खम्पा विद्रोहीलाई निशस्त्रीकरण गर्ने अभियानमा संलग्न बालानन्द शर्मा अहिले बाह्य शक्तिको रणनीतिक प्रभाव र प्रहारबाट नेपाललाई जोगाउने भूमिका सहित परराष्ट्र मन्त्रीको जिम्मेवारीमा छन्। २०३१ साउनमा उनी सहित सय जवान नेपाली सेना हातहतियार बोकेर खम्पा विद्रोहीलाई नियन्त्रण गर्न जोमसोम पुगेका थिए।
चीनसित सामरिक संघर्ष चर्काउने योजनामा रहेका संयुक्त राज्य अमेरिका र भारतले तिब्बतबाट निर्वासित खम्पाहरूलाई हतियार दिई नेपालको उत्तरी भेग मुस्ताङमा ‘सशस्त्र स्वतन्त्र तिब्बत संघर्ष’ चलायो। त्यसका निम्ति भारतको दार्जिलिङमा पढाउनेदेखि गुरिल्ला तालीम दिनेसम्मको काम अमेरिकीहरूले खुफिया एजेन्सी (सीआईए) मार्फत गरेका थिए। यसमा भारतीय गुप्तचर संस्था (शुरूमा आईबी पछि ‘रअ’) को पनि साथ र सहयोग थियो।
सन् १९५७ मा खम्पा विद्रोही कमान्डर गे हिसीलाई अमेरिकी गुप्तचर संस्था सीआईएका अधिकारीहरूले कोलोराडोमा तालीम दिएर पठाए। सन् १९६२ पछि भारत खम्पा विद्रोहमा संलग्न भयाे। त्यसपछि सीआईएले अमेरिकाबाट सारेर भारत, देहरादूनस्थित चक्रातामा खम्पा लडाकाहरूलाई तालीम दिन शुरु गऱ्यो। सन् १९५७ मा कालिङपोङलाई अखडा बनाएर अमेरिकाले चिनियाँ सेनालाई रोक्न पहिलो पटक सैन्य सहयोग उपलब्ध गरायो।
चीनको कडा आपत्तिपछि १४ नोभेम्बर १९५९ मा भारतले नेपाली, भूटानी र सिक्किमी बाहेकका विदेशी नागरिकलाई ७ दिनभन्दा बढी कालिङपोङ बस्न अनुमति लिनुपर्ने नियम बनायो। त्यसपछि अमेरिकाले आफ्नो गोप्य मिशन कालिङपोङबाट सारेर मुस्ताङ पुऱ्यायो। अमेरिका र भारतले उनीहरूलाई आर्थिक र हातहतियार सहयोग गरिरहे। ‘खम्पाको लागि खाद्यान्न, लत्ताकपडा, औषधि, हातहतियार र पैसा उपलब्ध गराउन मुस्ताङमा एउटा एअरपोर्ट नै निर्माण गरिएको थियो। राजधानी काठमाडौंबाट यी सामान ढुवानी गर्न स्युचाटारमा पनि अमेरिकी सरकारले एअरपोर्ट निर्माण गरेको थियो। त्यहाँ नेपाली नागरिकलाई प्रवेश गर्ने अनुमति थिएन।
सन् १९७० को दशकमा खम्पा विद्रोहका दुई लडाकु सहित नाइके वाङ्दी (बीचमा) / फोटो स्रोतः माइक डनहाम
एअरपोर्टमा अमेरिकीहरूले पहरा दिन्थे। उनीहरूले खम्पाहरूलाई सहयोग गर्न रसुवाको थाम्बुचे, ताप्लेजुङको जरिटार र सोलुखुम्बुको फाप्लुमा पनि एअरपोर्ट निर्माण गरेका थिए। खम्पा विद्रोह नियन्त्रणमा संलग्न ताम्ला उक्यावले भनेका छन्, ‘खम्पाकै कारण नेपालको हिमाली भेग अन्तर्राष्ट्रिय शक्ति केन्द्रको क्रीडास्थल बनेको थियो ।’ (पृ.१५७) । तिब्बतबाट निर्वासित दलाई लामाको साथ र सहयोगमा यी सबै भएका थिए।
मुस्ताङ अपरेशन
२०२९ सालको अन्त्यतिर दलाई लामाले खम्पा कमान्डर जनरल गे हिसीलाई नयाँदिल्ली बोलाएर नेतृत्व उनीभन्दा जुनियर गे वाङ्दीलाई हस्तान्तरण गर्न आदेश दिए। तर, हिसी आफूभन्दा जुनियर वाङ्दीलाई कमान्डर मान्न मञ्जुर भएनन्। दलाई लामाले गे वाङ्दीलाई कमान्डर बनाएपछि हिसी र वाङ्दी खेमाबीच तिक्तता बढ्दै गयो। हुँदाहुँदा उनीहरूबीच कुटाकुट हुन थाल्यो। यस्तैमा एक दिन हिसीले राजा वीरेन्द्रलाई पत्र लेखेर आफ्नो सुरक्षा हुने भए आत्मसमर्पण गर्न मञ्जुर रहेको उल्लेख गरेपछि राजाले त्यसको जिम्मा लिइदिए। २०१५/०१६ सालमा खम्पा विद्रोह शुरू हुँदा महेन्द्र राजा थिए। २०३१ सालमा राजा वीरेन्द्रले सैन्य परिचालन गरी यस विद्रोहको अन्त्य गरे।
अहिलेका परराष्ट्र मन्त्री तथा तत्कालीन नेपाली सेनाका क्याप्टेन बालानन्द शर्मा खम्पा विद्रोहीलाई निशस्त्रीकरण गर्ने अभियानमा संलग्न थिए। उनकै नेतृत्वमा २०३१ साउनमा १०० जवान नेपाली सेना हातहतियार बोकेर जोमसोम पुग्यो। बालानन्द शर्माले किताबमा भनेका छन् ‘२०३१ सालमा म राजदल (तोपखाना)मा कार्यरत थिएँ। यतिवेला मुस्ताङमा खम्पाको क्रियाकलाप डरलाग्दो भएर फैलिसकेको थियो। एक दिन मलाई सेनाको माथिल्लो निकायबाट खबर आयो– मुस्ताङ अपरेशनका लागि तयारी अवस्थामा बस्नू।’ तिनै बालानन्द अहिले बाह्य शक्तिको रणनीतिक प्रभाव र प्रहारबाट नेपाललाई जोगाउने भूमिका सहित परराष्ट्र मन्त्रीको जिम्मेवारीमा छन्।
२०३१ भदौ २४ मा सैनिक कारवाहीमा परी दार्चुलाको तिंकरमा गे वाङ्दीको ज्यान गएसँगै नेपालको सुरक्षा मामिलामा बाधा बनेको खम्पा विद्रोहको पनि अन्त्य भयो। तत्कालीन श्री ५ को सरकारले नेपाली भूमि प्रयोग गरेर उत्तरी मित्रराष्ट्र विरुद्ध सशस्त्र विद्रोह गरिरहेकाहरूलाई सफलतापूर्वक समाधान गरेको थियो।
को थिए खम्पा विद्रोही?
पूर्वी तिब्बतको खाम क्षेत्रका आदिवासी हुन्, खम्पा। खाम क्षेत्रमा बसोबास गर्ने खम्पाहरूसित नेपालको कुनै साइनो सम्बन्ध थिएन। किनभने, त्यो भू-भाग नेपाली सिमानादेखि ४ हजार किलोमीटर टाढा पर्छ। अग्ला कद भएका खम्पाहरू बौद्ध धर्म मान्छन् र घोडचढीमा अत्यन्त पोख्त हुन्छन्। तिब्बती भाषामा खम्पाको अर्थ ‘लडाकु’ भन्ने हुन्छ। खम्पाहरू त्यतिवेला चर्चाको चुलीमा पुगे, जतिवेला उनीहरूले नेपाली भू-भागलाई रणनीतिक रूपमा प्रयोग गरेर चीन विरुद्ध स्वतन्त्र तिब्बत आन्दोलन चर्काए।
दलाई लामा भारत प्रवेश गरेपछि तिब्बतमा गडबडी हुन सक्छ भनेर चीनले खाम र आम्दोमा भूमिसुधार योजना लागू गऱ्यो। त्यसको ठूलो प्रतिकार पनि भयो। त्यसवेला चिनियाँ जनमुक्ति सेनासित लड्न भनी पहिलो पल्ट तिब्बतमा विद्रोही सेना ‘चुसी गान्द्रुक’ स्थापना भयो। ‘चुसी गान्द्रुक’ को अर्थ हो– ४ नदी, ६ पर्वत। पूर्वी तिब्बतमा अवस्थित खाम प्रदेशलाई ४ वटा नदी र ६ वटा पर्वतको शृंखलाले घेरेर राखेको हुनाले यस क्षेत्रलाई चुसी गान्द्रुक भनिएको हो। गाम्पो टासी आन्द्रुकको सक्रियतामा स्थापना भएको यही सेना पछि खम्पाको नामले चर्चित भयो। र, मुस्ताङलाई केन्द्रबिन्दु बनाएर करीब डेढ दशक उनीहरू तिब्बतको मुक्ति आन्दोलनमा सक्रिय रहे।
दलाई लामाको निर्वासन
दलाई लामा ४ चैत २०१५ (१७ मार्च १९५९) मा तिब्बतबाट भागी भारत प्रवेश गर्दा नेपालमा पहिलो आम निर्वाचन भइरहेको थियो। उक्त निर्वाचन ७ फागुनदेखि २८ चैतसम्म २०१५ (१८ फेब्रुअरीदेखि १० अप्रिलसम्म १९५९) भएको थियो। माओत्से तुङको चिनियाँ जनमुक्ति सेनाले तिब्बत कब्जा गरेपछि दलाई लामा भारतको शरणमा पुगेका थिए। उनको भारत प्रवेशसँगै लामाका धेरै अनुयायीहरू पनि तिब्बतबाट नेपाल हुँदै भारत पुगे। हिमाली तथा पहाडी भू-भागको कठिन मार्ग पार गर्दै हजारौं तिब्बती आफ्नो ‘पवित्र भूमि’ बाट बाहिरिंदै थिए। उनीहरूमध्ये केहीको रोजाइ चीन र भारतको बीचमा रहेको नेपाल बन्यो। शुरूमा थोरै संख्यामा रहेका उनीहरू शरणार्थीको रूपमा यतै बस्न थाले।
शीतयुद्धको त्यो समय विश्व व्यवस्थामा संयुक्त राज्य अमेरिका र सोभियत संघ आमने-सामने थिए। यता हाम्रा दुई छिमेकीबीच पनि ङ्यारङ्यार-ङुरङुर चल्न थाल्यो। भारत स्वतन्त्र भएपछि राष्ट्रिय कांग्रेसका नेता जवाहरलाल नेहरू प्रधानमन्त्री बने भने चीनमा माओत्से तुङ नेतृत्वको कम्युनिष्ट शासन शुरू भयो। सन् १९६२ मा भारत र चीनबीच युद्ध नै भयो। त्यसवेलासम्म अमेरिका र सोभियत संघले भारत, चीन र नेपालमाथि निगरानीको ‘राडर’ घुमाउन शुरू गरिसकेका थिए। नेपालमा दुई तिहाइ सीट सहित नेपाली कांग्रेसका सभापति विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो।
अमेरिकी प्रशासनले साम्यवादी चीनका शासकलाई तह लगाउन तिब्बती शरणार्थीहरू प्रयोग गर्ने सोच सहित आफ्नो खुफिया संयन्त्र (सीआईए) लाई परिचालन गऱ्यो। अमेरिकाको यस्तो नीतिबारे शुरूमा नेपाल, भारत र चीन कसैले पनि भेउ पाउन सकेनन्। समयक्रममा जब नेपाल-चीन सीमाका केही स्थानमा तिब्बती शरणार्थीहरूबाट स्थानीय नेपालीहरूमाथि लूटपाट र कुटपिट हुन थाल्यो अनि यो भेद खुल्दै गयो।
‘चिनियाँ सरकारले तिब्बत कब्जामा लिएपछि धर्म-संस्कृति मास्न थाल्यो’ भन्दै बुद्ध धर्मावलम्बी खम्पा, डोक्पा र आम्दो जातिका मानिसहरू उत्तरका हिमाच्छादित कठिन ‘पास’हरू पार गर्दै नेपाल प्रवेश गरी शरणार्थीका रूपमा बस्न थाले। खम्पा विद्रोह र नेपालमा त्यसको असरबारे सञ्चारकर्मी राजेन्द्र कुँवरले यसै वर्ष अनुसन्धानमूलक पुस्तक ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ प्रकाशित गरेका छन्। यो रिपोर्ताज यसै किताबको समीक्षात्मक टिप्पणी हो।
खम्पा विद्रोहको नेपाल प्रभाव
२०१५ चैतदेखि २०३१ भदौसम्म खम्पाहरूले नेपालीलाई दुःख दिए। जोमसोमदेखि माथि नीलगिरि हिमाल पार गरेर पुगिने नेपाल-चीन सीमा नजिक खम्पाहरूले उपद्रव मच्चाएका छन् भन्ने सूचना प्राप्त भएपछि नेपाली सेना परिचालित भयो। नेपाली सेना र निजामती कर्मचारीहरू सीमास्थित गाउँघर पुग्दा ‘खम्पाहरूले अन्नपात लुट्यो, च्याङ्ग्रा, चौंरी र घोडाहरू चोरेर लग्यो’ भनी स्थानीयले दुःखेसो व्यक्त गरे। २०१७ असार १६ मा नेपाल-चीन सीमा नजिक आफ्नै भू-भागमा खम्पा विद्रोहीहरूको खोजी गरिरहेका वेला चिनियाँ सेनाले गोली हानीे नेपाली सेनाका बमप्रसाद बास्कोटाको हत्या गरिदियो। पूर्वी पहाडको ओखलढुंगा जिल्ला, थाक्ले गाउँमा जन्मिएका बमप्रसाद पोखरास्थित महेन्द्र गणमा सुवेदार पदमा कार्यरत थिए। घटनाका वेला उनी सहित १६ जना सैनिक मुस्ताङ खटिएका थिए। यस घटनाको अन्तर्राष्ट्रियकरण हुन नपाउँदै तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले चिनियाँ प्रधानमन्त्री चाउ-एनलाईसित कुरा गरी समाधान गरेका थिए।
उक्त घटनामा नेपाल सरकारको माग-दाबी अनुसार चिनियाँ सरकारले माफी माग्दै मृतकको परिवारलाई रु.५० हजार क्षतिपूर्ति दियो। सीमा रक्षक मृतक बास्कोटाकी धर्मपत्नीलाई प्रधानमन्त्री कोइरालाले सरकारका तर्फबाट रु.१५ हजार सहयोग गरे।
२०२४ मंसीरमा मुस्ताङ, लेतेस्थित जंगलमा खम्पाले ४६ वर्षीय स्थानीय व्यापारी दावा दोर्जे ताङ्वे गुरुङको गोली हानी हत्या गरे। दावा दोर्जे जोमसोमका कहलिएका व्यापारी थिए। उनी सुर्ती, साबुन, मिश्री, गुण, खाद्यान्न लगायत सामान खच्चरलाई बोकाएर तिब्बततर्फ व्यापार गर्थे भने उताबाट ऊन, कपडा, भेडा-च्यांग्राको पैठारी गर्थे। तिनताका खम्पाले स्थानीयलाई कति भयभीत तुल्याएका थिए भनी बुझ्न दावा दोर्जेकी नातिनी संगीता गुरुङको बाल्यकालको स्मरण काफी हुन्छ। ‘गाउँमा खम्पाको ठूलो आतंक थियो। राति आमाहरूले हामीलाई छिटो सुताउनुपऱ्यो भने खम्पाको डर देखाउनुहुन्थ्यो। भन्नुहुन्थ्यो– सुत, नत्र खम्पाहरू आउँछन्। मेरो मात्र होइन, प्रायः सबै घरको यही कथा थियो’ ( पृ.२२५)।
खम्पा विद्रोहीले नै जोमसोममा बन्दाकोपी उत्पादन गर्न थालेका थिए। त्यसबखत उनीहरूले आफ्नो बारीमा ५–६ केजीसम्मको बन्दाकोपी फलाएको अनुभव स्थानीय ६५ वर्षीय संगीता गुरुङको छ। स्थानीय भूपेन्द्र शेरचनका अनुसार तिनताका जोमसोममा किनमेल गर्न आउँदा खम्पाहरू भारु लिएर आउँथे। नेपालमा डलर चल्तीमा नआउने हुँदा उनीहरू भारु प्रयोग गर्थे। भारतीय रुपैयाँ कसरी उनीहरूसम्म आइपुग्थ्यो? के यसमा भारतको हात थियो? कुरा प्रस्टै थियो कि खम्पा विद्रोह भड्काउन संयुक्त राज्य अमेरिकासँगै भारत पनि संलग्न थियो।
उत्तरी गोरखाको चुमनुब्री क्षेत्रमा पनि खम्पाहरूले आतंक सिर्जना गरेका थिए। २०२८ सालमा नामरुङमा भन्सार कार्यालयका मुखिया रामेश्वर क्षत्रीलाई एक जना खम्पाले स्थानीय पसलमा चक्कु घोपेर मारिदिए। पूर्व रामेछापका २३ वर्षीय क्षत्री जागीरको सिलसिलामा त्यहाँ पुगेका थिए। गाउँमा राम्री केटी देखे भने खम्पाहरू बिहे गर्न जोड गर्थे। केही काम नगरी रक्सी खाँदै होहल्ला गर्दै घोडा चढेर आतंक सिर्जना गर्दै हिंड्थे, खम्पाहरू। उत्तरी गोरखाका स्थानीयलाई निकै दुःख दिएपछि २०२८ सालमा छेकम्पारमा प्रहरी चौकी नै स्थापना गर्नु पऱ्यो। खम्पाहरूले गुम्बाका मूर्तिहरू चोरेर लगेको, काठको तस्करी गरेको र गाउँमा उनीहरू आएको सुन्नासाथ गाउँलेहरू घरभित्र लुक्ने गरेको पेम्बा रेता लामा, निमा दोर्जे, छेवाङ लामाको अनुभव छ। त्यसवेला सुदूरपश्चिमको दार्चुला, हुम्लादेखि मनाङ, मुस्ताङ, उत्तरी गोरखा, दोलखा, सोलुखुम्बु हुँदै पूर्वको ताप्लेजुङसम्म खम्पा विद्रोहको प्रभाव फैलिएको थियो।
‘२०१६ सालमा मुस्ताङमा खम्पाहरूको संख्या नगण्य थियो। यस्तै १०–१२ जनाको हाराहारीमा हुनुपर्छ। पछि थपिंदै जाँदा गन्नै नसक्ने अवस्थामा पुग्यो। शुरूका दिनमा मुस्ताङको कोरला नाका र मनाङ हुँदै खम्पाहरू मुस्ताङ आइपुगेका थिए। पछि गोरखा जिल्लाको साम्दो, हुम्लाको यारी र भारतको रक्सौल नाका हुँदै पोखराबाट मुस्ताङ आइपुगे। २०३० सालसम्म आइपुग्दा मुस्ताङमा खम्पाहरूको उपस्थिति यति बाक्लो भइसकेको थियो, राज्यको सुरक्षामा समेत यसको गम्भीर असर देखियो’ (पृ.२४६–४७)। त्यसवेला मनाङ र मुस्ताङमा ९ हजारजति खम्पा विद्रोही विभिन्न शिविर (क्याम्प) मा बस्थे। कैसाङ, ताङ्ग्या, घमी, समर जस्ता थुप्रै क्याम्प थिए। नीलगिरि हिमालको फेदमा रहेको कैसाङ क्याम्प खम्पा विद्रोहीको हेडक्वार्टर (मुख्यालय) थियो। यो नै सबैभन्दा ठूलो क्याम्प थियो र यसको कमान्डर जनरल गे हिसी थिए भने गे वाङ्दी जुनियर अधिकृत।
रणनीतिक महत्त्व
६४ वर्षअघि खम्पा विद्रोहीलाई संयुक्त राज्य अमेरिका र भारतले सैनिक तालीम दिएर नेपालको हिमाली सीमा नाका आसपास चीन विरुद्ध युद्ध भड्काएका थिए। अहिले पनि अमेरिका, भारत र चीन तीनवटै शक्ति राष्ट्रको रणनीतिक ‘राडर’ नेपालमा घुम्न थालेको छ। यद्यपि, त्यस्तो विद्रोह कुनै बाह्य नागरिकको प्रत्यक्ष संलग्नतामा भन्दा पनि नेपालभित्रै आन्तरिक गडबडी सिर्जना गराई नेपालीहरूबाटै रचिने प्रयत्न हुन सक्छ। नेपाल यस विषयमा निकै चनाखो हुनु जरूरी छ। यतिवेला पश्चिमा शक्तिको ध्यान एशिया केन्द्रित छ किनभने चीन र भारत उदाउँदा महाशक्ति हुन्। विश्वका ठूला बजार पनि यिनै हुन्। भारत र चीनको बीचमा नेपाल भएकोले रणनीतिक महत्त्व बढ्नु स्वाभाविक हो।
पुस्तकका कमजोरी
अनुसन्धानकर्ता राजेन्द्र कुँवरले पाँच खण्डमा विभाजित रणनीतिक महत्त्वको पुस्तक ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ लेखेर नेपाली वाङ्मयलाई गुन लगाएका छन्। यस पुस्तकको पहिलो खण्डमा खम्पा विद्रोहको राजनीतिक कारण र दोस्रो खण्डमा विदेशी चलखेलबारे विस्तृत उल्लेख गरेका छन्। तेस्रो खण्डमा खम्पा विद्रोहमा संलग्नहरूको बयान उतारेका छन् भने चौथो खण्डमा मुस्ताङ र उत्तरी गोरखाको कथा उल्लेख गरेका छन्। अन्तिम खण्डमा खम्पाका दुःखका कुरा समेटेका छन्। स्रोत-सामग्रीका हिसाबले खम्पा विद्रोहबारे यो पुस्तक पढ्न छुटाउनै नहुने खालको भए पनि सम्पादनमा केही त्रुटि रहेका छन्।
पृष्ठ २५ मा लेखकले ‘१ अगस्ट १९५५ मा नेपालका तर्फबाट शाही सल्लाहकार सरदार गुञ्जयमान सिंह र चीनको तर्फबाट राजदूत युआन चुङले सम्झौता पत्रमा हस्ताक्षर गरे’ भनेका छन्। शाही सल्लाहकार सरदार गुञ्जमान सिंह हुन् कि गुञ्जयमान सिंह? पृष्ठ ३७ मा माओको ‘ग्रेट लिफ फरवार्ड’ भनिएको छ। ‘ग्रेट लिप फरवार्ड’ हुनुपर्ने हो। धेरै ठाउँमा संयोजक ‘जुन’ हो कि अंग्रेजी ‘जून’ महीना हो बुझ्न सकिंदैन । पृष्ठ १२६ र १३० मा उही अनुच्छेद दोहोरिएको छ। पृष्ठ १५१ मा ‘दलाई लामाको यो दलसँग...’ भन्नुभन्दा खम्पा विद्रोही समूहसँग भन्नु राम्रो हुनेथियो। ‘नेपाली सेनाबाट ज्यान जोगाएका बाँकी ५० तिब्बती सेनाहरू भारतमा पर्ने गुन्जी गर्ब्याङ गाउँ हुँदै राजधानी दिल्ली पुगेको खबर पछि प्राप्त भयो’ (पृष्ठ १५२) लाई कसरी बुझ्ने? तिब्बती विद्रोही खम्पा लडाकुहरू भन्नुपर्थ्याे होला। फेरि ५५ जनामध्ये ६ जना मारिए भनिएको छ। त्यसो हो भने ४९ जना बाँकी हुनुपर्छ। पृष्ठ १६७ मा ‘अरदिमन’ गुल्म हो कि ‘अरिदमन’ गुल्म? योभन्दा पनि ठूलो गल्ती पृष्ठ १६८ मा छ। प्रमुख ब्रिगेडियर ‘भरतकेसरी शमशेर राणा’ हुन् कि ‘भरत केशर सिंह’ हुन्? पृष्ठ १८६ को पहिलो अनुच्छेदको पहिलो पंक्तिमा ‘हेटौंडाबाट त्रिशूली झरेका थियौं’ उल्लेख छ। हेटौंडाबाट त्रिशूली कसरी झरिएला र? जबकि हेटौंडा तल र त्रिशूली माथि छ। रणनीतिक विषयमा कलम चलाउँदा भौगोलिक कुरामा ध्यान दिनु उत्तिकै जरूरी पाटो हो। व्यापारको सिलसिलामा मुस्ताङको तिब्बती सिमाना नजिक निचुङ पुग्दा २०१८ सालमा मेरो बुबालाई खम्पाहरूले मारेका थिए भनी छोरा महेन्द्रबहादुर थकालीले बताएको कुरा पुस्तकमा उल्लेख गर्दा लेखकले मारिने व्यक्तिको नाम उल्लेख गर्दैनन्। को मारिए भनेर कसरी बुझ्ने? यति महत्त्व बोकेको पुस्तकले राम्रो सम्पादन पाएको भए बेस हुन्थ्यो।