जेन-जीको दाबी गर्ने सरकारले पनि आफ्नो मुद्दालाई उपेक्षा गरेको भन्दै मुक्कुमलुङ बचाऔ अभियानमा संलग्न अधिकारकर्मीहरूले नयाँ चरणको विरोध कार्यक्रम शुरू गरेका छन्।
ताप्लेजुङमा मुक्कुमलुङ (पाथीभरा) बचाऊ अभियान शुरू भएको अढाई दशक बितिसक्यो। २०५६ सालमा फुरुम्बोका साम्बा (धामी) तिलध्वज माबुहाङको अगुवाइमा १० जना युवाले मुक्कुमलुङको डाँडामा पूजाका लागि युमा माङ (इष्टदेवी) को प्रतीक लुङहरू गाडे। योसँगै आफ्नो पहिचान नामेट गरिएको भन्दै लिम्बूहरूको छाता संगठन किरात याक्थुङ चुम्लुङले पाथीभराको प्राचीन नाम मुक्कुमलुङ नै राख्न माग राख्यो। तर, स्थानीयको मागलाई सम्बोधन गर्नुको साटो सरकारले पाथीभरा विकासको नाममा पवित्र स्थलबाट आर्थिक जोहो गर्ने परियोजना अगाडि साऱ्यो। मुक्कुमलुङमा केबलकार निर्माण परियोजनामा सरकार अघि बढ्यो।
सरकार र निर्माण कम्पनी एकतर्फी ढंगले केबलकार बनाउन लागिपरेपछि लिम्बूहरूले स्थानीयको साथ सहयोगमा २०७७ सालमा मुक्कुमलुङ संयुक्त संघर्ष समिति गठन गरे। संघर्ष समितिले स्थानीय बासिन्दा, नौ राजनीतिक दल र केही आदिवासी संगठनसँग मिलेर संघर्ष गर्दै आएका छन्। यस क्रममा राज्य पक्ष र आन्दोलनकारीबीच पटक पटक तनावपूर्ण घटनाहरू भए।
धागो र तानसँग जोडिएको आस्था
ठूलो फेदीस्थित कान्छी थान (लिम्बू भाषामा हाक्पारा)बाट चुचुरोमा रहेको मुक्कुमलुङ माङको शिरसम्म धागो टाङ्ने चलनलाई लिम्बू भाषामा खिबेखिङमा भनिन्छ। मुन्धुम अनुसार यो परम्परा लिम्बू सभ्यतासँग जोडिन्छ। धागोलाई जीवनको प्रतीक मानिन्छ, जुन लिम्बू याक्थुङ समुदायले मान्ने मुख्य माङ अर्थात् सृष्टिकर्ता युमासँग जोडिन्छ। धागो तान्दै युमालाई भेट्न जाँदा हाम्रो आयु पनि त्यसरी नै लम्बिन्छ भन्ने विश्वास याक्थुङ समुदायमा छ। मुन्धुमी विश्वास अनुसार तान बुन्ने क्रममा धागो गाँठो पऱ्यो वा चुँडियो भने अशुभ मानिन्छ। त्यसैले धागोलाई चोखो पानीले चोख्याएर टाङ्ने चलन छ।
आदिम कालमा लिम्बू समुदायले सृष्टिकर्ता मानेर अर्चना गर्ने युमा माङ मुक्कुमलुङको शिरमा आएर तान बुन्दै बसेको प्रसंग मुन्धुममा छ। मुन्धुम अनुसार उनले लिम्बूहरूको पूर्वज सावा येत्हाङहरूलाई गाउँ-गाउँमा गएर जाडो, गर्मीबाट बच्न र लाज ढाक्न, धागो कात्न र तान बुन्न सिकाउँथिन्। त्यसैगरी अन्याय, अत्याचार र पीडाबाट आफ्ना सन्ततिलाई बचाउन कहिले माछा त कहिले युवतीको स्वरूपमा गाउँमा जान्थिन्। तर पछि युमा मुक्कुमलुङमा अलप भइन्।
लिम्बू भाषामा मुक्कुमको अर्थ शक्ति र लुङको अर्थ ढुंगा हुन्छ। यसरी ढुंगामा अलपिएपछि युमासँग शक्ति माग्न आउनेले परिवारको शुभ, कल्याण र दीर्घायुको कामना गर्दै हाक्पारा थानबाट जीवनको प्रतीक धागो टाङ्ने चलन शुरू भएको मानिन्छ। लिम्बूहरूले अनुष्ठानको रूपमा यसलाई अगाध श्रद्धाका साथ सम्पन्न गर्छन्। यस्तो पवित्र स्थलमा केबलकार बनाइनु हुँदैन भन्दै विरोध भइरहेको छ।
केबलकारको निर्माण शुरू भएयता झडपको क्रममा ६५ जनाभन्दा बढी संघर्षकारी घाइते भएका छन्। गत वर्ष आन्दोलनकारीहरूमाथि सशस्त्र प्रहरीले गोली प्रहार गर्दा तीन जनालाई गोली लाग्यो। राज्यतर्फ २२ जना घाइते भए। आन्दोलनकै बीच २०८१ चैत १३ गते सर्वोच्च अदालतले केबलकार निर्माणको सम्पूर्ण काम रोक्नु भनी अल्पकालीन अन्तरिम आदेश जारी गऱ्यो। अदालतको आदेशपछि संरक्षणकारी केही शान्त जस्तो देखिएका थिए। तर, अल्पकालीन आदेशलाई अदालतले २०८२ वैशाख ३१ गतेको निर्णयले निरन्तरता नदिएपछि फेरि स्थानीय आन्दोलनमा उत्रिएका छन्। केबलकार दर्शन प्रालिले केबलकार निर्माणको काम सुचारु गरेको छ। भदौ २३-२४ को जेन-जी प्रदर्शन र विध्वंसपछिको फेरिएको राजनीतिक परिदृश्यले आन्दोलनकारी निकै हौसिएका थिए। नयाँ सरकारले आफ्नो मागमाथि सुनुवाइ गर्ने तिनले आश गरेका थिए, तर भयो उल्टो।
नयाँ सरकारले पनि पुरानै रवैया अपनायो। मुक्कुमलुङ संयुक्त संघर्ष समितिले गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर केबलकार खारेजीको माग गर्दै ज्ञापनपत्र बुझायो। विभिन्न च्यानल मार्फत धेरै पटक आफ्नो मुद्दा सुनायो। तर, नयाँ सरकारबाट आश्वासन बाहेक केही आएन। स्थानीय संरक्षणकारीहरूको अनुभवमा सरकार फेरियो तर राज्यको रवैया फेरिएन। जेन-जी सरकारले पनि आफ्नो माग र मुद्दामा गम्भीरता नदेखाएको भन्दै माघबाट केबलकार खारेजीको माग गर्दै ताप्लेजुङमा अर्को चरणको आन्दोलन शुरू भएको छ। यस आन्दोलनलाई चुनाव-केन्द्रित बनाउँदै संरक्षणकारीहरूले विभिन्न कार्यक्रम सार्वजनिक गरेका छन्।
प्रदर्शनकारीमाथि गोली चलाएको अध्ययन गर्न गत वर्ष म केही पत्रकार र अधिकारकर्मीहरूसँग घटनास्थल पुग्दा संघीय सरकारकै निर्देशनमा स्थानीयको विरोध दबाउन सशस्त्र प्रहरी तैनाथ गरेको देखेको थिएँ। माघ १३ गते आन्दोलनकारीको साताव्यापी कार्यक्रम कभर गर्न फुङ्लिङ पुग्दा सुरक्षाचक्र थप कडा गरेको देखियो। यसपालि सेना समेत तैनाथ गरिएको थियो। सञ्चारकर्मी र अनुसन्धानकर्तालाई समेत केबलकारको ‘बटम’ र ‘टप स्टेशन’ मा जान रोक लगाइयो। गत साल म लगायतका सञ्चारकर्मीलाई त्यसरी रोकिएको थिएन। यसपालि सुरक्षाकर्मीले ‘माथिको अर्डर’ भन्दै रोके।
हामीसँग जेन-जी अगुवा उपार्जुन चाम्लिङ लगायतका केही नेतृत्व पनि थिए। तिनले ‘बटम’ र ‘टप स्टेशन’ अवलोकन गर्न जाने अनुमतिका लागि गृहमन्त्रीलाई अनुरोध गरे पनि विभिन्न बहाना बनाई त्यस स्थलमा प्रवेश दिइएन।
कार्यक्रम स्थलमा सेना समेत राखिएको भए पनि यसपालि गत साल झैं अप्रिय घटना दोहोरिएन। हामी एक साता बसेर संयुक्त संघर्ष समितिले गरेको रचनात्मक विरोधलाई अवलोकन गऱ्यौं। मुक्कुमलुङ बचाऊ आन्दोलनका अगुवाले आमसभामा सदा झैं आफ्ना मुद्दालाई अडानका साथ राखे। विभिन्न दलका उम्मेदवारहरूलाई आफ्नो मुद्दामा लबिङ गर्न वचनबद्ध बनाए। कलाकारहरूले रचनात्मक शैलीमा विरोध प्रदर्शन गरे।
२०८२ माघ १४ देखि १८ गतेसम्म भएको मुक्कुमलुङ बचाऊ आन्दोलनको केही तस्वीर
मुक्कुमलुङमा भइरहेको राज्य दमनको विरोधमा याक्थुङ चोका कलाकारहरूले माघ १५ र १६ गते फुङ्लिङ्स्थित तोक्मे डाँडाको भित्तामा पेन्टिङ गर्दै। तस्वीर : सुवास तामाङ
आन्दोलनमा भएको दमन, मागहरू र मुन्धुमी महत्त्व बुझाउने भित्ते लेखन। यो आर्ट कलाकारहरू– सुवास थेवे, सुवास तामाङ, मेख लिम्बू, सारा कोंइच सुनुवार, सुवोध सिम्बू, किरण सिगू र सोनाम चाम्लिङले गरेका थिए। तस्वीर : सीता मादेम्बा
किरात याक्थुङ चुम्लुङ जिल्ला कार्य समिति ताप्लेजुङले अनुमति लिई बनाइएको यो भित्ते कलालाई माघ १९ गते फुङलिङ नगरपालिकाका मेयर अमीर मादेनले नगर प्रहरी लगाई मेट्न लगाए।
तस्वीर : सीता मादेम्बा
केबलकारको खारेजी माग गर्दै मुक्कुमलुङ चढ्ने बाटोमा लेखिएका नाराहरू पाथीभरा क्षेत्र विकास समितिले कालो रंगले मेटाएको छ। केही उल्ट्याइएको छ (दाँया). चौतारा, ढुंगा, फलैचा र भित्तामा “नो केबलकार ‘र’ धार्मिक सांस्कृतिक मुन्धुमी स्थलको अतिक्रमण बन्द गर” जस्ता नारा गत वर्ष याक्थुङ चोका कलाकारहरूले लेखेका थिए। तस्वीर : सीता मादेम्बा/सुवास थेवे
ठूलो फेदीस्थित कान्छी थानले चिनिने हाक्पाराबाट माथि मुक्कुमलुङ माङको शिरसम्म धागो टाङ्ने चलन प्रारम्भ गर्नुअघि धागोलाई चोखो पानीले चोख्याउँदै। तस्वीर : सीता मादेम्बा
२०८१ माघ १२ गते सुरक्षाकर्मीको गोली छातीमा लागी घाइते भएका पाँचथरका सगुन लावती पनि धागो टाङ्ने (खिवेखिङ) अनुष्ठानमा सहभागी थिए। तस्वीर : सुवास तामाङ
फेदीमा रहेको हाक्पारा थानबाट दीर्घायुको कामना गर्दै टाँगिएको धागो चुचुरोमा रहेको मुक्कुमलुङ युमा माङको थान नजिकै रहेको गेटमा पुऱ्याएर राखिन्छ। तस्वीर : सुवोध लिम्बू
कलाकार मेख लिम्बूले मुक्कुमलुङको चुचुरोमा बनाएको तान। पृष्ठभूमिमा कुम्भकर्ण (फक्ताङ्लुङ) हिमाल। तस्वीर : मेख लिम्बू
माथिल्लो फेदीमा खिवेखिङ अनुष्ठानको क्रममा सुरक्षा व्यवस्था कडा पारिएको थियो। तस्वीर : सुवास थेवे
माथिल्लो फेदीमा खिवेखिङ अनुष्ठानको क्रममा सुरक्षा व्यवस्था कडा पारिएको थियो। तस्वीर : मेख लिम्बू