प्रा. रामप्रसाद रेग्मी
गाउँमै शहरी सुविधा पुर्याउने उद्देश्यले मध्यपहाडमा नयाँ शहर निर्माण भइरहेका छन्। तर, पूर्वतयारीबिनाको शहरीकरणले स्थानीय जलवायु, जैविक प्रणाली र बासिन्दाको परम्परागत जीवनपद्धतिमा असर पुर्याउन सक्ने अध्ययनहरूले देखाएका छन्, जसले विकासको मोडलमाथि पुनर्विचारको आवश्यकता औंल्याएका छन् ।
नेपालको पूर्वदेखि पश्चिमसम्म मध्य–पहाडी लोकमार्गको किनारका क्षेत्रमा दशवटा नयाँ शहर विकास गरिंदै छन् । यी बहुप्रतिक्षित शहर स्थापनापश्चात् प्रत्येक शहरले करीब एक लाख जनसंख्यालाई चाहिने सबै प्रकारका आधारभूत शहरी सुविधा उपलब्ध गराइने उल्लेख गरिएको छ । यसरी गाउँठाउँमै सुविधासम्पन्न शहरहरू बसालेपछि विगत केही दशकदेखि तराई तथा पहाडका प्रमुख शहरी क्षेत्रमा भइरहेको बसाइँसराइको लर्को रोकिने अपेक्षा गरिएको छ ।
सन्तुलित शहरीकरण र विकेन्द्रित जनसांख्यियक बसोबासको अवधारणा उन्नत सोच हो । तर, मध्य–पहाडी भेगजस्तो अति संवेदनशील क्षेत्रमा ठूलो संख्यामा शहर–बजार खडा गर्दा त्यसले यस भेगकै विद्यमान सूक्ष्म–मौसमी विविधता, वातावरणीय स्वच्छता एवं मौलिक पारिस्थितिकीय प्रणालीमा पर्न सक्ने असरबारे सचेत रहन नितान्त आवश्यक छ । यी असरबारे गम्भीर अनुसन्धान तथा भरपर्दो मूल्यांकन गरी न्यूनीकरणका उपाय सुझाई सोहीबमोजिम मात्रै शहरी विकास कार्य योजनाअघि बढाउन सकिए विकासको प्रयासमा विनाशको जोखिम निम्तन सक्ने सम्भावना कम हुनसक्छ ।
हाल निर्माणाधीन मध्य–पहाडी क्षेत्रका दश शहरमा भौतिक पूर्वाधार तथा शहरी सुविधासम्पन्न सोच मात्र केन्द्रित रहेको देखिन्छ । वातावरणीय प्रभाव अध्ययन मूल्यांकनको गाम्भीर्यलाई सामान्यीकृत गरी समालोचनात्मक प्रकृतिका प्रतिवेदनका आधारमा आयोजना कार्यान्वयनका लागि प्रक्रियागत आवश्यकता परिपूर्ति गर्नका लागि मात्र गर्ने, गराउने गरिएको प्रतीत हुन्छ । पर्यावरणीय तथा वातावरणीय असर मूल्यांकन कतै पनि अंकमा सुनिश्चित गरिएको भेटिंदैन । यस्ता अंकमा सुनिश्चित नगरिएका समालोचनात्मक असर मूल्यांकन तथा सुझाइएका न्यूनीकरणका उपाय सतही हुने भएकाले यस्ता प्रकृतिका अध्ययन प्रतिवेदनको खासै अर्थ हुँदैन ।
मध्य–पहाडी क्षेत्रमा शहर बसाउन खोजिएका प्रायः स्थानको भू–बनावट उपत्यकीय प्रकृतिका छन् । यस्ता उपत्यकाहरूले आ–आफ्नै विशिष्ट भू–बनावट र क्षेत्रअनुसार आ–आफ्नै प्रकारका स–साना क्षेत्रकेन्द्रित विविधतायुक्त सूक्ष्म–मौसमी अवस्था सिर्जना गर्छन् । यिनै हरेक स–साना क्षेत्रमा सीमित भिन्नभिन्नै प्रकारका सूक्ष्म–मौसमी अवस्थाको गठजोडबाट स्थानीय मौसम तथा पारिस्थितिकीय प्रणालीहरू निःसृत भएका हुन्छन् । यसरी निःसृत स्थानीय पारिस्थितिकीय प्रणालीहरू जेजस्ता बनेका थिए, स्थानीय बासिन्दाले त्यसैअनुरूप आफ्नो जीवनपद्धति अपनाई जीविकोपार्जन गर्दै आएकाले परापूर्वकालदेखि आजका दिनसम्म पनि सूक्ष्म–मौसमी विविधता बाँचिआएका हुन् र स्थानीय बासिन्दाको जीवनयापन प्रक्रिया चल्दै आएका हुन् ।
विद्यमान स्थानीय पारिस्थितिकीय प्रणालीअनुरूप चलिआएका ग्रामीण सामाजिक बन्दोबस्ती तथा जीविकोपार्जनका आधार शहरी विकाससँगै नराम्ररी खल्बलिन सक्छन् । यसो भन्दै गर्दा सदियौंदेखि जे–जस्तो छ, त्यसलाई अलिकति पनि चलाउनै हुँदैन भन्ने कदापि होइन । आधुनिक विकास सबैतिर पुग्नुपर्छ र हरेक वर्ग तथा क्षेत्रका बासिन्दाले समान रूपमा उपभोग गर्न पाउने सुनिश्चितता गर्नु राज्य तथा नागरिक सबैको दायित्व हो । सवाल यतिमात्र हो— शहरहरू बसाऔं तर मौजुदा सूक्ष्म–मौसमी विविधता, वातावरणीय स्वच्छता एवं स्थानीय पारिस्थितिकीय प्रणालीहरू बाँची रहून्, कम्तीमा पनि असर न्यूनीकृत भएका होउन् ताकि हाम्रा विकासका प्रयास दिगो बनून् र स्थानीयको जीविकोपार्जन आगामी दिनमा अझ बढी सहज होस् ।
विकास आयोजना निर्माण प्रक्रियामा वातावरणीय प्रभाव मूल्यांकन तथा असर न्यूनीकरणलाई सैद्धान्तिक रूपमा स्वीकारिए पनि व्यवहारतः गम्भीरतापूर्वक अभिन्न अंगका रूपमा लिने गरिएको छैन । शहरी विकासको कुरा गर्दा सूक्ष्म–मौसमी विविधता तथा स्थानीय पारिस्थितिकीय प्रणाली संरक्षणका विषय राम्ररी बहसमा आउन सकेका छैनन् । यस्तो हुनुमा भरपर्दो पूर्वानुमान उपलब्ध नहुनु हो । त्यसैले विकास निर्माणका आयोजना बन्ने क्रममै आयोजना बनिसकेपछि सूक्ष्म–मौसमी विविधता, वातावरणीय स्वच्छता एवं मौलिक पारिस्थितिकीय प्रणालीमा पर्ने असरको मूल्यांकन सामान्य अड्कलका भरमा नभई वैज्ञानिक प्रामाणिकतासहित अंकमा सुनिश्चित गरिएको हुनु आवश्यक छ ।
सबैभन्दा उदेकलाग्दो अवस्था त केवल अड्कलकै भरमा शहरी मौसम परिवर्तन अनुकूलनका लागि महँगा आयोजना कार्यान्वयन भए र भई नै रहेका छन् । आगामी दिनमा के–कस्ता सूक्ष्म–मौसमी अवस्था रहन्छन् र कति नष्ट भएर जान्छन् भन्ने त टाढाको कुरा, आजको दिनको पनि जानकारी छैन भन्ने हेक्कासम्म राखिएको पाइँदैन । स्थानीय शहरी मौसममा परिवर्तनका कारण, प्रमाणित पूर्वानुमानबाट परिणाम सुनिश्चिततापश्चात् अनुकूलनका आयोजना विकास तथा कार्यान्वयन गर्नुपर्नेमा फलानो शहर क्षेत्रमा गर्मी बढेकाले यस्तो यस्तो गर्नुपर्ला भन्ने जस्ता लख काटेकै भरमा अनुकूलनका धेरै धनराशिका आयोजना कार्यान्वयन गरिएका र परिणाम हात नलागेका धेरै उदाहरण भेट्न सकिन्छ ।
स–साना बजार–हटियासहितको ग्रामीण जनजीवन भएका स्थानहरूमा नयाँ शहरहरू बनाइँदै छन्, जुन भोलिका दिनमा सम्बन्धित क्षेत्रकै आर्थिक तथा प्रशासनिक केन्द्रका रूपमा रूपान्तरण हुनेछन् । अहिले अनुमान गरिएभन्दा पनि धेरै क्षेत्र ओगटेर घना बजार बस्नेछन् र तदनुरूप जनसंख्या तथा प्रदूषण उत्सर्जनका गतिविधि तीव्र गतिमा बढ्नेछ । फलस्वरूप विद्यमान सूक्ष्म–मौसमी विविधता, वातावरणीय स्वच्छता एवं मौलिक पारिस्थितिकीय प्रणालीलाई उल्लेख्य असर पार्न सक्ने देखिन्छ । यी दश र अन्य धेरै शहर स्वस्फूर्त बस्न गएमा मध्य–पहाडी भेगको मौलिक पारिस्थितिकीय प्रणालीमा ठूलो असर पर्न सक्छ । समस्या आउँदै गर्छन्, समाधान गर्दै जाउँला भनेर शहर तथा अन्य विकास निर्माणका कार्यसमेत स्वस्फूर्त रूपमा अगाडि बढ्न दिनु कदापि बुद्धिमानी हुन सक्दैन । विगतमा गरिएका यस्तै हेलचेक्र्याइँको असर आज देखिंदै छन्, जसको निराकरण अत्यन्तै महँगो पर्न जाने स्पष्ट छ, जुन सम्भव नहुन पनि सक्छ ।
उदाहरणका लागि काठमाडौं उपत्यकाको अवस्थालाई लिन सकिन्छ । आजभन्दा तीन दशकअघिको उपत्यकाको सूक्ष्म–मौसमी विविधता, वातावरणीय स्वच्छता एवं मौलिक पारिस्थितिकीय प्रणालीको पुनर्स्थापना असम्भवप्रायः देखिन्छ । कम्तीमा अब बन्ने नयाँ शहरी क्षेत्रले काठमाडौंकै नियति भोग्न नपरोस् भन्नेमा सजग रहन अत्यन्तै जरुरी छ । त्यसैले, नयाँ बन्ने शहरहरूको गहन अध्ययन अनुसन्धान गरी मौजुदा सूक्ष्म–मौसमी विविधता, वातावरणीय स्वच्छता एवं मौलिक पारिस्थितिकीय प्रणालीको नक्सांकन, पर्ने असरको भरपर्दो मूल्यांकन र अपनाइने न्यूनीकरणका लागि सुझाइएका उपायको प्रभावकारिता सबै अंकमा सुनिश्चित गरी शहरी विकासको शुरूआतदेखि नै असर न्यूनीकरणका उपाय अवलम्बन गरी दृढ इच्छाशक्तिका साथ कार्यान्वयन गर्दै जानु वाञ्छनीय हुन्छ ।
यसै सन्दर्भमा नयाँ शहरी विकास आयोजना समन्वय कार्यालय, शहरी विकास तथा भवन निर्माण विभाग तथा राष्ट्रिय वायुमण्डलीय स्रोत तथा वातावरण अनुसन्धान प्रयोगशाला (नारेल), त्रिभुवन विश्वविद्यालयको सहकार्यमा मध्य–पहाडी क्षेत्रमा बन्दै गरेका दश नयाँ शहरमध्येको एक डुम्रे–भन्सार नयाँ शहर विकास क्षेत्रमा नमूना अनुसन्धान गरिएको थियो । अनुसन्धान आयोजनाले मर्स्याङ्दी नदी उपत्यकामा अवस्थित यस नयाँ शहर विकास क्षेत्रको विद्यमान सूक्ष्म–मौसमी विविधताको मूल्यांकन तथा नक्सांकन, वर्तमान योजनाअनुसार उक्त शहर विकास गरिए सूक्ष्म–मौसमी विविधतामा आउन सक्ने परिवर्तन तथा उक्त शहर कुन स्वरूपमा विकास गर्दा असर न्यूनीकरण हुनसक्छ भन्ने मूल उद्देश्यसहित आयोजना कार्यान्वयनमा ल्याइएको थियो । यस अतिरिक्त उक्त क्षेत्रको क्षेत्रगत वायु प्रदूषण प्रसरण प्रक्रिया र प्रदूषण वहन क्षमता तथा प्रदूषण प्रभाव क्षेत्र पूर्वानुमान गरी नियन्त्रण पद्धतिको विकास गर्ने गरी बृहत् अनुसन्धान गरिएको थियो । उपरोक्त अनुसन्धानमा नवीन गणितीय मौसम तथा वायु प्रदूषण प्रसारण पूर्वानुमान पद्धति, स्थलगत मापन तथा सर्वेक्षणजस्ता अनुसन्धान विधि संयोजन गरिएको थियो ।
यस नमूना अनुसन्धानले डुम्रे–भन्सार नयाँ शहरको मध्यविन्दुलाई केन्द्र मानी वरिपरिको ४,९०० वर्ग किलोमिटर क्षेत्रफल समेटेर सोभित्र पर्नसक्ने प्रभावबारे हरेक १ वर्ग किलोमिटरमा हाल विद्यमान मौसमी र वायु प्रदूषणको अवस्था, शहर बनेपछि तिनको परिवर्तित अवस्था र असर न्यूनीकरणका लागि सुझाइएको नमूना शहरजस्तै बनाइए त्यसबाट हुने फाइदा सबैलाई तथ्यांकीकृत गरी नक्सांकन गरेको छ । हेर्दा सानो शहरको विकासजस्तो देखिन्छ तर अनुसन्धानले उल्लेख्य असर पर्न सक्ने देखाएको छ । यदि डुम्रे–भन्सार नयाँ शहरलाई जसरी नेपालका अन्य पुराना शहरहरू बसेका छन्, ठीक त्यसरी नै बसालियो भने यस शहरी क्षेत्रमा वार्षिक औसत रहने गरेको हालको भू–सतहको तापक्रममा करीब ५.५ डिग्री र सतहको वायुको तापक्रम ०.६ डिग्री वृद्धि हुनेछ भने सापेक्षित आर्द्रता २.० प्रतिशत घट्नेछ र वायुको गति करीब ०.१ मिटर प्रतिसेकेन्ड घट्नेछ । यी आधारभूत मौसमी सूचकांकको परिवर्तन ऋतुअनुसार फरक–फरक भेटिएको छ र उच्चतम वायुको तापक्रमभन्दा न्यूनतम तापक्रममा धेरै मात्रामा वृद्धि भएको हुनेछ । फलस्वरूप, विद्यमान सूक्ष्म–मौसमी विविधता र मौलिक पारिस्थितिकीय प्रणालीमा उल्लेख्य असर पर्ने देखिन्छ । तर, यही शहरलाई अन्य शहरहरूको बसाइभन्दा थोरै फरक ढंगले विकास गरिएको खण्डमा सबै मौसमी सूचकांकको मात्रा वृद्धि न्यूनीकृत हुनेछ ।
हाम्रोजस्तो आहार र विहारकै समस्या भोगिरहेको देशमा विकसित देशहरूले जस्तो महँगा अनुकूलनका विधि अपनाउन सकिने अवस्था छैन । त्यसैले प्रकृतिमा आधारित समाधान खोज्नु नै श्रेयस्कर हुने हुनाले न्यूनीकरणका उपाय सुझाउने क्रममा हरियाली प्रवर्धित शहरको विकास गर्दा कतिको अनुकूलित हुन्छ भन्ने नमूना अध्ययनसमेत गरिएकोमा परिणाम उत्साहजनक देखिएको छ । यदि डुम्रे–भन्सार नयाँ शहरको विकास गर्दा शहरको सम्पूर्ण क्षेत्रमा बसोबास गर्ने स्थानीय जनसमुदायका सबैले आ–आफ्ना जग्गाको बढीमा आधा भागमा घर–पसल आदि बनाउने र बाँकीलाई फलफूल तथा तरकारी वा अन्य खेतीपाती गर्ने गरी मात्रै उक्त शहरको विकास गरिएमा मौसमी असर ५० प्रतिशतभन्दा बढीले घट्ने देखिएको छ । डुम्रे–भन्सार नयाँ शहर विकास आयोजना क्षेत्रमा बसोबास ग्रामीण प्रकृतिको भएको र अधिकांशको मुख्य पेशा खेतीपाती रहेकाले यस्तो नियम लागू गर्न सम्भव हुन्छ ।
डुम्रे–भन्सार नयाँ शहर क्षेत्रको वायु प्रदूषण प्रसारण प्रक्रिया सुस्त र वायु प्रदूषण वहन क्षमता अत्यन्तै न्यून छ । तर, प्रदूषण उत्सर्जनको मात्रा उल्लेख्य छ । यस क्षेत्रमा हाल नाइट्रोजनजन्य अक्साइड्स, सल्फरजन्य अक्साइड्स, कार्बन मोनो अक्साइड र हावामा तैरने कणजन्य पदार्थजस्ता आधारभूत प्रदूषकहरूको कुल उत्सर्जन प्रतिदिन झन्डै ७०० टन हुने गर्छ, जसमा ७० प्रतिशतभन्दा बढी उत्सर्जन घरेलु क्रियाकलापबाट भइरहेको छ । क्षेत्रीय तथा सीमापार क्षेत्रमा उत्सर्जित वायु प्रदूषणसमेत डुम्रे–भन्सार नयाँ शहर क्षेत्रमा प्रवेश गर्न सक्ने भएकाले वायु प्रदूषणका दृष्टिले जोखिममा रहेको छ । अहिलेकै अवस्थामा यस क्षेत्रको वायुको गुणस्तर अस्वस्थकर छ । यदि नयाँ शहर विकास क्षेत्र तथा यसको वरिपरिको ४,९०० वर्ग किलोमिटर क्षेत्रमा हाल भइरहेको उत्सर्जनलाई एक तिहाइभन्दा कममा झार्न सकिएमा राष्ट्रिय वायु गुणस्तर मापदण्ड कायम हुनसक्ने सम्भावना देखिएको छ ।
अन्त्यमा, डुम्रे–भन्सार नयाँ शहरको विकास परम्परागत तरिकाले नै गरिए यसको मौलिक सूक्ष्म–मौसमी विविधता, वातावरणीय स्वच्छता तथा मौलिक पारिस्थितिकीय प्रणाली उच्च जोखिममा पर्न सक्ने देखिएको छ । अन्य नयाँ शहर विकास क्षेत्रहरूको भौगोलिक अवस्थिति र भू–बनोट डुम्रे–भन्सार नयाँ शहर क्षेत्रसँग मिल्दोजुल्दो रहेकाले ती शहरको पनि सूक्ष्म–मौसमी विविधता, वातावरणीय स्वच्छता एवं मौलिक पारिस्थितिकीय प्रणाली संवेदनशील नै रहेको सहज अनुमान गर्न सकिन्छ । यस प्रकारका अनुसन्धान सबै मध्य–पहाडी क्षेत्रमा बन्ने हरेक नयाँ शहरमा हुन आवश्यक देखिन्छ ।
(लेखक राष्ट्रिय वायुमण्डलीय स्रोत तथा वातावरण अनुसन्धान प्रयोगशाला (नारेल), त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरका प्रमुख वैज्ञानिक हुन् ।)