निर्वाचनको मुखमा देशका विभिन्न स्थानमा विस्फोटक पदार्थ राखी आतंक सिर्जना गरिएकोमा प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत बम सहित पक्राउ परेका छन् ।
फागुन २१ गते बिहिबार प्रतिनिधिसभा सदस्यको निवार्चन हुँदै छ। गत फागुन १८ गते राति १२ बजेदेखि मौन अवधि शुरू भयो। त्यसैको भोलिपल्ट २०८२ फागुन १९ गते मंगलबार नेपाली कम्युनिष्ट पार्टीका पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार मनोजकुमार चौधरी बमसहित पक्राउ परे। प्रहरीका अनुसार राति करीब १० बजे नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले हरिपुरबाट बडनिहारतर्फ आउँदै गरेको बा १० च १२५० नम्बरको गाडी चेकजाँच गर्दा डिक्कीभित्र पहेंलो टेपले बेरिएको टिनको बक्साभित्र शंकास्पद वस्तु भेटियो । प्रहरी कार्यालय पर्साका प्रमुख सुदीपराज पाठक भन्छन्, ‘त्यो होक्स बम’ रहेछ । उक्त बम बुधबार बिहान नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ।
पर्साको पर्सागढी नगरपालिका- ३ बडनिहारस्थित सुरक्षाचाँचको घेरामा परेको सो गाडीभित्र मनोजसँग अन्य तीन जना थिए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। बमसहित यसरी पक्राउ परेकालाई के कारवाही हुन्छ? हामीले निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेलाई सोधेका थियौं। मनोजलाई निर्वाचन कार्यालयको ऐनअनुसार कारवाही हुने निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले बताए। कसैले आचारसंहिता उल्लंघन गरेमा निर्वाचन आयोग ऐन २०७३ को दफा २३ बमोजिम रु.एक लाखसम्म जरिवाना वा उम्मेदवारी समेत रद्ध हुने व्यवस्था छ । तर यो घटना निर्वाचन आचारसंहिता उल्लंघन मात्र नभई सामाजिक शान्ति सुरक्षा भंग गर्ने काम पनि भएकोले अन्य कानूनहरू पनि आकर्षित हुने र त्यस बमोजिम कारबाही हुने आयोगका सूचना अधिकारी घिमिरेले बताए ।
प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा देशका विभिन्न स्थानमा विष्फोटक पदार्थ राखी आतंक सिर्जना गर्ने प्रयत्न भइरहेकोमा स्वयं पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको दलका उम्मेदवारले के प्रयोजनका निम्ति बम बोकेर हिंडिरहेका थिए भन्ने बारेमा प्रहरीले हिरासतमा राखी अनुसन्धान भइरहेको जनाएको छ ।
अशेश्वर यादव
पाँच लाख सहित पक्राउ
त्यसैगरी निर्वाचनको मुखैमा जनता समाजवादी पार्टी (जसपा) नेपालका सिरहा क्षेत्र नम्बर ३ का उम्मेदार अशेश्वर यादव पनि पक्राउ परेका छन् । मौन अवधि समयमा बुधबार राति साढे १२ बजे नगद र मतपत्रसहित यादव पक्राउ परेका हुन्।
नेपाल–भारतको सिमाना माडरबाट सिराहा सदरमुकामतर्फ आउँदै गरेको प्र. २–०२–००१ च ०८७ नम्बरको स्काेरपियो गाडीलाई चेकजाँच गर्दा रु.४ लाख ८७ रुपैयाँ नगद र मतपत्र भेटिएपछि प्रहरीको नियन्त्रणमा परेका हुन् । उम्मेदवार यादवसहित ५ जना पक्राउमा परे। तिनलाई प्रहरीले बुधबार बिहान मुख्य निर्वाचन अधिकृतको कार्यालय सिराहामा बुझायो। कार्यालयले ३ दिनभित्र स्पष्टीकरण बुझाउने शर्तमा हाजिरी जमानीमा छाडिदिएको छ। हामीले यस्ता संगीन घटनाहरूको उजुरी निर्वाचन आयोगमा आइरहेको छ कि छैन भनेर सोधेका थियौँ । "यस्ता कसुर सुरक्षा निकायले हेर्ने हुँदा आयोगसम्म आइपुगेको छैन" आयोगकी सहप्रवक्ता सीता पुन भन्छिन् – “प्रकाउ र अनुसन्धान सुरक्षा प्रशासनले गर्छ, त्यो हाम्रो क्षेत्राधिकार होइन । यदि आयोगले हेर्नुपर्ने विषय रहेछ भने यहाँ आउला।”
उम्मेदवारी खारेज
किशोरी साह
निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धनुषा क्षेत्र नम्बर १ का उम्मेदवार किशोरी साहको उम्मेदवारी नै खारेजीमा परेको छ। उनको स्वामित्वमा रहेको कमल निर्माण सेवा कम्पनी कालोसूचीमा परेको भन्दै उम्मेदवार साह विरुद्ध गत फागुनमा उजुरी परेकोले मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषाले फागुन ११ गते निर्वाचन आयोग केन्द्रीय कार्यालयमा पत्र पठाएपछि सोही दिन आयोगले साहसँग स्पष्टीकरण सोधेको थियो । आयोगले चित्तबुझ्दो जवाफ नपाएको भन्दै फागुन १८ गते उनको उम्मेदवारी खारेज गरेको निर्णय मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषामा पठाएको थियो।
प्रतिनिधिसभा सदस्य ऐन २०७४ को दफा १३ को खण्ड (ज) मा ‘प्रचलित कानून बमोजिम कालोसूचीमा रहेको व्यक्ति प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन अयोग्य हुनेछ भन्ने उल्लेख गरिएको छ। सोही व्यवस्था बमोजिम उम्मेदवार हुन अयोग्ग भएको भन्दै निर्वाचन ऐन २०७३ को दफा ९ को उपदफा ५ मा बमाेजिम ‘आयोगले प्राप्त उजुरी र कागजात उपर आवश्यक जाँचबुझ गरी दफा (३) बमोजिम निर्वाचन अधिकृतबाट आफू समक्ष उजुरी प्राप्त भएको मितिले सात दिनभित्र उम्मेदवारको अयोग्यता सम्बन्धमा निर्णय गरिसक्नु पर्नेछ’ भनिएको छ। आयोगले सोही ऐन बमोजिम उम्मेदवारी खारेज गरेको जनाएको छ ।
यसअघि गत माघमा नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको पनि उम्मेदवारी खारेज गरिएको छ । २०७२ भदौ ७ गते टीकापुर घटनाका मुख्य योजनाकार भएको भन्दै जिल्ला अदालत कैलालीले उनलाई दोषी ठहर गरेको थियो। अदालतले दोषी ठहर गरेपछि सजाय काटिरहेका चौधरीलाई सरकारको सिफारिशमा २०८० जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए । राष्ट्रपतिबाट आममाफी पाए पनि मुलुकी फौजदारी कार्यविधि, संहिता २०७४ को दफा १५९ को उपदफा १० मा ‘राष्ट्रपतिबाट कुनै व्यक्तिलाई ठेकिएको सजाय माफी भएको, सजाय परिवर्तन भएको वा कम भएको कारणले सम्बन्धित अदालतको फैसला बदर हुने छैन र यस्तो व्यक्तिले भोगिसकेको सजाय वा भुक्तानी गरिसकेको जरिवाना वा बिगोलाई कुनै असर पर्ने छैन’ भनिएको छ ।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ (२) को खण्ड (ख) बमोजिम चौधरी राजनीतिक दलको सदस्य बन्न समेत अयोग्य रहेको ठहर भएको भनेर निर्वाचन आयोगले २०८० फागुन २४ गते निर्णय गरेको थियो । दलको सदस्य बन्न समेत अयोग्य व्यक्ति सोही दलबाट उम्मेदवार बन्न नमिल्ने भन्दै उनको उम्मेदवारी खारेज गरेको जनाइएको छ।