“मलाई ग्रुम गरियो र त्यसपछि मानहानिको मुद्दा लगाइयो,” विश्वविद्यालयका पूर्वछात्रा एक प्राध्यापकबारे बताउँछिन् ।
सन् २०१४ मा काठमाडौं विश्वविद्यालयअन्तर्गत ललित कला विषयमा स्नातक गर्दै गरेकी मुक्ता त्यति बेला २५ वर्षकी थिइन् । राम्रो काम गरिरहेकाले शिक्षकले सहपाठीहरूलाई भन्दा आफूलाई विशेष ध्यान दिएका हुन् भन्ने लागेको थियो, उनलाई ।
त्यस बेला ४० वर्षीय उनका शिक्षक सुजन चित्रकार नेपालका चर्चित कलाकार हुनुका साथै विश्वविद्यालयका उच्च पदका प्राध्यापक थिए । चित्रकार नेपालका धेरै जना समकालीन कलाकारलाई अध्यापन गरेका प्राध्यापक हुन् । उनले काठमाडौं विश्वविद्यालयको अहिलेको कला र डिजाइन विभागको स्थापनामा महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
पढाइसम्बन्धी सूचना आदानप्रदानका क्रममा चित्रकारले मुक्तालाई सम्झिरहेको वा फलानो लुगामा तिमीलाई सुन्दर देखिएको भन्दै म्यासेज पठाउने गर्थे । यस्तै म्यासेजमध्ये एउटा म्यासेजले आफू अकमक्क परेको मुक्ता सम्झन्छिन्, “उनले मलाई त्यस म्यासेजमा ‘म नुहाउन जान लागेको । तिमी मलाई हेर्न चाहन्छौ ?’ भनेर सोधेका थिए ।”
त्यसपछि तुरुन्तै एउटा कार्टुन चित्रको छेउमा ‘न्युड’ लेखेको म्यासेज आयो ।
मुक्ता भन्छिन्, “मैले अप्ठेरो मान्दै हाँसेको इमोजी पठाएँ । सबैले सम्मान गर्ने शिक्षकको यस्तो म्यासेजलाई अरु कुन तरिकामा जवाफ फर्काउने मलाई थाहा भएन ।”
मुक्ताले बताएअनुसार स्नातक पहिलो वर्षभरि चित्रकारले उनलाई उपहारहरू दिने, सँगै कफी खान जाऔं भन्ने र उनलाई ल्याउने पुऱ्याउने गर्थे । एक दिन मुक्तालाई कलेजबाट मोटरसाइकलमा घर पुऱ्याउने क्रममा चित्रकारले उनलाई कुममा चुम्न अनुरोध गरे । उनले अस्वीकार गरेपछि चित्रकारले बारम्बार माफी मागे र फेरि मुक्ताले आफूलाई ‘सिड्युस’ गर्न—बहकाउन वा मोहिनी लगाउन— खोजेको हो कि के हो भनेर सोधे । मुक्ता झस्किएको देखेपछि उनको हात समातेर चित्रकारले आफ्नो छातीमा सुम्सुम्याउँदै आफूले ठट्टा गरेको बताए ।
केही हप्तापछि चित्रकारले मुक्तालाई आफू उनीबिना बाँच्न नसक्ने र आफूहरु सम्बन्धमा रहनैपर्ने बताए । चित्रकारलाई शिक्षकको रूपमा मात्रै आदर गर्ने मुक्ताले आफ्नै अनुभूतिबारे अन्योल महसुस गरिन् ।
२०७२ को भूकम्पमा मुक्तालाई कस्तो छ भनेर बुझ्न चित्रकार घरमै पुगेका थिए । त्यस्तो संवेदनशील अवस्थामा भेट्न आएपछि मुक्तालाई उनले साँच्चिकै माया गर्ने हो कि भन्ने भान भयो । उनलाई त्यो बखत आफू चित्रकारसँग हुँदा सुरक्षित रहेको कुरामा शंका भएन ।
शिक्षकसँगको प्रेम सम्बन्धका कारण आफूले भोग्नु परेको मानसिक आघात र पेशागत बाधाबाट अझै पनि प्रभावित मुक्ता एक दशकपछि आफ्नो मौनता तोड्दै छिन् । र, चित्रकारले आफ्नो पद र शक्तिको दुरुपयोग गरी आफूलाई प्रलोभनमा पारी शोषण गरेको आरोप लगाउँदै छिन् । चित्रकारले मुक्तालाई पढाउने र मूल्यांकन गर्ने दायित्व बोकेका थिए । तर, केयूमा उनको विद्यार्थी रहेकै बेला सन् २०१५ देखि २०१९ सम्म चित्रकारले आफूलाई यौनिक र भावनात्मक रूपमा प्रयोग गरेको मुक्ताको भनाइ छ ।
मानहानिको मुद्दा
मुक्ताले काठमाडौं विश्वविद्यालयलगायत अन्य कलासम्बन्धी संस्थामा आफ्ना कलाकार र विद्यार्थीहरूलाई यौन दुर्व्यवहारबाट जोगाउन जोड दिँदै आएकी छन् । चित्रकारले २०८१ मंसिरमा उनीविरुद्ध मानहानिको मुद्दा दायर गरे । चित्रकारले अदालतमा पेश गरेका कागजातमा उक्त सम्बन्धलाई ‘आपसी सहमतिमा भएको सम्बन्ध’ दाबी गर्दै मुक्ताले आफ्नो प्रतिष्ठामा क्षति पुऱ्याएको बताएका छन् । १० फागुन २०८२ मा काठमाडौं जिल्ला अदालतले चित्रकारको मानहानि तथा चरित्र हत्याको दाबी प्रमाणित गर्न नसकिने फैसला सुनाएको छ ।
हामीले फैसलापछि चित्रकारलाई उनका आचरणबारे सोध्दा उनले जवाफ दिए, “असहज महसुस गरेका विद्यार्थीहरूप्रति म माफी चाहन्छु । तर, मैले मेरो दायित्व राम्ररी निर्वाह गरेको छु । यसो भन्ने कृतघ्न विद्यार्थीहरुले हो । सबैले मलाई मन पराउनु पर्छ भन्ने छैन ।”
कर्मचारी र विद्यार्थीबीचको अन्तरंग सम्बन्धबारे उनको धारणा के हो भन्ने प्रश्नमा उनले भने, “मेरा लागि विद्यार्थीलाई डेट गर्नु भनेको ठाडै अस्वीकार्य कुरा हो । त्यसका परिणाम आउँछन् र अहिले म त्यही परिणाम भोगिरहेको छु । तर, मेरो विभागसहित विभिन्न ठाउँमा कर्मचारी–विद्यार्थीबीचका अन्तरंग सम्बन्ध अन्ततः सुखद वैवाहिक सम्बन्धमा परिणत भएका उदाहरण पनि छन् । यस्तो सम्बन्ध उनीहरूको व्यक्तिगत र सामाजिक नैतिकतामा आधारित रोजाइको विषय हो । अन्ततः यसबारेको निर्णय विश्वविद्यालयको नीतिले तय गर्नुपर्ने कुरा हो ।”
चित्रकारले हाल विद्यार्थीहरूसँग व्यक्तिगत र व्यावसायिक सीमा राख्ने गरेको बताए । उनले आफ्नो विवादमा परेको सम्बन्ध त्यतिखेर कुनै योजनाबद्ध ढंगले स्थापित नगरेको बताए । उनी भन्छन्, “शिक्षक भए पनि नभए पनि मैले विद्यार्थीसँग सम्बन्ध राख्नु हुँदैन थियो किनभने म विवाहित पुरुष हुँ । म अविवाहित भएको भए केही हुँदैनथ्यो ।”
नेपालमा यौन दुर्व्यवहारबारे निश्चित तथ्यांक नभए पनि यस लेखका लागि काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयका २३ भन्दा बढी शिक्षक र विद्यार्थीसँग लिइएका अन्तर्वार्ताले कर्मचारी र विद्यार्थीबीचको यौन सम्बन्धसहितको प्रेम सम्बन्धलाई सामान्यीकरण गरिएको र केही अवस्थामा प्रोत्साहित पनि गरिएको देखाएको छ ।
नेपालमा उच्च शिक्षामा यौन दुर्व्यवहार व्याप्त रहेको शोधहरूले संकेत गरेका छन् । विश्वविद्यालयमा नीतिको अभाव, कर्मचारी र विद्यार्थीबीचको शक्तिको असन्तुलन, बदलाको डर, गोपनीयताको उल्लंघन र अपराधीहरूको संरक्षणले यौन दुर्व्यवहारसम्बन्धी दण्डहीनता बढाउँछन् ।
साँच्चै चैत २०८१ मा काठमाडौं स्कुल अफ लका युवराज संग्रौला र अन्य संकायका सदस्यहरूमाथि यौन दुर्व्यवहार, धम्की र समयौनिक व्यक्तिप्रति घृणाको आरोप लागेपछि विश्वविद्यालयले विद्यार्थी सूचनादाता (‘ह्विसल ब्लोअर’) र पूर्वविद्यार्थीहरूमाथि गाली बेइज्जतीको मुद्दा दायर गरेको छ । प्रतिनिधिसभा निर्वाचनमा संग्रौला झापा–२ बाट स्वतन्त्र उम्मेदवार रहेका थिए ।
अवकाशप्राप्त प्राध्यापक कृष्ण भट्टचनविरुद्ध महिला विद्यार्थीप्रति यौन दुर्व्यवहार गरेको आरोप लागेको सात वर्ष बितिसक्दा पनि सरकारद्वारा सञ्चालित त्रिभुवन विश्वविद्यालयले अझै आफ्नो नीति र उजुरी प्रक्रियाको मस्यौदा बनाइसकेको छैन ।
प्रख्यात मूर्तिकार तथा काठमाडौँ विश्वविद्यालयका पूर्वसंकाय सदस्य गोपाल कलाप्रेमीलाई काठमाडौं जिल्ला अदालतले २०८१ मा यौन दुर्व्यवहार आरोपमा अदालतमा उपस्थित हुन आदेश जारी गरिसक्दा अझै हाजिर भएका छैनन् ।
नेपालमा ‘कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार (निवारण) ऐन, २०७१’ र ‘मुलुकी अपराध संहिता २०७४’ ले आफूले हेरविचार गर्नुपर्ने वा शिक्षाजस्तो पेशागत सेवा प्राप्त गर्ने कसैसँग करणीमा निषेध लगाएको छ । आन्तरिक नीति नभएको अवस्थामा पनि यी कानून सबै शैक्षिक संस्थाहरूमा लागु हुन्छन् ।
यौन दुर्व्यवहारअन्तर्गत उत्पीडन, अनुचित टिप्पणी वा इशारा, नचाहेको यौन प्रस्ताव साथै ‘ग्रुमिङ’ पनि पर्छ । वयस्कहरूमा प्रायः ‘ग्रुमिङ’ अति सूक्ष्म हुने भएकाले त्यति सजिलै पहिचान हुँदैन । यो प्रायः शक्तिको असन्तुलन भएका सम्बन्धमा देखिन्छ । जस्तैः शिक्षक र विद्यार्थीबीच । नेपालमा शिक्षकप्रति देखाइने परम्परागत सम्मानका कारण, कतिपय अनुचित व्यवहारलाई प्रश्न वा अस्वीकार गर्ने वातावारण नहुँदा यस्ता सहमति जानेर बुझेर स्वतन्त्र मनले दिएको भनेर बुझ्न सकिँदैन ।
‘ग्रुमिङ’ मा धेरैजसो सीमा उल्लंघन गर्ने काम हुन्छ । यसको सुरुआत पीडितको विश्वास जित्नका लागि उनीहरूलाई बढी ध्यान दिने, बढी प्रशंसा गर्ने वा व्यक्तिगत तथा गोप्य कुरा बताउने जस्ता व्यवहार पर्छन् । त्यसपछि बिस्तारै यौनजन्य कुराकानीप्रति पीडितको प्रतिक्रिया बुझ्ने काम हुन्छ । पीडितले खुलेर आफ्नो वा अरूको अगाडि यसको विरोध गर्ने छैन वा परिस्थितिको जानकारी अरुलाई दिने छैन भन्ने कुरामा विश्वस्त भएपछि पीडक यौन सम्बन्धका लागि अगाडि सर्छ र पीडितलाई आफ्नो नियन्त्रणमा राख्छ ।
हाल ३६ वर्षकी मुक्ता बताउँछिन्, “उसले सिधै, ‘म तिमीसँग यौनसम्पर्क राख्न चाहन्छु,’ भनेको भए उसको व्यवहारलाई आपत्तिजनक हो भन्ने कुरा ठम्याउन सजिलो हुन्थ्यो ।”
मुक्ताको अनुसार चित्रकारले मुक्तालाई आफ्नो डल्लुस्थित घरमै रहेको स्टुडियो लगेर यौन सम्बन्ध राख्ने प्रयास गरे । मुक्ताले नाइँ भनेर उनलाई पर धकेले तर चित्रकारले भने, “अहिले तिमीले नाइँ भने पनि तिमीलाई यो मन पर्नेछ । मलाई विश्वास छ ।” त्यस बेला चित्रकारको दबाबमा उनको आपत्तिजनक व्यवहारको प्रष्ट रूपमा विरोध गर्न नसक्दा उनले आत्मसमर्पण गरिन् ।
त्यस दिनको दबाब र आत्मसमर्पण नै चार वर्षसम्म उनीहरूबीचको सम्बन्धको ढाँचा बनी चलिरह्यो । मुक्ताको भनाइअनुसार, त्यस अवधिमा चित्रकारले पटक–पटक उनलाई आफ्ना यौन इच्छा पूरा गर्न बाध्य गर्थे । स्रोतका अनुसार, चित्रकारले मुक्तासँग आफ्नो वैवाहिक जीवनमा यौन असन्तुष्टि भएको कुरा पनि साझा गरेका थिए । आफ्नीे श्रीमतीसँग झगडा पर्दा उनले मुक्तालाई फोन गर्थे र गुनासो सुन्न लगाउँथे ।
चित्रकारले आफूसँगै सारा समय बिताउन दबाब दिन थाले । मुक्ता सम्झिन्छिन्, “म साथीहरूसँग लञ्च गएँ वा प्रदर्शनी हेर्न गएँ भने उहाँ दिनौँसम्म रिसाउनु हुन्थ्यो ।” आत्मग्लानिले थिचिएकी मुक्ताले त्यसपछि आफ्नो सबै खाली समय चित्रकारसँगै बिताउन थालिन् । उनीहरूको सम्बन्धबारे कसैले सोधपुछ गरेमा मुक्ताले चित्रकारले सिकाएको जवाफ दोहोऱ्याउने गर्थिन्ः “यो मेरो व्यक्तिगत जीवन हो । म वयस्क भएकी छु र आफ्ना निर्णय आफैं लिन सक्छु ।” यही भनाइले अरूलाई हस्तक्षेप गर्न रोक्थ्यो । समय बित्दै जाँदा मुक्ताका साथीहरूले उनलाई अब सहपाठीको रूपमा होइन, “सुजन सरकी प्रेमिका” को रूपमा हेर्न थाले, जसका कारण उनीहरू मुक्ताबाट टाढा बस्न थाले ।
‘राइट टु सेक्स’ पुस्तककी लेखक अमिया श्रीनिवासनको अनुसार, जब कुनै प्राध्यापकले आफ्नै विद्यार्थीसँग यौन सम्बन्ध बनाउँछन्, ती विद्यार्थीलाई समग्र शैक्षिक समुदायले फरक दृष्टिले हेर्न थाल्छ । उनले लेखेकी छन्, “त्यसपछि ती महिला विद्यार्थीले अरू प्राध्यापकहरूलाई आफ्ना शिक्षकका रूपमा होइन, आफ्ना प्रेमीका आलोचक सहकर्मीका रूपमा बुझ्न थाल्छिन् ।” साथै, उनका सहपाठीहरूले पनि ती विद्यार्थीको उपलब्धिको श्रेय शिक्षकसँगको यौन सम्बन्धलाई दिन थाल्छन् ।
स्नातक तह सकेपछि मुक्ताले चित्रकारकै आग्रहमा काठमाडाँै विश्वविद्यालयमा भिजिटिङ फ्याकल्टीको रूपमा काम सुरु गरिन् ताकि उनीहरू सँगै समय बिताउन सकून् । तर, केही महिनापछि सन् २०१९ को अगस्टमा चित्रकारले चार वर्ष लामो सम्बन्धको अन्त्य गरे ।
मुक्तालाई लाग्यो कि वैवाहिक समस्याका कारण चित्रकारलाई केही समयको लागि एक्लै बस्न परेको हो । त्योभन्दा अगाडि चित्रकारले आफूप्रति देखाएको भरोसालाई सम्झिँदै उनले चित्रकारलाई सान्त्वना दिने सन्देशहरू पठाइन् । तर, चित्रकारले फेरि अर्को स्नातक तहकी छात्रासँग सम्बन्ध सुरु गरेको खबर पाउँदा मुक्ताले चित्रकारले आफूप्रति गरेको व्यवहार बुझ्दै गइन् । कसैलाई सामना गर्न नसकिरहेको यस समयमा उनलाई आत्महत्याको सोच पनि आइरहने गरेको मुक्ताले बताइन् ।
ग्रुम भएका विद्यार्थीहरूको भनाइअनुसार यस्ता सम्बन्धका परिणाम पूर्ण रूपमा देखा पर्न र बुझ्न वर्षौँ लाग्छ । बेलायतस्थित युनिभर्सिटी अफ योर्कका यौन दुर्व्यवहार विषयको शोधकर्ता डा. आना बुलले नेपाली टाइम्सलाई बताइन्, “त्यस बखत स्वीकृति दिएरै सम्बन्ध अगाडि बढेको जस्तो लागे पनि समय र सम्बन्धबाट केही दूरी भइसकेपछि जब उनीहरू अझै परिपक्व हुँदै जान्छन्, त्यस बेला बल्ल उनीहरूलाई त्यो अवस्था के थियो र त्यसको असर के–कस्ता छन् भन्ने बुझाइ हुन्छ ।”
सन् २०२० को दशकको सुरुआतमा स्नातक तहको अध्ययन सकेकी एक विद्यार्थीले चित्रकारले आफ्नो स्कुटरमा बस्दा पछाडिबाट आफ्नो ढाड र तिघ्रा सुम्सुमाएको बताइन् । त्यस बेला २० वर्षकी उनी बताउँछिन्, “उनले ढाड दुखेर मोटरसाइकल चलाउन नसकेको भन्दै स्कुटरमा पुऱ्याउन अनुरोध गर्थे । अनि बाटोभरि सुम्सुमाउने, छुने गर्थे । उनी सम्मानित व्यक्ति भएका कारण विभिन्न आपत्तिजनक संकेतहरू महसुस भए पनि उनको नराम्रो नियत छैन होला भनेर मन सम्हालेँ ।”
अर्की पीडित पूर्वविद्यार्थीले चित्रकारलाई भेट्दा उनी २० की थिइन् । उनले चित्रकारलाई “डेन्जरस्ली म्यानिप्युलेटिभ” वा “खतरनाक रूपमा षड्यन्त्रकारी” व्यक्तिको रुपमा वर्णन गरेकी छन् । चित्रकारले आफूलाई यौनजन्य आपत्तिजनक म्यासेज र फोटाहरू पठाउने गरेको र आफूले असहजता व्यक्त गर्दागर्दै पनि चित्रकार आफ्नो पछि लागेको खुलाइन् । यी घटनाक्रमले गर्दा उनको मानसिक स्वास्थ्य र पेशागत जीवन दुवैमा नकारात्मक असर परेको बताउँछिन् ।
हाल ३२ वर्षका मुक्ताका एक सहपाठी भन्छन् कि केयू, स्कुल अफ आर्ट्समा यौन दुर्व्यवहारमा संलग्न अन्य शिक्षकहरू पनि थिए । “उहाँ सबैभन्दा उच्च पदका प्राध्यापक भएकाले उहाँको व्यवहारले अरू शिक्षकहरूलाई पनि त्यही गर्न छुट दिने माहोल बनाइदियो,” उनले भने, “हामीलाई आफ्नै सहपाठीसँग उनले प्रेम सम्बन्ध कायम गरिरहेको हेर्दा निकै असहज महसुस हुन्थ्यो तर हामीसँग गुनासो पोख्ने ठाउँ वा मान्छे नै थिएन ।” उनका अनुसार त्यतिखेर उमेरमा ठूलो अन्तर भएका शिक्षकहरू युवती विद्यार्थीहरूसँग सम्बन्ध राख्नु सामान्य र स्वीकार्यजस्तै देखिन्थ्यो ।
काठमाडौं विश्वविद्यालयको कला विभागका एक पूर्वशिक्षक भन्छन्, “विद्यार्थीसँग सम्बन्ध राखिरहेका शिक्षकहरूले मलाई आफ्ना प्रेमिकाहरू, जो मेरा विद्यार्थी पनि हुन्, उनीहरू कक्षामा आउन ढिला हुन्छ भनेर म्यासेज गर्ने गर्थे । यसरी मैले उनीहरूलाई हाजिरमा ढिला आएको भनेर संकेत पनि गर्न सक्दिनथेँ ।” तर, उनी भन्छन्, “यस्तो प्रवृत्तिबारे गुनासो गर्नु अर्थहीनजस्तो लाग्थ्यो किनभने त्यसमा सुधारको सम्भावना देखिँदैनथ्यो ।”
हाल काठमाडौँ विश्वविद्यालयको कला विभागमा कार्यरत शिक्षकले नेपाली टाइम्ससँग कुरा गर्दै सम्बन्ध बिहेमा टुंगियो भने त्यसमा कुनै आपत्ति नरहेको बताए । उनी भन्छन्, “यदि शिक्षक र विद्यार्थीले साँच्चै एकअर्कालाई प्रेम गर्छन् भने मलाई त्यसमा कुनै समस्या छैन । धेरै विद्यार्थी र शिक्षकहरूले बिहे गरेको उदाहरण पनि छन् । शिक्षक विवाहित हुन् र विद्यार्थीलाई झुट बोलेर, जिस्काएर वा दुःख दिएर बसेका छन् भने चाहिँ त्यो समस्याजनक हो ।”
यसरी उच्च शिक्षण संस्थाहरुमा यस्ता सम्बन्धलाई सामान्य विषय बनाइएको मात्र नभई प्रोत्साहित पनि गरिएको देखिन्छ, जसले गर्दा यस्ता घटनाबारे गुनासो राख्न निकै कठिन छ । त्रिभुवन विश्वविद्यालयका सहायक–प्राध्यापक राजीव तिमल्सिना भन्छन्, “म अविवाहित छु । मान्छेहरूले मलाई बिहे गर्नका लागि राम्री विद्यार्थी खोज्न भन्छन् । स्नातकोत्तरका विद्यार्थीलाई सबैले वयस्कका हिसाबमा हेर्छन् । कसैले शिक्षक र विद्यार्थीबीचको सम्बन्धमा हुने शक्तिको असमानता र स्वीकृति वा ‘कन्सेन्ट’बारे कुरा नै गर्दैनन् ।”
काठमाडौं विश्वविद्यालयमै जब केही प्राध्यापकले चित्रकार र मुक्ताको सम्बन्ध देखे, त्यसलाई दुई वयस्कबीचको व्यक्तिगत सहमतिको विषय भन्दै बेवास्ता गरे । यसबारे नैतिक वा पेशागत प्रश्न उठाउनेहरूलाई भने धेरैजसो सहकर्मीले ‘बेकारको गफ’ गरेको आरोप लगाउँदै चुप गराउँथे ।
विभागमा कार्यरत शिक्षक भन्छन्, “मैले अहिले गुनासो गर्ने हो भने पनि चित्रकार कला क्षेत्रमा प्रभावशाली व्यक्ति हुन् र कलाको समुदाय निकै सानो छ । हालसम्म पनि उनीहरू यसबारे मौन नै छन् । त्यसैले चित्रकारलाई केही असर पर्दैन ।”
सर्वोच्च अदालतको ऐतिहासिक फैसला
कानून स्पष्ट छ । ‘कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार (निवारण) ऐन, २०७१’ ले शैक्षिक संस्थालगायतका कार्यस्थलमा यौन दुर्व्यवहार रोक्न र यौन दुर्व्यवहारलाई सम्बोधन र निवारण गर्न कानूनी व्यवस्था गरेको छ । यस ऐनले शिक्षक र विद्यार्थीबीचका यौनिक वा प्रेम सम्बन्धलाई प्रतिबन्ध लगाएको छ । त्यस्तै, मुलुकी अपराध संहिता, २०७४ ले पनि यस्ता सम्बन्धलाई निषेध गरेको छ ।
मुलुकी अपराध संहिता, २०७४ को दफा २२२ मा आफ्नो संरक्षण वा सुरक्षामा रहेका व्यक्ति, जसको आफूले हेरविचार गर्नुपर्ने छ, सो व्यक्तिसँग करणी वा यौन सम्पर्क गर्न नहुने उल्लेख छ । दफा २२३ मा कार्यालय वा पेशागत सेवा प्राप्त गर्ने व्यक्तिसँग करणी गर्न नहुने स्पष्ट छ ।
अधिवक्ता इन्दु तुलाधर भन्छिन्, “विद्यार्थी १८ वर्षभन्दा माथिको भए पनि त्यो सहमति साँच्चिकै स्वतन्त्र हुँदैन, किनभने शिक्षक–विद्यार्थीबीच शक्तिको असन्तुलन हुन्छ । शिक्षकले शिक्षा भन्ने पेशागत सेवा प्रदान गरिरहेका हुन्छन् र विद्यार्थी त्यो सेवा लिन आउने कमजोर पक्ष हुन् । शिक्षकको जिम्मेवारी विद्यार्थीलाई पढाउने र उनीहरूलाई सुरक्षित राख्ने हो, उनीहरूलाई अनुचित रूपमा पछ्याउनु होइन ।”
२०७६ सालमा सर्वोच्च अदालतमा न्यायाधीशहरू सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीले पीडित र पीडकबीच असमान शक्तिको सम्बन्ध भएको अवस्थामा स्वतन्त्र सहमति हुन नसक्ने फैसला गरे । उक्त फैसला कुनै दुई पक्षबीच हुने शक्तिको भिन्नताले सहमति निर्धारणमा खेल्ने भूमिकालाई मान्यता दिने नेपालका लागि एक ऐतिहासिक नजिर हो ।
‘कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार (निवारण) ऐन, २०७१’ को दफा ६ र ७ ले शैक्षिक संस्थाहरूले गुनासोको सुनुवाइ गर्ने प्रक्रिया स्थापित गर्नुपर्ने उल्लेख गरिएको छ । यस प्रक्रियाअन्तर्गत कुनै मुद्दा आएमा उल्लिखित समय अवधिभित्र छानबिन र टुंगो लगाउने आन्तरिक समिति बनाउनुपर्ने भनिएको छ ।
सन् २०२३ मा एक कला कार्यशालाको छलफल सत्रमा आफूले भोग्नु परेको पीडा अझै केयूको कला विभागका छात्राहरुले भोगिरहेको कुरा मुक्ताले थाहा पाएको बताउँछिन् । उनले “विद्यार्थीहरूलाई सुरक्षित राख्ने कुनै संयन्त्र नभएकाले” आफ्नो आवाज उठाउने निर्णय गरिन् ।
२०८१ कात्तिक १ गते केयू शिक्षा स्कूलका डीन बालचन्द्र लुइँटेल लगायतका विश्वविद्यालयका अन्य अगुवाहरुसँग मुक्तालगायत पूर्वविद्यार्थी र अन्य कलाकारले यौन दुर्व्यवहारसम्बन्धी नीति बनाउन र कार्यान्वयनमा ल्याउन गोप्य बैठक गरेका थिए । डीन लुइँटेलले बैठकको निजी विवरण चित्रकारलाई इमेलमार्फत खुलाएर गोपनीयता भंग गरेको मुक्ताको भनाइ छ ।
२०८१ कात्तिक ६ गते मुक्ता र अन्य कलाकारहरू फेरि सिद्धार्थ आर्टस् फाउन्डेसनकी संस्थापक निर्देशक संगीता थापासँग गोप्य बैठक बसे । थापा केयूमा ललित कला विभाग, स्नातकोत्तरको विषयगत समितिमा सदस्यको रूपमा छिन् र ‘काठमाडौँ ट्रीएनाले’ अन्तर्राष्ट्रिय कला प्रदर्शनीको आयोजक पनि हुन् । सो समयमा चित्रकार काठमाडौँ ट्रीएनालेका कलात्मक सह–निर्देशकका रूपमा कार्यरत थिए ।
थापाले इमेलमार्फत चित्रकारसँग दुर्व्यवहारबारे सफाइ मागेको र यौन दुर्व्यवहारको आरोप मुक्ताले लगाएको कुरा खुलाएको बताइएको छ । यसले मुक्तालाई बदला र थप हानिको जोखिममा राख्यो ।
लुइँटेल र थापाले पठाएका इमेललाई आधार बनाएर चित्रकारले मुक्तालगायत लुइँटेलले इमेलमा नाम खुलाएका अर्का पूर्वविद्यार्थी विरुद्ध काठमाडौँ जिल्ला अदालतमा गाली बेइज्जती र चरित्र हत्याको मुद्दा दायर गरे ।
मानहानि मुद्दापछि हामीसँग कुरा गर्दै मुद्दामा तानिएकी कलाकारले भनिन्, “मैले निकै असुरक्षित महसुस गरेँ । विद्यार्थी र कर्मचारीहरूको सुरक्षाका लागि भएको छलफल नै मानहानिको मुद्दाको प्रमाणका रूपमा प्रयोग हुन्छ भन्ने मैले कल्पना गरेको थिइनँ । गोपनीयता तोड्ने व्यक्ति स्वयं डीन हुनु अझै दुःखदायी थियो ।”
मानहानिका मुद्दा पीडितलाई चुप लगाउन, तर्साउन र लज्जित पार्दै उनीहरूलाई भावनात्मक र आर्थिक रूपमा कमजोर पार्न प्रयोग गरिएको पाइन्छ । यस्ता रणनीतिले मान्छेहरूलाई आवाज उठाउनबाट निरुत्साहित गर्छ र पीडितले सहयोगीहरूबाट पाउने सामूहिक साथलाई पनि कमजोर तुल्याउँछ । वास्तवमै, चित्रकारले मानहानि मुद्दा दायर गरेपछि उनलाई यौन दुर्व्यवहारको आरोप लगाउने एक पीडित पूर्वविद्यार्थीले यस रिपोर्टमा आफ्नो कुरा बताउन अस्वीकार गरिन् ।
मुद्दामा चित्रकारले आफूले अध्यापन गरिरहेको विश्वविद्यालयकी विद्यार्थी मुक्तासँग प्रेम सम्बन्ध भएको स्वीकार गरेका थिए । उनीहरूको “सम्बन्ध कायम रहेको समयमा एउटा प्रेमी र प्रेमिकाबीच हुनसक्ने अनेक प्रकारका वार्तालाप तथा सम्बन्धहरु रहेको” कुरा उनले थपेका छन् ।
हामीले केयूको स्कूल अफ आट्र्सका डीन उद्धव प्याकुरेललाई स्कूलले गरेको गोपनीयताको हनन र त्यसले अरू पीडितहरूमा परेको असरबारे प्रश्न गर्दा उनी भन्छन्, “हामी निकै संवेदनशील हुनुपर्ने कुरा हामीले बुझ्यौँ । त्यसैले हामीले पीडितहरूलाई खुलेर बोल्न सक्ने अनुकूल वातावरण बनाउन निर्देशिका तयार गरेका छौँ ।”
डीन प्याकुरेलले सो निर्देशिका तयार भए पनि पारित हुन बाँकी रहेको बताए । उनी भन्छन्, “हाम्रो आचारसंहितामा कर्मचारी र विद्यार्थीबीच व्यक्तिगत सम्बन्ध निषेध गरिएको छ । शैक्षिक क्षेत्रमा यो स्वीकार्य छैन । हाललाई कुनै पनि गुनासो लिखित रूपमा डीनको कार्यालयमा पेस गर्न आग्रह गरेका छन् ।
सिद्धार्थ आर्ट्स फाउन्डेशनका प्रवक्ताले नेपाली टाइम्सलाई भने, “हामी सबै आरोपबारे सुन्दा अशान्त भयौँ । आफ्नो शक्तिको दुरुपयोग गर्नेहरूलाई हामी समर्थन गर्दैनौँ । अहिले हेर्दा हामीले पीडित र सहभागीको नाम नखुलाई आरोपका विवरण मात्र पठाउन सक्थ्यौँ । यो हाम्रा लागि ठूलो पाठ भयो । हामीले एक कदम पछाडि हटेर पुनर्मूल्यांकन गर्न जरुरी छ । हामी धेरै कुरा सच्याउन चाहन्छौँ । हाम्रा लागि यही मात्र उपाय हो ।”
यौन दुर्व्यवहारका घटनामा उजुरी गर्न सक्ने स्पष्ट प्रणालीको अभाव, गोपनीयताको उल्लंघन र संस्थागत हुने अपर्याप्त प्रतिक्रियाले पीडित र उनीहरूलाई साथ दिनेहरूलाई आफ्नै बलबुतामा न्याय खोज्न वाध्य बनाउँछ । चित्रकारका पूर्वविद्यार्थी, सहकर्मी र दाताहरूले समेत केही वर्षदेखि कला समुदायलाई निजी रूपमा सचेत गराउँदै आएको बताइन्छ ।
यस्ता चेतावनीलाई ‘गसिप’ वा ‘कुरा काटेको’ भनेर चित्रकार तथा काठमाडौँ विश्वविद्यालयलाई बेइज्जत गर्ने प्रयासका रूपमा हेर्ने प्रवृत्तिदेखि आजित भएर पीडित र पीडितका सहयोगीहरू ‘व्हिस्पर नेटवर्क’ तिर सक्रिय हुँदैछन् । ‘व्हिस्पर नेटवर्क’ यौन उत्पीडकहरूलाई सक्षम पार्ने र सुरक्षा दिने शक्तिशाली संरचनाहरू विरुद्धको भुइँतहमा प्रतिरोध गर्ने प्रणाली हो ।
त्यसमध्ये एक हुन्, लन्डनको स्कूल अफ ओरियन्टल एण्ड अफ्रिकन स्टडीज् (सोआस) विश्वविद्यालयकी स्टेफनी लोटर । लोटरले सन् २०२२ मा ‘नेपालमा सम्पदाको दस्तावेजीकरण र अभिलेखीकरणको परिचय’ शीर्षकमा अन्तर्राष्ट्रिय समर स्कूल आयोजना गरेकी थिइन्, जहाँ चित्रकार व्याख्याताका रुपमा सहभागी थिए ।
उनले चित्रकारमाथिका आरोपबारे पहिले नै जानकारी पाएको बताउँदै नेपाली टाइम्सलाई भनिन्, “उनले पढाउँदा मैले उनको विद्यार्थीहरूसँगको अन्तक्र्रिया निकै नजिकबाट अवलोकन गरेकी थिएँ । एकपटक मैले उनलाई एक विद्यार्थीलाई ‘गाडीमा फर्कने हो ?’ भनेर सोधेको सुनेपछि ती विद्यार्थीलाई छुट्टै बोलाएर कुरा गरेकी थिएँ ।”
लोटरले थप भनिन्, “पेशागत सीमा हुनुको कारण छ । शिक्षा क्षेत्रभित्र यौन दुर्व्यवहार गर्ने व्यक्तिहरूको उपस्थिति प्रलयकारी नै हुन्छ । युवा छात्रा वा अध्येताले बुझ्नु पर्छ कि मेरो मूल्य मेरो शैक्षिक योगदानमा छ, बाह्य रूपमा होइन । कुनै पनि प्राध्यापकले यौनिक ध्यान दिनु सबैभन्दा अवाञ्छित कुरा हो, किनभने यो नैतिक मात्र नभई शैक्षिक असफलता पनि हो । यसले तपाईंको करिअरमा नोक्सान पुऱ्याउँछ र सहपाठीहरूसँगको सम्बन्धमा पनि असर पार्छ । उनीहरूले तपाईंलाई फरक रूपमा हेर्न थाल्न सक्छन् ।”
यस लेखका लागि अन्तर्वार्ता दिएका आठ महिला कलाकारले चित्रकारको संलग्नताबारे थाहा पाएपछि आफूहरू काम वा अवसरबाट टाढा बसेको वा छाडेको बताए ।
“म काठमाडौँ ट्रीएनालेमा आफ्नो काम देखाउन उत्साहित थिएँ तर त्यसका लागि चित्रकारसँग सम्पर्क र सम्बन्ध राख्नुपथ्र्यो । उनको विद्यार्थीहरूसँगको अनैतिक सम्बन्धबारे थाहा भएकाले मलाई उनीसँग कुनै प्रकारको कुराकानी वा सम्बन्ध राख्न मन लागेन । यो निकै दुर्भाग्यपूर्ण र डरलाग्दो कुरा हो ।” काठमाडौँ विश्वविद्यालयमै चित्रकारको विद्यार्थी रहिसकेकी एक कलाकार सुनाउँछिन् ।
मुक्ता यसरी खुलेर आएपछि कला क्षेत्रमा संलग्न धेरैजना यति लामो समयसम्म यो मुद्दा कसरी सम्बोधन भएन भन्ने प्रश्न उठाउँदै छन् र आफ्नै संस्थाहरूभित्र कसरी नीति र जवाफदेहिताका संयन्त्रहरू सुरू गर्ने र लागु गर्ने भनी बैठकमा कानूनी परामर्श खोज्दै छन् ।
फोटो सर्कलका संस्थापक निर्देशक नयनतारा गुरुङ कक्षपति भन्छिन्, “यस्ता धेरै कुरा पर्दा पछाडि भइरहेका छन् तर हामीले दुर्व्यवहार र शक्तिको दुरुपयोगबारे खुला र इमानदारीपूर्वक कुरा गर्ने बाटो खोज्नु पर्छ । सबैजनालाई कसरी सुरक्षित र सम्मानित महसुस गराउन सकिन्छ ? यो नै हाम्रो अन्तिम उद्देश्य हो ।”
भुक्तभोगीहरूको गोपनीयताको रक्षा गर्न केही नामहरू परिवर्तन गरिएका छन् ।
(सुभेक्षा पौडेल सामाजिक न्यायका मुद्दाहरूमा काम गर्ने स्वतन्त्र पत्रकार हुन् ।)
ग्रुमिङको पहिचान र रोकथाम
सचेतना
ग्रुमिङका तरिका चिन्न सिक्ने, सहमतिका सूक्ष्म पक्ष बुझ्ने, पीडितमाथिको दोषारोपण र यौन दुर्व्यवहारलाई सामान्यीकरण गर्ने जस्ता पूर्वाग्रही प्रवृत्ति चिन्न र त्याग्न नियमित संवाद र प्रशिक्षण आवश्यक छ ।
सीमा स्थापित गर्ने
विश्वविद्यालयहरूले पेशागत व्यवहार के हो भनेर स्पष्ट रूपमा परिभाषित गर्नुपर्छ । यौन दुर्व्यवहार प्रायः सुरुमा सामान्य लाग्ने सीमा उल्लंघनका व्यवहारबाट शुरू हुन्छ ।
शून्य सहनशीलता
विश्वविद्यालयहरूले ग्रुमिङलाई यौन दुर्व्यवहारको रूपमा वर्गीकृत गर्नुपर्छ । विद्यार्थीहरूसँग प्रेम सम्बन्ध राख्ने कर्मचारीविरुद्ध ‘शून्य सहनशीलता’ नीति लागु गर्दै उल्लंघन गर्ने शिक्षकमाथि स्पष्ट कारवाही तोक्नु पर्छ । विश्वविद्यालयहरूले पारदर्शी प्रक्रिया, नियमित सार्वजनिक रिपोर्ट र नीतिको कडाइका साथ कार्यान्वयनमार्फत जवाफदेही बन्नु आवश्यक छ ।
मूल्यांकन
शिक्षकहरूको मूल्यांकन केवल पढाइको गुणस्तर होइन, उनीहरूले कस्तो सुरक्षित, सम्मानजनक र समावेशी शैक्षिक वातावरण निर्माण गरे भन्ने पक्षलाई पनि हेर्नु पर्छ । यौन दुर्व्यवहार वा त्यस्तो व्यवहारलाई सहमति जनाउने क्रियाकलापहरू पनि मूल्यांकनका महत्त्वपूर्ण सूचक हुनुपर्छ ।
गुनासो राख्ने विकल्प
विश्वविद्यालयहरूले यौन दुर्व्यवहारको गुनासो राख्ने औपचारिक र अनौपचारिक माध्यमहरू प्रदान गर्नुपर्छ । यसले गर्दा औपचारक अनुसन्धानमा नजाँदै विद्यार्थी र प्रत्यक्षदर्शीलाई आफ्ना अनुभव वर्णन गर्नका लागि भाषा खोज्ने, छलफल गर्ने र चाल्न सकिने कदमबारे बुझ्ने मौका मिलोस् ।
स्रोतहरू
दुर्व्यवहारको गुनासो राख्ने जो कोहीलाई पनि क्याम्पसभित्र र बाहिर निःशुल्क मानसिक स्वास्थ्य र कानूनी परामर्शको सुविधा प्रदान गरिनुपर्छ । सहयोगअन्तर्गत पीडितहरूलाई प्रहरी स्टेशन लग्ने र आवश्यक परेमा अदालतको सुनुवाइमा उपस्थित हुने जस्ता व्यावहारिक सहयोग समावेश हुनुपर्छ ।
समिति सदस्यहरू
आन्तरिक उजुरी समितिमा लैंगिक मुद्दामा प्रतिबद्ध, कानूनी ज्ञान भएका र विद्यार्थी समुदायको प्रतिनिधित्व गर्ने निर्वाचित सदस्यहरू समावेश हुने गरी समिति बनाउनु पर्छ । प्रक्रियाको निष्पक्षता सुनिश्चित गर्न समितिमा कम्तीमा एक वाह्य विशेषज्ञ पनि समावेश हुनुपर्छ ।
विद्यार्थी नेतृत्व
विद्यार्थीहरूले आफ्ना आवश्यकतालाई केन्द्रमा राख्ने नीतिनिर्माणदेखि अनुसन्धानपछि पीडितहरूका अनुभव र सुझाव संकलन गर्ने प्रक्रियासम्म सक्रिय भूमिका खेल्नु पर्छ ।
नेपाली टाइम्स, २६ फेब्रुअरी २०२६ मा प्रकाशित ‘हु इज एकाउन्टेबल फर टिचर–स्टुडेन्ट रिलेशन्सिप ?’ नामक रिपोर्टको अनुवाद ।
अनुवादकः नसला चित्रकार