प्रधानमन्त्री बालेन्द्र शाह र उनका मन्त्रीहरूको सम्पत्ति विवरणमा सुनका बिस्कुट देखेपछि धेरैले प्रश्न गरे – यत्रो सुन कहाँबाट आयो ? हिमालखबर ले गरेको अध्ययनमा यस प्रश्नका सात उत्तर फेला परेको छ।
२०८२ चैत २९ गते बालेन्द्र सरकारमा संलग्न मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्ति विवरणमा सुनैसुन देखेपछि धेरै मानिस आश्चर्यमा परे। आम नेपालीले औसत ५ देखि १५ तोलासम्म सुन राख्छन् भन्ने ठानिन्थ्यो। तर प्रधानमन्त्री बालेन्द्र शाहकै सम्पत्ति विवरणमा १९० तोला अर्थात् झण्डै सवा दुई केजी सुन रहेको देखेपछि धेरैले जिब्रो टोके। अहिले सुनको मूल्य प्रति तोला ३ लाखको हाराहारीमा छ। प्रधानमन्त्री शाहको सुन मात्रै साढे पाँच करोड रुपैयाँभन्दा बढीको रहेछ। प्रधानमन्त्री शाहको मात्र होइन, उनको मन्त्रिमण्डलका लगभग सबै सदस्यहरूको नाममा हामीले आकलन गरेभन्दा बढी सुनको संग्रह थियो। मन्त्रीमा सबैभन्दा कम सुन भएकी गीता चौधरीको नाममा पनि ५ तोला सुन देखिन्छ। बालेन्द्र सरकारका मन्त्रीहरूमा सुनप्रति देखिएको यो विध्न आसक्तिपछि सामाजिक सञ्जालमा बहस उठ्यो – आखिर सुनमा त्यस्तो के विशेष छ, जसका कारण पहेंलो धातुमा यो विध्न लगानी गर्नुपर्ने ?
यसअघिका मन्त्री र उच्चपदस्थहरूको सम्पत्ति विवरणमा यति धेरै सुन देखिंदैनथ्यो। घरजग्गामा भने मोह नै थियो। सात वर्षअघि मैले गरेको रिपोर्टिङमा तत्कालीन केपी शर्मा ओली मन्त्रिमण्डलका मन्त्रीहरूमध्ये धेरैले घरजग्गामा लगानी गरेको पाएको थिएँ। त्यतिबेलाका अर्थमन्त्री युवराज खतिवडाको काठमाडौंमै दुइटा घर र ६ ठाउँमा जग्गा रहेको विवरण सार्वजनिक गरेका थिए। उनीभन्दा पहिले कांग्रेसका नेता तथा ६ पटकसम्म अर्थमन्त्री बनेका रामशरण महतको पनि प्रशस्त जग्गा रहेको विवरण सार्वजनिक भएको थियो। अनि त्यतिबेलाका नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको सम्पत्ति विवरणमा पनि थुप्रै ठाउँमा घरजग्गा रहेको थियो।
जस्तैः अहिलेका अर्थमन्त्री स्वर्णिम वाग्ले र उनको परिवारको ९ ठाउँमा घरजग्गा देखियो। उनको भैसेपाटी र बन्दीपुरमा घर छ भने धुलिखेल र ललितपुरमा एक–एक वटा अपार्टमेन्ट छन्। त्यसबाहेक वाग्ले र उनको परिवारको नाउँमा काठमाडौं चन्द्रागिरिको ३ रोपनीसमेत कुल १७ रोपनी जग्गा छ। उनै अर्थमन्त्री वाग्लेले यसपालि सम्पत्ति विवरण सार्वजनिक गर्दा सुनमा पनि मनग्गे लगानी गरेको देखियो। तर वाग्लेले कुनैबेला अन्य दलका नेताहरूको सुन संग्रहबारे भने निकै कडा कटाक्ष गरेका थिए। उनले त्यतिबेला एउटा कार्यक्रममा बोलेका छन् –
‘पछिल्लो समयमा क्यास (नगद) पनि रिस्की (जोखिम) भयो। शेयर पनि अब कम्पनी रजिष्ट्रारबाट चुहिएला। अब हीरा र सुनमा गयो ब्याक टु गुड ओल्ड डेज (पुरानै चलनमा फर्कियो)। सुन र हीरा भएपछि त ट्रेसेबिलिटी (खोज्न सजिलो) भएन नि। कागज छैन, पेपरवर्क छैन। बैंकमा राखेको छैन तर मूल्य त छ।’
अरूमाथि यस्तो टिप्पणी गरेका वाग्लेले यसपालि अर्थमन्त्रीको हैसियतमा सम्पत्ति सार्वजनिक गर्दा ४५ तोला सुन अर्थात् सवा करोडभन्दा बढीको सुन सार्वजनिक गरे। स्वर्णिम वाग्लेले सात वर्ष पहिले केपी शर्मा ओली सरकारका मन्त्रीहरू धनबहादुर बुढा, रवीन्द्र अधिकारी र रघुवीर महासेठको सुनको विवरणमाथि टिप्पणी गर्दै “स्वर्णिम मन्त्रिमण्डल” भनेर लेखेका थिए। उनको त्यो टिप्पणी अहिले आफैतिर सोझिएपछि सामाजिक सञ्जालमा लेखेको त्यो स्टाटस अहिले हटाइसकेका छन्।
मन्त्रीहरूमध्ये धेरैले सुनलाई पैतृक सम्पत्ति भनेका छन्। धेरै मन्त्रीले सुन खरीद गरेको मिति र स्रोत स्पष्ट खुलाएका छैनन्। सम्पत्ति विवरणमा दुवै खुलाउनुपर्ने कानूनी व्यवस्था छ। त्यसैले पनि मन्त्रीहरू सुन र त्यसको स्रोतलाई लिएर निकै आलोचित भए। यो सबै तथ्यपछि उठ्ने प्रश्न हो – ‘मन्त्रिमण्डलका सदस्यले किन सुनमा यसरी लगानी गरे होलान् ?’ यसलाई बुझ्न नेपालको अर्थराजनीति केलाउनुपर्छ।
कारण – १
मानिसले आर्थिक जोहो हुनासाथ सुनमा लगानी गर्नुको पछाडिको कारण त्यसको दाम बढिरहनु हो। बेच्दा राम्रो मुनाफा आउने हुनाले सुनमा लगानी सुरक्षित मानिन्छ। त्यसैले अन्तर्राष्ट्रिय बजारमा युद्ध तथा अन्य खालका संकटहरू निम्तँदा लगानीकर्ताले सुनलाई रोज्ने गरेकोले सुनको मूल्य निरन्तर बढिरहेको पाइन्छ।
कारण – २
विहेभोजमा नभई नहुने अत्यावश्यक शृंगार सामग्रीको रूपमा पहेंलो धातुको प्रयोगका कारण स्वभावतः सुनमा लगानी बढ्ने परम्परा छ। छोराछोरीको विहेमा नभई नहुने वस्तु हो सुन। यो प्रतिष्ठासँग जोडिएकाले जति शिक्षित भए पनि हाम्रो समाजमा सुन नभई नहुने सम्पत्तिको रूपमा संग्रह गर्ने प्रचलन छ।
कारण – ३
घरजग्गा र शेयरमा लगानी गर्नुभन्दा सुरक्षित रहेकोले सुनमा लगानी गर्नेको संख्या बढेको मानिन्छ। त्यसमाथि यसका लागि जग्गा किन्नजस्तो धेरै रकम चाहिंदैन र घरजग्गा बेच्नुपर्दा ग्राहक नपाएर भौतारिनु पनि पर्दैन।
शेयर बजार बढी नै अस्थिर छ र भरपर्दो मानिएको छैन। त्यसैले सुनमै लगानी गर्नु सुरक्षित ठानेको हुनुपर्छ। आवश्यक पर्दा तत्कालै बेच्न मिल्छ, सुन। तर शेयर बिक्री भए पनि पैसा हात पार्न कम्तीमा ४ दिन लाग्न सक्छ। शेयरमा लगानी गर्न कम्पनीको विवरण पढ्न र बुझ्न सजिलो छैन तर सुनमा चाहिं बजारभाउ हेरे मात्र पुग्छ। महँगोमा शेयर किनेर कौडीको भाउमा बेच्न बाध्य भएकाहरूको उदेकलाग्दो कथा पनि सुनेकाहरूले सुनमा गरिने लगानीलाई नै सुरक्षित ठान्ने भए।
पहिलेजस्तो सुन घरमा राख्दा हुने चोरीको डर पनि अचेल छैन। वार्षिक २–३ हजार तिरेपछि बैंकको लकरमा सुरक्षित राख्न पाइन्छ।
कारण – ४
शेयर र घरजग्गामा जस्तो सुनको गहनामा (अर्थात् सुनमा) घरजग्गाजस्तो हदबन्दी (कानूनी बन्देज) छैन। जसरी हदबन्दीभन्दा धेरै जग्गा किन्दा सरकारीकरण हुने जोखिम छ, त्यसैगरी खुला बजारबाट एउटै कम्पनीमा असीमित शेयर किन्न पाइँदैन। एउटै बैंक तथा वित्तीय संस्थामा किन्न पाइने शेयरको सीमा तोकिएको छ। यसैगरी दोस्रो बजारमा पनि एकै व्यक्ति वा संस्थाले राख्न पाउने शेयर ५ प्रतिशतभन्दा बढी भएमा स्वघोषणा गर्नुपर्ने व्यवस्था छ। यसले धेरै शेयर ‘होल्ड’ गर्न निरुत्साहित गरेको बताइन्छ।
कारण – ५
तपाईंसँग रहेको सुनको स्रोत कसैले खोजे पनि भेटाउन मुस्किल पर्न सक्छ, किनकि सुन किनबेचको विवरण सरकारसँग एकीकृत रूपमा छैन। त्यसैले स्रोत नखुलेको धन लुकाउन सुनमा लगानी गरिएको पनि हुन सक्छ। सुनमा आम्दानीको स्रोत खासै खोजिंदैन। तर तपाईंले एकैचोटि १० लाख वा सोभन्दा बढीको सुन खरीद गर्नुभयो भने त्यसको खोजी चाहिं हुन सक्छ।
यस्तो सुविधा शेयर खरीदमा छैन। तपाईंले १० कित्ता कुनै कम्पनीको शेयर लिनुभयो भने त्यसको एकीकृत रेकर्ड सरकारसँग हुन्छ – किनेको र बेचेको पनि। ३ आना जग्गा किन्नुभयो भने त्यसको रेकर्ड मालपोत कार्यालयमा हुन्छ। तपाईंले सरकारलाई झुक्याउन सक्नुहुन्न। तर सुनमा गरिएको लगानीसम्बन्धी तथ्यांक सरकारसँग नहुँदा स्रोतको खोजिनीतिबाट बच्न सकिन्छ।
कारण – ६
सुन बेचेर आउने नाफामा अग्रिम कर तिर्नुपर्दैन। सुन किनबेच गर्दा सुन पसलेले तपाईंले कमाएको नाफामा कर कट्टी गर्दैन। जबकि शेयर र जग्गा बेच्दा हुने नाफामा ५ देखि ७.५ प्रतिशतसम्म अग्रिम कर बुझाउनुपर्छ।
शेयर र घरजग्गाबाट हुने आम्दानीलाई कर कानूनमै ‘गैर व्यवसायिक सम्पत्ति’ भनी करको दायरामा राखिएको छ, त्यसबाट मुक्त छ सुन। पछिल्लो समय सबैभन्दा राम्रो आम्दानी गर्न सकिने भनेर लगानी बढिरहेको सुनलाई गैर व्यवसायिक सम्पत्तिमा राखी कर लिनुपर्छ भनी व्याख्या गरिएको छैन।
मन्त्रीहरूमध्ये धेरैजसोले सुनको विवरण घोषणामा सुनको स्रोत पैतृक र उपहारबाट प्राप्त लेखेका छन्। जस्तैः प्रधानमन्त्री बालेन्द्रको सम्पत्ति विवरणमा पत्नी सविना काफ्लेको नाउँमा १९० तोला सुनको स्रोत पैतृक सम्पत्ति भनिएको छ। पैतृक सम्पत्ति भनेको माइतीको दाइजो वा पेवा वा सासू–ससुराकै हुन सक्ने पनि भयो। यदि सविनाले उक्त सुन बेचेको खण्डमा त्यो लगभग सबै नाफा पनि हुन सक्छ तर त्यसमा अग्रिम कर तिर्नुपरेन।
प्रचलित कानून बमोजिम तपाईंले वार्षिक निश्चित आम्दानीभन्दा बढी आर्जन गरेमा तपाईंको आम्दानीको ‘स्ल्याब’ अनुसार कर तिर्नुपर्छ। यी सबै विवरण खुलाएर कर तिर्ने चलन अत्यन्तै न्यून रहेको कर अधिकृतहरू बताउँछन्। २०८२ साउनदेखि सुनमा २ प्रतिशत विलासिता कर लाग्छ। सुन कारोबारबाट आम्दानी हुने तर यसलाई करको दायरामा नल्याइएको हुँदा सरकारले कर लगाएको थियो। यो निर्णयको विरोध गर्दै कर हटाउन सुन व्यवसायीहरूले आन्दोलन नै गरेका थिए। तर उनीहरूको प्रयास विफल भयो। त्यसबाहेक बजारमा हुने सुनको कारोबारबाट सरकारले अरू खासै केही पाउँदैन।
कारण – ७
सम्पत्ति घोषणामै छलछाम गर्न मिल्ने हुँदा धेरैले सम्पत्तिमा सुन देखाइएको हुन सक्छ। भर्खरै राजनीतिमा आएका मन्त्री र प्रधानमन्त्रीको सुनको घोषणाको शैली लगभग एउटै छ – सुनलाई पैतृक वा उपहार भनिदिने। यस्तो घोषणा गर्ने शैली सरकारी जागिर शुरू गर्ने नासु वा अधिकृतसँग मिल्दोजुल्दो छ। ‘जसोतसो लोकसेवा पास गरेका सामान्य आर्थिक अवस्था भएका सरकारी कर्मचारीले नोकरी थालेको वर्ष दिनमै सम्पत्ति घोषणा गर्दा २०–२५ तोला सुन देखाउँछन्।’ एक जना निजामती सेवाका अधिकृत त्यसको कारण खोतल्दै भन्छन्, “हुँदै नभएको सम्पत्ति घोषणा गरे पनि कसैले चेक गर्ने होइन। कारणवश अतिरिक्त कमाइ भयो भने जोडजाम गर्न पनि मिल्ने भयो। खोजी नै भयो भने गुमेको सम्पत्ति खोजिएको आजसम्म सुनिएको छैन। कमाएको सम्पत्तिको मात्र खोजी हुन्छ।”
उनको कुरा सुनेपछि स्वघोषणामै छलछाम गर्न प्रेरित गर्ने यो काइदालाई मैले सुन राख्नुको सातौं कारणको रूपमा राखेको छु।
सुनका बिस्कुट
बजारमा सुनका गहना मात्रै किन्न पाइन्छ। नेपाल राष्ट्र बैंकमा जाँदा १० ग्रामसम्मका सुनका सिक्का किन्न पाइन्छ। केही वर्षअघिसम्म सुनकै बिस्कुट किन्न पाइन्थ्यो, अहिले पाइँदैन। तर मन्त्रीहरूले विवरणमा सुनको गहना मात्र खुलाएका छन्। तुलनात्मक रूपमा थोरै सुन भएका मन्त्रीहरूले गहनाको प्रकार पनि खुलाएका छन् तर प्रधानमन्त्री शाहलगायत धेरै सुन भएकाहरूले एकमुष्ट तोला मात्रै उल्लेख गरेका छन्।
प्रधानमन्त्री शाहको झण्डै सवा दुई केजी सुनको गहना नै होला त ? सामाजिक सञ्जालमा प्रश्न पनि उठाइएको देखिन्छ। त्यस प्रश्नको पछाडि कारण छ। गहना मात्र राख्दा बेच्दा नोक्सान हुन्छ। पसलेले हाम्रो सुन किन्दा गहना गालेर बढीमा ७ प्रतिशतसम्म मूल्य घटाएर दिन्छ। बिस्कुट वा सिक्का भए बेच्दा पूरै पैसा पाइन्छ। बैंकहरूले मात्रै विदेशबाट बिस्कुट आकारका वा ढिक्का सुन किनेर ल्याउन पाउँछन्। त्यसैलाई पसलेले बैंकबाट किन्छन् र गहना हामीलाई बेच्छन्।
उहिलेदेखि नै सुन तस्करीको डरलाग्दो जालो हामीले पढ्दै सुन्दै आएका छौं। १०० किलोसम्म तस्करीका सुन जफत भएको समाचार बन्न थालेको धेरै भएको छैन। पहिले मन्त्री, दलका नेता र कर्मचारीहरू सुन तस्करीमा मुछिएका समाचार सुनेर हामी हैरान भइसकेका छौं। त्यो सुन तस्करी रोक्न यो नयाँ सरकारले के योजना बनाएको छ, थाहा छैन। तर मन्त्रीहरूको सुन सम्बन्धी विवरणले यो पहेँलो धातुमा चासो ह्वात्तै बढाइदिएको छ। हाल बैंकहरूले दैनिक कुल २५ केजी सुन आयात गर्न पाउँछन्। तर त्यसले बजारको मागलाई त्यसले पुग्दैन र थप भरथेग तस्करीकै सुनले गरिरहेको बताइन्छ।
यता सुन घुस लेनदेनमा पनि प्रयोग हुने गरेको र यो सुरक्षित काइदा हो भन्छन् जानकारहरू। तिनको भनाइमा नगद घुस दिनुपर्दा खल्तीमा हालेर पुग्दैन, झोला वा सुटकेस चाहिन्छ, तर १०–१५ लाखको सुन त एउटा पर्सभित्र कतै लुकाए पनि भेट्टाउन मुस्किल पर्छ। यस्तो कारोबार सरकारी रेकर्डमा पनि सजिलै भेटिंदैन।
VIDEO