निर्वाचनका लागि आफ्नो भोट बैंक पक्का गर्न तथा व्यक्तिगत रिसइबी साध्न हतियार बन्न थालेको धार्मिक कट्टरताले कपिलवस्तुका अल्पसंख्यक मुस्लिमहरू डराइरहेका छन् ।
पछिल्ला केही वर्षयता तराई–मधेशमा देखा परेको धार्मिक झडपले कपिलवस्तुमा फेरि टाउको उठाउन थालेको छ । मुस्लिमको प्रमुख चाड ईद र हिन्दूको पर्व रामनवमीको अवसरमा भएको हिंसाले खतरनाक संकेत गर्छ ।
दुई वर्षीया हलिमा खातुनलाई चैत ७ गते शनिबार अन्य कुनै बिदाको दिनजस्तो सामान्य थिएन । मुस्लिमहरूको चाड ईद उल–फितरको खुसीयालीले उनी र उनको परिवारलाई भ्याइ–नभ्याइ थियो । बिहानै नुहाइवरी नयाँ लुगा लगाएर हलिमा आफ्नी १० वर्षकी दिदी सकिनासँग लुकामारी खेलिरहेकी थिइन् । उनका बुबा अब्दुल मन्नान धुनिया (४५) ले ईदको नमाज सकेर दुवै छोरीलाई ईदी दक्षिणा स्वरूप २०–२० रुपैयाँको नोट दिए । घरमा अन्य मीठो परिकारसँगै सेवई पाकिरहेको थियो । घरका सबै सदस्य ईदको तयारीमा जुटेका थिए । छिमेकीहरू एकअर्काको घरमा मीठा परिकार खाँदै चाडको उल्लासमा सहभागी थिए । ७ छोरी र १ छोरामध्ये सबैभन्दा कान्छी हलिमालाई देखेर धुनिया पनि खुसी थिए ।
तर, हलिमाको घरदेखि सय मिटर पश्चिम बरगदा चोकको वातावरण असामान्य बन्दै गइरहेको थियो । हलिमा र सकिना दुवै चोकमा रहेको पुजारीप्रसाद यादव (५३) को किराना पसलमा कुरकुरे किन्न गए । असामान्य बन्दै गरेको परिस्थितिसँग दुवै बेखबर थिए ।
महाराजगञ्ज नगरपालिका–२, बरगदा चोकस्थित मन्दिर अघिल्तिर स्थानीय पुजारीप्रसाद यादव (५३) ।
बिहान ९ बज्दा–नबज्दै चोकमा भएको विवाद एकाएक धक्कामुक्की, ढुङ्गा हानाहान हुँदै साम्प्रदायिक झडपमा फेरियो । बरगदा चोकको सामान्य झडपको फोटो–भिडियो सामाजिक सञ्जालमा पोस्ट हुनासाथ त्यसले पूरै जिल्लालाई स्तब्ध मात्र बनाएन, प्रहरीले अश्रुग्यास र हवाई फायरसमेत गर्नु पर्यो । जिल्ला प्रशासन कार्यालयले बरगदा वरपरको क्षेत्रमा निषेधाज्ञा जारी गरेर स्थिति नियन्त्रणमा लिनु पर्यो ।
घटनामा ६ स्थानीय, ११ जनपथ र ६ सशस्त्र प्रहरी गरी २३ जना घाइते भए । हलिमा खातुनको टाउकोमा इँट्टा बज्रिएपछि १३ टाँका लगाउनु पर्ने गरी चोट लाग्यो । घटनामा घाइते ६ स्थानीयमध्ये तीन जनालाई युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज, भैरहवा, दुई जनालाई चौराहा अस्पताल, बुटवल तथा १ जनालाई चितवन मेडिकल कलेज, चितवनमा उपचारका लागि पठाउनु पर्ने अवस्था आयो ।
“६ जना घाइतेमध्ये चितवनमा हुने घाइते अलिक गम्भीर थिए, अब उनी पनि सामान्य भइसके भन्ने सूचना पाएको छु । अहिले सबैको अवस्था ठीक छ र कति उपचारपछि घर फर्किसक्नुभएको छ”, कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जनार्दन गौतमले भने । प्रजिअ गौतमका अनुसार झडपमा संलग्न ६ जनाउपर अनुसन्धान जारी छ । उनले भने, “उनीहरू दोषी देखिएमा कानूनअनुसार कारबाहीको प्रक्रिया अघि बढ्छ ।” पक्राउ परेका ६ जनामध्ये मनोजकुमार शुक्ल र वीरेन्द्र चौधरी अन्तर्राष्ट्रिय हिन्दू परिषद्का क्रमशः नेपाल संयोजक (‘प्रभारी’) र जिल्ला अध्यक्ष हुन् भने सुनील तिवारी विश्व हिन्दू परिषद्का सदस्य तथा हरिवंशनाथ तिवारी भारतको हिन्दु सर्वोच्चतावादी संस्था राष्ट्रिय स्वयंसेवक संघका सदस्य हुन् । उनीहरूलाई प्रहरीले पक्राउ गरेर आइन्दा यस्तो काम नगर्ने कागज गराई रिहा गरिदिएको छ भने अन्य दुईजना दुर्गेश यादव र पवनकुमार गुप्तालाई कुटपिटको अभियोगमा अनुसन्धान भइरहेको छ ।
चितवन मेडिकल कलेज पुगेर साम्प्रदायिक झडपका घाइतेहरूलाई भेट्दै रास्वपा सांसद विक्रमसिंह थापा ।
मुस्लिम समुदायका सलमान खान पठान, मेहताब अहमद धुनिया, अब्दुल अख्तर खाँ, अजमत अलि मुसलमान, राहत हुसेन मुसलमान र मोहम्मद हुसेन मुसलमानलाई सार्वजनिक शान्ति खलल पार्न नहुने कसुरमा अनुसन्धान भइरहेको कपिलवस्तु जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रिपेन्द्रकुमार सिंहले बताए । अन्य दुईजना मुस्ताक नाउ र जितेन्द्र कहारलाई घृणा तथा द्वेष फैलाउने अभियोगमा विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा चलाउन अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ताले हिमालखबर लाई जानकारी दिएका छन् ।
झडपको बीउ
चैत ७ गते शनिबार मुस्लिमहरूको ईद अल–फितर थियो भने हिन्दूहरूको नवरात्र चल्दै थियो । महाराजगञ्ज नगरपालिका–२, बरगदा चोकदेखि ५० मिटर दक्षिणतर्फ हिन्दू समुदायको मन्दिर छ भने चोकदेखि ५० मिटर उत्तरतर्फ मुस्लिम समुदायको मस्जिद छ ।
शनिबार सम्भावित तनाव हुन नदिनका लागि दुवै समुदायका गन्यमान्यले शुक्रबार नै बसेर छलफल गरेका थिए । दुवै समुदायले संयमता अपनाउने तथा कुनै समस्या देखिएमा दुवै पक्ष बीच आपसी समझदारीमा समस्या टुङ्ग्याउने सहमति गरेका थिए । तैपनि दुई समुदाय बीच झडप भयो ।
बिहान ५:३० बजेदेखि मन्दिरको लाउडस्पिकरमा भजन चलिरहेको थियो भने केही व्यक्ति मन्दिरमा पूजाआजा गर्दै थिए । त्यसको आधा घण्टापछि करिब ६ बजे लाउडस्पिकरको आवाज अलि मधुरो गरिदिन आग्रह गर्न केही मुस्लिम युवा मन्दिरनेर पुगे ।
स्थानीय पुजारीप्रसाद यादवले हिमालखबर सँग भने, “बिहान ५:३० बजे मन्दिरमा पूजाआजा गरिरहेका थियौँ, लाउडस्पिकरमा भजन चलिरहेको थियो । ६ बजेतिर केही मुस्लिम युवा आएर लाउडस्पिकर कम गरिदिन आग्रह गर्दै गर्दा केहीले गालीगलौज गर्न थाले । मेरो भतिज पवनकुमार यादवले त्यसको भिडियो रेकर्डिङ गरिरहेको थियो । त्यत्तिकैमा उनीहरू भड्किए र तोडफोड गर्न थाले ।”
स्थानीय मुस्लिम समुदायका व्यक्तिहरूले नमाज पढ्ने बेला लाउडस्पिकरको आवाज कम गरिदिन बारम्बार आग्रह गर्दा पनि हिन्दू पक्षका केही व्यक्ति नमानेको बताए । “नमाज पढ्ने बेला लाउडस्पिकरको आवाज कम गरिदिए हामीलाई नमाज पढ्न सजिलो हुन्थ्यो भनी पटक–पटक आग्रह गर्यौँ । तर सुनुवाइ भएन”, नाम उल्लेख नगर्ने सर्तमा मुस्लिम समुदायका ५५ वर्षीया एक स्थानीयले भनिन् । “हामी अल्पसंख्यक समुदायका हौँ भन्ने हामीलाई राम्रोसँग थाहा छ । त्यसैले हामी बहुसंख्यक समुदायको धार्मिक आस्था, रीतिथितिमा कुनै प्रकारको अवरोध गर्दैनौँ किनभने त्यसले अन्ततः हामीलाई नै प्रभाव पार्छ । तर, बहुसंख्यक हौँ भन्दैमा अल्पसंख्यकलाई पेल्नु कत्तिको जायज हो ?”, उनले भनिन् ।
ईदको दिन बिहान लाउडस्पिकरको आवाज कम गरिदिन मुस्लिम पक्षले आग्रह गरेपछि हिन्दू समुदायका केही युवाले त्यसलाई अहङ्को विषय बनाएको देखिन्छ । हिन्दू समुदायका स्थानीयसँग कुराकानी गर्ने क्रममा एक युवाले भने, “उनीहरूले भन्नेबित्तिकै हामीले भजन बजाउन रोक्नु पर्ने ?” “वास्तवमा त्यो दिन पानी नपरेको भए विवाद नै हुने थिएन । मुस्लिम समुदाय नमाज पढ्नका लागि आफ्नो ईदगाहमा जाने कुरा थियो । पानी परेपछि ईदगाहमा बस्न मिल्ने अवस्था भएन, उहाँहरूले मस्जिदमै नमाज पढ्नुपर्ने भयो । उहाँहरूले नमाज पढ्ने र हिन्दूहरूको पूजाआजा गर्ने समय उस्तै–उस्तै हुन गएको तथा लाउडस्पिकरकै कारण विवाद सुरु भएको हो”, कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले हिमालखबर सँग भने ।
लाउडस्पिकरको आवाजलाई लिएर भएको सामान्य विवाद केही बेरमै सामाजिक सञ्जालमा पोस्ट गरियो । दुवै पक्षले एक–अर्कालाई आरोप लगाउँदै फोटो–भिडियो पोस्ट गर्न थाले । सामाजिक सञ्जालले बरगदाको सामान्य विवादलाई साम्प्रदायिक झडपमा बदलिन समय लागेन । देश–विदेशमा रहेकाहरूले पक्ष–विपक्षमा स्टाटस र भिडियोहरू पोस्ट गर्न थाले ।
चैत ७ गते बरगदा चोकमा भएको झडपका क्रममा तोडफोड गरिएको मोटरसाइकल ।
कसैले ‘मुस्लिमले मन्दिर फुटाउँदै’ भनेर फोटो–भिडियो पोस्ट गर्न थाले त, कसैले ‘मुस्लिम युवालाई कुटेको’ भिडियो राख्न थाले । यसलाई साम्प्रदायिक रङ दिन सामाजिक सञ्जाल केही इन्फ्लुएन्सरहरू पनि सक्रिय देखिए । उनीहरू दुवैतर्फका फोटो–भिडियो पोस्ट गरेर आफ्नो कन्टेन्ट भाइरल बनाउँदै थिए । त्यसले समाजमा साम्प्रदायिकताको विषाक्त हावा फैलाउने काम गरेको हेक्का उनीहरूले राखेनन् ।
विवादलाई झडपमा फैलाएर, झडपलाई साम्प्रदायिक रङ दिएर आ–आफ्नो समुदायमा कट्टरताको बीउ रोप्नेहरू त्यसपछि झनै सक्रिय भए । धार्मिक ध्रुवीकरणलाई बढावा दिएर आफ्नो राजनीतिलाई मलजल गर्न चाहने स्थानीयहरू सक्रिय भए । त्यसपछि बरगदाको झडप फैलिएर तीन किलोमिटर पश्चिम गैंडहवा, चार किलोमिटर पूर्व गोपालपुर, गोपालपुरबाट डेढ किलोमिटर पूर्व कोदाहा, पिरहवा हुँदै बरगदादेखि १० किलोमिटर पश्चिम जिग्ना चोक र सानो बुटहनियासम्म फैलियो ।
पर्दा पछाडिका कर्ता र संस्था
धार्मिक द्वन्द्वलाई मलजल गरेर स्थानीय रूपमा शक्ति आर्जन गर्न चाहने संस्थाको नाम हो– महाकाल युवा शक्ति नेपाल । यो संस्था कपिलवस्तुको जिल्ला प्रशासन कार्यालयमा २०८१ असोज २१ गते दर्ता गरिएको संस्थापक अध्यक्ष धर्मराज विश्वकर्माले हिमालखबर लाई बताए । २०७५ सालमा स्थापना गरिएको ‘महाकाल सामाजिक संस्था’ तथा २०७८ सालमा स्थापना गरिएको ‘हिन्दू युवा शक्ति नेपाल’ दुवैको विलयपछि २०८१ सालमा ‘महाकाल युवाशक्ति नेपाल’ बन्यो । उनीहरूले मूलतः धर्मान्तरण रोक्न, ‘गोरक्षा’ गर्न तथा अन्तर्जातीय र अन्तर्धार्मिक विवाह (हिन्दूवादीहरूको भाषामा ‘लव जिहाद’) रोक्न काम गरेको दाबी गर्छन् ।
कपिलवस्तुमा दर्ता भई रुपन्देही तथा नवलपरासीका सीमावर्ती क्षेत्रमा सक्रिय यो संस्था मधेश प्रदेशमा साम्प्रदायिकता फैलाउन सक्रिय हिन्दू सम्राट सेनासँग सहकार्य गरेर काम गर्छ । यसका संस्थापक अध्यक्ष विश्वकर्मा भन्छन्, “हिन्दू सम्राट सेनाका कृष्ण यादवसँग प्रत्यक्ष रूपमा अहिलेसम्म भेट त भएको छैन, तर हामी फोन र सामाजिक सञ्जाल मार्फत भित्री रूपमा सम्पर्क गरिरहेका छौँ । अब हामी छिट्टै भेट्दै पनि छौँ ।” मधेशमा सक्रिय हिन्दू सम्राट सेना र कपिलवस्तुमा सक्रिय महाकाल युवाशक्ति नेपाल मूलतः भारतको राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को विदेशी भूमिमा काम गर्ने हिन्दू स्वयंसेवक संघ (एचएसएस) द्वारा प्रयोग गरिने छद्म संगठन हुन् । कपिलवस्तुको झडपमा पनि एचएसएसको सक्रियता देखिन्छ ।
एचएसएस यस्ता छद्म संगठन मार्फत समाजलाई ध्रुवीकृत गराउन तथा साम्प्रदायिकताको माध्यमबाट हिन्दूहरूलाई संगठित गर्ने काम गर्छ । महाकाल युवाशक्ति नेपालले अभिवादन गर्दा नियमित ‘जय श्रीराम’ तथा मन्तव्यको अन्त्यमा ‘नेपाल आमाको जय’ भन्छ । नेपालमा क्रियाशील हिन्दू स्वयंसेवक संघका सबै १० वैचारिक र झण्डै एक दर्जन छद्म संगठनहरूले संघको यसै परम्परालाई अनुशरण गर्छन् । (नेपालमा आरएसएस र एचएसएसको फैलावट र सांगठनिक जालो बारे हिमालखबर ले गरेको खोज रिपोर्ट छिट्टै प्रकाशित हुँदै छ ।)
स्थानीय सत्तामा धर्म राजनीति
२०७९ वैशाख ३० को स्थानीय तहको निर्वाचनमा ओंकारनाथ शुक्ल कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीबाट मेयरका प्रत्याशी थिए । उनका बुबा हरिवंशनाथ शुक्ल पञ्चायतमा ३५ वर्षसम्म स्थानीय सत्तामा प्रमुख थिए । तर, अनेकौँ प्रयास गर्दा पनि ओंकारनाथले निर्वाचन जित्न सकेनन् । २,४७४ मतसहित उनी तेस्रो बने । नेपाली कांग्रेसका अब्दुल कलाम मुसलमान १०,२०० मतले मेयर निर्वाचित भए । अब्दुल कलाम नेपाली कांग्रेसको जिल्ला सभापति थिए भने ओंकारनाथ लोकतान्त्रिक समाजवादीको जिल्ला अध्यक्ष । उनी माओवादी द्वन्द्वका समयमा माओवादी प्रतिकार समिति कपिलवस्तुका सक्रिय सदस्य पनि थिए ।
साताअघि साम्प्रदायिक झडप भएको कपिलवस्तुको महाराजगञ्ज–२ स्थित बरगदा चोक। जहाँ मन्दिर र मस्जिद नजिकै रहेका छन् ।
आफू अब्दुल कलामसँग पराजित हुनु परेको पीडा ओंकारनाथले बिर्सन चाहेनन् । २०८४ को स्थानीय तहको निर्वाचनमा जसरी पनि मेयर हुने मनसायसहित उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरे । उनी भन्छन्, “पार्टी प्रवेशसँगै म भर्खरै सम्पन्न प्रतिनिधिसभा चुनावमा कपिलवस्तु क्षेत्र नम्बर २ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विक्रमसिंह थापाको चुनावी कमाण्डर बनेर निर्वाचनभर उनीसँगै खटेँ ।”
ओंकारनाथ हिन्दू स्वयंसेवक संघको भातृ संगठन जनजाति कल्याण आश्रमका लुम्बिनी प्रदेशका उपाध्यक्ष हुन् । चैत १० गते झडप भएको ठाउँमै उनीसँग भएको भेटमा उनले भने, “मैले जिल्ला प्रशासन कार्यालयमा भएको सुरक्षा बैठकमा पनि भनेको थिएँ, तपाईंलाई पनि भन्छु– हाम्रो कपिलवस्तुमा १० पालिका छन् । तर, के कारण हो— महाराजगञ्ज र मायादेवीमा मात्रै दुई समुदाय बीच झडप हुन्छ ? किनभने यी दुवै नगरपालिकामा मेयर मुसलमान छन् ।”
आफ्नो यति कथनसँगै ओंकारनाथले झडपलाई राजनीतिक रङ दिए । ओंकारनाथले कुराकानीका क्रममा भने, “हिजोसम्म जे–जे हुन्थ्यो, त्यसलाई हामीले पचाएकै थियौँ । तर, अहिलेको घटनाले मेरो मन खिन्न बनाएको छ, अब हामी चुप बस्दैनौँ ।” आफूहरूले गरिरहेको काम हिन्दु समाजका निम्ति भएकोले एचएसएसले पनि सहयोग गर्ने उनको आश थियो । साम्प्रदायिक झडपपछि एचएसएसका प्रचारक तथा विश्व हिन्दू परिषद्का संगठन सचिव प्रह्लाद रेग्मी वस्तुस्थिति बुझ्न कपिलवस्तुमा आएको उनले बताए ।
रास्वपाका नवनिर्वाचित सांसद विक्रमसिंह थापाले ओंकारनाथलाई साथ दिने गरेको कुरा स्थानीयहरू सुनाउँछन् । नेपाल प्रहरीको एसएसपीबाट अवकाशप्राप्त थापा बारे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत एक प्रहरी अधिकारीले भने, “ओंकारनाथ शुक्ललाई हाम्रो विक्रम सरले आड दिनुहुन्छ, उहाँलाई नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहले पनि आड दिनुहुन्छ । विक्रम सर रास्वपामा प्रवेश गर्नुअघिसम्म नेपाली कांग्रेसमै हुनुहुन्थ्यो र उहाँलाई राजनीतिक रूपमा अभिषेकले संरक्षण गरेको देखिन्छ । नेपाली कांग्रेसमा हुँदा विक्रम सरलाई अब्दुल कलामले कारबाही गरेको हुँदा मेयर अब्दुल कलाम विरुद्ध ओंकारनाथ, विक्रम सर र अभिषेक तिनै जनाको घोषित–अघोषित सहकार्य छ ।”
यसैको प्रभाव होला— सांसद थापा, झडपमा घाइते भएकाहरूलाई भेट्न भैरहवा, बुटवल तथा चितवनका अस्पतालसम्म गए । ती ठाउँमा उपचार गरिरहेका सबै घाइते हिन्दू थिए । टाउकोमा १३ टाँका लाग्दा पनि म किन घाइते भएँ भन्ने बुझ्न नसकेकी २ वर्षकी अबोध हलिमा खातुनलाई थापाले भेट्नु उचित ठानेनन् ।
भारतीय जनता पार्टीका नेता योगी आदित्यनाथसँग नेपाली कांग्रेसका नेता अभिषेकप्रताप शाह । तस्वीर: शाहको फेसबुकबाट
जिल्लामा हिन्दू कट्टरवाद तथा साम्प्रदायिकतालाई बढावा दिन काम गरिरहेको महाकाल युवाशक्ति नेपालका एक पदाधिकारीसँग यसबारे बुझ्न खोज्दा उनले भने, “विक्रम सर हिन्दू युवाको पक्षधर हुनुहुन्छ, त्यसैले उहाँ मुस्लिमलाई भेट्न जानुहुन्न नि ।” झडपमा घाइते भएका सबैलाई भेट्दा २ वर्षकी बालिका हलिमा खातुनलाई मात्रै तपाईंले किन नभेटेको भन्ने प्रश्नमा थापाले भने, “त्यसबारे त मलाई थाहै भएन । मलाई जे रिपोर्ट आएको थियो, त्यस अनुसार सबैलाई भेटेँ । आजसम्म मैले कसैलाई पनि हिन्दू र मुस्लिम भनेर विभेद गरेको छैन । यो कुरा तपाईंले भनेपछि मात्रै थाहा पाएँ । बरु तपाईंले मलाई उनीहरूको सम्पर्क नम्बर दिनुस्, मैले के गर्नु पर्छ, त्यसका लागि तयार छु ।”
विस्फोटक हुने डर
पछिल्लो समय तराईका जिल्लाहरूमा बढिरहेका साम्प्रदायिक झडपलाई नजिकबाट नियालिरहेका दलित अधिकारकर्मी तथा अध्येता शिवहरि ज्ञवाली भन्छन्, “पछिल्लो समय तराईमा बढिरहेका झडपको प्रकृति हेर्दा यो संगठित र नियोजित ढङ्गले अघि बढिरहेको देखिन्छ । यसमा पूर्णतः दक्षिणको हिन्दूत्वको राजनीतिक प्रभाव छ भन्दा अत्युक्ति हुँदैन । परिवर्तनका लागि लामो संघर्ष गरेका राजनीतिक दलका नेताहरूबाटै यस्तो गतिविधिलाई बढावा दिइएको छ । तर, सबैभन्दा दुःखद कुरा के हो भने आफूलाई नयाँ भन्दै उदाएका राजनीतिक दलका नेताहरू झनै देखिने गरी यसलाई प्रवर्धन गरिरहेका छन् ।” ज्ञवाली थप्छन्, “नेपाल आगामी दिनमा धार्मिक द्वन्द्वको उच्चतम जोखिममा रहेको देखिन्छ । जुनसुकै बेला पनि यो भड्किने खतरा छ । अहिले देखिएका सामान्यझैँ लाग्ने झडप त्यसैका पूर्वसंकेत हुन् ।”
हलिमा खातुनका बुबा अब्दुल मन्नान धुनिया निराशा र भयले जकडिएका छन् । छोरी, घर र गाउँको बदलिएको रूपमा उनी व्यापक परिवर्तन देख्छन् । मन्नान परिवारजस्तै कपिलवस्तुका अधिकांश मुस्लिममा बढ्दो साम्प्रदायिकताले त्रास फैलाएको छ । झडपका कारण प्रत्येक रात भयमा निदाउने र बिउँझिने गरेको सुनाउँछन् । निर्वाचनका लागि आफ्नो भोट बैंक पक्का गर्न तथा व्यक्तिगत रिसइबी साध्न हतियार बन्न थालेको धार्मिक कट्टरताले कपिलवस्तुका अल्पसंख्यक मुस्लिम नागरिकहरू डराइरहेका छन् ।
(फ्रि प्रेस नेपालसँगको सहकार्यमा तयार पारिएको रिपोर्ट)