काठमाडौँ महानगरका तत्कालीन प्रमुख बालेन्द्र शाहले भदौ २३ को प्रदर्शनमा १३ देखि १८ वर्षका बालबालिकालाई सडकमा डाक्छन् । आफूलाई समाजसेवीको रुपमा चिनाउने ‘हामी नेपाल’ का अध्यक्ष सुदन गुरुङको समूह आगजनी र तोडफोड गर्दै हिंडेको भेटिन्छ । रास्वपाले प्रदर्शनमा समर्थन र सहभागिता जनाउँदै बालबालिकालाई सडकमा आउन आह्वान गर्छ र भदौ २४ को विध्वंसमा संलग्न र त्यसमा उत्सव मनाउनेहरुलाई प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाएर पुरस्कृत गर्छ ।
२०८२ भदौ २४। अपरान्ह २ः५१ बजे
स्थानः न्यू रोड, धर्मपथ सडक
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसकेका थिए।
न्यू रोड जुद्ध शालिकछेउ उभिएका आठ-दश जना सुरक्षाकर्मीले दक्षिणतिर धर्मपथबाट ढुंगा हानिरहेका पाँच-सात जना युवालाई लखेट्छन्। युवाहरू पछाडिका रमिते सहित पश्चिमपट्टिको गल्लीतिर भाग्छन्। यति नै वेला त्यही गल्लीबाट आठ वटा मोटरसाइकल र एउटा स्कूटरमा आएकाहरू एकपछि अर्को गर्दै बाहिर निस्कन्छन्। तीमध्ये एउटा मोटरसाइकलको पछिल्लो सीटमा बसेको अग्लो र लामो कपालधारी युवक बीच सडकमा ओर्लिन्छन्।
हिमालखबर लाई प्राप्त त्यसवेलाको अडियो रहित सीसीटीभी फुटेजमा देखिए अनुसार देब्रे हातमा वाकीटकी लिएका ती युवक दुवै हात माथि उठाउँदै प्रहरीतिर फर्केर ‘हामी आयौं है’ भन्ने संकेत गर्छन्। मोटरसाइकल निस्केकै गल्लीबाट सेतो टिशर्ट र खैरो पाइन्ट लगाएका एक युवक हिंड्दै बाहिर आउँछन् र सडकछेउ हुँदै पछाडि हेर्दै मोटरसाइकल गएतिरै अलि छिटो-छिटो दायाँ लाग्छन्। उनी ‘मेरो ज्याकेट देऊ’ भन्ने संकेत गर्दै अलि पर सडकपारि मोटरसाइकल रोकेका साथीलाई इशारा गर्छन् अनि त्यतैतिर दौडिन्छन् र हतार-हतार साथीले झोलाबाट झिकेर दिएको हाफज्याकेट लगाउँछन्। भदौ महीनाको मध्याह्नमा उनले त्यो ज्याकेट जाडो भएर लगाएका थिएनन्।
ज्याकेटमा लेखिएको थियो– ‘हामी नेपाल’। उनी थिए– स्वयंसेवी सामाजिक संस्थाको रूपमा चिनिन चाहने ‘हामी नेपाल’का अध्यक्ष सुदन गुरुङ। त्यहाँ तैनाथ प्रहरीबाट सुरक्षित रहन उनी सहित मोटरसाइकलमा आएका सबैजसोले त्यस्तै ज्याकेट लगाएका थिए। सुदन गुरुङ र उनको संस्था ‘हामी नेपाल’ भदौ २३-२४ को जेन-जी विद्रोहपछि चर्चाको चुलीमा पुगेका हुन्। डिस्कर्डमा प्रधानमन्त्री कसलाई बनाउने भन्ने विषयमा छलफल चलाउने र मत संकलन गर्नेदेखि प्रदर्शनकारी जेन-जीको प्रतिनिधि बनेर प्रधानसेनापति तथा राष्ट्रपतिसँग वार्तामा बस्नेसम्मको काम उनैले गरेका थिए। ३६ वर्षका उनी आफैं जेन-जी उमेर समूहका भने होइनन्।
जेन-जी विद्रोहमा ‘समाजसेवी’ सुदन
सुदन गुरुङले नेतृत्व गरेको ‘हामी नेपाल’ले २०७२ सालको भूकम्पदेखि कोरोना महामारी हुँदै पोहोर साल रोशी खोलामा आएको बाढी-पहिरोको विपद्सम्ममा उद्धार, राहत र स्वयंसेवा कार्यमा खटिएर एक स्वयंसेवी सामाजिक संस्थाको पहिचान बनाएको थियो। तर, त्यो दिन भने उनको टोली समाजसेवाका लागि नभई अर्कै अमूक कार्यमा खटिएको हुन सक्ने भिडिओले देखाउँछ। यो सबै भइरहँदा नेपाली सेनाले बालुवाटारबाट केपी शर्मा ओलीलाई हेलिकोप्टरमा राखेर ‘उद्धार’ गरिसकेको थियो।
हाफज्याकेट लगाइसकेपछि सहयोगीहरूसँगै सुदन त्यहाँ नौ मिनेटजति यताउति गर्छन्। कसैको सन्देश पर्खेजसरी घरिघरि मोबाइलमा हेरिरहन्छन्। यतिञ्जेल शालिकछेउका प्रहरी र ढुंगा हान्ने युवा शान्त भइसक्छन्। ‘हामी नेपाल’ ज्याकेटधारीहरूको हाउभाउ हेर्दा कुनै विशेष काम फत्ते गर्न खटिएजसरी हतारो गरिरहेका देखिन्छन्। उनीहरूमध्ये चार-पाँच जना प्रहरीतिरै जान्छन् र प्रदर्शनकारीहरू पनि सँगसँगै प्रहरी नजिक पुग्छन्। दृश्यमा नदेखिने दिशाका व्यक्तिहरूतिर हेर्दै एक जना बाइकर त्यहाँ भएका अरूहरूलाई अगाडि बढ्न इशारा गर्छन्। सुदन पनि त्यतैतिर हेर्दै त्यस्तै इशारा गर्छन्। लगत्तै त्यहाँबाट सुदन र उनको समूहका सबै बाइक चढेर रणमुक्तेश्वर मार्गतिर लाग्छन्। उनको टोली निस्केपछि करीब सात मिनेटको उक्त सीसीटीभी फुटेजमा सुरक्षाकर्मीले त्यहाँ रहेका अन्य प्रदर्शनकारीलाई जुद्ध शालिकतिर जान खुला छाडिदिन्छन्।
त्यो दिन जनसेवा वृत्तका प्रहरीहरू महाराजगञ्ज र बालाजुका प्रहरीले जसरी प्रदर्शनकारीको प्रतिकार नगरी नेपाली सेनाको निगरानीमा कार्यालय छाडेर विशालबजार पछिल्तिरको ढोकाबाट बाहिर निस्केका थिए। भदौ २४ गते जनसेवा प्रहरी वृत्तमा आगो लागेको देखेका विशालबजारका कर्मचारी र स्थानीयले हामीसँगको अन्तर्वार्तामा भनेका कुराबाट पनि यो कुरा पुष्टि हुन्छ। प्रहरीहरू बाहिर निस्केपछि तिनै अघि भिडिओ फुटेजमा देखिएका युवकहरू प्रहरी वृत्तमा प्रवेश गरेर ठूलो संख्यामा हतियार लुट्छन्। प्रत्यक्षदर्शीका अनुसार, त्यहाँ सेनाले प्रहरीलाई जोगाएजसरी नै हतियार पनि जोगाउन सक्थ्यो। तर त्यसो गरेको देखिंदैन।
आफ्नै निगरानीमा प्रहरीलाई सुरक्षित गरे पनि हातहतियार चाहिं किन नजोगाएको भन्ने प्रश्न गर्दा नेपाली सेनाले ‘त्यस्तो किसिमको कुनै पनि कार्य नभएको’ दाबी गरेको छ।
हामीले नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेलाई फुटेजमा देखिएका दृश्यमा प्रतिक्रिया दिन अनुरोध गर्दा उनले जेन-जी प्रदर्शनका सम्बन्धमा जाँचबुझ आयोगले अनुसन्धान गरिरहेको हुँदा केही बोल्न नमिल्ने बताए। त्यसपछि आयोगका प्रवक्ता विज्ञानराज शर्मालाई पनि भिडिओ देखाएर प्रतिक्रिया माग्यौँ। तर, उनले पनि यसमा अहिले कुनै टिप्पणी गर्न नमिल्ने बताउँदै भिडिओ आयोगलाई पनि उपलब्ध गराइदिन आग्रह गरे। ‘हामी नेपाल’का अध्यक्षसँग पनि बयान लिएको आयोगले त्यो दिन जुद्ध शालिक वरपर देखिएका शंकास्पद गतिविधिबारे सोध्यो/सोधेन भन्ने कुराका लागि आयोगको प्रतिवेदन पर्खिनुपर्ने हुन्छ।
त्यही भिडिओ देखाएर हामीले नेपाल प्रहरीका एक बहालवाला उच्च अधिकृतसँग पनि कुरा गऱ्यौं। उनले भिडिओ फुटेज आफूले पनि हेरिसकेको तर मीडियामा बोल्न नसक्ने बताए। हामीले नाउँ नखुलाउने शर्तमा बोलिदिन आग्रह गरेपछि उनले त्यो दिन त्यस सीसीटीभीमा देखिए जस्तै गरी जहाँ-जहाँ ‘हामी नेपाल’ ज्याकेटधारी देखिएका छन्, त्यहाँ-त्यहाँ लगत्तै आगजनी भएको प्रमाण भदौ २३-२४ को घटनाको अनुसन्धान गरेका निकायहरूसँग भएको जानकारी दिए।
त्यो समूह त्यसैगरी देखिएसँगै नयाँ बानेश्वर प्रहरी वृत्त, कान्तिपुर टेलिभिजन कार्यालय र संसद् भवन, सिंहदरबारस्थित प्रमुख प्रशासकीय भवन र बालुवाटारस्थित प्रधानमन्त्री निवासमा पनि आगजनी भएको थियो। ‘हामी नेपाल’ को समूह हरेक ठाउँमा पुग्दा त्यहाँ प्रहरी र प्रदर्शनकारीबीच भिडन्त भइरहेको हुन्छ। उनीहरू पुगेपछि माहौल बदलिन्छ। ती अधिकृतले थपे, “हरेक प्रहरी युनिटमा प्रहरीले प्रदर्शनकारीलाई लखेटिरहेको हुन्छ। अनि, त्यहाँ एक्कासि ‘हामी नेपाल’को ज्याकेट लगाएकाहरू देखिन्छन्। त्यस ठाउँमा उनीहरूले वाकीटकीमा कुराकानी गरेको पनि देखिन्छ। सुदन गुरुङले आफूले सञ्चालन गरेको संस्था ‘हामी नेपाल’लाई रणनीतिक हिसाबले प्रयोग गरेको देखिन्छ। उनी गएका चार-पाँच ठाउँमा आगलागी भएको देखिने प्रमाण अनुसन्धानमा संलग्न निकायहरूसँग छ।”
त्यसो हो भने तपाईं यसबारे खुलेर किन बोल्नुहुन्न त भनेर जिज्ञासा राख्दा उनले भने, “प्रधानमन्त्री सुशीला कार्कीले सुदन गुरुङलाई मेरो जेठो छोरो हो भनेर सार्वजनिक रूपमै भनेको र उहाँको शपथग्रहण समारोहमा प्रम कार्कीलाई सुदन गुरुङले ढोगेको दृश्य नै काफी छ नि, छैन र?” यति सुनिसकेपछि हामीले उनलाई थप प्रश्न गरेनौं।
VIDEO
यसअघि प्रधानसेनापति अशोकराज सिग्देलको हातमा ढोगेको कुरा एक टेलिभिजन अन्तर्वार्तामा सुदन गुरुङ आफैंले बताएका थिए। उनले २४ गतेको आगजनी, विध्वंस र लूटपाटका घटनामा संलग्न भएको आधारमा प्रहरीले गिरफ्तार गरेकाहरूलाई कारबाही नगर्न र रिहाइको माग गर्दा नटेरेको भनेर गृहमन्त्री ओमप्रकाश अर्याललाई लामो समय गालीगलौज गरी राजीनामा गर्न दबाब दिएको जगजाहेर छ। प्रधानमन्त्रीसम्म सोझो पहुँच भएकाले उनले चाहेको वेला आफ्नो कुरा राख्ने गरेको खबर सार्वजनिक भएकै हो।
यसबाट जेन-जी विद्रोहपछि खडा भएको सत्तावृत्तमा सुदनको ठूलै हैसियत देखिन्छ। यद्यपि, काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच एकता भएपछि भने उनले गृहमन्त्रीलाई गाली गर्न र उनको राजीनामा माग्न छाडेका छन्।
सुदनलाई हामीले तपाईं त्यो दिन दिनभरि कहाँ-कहाँ जानुभएको थियो भन्ने लगायतका २५ वटा प्रश्न तयार गरेर सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क भएन। त्यसपछि ‘हामी नेपाल’का कार्यक्रम संयोजक अनिल बानियाँको ह्वाट्सएप र ‘हामी नेपाल’को इमेलमा ती प्रश्नहरू पठायौं। अनिल बानियाँले हाम्रा प्रश्नहरू सुदनलाई पठाएको र सुदनले ती सबै प्रश्न पढेको जानकारी गराए। बानियाँले सुदनलाई उद्धृत गर्दै भने, “प्रश्नहरू धेरै रहेछ। हचुवाको भरमा जवाफ नदिऊँ अहिले। केही समयपछि जवाफ दिउँला। उहाँहरूलाई यही कुरा अनुरोध गर्नू। अहिले चुनावमा व्यस्त छु, पछि कुरा गरौंला।”
त्यो दिन सुदन र ‘हामी नेपाल’को टोली कहाँ-कहाँ गएका रहेछन् भनी खोज्दा सामाजिक सञ्जालमा पनि ती सबै ठाउँमा उनीहरू देखिएका भिडिओहरू भेट्यौं। यो समूह संसद् भवन जलाइसकेर धर्मपथ जानुअघि विजय ऱ्याली निकालेजसरी बिजुलीबजारमा मार्चपास गर्दै अघि बढेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको छ।
यसरी मार्चपास गर्ने जत्थाको अग्रपंक्तिमा देखिएका एक जनाले कालो कम्ब्याट पहिरनका साथै नकाब लगाए जस्तो देखिने गरी कालो माकलटोपी (मंकी क्याप) लगाएका छन् भने अरू केहीले पनि आँखा र निधारको केही भाग मात्रै देखिने गरी कालै माकलटोपी लगाएका छन्। भदौ मासको मध्याह्नको चर्को गर्मीमा अनुहारै छोप्ने गरी माकलटोपी लगाएर हिंड्नु त्यति स्वाभाविक लाग्दैनथ्यो।
त्यही दिन अपराह्न उपत्यका ट्राफिक कार्यालय बग्गीखानाबाट निस्केको आगोको मुस्लोलाई पृष्ठभूमिमा पारेर पुतलीसडकतिरबाट खिचिएको अर्को भिडिओमा सुदन गुरुङ पनि पैदल हिंडेको देखिएको छ। भिडिओ लिङ्क
समाजसेवाबाट नाम कमाएका सुदन गुरुङ र ‘हामी नेपाल’का सहयोगीहरू यसरी भदौ २४ मा जहाँ-जहाँ पुग्छन्, त्यहाँ-त्यहाँ आगजनी भएको देखिनु संयोग मात्रै पक्कै होइन। गैरसरकारी संस्था महासंघका सल्लाहकार भीम शर्मा भन्छन्, “एउटा गैरसरकारी संस्थाले त्यस्तो विध्वंसमा भाग लिएको वा विध्वंसको उत्सव मनाएको हो भने त्यो कल्पना पनि गर्न नसकिने अमानवीय र निन्दनीय काम हो।” त्यो दिन के भएको हो, कसले गरेको हो भन्ने सत्यतथ्य पत्ता लगाउने जिम्मेवारी भदौ २३ र २४ का घटनाको छानबीन गर्न बनेको आयोगलाई दिइएको छ। शुरूमा तीन महीना म्याद पाएको आयोगले पटक पटक म्याद थपेर पनि प्रतिवेदन बुझाएको छैन।
भदौ २३ र २४ को सत्यतथ्य बाहिर नआइरहेको वेला ती दुई दिन अघिपछिका घटना र त्यससँग जोडिएका अभिव्यक्ति एवं गतिविधिले काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख बालेन्द्र शाहलाई जेन-जी विद्रोहको ‘छद्मभेषी’ आह्वानकर्ताका रूपमा उभ्याइदिएका छन्। उक्त विद्रोहसँग जोडिएका सुदन गुरुङ, बालेन्द्र शाह लगायतका आयोजक र तत्कालीन सरकार सञ्चालकहरूबीच हत्या, आगजनी र विध्वंसको जिम्मेवारी बहन गर्ने विषयलाई लिएर एकआपसमा दोषारोपण चलिरहेको छ।
प्रदर्शनमा सुदन-बालेन-रास्वपा सहकार्य
२४ गते बेलुकीसम्म आफू ‘आन्दोलनको आयोजक होइन’ भनिरहेका सुदन गुरुङले बालेनले फेसबुक पोस्टबाट दिएको निर्देशन बमोजिम नेपाली सेनासँग वार्ता गरेको, सरकार निर्माणमा हिस्सा लिएको र संसद् विघटन गराएको घटनाक्रमले प्रदर्शनको आयोजना र त्यसपछि विकसित गतिविधिमा यी दुईको सहकार्यलाई छर्लङ्ग पारेको छ। हिमालखबर ले यसअघि नै नेपाली सेनाले आफ्ना परमाधिपति राष्ट्रपतिको कार्यालयको आगो ४० घण्टासम्म ननिभाएको र शहर जलिरहँदा नगरप्रमुख बालेन्द्र शाह मातहतका काठमाडौं महानगरपालिकाका दमकल आधाभन्दा बढी समय खाली राखिएका खुलासा गरिसकेको छ।
सुदन गुरुङ माघ ४ गते काठमाडौं महानगर प्रमुख बालेनसँगै धुमधामसँग रास्वपामा प्रवेश गरे र रास्वपाबाटै गोरखा-१ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार पनि छन्। त्यसपछि निर्वाचन क्षेत्रकेन्द्रित प्रचारप्रसारका क्रममा भदौ २४ को आगजनीको दोष तत्कालीन प्रम केपी ओली र उनको सरकारलाई लगाइरहेका छन्। उनी फेसबुकमा लेख्छन्, “गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो। बच्चाहरू शुरूमा ढलेका हुन्, त्यसपछि मात्र संरचना बलेको हो। स्मरण रहोस्।”
सुदनको यो स्टाटस त्यसअघि केपी ओलीले बालेनलाई लक्षित गरी राखेको पोस्टसँग सम्बन्धित छ। प्रधानमन्त्रीका दाबेदारहरूलाई एउटै मञ्चमा राखेर सवालजवाफ गर्नुपर्ने आवाज उठिरहेका वेला पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माघ ११ गतेको एउटा फेसबुक पोस्टमा सार्वजनिक मञ्चमा गरिने त्यस्तो बहसमा आफूले भाग लिने जानकारी गराएका थिए। ओलीले त्यही पोस्टमा भदौ २४ मा आगो लगाउनेहरू को हुन् भन्ने नखुलाई फागुन २१ को चुनावमा ‘देश जलाउने र देश बनाउने पक्षबीच हुने प्रतिस्पर्धामा नेकपा एमाले देश बनाउने तर्फबाट सहभागी हुने’ उल्लेख गरेका थिए।
यो पोस्ट देखापरेको दुई घण्टा नबित्दै झापा-५ का उनका प्रत्याशी रास्वपा उम्मेदवार बालेन्द्र शाहले केपी ओलीलाई लक्षित गरेर ‘७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिन नसक्ने’ प्रतिक्रिया जनाए।
भदौ २३ गते १२:०० बजेतिर माइतीघरबाट आएको जेन-जीको जुलूस एभरेष्ट होटलअगाडि पुगेको हुन्छ। त्यसको केहीवेरपछि आन्दोलनमा घुसपैठ हुन्छ र बाहिरबाट आएका युवाहरू समेत मिसिएर ब्यारिकेडमा तैनाथ प्रहरीसँग धकेलाधकेल गर्छन्। त्यति नै वेला जेन-जी नेता भनेर चिनिएकाहरूले आन्दोलनमा घुसपैठ भयो भन्छन्।
ब्यारिकेड तोडेर त्यो भीड संसद् भवनको गेटसम्म पुग्दा बानेश्वर आसपासका सार्वजनिक स्कूलका कक्षा-८ देखि १० का बालबालिकालाई त्यहाँ उभ्याइएको दृश्य भिडिओे फुटेजहरूमा देखिन्छ। ती अबोध बालबालिकालाई त्यहाँ कसले पुऱ्यायो भनेर प्रश्न गर्दा हालका जेन-जी नेताहरू स्पष्ट जवाफ दिंदैनन्।
VIDEO
मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले १२ देखि १८ वर्षका नाबालक केटाकेटीलाई जेन-जी आन्दोलनका नाउँमा राजनीतिमा लतारेको भनेर प्रदर्शनका आयोजकहरूको आलोचना गरेका छन्। गत पुसमा काठमाडौंमा आयोजित एक छलफल कार्यक्रममा आयोजकहरूको नाउँ नलिईकन उनले प्रश्न गरेका थिए, “नाबालकहरूलाई राजनीतिमा धकेल्ने? लफडामा ल्याउने? त्यति आधारभूत कुरामा हामी चिप्लिन्छौं भने ठूला कुरा नगरौं।”
माघको दोस्रो साता काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थशास्त्री गोपीलाल न्यौपानेले भदौ २३ गते राष्ट्रिय स्वतन्त्र पार्टी नै प्रदर्शनमा सक्रिय भएको उल्लेख गर्दै प्रश्न गरेका छन्, “उहाँहरूले आन्दोलनमा बालबालिकालाई किन लैजानुभयो?” त्यसै कार्यक्रममा सहभागी रास्वपाका उपसभापति स्वर्णिम वाग्ले र नेता डा. तोसिमा कार्की दुवैले उनको प्रश्नको जवाफ दिएका थिएनन्।
जेन-जी प्रदर्शनको नेतृत्व गर्ने र जेन-जी नेता-कार्यकर्ता भनी चिनिएका अधिकांश व्यक्ति उज्ज्वल थापा फाउण्डेशन र सुदन गुरुङद्वारा सञ्चालित ‘हामी नेपाल’, प्रदर्शनपछि सुदनकै अग्रसरतामा स्थापित ‘जेन-जी काउन्सिल’मा आबद्ध छन्। तिनमा बालेन्द्रलाई नायक मान्नेहरू पनि त्यत्तिकै थिए। पछि केही बाहेक रास्वपामा प्रवेश गरेका छन्।
भदौ २२ गते अपराह्न एउटा फेसबुक स्टाटस लेखेर बालेनले यो जेन-जीको स्वस्फूर्त ऱ्याली हो, जसको लागि आफू अझै बूढो देखिन्छु भन्दै २८ वर्षमुनिका सबै जेन-जीलाई आन्दोलनमा स्वस्फूर्त सहभागी भएर आफ्ना कुरा र विचार राख्न आह्वान गरेका छन्। उनले यसो भनेर जेन-जी बालबालिकाको सहभागितामा समर्थन जनाएको मात्र होइन, उनीहरूलाई प्रदर्शनमा जान उक्साएका समेत छन्। बालेनलाई यो पनि थाहा छ, काठमाडौं महानगरपालिकाको प्रमुख भएदेखि नै यो उमेर समूहका धेरै नवयुवाले उनलाई नायक मान्छन् र उनले गरेको आह्वानले यस समूहलाई छुन्छ।
VIDEO डा. कोइरालाले भनेजस्तै जेन-जी समूहमा १२ देखि १८ वर्षका नाबालकहरू पनि पर्छन्। उक्त स्टाटसबाट बालेनले ती नाबालकलाई पनि आन्दोलनमा आउन उक्साएको स्पष्ट हुन्छ। त्यस दिनको प्रदर्शन र मुठभेडमा प्रहरीको गोली लागेर एक जना नाबालक श्रीयम चौलागाई मारिए। यसैगरी अन्य नाबालाकहरू घाइते भएका थिए। दोस्रो दिनको विध्वंस, आगजनी र लूटपाटमा पक्राउ परेकाहरूमध्ये ६ जना नाबालक समेत रहेको काठमाडौं प्रहरी परिसरको पछिल्लो रेकर्डमा उल्लेख छ। यस सम्बन्धमा बालेन्द्रलाई प्रश्न गर्न भने निक्कै मिहिनेत गर्नुपऱ्यो। कारण हो, बालेन आफैंले मीडियासामु जवाफ नदिने र उनको टीमले पनि आधिकारिक सूचना वा भनाइ सजिलैसँग दिन नचाहने।
हामीले बालेन र उनका टीमका सदस्यहरू कुमार ब्यञ्जनकार, सुरेन्द्र बजगाईं र विपिन कँडेललाई पनि बालबालिकालाई किन प्रदर्शनमा आउन आह्वान गरेको जस्ता प्रश्नहरू ह्वाट्सएपमा पठायौं। तीमध्ये विपिन कँडेलले हाम्रो फोन र ह्वाट्सएपमा जवाफ दिए र कँडेलले बालेन टीमले हामीले पठाएका प्रश्नहरू पढेको पुष्टि गरे पनि स्पष्ट जवाफ दिएनन्। विपिनले चुनावी अभियानमा भएकाले व्यस्त छु भन्ने शाहको सन्देश हामीलाई पठाए। उनले पठाएको सन्देशमा ‘आम नागरिकको सम्पूर्ण प्रश्नको उत्तर उहाँहरूसँगै रहेर दिंदै अगाडि बढिरहेको छु’ भन्ने रहेको छ।
जेन-जी समूहभित्र पर्ने १२ देखि १८ वर्षका केटाकेटीहरू नाबालक हुन् र विभिन्न अन्तर्राष्ट्रिय सन्धि-सम्झौता र हाम्रो आफ्नै देशका कानूनले बालबालिकालाई आन्दोलनमा सहभागी गराउन नपाइने व्यवस्था गरेको छ। सुदन गुरुङ, बालेन र भदौ २३ अघि भिडिओ सन्देश मार्फत माइतीघरमा भेला हुन आह्वान गर्ने मिराज ढुंगानाका साथै कसैले यो उमेर समूहका जेन-जीहरूलाई आन्दोलनमा सहभागी गराउनु हुने थिएन भनेर अहिलेसम्म बोलेका छैनन्।
VIDEO
रास्वपाले पनि जेन-जी प्रदर्शनलाई समर्थन गर्ने र पार्टीको कुनै संकेत नलिई त्यसमा सहभागी हुने स्पष्ट गर्दै भदौ २२ गते एउटा प्रेस विज्ञप्ति जारी गरेको थियो। तर १२ देखि १८ वर्षका नाबालक समेत जेन-जी प्रदर्शनमा आउन सक्ने कुरालाई तत्कालीन संसद्काे चौथो ठूलो दलले हेक्का नराखी समर्थन गर्ने र सहभागी हुने विज्ञप्ति निकालेर बालबालिकाहरूलाई प्रदर्शनमा सहभागी गराउन नपाइने अन्तर्राष्ट्रिय सन्धि-सम्झौता र राष्ट्रिय कानूनका प्रावधानलाई अवज्ञा गरेको देखिन्छ।
त्यो दिन भएको २३ जना युवाको हत्याका लागि मुलुकको कार्यकारी प्रमुखको नाताले जिम्मेवार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकाहरूलाई योजनाबद्ध रूपमा प्रदर्शनमा होमिएको आरोप लगाएका छन्। ओलीका अनुसार, त्यो दिन प्रदर्शनमा घुसपैठ गरी केही समूहले योजनाबद्ध रूपमा बालबालिका र स्कूल ड्रेसमा आएका नानीबाबुलाई अगाडि राखेर संसद् भवनसम्म पुऱ्याउन खोजेका हुन्।
आफू प्रधानमन्त्री हुँदा भएको हत्याको नैतिक जिम्मेवारी समेत नलिएका ओलीले माघ १४ गते फेसबुकमा राखेको एउटा स्टाटसमा भनेका छन्, ‘उनीहरूलाई थाहा थियो संसद् भवनमा आक्रमण हुन थाले सुरक्षा निकायले कानून अनुसार बल प्रयोग गर्नैपर्छ। संसद् भवनमा आगो लगाउने प्रयास र विष्फोटक वस्तुको प्रयोग भएपछिको स्थितिलाई कानूनले ‘आन्दोलन’ होइन, ‘राज्य विरुद्धको हमला’ मान्छ। संसद् भवनभित्र सुरक्षा फौजमाथि प्रत्यक्ष आक्रमण भएपछि गोली चल्यो र त्यसपछि दुई घण्टासम्म भएको घटनाले हामी सबैलाई घाउ दिएको छ।’
हामीले जेन-जी प्रदर्शनमा सहभागी बालबालिकामध्ये केहीसँग कुराकानी गर्दा उनीहरूले त्यो दिन आफूलाई स्कूल पोशाकमा आउन भनिएको बताए। उनीहरूलाई प्रदर्शनमा आउन जोडबल गर्नेहरूले प्रहरीले खासै क्षति नगर्ने पानीको फोहोरा र रबरको गोली मात्र हान्न सक्ने बताएको प्रदर्शनमा सहभागी कक्षा ११ र १२ का विद्यार्थीले हिमालखबर सँगको अन्तर्वार्तामा भनेका छन्। हिमालखबर ले यसअघि प्रकाशन गरेको रिपोर्टमा टिकटकरहरूले विद्यार्थीलाई परिचयपत्र सहित स्कूले ड्रेसमा आउन तथा विद्यार्थीको परिचयपत्र सहित आउँदा अन्तर्राष्ट्रिय कानून बमोजिम प्रहरीले कुनै दुर्व्यवहार गर्न नपाउने भन्दै उक्साइएको तथ्य उजागर गरेको छ।
VIDEO
तर उनीहरू कसैलाई पनि ब्यारिकेड तोडेर संसद् भवनसम्म पुग्दा हुने जोखिम भनेको कर्फ्यू लाग्न सक्ने र कर्फ्यू लाग्नु भनेको सोझै गोली हान्न सक्नेसम्मको अवस्था हो भनेर स्पष्ट जानकारी गराइएको थिएन। प्रदर्शनका आयोजकहरू‚ खासगरी सुदन गुरुङले फेसबुक लगायतका सामाजिक सञ्जालमा राखेका ‘आन्दोलनको आह्वान’मा पनि त्यतिसम्म गम्भीर अवस्था आउन सक्ने कुरा खुलाइएको थिएन। त्यतिवेला सरकारले टिकटक बाहेक अन्य सामाजिक सञ्जाल बन्द गरेको भए पनि भीपीएन प्रयोग गरेर युवाले सबै प्रकारका सामाजिक सञ्जाल चलाइरहेका थिए।
विद्यार्थीलाई स्कूलको पोशाकमा आउन आह्वान गरिएका भिडिओ सामाजिक सञ्जालहरू– विशेष गरी टिकटकमा शेयर गर्ने आइडीहरूमा छद्मभेषी प्रहरी र कन्टेन्ट क्रिएटरहरू थिए भन्ने तथ्य हिमालखबर ले यसअघि नै सार्वजनिक गरिसकेको छ। त्यस्तो कन्टेन्ट शेयर गरेर स्कूलका बालबालिकालाई प्रदर्शनमा सहभागी हुन उक्साउने भ्रामक सूचना फैलाउनेहरूमा पडकास्टर संजय सिलवाल गुप्ता, निमेश श्रेष्ठ, सजन श्रेष्ठ, वर्षाजंग क्षत्री, अपूर्व क्षितिज सिंह र राइडशेयरिङ सेवा पठाओका प्रबन्ध निर्देशक असीममान सिंह बस्न्यात पनि थिए।
ब्यारिकेड तोडिएपछि हाल जेन-जी नेताका रूपमा चिनिएकामध्ये केहीले ‘आन्दोलनमा घुसपैठ भएको’ भन्दै आन्दोलन अब सकियो भनेर त्यतिवेलै बताएको र बानेश्वर चोकबाटै आफूहरू बाहिरिएको जिकिर गरेका छन्। तर, उनीहरूले त्यहाँ जम्मा भएका युवा सबैले सुन्ने गरी यहाँभन्दा अगाडि बढ्नु हुँदैन भनेर सतर्क गराएको हामीले हेरेका दर्जनौं भिडिओ फुटेजमा कतै भेटेनौं। ब्यारिकेड तोडेर संसद् भवन अगाडि पुगेका युवासँगको कुराकानीमा पनि यो कुरा पुष्टि हुन सकेन।
अपराह्न १:४५ बजेतिर प्रदर्शनकारीहरू घाइते हुन थालेपछि ‘हामी नेपाल’का अध्यक्ष सुदन गुरुङले प्राथमिक उपचार शुरू गरेको उनैले तयार पारेका त्यसदिनको घटना-विवरणमा उल्लेख छ। तर, प्रदर्शनकारीले प्रहरीसँग मुठभेड गरेको, संसद् भवनको पर्खाल भत्काएको, सेण्ट्रीपोस्टमा आगजनी गरेको र सुरक्षाकर्मीले गोली चलाएको ठाउँमा गएर आयोजक सुदन गुरुङ, पुरुषोत्तम यादवहरू कसैले रोक्ने काम गरेको हामीले हेरेका त्यसवेलाका सयौं भिडिओ फुटेजमा कतै देखिंदैन।
सुदनले इमेज टीभीका विकास थपलियासँगको अन्तर्वार्तामा मारिएका युवाको रगतले लत्पतिएको आफ्नो ज्याकेट अफिसमा राखेको बताएका छन्। उनी भन्छन्, “जबसम्म ती बच्चाहरूले न्याय पाउँदैनन्, तबसम्म त्यो ज्याकेट धुँदिन।” त्यही अन्तर्वार्तामा उनलाई भोलिपल्ट सिंहदरबार र संसद् जल्दाखेरि तपाइँ कहाँ हुनुहुन्थ्यो भनेर सोध्दा सुदनले भनेका थिए, “संसद् भवनअगाडि र विभिन्न ठाउँमा आन्दोलनकारीलाई रोक्दै थिएँ। हामीले जलाउन खोज्ने घुसपैठियाहरूसँग झगडा पनि गऱ्यौं... म इतिहास जलाउने पक्षमा छैन, सिंहदरबार जलाउनेलाई कारबाही हुनै पर्छ।”
तर, यथार्थ त्यस्तो देखिंदैन। भदौ २४ मा विभिन्न ठाउँमा रहस्यमय ढंगले देखिएको उनको उपस्थितिसँगै भएका विध्वंस र आगजनीका घटनाको सदृश्य विवरण हामीले यस रिपोर्टको प्रारम्भमै उल्लेख गरिसकेका छौं। न अघिल्लो दिन, न त भोलिपल्ट, सम्भावित अप्रिय घटना रोक्न उनले प्रयास गरेको कतै देखिंदैन।
भदौ २३ गते स्कूल-कलेजको पोशाकमा आएका युवाको भीडमा गैरप्रदर्शनकारीहरू मिसिन्छन्। भिडिओ फुटेजमा उनीहरू ब्यारिकेड तोड्न प्रहरीहरूलाई धकेलिरहेका देखिन्छन्। त्यतिवेला आफू प्रदर्शनको आयोजक नै भए पनि ‘स्वयंसेवक’ बनेर गएको दाबी गर्ने सुदन गुरुङ ब्यारिकेडको केही कदम पर गाडीको छतमा उभिएर प्रदर्शनकारीहरूले ब्यारिकेड तोडेको कुनै खास प्रतिक्रिया विना एकटकले हेरिरहेका देखिन्छन्। त्यो दिन उनी माइतीघरदेखि नै प्रदर्शनकारीहरूसँगैै सानो गाडीको छतमा उभिएर ब्यारिकेडसम्म पुगेका थिए।
VIDEO
‘इनफ इज इनफ’, ‘घोपा बचाऊ’ जस्ता विरोध कार्यक्रम सञ्चालन गरिसकेका सुदन ब्यारिकेड तोडेपछि आउन सक्ने जोखिमबारे जानकार थिएनन् भन्न सकिंदैन। तर, यो प्रदर्शन पनि आयोजककै हैसियतले आह्वान गरेका उनले सम्भावित जोखिम आउन नदिन कुनै प्रयास गरेनन्। तपाईंले आफैंले हेरिरहेकै ठाउँमा ब्यारिकेड तोड्नबाट किन रोक्नुभएन भन्ने प्रश्नमा उनले चुनावको व्यस्तता देखाएर जवाफ दिएनन्।
फौजदारी मामिलाविज्ञ वरिष्ठ अधिवक्ता लभकुमार मैनालीका अनुसार, आयोजक र नेतृत्व लिने व्यक्ति स्वयं ब्यारिकेड तोडेको हेरिराखेका र त्यसो गर्न नदिन पहल नगरी निष्क्रिय बसेका छन् भने उनी पनि दोषको भागीदार हुन्छन्। मैनाली भन्छन्, “ब्यारिकेड तोडेपछि कस्तो प्रतिकार हुन्छ, गोली प्रहारसम्म हुन सक्छ भन्ने नसोचेकोमा उनलाई प्रश्न गर्न मिल्छ।”
मुलुकी अपराध संहिता, २०७४ को दफा ६४ मा हुलदंगा गराउने नियतले वा हुलदंगा हुन सक्छ भन्ने जानीजानी कुनै व्यक्तिलाई हुलदंगा गर्न दुरुत्साहन दिन हुँदैन भन्ने व्यवस्था छ। त्यसरी दुरुत्साहन दिने व्यक्तिलाई हुलदंगा भइसकेकोमा कानूनी कारबाही हुनसक्ने कानूनका दफा समेत उल्लेख गरेर सुदनको प्रतिक्रिया लिन खोज्दा सहयोगी मार्फत चुनावपछि मात्रै जवाफ दिने जानकारी गराए।
त्यहाँ गुरुङको उपस्थिति हेर्दा उनी कुनै कार्यको अनुगमन गरिरहेको जस्तो देखिन्थे। त्यतिवेलासम्म पटक पटक ‘आन्दोलनको आयोजक म होइन’ भन्ने गरेका उनले केही महीनापछि आफू नै आयोजक भएको स्वीकार गरिसकेका छन्। घाइते जेन-जीहरूले पनि उनीमाथि आन्दोलन हाइज्याक गरेको आरोप लगाएका छन्।
३६ वर्षका सुदन गुरुङ आफू जेन-जी उमेर समूहभित्र नपर्ने भएकोले शुरूमा आयोजक भन्दा अरूले विरोध गर्छन् भनेर माइतीघरदेखि बानेश्वरसम्म आयोजक नभनी बसेका हुन सक्छन्। तर, पछि जेन-जी नेताको हैसियतले सेना र राष्ट्रपतिको कार्यालयमा भएका वार्ता तथा सुशीला कार्की नेतृत्वको सरकार निर्माणमा प्रतिनिधित्व गरेका, रास्वपाका रवि लामिछानेलाई नख्खु जेलमा गएर भेटेका र छुटेपछि रवि, बालेन र कुलमान घिसिङलाई मिलाउने काम गरेका उनले कान्तिपुर टीभीको फायरसाइडमा आफू आयोजक भएको बताएका थिए।
VIDEO
किन ढाँटिरहेछन् सुदन?
भदौ २३ गते माइतीघरमा ‘हामी नेपाल’मा आबद्ध व्यक्तिहरू स्वयंसेवकको आवरणमा संस्थाको ज्याकेट लगाएर आएका थिए। संस्थाका अध्यक्ष सुदन गुरुङले आफू आन्दोलनको आयोजक नभएको भाषण गरे पनि त्यो दिन शान्तिपूर्ण जुलूस प्रदर्शनका लागि अनुमति लिन सुदन आफैंले काठमाडाैं जिल्ला प्रशासन कार्यालय गएर निवेदन दिएको तथ्य मंसीर दोस्रो साता जनआस्था साप्ताहिकले खुलासा गरेपछि बल्ल उनले आफू आयोजक पनि भएको तथ्य कान्तिपुर टीभीको फायरसाइडमा रूपेश श्रेष्ठसँगको अन्तर्वार्तामा स्वीकार गरेका हुन्।
त्यो दिन शान्तिपूर्ण आन्दोलन गर्ने भनेर तीनथरी जेन-जी समूहले छुट्टाछुट्टै लिएको अनुमति पनि शंकाको घेरामा परेको छ। आन्दोलनको अनुमतिका लागि दिइएका तीनवटै निवेदनमा ‘जेन-जी’ भन्ने शब्द नराखी ‘युवाहरूको आन्दोलन’ मात्र लेखिएको थियो। ती समूहमध्ये पुरुषोत्तम यादव र सबल गौतम तथा खेमराज साउद र अंकित मल्ल संलग्न दुईवटै समूह अहिले सुदन गुरुङसँग निकट देखिएका छन्। प्रदर्शनपछि सुदनले स्थापना गरेको जेन-जी काउन्सिलमा यादव केन्द्रीय सहसंयोजक र साउद सुदूरपश्चिम संयोजक छन्। अहिले रास्वपामा प्रवेश गरिसकेका पुरुषोत्तम यादव मधेशी समूहबाट समानुपातिक उम्मेदवार छन् भने खेमराज साउद पनि सुदन गुरुङसँगै रास्वपामा प्रवेश गरेका छन्।
माइतीघरमा ‘हामी नेपाल’को ज्याकेट लगाएका सुदनको टोलीका केही व्यक्ति शिरदेखि पाउसम्म कालो पहिरन, सिपाहीको कम्ब्याट पोशाक र अनुहार छोप्न नकाब जस्तो देखिने गरी माकलटोपी लगाएर देखा पर्नुले उनीहरूको उद्देश्य ‘शान्तिपूर्ण’ प्रदर्शन मात्र थियो कि त्योभन्दा बढी अरू केही भन्ने आशंका उब्जाएको छ। एउटा ‘सामाजिक संस्था’बाट ‘समाजसेवा’ गर्न आएका ‘स्वयंसेवक’लाई भदौको उखरमाउलो गर्मीमा कालो पहिरन र कम्ब्याट पोशाकमा अनुहार छोपेर आउनुपर्ने आवश्यकता किन पऱ्यो भन्ने कुरा आफैंमा रहस्यमय छ।
त्यस्तो वेशभूषामा आएकामध्ये जेनिश प्रधान प्रदर्शनमा वाकीटकी सहित उपस्थित थिए। शान्तिपूर्ण प्रदर्शनमा आएका प्रदर्शनकारी हुन् वा स्वयंसेवक, पहिचान लुकाउँदै देखा पर्नुले उनीहरू अर्कै कुनै निहित उद्देश्यले आएका त होइनन् भन्ने प्रश्न उठ्नु स्वाभाविक हो। त्यसमाथि प्रदर्शनकारीहरूमाझ त्यस्ता व्यक्ति छिरे लगत्तै ब्यारिकेड तोडिनु, तोडफोड र आगजनी हुनुले उक्त आशंकालाई नै थप पुष्टि गर्छ।
कान्तिपुर पत्रिकालाई सुदन गुरुङले बताए अनुसार, जेनिश प्रधानले त्यहाँ एम्बुलेन्स र स्वास्थ्यको टीमसँग सहकार्य गरेका थिए र त्यो दिन उनी जाजरकोट भूकम्पको राहत र उद्धारमा खटिएका वेला नेपाली सेनाले उपहार दिएको कम्ब्याट पोशाक लगाएर आएका हुन्। तर, यसबारे इमेल गरेर सोध्दा नेपाली सेनाले त्यस्तो पोशाक आफूले प्रयोग नगरेको र कसैलाई उपहार पनि नदिएको स्पष्ट पारेको छ। मीडियामा ‘सेनाले पोशाक उपहार नदिएको’ भन्ने समाचार आएपछि ‘हामी नेपाल’ले सेनाले उपहार दिएको कुरालाई मोडेर ‘अनअफिसियल्ली’ (अनौपचारिक रूपमा) दिएको भनी सामाजिक सञ्जालमा राखेको छ। सुदनलाई ‘हामी नेपाल’का स्वयंसेवीहरू किन माकलटोपी र कालो कमाण्डो पोशाकमा प्रदर्शनमा सहभागी भएका थिए भन्ने प्रश्न गर्दा उनले चुनावको व्यस्तता जनाएर जवाफ दिएनन्।
‘हामी नेपाल‘का सदस्य जेनिश प्रधान भदौ २३ गते बानेश्वरमा। तस्वीर : कान्तिपुर दैनिक
सुदन गुरुङले त्यो दिन मञ्चबाटै भाषण गरेर स्वयंसेवकको रूपमा खटिंदा आन्दोलनकारीलाई लक्षित गरेर एम्बुलेन्स र चिकित्सकको समेत व्यवस्था गरेको बताएका थिए। नेपाल प्रहरीका एक उच्च अधिकृतले आन्दोलनकारी आफैं एम्बुलेन्स र चिकित्सक लिएर आन्दोलन गर्न आएको यसअघि आफूले कहिल्यै नदेखेको र नसुनेको बताए। मीडियासँग कुरा गर्न अनुमति नभएका उनले भने, ‘आन्दोलनकारी घाइते भएका वेलामा हामीले नै एम्बुलेन्स मगाइदिने गर्दछौं।’
आफू विद्रोहको आयोजक होइन भन्दाभन्दै पनि सेनापतिसँग वार्ताको संयोजन गर्ने उनै सुदन गुरुङ थिए। सेनापतिसँग वार्ता गर्न उनलाई निर्देशन दिएका थिए– माघ ४ गते उनीसँगै रास्वपा प्रवेश गरेका बालेन्द्र शाहले। गुरुङले आन्दोलन आह्वान गर्दै भदौ २१ र २२ मा तीन वटा भिडिओ पनि सार्वजनिक गरेका थिए। भदौ २२ गते बेलुकी फेसबुकमा पोस्ट गरिएका ती भिडिओमा उनले भनेका छन्, ‘हाम्रा सबै च्याप्टरहरू तयार छन्। यो एक दिनको आन्दोलन होइन। जबसम्म परिवर्तन हुँदैन तबसम्म।... हामी सबै मिलेर गरौं। हामी सबै जना व्यक्तिगत स्वार्थ एकातिर राखौं।’
आन्दोलनमा चिकित्सक र एम्बुलेन्सको पनि व्यवस्था भएको उल्लेख गर्दै उनले भनेका छन्, ‘मलाई मेरो देश सुधार्नु पऱ्यो, सुध्रिनु पऱ्योे।’ उनको यो भनाइ जेन-जी प्रदर्शन बिथोल्न बुलेट बाइकमा प्रस्तुत भएका बाइकरहरूका नेता तेन्जिन दावा लामाको ‘मलाई मेरो देश फिर्ता चाहियो’ भन्ने भनाइसँग मिल्दोजुल्दो सुनिन्छ। तेन्जिन लगायत माइतीघरदेखि बानेश्वरसम्म बाइक पड्काउँदै भीडलाई उत्तेजित बनाउन सक्रिय भएकाहरूले ‘टिब्बेटियन ओरिजिनल ब्लड’ (टीओबी) लेखेको टिशर्ट लगाएका थिए।
लामाले नेतृत्व गरेको समूहका भदौ २३ का क्रियाकलापलाई लिएर मीडियामा चर्चा भएपछि असोजको अन्तिम साता उनी पक्राउ परे। त्यसपछि सुदनले आफूहरू टीओबीसँग सम्बन्धित नरहेको र साइबर सेनाले ‘हामी नेपाल’लाई बदनाम गर्न त्यसो भनेको भनेर फेसबुक भिडिओ मार्फत स्पष्टीकरण दिएका थिए।
टीओबीका तेन्जिन दावा लामा विरुद्ध नक्कली कागजात तयार पारी नागरिकता बनाएको र त्यसको आधारमा पासपोर्ट समेत लिएकोमा उनी विरुद्ध जिल्ला अदालतमा कीर्ते सहित नागरिकता ऐन र राहदानी ऐन विरुद्धको कसुर गरेको भनेर मुद्दा दायर भयो। कानूनमा यस्तो कसुर गर्नेलाई सात वर्षसम्म जेल सजाय हुने व्यवस्था छ। कानून अनुसार तीन वर्षभन्दा बढी जेल सजाय हुने कसुर गरेको र मुलुकभित्र स्थायी बसोबास नभएको व्यक्तिलाई पुर्पक्षका लागि थुनामै राख्नुपर्नेमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काले उनलाई रु.५ लाखको धरौटीमा छाडिदिएका छन्।
आन्दोलनको एक दिनअघि भदौ २२ गते ‘हामी नेपाल’को कार्यालय रानीबारीमा यसका कार्यक्रम संयोजक अनिल बानियाँले केही इन्फ्लुयन्सरहरू समेतको बैठकमा गरेको प्रस्तुतिको एउटा क्लिप संस्थाकै फेसबुक पेजबाट सार्वजनिक गरेका थिए। उक्त भिडिओमा बानियाँले भनेका छन्, ‘सीडीयो सा’ब आर्मीहरू सबैलाई स्पष्टसँग राखेका (भनेका) छौं, हामी व्यवस्था विरोधी होइनौं। हामीले यो प्रोटेस्ट छाड्नेवाला छैनौं। यसभन्दा पहिले ‘इनफ इज इनफ’ गऱ्यौं, धरानमा गऱ्यौं। यो हाम्रो तेस्रो-चौथो आन्दोलन हो। यस आन्दोलनमा न्यूनतम चार देखि पाँच सय जना हुन्छन्। किनकि भोलिको यो आन्दोलन पहिलो दिन हो।’
भदौ २२ गते राति नै फेसबुकमा राखेको भिडिओमा सुदन गुरुङले पनि आन्दोलनका सहभागीहरूलाई सूचना दिन ढिला भएकोमा माफी माग्दै आन्दोलनको योजना बनाउन व्यस्त भएको स्पष्टीकरण दिएका थिए। त्यसमा उनले भनेका थिए, ‘हामी सबै जनालाई एकजुट भएर आवाज उठाउन सकिन्छ भनेर हाम्रो भिन्न–भिन्न समूहहरूलाई पनि हामीले संयोजन गरिरहेका छौं।’ सुदनको टीमले चार-पाँच सय सहभागी हुने अनुमान गरेको र प्रशासनलाई चार-पाँच हजार हुने जानकारी गराएको थियो। यसको अर्थ पनि प्रदर्शनको आयोजक सुदन गुरुङ नै हुन् भन्ने देखिन्छ।
‘नेपाल जेन-जी फ्रन्ट’ भनेर खोलिएको जेन-जीहरूको नयाँ समूह लगायतका अन्य प्रदर्शनकारीका सदस्यहरू भने प्रदर्शनको स्वामित्व गुरुङ समूहलाई दिन सहमत छैनन्। फ्रन्टकी संयोजक रक्षा बमले प्रधान सेनापतिले बोलाएको वार्तास्थलमा पुगेर ‘वार्ता सेनापतिसँग होइन राष्ट्रपतिसँग गर्ने’ भनेकी थिइन्। तर, त्यही छेकोमा मौका छोपेर गैरजेन-जी सुदन गुरुङ जेन-जीहरूको प्रतिनिधित्व गरेर शुरूमा सेनापति र पछि राष्ट्रपतिसँग वार्ता गरी नयाँ सरकार बनाउन अग्रसर भए।
डिस्कर्डमा विद्रोह र विध्वंसको कम्युनिकेशन च्यानल र लगबुक राख्न छुट्टै वेबसाइट
भदौ २३ मा शान्तिपूर्ण रूपमा शुरू भएको प्रदर्शनमा घुसपैठ गरी त्यसलाई भड्काएर मुठभेट, हिंसा र आगजनीतर्फ उन्मुख गराउनु र भोलिपल्ट ठूलो विध्वंस, लूटपाट र आगजनीमा पुऱ्याउनुका पछाडि तत्कालीन सरकारले गरेको अमानवीय दमन र युवा प्रदर्शनकारीको हत्याप्रतिको आक्रोश पनि एउटा कारण थियो नै। तर, के यो सबै त्यो आक्रोशको मात्रै परिणाम थियो कि यसका पछाडि ठूलै स्तरको योजना पनि थियो भन्ने प्रश्न उतिवेलैदेखि प्रबल रूपमा उठेको हो। यस प्रश्नको जवाफ ‘हामी नेपाल’ र त्यससम्बद्ध व्यक्तिहरूले प्रदर्शन शुरू हुनुअघिदेखि केही पछिसम्म डिस्कर्डमा सञ्चालन गरेका कम्युनिकेशन च्यानल र घटनाको लगबुकले पनि दिन्छ।
‘हामी नेपाल’का अध्यक्ष सुदन गुरुङले भदौ २३ को प्रदर्शनका लागि प्रदर्शनकारीहरूबीच सूचना आदानप्रदान गर्न डिस्कर्डमा एउटा छुट्टै केन्द्रीय कम्युनिकेशन च्यानल बनाएका थिए। त्यसबारे प्रकाश पार्दै उनले २२ गते राति नै इन्स्टाग्राम र फेसबुकमा शेयर गरेको भिडिओमा राखिएको एउटा क्यूआर कोड स्क्यान गरेपछि उक्त च्यानलको आधिकारिक पेज ‘डिस्कर्ड सर्भर अफ युथ अगेन्स्ट करप्सन’ खुल्थ्यो। ‘हामी नेपाल’ले सञ्चालन गरेको देखिएको त्यो पेज प्रयोग गर्नेले त्यसमा उल्लेख भएका देशभरिका १० वटा ठूला शहरमध्ये कुनै छानेपछि सम्बन्धित शहरको सूचना आदान-प्रदान गर्न सक्थे। यस च्यानलमा के के सूचनाहरू आदान-प्रदान भए भन्ने चाहिं च्यानल बन्द भइसकेकोले हामीले थाहा पाउन सकेनौं।
तर, भदौ २६ गते एउटा युथ अगेन्स्ट करप्सन डट कम वेबसाइटबाट अर्काइभ भएको केही सामग्री पढेपछि भने हामीले डिस्कर्ड च्यानलबाट संकलन गरिएको सूचना के रहेछ भन्ने अनुमान गर्ने आधारहरू फेला पाऱ्यौं। हाल बन्द भइसकेको उक्त वेबसाइटमा राखिएका सूचनाहरू उक्त वेबसाइटमा राखिएका सूचना भण्डारण गरेर राख्ने अर्को वेब्याक मशीन (wayback machine) नामक साइटबाट लिएका हौं। (हेर्नुहोस् स्क्रिनशट, उक्त साइटमा भदौ २६, २७, २८ र ३० गते अपलोड भएका सूचनाहरू।) यसबाट उक्त साइटमा भदौ २३ र २४ गते दुवै दिन भएका हरेक घटनाको समयतालिका सहितको लगबुक राखिएको छ। यस वेबसाइटको खास सञ्चालक को हो खुल्दैन। तर, यो साइट सन् २०११ देखि कहिले सञ्चालन र कहिले बन्द गर्ने गरिएको विवरण भेटिन्छ।
यस वेबसाइटमा भदौ २३ र २४ गतेका हरेक ठूला घटनाको एकीकृत लगबुक तयार पारिएको छ। पहिलो दिनको लगबुकमा माइतीघरमा बिहान ८:४५ बजे ‘हामी नेपाल’ आइपुगेको, ९:०० बजे प्रदर्शन शुरू भएको, ११:३९ बजे प्रदर्शनमा सेलेब्रिटीहरूले समर्थन गरेको र अपराह्न १२:२६ बजे ब्यारिकेड तोडिएको उल्लेख छ। जिल्ला प्रशासन कार्यालयको आधिकारिक जानकारी अनुसार, स्थानीय प्रशासनले त्यसदिन १२:२७ बजे कर्फ्यू लगाएको थियो।
भदौ २३ को उक्त लगबुकमा १:४५ बजेसम्म धेरै आन्दोलनकारी घाइते भएका, एक जना पत्रकारलाई रबरको गोली लागेको र यही वेला ‘हामी नेपाल’को प्राथमिक उपचार शुरू भएको विवरण पनि राखिएको छ। त्यसपछि २:१६ बजेको विवरणमा ‘पहिलो मृत्यु पुष्टि भएको छ निजामती अस्पतालमा’ लेखिएको छ।
लगबुकमा दोस्रो दिन पनि समय नै उल्लेख गरेर बिहानैदेखि नेताहरूका घर जलाउन प्रदर्शनकारीहरू जम्मा भएकादेखि नेताहरूका घरमा आगो लागेको त्यसपछि संसद् भवन, सिंहदरबारमा प्रदर्शनकारीहरू पसेका र त्यहाँ आगजनी भएको तथ्य साइटमा राखिएको देखिन्छ। यसरी ठूला र महत्त्वपूर्ण संरचनाहरू जलिसकेपछि अपराह्न ४ः३४ बजे ‘हामी नेपाल ग्रुप काठमाडौंले भ्रष्ट सरकार विरुद्ध विजय हासिल गरेको’ भन्ने विवरण पनि साइटमा हालिएको भेटिन्छ। नेपाली सेनाले सञ्चालन गर्ने सुरक्षासँग सम्बन्धित महत्त्वपूर्ण गतिविधि तथा सूचना पनि लगबुकमा राखिएको छ। यस क्रममा भदौ २४ गते बेलुकी ६ः२५ बजे नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले केहीबेरमा राष्ट्रलाई सम्बोधन गर्दै हुनुहुन्छ भन्ने जानकारी पनि लगबुकमा दिइएको थियो। आम मानिसले यो सूचना त्यसको साढे दुई घण्टापछि ९ः०० बजे मात्र सेनापति अशोकराज सिग्देलको फेसबुक लाइभ शुरू भएपछि थाहा पाएका थिए।
समयबद्ध ढंगले यस स्तरको सूचना, जानकारी सहितको वेबसाइट सञ्चालन र अपडेट गर्न सेनाको भित्री तहसम्म पहुँच भएको ठूलै टीम खटिएको हुन सक्ने अनुमान गर्न सकिन्छ। सुदन गुरुङलाई उक्त वेबसाइट चलाउनु र यी सबै विवरणहरू त्यसमा राख्नुको उद्देश्य के थियो भनेर सोध्दा उनले चुनावी व्यस्तताको कारण देखाएर जवाफ दिएनन्।
यी सबै विवरण वरिष्ठ अधिवक्ता लभकुमार मैनालीसामु राखेर यसको तात्पर्य के हुन सक्छ भनेर जिज्ञासा राख्दा उनले भने, “यो लगबुक बनाउनेहरूको सञ्जाल रहेछ। उनीहरूले सेनाको सूचना समेत पाएका हुन् भने निश्चित उद्देश्यले पहिलेदेखि गृहकार्य गरेका र त्यही उद्देश्य प्राप्तिका लागि आन्दोलनमा समावेश भएका थिए भन्ने अर्थ लाग्छ। उद्देश्य पूरा गर्नका लागि पूर्वतयारी सहित संगठित रूपमै उनीहरू परिचालित रहेछन् भन्न सकिन्छ। महत्त्वपूर्ण कुरा चाहिं उनीहरूको उद्देश्य के थियो भन्ने पत्ता लगाउनुपर्ने हुन्छ।”
लगबुकसँगै अपलोड भएको अर्को विवरणमा प्रदर्शनका लागि हेल्पलाइन सम्पर्क नम्बरहरू दिइएका थिए, जसमा काठमाडौं महानगरपालिकाका नगर प्रहरी र कर्मचारी, खास गरी महानगरपालिकाको शहरी योजना आयोगका सदस्यहरूको सम्पर्क नम्बर छ। लजिस्टिक र दातासँग सम्पर्क गर्नका लागि विवेक बास्तोलाको नम्बर दिइएको छ, जो काठमाडाैं महानगरपालिकाका एसोसिएट तथ्यांक विश्लेषक हुन्। यसैगरी संस्थागत सहयोग र गुनासो सुनुवाइका लागि सुदीप ढकालको सम्पर्क नम्बर उपलब्ध गराइएको छ। महानगरपालिकाका सूचना प्रविधि सल्लाहकार ढकाल अहिले रास्वपाबाट समानुपातिक उम्मेदवार छन्।
सम्पर्क नम्बरकै सिलसिलामा ‘हामी नेपाल/नेपाली सेना’ शीर्षक दिएर राखिएका चार वटा फोन नम्बरलाई ‘हामी नेपाल’को सम्पर्क नम्बर भनी उल्लेख गरिएको छ र त्यसमा एक जना पहिचान नखुल्ने व्यक्तिको नाम र नम्बर हालिएको छ। यसरी सेनाको नाम समेत जोडेर राखिएका सम्पर्क नम्बरहरूमा नेपाली सेनाकै चाहिं एउटै नम्बर छैन। सेनाले नेपाली सेनाको भनी राखिएका ‘ती सम्पर्क नम्बरहरू नेपाली सेनाको नभएको’ पुष्टि गरेको छ। तर, नेपाली सेनाको भनी गैरसेनाको सम्पर्क राख्ने विषयमा टिप्पणी गर्न आग्रह गर्दा सेनाले कुनै खास प्रतिक्रिया दिएन।
यी सबै तथ्यका बारेमा वरिष्ठ अधिवक्ता मैनाली भन्छन्, “यी तथ्यबाट भदौ २३ र २४ का घटनामा गैरसरकारी संस्था हामी नेपाल र काठमाडौं महानगरपालिका नेतृत्वको भूमिका शंकाको घेरामा परेको देखिन्छ।”
लगबुकमा केपी ओलीले राजीनामा गरेको समय २:२७ बजे लेखिएको छ भने ‘हामी नेपाल’को फेसबुक पेजमा २:२८ मा केपी ओलीले राजीनामा गरेका छन् भन्दै यसलाई युवाको जीतको रूपमा उद्घोष गरिएको छ। नयाँ सरकार गठन भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न लगाउन सुदन गुरुङले अभियान नै चलाए। उनकै संयोजनमा शहीद परिवार र घाइतेहरूका तर्फबाट ओली र लेखकलाई पक्राउ गर्न माग गर्दै प्रहरी परिसर भद्रकालीमा जाहेरी दिइयो। त्यस लगत्तै यस विषयमा छलफल गर्न सबै सुरक्षा निकाय समेतको उपस्थितिमा असोजको अन्तिम साता एक दिन अपराह्नदेखि मध्यरातपछिसम्म बालुवाटारमा प्रधानमन्त्रीको संयोजकत्वमा बैठक बस्यो। त्यस बैठकको एक मात्र छलफलको विषय केपी ओली र रमेश लेखकलाई पक्राउ गर्ने भन्ने थियो।
आफ्नो माग बमोजिम सरकारले उहाँहरूलाई पक्राउ नगरेपछि सुदनले बहालवाला गृहमन्त्री ओमप्रकाश अर्यालकै राजीनामा माग गर्दै महीना दिनभन्दा बढी समय मीडियामा बोले र ‘हामी नेपाल’का सामाजिक सञ्जालहरूमा स्टाटस राखिरहे। तर, उनले भदौ २३ र २४ का घटनाको छानबीन गर्न गठित गौरीबहादुर कार्कीको आयोगले प्रतिवेदन तयार पार्न ढिला गरिरहेकोमा भने कतै बोलेको सुनिएको छैन। उता जेन-जी प्रदर्शनपछि उदाएका युवा नेता रक्षा बम, तनुजा पाण्डे, रिजन रानामगर लगायतले प्रतिवेदन तयार पार्न गरेको ढिलाइप्रति भने आपत्ति जनाएका छन् र उक्त रिपोर्ट सार्वजनिक नगरे अर्को आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।
पुरस्कृत भए आगजनीका कर्ता र समर्थक-प्रशंसक
भदौ २४ को आगजनीमा संलग्न भएका र त्यस दिन भएको व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिको आगजनी र तोडफोडलाई समर्थन गर्ने वा बढावा दिने अभिव्यक्ति दिएका व्यक्तिहरूउपर कुनै कारबाही भएको छैन। एकातिर त्यस दिनका घटनामा को को संलग्न र जिम्मेवार छन् पत्ता लगाएर कारबाहीको बाटो खोल्नुपर्ने छानबीन आयोगले प्रतिवेदन दिएको छैन भने अर्कातिर शुरू शुरूमा आफ्नै पहलमा अनुसन्धान गरी कारबाही प्रक्रिया थालनी गरेको प्रहरी पनि सुदन लगायतका जेन-जीहरूकै विरोधका कारण पछाडि हटेको छ। त्यसमाथि आफूलाई नयाँ शक्तिका रूपमा चिनाउने राजनीतिक दलले त्यस्ता व्यक्तिलाई प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाएका छन्। देशमा ‘कानूनभन्दा माथि कोही छैन’ भन्ने मान्यता राख्ने संविधान छ। तर, आगजनी र विध्वंसका कर्ता तथा समर्थक-प्रशंसकहरू भने सांसद बनेर मुलुकको कानून बनाउने जिम्मेवारी बहन गर्न उद्यत भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले भदौ विद्रोहको दोस्रो दिन आगजनी र विध्वंसमा संलग्न आफ्ना कार्यकर्तालाई शुरूमा अनुशासनको कारबाही गरेको थियो। भदौ ३० मा जारी प्रेस विज्ञप्तिमा उसले असामान्य परिस्थितिको फाइदा उठाएर नियतवश सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, चोरी, लूटपाट र आगजनी जस्ता आपराधिक गतिविधिमा संलग्न हुनेलाई कानून बमोजिम हदैसम्मको कारबाही गर्न माग गरेको थियोे। आधिकारिक रूपमा यस्तो माग गरे पनि भदौ २४ को आगजनी र विध्वंसमा संलग्नहरूलाई नै टिकट दिएर रास्वपाले दोहोरो चरित्र देखाएको छ।
भदौ २४ को विध्वंसको जिम्मा आजसम्म कसैले लिएको छैन। व्यक्तिको घर जलाउने र सार्वजनिक सम्पत्तिमा आगो लगाउनेहरूलाई फौजदारी अभियोग लगाउनुपर्ने कानूनमा स्पष्ट व्यवस्था छ। नेपालको मुलुकी संहिताको दफा २८५ मा सार्वजनिक, सरकारी वा निजी सम्पत्तिमा क्षति पुऱ्याएकोलाई आपराधिक उपद्रवको कसुर लगाइने व्यवस्था रहेको छ। र, त्यस्तो कसुर गर्नेलाई चार वर्षसम्म कैद र रु.४० हजार जरिवाना सहित भएको हानिनोक्सानीको क्षतिपूर्ति रकम समेत तिराउनुपर्ने व्यवस्था छ। यसैगरी सोही दफा बमोजिम ऐतिहासिक लिखत राखिएको वा हतियार तथा खरखजाना भण्डारण गरी राखेको प्रहरी कार्यालयमा आगो लगाएका वा विष्फोटक पदार्थ प्रयोग गरेमा जन्मकैदको सजाय र बिगो बमोजिम जरिवाना पनि हुने व्यवस्था रहेको छ।
संसद् भवन जलाउने काममा संलग्न मोरङ-२ का रास्वपा उम्मेदवार कृष्णकुमार कार्की पक्राउ परेनन्। उनी विरुद्ध अनुसन्धान भएको जानकारी पनि छैन। उनले शिलापत्र सँग कुरा गर्दै यतिसम्म त आफैं पनि स्वीकार गरेका छन्, ‘त्यो वेला जेन-जी आन्दोलनमा गएको सत्य हो। तर, मैले सिंहदरबार, संसद् भवनमा आगो लगाएको होइन। वायु सेवा निगमबाहिर भएका थोत्रा कुर्सी चाहिं आगोमा फ्याँकिदिएको हो। यो कुरा मेरो फेसबुकमा पनि छ।’
तर, उनको संलग्नता यतिमा मात्र थिएन। प्रतिनिधिसभाका लागि रास्वपाले उम्मेदवार बनाएका कृष्णकुमार कार्की संसद् जलाउन गएका भिडिओ र तस्वीरहरू सञ्चारमाध्यममा छ्याप्छ्याप्ती भएका छन्। यसलाई लिएर जेन-जी अभियन्ता तनुजा पाण्डेले चिन्ता व्यक्त गरेकी थिइन्। जेन-जीलाई विध्वंसको जिम्मेवार भनेर आतंककारी बनाइएको छ। तर, यथार्थ त्यस्तो छैन भन्ने दुखेसो गर्दै उनी फेसबुकमा लेख्छिन्, ‘सबै विध्वंसको जिम्मा जेन-जीको काँधमा थुपारियो। जवाफदेहिता माग्ने जेन-जी आतंककारी बन्यो। जेन-जीको रगतबाट जन्मिएको सरकार गठन प्रक्रिया पनि हरेक चरणमा हाइज्याक भएको देख्यौं।’
हाल ललितपुर-३ मा रास्वपाबाट निर्वाचनमा होमिएकी तत्कालीन सांसद डा. तोसिमा कार्की पनि संसद् भवन जलिरहँदा त्यहाँ पुगेकी थिइन्। उनले कोही घाइते छन् कि भनेर त्यहाँ पुगेको स्पष्टीकरण दिए पनि उनको कुरा पत्यारिलो लाग्दैन।
त्यो दिन आगो लगाइएका स्थानमा गई विध्वंसकारी काम ठीक थियो भन्ने सन्देश दिनेमा चेतन सापकोटा, अमनप्रताप अधिकारी जस्ता कतिपय चर्चित कलाकार पनि छन्। उनीहरू सबैले पछि स्पष्टीकरण दिएर आफू त्यहाँ भइरहेको आगजनी रोक्न गएको दाबी गरे पनि कर्फ्यू लागेका वेला कर्फ्यूको उल्लंघन गरेर किन आगजनी तथा विध्वंस भइरहेको ठाउँमा पुगे भन्ने चित्तबुझ्दो जवाफ दिन सकेका छैनन्। उनीहरू निर्वाचनमा उम्मेदवार भने छैनन्।
कानून व्यवसायी सुलभ खरेल रूपन्देही-२ मा रास्वपाबाट उम्मेदवार छन्। उनले भदौ २४ गते सर्वोच्च अदालत र नेपाल बार एसोसियसनको भवन जलिरहँदा खुशी मनाउँदै फेसबुकमा स्टाटस लेखेका थिए। चर्को आलोचनापछि हटाइएको सो स्टाटसमा उनले भनेका थिए, ‘सर्वोच्च अदालत जल्दै गर्दा तपाईंको मन रोएको होला, तर मेरो मन एक रत्ती पनि रोएको छैन। नेपाल बार भवन जल्दै गर्दा पनि तपाईंको आँखा रसाएको होला, तर मेरो आँखा एक रत्ती पनि रसाएको छैन। ...’
उनलाई सर्वाेच्च अदालतमा चलिरहेको संसद् पुनर्स्थापनाको मागको सम्बन्धमा चलिरहेको संवैधानिक इजलासमा सोही स्टाटसलाई इंगित गर्दै प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत लगायतले प्रश्न गरेपछि उनी इजलासमै बेहोस भई ढलेका थिए। राउतले संवैधानिक इजलासमा बहस गर्न पुगेका खरेललाई ‘एउटा कानून व्यवसायीले मर्यादा राख्नुपर्छ कि पर्दैन? तपाईं सर्वोच्च अदालत र बारमा आगजनी हुँदा खुशी हुनुपर्ने कारण के हो?’ भनी सोधेका थिए।
रास्वपाका नेता तथा हाल मोरङ-३ का उम्मेदवार गणेश कार्कीले भदौ २४ दिउँसो पोस्ट गरेको एउटा फेसबुक स्टाटसमा उनले संसद्मा आगो लागेको सूचना दिंदै आफूहरूसँग भएका सबै साथी सकुशल रहेको जानकारी गराएका थिए। उनी लेख्छन्, ‘संसद् भवन जल्न शुरू भएको छ। सुरक्षित रहनु होला, अडिग रहनु होला।’
भदौ २३ र २४ का घटनाको सत्यतथ्यको निष्पक्ष र वस्तुगत छानबीन भएको छ र त्यसको प्रतिवेदन आउने हो भने शान्तिपूर्ण आन्दोलन बिथोल्ने र भड्काउने, विध्वंस र आगजनी गर्ने काममा संलग्न भएका अरू धेरै पनि चुनावमा प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार भएका भेटिन सक्छन्। तर, त्यस्ता व्यक्ति अहिले उम्मेदवार भए अनि निर्वाचित भए भने पनि केही फरक पर्दैन भन्छन् अपराधशास्त्री लभकुमार मैनाली। उनको भनाइ छ, “यस्तो घटनामा हदम्याद हुँदैन, भोलि अनुसन्धान भई अभियोजन भएर दोषी देखिए भने भोग्नुपर्ने सजायबाट मुक्ति पाउन सक्दैनन्। विगतमा पनि अपराधमा संलग्नहरूको सांसद पद खोसिएका उदाहरणहरू छन्।”
आगजनी गर्न उक्साउने वा छेउमा उभिएर ताली पिट्ने वा खुशीयाली मनाउने जो कोही हुन्, सबैलाई उनीहरूले गरेको कसुर बमोजिम सजाय हुन सक्ने बताउँछन्, मैनाली। उनका अनुसार, मुलुकी अपराध संहिताको दफा ६९ मा जानीजानी कर्फ्यू उल्लंघन गर्दा एक वर्ष कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ।
हामी नेपाल : संदिग्ध आर्थिक स्रोत र शून्य पारदर्शिता
जेन-जी प्रदर्शनपछि एकाएक ‘हामी नेपाल’सँग ‘बारबरा फाउण्डेशन’ भन्ने एउटा संस्थाको नाम जोडिन पुग्यो।
बारबरा फउण्डेशन बेलायतकी महारानी एलिजाबेथ द्वितीयको नेपाल भ्रमणको सिलसिलामा सन् १९६१ मा नेपाल आएर राजपरिवारका सदस्य बसुन्धरा शाहसँग सम्बन्ध गाँसेकी अमेरिकी पत्रकार बारबरा एडम्सद्वारा १६ वर्षपहिले स्थापित गैरसरकारी संस्था हो। जीवनको उत्तरार्धमा अंगीकृत नेपाली नागरिकता पाएकी बारबराले बाँकी जीवन नेपालमै पत्रकार तथा सामाजिक कार्यकर्ता भएर बिताइन्। बारबरा आफैंले लेखेको २० वर्षअघि प्रकाशित ‘नेपाल क्राइसिस अनलिमिटेड’ पुस्तकमा उनले आफूले विचार व्यक्त गरेकै कारणबाट दुई पटक निर्वासनमा जानु परेको पनि उल्लेख गरेकी छन्। नेपालमा स्थापित यो फाउण्डेशन हाल प्रसिद्ध नेत्र चिकित्सक डा. सन्दुक रुइतको अध्यक्षतामा सञ्चालन भइरहेको छ।
फाउण्डेशनले तीन वर्षअघि कोभिड-१९ को समयमा मानवीय सहायता र स्वास्थ्योपचारमा काम गरे वापत ‘हामी नेपाल’लाई ‘कोभिड-१९ वरिष्ठ सम्मान पुरस्कार’ प्रदान गरेको थियो। त्यतिवेला ‘हामी नेपाल’ सहित सात वटा संस्थालाई सम्मान गरेको फाउण्डेशनले २० चिकित्सक, २७ नर्स र १९ जनस्वास्थ्यकर्मीलाई नगद पुरस्कार सहित सम्मान गरेको थियो। पुरस्कारका लागि रु.१ करोड फाउण्डेशनकै सञ्चालक सदस्य तथा नेपालमा किया कारका आधिकारिक बिक्रेता कम्पनी कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज लिमिटेडका अध्यक्ष सुहृदराज घिमिरे र उनकी छोरी अदिति घिमिरेले उपलब्ध गराएका थिए भनेर बारबरा फाउन्डेशनले हिमालखबर लाई बताएको छ। तर, संस्थाको वेबसाइटबाट लिइएको चेकको तस्वीरमा भने घिमिरेले आफू अध्यक्ष रहेको कम्पनी कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिको खाताबाट रु.१ करोड रकम २०७८ साउन १६ मा उपलब्ध गराएको देखिन्छ।
हामीले फेरि फाउण्डेशनलाई दोस्रो इमेल पठाएर उक्त रकम व्यक्तिको खाताबाट नभई कम्पनीको खाताबाट आएको देखिन्छ भनेर राखेको जिज्ञासामा कुनै जवाफ प्राप्त भएन। साथै, हामीले उक्त कम्पनीले कुन शीर्षकमा खर्च लेखेर फाउण्डेशनलाई दिएको हो भन्ने प्रश्नको पनि फाउण्डेशनले जवाफ दिएन।
गैरकानूनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने ‘ट्याक्स हेभन’ मुलुकहरूमा अफशोर कम्पनी खोलेर लगानी गर्ने १६ नेपाली व्यवसायीमध्ये घिमिरे पनि पर्छन्। अमेरिकाको इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट (आईसीआईजे) र नेपालको खोज पत्रकारिता केन्द्र (खोपके)ले २०७८ सालमा खुलासा गरेको ‘प्यान्डोरा पेपर्स’का अनुसार घिमिरेले सन् २००९ मा व्यावसायिक साझेदारसँग मिलेर नेपाली पासपोर्ट प्रयोग गरी ब्रिटिस भर्जिन आइल्याण्डमा एउटा कम्पनी खोलेका थिए। खोपकेका अनुसार भ्रष्टाचार र सुशासनको एजेण्डामा काम गर्ने संस्था बारबरा फाउण्डेशनलाई अनुदान रकम दिने घिमिरे बालुवाटार जग्गा काण्डमा पनि जोडिएका व्यक्ति हुन्।
फाउण्डेशनलाई उक्त रकम दिनुभन्दा दुई वर्षअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घिमिरेले आफ्ना साझेदार पुरुषोत्तम पौडेल र उनकी सासु इन्दु शर्माको नाउँमा किनेको बालुवाटारको जग्गा जफत गर्ने प्रयोजनका लागि भ्रष्टाचारको मुद्दा हालेको थियो। २०८० फागुनमा विशेष अदालतले दुवैको नाउँमा भएको १३ रोपनी जग्गा जफत गर्ने फैसला गरेको थियो। हामीले विवादित संस्थाबाट रकम लिएको बारेमा प्रतिक्रिया पठाउन भन्दै गरेको इमेलको पनि एक सातासम्म फाउण्डेशनबाट जवाफ प्राप्त भएन।
‘हामी नेपाल’लाई ‘बिजनेश ३६०’ नामक म्यागजिनले चैत २०७८ मा ‘३६० इम्प्याक्ट अवार्ड’बाट सम्मानित गरेको छ।
‘हामी नेपाल’ले कोभिड महामारीका वेला स्वयंसेवक खटाउन र मेडिकल इक्विपमेन्ट तथा राहत सामग्री संकलन गर्न थालेयता चार वर्षजति बालुवाटारस्थित बारबरा फाउण्डेशनको कार्यालय प्रयोग गरेको थियो। जेन-जी आन्दोलन र त्यसपछिको विध्वंसमा ‘हामी नेपाल’को सहभागितालाई लिएर प्रश्न उठेसँगै बारबरा फाउण्डेशनसँगको सम्बन्ध पनि चर्चामा आयो। फाउण्डेशनले ‘हामी नेपाल’सँग आफ्नो संस्थाको कुनै आर्थिक सम्बन्ध नभएको दाबी गर्दै फाउण्डेशनका अध्यक्ष डा. सन्दुक रुइतले भदौको अन्त्यतिर पत्रकार सम्मेलन गरी संस्थाका बारेमा अनर्गल प्रचार फैलाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका थिए। ‘हामी नेपाल’का संस्थापक अध्यक्ष गुरुङले पनि आफ्नो संस्थालाई विदेशी शक्तिहरूसँग जोडेकोमा आपत्ति जनाएका छन्।
‘हामी नेपाल’ले २०७८ मंसीरमा सम्पन्न आफ्नो संस्थाको पहिलो साधारणसभामा बारबरा फाउण्डेशनका अध्यक्ष डा. सन्दुक रुइतलाई सम्मान गरेको थियो। उनीसँगै सम्मानित हुनेमा कोभिडको पहिलो लहरताका ज्वरो नाप्ने थर्मल गन कालोबजारी गरी बदनाम भएका शंकर समूहका उपाध्यक्ष सुलभ अग्रवाल र इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट पनि थिए। शंकर समूहका साथै उच्च सरकारी पदाधिकारी र कर्मचारीलाई प्रभावमा पारी आफू अनुकूल निर्णय गराउन सक्रिय भट्ट पनि ‘हामी नेपाल’का सहयोगी हुन्।
उक्त साधारणसभामा संस्थाको हरहिसाब पारदर्शी राख्ने निर्णय भएको थियो। तर, आज पाँच वर्षपछि पनि ‘हामी नेपाल’को आर्थिक कारोबारको हिसाब पारदर्शी रूपमा वेबसाइटमा राखिएको पाइँदैन। कात्तिक ४ गते सुदनले विदेशी अन्तर्राष्ट्रिय संस्थासँग १ डलर पनि ल्याएको प्रमाण भए त्यो पनि सार्वजनिक गर्न चुनौती दिएका छन्।
कात्तिक ४ मा पोस्ट भएको फेसबुक भिडिओमा उनले ‘हामी नेपाल’लाई कसैले नगद अनुदान नदिएको दाबी गरे पनि यो सत्य देखिंदैन। निर्माणाधीन लेखिनुअघि साइटबाट लिइएको विवरणमा उक्त संस्थासँग रु.६३ लाख ५२ हजार नगद मौज्दात देखिन्छ। संस्थाले हालसम्म रु.२२ करोड ४७ लाख नगद अनुदान र रु.७ करोड ३ लाख बराबरको जिन्सी सामग्री प्राप्त गरेको उक्त वेवसाइटमा देखिन्छ। संस्थाले गएको आर्थिक वर्ष २०८१/८२ को आर्थिक विवरण कर कार्यालयमा बुझाएको छैन।
गत असोजमा ‘हामी नेपाल’को वेबसाइटमा राखिएको आर्थिक पारदर्शिताबारे विवरण र दायाँतिर माघको २७ गते सोही साइटबाट आर्थिक विवरण हटाइएको सूचना।
कान्तिपुर टेलिभिजनमा रूपेश श्रेष्ठसँगको अन्तर्वार्तामा सुदनले आफू धेरै पारदर्शी भएकोले शत्रुहरूले प्रहार गरिरहेको बताएका छन्। त्यसमा उनले भनेका छन्, ‘पारदर्शी हुनुपर्छ भन्दै हामी पहिले लाग्यौं। तर, हामीले पछि आएर गल्ती गरेछौं भन्ने लाग्यो। हामीले सबै सार्वजनिक गर्न हुँदैनथ्यो। कति कुरा प्राइभेट पनि राख्नुपर्ने रहेछ। ताकि त्यो शत्रुले हामीलाई प्रहार गर्न नसकोस्, (सूचनाको) दुरुपयोग गर्न नसकोस्।’
संस्थाको सबै आम्दानी-खर्चको हरहिसाब किन सार्वजनिक नगरेको भनेर पनि हामीले सुदनलाई सोधेका थियौं। उनले हाम्रा प्रश्नहरू प्राप्त गरेको जानकारी त पायौं तर कुनै जवाफ पठाएका छैनन्।