सरकारले बल्खुस्थित सुकुम्बासी बस्तीमा डोजर चलाएपछि स्थानीय विद्यालयमा पढिरहेका त्यहाँका बालबालिका र तिनका अभिभावकमा ‘कहाँ जाने र कहाँ पढ्ने’ भन्ने अन्योल थपिएको छ।
वैशाख १८ गते शुक्रबार बिहानै बल्खुस्थित सुकुम्बासी बस्तीमा सरकारले डोजर लगाएर त्यहाँ रहेका जस्ताले बनेका छाप्राहरू भत्काइदियो। यहाँ बस्ने करीब चार सय घरपरिवार छिनभरमै घरबारविहीन भए।
डोजरले बस्ती भत्काइसकेको थियो। दिउँसो साढे तीन बजेतिर दश वर्षीया पूजा साह भाइबहिनीलाई भुलाउँदै बसिरहेकी थिइन्। बस्तीका मानिसहरू सरकारले भत्काइदिएको ठाउँबाट सरसामान निकाल्दै थिए। कोही सरसामान ओसारिरहेका थिए भने कोही कवाडी बटुलिरहेका थिए। पूजाकी आमा कोठा खोज्न निस्केकी थिइन्। निकाल्न नभ्याइएका सामान भने सडकमै राखिएका थिए।बाल्यकालदेखि खेल्दै हुर्किएको बस्ती आँखैअगाडि खण्डहर बनेको थियो।
आमा र पूजा मिलेर एकसरो लुगा, केही भाडाकुँडा र ओढ्ने–ओछ्याउने मात्रै निकाल्न भ्याए। दुःखजेलो गरेर जोडेको धेरै सामान भने पुरियो।
पूजाकी आमा रौतहटको गौरबाट कामको खोजीमा करीब दश वर्षअघि बल्खुको सुकुम्बासी बस्तीमा आइपुगेकी हुन्।शुरूमा काम पाउन निकै कठिन भयो। कहिले ठेलागाडामा तरकारी बेचिन् त कहिले सरसफाइको काम गरिन्। शहरमा जसोतसो छोराछोरी पाल्दै आएकी छन्।
सरकारले बल्खुस्थित सुकुम्बासी बस्तीमा डोजर चलाएपछिको अवस्था ।
पूजा सानेपास्थित धोबीघाटको सचेतना आधारभूत विद्यालयमा एक कक्षा उत्तीर्ण गरी दुई कक्षामा पुगेकी छन्। वैशाख १५ गते नै भर्ना भइसकेको थियो। तर, बस्ती उठेपछि अब कहाँ पढ्ने भन्ने टुंगो छैन। पूजा भन्छिन्, “अब हामी कहाँ पढ्ने हो, थाहा छैन।”
सचेतना विद्यालयमा पढ्न थालेको दुई वर्ष भएको थियो। बस्तीका अरू विद्यार्थी पनि त्यहीं पढ्थे। घरसँगै विद्यालयका पोशाक, कापी–कलम पुरिएको देखेकी पूजा निराश छिन्। उनलाई आफ्नो पढाइ रोकिने हो कि भन्ने चिन्ता बढ्न थालेको छ।
सरकारले वैशाख १५ देखि भर्ना र वैशाख २१ देखि पठनपाठन शुरू गर्ने जनाएको छ। तर, सुकुम्बासी बस्तीका बालबालिकाका लागि अहिले बस्ने ठाउँ र खानाको टुंगो नै छैन। पढाइ त टाढाको कुरा भइसकेको छ।
घर भत्किएपछि निराश भएर बसेका एक बालक।
पूजाजस्तै अन्योल १४ वर्षीया सृष्टि कार्कीलाई पनि छ। बस्ती नजिकैको श्री कुलेश्वर माध्यमिक विद्यालयमा ८ कक्षा उत्तीर्ण गरी ९ कक्षामा भर्ना भएकी उनी वैशाख २१ देखि नियमित विद्यालय जानुपर्नेछ। तर, उनी भन्छिन्, “कोठा पाएका छैनौं। कहाँ बस्ने, कहाँ पढ्ने केही थाहा छैन।”
उनको घर मोरङमा भए पनि सृष्टि यहीं जन्मेकी हुन्। उनका लागि यही बस्ती जन्मथलो हो। “म त यहीं जन्मेकी हुँ। गाउँको घर कहाँ हो, ठ्याक्कै थाहा छैन,” उनले भनिन्।
उनीलाई पनि पढाइकै पिरलो छ । उनका दाइले पनि उनकै विद्यालयबाट भर्खरै एसईई दिएका हुन् । यहाँ उनको चिनजान थियो । शिक्षकहरूसँग नजिक थिइन् । उनका दौतरी यहीं छन् । ती सबै छुट्ने भए । उनकी आमाले बस्तीमा सानो किराना पसल थापेकी थिइन् । उनका बुवा भने यताको कमाइले नपुगेपछि तीन वर्षअघि पोर्चुगल पुगेका छन् । उनका आमाबुवा यो ठाउँमा बस्न थालेको करीब दुई दशक भइसकेको छ ।
सृष्टिलाई झैं बस्ती वरपरका विद्यालयमा पढिरहेका बालबालिकाका अभिभावकलाई पनि बस्ती भत्किएसँगै अब बच्चा कहाँ पढाउने भन्ने चिन्ता बढेको छ। भर्ना भइसकेका बालबालिकाले नजिकै कोठा पाएका छैनन्। सरकारले राख्ने भनिएको स्थानबाट विद्यालय आउजाउ सहज हुन्छ कि हुँदैन भन्ने अन्योल छ।
आजभन्दा बीस वर्षअघि सिन्धुलीबाट सुनमाया तामाङको परिवार सुकुम्बासी बस्तीमा आइपुगेको हो । गाउँमा खान पुग्दैनथ्यो । कामको खोजीमा सुनमाया र वीरबहादुर यहीं आएर कटेरो हालेर बसेका थिए । वीरबहादुर सवारी चालक हुन्। सुनमाया बल्खु वरपरका घरमा सरसफाइको काम गर्थिन् । यहीं उनका छोराछोरी जन्मिए । उनीहरू कुलेश्वर माध्यमिक विद्यालयमा पढ्छन् । जेठो छोरा विशाल १२ कक्षामा र कान्छो छोरा विवेक ९ कक्षामा अध्ययनरत छन् । सरकारले एकाएक उठीबास लगाएपछि छोराछोरी कहाँ पढ्ने भन्ने अन्योल सिर्जना भएको छ। सुनमाया सरकारलाई प्रश्न गर्छिन्, “हाम्रा छोराछोरीको पढाइ के हुन्छ?”
परिवारको खुशी र बालबालिकाको भविष्य खोज्दै सिन्धुलीबाट बल्खुसम्म आइपुगेका तामाङ दम्पती जस्ताको छाप्रोमा तीन जनाको परिवार बस्दै आएको थियो । छाप्रो भत्किएसँगै सरकारले उनीहरूको छोराछोरीको भविष्य पनि प्रभावित भएको छ । अहिलेसम्म उनीहरूले कोठा पाएका छैनन् । निजी विद्यालयमा पढाउन सक्ने आर्थिक हैसियत पनि उनीहरूको छैन । पायक पर्ने ठाउँमा सरकारी विद्यालय खोज्नुपर्ने अवस्था छ ।
कालिमाटीस्थित एभरेष्ट इन्नोभेटिभ विद्यालयमा सम्राट विकले ७ कक्षा उत्तीर्ण गरी ८ कक्षामा प्रवेश गरेका छन् । सम्राट आठ वर्षअघि बाग्लुङबाट बल्खुमा आएर बसेका हुन् । शुरूमा उनी सरकारी विद्यालयमा पढ्थे । पढाइ कमजोर भएपछि परिवारले उनलाई निजी विद्यालयमा भर्ना गरेको हो । उनले विद्यालयको पोशाक र झोला समेत निकाल्न पाएका छैनन् । उनका साथीहरू भर्ना भएर पढाइ शुरू गरिसकेका छन् । तर सम्राटको भने बसाइको नै टुंगो छैन । उनी भन्छन्, “मेरा साथीहरू पढ्न थालिसके । कहाँ कोठा मिल्छ थाहा छैन । मेरो त पढाइ कहिलेदेखि शुरू हुन्छ भन्ने केही थाहा छैन ।”
सम्राट विक ।
सरकारले देशभरका सुकुम्बासी बस्तीहरूलाई व्यवस्थापनका नाममा अमानवीय ढंगले उठीबास लगाइरहेको छ । थापाथलीस्थित सुकुम्बासी बस्ती हटाइएपछि बल्खुका सुकुम्बासीहरूको मनमा पनि चिसो पसेको थियो ।
एक हप्तापछि यहाँको बस्ती पनि उजाडियो, जसको असर बालबालिकामा परेको छ । जसोतसो विद्यालयसम्म पुगेका उनीहरू फेरि पढाइबाट छुट्ने हो कि भन्ने अन्योल उत्पन्न भएको छ । शिक्षा पाउने हरेक बालबालिकाको नैसर्गिक अधिकार हो । बाँच्न पाउने अधिकार संविधानले पनि सुनिश्चित गरेको छ ।
सुकुम्बासी बस्तीका अगुवा राजु माहुतेका अनुसार सरकारले यहाँका बालबालिकाको भविष्य नसोची यस्तो कदम चालेको छ । उनका अनुसार मधेशका विभिन्न ठाउँबाट आएका करीब दुई सय बालबालिका माहुते समुदायका छन् । उनकै अग्रसरतामा केही दलित संघसंस्थाले उनीहरूको शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका थिए । यहीं वरपरका सरकारी विद्यालयमा बस्तीका करीब दुई सय बालबालिका अध्ययनरत थिए । उनी भन्छन्, “हामीले यहाँ वरपर रहेका सरकारी विद्यालयमा माहुते समुदायका बालबालिकालाई पढाइरहेका थियौं । अब त बास पनि रहेन । कहाँ जाने र कसरी पढाउने होला ?”
राजुका अनुसार यस क्षेत्रमा करीब ४ सय घरपरिवार बसोबास गर्दै आएका थिए । अधिकांशको आर्थिक अवस्था कमजोर छ । विभिन्न संघसंस्थाको सहयोग र विद्यालयसँगको समन्वयमा बालबालिकालाई विद्यालयमा भर्ना गरिएको थियो । उनी भन्छन्, “बालबालिकालाई विद्यालयसम्म पुर्याउने प्रयास गरिरहेका थियौं । तर बस्ती नै उठीबास लागेपछि उनीहरू कहाँ पढ्ने, कता जाने भन्ने अन्योल थपिएको छ ।”