सरकारले काठमाडौं उपत्यकाभित्रका सुकुम्बासी बस्तीमा डोजर चलाउँदै तिनको व्यवस्थापन गर्ने भनिए पनि कैयौं परिवारलाई सडकछेउमा बेवारिसे छाडिएको छ ।
हिमालखबर को टीम गत सोमबार बिहान करिब ११ बजे पुग्दा रातभरि परेको असिनापानीले भिजेको ओढ्ने–ओछ्याउने घाममा सुकाउँदै थिइन्, ६३ वर्षीया जूनसुब्बा शेर्पा । बिहान करिब साढे ११ बजेको समय, काठमाडौं गैरीगाउँस्थित नदी किनारको सुकुम्बासी बस्ती अब उजाड भइसकेको थियो । घरहरू थिएनन्। तर, घरका सम्झना भने अझै त्यहीँ छरपस्ट थिए। मलिन अनुहारमा उजाडिएको घरका ढुंगा माटो हेरेर बसिरहेका थिए, केही मानिस ।
जूनसुब्बाको छेउमै करिब ३० वर्षीय जेठा छोरा सन्तोष कुर्सीमा घाम तापिरहेका थिए । सन्तोष आँखा देख्दैनन्, बोल्न सक्दैनन् र सुस्त मनस्थितिका छन्। आमा जूनसुब्बा भने बेलाबेला सामान मिलाउँदै रुन्छिन् अनि आँसु पुछ्दै फेरि उठ्छिन्।
“के गर्नु, सरकारले नै हेप्दो रहेछ,” उनी भन्छिन्, “तिनीहरू पनि एकदिन त मर्नै पर्छ।”
६३ वर्षीया जूनसुब्बा शेर्पा ।
करिब २८ वर्षअघि सोलुखुम्बुबाट श्रीमान्सँग एउटा सानो बच्चा च्यापेर उनी यही बस्तीमा आएकी थिइन्। शुरूमा बोरा बारेर बनाइएको अस्थायी टहरो थियो। त्यहीँ दुई छोरा जन्मिए, त्यहीँ जिन्दगी जोडियो। श्रीमान्ले गाडा चलाउँथे, उनी घर सम्हाल्थिन् । वर्षौंको दुःखजिलोपछि बल्ल बस्न मिल्ने सानो घर बनेको थियो । त्यो घर पनि गत शनिबार डोजरले भत्काइदियो। घरसँगै भत्कियो, उनको मन पनि।
अघिल्लो साँझ मात्रै महानगरले सूचना दिएको थियो— ‘भोलिदेखि भत्काइन्छ ।’ रातभरि उनीहरू सामान पोको पार्दै बसे । तर, सरसामान थान्कोमान्को लगाउन नपाउँदै बिहानै डोजर आइपुग्यो।
घर ढल्यो।
त्यसयता उनीहरू त्रिपाल टाँगेर सडकछेउमै बसिरहेका छन्। आइतबार राती परेको असिना पानी त्रिपालभित्र पसेर त्यो पनि भिजेको थियो। सबैभन्दा पीर त उनलाई छोरा सन्तोषकाे लाग्छ। त्यही अस्थायी बास पनि हटाइने डरले उनी झनै त्रसित छिन्।
शनिबार साँझ महानगरले रंगशाला लैजाने भन्दै गैरीगाउँबाट भ्यानमा हालेर सोही राति रंगशाला पुर्याइयो । त्यहाँबाट राती करिब २ बजे बालाजु लजमा लग्यो। भोक, थकान र अन्योलबीच उनीहरूले राहतको आशा गरेका थिए।
“खाना दिन्छन् कि भनेर बस्यौँ,” उनी सुनाउँछिन्, “तर सुत्न मात्रै लगायो । माग्दा–माग्दा बल्ल तातोपानी पाइयो । तातोपानीकै भरमा आमा–छोरा भोकै सुत्यौँ ।”
भोलिपल्ट उनी आफ्नै खर्चमा छोरालाई लिएर निस्किन्। अब फेरि त्यहाँ नजाने निर्णय गरेकी छिन्।
अहिले कपनमा १५ हजार रुपैयाँ भाडामा एउटा कोठा खोजेकी छन्। तर, त्यहाँसम्म पुग्न पनि अझै संघर्ष बाँकी छ । सरसमान लथालिंग छ। श्रीमान्को खुट्टा दुख्ने समस्याले थला परेका छन्। सुस्त मनस्थितिका छोरालाई सम्हाल्नु त छँदै छ।
“हामीलाई सुख चाहिएको होइन,” उनी भन्छिन्, “टाउको छोप्ने ठाउँ र कमाएर खाने बाटो चाहिएको हो।”
गत १४ गते सोमबार, करिब १२ बजे। “त्यहाँबाट हट्नुस्, केही सामान छ भने निकालिहाल्नुस् ।” यसो भन्दै डोजरसहित आएका नगरप्रहरी देखेर फेरि सबै आत्तिन थाले। नगरप्रहरीले सबैलाई हटाइरहेका थिए। ‘कवाडी’हरूलाई हतारो थियो, त्यहाँका सरसामान बटुल्न। उनीहरूले कसैको अनुमति लिएका थिएनन्। केही व्यक्ति यसरी सामान उठाइएकोमा गुनासो पोखिरहेका थिए। तर, ती अनुहार कतिसम्म निरीह थिए भने दुःखले जोडेका सामान त्यसरी धमाधम ओसार्दासमेत प्रतिवाद गर्न सकिरहेका थिएनन्, बरु आँखाभरि आँसु बनाएर बसेका थिए।
बाँकी रहेका भित्ताहरू पनि डोजरले भत्काउँदै थियो। एक महिला आफ्नो छुटेको सामान झिक्न भन्दै गइन् । दुई नगरप्रहरीले समातेर ताने । उनी ‘मेरो सामान छ, मैले देखिराछु’ भन्दै रुँदै जान खोजिन् । एक प्रहरी झर्किंदै ‘म निकाल्दिन्छु’ भनेर गए। त्यहाँबाट ती प्रहरीले एउटा बोरा महिला भएतिर फालिदिए । ‘त्यहाँ मेरो सारी पनि छ, म ल्याइहाल्छु’ भन्दै महिला फेरि अगाडि बढिन् तर उनलाई जान दिइएन। निकै बेरसम्म उनले ‘त्यहाँ मेरो सारी छ’ भनिरहिन् तर निकाल्न पाइनन्। डोजर चलिरह्यो, उनी रोइरहिन्।
केहीले सुकाएका ओढ्ने–ओछ्याउने हेर्दाहेर्दै डोजरले पुरिदियो।
अर्कातिर ६५ वर्षीया विन्दा बडुवाल रातभरिको पानीले भिजेपछि सुकाएका सामान समेट्दै थिइन्। “मान्छेलाई मान्छेको माया पनि नहुँदो रहेछ अपराधीहरूलाई,” उनी आफ्नै शूरमा बरबराउँदै प्लास्टिकका ड्रम र पानी राख्ने जर्किनहरू ओसार्न थालिन्।
६५ वर्षीया विन्दा बडुवाल।
“घर भत्काउँदा त बेस्कन रुन मन लाग्यो,” उनले भनिन्, “त्यसबेलादेखि म त अचेतजस्तै भएकी छु ।” कति वर्षअघि यहाँ आइयो भन्ने ठ्याक्कै थाहा छैन उनलाई। तर, राजा वीरेन्द्रको हत्या हुनुभन्दा अगाडि आएको सम्झना छ।
बोराको बेराबाट शुरू भएको घर उनले वर्षौंको मिहिनेतले ठड्याएकी थिइन् । “अगाडि बच्चा, पछाडि भारी बोकेर बनाएको घर हो,” उनले भावुक हुँदै भनिन्, “दुनियाँलाई थाहा छ, मैले कति दुःखले यो घर बनाएकी थिएँ ।”
२५ वर्षअघि श्रीमान् बिते। त्यतिबेला छोरी सानै थिइन्। माइती सिन्धुली, घर रामेछापको लेकमा थियो। तर, सासू–ससुरा बितेपछि त्यहाँको आधार पनि हरायो। त्यसपछि उनी यस बस्तीमा आइन्। गत साउनमा दुवै मृगौला फेल भएर छोरी बितिन्। ६ वर्ष लागेकी नातिनीको जिम्मेवारी उनकै काँधमा छ। घर भत्किएपछि नातिनीलाई छिमेकीले पेप्सीकोलामा लगिदिएका छन्।
“सुकुम्बासी भनिएपछि कोठा पनि पाइँदो रहेनछ,” उनी भन्छिन्, “प्रधानमन्त्रीले गरिबको बोल्दिने कोही छैन भन्नुहुन्थ्यो, अहिले हाम्रो बोलिदिने कोही छैन।” तीन वर्षअघि मात्रै साढे तीन लाख रुपैयाँ खर्चेर ब्लकको घर बनाएकी थिइन्। त्यस घरमा राम्ररी बस्न नपाउँदै सडकमा आउनुपर्यो। “बोराकै बेरा भत्काएको भए यति दुख्ने थिएन,” उनले गहभरि आँसु पार्दै सुनाइन्।
घर बनाउँदा लागेको ऋण अझै बाँकी छ। घरसँगै उनका साना–साना सरसामान पनि हराए । रंगशालामा सबैजना गएका बेला तिनैसँग शनिबार गएर नाम टिपाएर आइन्। तर, व्यवस्थापनका लागि कोही लिन आएको छैन। “कसैकसैलाई लग्यो अरे भन्ने सुन्छु। तर, मैले थाहा पाइनँ।” उनी सुनाउँछिन्। उनका छोरा दुई महिनाअघि भारत मजदूरी गर्न गएका छन्। तर, त्यतिबेलादेखि छोरासँग सम्पर्क भएको छैन। छोरोलाई घर भत्किएको खबर अझै छैन ।
मंगलबार राती पनि पानी पर्ने छाँट देखेर विन्दा नातिनीलाई लिएर रंगशाला गएकी थिइन्। त्यहीँबाट उनलाई बालाजुको माछापोखरीको एक होटलमा लगेर राखिएको छ । उनका सामान गैरीगाउँकै सडकमा छन् । ज्यान होटलमा भए पनि मन त्यही सामान भएको ठाउँमा छ। कति बेला फर्किने थाहा छैन।
गैरीगाउँको सुकुम्बासी बस्ती अहिले खाली छ । तर, त्यहाँ बस्नेहरूका पीडा सडक, त्रिपाल र अस्थायी बासमा छरिएका छन्। “हामीलाई छानबिन गरे हुन्छ,” विन्दा भन्छिन्, “कहीँ एकमुठी माटो छ भने कब्जा गर्नुस्। होइन भने बाँच्न दिनुस्।”
कहाँ जाने, के गर्नेको बिटुंगो चालमा टोलाइरहेकी थिइन्, ५९ वर्षीया माया परियार पनि। कति वर्षअघि गैरीगाउँको सुकुम्बासी बस्तीमा आएको ठ्याक्कै याद छैन उनलाई । तर, करिब २५ वर्षअघि प्यारालाइसिस भएर श्रीमान् यही बस्तीमा बितेका थिए । उनले यही बस्तीमा बसेर मजदूरी गर्दै दुई छोरी र एक छोरा हुर्काएकी हुन्। उनका लागि यो ठाउँ एउटा बस्ती मात्रै होइन, उनका संघर्षका दिनहरू बितेको ठाउँ हो। त्यसैले यहाँ उनकोे सम्झना जिउँदो छ।
मजदूरी गरेर बस्न मिल्ने घर बनाएकी थिइन्। अहिले त्यो घर भत्किँदा उनको मन पनि नराम्ररी भताभुंग भएको छ।
घर भत्काएपछि शनिबार महानगरको गाडीले रंगशाला लागेको थियो। त्यहाँबाट लजमा लगियो। तर उनलाई पनि केही खाना खान दिइएन । “राती भोकै सुतेर बिहान फर्किएँ,” उनी सुनाउँछिन्। केही बेरमा उनको घरका बाँकी भित्ताहरू पनि डोजरले फुटाउन थाल्यो। डोजरले भित्ता फुटाएको हेर्दै माया भक्कानिएर रुन थालिन्।
धनमाया घर्ती पनि त्यसैगरी बिरक्तिएर बसेकी थिइन्। घर भत्किएपछि केही सामान छिमेकीका घरअगाडि थुपारिएको थियो। तर, छिमेकीलाई गाडी, बाइकहरू निकाल्न समस्या भएको भन्दै हटाउन भनिरहेका थिए।
“मानवता हराएको यति ठूलो शहरमा सामान राख्ने घर पनि पाइएन,” छोरी शीला घर्तीले आक्रोश पोखिन्।
सडकछेउ राखिएको सामान पनि प्रहरीले हटाउन भनिरहेको थियो। “हामीलाई कहाँ राख्दिनुहुन्छ भनेर सोध्दा तिमीहरू आफ्नो व्यवस्था आफैँ गर भन्नुभयो,” शीलाले सुनाइन्।
उनका दाइ रगतसम्बन्धी दीर्घरोग थैलेसिमियाले ग्रसित छन्। २४ वर्षीय दाइलाई हरेक महिनाजस्तो अस्पताल लग्नुपर्छ र चिकित्सकका अनुसार सधैं औषधि खाइरहनुपर्छ। यस्तो अवस्थामा पनि राज्यले कुनै राहत दिएको छैन।
बुधबार सिनामंगलमै सामान मात्रै राख्न मिल्ने एउटा साँघुरो कोठा भेटियो। त्यसको भाडा १० हजार रुपैयाँ भनिएको छ। रातभरि झरी दर्किएपछि उनीहरू त्यही कोठामा ओत लाग्न गएका थिए। बिहान फेरि फर्किए, उही सडकमा। अहिले फेरि कोठाकै खोजी जारी छ।
अहिले गैरीगाउँको सडकछेउमा थन्किएका सरसामान र भत्किएका सपना लथालिंग छन्। शीलाका अनुसार १४ घरपरिवार यसैगरी सडकमा अलपत्र छन्। केहीले कोठा खोजिरहेका छन्। केही भने कहाँ जाने, के गर्ने अन्योलमै छन्।
काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट सुकुम्बासीलाई हटाइएपछि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौं महानगरप्रहरीको सहयोगमा सुकुम्बासीहरूको विवरण संकलन गरिरहेको छ। उपत्यका विकास प्राधिकरणको अनुसार मंगलबार साँझसम्ममा दुवै तर्फ गरी ११ सय ३६ घरधुरीका ४ हजार ८ सय ८ जना परिवार संख्याले विवरण टिपाएका छन्।
तर यो तथ्यांक र नेपाल सरकारको तथ्यांक फरक छ। प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार सुकुम्बासी बस्तीका ११ सय ५१ घर हटाइएको हो। हालसम्म ५६४ परिवार सरकारको सम्पर्कमा आएका छन्। यी परिवारलाई राधास्वामी सत्स सत्संग व्यास आश्रम, बालाजु र गोंगबु क्षेत्रका होटलहरूमा राखिएको छ भने ४ जना वीर अस्पतालमा उपचारार्थ छन्। हालसम्म १२ सय ६९ घरधुरीका ४ हजार ९ सय ६६ परिवार संख्या विस्थापित भएको बजगाईंले जानकारी दिए।
अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका इन्जिनियर अजय भट्टराईका अनुसार केहीलाई कीर्तिपुरस्थित राधास्वामी सत्संग व्यास आश्रममा राखिएको छ भने केहीलाई होटल र लजमा । केही भने आफैँ कोठा खोजेर बसिरहेका छन्।
सोमबार हिमालखबर को टीम राधास्वामी सत्संग व्यास आश्रममा समाचार संकलनका लागि जाँदा आश्रमका प्रतिनिधि र सुरक्षार्थ खटिएका व्यक्तिले सुकुम्बासीलाई राखिएको ठाउँमा जान रोकेका थिए।
बाहिरबाट आश्रमभित्र हेर्दा त्रिपालले घेरा लगाएर राखेको देखियो।
त्यसको अघिल्लो दिन महिला एकता समाजका प्रतिनिधिहरूले त्यहाँ पुगेर अवलोकन गरेका थिए। महिला एकता समाजका अनुसार, आश्रममा थापाथली र गैरीगाउँका ४७ परिवारका ८६ पुरुष र ६९ महिलालाई राखिएको छ । होल्डिङ सेन्टरमा तीनपुस्ते विवरण, बायोमेट्रिक, नागरिकता नम्बर लिएर राखिएको छ । एउटा परिवारलाई एउटा म्याट्रेस दिइएको छ र सबैलाई एकै ठाउँमा राखिएको छ ।
त्यहाँ राखिएकाहरूलाई प्लास्टिकको बट्टामा दिनको दुई पटक खाना र दिउँसो चिया र बिस्कुट दिइन्छ । बिरामी, बालबालिका, गर्भवती र सुत्केरीका लागि कुनै पनि व्यवस्था छैन। महिला एकता समाजका अनुसार त्यहाँ ठेउला, उच्च रक्तचाप, खोकी, फोक्सोसम्बन्धी समस्या भएका व्यक्तिहरू पनि छन्। तर, तिनलाई कुनै विशेष व्यवस्था छैन।
त्यही आश्रमबाट पनि सुकम्बासीहरू निकालिने अवस्थामा छन्। मंगलबारसम्म महानगरले खाना दिएको हो । बुधबार अर्थात् आज पनि आश्रमले नै खाना दिएको छ । तर, भोलिदेखि भने आ–आफ्नो व्यवस्था गर्न भनिएको आश्रममै आश्रय लिइरहेकी थापाथलीकी जानुका पोखरेलले जानकारी दिएकी छन्।
होल्डिङ सेन्टरमा बसेकाहरू पनि सुरक्षित बस्न पाएका छैनन्। केही अन्य समयमा ७/८ हजार रुपैयाँ भाडा लाग्ने ठाउँमा १२/१५ हजार रुपैयाँ तिरेर सबै परिवार कोचिएर बसेका छन्। केही सडकमै बिचल्ली अवस्थामा छन्। सडकछेउमा थन्किएका सरसामानजस्तै सुकुम्बासीका सपना भत्किएर लथालिंग छन्।
यसरी व्यवस्थापनको नाममा रातारात उठाइएका सुकुम्बासीहरूलाई सुरक्षित आवास दिनेभन्दा पनि अझ अनिश्चित भविष्यतिर धकेलिँदै छ। सरकारको एउटै निर्णयले दशकौँको संघर्ष मेटियो। विकल्प भने अझै अस्पष्ट छ।
विस्तृतमा भिडियो :
VIDEO