बागमती किनारका सुकुम्बासी बस्तीमा डोजर चलाएर बास खोसिएपछि केहीले आफ्नो प्राण नै त्यागेर प्रतिरोधको उत्कर्ष रूप देखाए । होल्डिङ सेन्टरमा राखिएका बाँकीले खाना पनि दिन नदिएको भन्दै थाली ठटाउन थालेका छन् । यसलाई सरकारको मानवता विरोधी अपराध किन नभन्ने ?
वैशाख १० गते बिहीबार मनोहराको सुकुम्बासी बस्तीका १९ वर्षीय युवक रविन तामाङले आत्महत्या गरे । सरकारले सुकुम्बासी बस्ती खाली गर्नका लागि दुई दिनको म्याद दिएको थियो । सोही दिनदेखि उनी मानसिक रूपमा विक्षिप्त थिए । वर्षौंदेखि बसिरहेको बस्तीबाट एकाएक विस्थापित हुनुपरेपछि पिरोलिएका उनले वैशाख १० गते बिहान आत्महत्या गरेको भन्दै समाचार बाहिरिएका थिए।
मैले युवकका बुबा हस्तबहादुर तामाङलाई सम्पर्क गरेर भेट्ने योजना बनाएँ । काठमाडौं महानगरपालिकामा सफाइ कामदारको रूपमा कार्यरत हस्तबहादुरले वैशाख २० गते आइतबार दिउँसो ३ बजे भेट्न बोलाए । सहकर्मी पिंकी श्रीस राना र म मनोहराको सुकुम्बासी बस्तीबाट केही मिटर पर एउटा चौतारामा पुग्यौं । केही छिनको पखाईपछि आइपुगे— हस्तबहादुर, उनकी बहिनी र छोरी।
हामीले हस्तबहादुरसँग घटनाबारे सोध्यौं । उनका अनुसार घटनाको अघिल्लो दिन साँझ बस्ती खाली गराउनु भनेर प्रहरीले परैबाट माइकिङ गरेको थियो।
भोलिपल्ट बिहान आफ्नै घरको शौचालयमा झुण्डिएको अवस्थामा रविन भेटिए । कसरी यस्तो घटना हुन पुग्यो भनेर हामीले सोध्यौं । हाम्रो कुरा नसकिंदै हस्तबहादुरकी बहिनीले भनिन्— “समाचारमा बाबुले बस्ती हटाएको पीरले आत्महत्या गरेको भन्ने आएको रहेछ, हामीलाई आफन्तले निकै कराए,” उनले भनिन् , “सरकारले घर भत्काएको हो । तर, त्यो पीरले आत्महत्या गरेको होइन।”
त्यति बेलासम्म पोष्टमार्टम रिपोर्ट आइसकेको रहेनछ । उनले थपिन्, “अहिलेसम्म पुलिसको पोष्टमार्टम रिपोर्ट आएको छैन, तपाईंहरूलाई एउटा भनेर पछि रिपोर्ट अर्को आयो भने ! पुलिस रिपोर्टमा जे आउँछ, त्यही भन्नु पर्यो ।” हस्तबहादुर र उनकी छोरीले तिनकै कुरामा ‘हो’ मा ‘हो’ मिलाए ।
सरकारले रंगशालामा सुकुम्बासी बस्तीबाट विस्थापितहरूको विवरण टिपाउने काम गरिरहेको थियो । वैशाख १३ गते हस्तबहादुर पनि विवरण टिपाउन गएका रहेछन् । त्यहीबेला ‘सेतोपाटी’का पत्रकारले उनको कथा लेखेका थिए– घर भत्किएको पीरले आत्महत्या गरे भनेर ।
हामीलाई हस्तबहादुरकी बहिनीले त्यतिबेला घटनाबारे सुनाउँदा अलमलिएको बताइन् । उनले भनिन्, “त्यतिबेला दाइले अर्कै भन्न खोज्नुभएको थियो । तर, बोल्दा–बोल्दै अर्कै बोल्नुभएछ । बहिनीहरू सबैले हामीलाई कराए ।” बहिनीको भनाइमा रविनको एक जना युवतीसँग प्रेम–सम्बन्ध रहेको र जाँड–रक्सीको लतमा फसेको कारण प्रेमिकाले कुलत छोड्न भनेपछि उनले आत्महत्या गरेका थिए।
घटनाको अघिल्लो दिन साँझ माइकिङ गर्दै बस्ती खाली गर्न निर्देशन दिंदै सुरक्षाकर्मी।
केही छिमेकीहरूको भनाइमा मिडियामा आएको समाचारका कारण परिवारमाथि दबाव बढेको थियो । त्यसैले रविनको आत्महत्याको कथालाई ट्वीस्ट गरिएको थियो । घर उजाडिएर प्राण त्यागेकोलाई असफल प्रेमकथासँग जोडिएको थियो।
हस्तबहादुरको ८ जनाको परिवार उनै बहिनीको घरमा शरण लिएर बसेको थियो । सरकारले घर भत्काइदिएपछि छोराको काजक्रिया पनि गर्न पाएका थिएनन् । तामाङ संस्कारअनुसार ३/३ दिनमा त्यसपछि ७/७ दिन गर्दै ४५ दिनसम्मको विधि पूरा गर्नुपर्छ । तर, आफ्नो घर नहुँदा त्यस बेलासम्म कुनै कर्म गर्न पाएका थिएनन्।
हामी केही बेर यस्तै कुराकानी गरेर फर्कियौं।
उता तीनकुने, गैरीगाउँस्थित सुकुम्बासी बस्तीबाट विस्थापित भएका भेषराज दर्जीको जेठ २१ गते बिहीबार मृत्यु भयो । वैशाख १२ गते उनको घर भत्काएपछि सरकारले कीर्तिपुरस्थित राधास्वामी सत्संग व्यास आश्रममा राखेको थियो । फोक्सोसम्बन्धी समस्याका बिरामी दर्जी १८ गते सोमबार वीर अस्पताल भर्ना भएका रहेछन्।
+++
सुकुम्बासी बस्तीमाथि डोजर चलाइएयता हामीले तारन्तार यस्ता दुखद समाचार सुनिरहनुपरेको थियो । केही घटनाको त म स्वयं प्रत्यक्षदर्शी थिएँ । यो घटना वैशाख १८ गते शुक्रबार दिउँसो करीब २ बजे बल्खुस्थित सुकुम्बासी बस्तीको हो।
त्यस दिन हामी त्यहाँ पुग्दा सबै घर डोजरले भत्काइसकेको थियो । कोही भत्किएका घर हेर्दै टोलाइरहेका थिए । कोही जस्तापाता, इँटा, फलाम उठाइरहेका थिए । कोही छरपस्ट सरसामान बटुल्दै थिए । कोही डोजरले घर भत्काउँदा पुरिएका सरसामान टिप्न व्यस्त थिए । ‘कबाडी व्यवसायी’हरू सरसामानको मोलमोलाइ गरिरहेका भेटिन्थे।
सिमसिमे पानी पर्दै–रोकिंदै थियो । कोही छाता ओढिरहेका थिए, कोही सिमसिमे पानीको परवाह नगरी यताउता गरिरहेका थिए । घर भत्किएपछि निरीह बनेका सुकुम्बासी एकअर्काका अनुहार हेराहेर गर्थे । तर, ती निःशब्द थिए।
करीब साढे २ बजेको हुँदो हो । बागमती किनारबाट चिच्याएको आवाज आयो । ‘मान्छे मर्यो, बागमतीमा हाम फालेर’ भन्ने आवाज सुन्नेबित्तिकै कोलाहल मच्चियो । छेउछाउका केही व्यक्ति बागमती किनारतिर लागे । म र पत्रकार उर्मिला गम्वा थारु पनि उतै लम्कियौं।
बस्ती भत्काउन गएका प्रहरी र स्थानीयले मृत शरीर खोलाबाहिर निकाले । त्यो लाश एक पुरुषको थियो । छेउमै रहेका सन्तोष तामाङ शव देख्नेबित्तिकै चिच्याइहाले— ‘सविनको बुबा पो हो त !’ मृतकको सनाखत भयो । उनी थिए— इन्द्रबहादुर राई । प्रहरीले भत्किएको घरमाथि शव राखेर जस्तापाताले छोपिदिए । र, मृतकको आफन्त खोज्न थाले।
करीब १५ मिटर पर उभिएर भग्नावशेष घर हेरेर टोलाइरहेका थिए, इन्द्रबहादुरका छोरा सविन राई।
निकै बेर उनी टोलाइरहेपछि हामी उनको छेउमा गयौं । उनले कसैलाई फोन गरेर ‘छिटो आऊ’ भनेर बोलाए।
उनका आँखाभरि आँसु थियो । तर, आँखा झिमिक्क नगरी भग्नावशेष घरतिरै हेरिरहे।
छेउछाउका कबाडी व्यवसायीहरू भने व्यस्त थिए, सामान बटुल्न । तिनलाई हेर्दै करीब ३० वर्षीय पुरुषले भने— ‘मानवता हराएको संसार हेर त, मान्छेको ज्यानभन्दा ठूलो पैसा रहेछ, हेर्न समेत जाँदैनन् ।”
शवको नजिकै बसेकी १९ वर्षीय अप्सरा परियार आक्रोश पोखिरहेकी थिइन्, “बालेन सरकारले मान्छे मार्यो, बेघर बनाइदियो, हामी उसको घरमा बस्न जानुपर्ने हो ।” शवलाई हेर्दै उनको आक्रोशको आवाज झन्झन् चर्को भइरहेको थियो।
उनी तिनै अप्सरा थिइन्, जसले पहिलो पटक बागमतीमा तैरिंदै गरेको शव देखेकी थिइन् ।
केही बेरअघि मात्रै अप्सराको घर डोजरले भत्काएको थियो । जस्ताको छानोसमेत नभएको उनको टहरा बाँसको टाटीले बनाइएको थियो । निकाल्न पर्ने सामान खासै केही थिएन । उनले ठुलीआमा भनेर सम्बोधन गर्ने छिमेकीको घरका जस्तापाता, फलामका टुक्रा बटुल्न सहयोग गरिरहेकी थिइन् । त्यहीबेला उनले कालो वस्तु देखिन्। “प्लास्टिकमा कसैले फोहोर फालेको होला भनेर खासै ध्यान दिइनँ । तर, एक छिनमा पानी माथि तैरिन थाल्यो, नियालेर हेर्दा खुट्टा देखें, मान्छेजस्तो लाग्यो,” उनी सुनाउँछिन्, “त्यसपछि आत्तिएर सबैलाई बोलाएँ ।”
उनले बोलाएपछि केही पर रहेका सन्तोष तामाङ र अन्य व्यक्तिहरू आइपुगे । अझै नियालेर हेर्दा मान्छेको खुट्टा र हात देखियो । स्थानीय र प्रहरीले त्यस शवलाई बागमतीबाहिर निकाल्दै गर्दा पुगेका थियौं, हामी पनि ।
दिउँसो करीब ३ः१५ मा इन्द्रबहादुरका दुई छोरी, बुहारी र श्रीमती आए । आफन्त आएपछि प्रहरीले अनुहारबाट जस्ता हटाए । छोरीहरू बुबाको अनुहारमा हात राखेर बेस्सरी रुन थाले । त्यसपछि छोरा सविन पनि बुबाको मृत शरीरछेउ आइपुगे । प्रहरीले कसैलाई तस्वीर नखिच्नु भनिरहेको थियो ।
र, इन्द्रबहादुरका परिवारलाई पनि भनियो, ‘यस्तो अवस्थामा कसैलाई फोटो, भिडियो खिच्न नदिनू है, कसैले केही गर्ने होइन ।’ प्रहरीको कुरा सुनेपछि एकजना छोरी जुरुक्क उठेर भनिन्, ‘कसैले फोटो नखिच्नू, है !’
+++
६१ वर्षीय इन्द्रबहादुर राई । खोटाङमा खनिखोस्री गरेर परिवार पाल्न नसक्ने भएपछि १७ वर्षअघि काठमाडौं आएका थिए । बल्खुस्थित सुकुम्बासी बस्तीमा छाप्रो हालेर बसेका उनले त्यहाँ ३ छोरी र एक छोरा हुर्काए । नजिकैको फलफूल मण्डीमा भारी बोक्ने काम गर्थे । उनकी श्रीमती पनि मजदूरी गर्थिन् । राईले भारी बोकेर बागमती किनारको सुकुम्बासी बस्तीमा जीवन चलाइहेका थिए।
यही छाप्रो भत्काउने भनेर सरकारले वैशाख १७ गते बिहीबार साँझ सूचना जारी गर्यो । हुनत त्यसअघि नै थापाथली, गैरीगाउँ, मनोहरा लगायतका सुकुम्बासी बस्तीमा डोजर लगाउँदादेखि नै त्यहाँ पनि डोजर चल्छ भन्ने निश्चित नै थियो।
अघिल्लो दिन सूचना आएपछि उनी झनै बिरक्तिएका थिए।
नभन्दै भोलिपल्ट शुक्रबार बिहानैदेखि डोजरले घर भत्काउन थाल्यो । जब डोजर उनको घरमा आइपुग्यो, तब उनले संघर्षले सजाएको छाप्रोमा डोजरका दाह्रानङ्ग्रा पर्यो । त्यतिबेला घरमा भन्दा धेरै मन चिरियो।
दिउँसो करीब १२ बजे इन्द्रबहादुरको घरमा पनि डोजर चल्न थाल्यो । उनी आँखाभरि आँसु बनाउँदै ‘मैले घर भत्काएको हेर्न सकिनँ’ भन्दै हिंडेका थिए । छिमेकी केसरले उनलाई सम्झाएका थिए— “तिम्रो मात्रै होइन, यहाँ सबैको घर भत्काइरहेको छ ।” केसर सम्झिन्छन्, “तिमीले कसरी हेरिरहेका छौ त, आफ्नै आँखाअगाडि घर भत्काएको भनेर बर्बराउँदै हिंडेका थिए ।” केही घण्टापछि उनी बागमतीमा तैरिरहेको भेटिए।
वैशाख १८ गते बल्खुस्थित बागमती नदीमा आत्महत्या गरेका इन्द्रबहादुर राई । तस्वीरः उर्मिला गम्वा थारू
सरकारले सुकुम्बासीहरूलाई हटाउने भनेर बस्तीमा डोजर चलाउन थालेपछि ‘घर भत्काएको हेर्न सक्दिनँ’ भन्दै हिंडेका इन्द्रबहादुर केही घण्टापछि बागमतीमा मृत भेटिए । उनले आत्महत्या गरेको भनी छापामा सार्वजनिक समाचार आएपछि सरकारको कदमबारे थप आलोचना भयो । राष्ट्रिय भूमि समस्या समाधान आयोगका अनुसार देशभर भूमिहीन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासी गरी कुल ११ लाख २९ हजार ५ सय १७ जनाले निवेदन दर्ता गराएका छन् । हाल सुकुम्बासी समस्या समाधान गर्ने भन्दै सरकारले २ हजार ९ सयभन्दा बढी घरधुरीलाई विस्थापित गरेको छ । तीमध्ये हालसम्म रविन तामाङ र इन्द्रबहादुर राईले आत्महत्या गरे । कमला बलम्पाकी र पार्वती बिकको हृदयाघातबाट, उज्ज्वल तामाङ डोजरले घर भत्काएपछि सामान सार्ने क्रममा, कर्णबहादुर श्रेष्ठ विस्थापितको चिन्ताले र भेषराज दर्जीले उपचार नपाएर ज्यान गुमाएका छन्।
+++
हामी इन्द्रबहादुरका छिमेकीहरूसँग कुराकानी गर्दै थियौं । परिवारले पोष्टमार्टम नगर्ने कुरा गरेको भनेर वरिपरिका मान्छे भन्दै थिए । परिवारले किन पोष्टमार्टम नगर्ने भनेको रहेछ भनी हामीले सोध्दा जवाफ आयो— ‘पैसा नभएर रे!’
घटनास्थलको मुचुल्का उठाएर प्रहरीले घेरा लगाएको थियो । घेराबाहिरबाट हामीले हेर्दा मृतकको परिवार र प्रहरीबीच कुराकानी भइरहेको थियो । केही समयपछि एम्बुलेन्स आइपुग्यो । पोष्टमार्टमका लागि लैजान रातो तन्नामा हालेर शव ल्याइयो । शव एम्बुलेन्समा राख्दै गर्दा पत्रकार उर्मिलाले फोटो खिच्न थालिन् । छेउमै बसेका प्रहरीले ‘किन फोटो खिचेको ? खिच्न पाइँदैन । यहाँ आउनुस्’ भनेर बोलाए । उर्मिलाले ‘सर, हामी पत्रकार हौं, हामीले त्यस्तो संवेदनशील तस्वीर खिचेका छैनौं, हामीले हाम्रो इथिक्स बुझेका छौं’ भनेर भनिन् । तर, ती प्रहरी झन् आक्रोशित हुँदै उर्मिलाको मोबाइल लिएर सबै फोटो भिडियोहरू डिलिट गरिदिए । डिलिट गरिएका तस्वीरहरू बस्ने ‘रिसाइकल बिन’ बाट पनि ‘पर्मानेन्ट’ डिलिट गर्नका लागि मोबाइलमा राखिएको पासवर्ड मागे ।
‘तपाईंले डिलिट गरिसक्नु भयो, अब केको पासवर्ड’ भनिन्, उर्मिलाले । सबैबाट डिलिट गर्नुपर्छ भन्दै फेरि पासवर्ड मागे । त्यसपछि हामीले ‘किन यसरी पासवर्ड माग्नुभएको ? हाम्रो काम गरिरहेका छौं, हामीलाई काम गर्न दिनुस्’ भन्यौं । तर, उनले हाम्रो कुरै सुनेनन्, केही बेर यसैगरी वादविवाद चलिरह्यो । तर, उर्मिलाले पासवर्ड दिइनन् । बरु ‘म आफैं डिलिट गर्दिन्छु’ भन्दै ‘रिसाइकल बिन’ बाट पनि डिलिट गरिदिइन् । त्यहीं थिए, ‘अनलाइनखबर’ का पत्रकार कौशल काफ्ले अनि केही मिटर पर थिए, ‘कान्तिपुर’का संवाददाता दया दुतराज ।
केही स्थानीयले प्रहरीलाई समर्थन गरिरहेका थिए, भने केहीले हामीलाई । यसैबीच शव पोष्टमार्टमका लागि लगियो । हाम्रो छेउमा केही स्थानीयहरू आएर भने, “म्याडम, तपाईंहरूलाई प्रहरीले रोके पनि आफ्नो काम चैं गर्नुस् है, यो घटनालाई बाहिर ल्याउनुपर्छ ।” प्रहरीको व्यवहारप्रति उनीहरू पनि रुष्ट थिए ।
‘अनलाइनखबर’ का पत्रकार काफ्लेले पनि केही समयअघि तिनै प्रहरीले आफूहरूलाई रिपोर्टिङ गर्न अवरोध गरेको बताए ।
+++
भोलिपल्ट म र उर्मिला दशरथ रंगशाला गएका थियौं । त्यहाँ सुकुम्बासीहरूको विवरण टिपाउने काम भइरहेको थियो । केही विवरण टिपाउन लामबद्ध थिए, केही सरकारसँग आक्रोश पोख्दै त्यसै बसिरहेका थिए, बेवारिसेजस्तै ।
दशरथ रंगशालामा विवरण टिपाउन लामबद्ध भएका विस्थापित सुकुम्बासीहरू । तस्वीरः अर्चना दर्जी
हामीले ती विस्थापितहरूसँग कुराकानी गर्यौं । उनीहरूका कुरा टिपोट गरिरहेकी थिएँ म, उर्मिला भिडिओ खिचिरहेकी थिइन् । केही बेरमा प्रहरी आएर ‘तपाईंहरू जानुस्, यहाँ कुरा गर्न मिल्दैन’ भन्दै हप्काए । हामी उठेर गेटछेउमा बसेका प्रहरीसामु पुग्यौं । हामीले आफ्नो परिचय दिएपछि उनले परिचयपत्र हेरे । ‘यहाँ मिल्दैन, उहाँहरूसँग बाहिर भेट्नुस्, टाढैबाट मात्रै भेट्न मिल्छ’ भने । ‘केके मापदण्ड बनाउनुभएको छ, आधिकारिक निर्णय के छ, दिनुस्’ भनेर माग्यौं । ‘माथिको आदेश’ भन्ने उत्तर पाएपछि ‘माथिको निकाय’ बारे सोध्यौं तर प्रतिउत्तर पाएनौं । हामी केही बेर बसेर विस्थापितहरूसँग कुराकानी गरेर फर्कियौं।
त्यसअघि पनि वैशाख १४ गते म र फोटो/भिडियो पत्रकार अजय हाकुजू सुकुम्बासी बस्तीबाट विस्थापितहरूलाई राखिएको कीर्तिपुरस्थित राधास्वामी सत्संग व्यास आश्रममा रिपोर्टिङका लागि गएका थियौं । हामीभन्दा पहिला नै पुगेका थिए, ‘नयाँ पत्रिका’, ‘ग्लोबल टिभी’लगायत अन्य मिडियाका पत्रकारहरू । आश्रममा खटिएका सुरक्षाकर्मीले उनीहरूलाई होल्डिङ सेन्टरभित्र जान रोकेको रहेछ । पत्रकारले होल्डिङ सेन्टर जान अनुमति मागिरहेका थिए, सुरक्षाकर्मीले रोकेपछि हामी सबै त्यहाँबाट फर्कियौं ।
त्यहाँ भेटिएका पत्रकारहरूले पनि पछिल्लो समय रिपोर्टिङका क्रममा प्रहरीले अवरोध गरिरहेको बताएका थिए। यी सबै घटनाले उनलाई मानसिक रूपमा आहत बनाएको थियो। स्टोरी सकाइवरी डेस्कमा बुझाएर बासस्थान फर्किंदै गर्दा म सोच्दै थिए— ‘अहो ! सरकार के यति निर्दयी हुन सक्छ? के समाजबाट मानवता हराउँदै गएको हो?’