बद्री पौड्याल
‘स्वीट्जरल्यान्ड यहीं छ’ भनेर प्रधानमन्त्री बालेन्द्र शाहले चुनावी सभामा बोलेका कुरा र सामाजिक सञ्जालमा छाएको प्रचारबाट राष्ट्रिय चर्चामा आएको अछामको रामारोशन अहिले धेरै नेपालीका लागि आकर्षक पर्यटकीय गन्तव्य बन्दै छ। सँगै त्यस्तो गन्तव्य बन्न चाहिने यातायात, सञ्चार र अन्य पूर्वाधारको विकासविना बढेको आकर्षण कति टिकाउ होला भन्ने प्रश्न पनि उब्जिएको छ।
सुदूरपश्चिम, अछामको रामारोशन अहिले घुमघाममा रुचि राख्ने धेरैको भ्रमण गन्तव्य बनेको छ। केही वर्षयता ‘घुमन्ते’, ‘पूर्वीब्लूज’जस्ता समूहका युवा पदयात्री र सुदूरपश्चिमकै केही ‘इन्फ्लुएन्सर’ले सामाजिक सञ्जालमा ब्लगहरू हाल्न थालेपछि मानिसहरू आउन शुरू गरेको रामारोशनमा गत आमचुनावपछि भने आगन्तुकहरूको संख्या धेरै बढेको छ।
रामारोशनको रामे बजारमा पाहुनाहरूलाई गाँसबासको प्रबन्ध गर्न ६ वटा होटेल खुलेका छन्। तीमध्ये एक रामारोशन एड्भेञ्चर एण्ड क्याम्पिङ रिसोर्टका सञ्चालक शमशेर बोहराका अनुसार, यहाँका सबै होटेलमा गरेर दुई महीनाअघिसम्म हप्तामा ४०–५० जना आइपुग्थे भने अहिले डेढ सयसम्म पुग्न थालेका छन्। “पहिले प्रायः सुदूरपश्चिमका मात्रै आउँथे, अहिले बुटवल, पोखरा, काठमाडौंलगायत देशैभरका आउँछन्”, उनी भन्छन्, “पछिल्लो समय कर्णालीको रारा ताल पुगेका मानिसले पनि रामारोशनलाई आफ्नो भ्रमण योजनामा थप्न थालेका छन्। अलि लामै समय दिने र साहसिक यात्रा गर्नेहरूले खप्तड राष्ट्रिय निकुञ्ज र बडिमालिकालाई पनि रामारोशनको यात्रासँग जोड्ने गरेका छन्।”
स्थानीय होटेल व्यवसायी शमशेर बोहरा। उनी इन्जिनियरिङको पढाइ र सम्बन्धित क्षेत्रकै काम छोडेर रामारोशनलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउन जुटेका छन्।
आखिर यी दुई महीनामा एकाएक कसरी चम्क्यो रामारोशन ? स्थानीय बासिन्दा र व्यवसायीहरू यसको जस प्रधानमन्त्री बालेन्द्र शाहलाई दिन्छन्। प्रधानमन्त्री हुनुअघि उनले धनगढीमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी सभामा बोल्दै रामारोशनको नाउँ लिएर ‘स्वीट्जरल्यान्डको पराकाष्ठा यहीं छ’ भनेपछि एकाएक चर्चामा आएको हो, यो ठाउँ। त्यो भाषणमा उनले देश स्वीट्जरल्यान्ड बनाउँछौं भन्ने पहिलेका शासकहरूप्रति व्यंग्य गर्दै रामारोशनसँगै बडिमालिका र खप्तड राष्ट्रिय निकुञ्जको समेत नाउँ लिएर ‘स्वीट्जरल्यान्ड यहीं छ भने किन बनाउनुपर्यो नेपाललाई स्वीट्जरल्यान्ड’ भनेका थिए।
यो ठाउँमा प्रायः फागुनतिर तल्लो भेगका बासिन्दाहरू बेसीबाट गोठ लिएर माथि रामे लेकमा आउने र असोजसम्म पशुपालन, खेतीपाती गरेर चिसो बढ्न थालेपछि बेसी नै झर्ने परम्परा थियो। पछि १२ वटा सुन्दर प्राकृतिक ताल, १८ वटा ठूल्ठूला घाँसे मैदान, अनेकौं खोलानाला, घना वनजंगल भएको यो विशाल क्षेत्रलाई पर्यटन गन्तव्य बनाउनुपर्छ भन्ने कुरा हुन थाल्यो। यसै सिलसिलामा २०५२ सालतिर रामे लेक र रोशुनगडा मैदान दुई ठाउँको नामलाई जोडेर ‘रामारोशन’ नामकरण गरियो। तत्कालीन तडीगैरा गाविस पनि रामारोशन गाविस (हाल गाउँपालिका) बन्यो।
जिंगले तालछेउको हिँड्ने बाटो।
हिजोआज रामारोशनलाई पर्यटन क्षेत्रको रूपमा स्वीकार त गरिएको छ, तर स्वदेशी र विदेशी पर्यटकलाई आकर्षित गर्न आवश्यक पूर्वाधार निर्माणमा त्यति ध्यान पुगेको देखिंदैन। स्थानीयहरूको अनुभवमा प्रदेश सरकारले पर्यटन पूर्वाधार निर्माणका लागि थोरै बजेट छुट्याउँछ र त्यो पनि कहिलेकाहीं खर्चै नभई फर्किन्छ। केन्द्रले यस क्षेत्रलाई हेरेकै छैन भने गाउँपालिकाले सकेको प्रचार–प्रसारको काम गरेको छ। पूर्वाधार र सुविधाको स्तर जेजस्तो भए पनि स्वदेशी पर्यटकहरूको संख्या त बढेको छ, तर विदेशीहरूको आगमन भने कुनै संघसंस्थासँग जोडिएर आउने दुई–चार जनामा मात्र सीमित छ।
रामारोशन गाउँपालिका वार्ड नं. ५ का सदस्य दलबहादुर रोकाया यो ठाउँलाई पर्यटन क्षेत्रको रूपमा स्वीकार गर्न खोजिए पनि देशका १०० गन्तव्यको सूचीमा समेत नसमेटिएकोमा दुःख व्यक्त गर्छन्। उनी भन्छन्, “अहिलेसम्म पर्यटन क्षेत्रको विकासका लागि भनेर तालहरू संरक्षणको केही काम भएको छ, केही ताल वरिपरि हिंड्ने बाटो, एउटा भवन, ठाउँ–ठाउँमा केही प्रतीक्षालय र फोहोर फाल्ने ठाउँ निर्माण भएको छ। मुख्य समस्या रामारोशनसम्म आइपुग्ने सडककै छ, जसको मुजा बगर–दलेना खण्ड बानियाँ निर्माण सेवा भन्ने एउटा ठेकेदार कम्पनीले र सेरीपुल–मुजा बगर खण्ड दिक्पाल शाही भन्ने एक ठेकेदारले तीन वर्षमा सक्ने भनेर ठेक्का लिएको ६ वर्ष भइसक्दा पनि बनेको छैन। त्यसबाहेक, अहिले बजार बसेको रामे लेकमा जग्गाको उपयोग, बिजुली बत्तीको आपूर्ति र फोन–इन्टरनेट नेटवर्कको पहुँचमा पनि समस्या छ।”
माथिल्लो धौने दहमा भैंसी आहाल बसाउन र वरपर जंगलमा भेडा–बाख्रा चराउन आएका गोठालाहरू (इन्सेटमा)।
रामारोशन जाने दुई वटा रुट छन् — एउटा धनगढीबाट अछामको साँफेबगर वा मंगलसेन हुँदै जय गढ भएर र अर्को — सुर्खेतबाट कर्णाली राजमार्गको बेलखेतस्थित कर्णाली नदी पुलबाट अछाम प्रवेश गरी मध्य पहाडी राजमार्गको ठाटीखाँद भएर। यी दुवै ठाउँबाट सेरीपुल, मुजा बगर हुँदै जान सकिने रामारोशनसम्मको सडकको सबैभन्दा कठिन खण्ड चाहिं सेरीपुलदेखि करीब ३० किलोमिटरको सडक हो। दुवै ठेकेदारले आ–आफ्नो खण्डको काम पूरा नगरेको सडक पनि यसैभित्र पर्छ। आफ्नै वा भाडाको गाडी लिएर जानेहरूले अनुकूल मौसम र गतिला सवारीसाधन नभई यो सडक छिचोल्न सक्दैनन्।
रामारोशन घुम्न धनगढीबाट आएका महिला। धनगढीको एउटा विवाहमा सहभागी भएका उनीहरू भारतका विभिन्न ठाउँमा बस्ने आफन्तलाई समेत लिएर पारिवारिक टोलीसहित यहाँ आएका थिए।
सार्वजनिक यातायात प्रयोग गरेर जाने हो भने राष्ट्रिय राजमार्गमा पर्ने जय गढ र ठाटीखाँदसम्म त सजिलै पुगिन्छ। त्यसअगाडि त्यति नियमित र भरपर्दो नभए पनि सेरीपुल–मुजा बगर हुँदै सैन बजारसम्म पुग्ने एकाध साधन भेटिन सक्छन्। सैन बजारदेखि तल्लो पाताल, चउड र दलेना हुँदै जाने ट्रेकिङ रुट पनि छ, जहाँबाट ग्रामीण परिवेशको आनन्द लिंदै चार–पाँच घण्टामा रामारोशन पुगिन्छ। तर रामारोशनसम्मै सडक पुगिसकेकोले यो बाटो त्यति प्रचलित छैन। यसरी जाँदा बीचमा खान–बस्नुपर्यो भने होटेल वा होम–स्टे पाइँदैनन्, गाउँघरमा बास मागेर बस्नुपर्ने हुन्छ।
रामारोशन आउने पर्यटकहरूलाई बस्ने–खाने व्यवस्था गर्न रामे बजारमा बनेका संरचनाले ओगटेको जमीनको विषयलाई लिएर गाउँले र प्रशासनबीच विवाद छ। स्थानीय बासिन्दाहरूले बाउ बाजेका पालादेखि वर्षको आठ महीना गाईबस्तु लिएर जाने र खेतीपाती गर्ने गरेको रामे लेकमा मानिसहरू घुम्न आउन थालेपछि यहाँ होटेल, लज, रिपोर्टसहितको सानोतिनो बजार बसिसकेको छ। उता जिल्ला प्रशासन र वन कार्यालयले यो क्षेत्र राष्ट्रिय वन भएकाले बसोबास र खेतीपाती–व्यवसाय गर्न पाइँदैन भनेर बस्ती हटाउन खोजेका छन्। कहिलेकाहीं विवाद चर्केर झडपसम्म हुन पुग्छ। अहिलेसम्म समस्या समाधान भएको छैन। उनीहरू पनि त्यहीं बसिरहेका छन् र प्रशासनले पनि बेलाबखत ‘जग्गा खाली गरिदिनू’ भन्ने बेहोराका पत्रहरू पठाइरहन्छ।
कर्णाली, मुगुको रारा ताल घुमेर रामारोशन आइपुगेको काठमाडौंको एउटा घुमन्ते टोली रोशुनगडा मैदानमा।
रामे बजारका होटेल–लजहरूले बिजुली बत्तीका लागि स्थानीय लघु जलविद्युत् आयोजनाको भर पर्नुपर्छ, जसले साँझ–बिहान केही घण्टा मात्रै धान्छ। तल गाउँसम्म आइपुगेको सरकारी ग्रिडको बिजुली माथि रामेसम्म आएको छैन। फोन र इन्टरनेटका लागि पनि नेपाल टेलिकमको निकै कमजोर डाटा सिग्नलमा भर पर्नुपर्छ। तल गाउँमा बत्ती गयो भने त्यही पनि आउँदैन। कहिलेकाहीं दिनभरि नै नेटवर्कविहीन भएर बस्नुपर्छ।
समस्याहरू जे जति भए पनि रामारोशन पुगिसकेपछि र यहाँका मनोरम ताल एवम् विशाल घाँसे मैदान हेर्न र घुम्न पाएपछि भने त्यहाँ पुग्दा हुने सबै दुःख–पीडा र चिन्ता भुलिने गरी प्राकृतिक सौन्दर्यको आनन्द लिन सकिन्छ। गत चुनावमा प्रधानमन्त्रीको उम्मेदवारको हैसियतमा बोलेर रामारोशनको ‘ब्रान्ड एम्बेसेडर’ बन्न पुगेका र अहिले प्रधानमन्त्री नै भएका बालेन्द्र शाहले यहाँका समस्यामा पक्कै ध्यान दिनेछन् र तिनले चाँडै समाधान पाउनेछन् भन्नेमा स्थानीयहरू ढुक्क छन्।
किनिमिन्नी मैदान। स्थानीयहरूका अनुसार द्वन्द्व कालमा यस ठाउँमा माओवादीहरूले प्रशिक्षण शिविर चलाउने गरेका थिए।
शमशेर बोहरा भन्छन्, “प्रधानमन्त्रीले रामारोशनबारे बोलेर हाम्रो यो ठाउँलाई देशैभर चिनाइदिनुभएको छ। अब यहाँका समस्याको समाधान गरेर पर्यटन विकासका लागि आवश्यक सुविधा विस्तार र बजारीकरण गर्न पहल गरिदिनुहुनेछ भन्ने अपेक्षा गरेका छौं।”
रोशुनगडा मैदान। पृष्ठभूमिमा एउटै चट्टानले बनेको विशाल आकाशे भिर।
स्थानीय समाजसेवी, नेता, व्यवसायीहरूले पर्यटनका लागि आवश्यक पूर्वाधारहरू निर्माण भए यो क्षेत्रका सबै ताल र मैदानहरूलाई जोड्ने लामो ट्रेकिङ रुट बनाएर पर्यटकहरूको बसाइ अवधि बढाउन सकिने आशा लिएका छन्। त्यसबाहेक बोटिङ, रक क्लाइम्बिङ, प्याराग्लाइडिङ, चलचित्र छायांकन, जैविक विविधता र पर्यावरणको अध्ययन–अनुसन्धान तथा स्थानीय रहनसहन एवम् संस्कृति प्रवर्द्धन गरेर रामारोशनलाई अझै उत्कृष्ट गन्तव्य बनाउन सकिनेमा पनि उनीहरू आशावादी छन्।