यौन दुर्व्यवहारमा आरोपित शिक्षक युवराज संग्रौला झापा-२ को उम्मेदवार भई निर्वाचनमा उठ्दै गर्दा शिक्षक र विद्यार्थीको सम्बन्ध संकटमा भएको कुरा स्मरण गराउँछ। यस सम्बन्धलाई ऐनले परिभाषित गर्न आवश्यक छ।
सूर्यविनायकस्थित काठमाडौं स्कूल अफ ल (केएसएल) का कानूनका पूर्वविद्यार्थीहरूको पहलमा बनाइएको ‘केएसएल अकाउन्टबिलिटी’ नामक फेसबुक पेज मार्फत करीब दुई दर्जन विवरणमा यी अभिव्यक्ति भेटिन्छन्। २०८२ को जेठ-असारमा नाम नखुलाई दिइएका बयानहरू सार्वजनिक भए। ती बयानमध्ये माथि उल्लिखित अभिव्यक्ति केएसएलका निर्देशक युवराज संग्रौलाकै रहेको खुलाइएको थियो भने केहीमा संकेत गर्दै लेखिएको थियो। हिमालखबर सँग कुरा गरेका त्यहाँ अध्ययनरत तथा पूर्वविद्यार्थीहरूले पनि यी अभिव्यक्ति संग्रौलाकै रहेको बताए।
२०८१ फागुन २४ गते केएसएलकी विद्यार्थी सन्ध्या गौतमले सामाजिक सञ्जालमा संग्रौला तथा केएसएलकै अरू शिक्षकले गरेका यौन दुर्व्यवहार र केएसएल क्याम्पसको गैरजिम्मेवारी, जवाफदेहिनता र अन्याय विरूद्ध खुलापत्र लेखिन्। अनि, एकपछि अर्को गर्दै आएका ‘पोस्ट’हरूमा केएसएलका विद्यार्थीले कक्षामा आफू र आफ्नो समकक्षीले भोग्नु परेका मौखिक तथा शारीरिक दुर्व्यवहारको फेहरिस्त दिन थाले। यसको केही महीनापछि नै यो घटना र संग्रौलाबारे खासै कुरा गरेको सुनिएन।
तर, एक वर्षपछि अहिले फेरि तिनै संग्रौलाको नाम चर्चामा छ। प्रसंग भने फरक छ। फागुन २१ को निर्वाचनमा झापा-२ बाट प्रतिनिधिसभा सदस्यका लागि उनी स्वतन्त्र उम्मेदवार छन्। यस चुनावमा उम्मेदवार भएर उनले आफूलाई देशभक्त र अग्रगामी व्यक्तित्वका रूपमा प्रस्तुत गरिरहेका छन्। र, महिलाद्वेषी तथा यौन उत्पीडक छवि शुद्धीकरण गर्न प्रयत्नरत छन्। यस चुनावी माहौलमा आम मानिसले पनि उनलाई लागेको आरोप भुल्न थालिसके। द्रुत विस्मृतिमा गइहाल्ने हाम्रो समाजको यस प्रवृत्तिले उब्जाउने प्रश्न हो– के यौन दुर्व्यवहारको भार सधैं पीडित पक्षले नै बोकिहिंड्नुपर्ने हो?
दुर्व्यवहारको व्याख्यान
दुर्व्यवहारको आरोप लागेका संग्रौलाले विद्यार्थीको शारीरिक बनोट, प्रेम जीवन, यौन र यौनिकताबारे आपत्तिजनक धारणा कक्षामा प्रस्तुत गरेको केएसएलका भूतपूर्व र वर्तमान विद्यार्थीले प्रत्यक्ष सुन्दै आएका हुन्। संग्रौलालाई आदर गर्ने विद्यार्थीहरूले पनि उनले दिने अभिव्यक्ति अपाच्य हुने गरेको टिप्पणी गर्छन्।
“व्यक्तिगत रूपमा म संग्रौला सरलाई शिक्षकको रूपमा अत्यन्त सम्मान गर्छु। पाश्चात्य दर्शनलाई हेर्ने उहाँको जुन आलोचनात्मक दृष्टि छ, त्यसलाई पनि सम्मान गर्छु। तर, त्यति भन्दै गर्दा, सरले महिला र लैंगिक अल्पसंख्यक साथीहरूलाई लक्षित गरेर गर्ने टिप्पणी रूढीवादी, स्त्रीद्वेषी खालकै हुन्छन्‚” हाल केएसएलमै अध्ययनरत २४ वर्षीय छात्र सोम बताउँछन्। कलेज परिसरमा यस्ता कुरा लगातार सुनिन थालेपछि यौनजन्य टिप्पणीलाई पनि सामान्य ठान्ने बानी परेसकेको उनी उल्लेख गर्छन्।
त्यसै क्याम्पसबाट स्नातक उत्तीर्ण गरेकी २५ वर्षीया करिना (नाम परिवर्तन)को झापा-२ का उम्मेदवार संग्रौलाबारे सोमकै जस्तो अनुभव छ– “‘भुँडी बोकाइदिम्?’, ‘आज सेक्स गरिस् त?’ जस्ता भनाइ त सामान्य रूपमा सुनिन्थे। शुरूमा त यो गलत हो भन्ने लाग्थ्यो, प्रतिवाद गरूम् जस्तो पनि लाग्थ्यो। तर, विरोध गरेर के होला र जस्तो लाग्न थाल्यो।”
तस्वीर सौजन्य: काठमाडौं स्कूल अफ ल यूट्युब
उनी थप्छिन्, “कानून विषय पढ्नु आफैंमा चुनौतीपूर्ण छ। केएसएलमा पहिलो वर्षमा नै भय र दबाबको वातावरण सिर्जना गरिन्छ। प्रमुख विषयहरू युवराज संग्रौलाले नै पढाउने हुँदा उहाँले गरेका नकारात्मक टिप्पणीमा प्रतिवाद गरेर नराम्रो किन हुनु भन्ने लागेर केही बोलिनँ।”
केएसएलको यूट्युब च्यानलमा राखिएका संग्रौलाका कक्षा-भिडिओ हेर्दा महिला तथा लैंगिक अल्पसंख्यकलाई हेर्ने उनको दृष्टिकोण र शब्दावली विभेदकारी नै देखिन्छ।
२०८१ साउन २३ गते प्रकाशित भिडिओ मा ब्याचलर्स अफ आर्टस् (बीए), ब्याचलर्स अफ ल (बीएएलएलबी)को पहिलो वर्षका विद्यार्थीलाई ‘लजिकल फ्यालासीस’ अर्थात् तार्किक भ्रमहरू पढाउँदै गरेका संग्रौला देखिन्छन्। उनी विद्यार्थीलाई ‘तँ’ भनेर सम्बोधन गर्दा रहेछन्। कक्षा लिंदै गर्दा उनी बीचमा गर्लफ्रेन्ड-बोइफ्रेन्ड जस्ता शब्द प्रयोग गर्दै उदाहरण दिन्छन्। लैंगिक अल्पसंख्यक समूहको उदाहरण दिंदा उनी भन्छन्, “उनीहरूको छ पनि होइन, छैन पनि होइन। बीचमा।” यति भन्दै गर्दा उनी हाँस्छन्। महिला विद्यार्थीको नाम तोकेरै पुरुष विद्यार्थीसँग जोड्छन् र पुरुषसत्ताले लाद्ने परम्परागत महिलाको भूमिका (आज्ञाकारी, उपभोगको वस्तु, प्रजननको निष्क्रिय आधारमा जोड दिने टिप्पणी) दोहोऱ्याउँदै उदाहरण दिने गर्छन्।
“यो शायद अहिलेका पुस्ता र पहिलेको पुस्तामा रहेको दूरीले गर्दा उत्पन्न भएको समस्या होला। शिक्षकले विद्यार्थीलाई के भन्न हुने, के भन्न नहुने, के गर्न हुने र के गर्न नहुने सचेतना नै नभएर यसो भएको हो जस्तो मलाई लाग्छ” सोम बताउँछन्।
हो, सोमले बताए झैं शिक्षक र विद्यार्थीको पुस्तामा ठूलो खाडल रहेको छ। अहिलेको बदलिंदो परिवेशसँग ढल्किन शिक्षकलाई सचेतना नभएको पनि हुन सक्छ। पहिला-पहिला सामान्य रूपमा लिइने ‘लाटी’, ‘मोटी’ जस्ता शब्द प्रयोगले आज असहज परिस्थिति निम्त्याउँछ। यस्ता शब्द शिक्षकले किन प्रयोग गर्छन् भन्ने प्रश्न त छँदै छ। संग्रौलाले विद्यार्थीका प्रेमी‚ प्रेमिका र उनीहरूको यौन जीवनमा चासो किन राख्ने भन्ने अर्को प्रश्न खडा हुन्छ नै।
धमिलो कानूनी परिभाषा, धमिलै सीमारेखा
मुलुकी ऐन संहिता, २०७४ को परिच्छेद १८– करणी सम्बन्धी कसुरअन्तर्गत बुँदा २२४ यौन दुर्व्यवहार गर्न नहुनेको उपदफा २ मा अश्लील वा अन्य त्यस्तै प्रकारको शब्द मौखिक भनेमा यौन दुर्व्यवहार मानिने उल्लिखित छ। तर, ती अश्लील शब्द के प्रकृतिका हुन् भन्ने खुलाइएको छैन।
“तेरो बाउ कस्तो, तेरो आमा कस्ती, कस्तो परिवारबाट हुर्किस्?” जस्ता गाली संग्रौलाले मात्र होइन, धेरै शिक्षकले भन्ने गर्छन्। कतिले हुर्कंदै गर्दा शिक्षकद्वारा यस्ता भनाइ प्रत्यक्ष रूपमा पनि सुनेकै होलान्। तर, यी अपमानजनक शब्द मौखिक दुर्व्यवहारमा पर्छ कि पर्दैन भन्ने संहिताको परिभाषामा भेटिंदैन।
केएसएलको यस घटनाले एउटा संस्थाको समस्या मात्र नभएर देशकै शिक्षण संस्थाको साझा समस्यालाई उजागर गरेको छ। त्यो हो, शिक्षक र विद्यार्थीबीचको सम्बन्धको नैतिक दायरा। शिक्षकले विद्यार्थीलाई के भन्न र गर्न हुने वा नहुने भनेर बनिबनाउ सीमा कतै तोकिएको वा लेखिएको छैन। हाल यस सम्बन्धको मर्यादा केवल शिक्षकको व्यक्तिगत आदर्श र नैतिकताले निर्धारण गरिरहेको देखिन्छ। समय र प्रविधिसँगै धमिलिंदै गरिरहेको यस सम्बन्धको सीमारेखालाई कानूनी दायरामा ल्याउन आवश्यक रहेको विज्ञहरूको भनाइ छ।
संग्रौलाको शब्दचयन मात्र अशोभनीय र आपत्तिजनक छैन, उनको आचरणमाथि पनि उनैका विद्यार्थीले प्रश्न उठाएका छन्। केएसएलमा विद्यार्थीले संग्रौलालाई गर्ने टाउको मालिश प्रसिद्ध छ। संग्रौला आफैं पनि यस आरोपलाई नकार्दैनन्।
सामाजिक सञ्जालमा आरोप-प्रत्यारोप आएपछि संग्रौला आफैंले स्पष्टीकरण दिंदा “घाँटीमा पीडा भएर पढाँउदा-पढाँउदै लड्दा, मेरा नजिकैका नातेदार विद्यार्थीले मेरो निधार थिच्दा मसाज गरेको आरोप लगाए। यदि त्यो मसाज अपराध हो भने त ठमेलका मसाज केन्द्र रोक न पहिला” भनेका थिए।
संग्रौलाले मसाजलाई अपराधसँग तुलना गरेका छन्। तर, प्रश्न मसाज अपराध हुनु वा नहुनु होइन। प्रश्न हो– के शिक्षक र विद्यार्थीको व्यावसायिक सम्बन्धमा मसाज गर्न लगाउनु उचित हो?
शिक्षक-विद्यार्थीबीचको सम्बन्धमा शक्ति असन्तुलित हुन्छ अर्थात्, स्वाभाविक रूपमा विद्यार्थी कमजोर स्थानमा हुन्छन्। शिक्षकले अंक निर्धारण गर्ने, सिफारिशपत्र दिने र अवसर दिलाउने हुँदा शिक्षकले प्रस्ताव राख्दा विद्यार्थीको सहमति भएको र नभएको कसरी निर्धारण गर्ने भन्ने प्रश्न उठ्छ?
केएसएलमा पढाइरहेका अरू शिक्षकहरूमाथि पनि यौन दुर्व्यवहारको आरोप लागेको छ। कति शिक्षक केएसएलमै अध्ययनरत विद्यार्थीहरूसँग प्रेमिल सम्बन्ध हुँदै शारीरिक सम्बन्धमा रहेका कुराहरू बाहिर आएका थिए।
अहिले प्रविधिले पनि यो नैतिक सीमारेखालाई धमिल्याउँदै गरेको देखिन्छ। फेसबुक र मेसेन्जरमा पनि शिक्षक-विद्यार्थीको मर्यादा नाघ्ने गरेको कुरा हिमालखबर सँग केएसएलका पूर्वविद्यार्थीहरूले भनेका थिए।
३० वर्षीया शारदा (नाम परिवर्तन)ले भनिन्, “यस मर्यादाको सीमारेखा कहाँ गएर तान्ने भन्ने कुरा थाहा पाउन गाह्रो छ। ‘आहा ! कति राम्रो देखेको’ भनेर सरहरूले सामाजिक सञ्जालमा राखेका तस्वीरमा टिप्पणी गर्नुहुन्थ्यो। राति ११ बजेतिर पनि मेसेन्जरमा मेसेज गर्नुहुन्थ्यो। क्याफेमा भेट्न आऊ भन्दै बोलाउने गर्नुहुन्थ्यो। अब त्यस्तो वेला विद्यार्थीले के गर्ने? मेसेजको रिप्लाई नगर्दा तैंले मेरो मेसेज रिप्लाई नगर्ने भन्ने गाली गर्ने पो हो कि भन्ने डर हुन्थ्यो।”
व्यापक बेथिति
यस घटनासँगै अर्को सम्झिनुपर्ने मुद्दा हो– मदन राईको। दुई वर्षअगाडि मात्र कृषिविज्ञ मदन राईलाई पनि उनकै फाउण्डेशनले सञ्चालन गर्दै आएको खोटाङको जनजागृति उच्च माध्यमिक विद्यालयका बालबालिकामाथि यौन दुर्व्यवहारको आरोप लागेको थियो। आरोप पुष्टि भएर अदालतले राईलाई साढे २ वर्ष जेल सजाय दिएको छ। उनले बालबालिकालाई मालिश गर्न लगाएको, योनीका बारेमा बोल्दै गरेको र आफ्नो गुप्तांग देखाएका भिडियोहरू सार्वजनिक भएका थिए।
२०७५ को माघतिर अर्का शिक्षक वरिष्ठ समाजशास्त्री कृष्णबहादुर भट्टचन त्रिभुवन विश्वविद्यालयमा पढाँउदै गर्दा त्यहाँका विद्यार्थीमाथि पनि यौन दुर्व्यवहारको आरोप लागेको बाहिरिएको थियो। थेसिस निरीक्षण गर्दा भट्टचनले यौनजन्य टिप्पणीहरू गर्ने, अनुचित रूपमा छुने र यौनका किताबी सामग्रीहरू पेनड्राइभमा राखेर दिने गरेका आरोपहरू लागेका थिए। त्रिभुवन विश्वविद्यालयबाट भट्टचन अवकाश भएपछि बल्ल यी आरोप आएकाले कारबाही गर्न असमर्थ रहेको भनेर त्रिवि उम्किएको थियो।
अर्का त्यस्ता शिक्षक हुन्, गोपाल श्रेष्ठ। ‘कलाप्रेमी’का नामले चर्चित कलाकार समेत रहेका श्रेष्ठलाई पनि उनकै पूर्वविद्यार्थीले यौन दुर्व्यवहारको आरोप लगाएका हुन्। श्रेष्ठले भानुभक्त स्कूल, काठमाडौं विश्वविद्यालयको स्कूल अफ आर्टस्, ललितकला क्याम्पस लगायत निजी कलाप्रेमी सेरामिक स्टुडियोमा वर्षौंं पढाएका छन्। विश्वविद्यालयको कक्षाकोठा र उनकै स्टुडियोमा उनले विद्यार्थीहरूलाई गालामा चुम्ने, स्तन छुने, ब्राको स्ट्राप तानिदिने, हस्तरेखा हेर्ने भन्दै हात समात्ने हर्कत गरेको उत्पीडित र प्रत्यक्षदर्शीको भनाइ छ। २०८१ मा सार्वजनिक यौन दुव्र्यवहारको समाचारमा यी आरोपलाई नकार्दै श्रेष्ठले मित्रता र प्रेमको भावनाले चुम्बन गरेको र अंगालो मारेको बताएका थिए।
त्यस्तै काठमाडौं विश्वविद्यालयका आर्ट र डिजाइनका सहप्राध्यापक सुजन चित्रकार पनि यही सूचीमा पर्छन्। चित्रकार आफूले पढाउने विश्वविद्यालयकै विद्यार्थीसँग प्रेमिल सम्बन्धमा भएको कुरा बाहिर आएको छ। उनको सन्दर्भमा विशेष गरेर ‘ग्रुमिङ’को कुरा उठ्छ, जहाँ शक्तिशाली स्थानमा भएका पीडकले (यहाँ शिक्षक) आफूभन्दा कम उमेर वा कमजोर (यहाँ विद्यार्थी)लाई नियोजित रूपमा बहकाएर, फकाएर, प्रलोभनमा पारेर सम्बन्ध बनाइन्छ। चित्रकार यी सम्बन्धलाई दुर्व्यवहार नभई दोहोरो सहमतिमा भएको सम्बन्ध भन्ने गर्छन्।
यौन शिक्षाको मुखौटा लगाएर राईले यौन दुर्व्यवहार गरे। भट्टचनले थेसिसमा मद्दत गर्ने बहानाले महिला विद्यार्थीमाथि दुर्व्यवहार गरे। श्रेष्ठले मित्रता र प्रेमको नाम दिएर दुर्व्यवहार गरे। चित्रकारले सहमतिको नाममा अनैतिक सम्बन्धद्वारा विद्यार्थीलाई शोषण गरे।
संग्रौलाले आफ्नो विद्यार्थीसँगको सम्बन्धलाई अभिभावकत्वको नाम दिएर आफूले बोलेका शब्द र गरेका गतिविधिलाई जायज रहेको बताँउदै आएका छन्।
हिमालखबर ले संग्रौलालाई यी आरोपबारे फागुन १४ गते बिहीबार साँझ फोन गरेर सोध्दा आफू निर्वाचनका लागि झापामा रहेको बताउँदै ती कुराबारे छलफल गर्न अहिले आचारसंहिताले दिंदैन भन्दै पन्छिए।
शिक्षक र विद्यार्थीको पेशागत मर्यादा मिचेर विद्यार्थीलाई ‘तँ’ सम्बोधन गरेको बारे प्रश्न गर्दा उनले भने, “मैले माया गऱ्या मान्छेलाई त्यसो भनें होला। त्यो अहिले उठाउने वेला होइन।”
संरचनात्मक समस्या
२०८० को पुसमा प्रकाशित ‘त्रिभुवन विश्वविद्यालयमा महिला विद्यार्थीमाथि हुने यौन दुव्र्यवहार’ अनुसन्धानले यौन दुर्व्यवहार मौखिक, शारीरिक र साइबर रूपमा हुने बताउँछ। प्राध्यापकहरूबाट समेत अशोभनीय भाषालाई सामान्यीकरण गरिनु संरचनात्मक समस्या झल्किएको यस अध्ययनको भनाइ छ।
संग्रौलाले जस्तै ‘तँ’ भनेर विद्यार्थीलाई सम्बोधन गर्दा अपनत्व वा आफ्नोपन झल्केको अनुभव शिक्षक र विद्यार्थी दुवैलाई होला। तर, ‘तिमी’ भनेर विद्यार्थीलाई सम्बोधन गर्न उचित रहेको चिकित्सा मनोविद् डा. सिर्जना अधिकारी सुझाउँछिन्।
अधिकारी भन्छिन्, “शिक्षक र विद्यार्थीको सम्बन्ध नितान्त व्यावसायिक हो र हरेक सम्बन्धको सीमारेखा भए झैं यस सम्बन्धको पनि मर्यादाको दायरामा राख्न जरूरी हुन्छ। शिक्षकले अभिभावक जसरी ‘तँ’ भनेर आफ्नोपन बढी हुने तर्क पनि गर्न सकिएला। तर, शिक्षक-विद्यार्थी सम्बन्ध व्यावसायिक रहेकोले ‘तिमी’ भन्दा त्यस सम्बन्धलाई सम्मान पुग्छ।”
स्नातक तहमा भर्ना हुन आउने विद्यार्थीहरू १९–२० वर्षका हुन्छन्। समाजले उनीहरूलाई वयस्कका रूपमा लिए पनि परिपक्वता आइनसेकेको वेला स्त्रीद्वेषी टिप्पणी दिंदा महिलालाई निरूत्साहित गरिदिन्छ भने पुरुषलाई त्यस्तै विभेदकारी ढाँचामा ढाल्दै लग्ने गरेको अधिकारी बताउँछिन्। “शिक्षक जस्तो भूमिका निर्वाह गर्नेले त झन् त्यस्ता रूढीवादी उदाहरण दिनै हुँदैन।”
तस्वीर सौजन्य: युवराज संग्रौलाको फेसबुक
त्यस्तै, मिलेमतोमा शिक्षक र विद्यार्थीमा शारीरिक सम्बन्ध भए पनि यहाँ ‘ग्रुमिङ’ लेपन लाग्ने उनी बताउँछिन्। “हरेक व्यावसायिक सम्बन्धमा झैं शिक्षक र विद्यार्थीमा असमान शक्तिको वितरण हुन्छ। शिक्षक शक्तिशाली हुन्छ भने विद्यार्थीको भूमिका आज्ञाकारी हुने गर्छ।”
परापूर्वकालदेखि नै हिन्दू संस्कारमा शिक्षकलाई पुज्दै आएको समाजको बुझाइ छ। गुरु-चेलाको सम्बन्ध हेर्दा महाभारतको गुरु द्रोणाचार्य र एकलव्यको लोकप्रिय उदाहरण लिने गरेको शिक्षाविद् अमिना सिंह बताउँछिन्। “त्यस परिदृश्यमा हेर्ने हो भने गुरु जहिले माथिल्लो पदमा हुन्छन्। गुरु सदैव विद्यार्थीको हित चाहन्छन्। त्यसैले गुरुलाई पुजिन्छ, पत्याइन्छ। चेला सम्पूर्ण रूपमा गुरुमा समर्पित भएर शिक्षा लिइराख्ने भन्ने भाष्य त्यति वेला थियो। तर, अहिले हामी २१ औं शताब्दीमा त्यो मूल्य-मान्यता बोकेर हिंड्दा विरोधाभास हुन्छ,” सिंह बताउँछिन्।
शिक्षकलाई पूजनीय भन्ने भाष्यले विद्यार्थी अर्थात् कमजोर पक्षलाई झनै कमजोर गराउने तर्क गर्दै सिंह भन्छिन्, “शिक्षक पनि मानव हुन् भन्ने कुरा हामीले बिर्सनु हुन्न। उनीहरूमा पनि कमीकमजोरी हुन्छन् भन्ने समाजले स्विकार्नु पर्छ।”
यही तथ्यलाई नजरअन्दाज गरेकोले पनि शिक्षण संस्थामा भइरहेको दुर्व्यवहार बेवास्ता हुने गरेको विज्ञहरू अनुमान गर्छन्। शैक्षिक संस्थामा पनि विशेष गरी विश्वविद्यालयमा हुने मौखिक, शारीरिक वा यौन दुर्व्यवहार अझ ओझेलमा परेको तर्क उनीहरूको छ।
“विश्वविद्यालयमा कस्ता शैक्षिक अभ्यास र गतिविधिहरू हुन्छन् भन्ने बारेमा नै हेरिएको छैन। विद्यालय तहमा बरू शिक्षकलाई विद्यार्थीसँग मर्यादा कायम गर्दै कसरी प्रभावकारी ढंगमा पढाउने भन्ने बारेमा कार्यशालाहरू दिइन्छ। तर, उच्चस्तरीय शिक्षामा भने त्यो बहस नै भएको छैन,” सिंह थप्छिन्
समसामयिक समाधान
संस्थामा शिक्षक भित्र्याउँदा शैक्षिक योग्यता सँगसँगै आचरणलाई पनि उत्तिकै महत्त्व दिनुपर्ने सुझाव दिन्छन्। शिक्षक सबै राम्रा हुने र विद्यार्थीको हित मात्र चाहन्छन् भन्ने भाष्य हाम्रो समाजमा रहेको बताउँदै महिला, कानून र विकास मञ्चका कार्यकारी निर्देशक तथा अधिवक्ता सविन श्रेष्ठ बताउँछन्, “त्यस्ता शिक्षक पनि हुन्छन्। तर, अपवादमा केही शिक्षकका गतिविधि त्यस परिभाषामा नपर्ने हुनाले उनीहरूको आचरणका भरमा पनि मूल्यांकन गरिनु पर्छ।”
केएसएलमा अध्ययनरत विद्यार्थीले केही शिक्षकलाई यौन दुर्व्यवहार र बलात्कारसम्मको उजुरी क्याम्पसलाई दिंदा पनि फेरि नियुक्त गरेर पढाउन दिएको पूर्वविद्यार्थीहरूले हिमालखबर लाई बताएका थिए। “त्यस्तो शिक्षकले पढाउँदा कसरी सुरक्षित महसूस हुन्छ?”, करिनाले भनिन्, “त्यो पनि यस्तो ठाउँमा जहाँ पढ्ने महिला विद्यार्थी ७० प्रतिशत छन्।”
शक्तिमा शिक्षकको वर्चस्व रहे पनि शिक्षकलाई पनि सजिलो नरहेको तर्क गर्दै सिंह भन्छिन्, “शिक्षकलाई पनि फ्रेन्ड्ली हुँदा व्यावसायिक सम्बन्धलाई कसरी सन्तुलनमा राख्ने भन्ने दोधार हुन्छ। त्यही भएर कक्षा कसरी सञ्चालन गर्ने भन्नेबारे पनि मसिनो रूपमा विचार विमर्श गर्नुपर्ने हुन्छ।”
बालबलिकासम्बन्धी ऐन २०७५ ले १८ वर्षमुनिका विद्यार्थीलाई संरक्षण गर्ने उल्लेख गरेको छ। कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) ऐन, २०७१ ले पनि शिक्षण पेशामा हुने दुर्व्यवहार हेर्न मिले पनि कानूनी रूपमा शिक्षक र विद्यार्थीको सम्बन्धलाई नै प्राथमिकतामा राखेर उच्च शिक्षा विधेयक बनाउन जरूरी रहेको अधिवक्ता श्रेष्ठ बताउँछन्।
“शिक्षक र विद्यार्थीको सम्बन्धमा शक्तिको ठूलो भूमिका हुन्छ। पहिलो कुरा, विद्यार्थीले शिक्षकसँग नाइँ पनि भन्न मिल्छ भनेर सिकाइनु पर्छ। विद्यार्थीलाई सचेत र सशक्त बनाउनमा हाम्रो ध्यान हुनपर्छ,” श्रेष्ठ भन्छन्।
यसका साथै, हरेक शिक्षण संस्थामा यौन दुर्व्यवहारबारे उजुरी दिने ठाउँ र छानबीन समिति हुनु अपरिहार्य रहेको श्रेष्ठ थप्छन्।
तर, केएसएलको सन्दर्भमा कुरा गर्दा उजुरी दिने ठाउँ भए पनि कारबाही नभएको विद्यार्थीहरूको गुनासो छ। त्यसैले निष्पक्ष छानबीन समिति विना मुद्दा अघि बढाउँदा निष्प्रभावी हुने धारणा राख्दै श्रेष्ठ भन्छन्, “विद्यार्थी संरक्षण नीति कानूनी रूपले अघि बढ्न आवश्यक छ। यस नीति-निर्माणको जिम्मेवारी सबै कलेजले उठाउन जरूरी छ। विश्वविद्यालय र शिक्षालय मन्त्रालयबाट नीति-निर्माण भएर आयो भने झन् राम्रो हुन्छ। तर, त्यसैका लागि भने कुरेर बस्न उचित हुँदैन। क्याम्पसले भए पनि आफ्नो पक्षबाट विद्यार्थी संरक्षण नीति बनाउँदै गर्नुपर्छ।”
(विद्यार्थीको शैक्षिक र व्यावसायिक जीवनमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै पात्रको नाम परिवर्तन गरिएको हो।)