शुरूमा कलेजका विद्यार्थीहरूद्वारा च्याट गर्न बनाइएको एमआरआरले अहिले सत्ता सञ्चालन गर्ने ‘सफ्ट पावर’ को रूपमा आफ्नो शक्ति वृद्धि गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहसमेत सदस्य रहेको यस समूहबाट १७ जना सांसद संसद्मा छन् ।
सन् २०११ को अन्त्यतिर दाङका यज्ञ ढकाल, कैलालीका ज्ञान मल्ल ठकुरी, भक्तपुरका समल बुढाथोकी र मनिष थापाले फेसबुकमा एउटा पेज खोले र नामकरण गरे—‘मेन्स रुम रिलोडेड’ (एमआरआर) । नयाँबानेश्वरको तीनकुनेस्थित भीएस निकेतन कलेजबाट विज्ञान विषयमा प्लस टु सकेर विभिन्न कलेजमा स्नातक गरिरहेका यी चार संगीले अन्तरंग कुराकानी गर्न यो पेज बनाएका थिए । पेज सबैका निम्ति खुला थिएन । एडमिनले अनुमति दिएपछि मात्र यो ‘प्राइभेट ग्रुप’ भित्र छिर्न पाइन्थ्यो, पाइन्छ । चारजना सहपाठीले खोलेको पेजमा यो रिपोर्ट तयार पार्दासम्म ५५ हजार २ सय सक्रिय सदस्य आबद्ध भइसकेका छन्, जसमा केही समय अघिसम्म प्रधानमन्त्री बालेन्द्र शाहसमेत सदस्य थिए ।
२०७२ सालको भूकम्पपछि एमआरआरले विभिन्न ठाउँमा गएर सहयोग गर्नुका साथै सडक भोज आयोजना गर्थ्यो । जहाँ शाह पनि सहभागी हुन्थे । उनी ग्रुपमा सदस्य मात्र नभई सक्रिय भएर पाेष्टसमेत गर्ने गरेको सन्तोषकुमार थापा सुनाउँछन् । सन्तोषका अनुसार सन् २०१२ देखि सक्रिय सदस्य रहेका प्रधानमन्त्री शाह काठमाडौं महानगरको मेयर जितेपछि पनि समूहमा सक्रिय थिए। पछि आफै यो समूहबाट हटे । एमआरआर समूहका १७ जना सक्रिय सदस्य रास्वपाबाट चुनाव जितेर सांसद बनेका छन् । यीमध्ये एक प्रधानमन्त्रीसहित ५ जना त मन्त्रिपरिषद्का सदस्य छन् ।
एमआरआरका सांसद बनेका सक्रिय सदस्यहरू–बालेन्द्र शाह, सस्मित पोखरेल, सुनिल लम्साल, विराजभक्त श्रेष्ठ, गनेस पौडेल (खडक राज पौडेल), गणेश कार्की, राजीव खत्री, सुलभ खरेल, प्रशान्त उप्रेती, सागर ढकाल, बदन भण्डारी, केपी खनाल, सोम शर्मा, कमल सुवेदी, मनिष खनाल, बब्लु गुप्ता, पुकार बम ।
जेठ १२ गते राष्ट्रिय मानवअधिकार आयोगले जेन–जी अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको थियो । २९ पृष्ठको उक्त सिफारिश प्रतिवेदनको बुँदा–३० मा प्रदर्शनका आह्वानकर्ता, अभियन्ता र समर्थक भन्दै गणेश कार्की, सुलभ खरेल, बब्लु गुप्ता, राजीव खत्री, सोम शर्मा, केपी खनालसहित ४८ जनालाई कारबाही गर्न सिफारिश गरेको छ । माथि उल्लेखित नाम एमआरआरका सदस्य पनि हुन् । आयोगको प्रतिवेदनमा भनिएको छ, “उनीहरूको अभिव्यक्तिले प्रदर्शनलाई उत्तेजित बनाउन भूमिका खेलेको भन्ने विभिन्न कोणबाट टीका–टिप्पणीसमेत भएको देखिंदा भदौ २३ र २४ गतेको घटनामा भएको मानवीय र भौतिक क्षति समेतका कार्यमा निजहरूको संलग्नता रहे नरहेको, निजहरूको अभिव्यक्तिबाट समेत प्रदर्शनकारीहरू आक्रोशित र उत्तेजित भई कुनै असर र प्रभाव परे नपरेको सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पुग्ने काम भए नभएको वा सोको दुरुत्साहन भए नभएको सम्बन्धमा थप अनुसन्धान हुन आवश्यक देखिन्छ ।”
प्रधानमन्त्री शाहका प्रमुख सल्लाहकार कुमार बेन पनि एमआरआरका सक्रिय सदस्य हुन् । एमआरआरको भगिनी पेजजस्तो देखिने ‘रुटिन अफ नेपाल बन्द’ (आरओएनबी) का सञ्चालक भिक्टर पौडेल पनि यसका सक्रिय सदस्य हुन् । यज्ञको भनाइमा सम्भवतः भिक्टर, कुमार र शाहको भेट यही समूहबाट भएको हुनसक्छ ।
‘केटाहरूको कोठा’
यज्ञ ढकालका अनुसार बेलायतमा बसोबास गर्ने समलका साथी सनम राईले सन् २००९ मा ‘मेन्स रुम’ नामक फेसबुक पेज खोले— मेन्स रुम (एमआर) अर्थात् ‘केटा कोठा’ । फेसबुकले आफ्नो ‘गाइडलाइन्स’ विपरीत काम गरेको भन्दै यो पेज २०११ मा बन्द गरिदियो । समलले आफ्ना साथी ज्ञान, यज्ञ र मनिषको सहकार्यमा त्यसलाई ब्युँताउन निकै कोशिश गरे तर पेज फिर्ता हुन सकेन । र, आइडिया निकालियो । एमआरलाई केही परिष्कृत गरेर एमआरआर बनाइयो । यो दिन थियो— ११ डिसेम्बर २०११ । यसै दिनलाई स्मरण गरेर वार्षिक उत्सव मनाइन्छ । त्यसरी खुलेको मेन्स रुम रिलोडेड (एमआरआर) अहिले युवामाझ निकै चर्चित छ । यसका एडमिनको भनाइमा दश हजार जनाले यस समूहमा जोडिन अनुमति मागेका छन् । तर, तिनलाई थाती राखिएको छ । हरेक दिन २० जना जोडिन्छन् भने त्यति नै संख्यालाई हटाउने गरिएको छ । एमआरआरमा जापान, कोरिया, कतार, दुबई, साउदी अरब, मलेशिया, अमेरिका, अष्ट्रेलिया, फिनल्याण्ड, युरोपलगायत देशमा गएका युवा जोडिएका छन्। पछिल्लो समय यसले निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न सक्ने शक्ति आर्जन गरेको विश्वास गरिन्छ ।
एमआरआरको शुरूआत गर्ने एडमिन दाङका यज्ञ ढकाल, कैलालीका ज्ञान मल्ल ठकुरी, भक्तपुरका समल बुढाथोकी, मनिष थापा र सनम राई। (बायाँबाट क्रमशः)
शुरूमा यसको मूल मन्त्र भ्रातृत्व र मनोरञ्जन थियो । एमआरआरका एडमिनमध्येका एक सन्तोषकुमार थापाका अनुसार, त्यो बेला कलेजका क्रियाकलाप र गृहकार्यमाथि छलफल हुन्थ्यो । परीक्षा तालिका पोष्ट हुन्थ्यो । परीक्षाको तयारीबारे छलफल हुन्थ्यो । पछि यस समूहमा मान्छे हराएको सूचना, कसैको सामान हराएको सूचनादेखि कहाँ–के भइरहेको छ भन्ने सूचना दिन थालियो । कतै सहयोग चाहिएको छ भने पनि एमआरआरबाट सहयोग मिल्थ्यो।
अहिले यसमा ठट्यौली, लेख, सामाजिक क्रियाकलाप, स्थानीय समाचार र अनलाइन सहयोगका लागि आह्वान गरिएका पोष्ट राखिन्छन् । सन् २०१२ देखि सक्रिय सदस्य र चार वर्षदेखि एडमिनको भूमिकामा रहेका सन्तोष भन्छन्, “केटाहरूले भेज–ननभेज दुवै खालका जोक्स पोष्ट गर्थे ।” उनका अनुसार, महिलालाई अपमान गर्ने स्ट्याटस पोष्ट गर्न भने पाइँदैन । कसैले विवादित पोष्ट गरेमा एडमिनले तुरुन्तै हटाउँछ । सदस्यहरूको आयतन बढ्दै गएपछि समूहलाई सभ्य र शिष्ट बनाउन आचारसंहिता बनाइएको छ । के गर्न हुने र के गर्न नहुने भनेर लामो सूची तयार पारिएको छ । यद्यपि, शुरूदेखि नै ‘प्राइभेट’ एमआरआरमा महिलालाई प्रवेश वर्जित छ । तर, पुरुषले पनि चाहँदैमा सदस्य बन्ने योग्यता राख्दैनन् । यसमा जोडिन १८ वर्ष पुगेको नेपाली पुरुष हुनुपर्छ।
गोविन्द केसीदेखि निर्मला पन्तसम्म
सदस्य संख्या बढ्दै गएपछि सन् २०१३ देखि यो समूह प्रत्यक्ष रूपमा सामाजिक सेवामा सक्रिय हुन थाल्यो । यज्ञका अनुसार २०१५ मा डा. गोविन्द केसीले चिकित्सा सुधारका लागि थालेको अनसनलाई समर्थन गर्दै उनीसहित एमआरआरका सदस्य माइतीघरमा १५ दिनसम्म रिले अनशन बसे।
२०७५ साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन भन्दै भूमिगत शैलीमा संघर्ष गर्ने पनि यही टोलीका सदस्यहरू थिए । एकातिर पन्तको हत्यारा खुल्लमखुल्ला घुमिरहेका थिए भने अर्कातिर तत्कालीन सरकारले सामाजिक सुरक्षा कार्यक्रम शुरू गरेको भन्दै राजधानीका पोलपोलमा प्रधानमन्त्री केपी शर्मा ओलीका तस्वीर र चोकचोकमा होडिङ बोर्ड झुण्ड्याएको थियो । त्यो बेला सरकारको विरोधमा विभिन्न ठाउँमा ‘सरकार भेटियो, न्याय भेटिएन’ भन्ने पोष्टर टाँसियो । त्यसबारे एमआरआरकै भाइचाराको सम्बन्ध रहेको अर्को फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ ले जिज्ञासा पैदा गराउने गरी स्ट्याटस राखेर प्रचार गर्यो।
त्यसबेलाको घटना सम्झँदै यज्ञ भन्छन्, “हामी २० जनाले बिहान तीन बजेदेखि पाँच बजेसम्म प्रहरीसँग लुक्दै काठमाडौंका विभिन्न ठाउँमा पोष्टर टाँस्यौं । ती पोष्टरका तस्वीर रवि लामिछानेले आफ्नो टेलिभिजन कार्यक्रम सिधाकुरामा देखाएपछि त्यसले झन् चर्चा पायो ।” त्यस्ता पोष्टर कसले टाँस्यो भन्ने धेरैलाई खुल्दुली भयो । यसरी सामाजिक सवालमा जोड्ने व्यक्ति हुन्, विक्रम केसी । उनी अहिले विदेशमा छन् । समूहबाट टाढा भइसकेका छन्।
निर्मला पन्तको न्यायदेखि गोविन्द केसीको अनसनसम्म एमआरआरले गरेको प्रदर्शन ।
एमआरआरभित्र ‘रात्रिकालीन बहस’ जस्ता कार्यक्रम सञ्चालन हुन थाले, जहाँ दिनभरिका चर्चित विषयमा छलफल हुन्थे । “कोभिडको समयमा हामीले मानसिक स्वास्थ्यसम्बन्धी धेरै काम गर्यौं। हरिवंश आचार्यलगायतका कलाकारलाई समूहमा ल्याएर सदस्यहरूसँग अन्तरक्रिया गरायौं,” सन्तोषले भने । कुनै स्थायी कोष नभए पनि समूहका सदस्य कसैलाई आपत् पर्दा पैसा उठाउन समय लाग्दैन । एक–दुई घण्टामै लाखौं रुपैयाँ संकलन हुने र पारदर्शी रूपमा सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको सन्तोषको दाबी छ।
रक्तदानका लागि ‘एमआरआर ब्लड डाटाबेस’ खडा गरिएको छ । यो एउटा गुगल फर्म हो, जहाँ सदस्यहरूले आफ्नो रगतको समूह, स्थान र सम्पर्क नम्बर राखेका हुन्छन् । कसैलाई रगत चाहियो भने अस्पताल र क्षेत्रअनुसार तुरुन्तै रक्तदाता भेटिन्छन् । यो डाटाबेस हरेक वर्ष अपडेट गरिन्छ । विशेष गरी कोभिडपछि यसको महत्त्व झन् बढेको सन्तोषको अनुभव छ।
पछिल्लो समय जेन–जी शहीदलाई जनही पचास हजार रुपैयाँका दरले राहत वितरणसमेत गरेको बताउँदै सन्तोष भन्छन्, “विदेशमा रहेका एमआरआरका दाजुभाइले ४० देखि ५० लाखसम्म उठाएका छन्। जेन–जी घाइतेको उपचार खर्चसमेत गरेका छौं ।” अर्थ संकलनको समन्वय एमआरआर कोरियाका सुजन उप्रेतीले गरेका हुन्।
कलाकारहरूको आबद्धता
‘कोरीबाटी’ नामक मनोरञ्जन अनलाइन पोर्टल सञ्चालन गर्ने सन्तोषका अनुसार एमआरआरमा निश्चल बस्नेत, अर्जुन घिमिरे (पाँडे), प्रदीप भट्टराई, रविन्द्र सिंह बानियाँ, नाजिर हुसेन, दीपकराज गिरीलगायतका कलाकार पनि जोडिएका छन् । कलाकारसँग मिलेर गरिएको ‘एमआरआर लब ब्यांक’ ले लुगाफाटा र किताबहरू दान गथ्र्याे । ‘गिभ लभ, टेक लभ’ यसको उद्देश्य थियो । यस ब्यांकको उद्घाटन निश्चल बस्नेतले गरेका थिए । यी कलाकार पछिल्ला समय सडक प्रदर्शनमा देखिनुका पछाडि एमआरआरमा आबद्धता प्रमुख कारण थियो । एमआरआरमा आबद्ध कलाकारहरू निश्चलको नेतृत्वमा भदौ २४ गतेको विध्वंसमा समेत संलग्न थिए । जेन–जी विद्रोहपछिको अन्तरिम सरकार प्रमुख सुशीला कार्कीको शपथ ग्रहण कार्यक्रम होस् वा रवि–बालेन मिलाउने गोप्य बैठक निश्चलको उपस्थिति प्रायः मा हुने गथ्र्यो । राष्ट्रिय मानवअधिकार आयोगको जेन–जी विद्रोह अनुसन्धान प्रतिवेदनको सिफारिशमा केही कलाकार र कन्टेन्ट क्रियटरसहित निश्चल बस्नेतमाथि पनि कारबाही गर्न सिफारिश गरेको छ।
एमआरआरले प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको मागसहितको प्रदर्शन गर्दा त्यसमा निश्चल पनि सहभागी थिए । सन्तोष आफूलाई यी कलाकारलाई एक ठाउँमा ल्याउने सहजकर्ताको रूपमा चिनाउन चाहन्छन् ।यज्ञ भने निश्चल बस्नेत लगायतका कलाकार एमआआरमा उहिल्यैदेखि आबद्ध रहेको बताउँछन् । सन् २०१४ मा एमआरआरले वार्षिक उत्सवमा ठूलो कार्यक्रम नै राखेको थियो । उक्त कार्यक्रम सञ्चालन अहिलेका सांसद राजीव खत्रीले गरेका थिए । त्यस कार्यक्रममा निश्चल बस्नेत, नाजिर हुसेनदेखि कालीप्रसाद बाँस्कोटासम्म आएका थिए । कालीप्रसादले गीतसमेत गाएका थिए ।
निश्चलले हालसालै समूह छाडेका छन् । एकजना सदस्यले निश्चललाई लिएर टिप्पणी गरेपछि उनी बाहिरिएको यज्ञले बताए ।
एमआरआरको सडक प्रदर्शनमा दीपकराज गिरीलगायतका कलाकारहरूको समर्थन ।
बालेन्द्र शाहको प्रचारतन्त्र
एमआरआरको छुट्टै फेसबुक पेज पनि छ, जसको ७९ हजार फलोअर छन् । त्यसमा पनि एडमिनले मात्रै पोष्ट गर्न पाउँछन् । एमआरआर राजनीतिक एजेण्डामा लाग्न थालेपछि उसले एक पक्षीय पोस्ट गर्न थाल्यो । विशेष गरी २०७९ को स्थानीय निर्वाचनमा बालेन्द्र शाहले काठमाडाैं महानगरपालिकामा मेयर पदमा उम्मेदवारी दिएपछि एमआरआरका सदस्यहरू पूरै चुनावी ‘क्याम्पेन’ मा होमिए । सन्तोष बालेन्द्रलाई मात्रै नभई हर्क साम्पाङ र गोपाल हमालजस्ता स्वतन्त्र उम्मेदवारलाई समेत जिताउने अभियानमा लागेको बताउँछन् । त्यो बेला यस समूहलाई घृणात्मक र मिथ्या सूचना फैलाएको आरोप लागेको थियो ।
निर्वाचन आचारसंहिताविरुद्ध काम गरेको भन्दै निर्वाचन आयोगले मेटासँग छलफल गरी यस पेजलाई निस्क्रिय पारिदियो । एमआरआरको शक्ति थाहा पाएरै तत्कालीन सरकारले पेज निष्क्रिय पारिदिएको आरोप लगाउने सन्तोष भन्छन्, “त्यहाँ आबद्ध सदस्य सबै राजनीतिक दलहरूबाट वाक्क दिक्क भइसकेका थिए । नयाँ आउनुपर्छ भन्ने लाइन मिल्यो । हामीले त्यही बमोजिम क्याम्पेन गर्यौं ।”
मेयरकालमा निर्वाचित भएपछि एमआरआरका तर्फबाट धन्यवाद पोष्ट ।
मेयरमा उठ्दा शाहको परिचय र्यापरका रूपमा सीमित थियो । उनको परिचय अहिलेको जस्तो चर्चामा आइसकेको थिएन । मेयरका लागि शाहले ६ महीनाअघिदेखि नै तयारी गरिरहेका थिए । त्यो बेला काठमाडौंको चोक र गल्लीमा कार्यक्रम हुन्थ्यो । कार्यक्रममा एमआरआरका सदस्य नै चुनावी अभियानमा जान्थे । तिनले बालेनलाई जिताउन ‘घरबेटी सम्झाऊ’ अभियान चलाए । यज्ञ भन्छन्, “बालेनलाई सानो समूहबाट जनमानसमा चिनाउन एमआरआरले सहयोग गर्यो । उहाँले पनि सायद स्विकार्नुहुन्छ होला । मेयर जिताउने अभियानमा एमआरआर लागेको हो ।”
बालेन्द्र शाह मेयरमा निर्वाचत भइसकेपछि एमआरआरको आयोजनामा ठाउँठाउँमा मतदाताकेन्द्रित धन्यवाद अभियान सञ्चालन गरिएको थियो । मेयर पद त्यागेर झापा–५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न गएका बालेन्द्र शाहलाई जिताउन गरिएको चुनावी ‘क्याम्पेन’ मा पनि सक्रिय थियो— एमआरआर ।
एमआरआरका सदस्य सरकारमा गए पनि आफूहरूले सरकारको खबरदारी गरिरहेको बताउँछन्, सन्तोष । उनी भन्छन्, “एमआरआरले प्रतिपक्षको पनि भूमिका खेल्छ । राम्रो कामको प्रशंसा र नराम्रो गर्नेलाई विरोध गरिन्छ । गणेश कार्की र राजीव खत्री, जो अहिले सांसद हुनुहुन्छ, उहाँहरू अहिले पनि समूहमा सक्रिय हुनुहुन्छ । उहाँहरूलाई सदस्यहरूले प्रश्न गर्ने गरेका छन् ।”
प्रधानमन्त्रीको किचन क्याविनेटसम्म
कुनै निकायमा दर्ता नभएको यो पेज सञ्चालन गर्न अहिले ९ जना एडमिन सक्रिय छन् । यज्ञ ढकाल, शर्माजी भनिने सुनिलकुमार शर्मा, सुजन श्रेष्ठ, आशीर्वाद अधिकारी, विनोद रिमाल, सुवोध बुढाथोकी, ज्ञान मल्ल ठकुरी, सुवास शर्मा र सन्तोषकुमार थापा । यीमध्ये यज्ञ ढकाल हाल अष्ट्रेलियामा छन् भने ज्ञान मल्ल ठकुरी अमेरिकामा बस्छन् । ज्ञान खासै सक्रिय छैनन् ।
प्रधानमन्त्री शाहको सचिवालय सञ्चालनमा एमआरआरका ७ जना सदस्य छन् । एमआरआरको एडमिनसमेत रहेका स्याङ्जा, आँधीखोला गाउँपालिका–५ का सुवास शर्मा शाहको प्रमुख स्वकीय सचिव हुन् । उनी ‘चियादानी’ क्याफेका सञ्चालक पनि हुन् । शर्मा शाहको चुनावी अभियानमा देशभर हिंडेका थिए । सन्तोषका अनुसार प्रमुख स्वकीय सचिव बनेपछि शर्मा एडमिनको भूमिकाबाट बाहिरिएका छन्, यद्यपि सक्रिय सदस्यको रूपमा उनको भूमिका भने यथावत् नै छ । सन् २०१८ देखि एडमिनको भूमिकामा पोखराबाट सक्रिय थिए । सुवासलाई एमआरआरमा जोड्ने यज्ञ भन्छन्, “यदि सुवास एमआरआरको सदस्य नभइदिएको भए प्रधानमन्त्रीको किचन क्याबिनेटसम्म पुग्न सक्दैनथ्यो ।” हिजो मात्रै (जेठ ३१ गते) मात्रै काठमाडौंको शंखमूलस्थित चियादानीमा प्रधानमन्त्री शाह चिया पिउन पुगेका छन् । उनले त्यहीं प्रधानमन्त्री शाह, गृहमन्त्री सुधन गुरुङ र पूर्वाधार मन्त्री सुनिल लम्सालसँग खिचेको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गर्दै लेखेका छन्, ‘देश बनाउने टोली’ उनको उक्त पोष्टलाई लिएर विभिन्न टीका–टिप्पणी भइरहेको छ । चियादानी शर्मासहित रास्वपा सांसद केपी खनालको हो । खनाल गत चुनावमा कैलाली–२ बाट निर्वाचित सांसद हुन् ।
एमआरआरका सक्रिय सदस्य कुमार व्यञ्जनकार (कुमार बेन) प्रधानमन्त्रीको प्रमुख सल्लाहकार हुन् । उनको आफ्नै फेसबुक पेज ‘ट्रोल नेपाल’ र नेपाली स्पोर्ट्स फ्यान सञ्चालनमा छ । सामाजिक सञ्जाल सञ्चालनका राम्रो जानकार बेन शाहका रणनीतिकार मानिन्छन् ।
एमआरआरका अर्का सदस्य तथा प्रधानमन्त्रीका स्वकीय सचिव नवीन भण्डारी मेयरकालमा समेत बालेन्द्रका सहायक स्वकीय सचिवको रूपमा कार्यरत थिए । उनी पछिल्लो चुनावी अभियानमा देशभर बालेन्द्रसँगै थिए । प्रधानमन्त्रीका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईं मेयरकालमा पनि प्रेस हेर्थे । उनी चुनावी अभियानभर यही भूमिकामा थिए । नीति, प्रशासन तथा सुशासन संयोजक सुदीप ढकाल मेयरकालदेखिकै सचिवालय सदस्य हुन् । ‘रुटिन अफ नेपाल बन्द’ का विवेक मिश्र अहिले प्रधानमन्त्रीको सूचना तथा सञ्चार प्रविधि विज्ञका रूपमा नियुक्त भएका छन् । मेयरकालदेखिका फोटोग्राफर विनय शाक्य पनि प्रधानमन्त्रीको सचिवालयमा छन् । यी सबैजना एमआरआरमा सक्रिय छन् ।
बालेन शाहको वरिपरि (माथिबाट घडीको सुईको दिशामा) सुदीप ढकाल (टोपीमा), नवीन भण्डारी, विवेक मिश्र, विनय शाक्य, सुरेन्द्र बजगाईं, सुवास शर्मा र कुमार व्यञ्जनकार (कुमार बेन)।
एमआरआर भजन
पछिल्लो समय एमआरआरको थप परिचय थपिएको छ—भजन संयोजनकर्ता । शुरूमा वैकल्पिक राजनीतिको वकालत गर्ने यसका सदस्य बिस्तारै धार्मिक एजेण्डातर्फ मोडिएका छन् । त्यसैले पछिल्लो समय एमआरआर भन्नासाथ केहीले भजनमण्डलीको रूपमा पनि चिन्न थालेका छन् । यस समूहको नाममा टिकटकदेखि फेसबुकका रिल्समा युवादेखि बुढाबुढीसम्म भजनमा मग्न भेटिन्छन् । एमआरआरमा भजन गाउने काम करीब डेढ वर्षअघि पोखराबाट शुरू भएको हो । पोखराका एमआरआरका सदस्यले शुरूमा भिडियोमार्फत भजन गाउन थाले ।
जेठ १६ गते शनिबारका दिन बुटवलको इलाका प्रहरीले कार्यालय परिसरमा एमआरआर भजन आयोजना गरेको छ ।
तिनले बिस्तारै मन्दिरको आँगनमा गाउन थाले । पोखराबाट शुरू भएको एमआरआर भजन देशैभरि फैलिएको छ । काठमाडौं, भक्तपुर, ललितपुर, बुटवल, चितवन, पोखरा, सुर्खेत, विराटनगर झापालगायतका ठाउँमा हरेक शनिबार साँझ ५ बजेतिर भजन कार्यक्रम हुन्छ । हुँदाहुँदा जेठ १६ गते शनिबारका दिन बुटवलको इलाका प्रहरी कार्यालयको परिसरमा भेला भई सयौं भक्तजनले भजन गाए । यसको आयोजक एमआरआर थियो । पछिल्लो समय भजनको माग जताततै बढेको बताउने सन्तोष भन्छन्, “अहिले टोल टोलबाट भजन गाउन त्यहाँका स्थानीयले बोलाउँछन् ।” भजन पछिल्लो समय सबैभन्दा प्रभावकारी भएको उनको दाबी छ । हिमालखबर ले के यो पनि राजनीतिक अस्त्रको रूपमा प्रयोग भइरहेको हो भनी प्रश्न गर्दा सन्तोष त्यस्तो प्रश्नलाई अस्वीकार गर्दै भन्छन्— “यो धर्म संस्कृति संरक्षणको नाममा अघि बढाइएको हो । नयाँपुस्ता मनो–सामाजिक हिसाबले एक्लै भएकोले यस्तो खालको कामले तिनलाई समाजसँग घुलमिल गर्न सहयोग पुग्छ । र, यो प्रभावकारी पनि देखिएको छ ।”
एमआरआरको कार्यक्रममा सहभागीहरू भजन–कीर्तनमा रमाउँदै।
सूर्य छाडेर घण्टीतिर
एमआरआरको नाम विभिन्न दलसँग जोडिन्छ । यसमा आबद्ध धेरै जना पछिल्लो समय पुराना राजनीतिक दलप्रति असन्तुष्ट थिए । कुनै बेला यो समूह नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई देवत्वकरण गर्न लागेको थियो । २०७२ सालमा संविधान जारी भएपछि भारतले नाकाबन्दी लगाउँदा तत्कालीन प्रधानमन्त्री ओलीले खेलेको भूमिकाको समर्थनमा ‘प्रधानमन्त्री भारतसँग नझुकेको’ भन्दै उनको राष्ट्रवादी छवि बनाउने काममा एमआरआरका सदस्यहरु सक्रिय थिए । संविधान संशोधन गरी नयाँ नक्सा संविधानमा राखिएपछि त ओलीप्रतिको समर्थन र सद्भाव झन् बढ्न गएको यज्ञ स्वीकार गर्छन् । त्यो बेला एमआरआर र आरओएनबी दुवैलाई एमाले र ओलीको समर्थक भनेर आलोचना हुन्थ्यो । भिक्टर शुरूमा एमाले नेता विष्णु रिमाल नजिक थिए ।
तर, यो समर्थन कोभिडकालपछि घट्न थाल्यो । ओलीले दुई दुई पटक संसद् विघटन गरेपछि उनीप्रति जनमानसमा वितृष्णा फैलिरहेको थियो । यस्ता खालका वितृष्णालाई मलजल गर्न कुनै समय ओलीको देवत्वकरण गर्ने एमआरआर र आरओएनबी नै लागिरहेको थियो । आरओएनबीले एमालेलाई छाडी बालेन्द्र शाहलाई ‘प्रोजेक्ट’ गर्न थाल्यो । यसका लागि सूचनाको स्रोत नै एमआरआर थियो । यज्ञका अनुसार भिक्टरलाई सूचना प्राप्त गर्न र युवामाझ चर्चित हुन यस समूहले पनि काम गर्यो होला । यज्ञ जिस्किंदै भन्छन्, “हामी त एमआरआर र आरओएनबीलाई ब्रदर–ब्रदर ग्रुप भन्छौं ।”
रास्वपाका धेरै नेता पहिलादेखि नै एमआरआरमा सक्रिय थिए । आरओएनबीलाई सरकारको पक्षपोषण गर्ने समाचार लेखेको भन्दै आलोचना हुने गरेको छ । त्यसको पछाडि यस पेजले सरकारी माध्यमबाट सार्वजनिक नहुँदै सरकारी सूचना चुहाउन थालेको छ । यज्ञ एमआरआरलाई रास्वपाको भ्रातृ संगठन जसरी नहेर्न आग्रह गर्छन् । समूहमा सबै दलमा आस्थावान् दाजुभाइहरू छन् । अहिलेको सबैभन्दा चुनौती नै यही भएको बताउँछन् । रास्वपाको संख्या बढी भएकाले तिनको समर्थनमा बढी पाेष्ट आएको हुनसक्ने उनी स्वीकार्छन् ।
तीन वर्षअघिसम्म एमआरआरमा सक्रिय सदस्य रहिसकेका अभियानकर्मीको भनाइमा यस समूहमा पहाडे राष्ट्रवाद, हिन्दू राष्ट्र र केन्द्रीकृत शासन प्रणालीको पक्षपोषण गर्नेहरूको बाहुल्य छ । हरेक वर्ष पोष्टमार्फत राजा वीरेन्द्रको जन्मदिन मनाइन्छ । यो विचार केही हदसम्म रास्वपासँग मेल खान्छ । यस समूहमा महिला र यौनिक अल्पसंख्यकलाई किन नजोडेको भन्ने प्रश्न बारम्बार उठ्ने गरेको यज्ञ सुनाउँछन् । काठमाडौं पढ्न आएका युवाले खोलेको ‘डिजिटल ग्रुप’ यति प्रभावशाली अस्त्र होला भन्ने यसका एडमिनले कल्पनासम्म गरेका थिएनन् । शुरूदेखि नै एडमिनको भूमिकामा रहेका यज्ञ भन्छन्, “यसको प्रभाव देखेर हामी आफै छक्क परेका छौं ।”