तोरकिन मा एकातर्फ महिलामाथि हुने उत्पीडन र शोषणको चित्रण छ भने अर्कोतिर महिलालाई सम्मान गर्ने विशिष्ट सांस्कृतिक परम्पराको वर्णन।
विनिता सुब्बा
‘विविधतामा एकता नेपाली समाजको विशेषता’ भन्ने सुन्दै आएको हो उहिलेदेखि। नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त भएको संविधानको प्रस्तावनामा उल्लेख गरिएको छ। यस्तो व्यवस्थाले संविधानलाई दरिलो आधार दिएको छ।
२०७८ सालमा सम्पन्न राष्ट्रिय जनगणनाको तथ्यांकलाई आधार मान्ने हो भने नेपालमा १४२ जातजाति, १२४ भाषा र १० प्रकारका धर्म मान्ने मानिसहरूको बसोबास रहेको छ। नेपालको भौगोलिक विविधता पनि अद्वितीय नै छ। यहाँको हावापानी संसारका अन्य देशका नागरिकले पनि प्रशंसा गर्छन्। भू–धरातलले सिर्जित प्राकृतिक वातावरण र त्यसअनुसार नेपाली जीवनपद्धति अन्तर्राष्ट्रिय जगतमा चासोको विषय रहेको छ। संस्कृति, परम्परा र रीतिरिवाजको इन्द्रेणी रङजस्तै छ नेपाल। विविधताको समायोजनबाट निर्मित नेपाली राष्ट्रियताको वास्तविक रङ कस्तो छ? जुन हिमाल, पहाड र तराईको नाम लिएर गर्वले छाती उँचो बनाइन्छ, ती हिमालले आफूलाई कसरी उभ्याइरहेका छन्? हिमाली भूमि, उत्पादन, श्रम, जलवायु परिवर्तनको परिणामले सिर्जित मुस्ताङस्थित चराङका स्थानीयको दारुण दुःख समेटिएको पुस्तक हो—तोरकिन । क्षितिज समर्पण लिखित यो उपन्यास पढिसकेपछि थाहा हुन्छ, चराङजस्ता गाउँहरूको अवस्था, जहाँ सरकारको उपस्थिति खड्किन्छ। हिमाल–पहाडका गाउँमा बसोबास गर्ने धेरै नेपाली राज्यविहीन बाँचिरहेका छन्।
भौगोलिक विषमता र विकटता तथा प्राकृतिक वातावरणको प्रभावले निर्धारित जीवनपद्धति कति कठिन हुन्छ भन्ने बुझ्न सहयोगी हुन्छ, यो उपन्यास। केन्द्रद्वारा उपेक्षित, दूरदराजमा बसोबास गर्ने सीमान्तकृत समुदायको जीवनपद्धति र संस्कृति चियाउने आँखीझ्याल हो, तोरकिन ।
समुद्र सतहदेखि करिब ११,६५० फिटको उचाइमा रहेको चराङ गाउँ मुस्ताङ जिल्लाको उत्तरी भागमा पर्छ। उच्च हिमाली क्षेत्र पर्ने भएकाले मौसम चिसो र सुक्खा हुन्छ। वृष्टिछाया क्षेत्र (वाष्पयुक्त वायुलाई रोक्ने पर्वतश्रेणीको पछिल्तिर परेको क्षेत्र) भएकाले यहाँ कम वर्षा हुन्छ। मध्यवैशाखमा पनि घामको भर हुँदैन। सुख्खा हावा चल्छ। छिनमै बादल र धूलोले छोपिन्छ चराङ। जलवायु परिवर्तनको असरसँगै बर्सेनि मौसममा आएको परिवर्तनले अझै विषमता थपिएको छ।
विषम भौगोलिक अवस्थिति र प्रतिकूल मौसम चराङवासीको नियति बन्न पुगेको छ। कठिनाइबाट बच्ने चराङबासीको आफ्नै काइदा छ, परम्परा छ। घर हेर्दा उस्तै देखिने एकथारे बनाइन्छ, ती आपसमा जोडिएका हुन्छन्—एकअर्काले चिसो सिरेटो छेकेर न्यानो बाँडिरहेका, आडभरोसाको टेको दिइरहेका। अझै भनौँ—एउटा घर चारैतिरबाट घरकै पर्खालले घेरिएको। मूल ढोकाभित्र छिरिसकेपछि घरभित्रै आउँछ, आँगन। बाहिरबाट छिर्ने चिसो सिरेटो र त्योसँगै आउने धूलोका कण छेक्न काफी तयारी गर्छ, गुजुमुज्ज घरहरूको बनोटले। बाहिरको जर्जरता र बन्जरपनबाट बच्न घरभित्रको रङरोगन र सजावटमा विशेष ध्यान दिइन्छ। वस्तुभाउ बाँध्ने आकाशमुनिका गोठमा चारैतिरबाट घरजत्तिकै अग्लो पर्खाल ठड्याइएको छ, जसले चिसो सिरेटो र चितुवाको आक्रमण रोक्न मद्दत गर्छ भन्ने विश्वास गरिन्छ।
चराङवासीका दुःख, संघर्ष, अप्ठ्यारा अनगिन्ती छन्। ती समस्या भूमि र अर्थतन्त्रसँग जोडिएका छन्। इन्द्रेणी राष्ट्रियताभित्रको एउटा रङ आँसुमा लत्पदिँदै गर्दा उक्त राष्ट्रियता बोक्ने आकाश कहाँ छ भनेर प्रश्न सोध्न मन लाग्छ। एकपटक छोसेर प्रहरी चौकीका चार प्रहरी सादा पोशाकमा सीमानाकातिर जाँदा नेपालको भूमि कहाँसम्म हो भन्ने मेसो पाउँदैनन् र तिब्बतको भूभागतिर प्रवेश गरेपछि उनीहरूलाई लालसेनाले समात्छ। यहीँनेर आएर नेपाली राजनीतिज्ञहरूको खोक्रो राष्ट्रियता उदाङ्गिन्छ। र, सोध्न मन लाग्छ—के राष्ट्रियता भोट बैंक मात्र हो? धेरैसँग जग्गाजमिन कम छ। ती पनि खेतीयोग्य र मलिलो छैन। हिमाली अर्थतन्त्रको प्रमुख आधार भनिने भेडा, च्याङ्ग्रा, घोडा, चौँरी, याक र झोपा पनि छैन। साहुको घरमा काम गरेर जीवन चलाउनु अर्को नियति हो। मान्छे र पशुबीच श्रमको आदानप्रदान हुन्छ। श्रम शोषणको अनौठो रूप देख्न सकिन्छ। जस्तो कि साहुको झोपा लिएर दाउरा लिन जाँदा आधा भाग दाउरा झोपा धनी (साहु) लाई बुझाउनुपर्छ।
भूमि, उत्पादन र श्रमसँग जोडिएको अर्को पक्ष हो—महिला, यौन शोषण र बहुपति प्रथा। जात व्यवस्थामा आधारित नेपाली समाजमा विभेद र उत्पीडनका तह पनि त्यसैअनुसार देख्न सकिन्छ। महिला, त्यसमा पनि जनजाति महिला, मधेसी, मुस्लिम महिला, दलित महिला, सीमान्तकृत महिला, हिमाली क्षेत्रका महिला, हिमाली क्षेत्रका पनि सीमान्तकृत महिला, कर्णाली क्षेत्रका महिला, कर्णाली क्षेत्रका पनि दलित महिलाले भोग्नुपर्ने विभेद, उत्पीडन, शोषणका आयाम फरक हुने गर्छन्। हरेक जाति, वर्ग, क्षेत्र र समुदायबाट उत्पीडनमा पर्ने महिला नै हुन्छन् भन्ने तथ्य उपन्यासमा पाइन्छ।
साहुको घरमा काम गर्न जानुपर्ने बाध्यताले गर्दा कहिलेकाहीँ महिलाहरू साहुको यौन शोषणमा पर्छन्। कतिपय बच्चाले आफ्नो बाबु को हो भनेर जीवनभर थाहै नपाउने कुरा उपन्यासमा उल्लेख छ। बाबुको पहिचानमा तड्पिएका पात्र छन्। बाबुको पहिचान नहुनुलाई गरिबीभन्दा चर्को पीडाका रूपमा व्यक्त गरिएको छ। तर, जुन लोग्ने मान्छेले एउटी महिलाको विवशताको फाइदा उठाएर गर्भधारण गर्यो, ऊ बाबु हो कि यौन शोषक हो? के यौन शोषकलाई बाबुको दर्जा दिएर उसको पहिचानमा तड्पिनु जरुरी छ? उपन्यास पढ्दै जाँदा चराङ आसपास त्यस्ता घटना धेरै रहेछन् भन्ने थाहा लाग्छ।
कतिपयले बाबुको नाम दिने र कतिपयले नदिने तर भोगचलनका लागि जग्गाजमिन दिएको सन्दर्भ पुस्तकमा छ। बाबु पत्ता लागिसकेपछि पनि उक्त महिलाले अर्को लोग्ने मानिससँग विवाह गरेको अर्थात् अर्काको बच्चासहित दोस्रो लोग्ने मान्छेले विवाह गर्नु तथा समुदायले बहिष्कार गरेको र दुत्कारेको प्रसंग उल्लेख नहुनु त्यहाँका प्रथाजस्तै प्रतीत हुन्छन्। तर, पात्रहरू बाबुको पहिचानको चाहनामा पिल्सिनुले लेखकले पात्रहरूमाथि अनावश्यक पुरुषसत्ताको भार बोकाएको हो कि जस्तो प्रतीत हुन्छ।
तोरकिन ले हामीलाई भूमि, उत्पादन, सम्पत्तिको बाँडफाँट, पर्यावरणसँग जोडिने बहुपति प्रथाको अन्तर्यबारे स्पष्ट पार्न मद्दत गर्छ। बहुपति प्रथामा घरको जेठो छोराले विवाह गरेकी कन्यालाई उसका अन्य भाइहरूले पनि श्रीमती मान्नुपर्ने परम्परा हुन्छ, जसलाई ‘भाक्टा बस्नु’ भनिन्छ। भाक्टा बस्नु नमान्ने भाइ पैतृक सम्पत्तिबाट बेदखल हुन्छ। बहुपति प्रथाले कम भूमि, न्यून उत्पादकत्व, अर्थतन्त्रका सीमित क्षेत्र र प्रतिकूल प्राकृतिक वातावरण भएको हिमाली क्षेत्रमा भूमि र सम्पत्तिलाई खण्डीकरण हुन दिँदैन, जसले आर्थिक आधार बलियो बनाउँछ र पारिवारिक विरासत कायम रहन्छ भन्ने मान्यता राखेको देखिन्छ।
यसरी सीमित भूमि, कम उत्पादकत्व, एकीकृत सम्पत्ति तथा पर्यावरणीय विषमताजस्ता पक्षलाई अगाडि सारेर यस प्रथालाई कायम गरेको भए पनि यसको उत्पीडनमा पर्ने भनेको यही समुदायसँग सम्बन्धित महिला हुन्। बहुपति प्रथाका कारण महिलामाथि हुने उत्पीडनबारे बहुआयामिक बहस गर्न सकिन्छ। जस्तो कि अनिच्छित यौन जीवनको भार र त्यसले मानसिक तथा शारीरिक स्वास्थ्यमा पार्ने असरबारे बहस हुनुपर्छ। तर, बहुपति प्रथाबारे लेखिँदा एक श्रीमतीका धेरै श्रीमान् हुँदा यौन जीवनको व्यवस्थापन कसरी गर्छन् भन्नेतर्फ बढी केन्द्रित भएको देखिन्छ।
यस पुस्तकले पनि बहुपति प्रथाको बारेमा लेखिरहँदा यौन जीवनभन्दा पर गएर सोच्न सकेको देखिँदैन। महिलाको यौन चाहना, यौन स्वतन्त्रता, मानसिक तथा शारीरिक स्वास्थ्यतर्फ चासो दिएको देखिँदैन। यद्यपि, नयाँ पुस्ता भाक्टामा नबसेको सन्दर्भलाई कथानक जोडेर लेखकले उक्त जाति वा समुदायको तर्फबाट सञ्चार गर्न खोजेको सन्देश प्रशंसनीय छ। विवाह गरेर आएका महिलाहरू लोग्नेका भाइहरू भाक्टामा नबसिदिऊन् भन्ने कामना गर्छन्। यस उपन्यासकी पात्र कुन्साङ पनि आफ्नो लोग्नेको भाइ भाक्टामा नबसोस् भनेर कामना गर्छिन्। परम्पराअनुसार नामग्याल र गाउँलेले छेवाङको भाइलाई भाक्टा बस्ने कि नबस्ने भनेर सोध्छन्। र, भाइले नबस्ने भन्ने जवाफ दिन्छ। गाउँमा भाक्टामा बस्ने चलन लगभग हराइसकेको थियो। तर, पनि परम्परालाई निर्वाह गर्नु कर्तव्य हुने भएकाले यो रीत पूरा गर्छन्।
उपन्यासमा एकातिर महिलामाथि हुने उत्पीडन र शोषणको चित्रण छ भने अर्कोतिर महिलालाई सम्मान गर्ने विशिष्ट सांस्कृतिक परम्पराको चित्रण छ। जस्तो, विवाहको दिन बेहुली आफ्ना साथीहरूसँग गाउँमा भोज खान जान्छिन्। बेहुलापट्टिबाट जन्त आएका ठिटाहरू बेहुली कुन घरमा छ भनेर पत्ता लगाउँछन्। उनीहरूले राम्रा राम्रा गीत गाएर ढोका खोल्न लगाउने र गीतबाटै फकाएर–मनाएर बेहुलीलाई लानुपर्ने परम्पराको चित्रण छ।
क्षितिज समर्पण
उपन्यासले महिलालाई प्रेमी, लोग्ने, यौन र गर्भधारणजस्ता विषयमा छनोट स्वतन्त्रतासहितको स्वाधीन र सम्पन्न रूपमा चित्रण गरेको छ भने अर्कोतर्फ वाक् स्वतन्त्रतामा बन्देज रहेको निरीह र पराधीन पात्र चित्रण गरेको छ। जस्तो—प्रेम सम्बन्धमा रहेकै बेलामा कर्चुङको गर्भ बसेको छ, जुन कुरा प्रेमीसँगको सल्लाहपछि घर–परिवारलाई जानकारी दिन्छिन्। पेम्बाको घरबाट आधिकारिकताका लागि औपचारिकता निर्वाह गर्न संस्कार र परम्पराअनुसार ह्यार्का हाल्न अर्थात् बिहेको कुरा छिन्न पठाइन्छ। पुस्तकमा छोरीको बच्चा जन्मिएपछि मात्रै ज्वाइँको घर पठाउने परम्पराको चित्रण गरिएको छ। अर्कोतर्फ आफ्नै प्रेमीले ह्यार्का हाल्न पठाउने सन्दर्भमा सहमति माग्दा महिलाहरूलाई छनोट स्वतन्त्रता थिएन भन्ने लेखकीय कथन प्रकट भएको छ।
सुदूर गाउँमा रातारात भव्य मन्दिर, गुम्बा बन्नु तर सहज जीवनयापनका लागि सामान्य सडक नबन्नु, शिक्षाका लागि स्कूल र शिक्षकको व्यवस्था नहुनु, विद्यालयमा पढाइ हुने कक्षा बढ्नुको सट्टा घट्दै जानुजस्ता सन्दर्भले हाम्रो राज्यको चासो र प्राथमिकताको क्षेत्रलाई उजागर गर्छ। गाउँमा शिक्षा, स्वास्थ्य, सडकलगायतका सुविधा नहुनु, जलवायु परिवर्तनको प्रभावले मौसममा आएको फेरबदलले हिमालमा हिउँ पहिलेजस्तो पर्न छोडेको छ। पानीको स्वभावमा पनि परिवर्तन आएको छ। जमिनले पानी सोस्न पाउँदैन। कृषि उत्पादन पहिलाजस्तो हुँदैन।
खोलामा पानी सुकिरहेको छ, पानीका मुहानहरू हराउन थालेका छन्। बेमौसमी वर्षा र हिउँले च्याङ्ग्रा, याक र चौँरीहरू मर्नु र लेकमा पहिलेजस्तो घाँस नउम्रनुजस्ता ज्वलन्त समस्या देखिँदै छन्। नाउरहरू घाँस खोज्दै बस्तीसम्म आउन थालेपछि चितुवाहरूको बिगबिगीले घरपालुवा जन्तु र मानिसका बच्चा दुवैको सुरक्षा चुनौतीपूर्ण बन्दै गएको प्रसंग डरलाग्दो छ। झोपाको अस्तित्व हराइसकेको छ। यस्तो संवेदनशील समय र वैश्विक राजनीतिमा आएको परिवर्तनले कोसौँ टाढा रहेको नेपालजस्तो सानो मुलुकको करिब दुई सय जनसंख्या रहेको सुदूर हिमाली गाउँमा त्यसले कस्तो प्रभाव पार्न सक्छ भन्ने सानो उदाहरण हो—तोरकिन मा चित्रण गरिएको चराङ गाउँ। आर्थिक रूपमा कमजोर आठ–दशजना मानिस गाउँमा देखिन्छन्। गाउँमा बच्चाहरू देखिँदैनन्। गाउँ बूढो, एक्लो, निर्जन, निस्सार भएको छ। गाउँको जवानी शहरतिर सरेको छ, जुन वर्तमान नेपालको यथार्थ अवस्था हो।
घरमा बच्चा जन्मिनुभन्दा अघिदेखि र बच्चा जन्मेपछि गरिने नामकरण, विवाह संस्कार, मृत्यु संस्कार, तिजी, फाग्नी, काङ्ग्योर पूजा, यारतुङ पर्वहरूलाई सांस्कृतिक परिवेशका रूपमा विस्तृत वर्णन गरिएको यस उपन्यासले समयको लामो कालखण्डलाई समेटेको छ।
तृतीय पुरुष दृष्टिविन्दु र वर्णनात्मक शैलीमा लेखिएको यस उपन्यासको भाषा गजलका सरल शेरहरू जस्ता लाग्छन्। ल्वोहा भाषा बोल्ने समुदायको भाषिक लवजमा जीवन्तता ल्याउने प्रयास गरिएको छ, जसका लागि प्रायः सबै वर्णमा आकारको प्रयोग गरिएको छ।
पात्रहरू गतिशील छन् तर विचारशून्य। अभाव, असुविधा र कष्टकर जीवनशैलीका बावजूद उनीहरूमा सरकार–राज्य भन्ने संस्थासँग जिकिर, गुहार, गुनासा, आशा केही–कतै नामनिशाना छैन। राजनीतिप्रति यो हदसम्मको बेवास्ता उदासीनता हो कि चेतनाविहीनता? के वास्तवमै चराङका जनतालाई राज्यमा तहल्का मच्चाउने राजनीतिक पक्षबारे केही थाहा छैन? के उनीहरू वास्तवमै यति निरीह र नादान छन्? यो वास्तवमा लेखकको उदासीनता हो कि चराङी जनताको अज्ञानता? प्रश्न सोध्न मन लाग्छ।