धितोपत्रको मूल्यमा हेरफेर गर्न योजनाबद्ध तथा संगठित काम गरेको आरोपमा प्रहरी हिरासतमा राखिएका दीपक भट्ट र सुलभ अग्रवालको जालसाजी कारोबारमा व्यवसायीका नेता शेखर गोल्छा पनि संलग्न रहेको नेपाल धितोपत्र बोर्डको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
धितोपत्र बजारको नियामक नेपाल धितोपत्र बोर्डको प्रारम्भिक अनुसन्धानले दीपक भट्ट र उनका साझेदारले धितोपत्रको मूल्यमा हेरफेर गर्न योजनाबद्ध तथा संगठित काम गरेको फेला पारेको छ। दीपक भट्टले गरेको धितोपत्र कारोबारसम्बन्धी प्रारम्भिक जाँचबुझ सुपरीवेक्षण प्रतिवेदन–२०८३ ले भट्ट र उनका साझेदारहरूले कृत्रिम रूपमा शेयरको मूल्य बढाउन रकम जम्मा नगरीकनै कारोबार गरेको, ग्राहकको धितो दुरुपयोग गरेको तथा आफ्ना लगानी भएका विभिन्न कम्पनीको नेटवर्क प्रयोग गरी बजार हेरफेरको विशाल सञ्जाल सञ्चालन गरेको आरोप लगाएको छ। खास गरी हिमालयन रिइन्स्योरेन्स लगायतका संस्थाले पाउनुपर्ने रकम ब्रोकरसँगको मिलेमतोमा भट्टले तिर्नुपर्ने रकमबाट राफसाफ गरी जालसाजीपूर्ण कारोबार गरेको भेटिएको छ।
काठमाण्डुपाटी ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार भट्ट र उनका सहयोगीको नेटवर्कले कृत्रिम रूपमा शेयरको मूल्य बढाउनका लागि भृकुटी स्टक ब्रोकर कम्पनीको प्रयोग गरी ठूलो मात्रामा आधारहीन कारोबार गरेका थिए। भट्ट तथा उनका साझेदार शंकर समूहका उपाध्यक्ष सुलभ अग्रवाल सम्पत्ति शुद्धीकरण अभियोगमा नेपाल प्रहरीको हिरासतमा छन्। भट्टको शेयर कारोबारको विषयमा अध्ययन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधपछि धितोपत्र बोर्डले अनुसन्धान अघि बढाएको थियो। यो प्रतिवेदन बोर्डको सञ्चालक समितिले पारित गरी नेपाल प्रहरीमा समेत पठाइसकेको बताइएको छ।
नेपाल धितोपत्र बोर्डको प्रारम्भिक अनुसन्धान प्रतिवेदनको अंश: जहाँ 'कसूर गर्न सहयोग गर्ने' व्यक्तिहरूको सूचीमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छाकाे नाम समेत उल्लेख छ।
अध्ययनले सर्वसाधारणको शेयर लगानी भएका संस्थाहरू कसरी एउटै सञ्चालकले गोप्य तरिकाले परिचालन गरेका थिए भन्ने विस्तृत विवरण प्रस्तुत गरेको छ, जसअनुसार भट्ट जोडिएका विभिन्न कम्पनीले एउटै इन्टरनेट प्रोटोकल ठेगाना प्रयोग गरी अनलाइन कारोबार गरिरहेका थिए। हिमालयन रिइन्स्योरेन्स, एचएलआई लार्ज क्याप फण्ड, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो लाइफ र लिबर्टी माइक्रो लाइफ, सुलभ अग्रवाल तथा स्वयं भट्टले ठ्याक्कै एउटै इन्टरनेट प्रोटोकल ठेगानाबाट कारोबार गर्नुले एउटै व्यक्तिले एउटै स्थान वा कम्प्युटरबाट ती सबैको खातामा लगइन गरी कारोबार गरिरहेको देखाएको थियो। प्रतिवेदनले यी फरक–फरक खाताको कारोबार व्यवस्थापन प्रणाली एकै व्यक्तिले चलाएको देखिने बताएको छ। यसले पब्लिक कम्पनीहरूमा खास व्यक्तिले गरिरहेको दुरुपयोगलाई प्रष्ट पार्छ।
बोर्डको अनुसन्धान केन्द्रमा भट्ट र भृकुटी स्टक ब्रोकर कम्पनी छ। उक्त ब्रोकरले भट्ट र उनका निकट सहयोगीहरूलाई कानूनद्वारा अनिवार्य गरिएको २५ प्रतिशत अग्रिम रकम (मार्जिन) जम्मा नगरी ठूलो मात्रामा शेयर खरिद गर्न अनुमति दिएको थियो। यसबाहेक यी लगानीकर्ताहरूले तोकिएको कानूनी समयसीमाभित्र आफ्नो भुक्तानी राफसाफ गरेका थिएनन्। अर्थात्, नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य बढाउन लगातार उधारोमा कारोबार चलिरहेको थियो। शुभी अग्रवाल, राजबहादुर शाह र ऋषिराज मोरले समेत भट्टले जसरी नै उधारोमा कारोबार गरिरहेका थिए।
प्रतिवेदनअनुसार भट्ट र उनका सहयोगीहरूले 'सर्कुलर ट्रेडिङ' सञ्चालन गरिरहेका थिए। अर्थात्, उनीहरूले आफ्नो ठूलो हिस्सा रहेका कम्पनीहरूको बजार मूल्य कृत्रिम रूपमा बढाउन जानाजानी उच्च मूल्यमा एकआपसमा शेयर खरिद–बिक्री गर्दै आएका थिए। उदाहरणका लागि, २०२५ जुलाई २१ मा १,४६१ रुपैयाँ रहेको नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य अगस्ट २६ सम्ममा १,६८६ रुपैयाँ पुगेको उदाहरण दिँदै यस्तो गतिविधिले लगानीकर्तालाई भ्रमित पारेको र दोस्रो बजारलाई विकृत बनाएको प्रतिवेदनमा उल्लेख छ। एउटै इन्टरनेट कनेक्सनबाट विभिन्न कम्पनीको खाताबाट निरन्तर खरिद–बिक्री गरेर यस समूहले उच्च माग र कारोबारको भ्रम सिर्जना गरेको थियो। यो धितोपत्र ऐनमा उल्लिखित कृत्रिम कारोबार र बजार हेरफेरलाई निषेध गर्ने व्यवस्थाको प्रतिकूल भएको प्रतिवेदनमा छ।
बोर्डले यी कार्यलाई सम्पत्ति शुद्धीकरण निवारण नियमावली, २०८१ को गम्भीर उल्लंघनका रूपमा औंल्याएको छ। प्रतिवेदनले कानूनी र फौजदारी कारबाहीका लागि अनुसन्धानलाई प्रहरी प्रधान कार्यालयमा पठाउन सिफारिश गरेको छ। प्रतिवेदनले दीपक भट्ट, उनका प्रमुख साझेदार शुभी अग्रवाल, राजबहादुर शाह र ऋषिराज मोरसहित ब्रोकरेज फर्मका कार्यकारी प्रमुख सन्दीप चाचानविरुद्ध सिफारिश गरेको छ। शुभी अग्रवाल व्यावसायिक घराना शंकर समूहकी पारिवारिक सदस्य हुन् भने राजबहादुर शाह नेपाल उद्योग परिसंघका उपाध्यक्ष हुन्।
प्रतिवेदनले नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा, हिमालयन रिइन्स्योरेन्स, रोहित गुप्ता, नेपाल माइक्रो इन्स्योरेन्ससहितलाई कसूर गर्न सघाएको भनी प्रष्ट टिप्पणी गरेको छ। अनुसन्धान शुरु गरिएपछि हिमालयन रिइन्स्योरेन्सका अध्यक्ष गोल्छाले केही साताअघि पदबाट राजीनामा दिएका थिए।