इनुमा चाम्लिङ
“हाम्रो बाजे–बजूहरूको घर उधिनेर यलम्बर उभिएको छ। आफन्त र गाउँको ढलेको शिरचाहिं कहिले उभिन्छ ?”
कुनै समय यस्तो थियो, बुइपा खोटाङ जिल्लाकै नामी गाविस र गाउँको रूपमा चिनिन्थ्यो। कसैले गाउँ सोधेको बखत बुइपा भन्यो भने उनीहरूको हेराइ र व्यवहार नै सकारात्मक हुन्थ्यो।
बुइपालाई धेरैले चिन्ने र बखान गर्ने गर्थे। म मेरो बुइपा गाउँको चर्चा सुनेरै हुर्किएँ।
त्यो बेला बुइपालाई चिन्नुका केही मुख्य कारण थिए/छन्। पहाडै–पहाडले बनेको भौगोलिक संरचना, उर्वर जमिन, साहित्य, संगीत र शिक्षा। यी कुराले बुइपालाई सधैं चर्चित गरायो, जसमा खोटाङकै पहिलो मावि स्तरको श्री चम्पावती मावि बुइपामा २०१३ सालमा स्थापना भएको थियो। त्यस विद्यालयमा छिमेकी जिल्लाबाट विद्यार्थीहरू पढ्न आउँथे।
बाह्रैमास खेतीपाती गरेर अन्न फलाउन सकिने प्रशस्त पानी भएको जमिन त छँदै थियो, साहित्य र संगीतमा पनि यहाँका स्रष्टा सक्रिय रहेर आफ्ना सिर्जनाबाट बुइपालाई परिचित गराए। गुणस्तरीय विद्यालय र बौद्धिक व्यक्तित्व भएको बुइपामा विभिन्न पत्रपत्रिका प्रकाशन हुन्थे। एउटै मात्र खट्किने कुरा— बुइपामा उपचारका लागि राम्रो अस्पताल थिएन। तर, सदरमुकाम नजिकै भएकोले चित्त बुझाउन सकिन्थ्यो।
गाउँ यस्तो उन्नत भए पनि उच्च शिक्षाका लागि शहर पस्ने लहर चलिरहेकै थियो। त्यस लहरले मलाई नछुने कुरै भएन।
हिले सडकमा यलम्बरको मूर्तिको छाया। तस्वीर: इनुमा
मैले याद गर्दा, २०६४/६५ तिर गाउँमा सडक बाटो पस्दै थियो। पारी मालाथुम्का डाँडाको पेट चिरेर गाडी गुड्न थालेको थियो। त्यहींबाट गाडीमा गुडेर शहर पस्ने रहर मनमा हुर्किसकेको थियो।
तर रहर मात्र नभईकन वास्तविकता पनि त्यही थियो, हामीले उच्च शिक्षाका लागि गाउँ छाड्नै पर्ने हुन्थ्यो। जिल्लाको पहिलो माविमा प्लस टू थपिएको थियो। तर, शिक्षा संकायको मात्रै पढाइ हुन्थ्यो।
एक दिन म पनि गाउँबाट शहर आइपुगें।
शहर चारतिरबाट आएका मान्छेको भीड हो। मलाई लाग्थ्यो, मेरो गाउँ खोटाङ बुइपा सबैले चिन्छन्। र, म गर्वका साथ आफ्नो गाउँको नाम लिन्थें। तर, शहरका मानिससँग कुराकानी गरेपछि थाहा भयो, यथार्थ मैले सोचेभन्दा उल्टो थियो। एक दिन यस शहरमा मेरो गाउँका बारे बताउँदा ‘खोटाङ पश्चिम नेपालमा पर्छ हो ?’ भनेर कसैले मलाई प्रतिप्रश्न गर्यो। मैले नेपालीलाई नै नक्सा देखाएर आफ्नो भूगोलबारे बताउनु गर्यो।
त्यसपछि लाग्यो, मैले गाउँलाई र गाउँले मलाई बाहेक अरूले चिन्दैन रहेछ। आफैंलाई हराउने ठाउँमा आफ्नो गाउँ त त्यसै हराउने रहेछ।
दिन–महीना–वर्ष हुँदै गाउँसँगको दूरी जति बढ्यो, उति आफ्नो गाउँ सम्झेर झन् धेरै सवाल उठ्थ्यो। काठमाडौंदेखि ८ घण्टाको गाडी–बाटोको दूरी त्यति टाढा पनि होइन, न त नजिक नै। बरु आफैंबाट गाउँ पो टाढा हुन थालेजस्तो भयो।
मेरो बाल मस्तिष्कले चिनेको–बुझेको गाउँलाई फेरि सम्झिन मन लाग्यो। साँच्चै, गाउँ भनेको के हो ? गाउँ हुनलाई के हुनुपर्छ ? गाउँको मुटुमा के भयो भने गाउँ, गाउँजस्तो हुन्छ र सबैले चिन्छन् ?
म मेरै गाउँ बुझ्नतिर फर्किंदै छु।
पहाडै–पहाडले बनेको पूर्वको जिल्ला खोटाङ। त्यही जिल्लाभित्र पर्ने बुइपा गाउँ। बुइपा पञ्चायतबाट बुइपा गाविस हुँदै अहिले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १४ मा पर्छ, यो गाउँ। पहाडको काखमा रहेको मेरो गाउँबाट पश्चिममा तुवाचुङ डाँडा देखिन्छ। यो डाँडा किराती मुन्दुम संस्कृतिसँग जोडिएका पात्र— तयामा, खियामा र रैछाकुले/हेच्छाकुपाले तानबाट कपडा बुनेको थातथलोको रूपमा परिचित छ। पूर्वमा सहदेउगढी छ, जुन स्थानीय किराती राजाहरूले राज्य गरेर बसेको ठाउँमध्ये एक हो। पृथ्वीनारायण शाहको नेपाल विस्तारभन्दा अघि यस भेगका थुम र गढीमा बसेर स्थानीय किरातीले नै राज्य गर्थे।
यही दुई थुम्की डाँडालाई हेर्दै हुर्किएका हौं, हामी। अर्को तरिकाले भन्नुपर्दा, किराती मिथक र इतिहासको बलियो पकड भएको ठाउँ हो यो।
पहिलोपटक शहर लाग्दा पञ्चरदोबाटो हुँदै हिंडेर गाउँ छोडेकी थिएँ, मैले। पछि गाडीबाट जाँदा पनि त्यही ठाउँमा पुगेर रोकिन्थें।
त्यही पञ्चरदोबाटोलाई एकसरो फर्केर हेर्ने कोशिश गर्दैछु।
मेरो गाउँ र मैले पढेको स्कूलको बीचमा पर्छ, पञ्चरदोबाटो। यहाँ शुक्रबारे हाट लाग्छ। हाट लाग्नुअघि औंसी–पूर्णे मेला लाग्थ्यो।
वि.सं. २०६३, साउनमा लेखककी बजूकाे शवलाई रेम्माखिममा लगिंदै। तस्वीर संकलन: इनुमा
मेला तथा हाट–बजारको विगतलाई हेर्ने हो भने तत्कालीन बुइपा, राजापानी, विजयखर्क, अर्खौंले, खार्पा पञ्चायतको सल्लाह र सहमतिबाट २०२५ सालको कात्तिक पूर्णेदेखि पञ्चरदोबाटोमा औंसी–पूर्णे बजार लाग्न थाल्यो। २०४९ सालदेखि पञ्चरदोबाटो बजारमा हरेक शुक्रबार हाट लाग्न थालेको छ। लेक–बेसीको मध्यस्थलमा अवस्थित यो शुक्रबारे पञ्चरदोबाटो बजार बुइपालीहरूलाई मात्र नभएर विजयखर्क, राजापानी, नुनथला, अर्खौंले, खार्पा, लामीडाँडा, बाम्राङका मानिसलाई समेत किनबेच, सट्टापट्टा, भेटघाट, लेनदेन, सभा–बैठक आदिका निम्ति केन्द्र बन्दै आयो।
क्रमशः लेक–बेसी, गाउँ–शहर सबै ठाउँका सबै वस्तु यहाँ किनबेच, सट्टापट्टा हुन थाल्यो र बजारले निरन्तरता पायो।
यस बजारमा मेरा केही स्मृति छन्।
स्कूल जाँदा–आउँदा हरेक दिन पञ्चरदोबाटो हुँदै जानुपथ्र्यो। शुक्रबार १ बजे स्कूल छुट्टी हुन्थ्यो। बाँकी समय बजारमा नै साथीहरूसँग घुमेर बिताउँथ्यौं। पञ्चरदोबाटो बीचमा ठूलो वरको रुख थियो, जसको फेदमा मान्छेहरू शीतल हावामा कुराकानी गर्थे। हामी पनि साथीहरू भेट्न वरको रुख साक्षी राख्थ्यौं।
यस पञ्चरदोबाटोमै किरातीहरूको उभौली–उधौलीमा साकेला नाच मैले पहिलोपटक देखेकी थिएँ। आमा र बाले सँगै साकेला नाचेको मलाई खूब रमाइलो लागेको थियो।
शुक्रबारे हाटको दिन आमाले धान–मकैसँग आलु साट्नु हुन्थ्यो। बा भने बजारको भीडमा मान्छेहरूसँग कुराकानी गर्नु हुन्थ्यो।
म यी सबै दृश्य साथीहरूसँग घुम्दै हेर्थें। पहिले–पहिले मेरो बजू पनि अन्नसँग आलु साट्न जानुहुन्थ्यो रे। अहिले पनि यस बजारमा किनबेच र साटफेर गर्ने चलन छ। सामान किनबेच र साटफेर गर्ने बुढी बजूहरूको अनुहारमा म आफ्नो बजूलाई देख्छु। मलाई लाग्छ, लेक र औलको पुरानो सम्बन्ध जोडिराख्ने अन्नले नै हो।
औंसी–पूर्णिमा मेलापछि साप्ताहिक हाट सञ्चालनका लागि वि.सं. २०५१ मा व्यवस्थित रूपमा निर्माण गरिएको पञ्चरदोबाटो। तस्वीर: गणेश राई | संकलन: इनुमा
सामान किनबेच र साटफेर मात्र नभएर मान्छेहरू फोटो खिच्नका लागि यो बजार आउने गर्थे। २०३६ सालमा मेरो बजू, फुपू तुम्माहरूले पनि पञ्चरदोबाटोमा फोटो खिचेका रहेछन्। त्यतिबेला सदरमुकाम दिक्तेलबाट फोटोग्राफर क्यामेरा र पर्दा लिएर आउँथे रे। फेरि २०४६ सालतिर मेरो आमा र गाउँलेहरूले भने आफैंले क्यामेरा लगेर बजारमा फोटो खिचेका रहेछन्। फोटो खिच्नका लागि त्यो ठाउँ नामी थियो। प्रायः गाउँलेको एल्बम खोतलियो भने पञ्चरदोबाटो बजारमा खिचेका फोटाहरू भेट्न सकिन्छ। पृष्ठभूमिमा प्रायः उही डाँडा देखिन्छ, हाम्रो पुर्खाहरूको रेम्माखिम (चिहानडाँडा)। अब त्यस्ता फोटा खिच्न कहाँ पाइएला ?
मैले पहिलोपटक कोकको स्वाद पाएको पनि पञ्चरदोबाटो बजारमा हो, जुन मीठो थियो। अनि, पहिलोपटक चीजबल खाएको पनि त्यही बजारमा हो, जुन नमीठो थियो। म त्यही मीठा–नमीठा सम्झना लिएर यस ठाउँको वर्तमानलाई हेरिरहेको छु।
बजारको संरचना फेरिएको छ।
वि.सं. २०५० तिर पञ्चरदोबाटोमा लागेकाे शुक्रबारे हाट ।
वि.सं. २०८२ मा पञ्चरदोबाटोमा लागेकाे शुक्रबारे हाट ।
बेलाबेला गाउँ–शहर ओहोर–दोहोर भइरहन्थ्यो। हरेक पटक गाउँ आउँदा केही न केही भौतिक फेरबदल भएको देख्थें अनि केही हराइरहेको महसूस हुन्थ्यो।
पञ्चरदोबाटोको वरको रुख भेटघाट गर्ने साझा चौतारी थियो। २०७६–७७ तिर पछि गाउँ जाँदा त्यस वरको रुख नदेख्दा मलाई नरमाइलो लागेको थियो। हरेक पटक गाउँ जाँदा मेरा स्मृतिसित जोडिएका केही चीज हराएको हुन्थ्यो।
अहिले त्यही पञ्चरदोबाटोमा कंक्रिट संरचना छ। बजारमा यातायातको टिकट काउन्टर छ। सडक बाटोले ठाउँ ओगटेको छ। गाडीहरू आउ–जाउ गरिरहन्छन्। त्यही बजारबाट गाडी चढेर अहिले हामी गाउँ–शहर गरिरहन्छौं।
यलम्बरको शालिक बन्नुअघि पञ्चरदोबाटोको दृश्य। तस्वीर संकलन: इनुमा
खोटाङ बुइपा किरातीहरूको बाहुल्य भएको ठाउँ हो। अन्य समुदायमा बाहुन, क्षत्री, नेवार, कामी, सार्की, दमाई, गुरुङ, मगर, संन्यासी आदि छन्। नेवार समुदायको भाडा व्यापारबाहेक यहाँको मुख्य पेशा परम्परागत कृषि हो। पछिल्लो समय व्यावसायिक कृषि पनि अभ्यासमा छ। अन्य केही व्यापार व्यवसाय पनि छन्। तर, यहाँका मानिस पहिलेदेखि विदेशी पल्टनमा भर्ती हुने चलन थियो। तीन दशकअघिदेखि परिवारै बाहिरिने लहर चल्यो। बचेखुचेकाहरू गाउँमा जीवन गुजारा गर्छन्।
२०८० सालतिर गाउँ जाँदा पञ्चरदोबाटो बजार नजिकै डाँडामा मूर्ति निर्माण हुँदै गरेको देखें, जुन ठाउँ सहदेउगढी डाँडासँगै जोडिएको बजार नजिकैको उच्च ठाउँ हो। त्यो हाम्रो पुर्खाको हजारौं रेम्माखिम अर्थात् चिहानघर हो। पुर्खाहरूको त्यही चिहानघरमाथि ५ हजार वर्षअघि नेपालमा शासन गर्ने पहिलो किराती राजा यलम्बरको मूर्ति निर्माण भइरहेको देखें। बुझ्दै जाँदा स्थानीय गाउँलेहरूले मूर्ति बनाउन रोक लगाएको थाहा पाएँ। तर, मूर्ति निर्माण हुने नै भयो र डोजर चल्यो। चिहानघर भएका आफन्त गाउँलेहरू आन्दोलित भएर उठे। तर, विडम्बना डोजरको अगाडि गाउँलेहरूको आवाज सानो सुनियो।
आफ्नै गाउँको वर्तमान र विगत बुझ्दै हिंडिरहेकी म गाउँका मान्छेसँग भेटेर कुरा गर्न थालें। यस पटक मैले गाउँमा अलिक लामो समय बिताएँ।
हामीजस्तै गाउँबाट शहर, शहर हुँदै विदेश पुग्ने सपना र बाध्यता दुवै खाले बरियोमा बेरिएर जानेहरू गाउँमा भेटिंदैनन्। बचेखुचेका नयाँ–पुराना मान्छेहरूलाई भेटें।
साइनोले तुम्मा (ठूलीआमा) पर्ने उमेरले ८४ कटेकी बूढी आमा गोरीमाया राईलाई भेटें। उनी केही वर्षअघि छोरीको घर मधेश गएकी रहिछन्। तर, जब बुढ्यौलीले सताउन थाल्यो, आफ्नै गाउँमा मर्छु भनेर फर्किन्। दुर्भाग्यवश आफ्नाको चिहानमाथि नै डोजर चलेको उनले देख्नुपर्यो। उनको गुनासो छ, “म मधेशमा बस्दै थिएँ। आफ्नै ठाउँमा मर्छु भनेर आएकी थिएँ। यहाँ त चिहान पनि घरै जस्तो बनाएर मजाले राखिदिन्छ। तर, म मधेशबाट आएकै साल हाम्रा चिहानघरहरू भत्काइदियो। त्यहाँ मेरो बूढाको पनि चिहान थियो। मरेपछि उसकै नजिक बसूँला भनेको त, यलम्बरको मूर्ति बनाउने भनेर थाहा नै नदिई राति चिहानघारी खनिदियो। मरेपछि हामी बस्ने घर खोई भनेर गाउँ उठेर करायौं।”
पञ्चरदोबाटो हाटबजार पुनःव्यवस्थापनका लागि भवन निर्माण गर्न वरको रुख काट्दै। तस्वीर: मेम्बर राई। संकलन: इनुमा।
गोरीमाया राईको बुढा गाडिएको रेम्माखिम विभिन्न गाउँको सामूहिक थलो हो। त्यहाँ सयौं वर्षदेखिका पुराना र नयाँ चिहानहरू थिए। अम्बर राई ९ वर्षको हुँदा उनको बुबा बितेका थिए। त्यसबेलादेखि आफ्नो बुबाको चिहानछेउको पातीको बुट्यानलाई चिनो बनाएर बेलाबेला उनी बुबालाई भेट्न जान्थे। स्कूलमा शिक्षकले कराउँदा–कुट्दा उनी बुबाको चिहानमा गएर रुँदै बस्थे। राम्रा–नराम्रा हरेक क्षणमा उनी बुबालाई भेट्न चिहानघरमा जान्थे। सबैले समयअनुसार कहिले पाती, कहिले ऐंसेलुको बुट्यानलाई चिनो बनाएर आ–आफ्ना पुर्खाका चिहानघर चिन्ने गर्थे।
अचानक पुर्खाका यिनै घरमाथि मूर्ति बनाउने कुरा थाहा पाएपछि आफन्तहरू आक्रोशित भए। गाउँमै व्यवसाय गरेर बसेका अम्बरलगायत अन्य गाउँले युवा भेला भएर आफ्ना पुर्खाका चिहान गन्ती गर्न थाले। मूर्ति बनाउने ठाउँ वरिपरि उनीहरूले ३६ सय चिहान गने।
“यहाँ मेरो बाजे, बजू र आपाको चिहान थियो। यो डाँडामा करीब ३ हजार ५ सय चिहानघर थिए। यसलाई भत्काउनै नमिल्ने हो।” चालीस वर्षीय अम्बर भन्छन्, “हाम्रो चिहानडाँडामा नै यलम्बरको मूर्ति बनाउनु पर्छ भन्ने के छ ? हाम्रो आपाको एउटा चिहान बचेको छ, अरू कुनै चिनोबानो छैन। अरूले यलम्बर पार्क भन्छ तर यो हाम्रो लागि पार्क होइन। पुर्खाहरूको चिहानघर हो।”
अन्तिमसम्म हिम्मतसाथ संघर्ष गरेर अम्बर राई आफ्नो बुबाको चिहान बचाउन सफल भए। विडम्बना, धेरैका आफन्त गाउँमा थिएनन्। सबैले आफ्ना पुर्खाको चिहानघर चिन्न सकेनन्। र, पुर्खाका घर ध्वस्त हुन समय लागेन।
साइनोले मेरो बाजे पर्ने ८२ वर्षीय लेखक तथा कवि जसराज किराती बुइपा र सिंगो खोटाङलाई चिनाउने अग्रज बौद्धिक हुन्। लेखनमार्फत नेपालमा उहाँको ठूलो योगदान छ। पञ्चरदोबाटो बजार स्थापनालगायत बुइपाका विभिन्न सामाजिक तथा राजनीतिक क्षेत्रमा चिन्तन र योगदान दिने व्यक्ति हुन्। बुइपाको विकासका लागि भौतिक संरचना निर्माण गर्नुपर्छ भन्ने उनलाई कहिल्यै पनि लागेन। बुइपाको प्रगतिका लागि साहित्य, कला, शिक्षा, स्वास्थ्य र सडक निर्माणमा जोड दिनुपर्छ, भौतिक वस्तुलाई संरक्षण गरेर लानुपर्छ भन्ने पक्षमा उनी अग्रपंक्तिमा नै बोलिरहे।
यलम्बरको शालिक निर्माणस्थल छेउको चिहानमाथि ढलान गरेर बनाइएको सामुदायिक आत्मघर।
“यलम्बर मूर्ति बनाउन चिहान खन्ने कुरा हुँदै गर्दा म त्यहीं गाउँमै थिएँ। मैले चिहान नमासौं भनें तर मेरो कुरा कसैले सुनिदिएन। अरू गाउँलेले पनि विरोध गरेका हुन् तर विरोधलाई विरोध मानिएन। त्यसो गर्नै हुँदैन थियो। अहिले यलम्बरको मूर्ति बनायो, के पायौं त ?” जसराज किराती भन्छन्, “हाम्रो संस्कार, रीतिरिवाज, परम्परा र चिहानघरलाई सुरक्षा र संरक्षण गर्नुपर्ने हो। पुर्खाको इज्जत गरेर हामीले चिहानघरमा राखेका हुन्छौं अनि फेरि हामीले नै भत्काएर मिल्काउने ? कसरी भत्काउन सकेको ? आफ्नो आमाबाउको चिहान भत्काउन सकिन्छ ? तर, पैसाका लागि शक्तिमा हुनेले भत्काउने बिगार्ने गर्छ।”
२०७८ मा यलम्बरको मूर्ति बनाउन थाल्दा स्थानीयले भौतिक रूपमा उपस्थित भएरै असहमति जनाए। त्यहीताका अन्य व्यक्तिले पनि त्यस ठाउँमा मूर्ति बनाउन असहमति जनाउँदै सामाजिक सञ्जालमा लेखे।
डोजर चलिसकेको थियो। र, केही क्षति भइसकेको थियो। आफ्नो लगानी खर्च भइसकेको र त्यसको क्षतिपूर्ति कसले व्यहोर्छ भन्ने प्रश्न निर्माण समूहले गरेपछि विवाद हुन गयो। एकापट्टि निर्माण टोलीले आफ्नो खर्चको क्षति र मूल्य माग्दै गर्दा आफ्ना पुर्खा मासिएकाहरूको चाहिं किन कुनै क्षति र मूल्य हेरिएन होला ?
अन्ततः २०८१ सालको अन्त्यतिर यलम्बरको मूर्ति निर्माण सम्पन्न भयो। ७० प्रतिशत प्रदेश सरकार र ३० प्रतिशत स्थानीय सरकारको साझेदारीमा बहुवर्षीय योजनाअन्तर्गत १४ करोड रुपैयाँको बजेटमा ११० फिट अग्लो मूर्ति निर्माण भएको छ। मूर्तिभित्र स्टील छ, पिलरमा कंक्रिट र बाहिर फाइबर छ। यसको आयु ५० वर्ष रहेको बताइएको छ।
यति ठूलो मूर्तिलाई डाँडामा उभ्याउँदा बडेमानको देखिने नै भयो। वरपरका पाखा, पखेरा, खोलाखाल्सीबाट यलम्बरको मूर्ति देखिन्छ। नहेरौं भने पनि आँखा टक्क रोकिदिन्छ।
अस्ति भर्खरै मात्र मैले एउटा भिडियो फेला पारें।
उदयपुरको एउटा गाउँबाट मोबाइलले जुम गरेर खिचिएको पञ्चरदोबाटोको यलम्बर मूर्तिको भिडियो टिकटकमा देखें।
यसै क्रममा मैले ९ वर्षीया नानी चिनारीलाई भेटें। उनको बोली र बुझाइको चेत उमेरभन्दा दोब्बर लाग्यो। खेल्ने–रमाउने उमेरमा ऊ आफ्नो पुर्खा, संस्कार र संस्कृतिबारे चासो राख्छिन्। र, बेलाबेलामा घरमा बजू र आमाबुबासँग प्रश्न गरिरहन्छिन्। चिनारी भन्छिन्, “यो यलम्बरको मूर्तिमुनि हाम्रो पुर्खाका लाश छन्। अनि, त्यसमा एकजना हाम्रो आपा (बाजे) हो। त्यो यलम्बर बनाउँदाखेरि सबै लाश उजाडिदियो। तर, हाम्रो आपाको लाशलाई बाबाले चाहिं छुनै नदिएको नि। मलाई यलम्बर देखेर रीस उठ्छ।” उनी थप्छिन्, “तर, यलम्बरको खुट्टामा चढेर चिप्लेटी खेल्न त मज्जा हुन्छ। कसरी त्यत्रो ठूलो बनाएको होला है ?”
विडम्बना, एकातिर हामी पुर्खा र प्रकृतिलाई मान्ने किराती हौं भन्छौं, अर्कोतिर पुर्खाहरूलाई नै मासेर मूर्ति उभ्याइरहेका छौं।
यलम्बरको शालिकमा चढेर खेलिरहेका बालबालिका। तस्वीर: इनुमा
यो २०७१/७२ सालतिरको कुरा हो। गाउँको मुख्य ठाउँ पञ्चरदोबाटोतिर कच्ची सडक बनिसकेको थियो। र, सडक गाउँ गाउँ पस्नलाई पुराना बाटा, रुख, खेतबारी पुरिंदै–हराउँदै गए। यस क्रममा सडक बाटोले हाम्रो बजूको चिहानघर मासिने सम्भावना देखायो। त्यसपछि बाले बजूको चिहानघरलाई जोगाएर केही गह्रामुनिबाट सडक बाटो खन्न लगाए, जसले गर्दा घरगाउँको अन्य जमिन सडकसँग सम्झौता गर्नुपर्यो।
बजूको चिहानघर भएको ठाउँ बजू आफैंले रोजेकी थिइन्। यो घरदेखि माथि डाँडामा पर्छ र पञ्चरदोबाटोदेखि १ किलोमिटरको हाराहारीमा रहेको छ। २०६३ सालको साउने झरीपछि बजू नयाँ घरमा सरिन्। या भनौं, बजूको मृत्युपछि माटोमुनि चिहानघरमा गइन्। त्यसपछि बा बेलाबेला बजूको चिहानघर जान्थे र खै के–के गर्थे। हामीलाई बेलाबेला भन्थे, “यो बजूको घर हो।
हामी बस्ने घर सरसफाइ गरेजस्तै बजूको घरलाई सरसफाइ गर्नुपर्छ।” बजूको घर बाटो नजिकै भएकाले बाटो हिंड्दा हामी फूलपाती, तीतेपाती चढाउँदै हिड्थ्यौं। त्यतिबेला बाले भनेका कुरा खासै बुझेकी थिइनँ, मैले। अहिले बुझ्दै छु। यदि बजूको चिहानघर थिएन भने हामीले बजूको अस्तित्व र हाम्रो आफ्नै अस्तित्व बुझ्ने थिएनौं। आफ्नो पुर्खालाई चिन्नु–बुझ्नु भनेको आफ्नो जरा बुझ्नु हो। हामी मान्छे हुनुको अस्तित्व स्वीकार्नु हो।
पहाडी भेगको गाउँघरमा सडक आएपछि पाटी, पौवा, चौतारा र चिहान भत्किनु नौलो कुरा थिएन। धेरैको गुमिसकेको थियो। त्यसलाई प्रतिरोध गर्दा चूप लगाउने एउटा जवाफ प्रयोग हुन थालेको थियो– ‘विकास चाहिन्छ भने विनाश पनि हुन्छ।’ अहिले पनि यही वाक्य यथावतै प्रयोग हुन्छ।
किरात संस्कारअनुसार गरिने (छाैवा) पितृपूजा। विशेष गरी भदौ महीनामा घरको मूल चुल्हामा पितृहरूलाई सम्झेर नयाँ अन्नबाली चढाउने गरिन्छ। तस्वीर: इनुमा
यही प्रसंगमा मैले एउटा कुरा सम्झिएँ। पछिल्लोपटक गाउँमै हुँदा सामाजिक सञ्जालमा एउटा भिडियो देखें। त्यो खोटाङकै अर्को गाउँ थियो। भिडियोमा आफ्नी आमाको चिहानछेउबाट खनिएको सडक देखाउँदै एउटी छोरी बिलौना गरिरहेकी थिइन्, “मेरै बारी, मेरै हँसिया, मेरै घाँस, मेरै सत्यानाश भएजस्तै भयो। हाम्रो बारी धेरै जानु छ अनि फेरि मेरै आमाको चिहान भत्काएर सडक खनेर लगेको छ।” उनको त्यस भिडियोले म मर्माहत भएँ। र, आफ्नो पीडासहित खुलेर भिडियोमा प्रतिरोध गरेको मलाई हिम्मतिलो पनि लाग्यो। यद्यपि, स्थानीयमाथि परेको यस्तो अन्यायको सुनुवाइ भइरहेको छैन।
कुनै बेला खोटाङमा विकासे योजना भनेर खानेपानी, सिंचाइ र सडक आउन थाल्यो। दिक्तेल, बुइपा पञ्चरदोबाटो, गाईघाट हुँदै ओखलढुंगा जोडिने लगभग १९३ किलोमिटर सगरमाथा राजमार्गको रूपमा डिटेल डिजाइनिङको सर्भे कार्य २०४८/४९ सालमा शुरू भई २०५०/५१ मा एशियाली विकास बैंकबाट दोस्रो सडक सुधार आयोजनाअन्तर्गत १५ करोड ५४ लाख रुपैयाँ ऋण सहयोगमार्फत आधुनिक प्रविधिद्वारा सम्पन्न भएको थियो। अहिलेसम्म पनि सडक व्यवस्थित र कालोपत्रे हुन नसक्दा कच्ची सडक छ।
बुइपामा यलम्बरको मूर्ति बनाउने योजना पनि पुरानै हो। यलम्बरको मूर्ति बनाउनुपर्छ भन्ने दुई व्यक्ति अग्रपंक्तिमा थिए– धनराज राई र गणेश राई। धनराज राई चम्पावती माध्यमिक विद्यालयका शिक्षक थिए भने गणेश राई तत्कालीन बुइपा गाविसका अध्यक्ष।
यिनीहरूमार्फत यलम्बरको मूर्ति निर्माणबारे गाउँघरमा कुरा शुरू भयो। २०६४/६५ सालतिर आइपुग्दा मूर्ति बनाउन घरदैलो गर्दै चन्दा उठाउन शुरू भएको थियो। त्यस सहयोगबाट मूर्ति बुइपाकै कुनै ठाउँमा बनाउने योजना थियो। ढुंगाबाट बनिने यलम्बर मूर्ति मान्छेकै उचाइको हुने चर्चा थियो।
त्यही बखत देश गणतन्त्रतर्फ ढल्किँदै गर्दा विकास गर्न भनेर गाउँका एक हुल युवा शहरबाट गाउँ पसे। गाउँमा एक किसिमको सिद्धान्त नै बन्यो, गाउँ विकास युवाले गर्नुपर्छ भनेर। त्यसैले विद्यालय व्यवस्थापनदेखि विभिन्न राजनीतिक तथा सामाजिक क्षेत्रको जिम्मेवारी ३०/३५ वर्षे युवाले लिन थाले।
२०७४ सालको स्थानीय सरकारमा पनि युवाकै बहुमत थियो। त्यतिबेला दिनेश राई बुइपाको युवा वडाध्यक्ष भए। उनी साइनोले मेरो मामा पर्छन्। गाउँमा धेरथोर परिवर्तन भयो। स्थानीय रूपमा विकास योजनामाथि पनि छलफल हुन थाल्यो। भौतिक रूपमा मठ–मन्दिर बन्ने क्रम बढ्दै गयो। खेलकुद मैदानदेखि विभिन्न भवन बन्दै गए।
पुर्खाकाे स्मृतिमा लेखिएको पुरानो चौताराको शिलालेख।
दिनेश राईको अहिले अध्यक्ष पदमा दोस्रो कार्यकाल हो। उहाँको दोस्रो कार्यकालमै यलम्बर मूर्ति निर्माण सम्पन्न भयो। मैले उनीबाट बुझ्ने प्रयास गरें। “यलम्बर बनाउनुपर्छ भनेर स्थानीय सरकार आउनुअघि गाविसकालदेखि नै अग्रजहरूले कुरा उठाउनु भएको हो। त्यतिबेला कुरा चल्दा यता माझकिरात कतै पनि यलम्बरको मूर्ति बनेको थिएन। तर अरू ठाउँमा अगाडि पहल पुग्यो र अहिले धेरै ठाउँमा बनिसके,” उनी भन्छन्, “त्यही सेरोफेरोमा स्थानीय सरकारको चुनाव भयो। त्यही बेला हामी पनि आयौं। बुइपामा बनाउनुपर्छ भन्ने अभियान थियो। पञ्चरदोबाटो चोक बजारमै बनाउनुपर्छ भनेर पनि कुरा आयो। बजार त झनै साँघुरो छ। अलिक डाँडामा बनाउनुपर्छ भन्ने सल्लाह भयो।”
यलम्बरको मूर्ति ठूलो बनाउने योजना चाहिं कसरी बन्यो ? वडाअध्यक्ष राई भन्छन्, “पहिले २५, ३० फिटको हुँदै ५० फिटको बनाऔं भन्ने सरसल्लाह हुँदै गयो। अन्त्यमा, नेपालकै अग्लो ठूलो मूर्ति बनाएर इतिहासमा खोटाङेले गर्व गर्ने विषय पनि हुन्छ भनेर हामीले प्रदेशमा प्रस्ताव पेश गर्यौं। प्रदेशमा मुख्यमन्त्री शेरधन राई हुनुहुन्थ्यो। उहाँ ज्यादै सकारात्मक हुनुभयो। तत्काल मन्त्रिपरिषद्मा यो प्रस्ताव लानुभयो र निर्णय गर्नुभयो।”
बुइपामै यलम्बरको मूर्ति बनाउनुको कारण के होला ? उनी थप्छन्, “बुइपामा बनाउनुको उद्देश्य नै किरातीको पहिलो राजालाई माझकिरातको इतिहास र सभ्यताको प्रतीकको मूल विन्दुको रूपमा स्थापित गर्न सकिन्छ भन्ने भयो। त्यहाँ पहिलेचाहिं ४/५ वटा टोलको सार्वजनिक चिहानघारी नै रहेछ। प्रयोग नभएको पनि ३० वर्ष भएको रहेछ।
प्रायः आफैंले इच्छ्याएको ठाउँ घरनजिकै आफ्नै जग्गामा संरक्षित हुन्छ भनेर राखिन्छ। त्यो डाँडा प्रयोगविहीन थियो। घंगारुघारी र ऐंसेलुघारीलाई प्रयोग गर्दा बजारलाई राम्रो हुन्छ भने किन नगर्ने भन्ने भयो।” गुनासा आए पनि चिहानहरू खनी सकिएकाले सहमतिमा जानुपरेको बताउँछन् दिनेश राई। उत्खनन् गर्दा निस्किएका अवशेषहरूलाई सामूहिक आत्मघर बनाइदिएको दाबी गर्छन्। उनी भन्छन्, “आत्मघर त एउटा सांकेतिक कुरा हो। डाँडामा उत्खनन् भएका अवशेष सबै एकै ठाउँमा छ। १२/१५ वटा चिहान क्षति भयो। त्यसलाई छरपस्ट नपारी सामूहिक आत्मघर भनेर निर्माण गर्यौं।”
उनले आन्तरिक पर्यटन बढ्ने, हाम्रो धर्म संस्कारसँग जोडेर मान्छेहरू आवतजावत गर्ने र गाउँको अर्थतन्त्र बढ्ने दाबी गरे पनि मूर्ति निर्माणपछि गाउँलाई कसरी जोड्ने भन्ने विषय चुनौतीपूर्ण देखिन्छ। मैले अन्य स्थानीयसँग पनि बुझ्ने प्रयास गरें। उनीहरू मूर्ति पार्क बन्नु गाउँको प्राथमिकता मान्दैनन्। धेरै स्थानीयका अनुसार करोडौं लगानीमा शालिक बन्नुभन्दा कृषि उत्पादनमा लगानी गरेको भए स्थानीयको जीवनस्तर सुधार हुन्थ्यो। स्थानीयहरू भन्छन्, “शालिक, पार्क बनाउनु, पर्यटक क्षेत्र बन्नु भनेको घुमफिर र रमाउनको लागि हो। तर, यहाँका मानिसको जीवनस्तर नै उकासिएको छैन भने कसरी रमाउन सक्छ ?”
झट्ट हेर्दा चिहान भनेको शवलाई राखिएको भौगोलिक स्थान भए पनि किराती समुदायमा मृत्यु संस्कारको गहन महत्त्व छ। संस्कृतिविद् तथा मुन्दुम अध्येता भोगीराज चाम्लिङका अनुसार बितेर जाने पुर्खालाई सामूहिक डाँडामा राख्ने चलन छ। नछुङ (धामी) ले मुन्दुमबाट आत्मालाई तुवाचुङ डाँडाबाट उडाउने रहेछ।
किराती समाजमा मर्ने र बाँच्ने मानिसको ठाउँ छुट्याएको हुन्छ। मानिस मरेपछि बस्ने ठाउँ चिहानघारीमा निरन्तर खानेकुरा लगिदिने चलन हुन्छ। त्यसले मर्नेहरूको संसार नै चिहानघारी हो भन्दै चाम्लिङ व्याख्या गर्छन्, “मृतात्मा र हामी बाँच्ने मानिसको सम्बन्ध त जीवन्त हुन्छ। तर त्यसको मध्यस्थकर्ताको काम चाहिं धामी (नछुङ) ले गर्छ। हामी आदिवासीको विश्वासमा मृतात्मा र जीवित मानिसको सम्बन्धबाट यो समाज, सृष्टि र संसार चल्छ। त्यसकारण उनीहरूको संसार बिथोल्नु भनेको स्वतः नराम्रो कुरा भइगयो। उनीहरू आउने–बस्ने ठाउँ सबै भत्काएर फालेपछि अब उनीहरू कहाँ बस्ने त ? पितृलोकतिर गए पनि आएर बस्ने ठाउँ त्यहीँ हो। हामीले घरमा चुल्हामा बोलाए पनि खाएर जाने ठाउँ त्यहीँ हो। त्यो त उनीहरूको घर हो नि।”
उनी थप्छन्, “हाम्रो किराती विश्वासमा धमिराको देवललाई भत्काउनु हुँदैन। त्यसलाई लात हान्नु हुँदैन। त्यसलाई फोहोर गर्नु हुँदैन। किनकि त्यसबाट हामी पैदा भएको हो। मुन्दुमी मिथकअनुसार हाम्रो सृष्टिकर्ता माटो हो। माटो र धमिराको देवलबाट जन्मिएकाले गर्दा हाम्रो शरीर माटोमै बुझाउनुपर्यो। त्यसैले हाम्रोमा मृत्युपश्चात् माटोमुनि राख्ने दर्शन छ। माटोमा जन्मिएकोले माटोमै मिलाइदिनुपर्यो।”
चिहानघरबाट दिवंगत पुर्खाहरू चौतारा हुँदै चुल्हामा आउने हुनाले चौतारामा ढोका राखिएको हुन्छ र बाटो नबिराऊन् भनेर उनीहरू आउने बाटो र घर संरक्षण गर्नुपर्ने विश्वासबारे चाम्लिङ भन्छन्, “पितृ आत्मासँगको हाम्रो सम्बन्ध र भेटघाट नै भएन भने हाम्रो किराती समाज नचल्ने भएकाले चिहान भत्काउँदा पुराना ढुंगा र हाडखोर मात्रै निस्किएको ठान्ने होइन कि हाम्रो विश्वास प्रणाली नै भत्कियो भन्ने बुझ्नुपर्छ। पुरातात्त्विक हिसाबले पनि हाम्रो इतिहास मासियो। र, हाम्रो मुन्दुमी विश्वास प्रणालीमा आघात पुग्यो। अब चिहान मासिएको मृतात्मा र त्यो घर परिवारको सम्बन्ध नै टुट्यो।”
अहिले नेपालभरि मूर्ति र शालिक बनाउने होडबाजी छ। तर, शालिक बनाउने ठाउँको सांस्कृतिक महत्त्वलाई भने बेवास्ता गरेका कारण जनस्तरमा असन्तुष्टि चुलिएको छ।
शालिक निर्माणपश्चात रेम्माखिम (पुर्खाको चिहानघर) भएको ठाउँमा तारबार नाघेर जान प्रयास गर्दै स्थानीय वृद्धा । तस्वीर: इनुमा
मुन्दुमअनुसार किराती समुदाय प्रकृति र पुर्खालाई मान्ने, पूजा गर्ने समुदाय हो। हाम्रा पर्व र जीवनदर्शन उनीहरूसँग जोडिएको हुन्छ। किरात राईहरूले तीन चुल्हासहित खोला, नाला, जंगल, हावापानीलाई सम्झेर पूजा गर्छौं। आवश्यकताभन्दा बढी कहिल्यै प्रकृतिलाई हानि नगर्ने समुदाय हो, किरात। तर पछिल्लो समय विकासको नाममा हाम्रो समुदायले पनि मुन्दुमी स्थलहरूमा शालिक बनाउँदै गएका छन्।
आदिवासी किरातीहरूको जीवनदर्शन राज्यको नीतिसँग मेल खाने भएन। राज्यको नीतिले हाम्रो आदिवासी ज्ञान, संस्कृति पिल्सिन थाल्यो। प्रश्न उठ्छ– यसरी शालिक उभ्याउँदै गर्दा कतिको आस्था, विश्वास, अस्तित्वलाई मासेको होला ? यसको हिसाब कोसँग होला ?
हाम्रो मरेको भाषा, हराएको संस्कृति, मौलिकता मासेर शालिकउभ्याएर के फाइदा पुग्यो ? यसले पहिचान जीवित राख्छ ? आफैंतिर फर्केर प्रतिप्रश्न गरौं। अनि, राज्यलाई प्रश्न गर्नतिर लागौं।
वि.सं. २०४६ मा पञ्चरदोबाटोमा लेखककी आमा आफ्ना साथीहरूसँग। संकलन: इनुमा
बुइपाका तत्कालीन गाविस अध्यक्ष गणेश राई गाउँको उन्नति प्रगति गर्नुपर्छ भन्ने व्यक्ति हुन्। मेरा तुप्पा (ठूलोबा) नाता पर्ने उनले पञ्चरदोबाटोमा हाटबजार स्थापना गरेर त्यहाँ २०५१ सालदेखि साकेला नाच शुरू गरे। शुरूमा यलम्बरको मूर्ति बनाउनुपर्छ भन्नेमध्ये एक उनी अहिले आफ्नै विगतका योजनामाथि पछुताइरहेका छन्। उनी भन्छन्, “बुइपामा यलम्बरको मूर्ति बनाउनुपर्छ भनेर शुरूमा हामीले नै कुरा उठाएको हो। मूर्ति बनाउनु नराम्रो होइन, बन्नु राम्रो हो। त्यसले हाम्रो इतिहास र पहिचान बचाइराख्छ। तर, स्थानीय सरकार आएपछि नगर र प्रदेशबाट यलम्बरको ठूलो मूर्ति बन्यो, जुन मूर्ति बनाउँदा धेरै चिहान मासिए। चिहान मासिएका हाम्रा पुर्खा र बालबच्चाको हामीलाई श्राप नलागोस्। ती आत्माले चित्त नदुःखाऊन्।”
म फेरि पुरानो परिचित आफ्नै बुइपा गाउँ सम्झिन्छु– यस गाउँलाई चिनाउन यहाँको भूगोलको संरचना पर्याप्त थिएन र ? संस्कृति र इतिहाससँग जोडिएको तुवाचुङ र सहदेउगढीजस्ता उच्च डाँडा पूर्ण थिएनन् र ? बुइपालाई चिन्न जसराज किराती, वम थुलुङ, चमा थुलुङ, हीराधन राई, जीवराज घिमिरे, मेम्बर राई लगायतले लेखेका कथा कविता काफी छैनन् र ? नरेन्द्र श्रेष्ठ, धनराज राई, ठूले राई, राजेशपायल राई लगायतका गीत–संगीतमा बुइपाको माटोको बास्ना छैन र ?
साकेला, मारुनी र लाखेको त्यो रौनक कता गयो ?
राजनीतिमा युवाको अगुवाइ खोजिरहेको आफ्नै पुस्तालाई सोध्न मन लाग्छ — के बुइपालाई चिनाउन यलम्बरको मूर्तिकै कमी थियो त ?
पहिलेको पञ्चरदोबाटोलाई अहिले यलम्बरपार्क भन्न थालिएको छ। पहिले जतिबेला पनि पुर्खालाई सम्झेर आउने ठाउँ अहिले फलामे तारले बारिएको छ। जसले आफन्तको चिहान बचाउन सकेका छन्, उनीहरू थोरै गर्व गर्छन्।
तर, उनीहरूको पनि त्यो ठाउँमा पूर्ण हक छैन। पुर्खाको चिहानघर मासिएका आफन्तहरू मौन देखिन्छन् तर उनीहरूको मनमा आँधीबेहरी चल्छ। भित्रभित्रै पिल्सिएका छन् र भन्छन्, “आफ्नो ठाउँ अब अरूको नियन्त्रण र कब्जामा छ। मन लागेको बेला आउन पाइँदैन।” उनीहरूलाई लागेको छ — जति कराए पनि पुर्खालाई बचाउन सकिएन। आफ्नो ठाउँको इतिहास र माटोसँगको नाता टुट्दै गयो।
धेरैको मनमा प्रतिध्वनित भइरहेको छ–
“हाम्रो बाजे–बजूहरूको घर उधिनेर यलम्बर उभिएको छ। आफन्त र गाउँको ढलेको शिरचाहिं कहिले उभिन्छ ?”