यसपटक मतदाताले रास्वपाको एजेन्डाबाट प्रभावित भएर मतदान गरेका होइनन् । यो जनादेश स्थापित दलहरूप्रतिको असन्तुष्टिको प्रतिक्रिया हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अप्रत्याशित उभार अचानक आएको ‘लहर’ मात्र होइन, विगत केही वर्षदेखि जमेर बसेको असन्तुष्टि र निराशाको राजनीतिक अभिव्यक्ति हो । यसपटक मतदाताले रास्वपाको एजेन्डाबाट प्रभावित भएर मतदान गरेका होइनन् । यो जनादेश स्थापित दलहरूप्रतिको असन्तुष्टिको प्रतिक्रिया हो । नेपाली कांग्रेस, नेकपा एमाले लगायतका प्रमुख दलहरू लामो समयदेखि सत्ताको केन्द्रमा रहे पनि जनजीवनमा अपेक्षित सुधार ल्याउन नसकेको धारणा बलियो हुँदै गएको थियो, त्यसको परिणाम हो, यो ।
संक्रमणकालीन न्याय, आर्थिक सुधार, रोजगारी, सुशासनजस्ता सवाल वर्षौंदेखि थाती छन्, तर ठोस परिणाम देखिएको छैन । यसले मतदातामा ‘एक पटक नयाँलाई मौका दिऔँ’ भन्ने मनोविज्ञान पैदा गऱ्यो । यही मनोविज्ञानको फाइदा रास्वपाले उठाएको हो । रास्वपाको उभारलाई केवल लहरका रूपमा हेर्नु पर्याप्त हुँदैन । यो स्थापित दलहरूप्रति बढ्दो अविश्वास र नयाँ विकल्पको खोजीको संकेत पनि हो ।
यसपटक मतदातामा अघिल्लो निर्वाचनमा जस्तो उत्साह अपेक्षाकृत कम देखियो । मतदातामा रौनक दलहरुले ल्याउँथे । यसपालि दलहरु प्रतिरक्षात्मक अवस्थामा थिए । एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो सीट बचाउन झापाबाट बाहिरै निस्कन सकेनन् । शीर्ष नेता प्रतिरक्षात्मक भएपछि कार्यकतामा उत्साह आएन । प्रतिरक्षात्मक कार्यकर्ताले मतदातामा उत्साह भर्न सकेनन् । त्यसबाहेक चुनावी बहसमा दलका स्पष्ट र दीर्घकालीन एजेन्डाको अभावले पनि मतदातालाई खासै प्रेरित गर्न सकेन । परिणामतः निर्वाचन धेरैका लागि एउटा औपचारिक ‘कर्मकाण्ड’ जस्तो मात्र देखियो ।
बदलिएको कांग्रेसको हार
नेपाली कांग्रेसभित्र नेतृत्व परिवर्तन भए पनि त्यसको प्रभाव चुनावी परिणाममा अपेक्षित रूपमा देखिएन । यसको एउटा कारण नेतृत्व परिवर्तनको प्रक्रिया अझै पूर्ण रूपमा संस्थागत हुन पाएन । विशेष महाधिवेशनमार्फत आएको नेतृत्वलाई पार्टीभित्र पूर्ण समर्थन र एकता प्राप्त नभएको संकेत चुनावी गतिविधिबाट पनि देखियो । पार्टीभित्रको आन्तरिक असन्तुष्टि र संगठनात्मक कमजोरीका कारण कांग्रेसका धेरै कार्यकर्ता पूर्ण रूपमा सक्रिय हुन पाएनन् । परिणामतः पार्टीले सम्भावित मतसमेत गुमाएको देखिन्छ ।
स्थापित दलहरु आफू हार्ने निश्चित हुँदाहुँदै पनि निर्वाचनमा भाग लिए । हारलाई स्वाभाविक रुपमा ग्रहण गरे । चुनावको परिणामलाई प्रमुख दलहरूले सहज रूपमा स्वीकार गर्नु लोकतान्त्रिक संस्कृतिका लागि सकारात्मक संकेत हो । लोकतन्त्रमा सत्ता परिवर्तन स्वाभाविक प्रक्रिया हो, तर त्यसलाई सम्मानपूर्वक स्वीकार गर्ने राजनीतिक संस्कार झनै महत्त्वपूर्ण हुन्छ । यसका निम्ति स्थापित दलहरुलाई धन्यवाद दिनुपर्छ ।
अवसर पनि हो
नयाँ पार्टी भएकाले रास्वपासँग विगतका राजनीतिक बोझ र संरचनागत दबाब कम छन् । यही कारणले उनीहरूसँग नीति निर्माण र कार्यान्वयनमा अपेक्षाकृत स्वतन्त्रता बढी छ । तर यही अवसर उनीहरूका लागि ठूलो चुनौती पनि हो । मतदाताले उनीहरूलाई परिवर्तनको आशासहित मत दिएका छन् । यदि त्यो आशालाई परिणाममा रूपान्तरण गर्न सके भने उनीहरूको राजनीतिक आधार बलियो बन्न सक्छ; नसके, नेपाली राजनीतिमा ‘लहर’ हराउने इतिहास दोहोरिन सक्छ ।
अहिलेको मतगणना प्रवृत्ति हेर्दा संसदमा रास्वपाको बलियो उपस्थिति हुने देखिँदैछ । सत्तापक्ष बलियो र प्रतिपक्ष कमजोर भयो भने मनोमानी बढ्ने डर हुन्छ । त्यसैले अबको चुनौती भनेको नयाँ सत्ताको मात्र होइन, प्रतिपक्ष, नागरिक समाज र पत्रकारिताको पनि हो । लोकतन्त्रमा प्रभावकारी खबरदारी बिना परिवर्तनको सम्भावना कमजोर हुन्छ । त्यसैले मतदाताको अपेक्षा पूरा गर्ने जिम्मेवारी सत्तामा बस्नेहरू मात्र होइन, लोकतान्त्रिक संस्थाहरू सबैको साझा दायित्व हो ।