सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएर हटाएका विस्थापितलाई विभिन्न होल्डिङ सेन्टरमा राखेको छ। तीमध्ये राधास्वामी सत्संग व्यास आश्रम कीर्तिपुरमा राखिएकाहरू नजरबन्दमा परेको महसूस गरिरहेका छन् ।
रामकुमारी राई (५०), मौतीमाया तामाङ (५१), हरिमाया जिम्बा (५२), रश्मी उराउ (५३)— नीलो पालको भित्तामा सेतो कागजमा लेखेर टाँसिएका नाम हुन् यी । उनीहरूलाई थापाथलीको सुकुम्बासी बस्तीबाट उठाएर कीर्तिपुरस्थित राधास्वामी सत्संग व्यास आश्रममा राखिएको छ।
हरिमाया जिम्बा । तस्वीरहरूः मेनुका छन्त्याल
२३ दिन भयो, होल्डिङ सेन्टरमा यिनीहरूको नाम टाँसिएको । तर कहिले निकालिन्छ, थाहा छैन । बाहिर वैशाखको चर्को घाम लागिरहेको थियो । हावासमेत छिर्न मुस्किल पर्ने एक अर्कामा टाँसिएका नीला टेन्टभित्र बत्ती बालेर बसिरहेका थिए, कोही वृद्ध, कोही जवान, कोही बच्चा, कोही सुत्केरी, कोही गर्भवती, कोही दीर्घ रोगी ।
उनीहरूले न बाहिरका कोही मान्छेसँग भेट्न पाएका छन्, न त दैनिक ज्यालादारी गर्नेले मजदूरी गर्न पाएका छन् ।
कैदीजस्तै भएर बसिरहेका छन्, होल्डिङ सेन्टरमा निर्दोष सुकुम्बासीहरू । यहाँबाट बाहिर निस्कने अनुमति मात्रै पर्याप्त छैन । जाने ठाउँ, फर्कने समय र बीचमा के–के काम गर्ने हो, सबै विवरण गेटमा टिपाउनुपर्छ । बाहिरबाट केही सामान ल्यायो भने पनि गेटमा पोका खोतलेर हेरिन्छ ।
हामी पुगेपछि सरकारलाई आफ्नो कुरा पुर्याइदिनु है भन्दै खोक्दै–खोक्दै छेउमा आएर बसिन्, ५२ वर्षीया हरिमाया जिम्बा । निमोनिया बिग्रिएर औषधी खान थालेको धेरै वर्ष भइसक्यो । हरेक बिहान ६ बजे केही खाएर औषधी खानुपर्छ । तर, सेन्टरमा ७ बजे मात्रै चिया र बिस्कुट दिन्छन् । अक्सिजनसमेत साथै बोकेर हिंड्नुपर्ने अवस्थाकी हरिमायाले होल्डिङ सेन्टरमा उकुसमुकुस भएर बस्नुपरेको सुनाइन्।
कसरी सुकुम्बासी बस्तीमा पुग्नुभयो भनेर हामीले प्रश्न गरेपछि सम्झिइन्, २० वर्षअघिको कथा । सिन्धुली मरिनखोलाको डाँडामा घर थियो । जग्गा उनको ससुराले कमाएका थिए । तर, जग्गाको प्रमाणपत्र एक जना माझीको साथमा थियो । कोदो र मकै मात्रै उब्जिन्थे ।
सशस्त्र विद्रोहको बेला हरिमायाको देवर आर्मी थिए । विद्रोही पक्षले उनको घरमा आउँदै ‘देवरलाई समातेर ल्याऊ, नत्र माओवादीमा हिंड’ भन्दै दबाब दिन थाले । डरकै कारणले हरिमायाको श्रीमान् माओवादीमा लागे ।
तीन वर्षसम्म उनको श्रीमान् सम्पर्कमा थिए । त्यसपछि बेपत्ता भए । उनी कहिल्यै फर्केर आएनन् । त्यति बेला उनी ३६ वर्षकी थिइन् । “माओवादीले कारबाही गरेर भारततिर लगे भन्ने सुनिन्थ्यो,” उनी सुनाउँछिन्, “आर्मी आएर पनि मलाई नै च्याप्ने, माओवादीले पनि मलाई नै च्याप्ने ।” एकातिर श्रीमान् बेपत्ता, अर्कातिर दुवै पक्षको यातना अनि ४ सन्तानको जिम्मेवारीको भारी । कम्ता कठिन थिएन, जिन्दगी ।
बर्खाको समयमा तामा काटेर गुजारा गर्थिन् । एक पाथी धानमा एक धार्नी तामा साट्थिन् । हिउँदभरि रक्सी पार्थिन् । अरूको कोदो, मकै पिसाइदिन्थिन्, त्यसबापत एक पाथी कोदो दिन्थे, ज्याला स्वरूप । त्यही कोदोलाई रक्सी बनाउँथिन् । यसरी गुजारा चलाइरहेकी थिइन् । पछि सशस्त्र युद्धकै बेला तामा काट्ने वनलाई सामुदायिक बनाइयो । त्यसपछि तामा काट्न प्रतिबन्ध लगाइयो । रक्सी पार्न पनि प्रतिबन्ध लगाइयो ।
उनको छोराछोरीको विद्यालय ३ घण्टा बढीको पैदल दुरीमा थियो । यही भौगोलिक जटिलताको कारणले हिउँदमा कक्षा छुटिरहन्थ्यो, बर्खामा त खोला तर्न नसकेर विद्यालय जानै पाउँदैनथे। तैपनि जसोतसो विद्यालय पठाइरहेकी थिइन् । तर, गुजारा चलाउने बाटो बन्द भएपछि छोराछोरी पढाउन गाह्रो भयो । त्यसपछि काठमाडौं जाने निर्णय गरिन् ।
तिथि मिति ठ्याक्कै थाहा नभए पनि सरकार र विद्रोही पक्षको वार्ता हुनुअघि जेठको कुरा हो । दुई छोराछोरीलाई माइतमा राखिदिइन् । काठमाडौं जानका लागि गाडी भाडा थिएन । गाडीमा काम गर्ने गाउँकै व्यक्तिलाई एउटा कुखुराको भाले दिएर काठमाडौं पुर्याइदिन भनिन् । फेरफार गर्ने केही कपडा र दुई छोराछोरी च्यापेर काठमाडौंको गाडी चढिन् ।
गाडी खासै नदेखेकी उनी ठूलो गाडीलाई माउ गाडी, सानोलाई बच्चा गाडी अनि ठूलो टिपरलाई भाले गाडी भनेर चिन्थिन् । अपरिचितजस्तै लाग्ने सोही गाडीले हरिमायालाई परिस्थितिवश राजधानी ल्यायो ।
अब शुरू भयो, उनकाे अर्को संघर्षको कथा । पहिल्यै काठमाडौं आएकी एक जना साथीले उनलाई ‘शंखमूल आउनु है’ भनेर बोलाएकी थिइन् । पहिलोपल्ट काठमाडौं आएकी उनी कहाँ पुगेकी थिइन्, अहिलेसम्म थाहा छैन । तर, उनलाई याद छ मन्दिरमा पुगेको ।
“बिहान बेलुकै मान्छेहरू पूजा गर्न आउँदा रै’छन्,” उनी सम्झिन्छिन्, “कुनामा बच्चा च्यापेर बसेकी थिएँ, त्यहाँ बसेको देखेर पुलिसले लान खोज्यो अनि मेरो मान्छेले लिन आउँछ भनेपछि छोडिदियो ।”
त्यो रात मन्दिरमै बित्यो । भोलिपल्ट बिहानै मान्छेहरू पूजा गर्न आउन थाले । माग्ने सम्झिएर उनका दुइटा बच्चालाई पैसा र प्रसाद दिंदै जान्थे । तर, उनको मान्छे लिन आएन । “पूजा गर्न आएको एक जनालाई फोन गर्न लगाएँ,” हरिमाया सुनाउँछिन्, “अनि शंखमूल बोलाइन्, हामीलाई त्यही मान्छेले गाडी चढाइदियो ।”
थापाथली सुकुम्बासी बस्तीबाट हटाइएका विस्थापितहरूलाई राखिएको कीर्तिपुर राधास्वामी आश्रमको टेन्ट।
उनी शंखमूलमा साथीको कोठामा बसिन् । उनको साथी बागमतीको बालुवा निकाल्ने काम गर्थिन् । उनले पनि त्यही बालुवा निकाल्ने काम गरिन् ।
बागमतीको बालुवा निकालेर साहुको घरमा पुर्याउँथिन् । केही दिनपछि त्यही घरमा छुट्टै डेरा लिइन् । एक दिन उनको घरबेटीले अर्को काम खोजिदिए । त्यति बेला ढल निकास थिएन ।
एउटा घरको शौचालय भरिएको रहेछ । शौचालय सफा गरिदिने काम पाइन् । हातमा पञ्जा र मास्क लगाएर बिहान १० बजेदेखि मलमूत्र निकाल्दै अर्को खाल्डोमा हाल्न थालेकी उनले ३ बजे सकिन् । त्यति बेला पहिलो पल्ट उनले एकैपल्ट ६ हजार रुपैयाँ समाएकी थिइन् ।
“कत्ति धेरै पैसा पाएजस्तो लाग्यो,” मुस्कान मिसिएको बोलीमा उनले भनिन्, “काम खोजिदिने साहु बालाई ५ सय दिएँ तर लिएनन् ।”
कहिले शौचालय सफा गरिन् । कहिले धान रोप्न गइन् । दुःखको भारीले थिचिएकी हरिमायाले बागमतीको बालुवा त कति बोकिन् कति ! भनिसाध्य छैन ।
४/५ वर्ष डेरामा बसिन् । पछि हरिमायाको दुःख देखेर घरबेटीले नै थापाथलीको सुकुम्बासीमा लगिदिए । थापाथलीमा गएपछि उनका छोराछोरीलाई संस्थाले पढाइदिए ।
एक छोरीको विवाह भइसकेको छ । दुई छोरा र एक छोरी अविवाहित छन् ।
एक जना छोरा ऋण गरेर भर्खरै रोमानिया पुगेका छन् । तर, कम्पनी नराम्रो परेकाले कमाइ छैन । यी तिनै छोरा हुन्, जसले २०७९ को स्थानीय निर्वाचनमा साउदी अरबबाट ‘लौरो’ मा बालेनलाई भोट हाल्न भनेका थिए । यस पटक पनि चुनावको मुखैमा १७ लाख ऋण काढेर छोरा र ज्वाइँलाई रोमानिया पठाउन घरबाट निस्कन लाग्दा दुवैले ‘घण्टी’ मा भोट हाल्न भनेका थिए ।
नयाँ सरकार बनेपछि विदेशबाट छोरा घर फर्किन्छु भन्थ्यो । “विदेशमा राम्रो कम्पनी परेन, बालेन प्रधानमन्त्री भएपछि देशमै रोजगारी दिन्छ अरे भन्दै घण्टीमा भोट हाल्न लगायो,” उनी पीडा पोख्छिन्, “अब आउँदिनँ । घर पनि छैन, दुःखै भए पनि यतै बस्छु भन्छ ।” जसलाई भोट हालेर जिताएको त्यही सरकारले आफ्नो घर भत्काएर बेघर बनाइदिएपछि रास्वपाको सरकारप्रति उनी आक्रोशित छिन् ।
हरिमायाले महीनामा पाँच हजारको औषधी खानुपर्छ । १२ मा पढ्दै गरेकी छोरी पनि विदेश जाने सोच बनाइरहेकी छन् । उनी भन्छिन्—“अब यो सरकारले यहाँबाट पनि जाऊ भनेर अलपत्र पार्दिन्छ कि भनेर मनमा डर भइरहेको छ ।”
रोजगारी गुम्यो, ऋण तिर्ने बाटो हरायो
कमली उराउ यति बेला थापाथलीको सुकुम्बासी बस्तीमा भएको भए प्रसूति गृहछेउ गाडामा चटपटे बेचिरहेकी हुन्थिन् । तर, अहिले नीलो टेन्टको सानो कोठाभित्र कैदीजस्तै भएर बस्नु परेको छ । न आफ्नो कुरा कसैले सुनिदिएको छ, न त कसैलाई सुनाउन पाएकी छन्।
कमली उराउ ।
होल्डिङ सेन्टरमा बसेकी उनलाई फोन आउँछ । साहुले ऋण तिर्न तोकेता गर्छन् । अनिश्चित भविष्य सोचेर बाँचिरहेकी उनलाई ऋण कसरी तिर्ने थाहा छैन । छोरालाई रोजगारीका लागि दुबई पठाउन साहुसँग ऋण लिएकी थिइन्। विदेश जाने प्रक्रिया चलिरहेको थियो । घर भत्किँदा कागजपत्र पनि त्यहीँ पुरिए । अब छोरा विदेश जान पाउँछन् कि पाउँदैनन्, केही टुङ्गो छैन।
घर भत्किएपछि साहुले पनि ताकेता गर्न थालेका छन्। कमाइ खाने बाटो थियो, चटपटे व्यापार । त्यो पनि गर्न पाएकी छैनन्। गत वैशाख १२ गते सरकारले बस्ती हटायो । एकाबिहानै बस्ती हटाउन आएको डोजरले सबैभन्दा पहिला उनकै चटपटेको गाडा भत्काइदियो । “म त निकै आत्तिएँ, गाडा बचाउनु कि सामान !,” उनी सुनाउँछिन्, “रोजगारीको बाटो बन्द भयो । अब एक दुई पैसा नकमाई कसरी ऋण पान तिर्नु।”
अहिले छोराहरू साथीकहाँ छन् । श्रीमान्–श्रीमती होल्डिङ सेन्टरमा छन् । न बास छ, न रोजगारी छ, अब के गर्ने, केही थाहा छैन । मजदूरी गर्न जाने अवस्था पनि छैन । आश्रमबाट बाहिर जान–आउन, केही सामान ल्याउन सहज छैन । बाहिरबाट केही सामान ल्यायो भने पनि गेटमा पोका खोतलेर हेरिन्छ।
गत सोमबार कमली बिरामी भान्जालाई भेट्न वीर अस्पताल जान लागेकी थिइन् । तर, कीर्तिपुर नगर प्रहरीले कुन अस्पताल जाने, केका लागि जाने, केको बिरामी हो, कसरी बिरामी परेको, बिरामीसँगको सम्बन्ध के हो, कति बेला फर्किने जस्ता विवरणात्मक प्रश्न सोधेर केरकार गरेका थिए । यसरी विवरण टिपाउनुको झन्झटले उनी अहिले बाहिर जानै छोडेकी छन्।
५१ वर्षीया सुशीला विक पनि टेन्टभित्रै दिन बिताइरहेकी छन् । थापाथलीमा हुँदा उनले बट्टाई चरा र लोकल कुखुरा पालन गरेकी थिइन् । डोजरले उनको चरा र कुखुराको खोर पनि भत्काइदियो । “तिनलाई थन्को लगाउन पनि पाइनँ,” उनी सुनाउँछिन्, “चरा हाल्नलाई कार्टुन खोज्दा–खोज्दै खोर भत्कियो, कति उडेर गए, केहीलाई कार्टुनमा हालेको गुम्सिएर मरेछ ।”
सुशीला विक ।
कति कुखुरा बाटो हिंड्नेलाई दिनुपर्यो । बेच्ने समय पनि पाइनन् । करिब दुई लाख रुपैयाँको लगानी त्यसै खेर गयो।
व्यवसाय गर्दा केही ऋण पनि लिएकी थिइन् । अब त्यो ऋण तिर्ने बाटो बन्द भएपछि उनी थप चिन्तामा परेकी छन्।
केही दिनअघि होल्डिङ सेन्टरमा विभिन्न संघसंस्थाबाट अनुगमन गर्न मानिस आएका थिए । तिनले दिमागलाई व्यस्त राख्नुपर्छ भन्दै बुनाइको काम गर्नलाई कुरुस र धागो दिएर गए । तर, त्यो धागो त्यसै छ । “अब त दिमागले काम गर्न छोडिसकेछ,” सुशीला भन्छिन्, “घर छैन, ऋण कसरी तिर्नू, भएभरको सबै सकियो भन्ने मात्रै सोच आउँछ ।” मानसिक रूपमै असर पर्दै गएको सुनाए, सुशीलाजस्तै होल्डिङ सेन्टरका अरूले पनि।
बिरामीलाई सकस
खुट्टा खुम्च्याउँदै आएर हाम्रो छेउमा बसिन्, ५१ वर्षीया प्रमीला राई । सामान्यभन्दा निकै बेर लाग्यो, उनलाई बस्न । निकै शारीरिक पीडासँग जुधिरहेकी छन् उनी । आफ्ना कुरा कसैले सुनिदेला कि भन्ने आशले बसेकी हुन्छिन् । हामीलाई देख्ने बित्तिकै आफ्ना पीडा पोख्न थालिन् ।
२० वर्षदेखि बसिरहेको सुकुम्बासी बस्तीबाट हटाइएपछि अनिश्चित भविष्यसँग बाँचिरहेकी छन् प्रमीला । पीडाको भारी पनि कतिसम्म हुँदो रहेछ भन्ने बुझ्न उनलाई हेरे पुग्छ।
उनको घुँडा दुखिरहन्छ । डाक्टरले हड्डी मक्किएको छ भनेका छन् । ६ महीनाअघि संघसंस्थाको सहयोगमा देब्रे घुँडाको शल्यक्रिया गरिएको छ । खुट्टामा स्टील राखिएको हुनाले हिंड्न, बस्न र उठ्न निकै गाह्रो हुन्छ । अब अर्को खुट्टाको पनि शल्यक्रिया गर्नुपर्छ भनिए पनि आर्थिक अभावमा त्यो रोकिएको छ।
१० वर्षदेखि उच्च रक्तचापको औषधी खाइरहेकी उनको औषधी सकिएको छ । तर, सेल्टरले दिने औषधी र उनले प्रयोग गरिरहेको औषधी मिल्दैन। अहिले उनीसँग औषधी किन्ने पैसासमेत नभएको बताउँछिन्।
भारी बोकेर कमाएको पैसाले थापाथलीको सुकुम्बासी बस्तीमा छाप्रो हालेकी थिइन् । जन्डिस बिग्रिएर मृत्युको मुखबाट बाँचेकी २८ वर्षीया जवान छोरीलाई त्यति बेला अस्पताल लैजाने तयारी हुँदै थियो, त्यही छाप्रोभित्र । तर, वैशाख १२ गते सरकारले त्यो छाप्रो पनि भत्काइदियो । “अहिलेको सरकारको आँखा बन्द रहेछ, हाम्रो दुःख देखेन,” प्रमीला पीडा पोख्छिन्, “हामीलाई त लास बनाउनु भयो।”
प्रमीला राई ।
घुँडाको समस्याका बिरामी ६० वर्षीय बलबहादुर खाती टेन्टभित्र बस्दा–बस्दै थलिएका छन् । न कतै हिंडडुल गर्न पाएका छन्, न त कतै आफ्नो मनको बह पोख्न जान पाएका छन् । “हामी त नजरबन्दमा छौं,” टेन्टको एकातिर कुनामा बसेर आक्रोश पोखिरहेका थिए, उठिबास लगाउने सरकारसँग । खातीका अनुसार बेलाबेला केही मिडिया आउँछन् । उनीहरूसँग कुराकानी गर्छन् तर वास्तविक कुरा राख्दैनन् । “हाम्रो कुरा चैं केही राख्दैनन्, नभएको कुरा राखेका छन्,” खाती भन्छन् । आफ्ना पीडा सुनिदिने समय र नीलो टेन्टबाट बाहिर निस्किने दिन पर्खिरहेका छन् उनी।
घुँडा दुख्ने समस्याले उठ्न–बस्न हुँदैन । अर्कातिर वर्षाैदेखि सुगरका बिरामी खाती यति बेला आफ्नो घरमा भए ढिँडो र मकैको च्याँख्ला पकाएर खाइरहेका हुन्थे । तर, अहिले आश्रमले दिएको खाना खाएर बसेका छन् । कुनै दिन त एक छाक मात्रै खाएर बस्ने गरेको सुनाए, उनले । उनी सुनाउँछन् —“खाए खा, नखाए नखाए घिच जस्तो भएको छ ।” अब के गर्ने ? कहिले व्यवस्थापन गर्ने भन्ने कुरा केही थाहा छैन । अन्योलमै बसिरहेका छन्।
बलबहादुर खाती ।
मानसिक स्वास्थ्यमा असर
बस्तीबाट हटाइएपछि धेरैजसो विस्थापितको मानसिक स्वास्थ्य बिग्रिँदै गएको छ । कोही टोलाइरहेका हुन्छन् । सबैसँग घुलमिल भएर बस्नेहरू पनि एक्लै–एक्लै टोलाउन थालेका छन् । कसैलाई भने निद्रा लाग्न छोडेको छ।
त्यस्तै भयो, संयुक्त सुकुम्बासी मोर्चा नेपालका झबरलाल उराउलाई पनि । होल्डिङ सेन्टरमा आइसकेपछि उकुसमुकुस महसूस हुन थाल्यो । घर भत्काएको अभिघात र अब के होला भन्ने चिन्ताले सताउन थाल्यो। राति निदाउन खोज्दा निद्रा लागेन । त्यसपछि उनले आश्रमका कर्मचारीलाई निद्रा लाग्ने औषधी मागे तर तिनले उनलाई औषधी दिएनन् । “तपाईंलाई मनोपरामर्श चाहिएको छ भन्छन्,” उराउ भन्छन्, “मेरो दिमाग बिग्रेको होइन, चिन्ताले निद्रा नलागेको हो ।” होल्डिङ सेन्टरमा बसेका लगभग ५० प्रतिशत मानिसको स्वास्थ्यमा समस्या आउन थालेको उराउ बताउँछन्।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना उप–निर्देशक तथा सूचना अधिकारी उद्धव नेपालका अनुसार हालसम्म २ हजार ६ सय ४ घरधुरीले सुकुम्बासीको विवरण दर्ता गराएका छन् । तीमध्ये १५२ जना कीर्तिपुरस्थित राधास्वामी सत्संग व्यास आश्रममा, नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र खरिपाटी भक्तपुरमा १४५ जना, कृषि विकास बैंक तालिम केन्द्र बोडेमा ६१ जना, नेपाल रेडक्रस सोसाइटी, बनेपामा ११० जना, इचंगुनारायणस्थित ९३ जनालाई बालाजु र गोंगबु क्षेत्रका होटलमा राखिएका छन्।
वास्तविक सुकुम्बासीको डिजिटल लगत संकलन गरेर लालपुर्जा नदिउन्जेलसम्म मासिक १५ हजार घर भाडा उपलब्ध गराउने सूचना अधिकारी नेपाल बताउँछन् । तर, सरकारको यस निर्णयमा सहमत छैनन्, सुकुम्बासीहरू । छोराछोरीलाई होस्टेलमा राखेर आफूहरूलाई १५ हजार रुपैयाँ कोठा भाडा दिएर बस्न मञ्जुर नभएको उराउ बताउँछन्।
होल्डिङ सेन्टरमा बसेकाहरूलाई न बार थाहा छ, न त गते । बाहिरी संसारबाट टाढा राखिएका छन् । हरिमाया जिम्बा भन्छिन्—“योभन्दा त बरु जेलमा राखियोस् हामीलाई।”