चाको प्रभावकारिता अहिलेको सामाजिक सञ्जालभन्दा कम थिएन । पर्चा १०४ वर्षे लामो शक्तिशाली राणाशासन ढाल्ने अस्त्र थियो भन्ने तथ्य धेरैलाई थाहा नहुन सक्छ । र, आज म त्यसैको इतिहास स्मरण गराउँदै छु ।
विश्वका अन्य देशहरूजस्तै नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासमा पर्चाको विशिष्ट स्थान छ । नेपालमा लोकतान्त्रिक आन्दोलनको उद्भव, विकास र सफलतासँग पर्चाले पारेको प्रभाव अन्योन्याश्रित रूपमा जोडिएको छ । तर, पर्चा छपाइ र वितरणका अनेक ऐतिहासिक घटनाहरूमध्ये राणाकालमा टंकप्रसाद आचार्यको नेतृत्वमा बाँडिएको पर्चाको विशेष महत्त्व छ ।
वि. सं. १९९३ जेठ २० गते टंकप्रसादसहित दशरथ चन्द, धर्मभक्त माथेमा, रामहरि शर्मा, जीवराज शर्माले प्रजापरिषद् गठन गरे । निरंकुश राणाशासनको अन्त्य गरी प्रजातन्त्रको लागि संघर्षमा लाग्न चेतना दिने उद्देश्यसहित प्रजापरिषद्का सदस्यले पर्चा बाँड्ने निर्णय गरे । उनीहरूलाई पर्चाले कसरी जनतामा चेतना फैलाउँछ र इतिहासमा पर्चाले कस्ता–कस्ता परिवर्तन गरेको छ भन्ने ज्ञान थियो ।
हुन पनि, विश्व राजनीतिक इतिहासमा क्रान्ति, विचार र परिवर्तनको प्रभावकारी माध्यम बनेको थियो, पर्चा । छापाखानाको विकास हुनुपूर्व पर्चाहरू वितरण गरेर मानिसलाई परिवर्तनका लागि संघर्षमा लाग्न आह्वान गरिन्थ्यो । इस्वी संवत् १७७६ को अमेरिकी स्वतन्त्रता सङ्ग्राममा थोमस पेनको ‘कमन सेन्स’ नामक पर्चाले बेलायती साम्राज्यविरुद्ध अमेरिकी जनतालाई गोलबद्ध गर्ने भूमिका खेलेको थियो । पर्चाले अमेरिकी जनताले ‘बेलायती राजाको शासन’ मान्नु हुँदैन भन्ने सन्देश दिएको थियो । अमेरिकी स्वतन्त्रता सङ्ग्राममा जर्ज वासिङ्गटनले आफ्नो सेनालाई यो पर्चा पढ्न लगाएका थिए । त्यस्तै, सन् १७८९ को ‘ह्वाट इज थर्ड स्टेट’ भन्ने पर्चाले फ्रान्समा राजा र पादरीहरूको अत्याचारविरुद्ध आम जनतालाई विद्रोहमा उत्रन आह्वान गऱ्यो। यस पर्चाले फ्रान्समा राजतन्त्र अन्त्य गर्ने वैचारिक आधार तयार गऱ्यो ।
वि.सं. १९९७ असार ९ गते प्रजा परिषद्का नेताहरूद्वारा छरिएको पर्चाको उतार।
सन् १५१७ मा मार्टिन लुथर किङले क्याथोलिक चर्च र पोपको अन्धविश्वास र जनता लुट्ने प्रकृतिविरुद्ध इसाई धर्ममा पुनर्जागरणका लागि ९५ बुँदे असहमति पर्चा वितरण गर्दा ‘प्रोटेस्टेन्ट’ आन्दोलन सुरु भयो र चर्चको राजनीतिक धार्मिक सत्ता समाप्त भयो । त्यस्तै माक्र्स र एंगेल्सले सन् १८४८ मा तयार गरेको ‘कम्युनिष्ट घोषणा–पत्र’ले विश्वमा श्रमजीवी जनताको शोषणविरुद्ध र सत्ता प्राप्तिको सङ्घर्ष सुरुआत गऱ्यो ।
यिनै तथ्यका जानकार प्रजापरिषद्का सदस्यले जनतालाई सङ्गठित गर्ने र राणा शासनविरुद्धको आन्दोलनमा लाग्न आह्वान गर्न पर्चा छर्ने निधो गरे । तर, त्यो बखत नेपालमा छाप्ने प्रेस थिएन । त्यसैले ती युवाले भारतको कलकत्ताबाट साइक्लोस्टाइल हाते मेसिन ल्याउने निधो गरे । यो घटना इतिहासमा यसरी दर्ज गरिएको छ । त्यसमा लेखिएको छ, “स्वयम् श्री टंकप्रसाद आचार्य डुब्लिकेटिङ मेसिन किन्न कलकत्ता जानु भयो । त्यसबेलाको परिस्थितिले गर्दा छाप्ने मेसिन माटोमुनि गाडेर राख्नुपर्ने भएकोले १ देखि ४ नम्बरसम्मका गरी चार प्रकारका पर्चा एकै पटक तयार गरियो र मेसिनलाई जमिनमुनि गाडियो । त्यसबेला टाइपराइटर राणाहरूको दरबारमा मात्र हुन्थ्यो । त्यसैले स्टेनशील पेपरमा आचार्यज्यूले आफै लेख्नु भयो । उहाँकै घरमा टुकी बालेर स्टेनशीलमा कोरिएका थिए, पर्चा (स्वर्ण जयन्ती स्मारिका–२०४३:३२) ।”
पर्चा तयार भएपछि छर्ने दिन कुर्न थाले प्रजापरिषद्का युवा । त्यो बखत टंकप्रसाद २२ वर्षका थिए भने अरु सबै २०–३० वर्ष समूहका । पर्चा छर्ने उपयुक्त दिन खोज्ने क्रममा पर्चालाई बाकसमा राखी बारीमा गाडियो । त्यतिबेला उपत्यकामा बेलुकी १० बजेदेखि बिहान ४ बजेसम्म कर्फ्यु लाग्थ्यो । कफ्र्युको समयमा मानिसहरू हिँडडुल गर्न सक्दैनथे (उही: ३३) । ललितपुरमा मच्छिन्द्रनाथको जात्राको दिन राणाहरूले जुवा फुकाउने चलन थियो, अर्थात् त्यो दिन सबैले कानुनी रूपमा जुवा खेल्न पाउँथे । त्यसैले त्यो रात कर्फ्यु पनि हटाइन्थ्यो ।
प्रजा–परिषद्का युवाले भोटो जात्रा देखाउने दिनको अघिल्लो रात पर्चा छर्ने निधो गरे । त्यो दिन थियो— असार ९ गते । पर्चा छर्ने कार्य भयो । १९९७ सालको पर्चाले नेपालमा पहिलोपल्ट राजनीतिक आन्दोलनको सुरुआत गऱ्यो । देशमा बुद्धिजीवी, विद्यार्थी र युवक तथा मजदुर किसानहरूमा पनि यसले अभूतपूर्ण जागृति ल्यायो । राणा शासक भक्षक रहेछन् भन्ने कुरा सबैले बुझ्न थाले (उही: ३४) ।
त्यसपछि देशभरि गुप्तचरहरूलाई सक्रिय बनाइयो र धडपकड सुरु भयो । दशैँ बिदा नबित्दै प्रजा–परिषद्का सबैजसो युवा समातिए । सिंहदरबारभित्रै तिनको मुद्दा छिनियो । चार जनालाई ज्यान सजाय, ११ जनालाई सर्वस्वहरणसहित जन्मकैदको सजाय सुनाइयो । कतिपयलाई अठार वर्ष कैद र सयौंलाई जरिवानासहित वर्षौं कैदको घोषणा भयो । पर्चा छर्नुअघि भारत निर्वासनमा पठाइएका टंकप्रसाद आचार्यलाई ‘बुबा सिकिस्त बिरामी’ भएको टेलिग्राम पठाएर धोका दिएर सीमामा पक्राउ गरियो । उनी बाहुन भएकोले राणाहरूले ज्यान सजाय नदिने निधो गरे । त्यो बखत ब्राह्मण हत्याको पाप लाग्ने विश्वासका कारण उनको ज्यान जोगियो । इतिहासमा अंकित दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र गंगालाल श्रेष्ठलाई मृत्युदण्ड दिइयो भने टंकप्रसाद आचार्य र रामहरि शर्मालाई टाउको मुडी ‘पानी नचल्ने’ घोषणा गरेर जन्मकैद गरियो । अर्थात्, ‘अछुत’ मा झारियो । यसरी नेपालका चार सचेत र सम्मानित क्रान्तिकारीको मृत्युदण्डको तत्कालीन कारण पर्चा थियो भन्न सकिन्छ ।
१९९७ साल असार ९ गते पर्चामा ‘खबर्दार राणावर्ग’ भन्ने माथिबाटै लेखिएको थियो । यस्तो पर्चा वितरणपछि देशैभरि राणाशासनविरुद्ध जनमत सल्बलाउन थाल्यो । युवाको जोस र जाँगरले नेपाली सबै विद्रोही हुन थाले । सचेत युवा भर्खरै स्वतन्त्र भएको भारततिर छिरे र २००३ सालमा कांग्रेस र २००६ सालमा कम्युनिष्ट पार्टी बन्यो । १९९७ सालको पर्चा प्रजा–परिषद्को विस्तारित रूप नै अन्य पार्टीहरू थिए । सबैले प्रजा–परिषद्का युवा र चार जना शहीदको शहादतबाट प्रेरणा लिँदै नेपालमा जनक्रान्तिको सुरुआत गरे र २००७ सालमा पर्चा छरिएको १० वर्षपछि राणाशासन ढल्यो । विश्वका अन्य मुलुकमा जस्तै नेपालको जनक्रान्ति र परिवर्तनमा पर्चाको अहम् भूमिका रहेकोले हरेक वर्ष असार ९ मा ‘पर्चा दिवस’ मनाएर इतिहासको स्मरण गरिन्छ ।
(लेखक टंकप्रसाद आचार्य प्रतिष्ठानका अध्यक्ष हुन् ।)