निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै महिला उम्मेदवारमाथि अश्लील गाली गर्ने विरुद्ध निर्वाचन आयोगमा ३४४ वटा उजुरी परेको छ। तैपनि यस्ता हिंसात्मक अभिव्यक्ति घट्नुको साटो बढिरहेको छ।
भदौ २३ र २४ को जेन-जी प्रदर्शनपछिको राजनीतिक परिवर्तनले २०८४ सालमा हुनुपर्ने प्रतिनिधिसभा सदस्यको आवधिक निर्वाचन ०८२ फागुन २१ मा हुँदै छ। निर्वाचनमा प्रत्यक्षतर्फ ३ हजार ४०६ उम्मेदवार छन्। तीमध्ये ३ हजार १७ जना पुरुष र ३८८ जना महिला उम्मेदवार छन्। समानुपातिकतर्फ ३ हजार १३५ जना उम्मेदवार छन्, जसमा १ हजार ७७२ महिला छन्।
चुनाव नजिकिएसँगै उम्मेदवारहरू प्रचारप्रसारमा कस्सिएर लागेका छन्। तर, चुनावको तयारीमा लागेका महिला उम्मेदवारहरू भने व्यक्तिगत रूपमा अश्लील तथा घृणात्मक टिप्पणीको मारले दुखित छन्। गतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट काठमाडौं-५ की उम्मेदवार निशा अधिकारीले आफूमाथि भएका अश्लील टिप्पणीलाई फेसबुकमै शेयर गरेकी छन्।
कलाकार समेत रहेकी अधिकारीलाई ‘आन्टी, तिमी सिंगल हो? खुब नारीवादी बन्नु परेको छ है?’, ‘सेक्सी आन्टी...’ लगायतका महिलाद्वेषी शब्दहरूले प्रहार गरिएको छ। अधिकारीले ती व्यक्तिहरूको प्रोफाइल नाम र तस्वीर ‘ब्लर’ गरेर आफ्नो फेसबुकमा सार्वजनिक गर्दै लेखेकी छन्– ‘महिलाले राजनीति गर्दा सुन्नु परेको यथार्थ।’
अनलाइन दुर्व्यवहार र घृणाको सामना गरिरहेकी अधिकारी हिमालखबरसँग कुरा गर्दै भन्छिन्, “महिलालाई अपमान गरेर राजनीति शुद्ध हुँदैन, लोकतन्त्र बलियो हुँदैन, समाज अगाडि बढ्दैन।”
महिलामाथि हुने यस्ता टिप्पणीले व्यक्तिलाई मात्र नभई सम्पूर्ण परिवारलाई नै असर पार्ने गरेको सुनाउँछिन्, निशा। उनी भन्छिन्, “सबै परिवारले सामाजिक सञ्जाल चलाइरहेका हुन्छन्, त्यस्ता कमेन्टहरूले परिवारलाई असर पारिदिन्छ। यस्ता कुरा सबैले सहन सक्दैनन्।”
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं-१ की प्रतिनिधिसभा सदस्यको उम्मेदवार रन्जु दर्शना पनि अश्लील र घृणित टिप्पणीको मारमा परेकी छन्। विवेकशील पार्टीबाट राजनीतिमा आएकी दर्शना गर्भवती अवस्थामा घरदैलो गरिरहेकी छन्। कतिपयले यस्तो वेला आराम गर्न छाडेर किन चुनावमा हिंडेको भन्दै उनलाई हतोत्साहित गरिरहेका छन्। कतिपयले खिसीटिउरी गर्ने आशयले ‘अब एउटालाई होइन, दुइटालाई भोट, एक त अफर है’ भनिरहेका छन्, कोहीले ‘सबै महिलाले सन्तान जन्माउँछन् किन पटक पटक चटक देखाएको’ लेखेका छन्। कसैले ‘बच्चा जन्माउनु, फलोअपमा जानु, डक्टरले दिएको मिति नबिर्सिनु, चुनाव पछि उठ्नू’ भनेका छन्, त कसैले ‘सुत्केरी हुने दिन र चुनाव एउटै मिति हो?’ भन्दै टिप्पणी गरेका छन्।
दर्शनाको चुनावी प्रचारको पोस्टमा युवराज पुरी नामको अकाउन्टबाट ‘भुँडी हल्लाउँदै भीड जम्मा गर्दै हिंड्नुभन्दा सन्तान जन्म दिएर कुनामा पस्नुस्’ समेत लेखिएको छ।
“मेरो गर्भावस्थाको विषयलाई जोडेर केही पुरुषहरूले सहनै नसक्ने किसिमले असंवेदनशील रूपमा भद्दा टिप्पणी गरिरहनु भएको छ‚” दर्शना भन्छिन्, “उहाँहरूले मानव अस्तित्वको विकास कसरी हुन्छ भन्ने बिर्सिनु भयो? आफ्नै आमालाई बिर्सनु भएको हो?”
मातृत्व र नेतृत्वको जिम्मेवारीलाई एकैसाथ अगाडि बढाइरहँदा आफूलाई कमजोर बनाउन खोज्नेहरूले नकारात्मक टिप्पणी गरिरहेका ठान्ने दर्शना ती टिकाटिप्पणीले अलिकति पनि नडगमगाएको बताउँछिन्। उनी श्रीमान्ले थपिदिएको हौसला बोकी घरदैलो गरिरहेकी छन्।
रास्वपाकै अर्की उम्मेदवार विनिता कठायतले पनि दर्शनाकै नियति भोगिरहेकी छन्। कठायत जुम्लाकी एक मात्र महिला उम्मेदवार हुन्। उनलाई फेसबुकमा लेखिएको छ‚ “तुम ...लाई पोइ चाहियो होला त पुरुष, योभन्दा अगाडि ठमेल घुम्दै फुर्सद भएन अहिले गाउँ घुम्न पाएकी छौ घुम नानी घुम।”
७ महिनाअघि किशोर श्रेष्ठको पडकास्टमा कठायतले आफ्नो ‘ब्वाय फ्रेन्ड’ भएको तर बिहे गर्ने चाहना नभएको बताएकी थिइन्, साथै उनले विवाह नगरी नै आईभीएफ प्रविधिबाट आमा बन्न चाहेको कुरा व्यक्त गरेकी थिइन्।
अहिले उनको त्यही अभिव्यक्तिलाई लिएर अश्लील टिप्पणीहरू गरिएको छ। कठायतले चुनावी प्रचारको क्रममा गत ३० जनवरीमा बालेन्द्र शाहसँग स्टाट सहित फोटो पोस्ट गरेकी थिइन्। उनको त्यस पोस्टमा थुप्रै घृणित टिप्पणी गरिएका छन्।
तीमध्ये गणेश कडायत नामको फेसबुक अकाउन्टबाट गरिएको कमेन्ट यस्तो छ, ‘विना बाउको बच्चा जन्माउने मन छ भनेको सुनेको थिएँ, कतैकतै। म पनि हट्टाकट्टा जवान र बच्चा जन्माउन सक्षम पुरुष हुँ है, बस् म कुरिरहेको छु तपाईंको समय, बचन कहिले पूरा गर्नुहुन्छ भनेर। यदि मन भयो भने मलाई सिधै सम्पर्क गर्नुहोला।’
सोही पोस्टमा रश्मि भट्टराई नामको एकाउन्टबाट ‘बिहे नगरी बच्चा जन्माउने कारखाना कलंक आइमाई’ भनेर कमेन्ट गरिएको छ भने वाईबीआर क्षेत्री यात्री नामको अर्को अकाउन्टबाट ‘बिहे नगरी कति वटा बच्चा पाउने हो’ लेखिएको छ। हुतराज आचार्य नामको अकाउन्टबाट ‘छोरो पाइन् कि नाइ?, बिहे गर्दिनँ, छोरो चाइ पाउँछु भन्थिन्?’ भनी कमेन्ट गरिएको छ।
कठायतले सामाजिक सञ्जालमा मात्र नभई व्यक्तिगत रूपमा पनि हिंसा भोगिरहेकी छन्। उनकै पुरुष प्रतिस्पर्धी उम्मेदवारको नाम लिंदै अश्लील शब्दबाट हिंसात्मक धम्की आइरहेको उनी बताउँछिन्। “तेरो घरमा रेप गर्न पठाइदिन्छु, सँगै गएर सुत्, ...त्यो खाएर बस जस्ता म्यासेजहरू गर्छन्”, उनी सुनाउँछिन्, “महिला भनेर हेपेर अश्लील शब्दहरू बोल्छन्। त्यसैले होला महिलाहरू राजनीतिमा आउन नखोज्ने रहेछन्।”
जुम्लाकै अर्का उम्मेदवार ज्ञानेन्द्र शाहीका कार्यकर्ताहरूले पनि आफ्नो चरित्रहत्या गर्ने टिकाटिप्पणी गरिरहेको कठायतको आरोप छ। “तँलाई ज्ञानेन्द्र शाहीको खुट्टामा राखे पनि सुहाउँदैन, तेरो घरमा रेप गर्ने मान्छे पठाइदिन्छु भन्ने धम्की आउँछ,” उनी भन्छिन्।
रास्वपाका समानुपातिक उम्मेदवार रीमा विश्वकर्मा पनि अश्लील टिप्पणीबाट पर छैनन्। कलाकारिताबाट राजनीतिमा आएकी विश्वकर्मा उज्यालो नेपाल हुँदै रास्वपाबाट समानुपातिक उम्मेदवार बनेकी हुन्।
सामाजिक सञ्जालमा एउटा एआई निर्मित तस्वीर फैलाइएको छ, जसमा बालेन्द्र शाह र रवि लामिछानेको बीचमा रीमा विश्वकर्मा छिन्। उक्त तस्वीरमा विश्वकर्मालाई गर्भवती देखाइएको छ र उनको पेटमा रवि र बालेनले हात राखेका छन्।
परिवारमा समेत असर
एउटा महिलामाथि गरिने नकारात्मक शब्दले ती महिलालाई मात्रै होइन, परिवारलाई समेत प्रत्यक्ष-परोक्ष असर पार्ने गर्छ। कठायतलाई सबैभन्दा धेरै पीडा त्यतिवेला हुन्छ, जतिवेला नकारात्मक टिप्पणीका कारण परिवार दुःखी हुन्छन्। उनी पीडा पोख्छिन्, ‘“मेरो बाआमा, आफन्तले सामाजिक सञ्जालमा आफ्नी छोरीको विषयमा यस्ता अपशब्द बोलेको सुन्दा नराम्रो मान्नुहुन्छ।”
यस्तै महसूस हुने गरेको बताउने निशा अधिकारी भन्छिन्‚ “आफ्नो परिवारको चित्त दुख्दा झन् धेरै दुःख लाग्दोरहेछ।”
यस्ता हिंसात्मक अभिव्यक्तिले समग्र महिला उम्मेदवारलाई नै असर पार्ने गरेको अधिकारी बताउँछिन्। एकातिर संविधानले प्रत्याभुत गरेको ३३ प्रतिशत महिला सहभागिताले पनि ठाउँ नपाउनु, अर्कातिर मुश्किलले चुनावी मैदानमा आउनेलाई पनि यसरी विभिन्न अश्लील टिकाटिप्पणी गरिनुले महिलाको आवाजलाई संसद्मा पुग्नुभन्दा अघि नै रोक्न खोजेको उनको बुझाइ छ। यद्यपि यस्ता प्रवृत्तिका कारणले पछि हट्न नहुने उनको विश्वास छ।
सामाजिक सञ्जालमा अश्लील शब्दको प्रहार गर्नेहरू भौतिक रूपमा भेट हुँदा भने निकै भद्रताका साथ पेश हुने उनको अनुभव छ। “फेसबुकमा गाली गर्ने मान्छे अगाडि पर्दा एकदमै भद्र भलादमी रूपमा प्रस्तुत हुन्छन्।” अधिकारी भन्छिन्, “त्यसैले ट्रोल गर्दैमा डराउनु हुँदैन, आफ्नो बाटो हिंडिरहनुपर्छ।”
सामाजिक सञ्जालबाट भइरहेका यस्ता आक्रमण विरुद्ध सबै एक भई आवाज उठाउनुपर्ने भन्दै अधिकारी भन्छिन्, “एक जनाले उठाउँदा अरूलाई पनि राहत हुन्छ, म एक्लै रहेनछु भन्ने हुन्छ।”
दर्शना पनि यसरी नकारात्मक टिप्पणीले महिलालाई कमजोर बनाउन खोज्नु पुरुषसत्तात्मक समाजको उपज भएको बताउँछिन्। उनी भन्छिन्, “यस्ता शब्दको प्रहारले आफ्नो लडाइँ रोक्नु हुँदैन।”
“महिला अगाडि बढेको देख्न चाहने एकदमै कम मान्छे हुन्छन्। त्यसैले हेपेर यस्तो बोल्छन्” कठायत भन्छिन्, “महिला अगाडि आउँदा पुरुषले आफूलाई असुरक्षित महसूस गरेका कारणले यसरी कमजोर बनाउन खोजेका हुन्।”
आचारसंहिताको खिलाप
नेतृत्वमा आउँदै गरेका महिलामाथि यसरी अपमानजनक अश्लील टिप्पणी गर्नु भनेको महिलामाथिको दमन, उत्पीडन मात्रै होइन, निर्वाचन आचारसंहिताको उल्लंघन पनि हो। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले गत माघ ४ गते राति १२ बजेदेखि ‘निर्वाचन आचारसंहिता-२०८२’ लागू गरेको छ।
उक्त आचारसंहिता नेपाल सरकार, तिनै तहका सरकारका पदाधिकारीहरू, सबै कर्मचारी, संघ/संस्थामा आवद्ध व्यक्तिहरू, उम्मेदवार, मतदाता लगायत सबै व्यक्तिमा लागू हुन्छ भनिएको छ।
‘निर्वाचन आचारसंहिता-२०८२’ को परिच्छेद २ को दफा ४ को (ञ) मा ‘सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन नहुने’ भनिएको छ, साथै दफा ४ कै (ठ) मा ‘सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषण (हेट स्पीच) जस्ता भ्रामक टिकाटिप्पणी गर्न वा गराउन नहुने’ भनिएको छ।
सोही दफाको (ण) मा ‘कसैको चरित्रहत्या गर्न, व्यक्तिगत लाञ्छना लगाउन, मानहानि गर्न वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरूपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न वा गराउन नहुने’ भनेर स्पष्ट उल्लेख गरिएको छ। यसरी महिला उम्मेदवारलाई अश्लील शब्द प्रहार गरी टिप्पणी गर्दा आचारसंहितको उल्लंघन हुन्छ।
त्यसका विरुद्ध लिखित, मौखिक, सामाजिक सञ्जाल, विद्युतीय माध्यम अन्य कुनै तरीकाले आयोगमा अथवा मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन कार्यालय वा निर्वाचन आचारसंहिता अनुगमन टोली वा अनुगमन अधिकृत समक्ष उजुरी दिन सक्ने व्यवस्था छ।
यसरी आचारसंहिता उल्लंघन गर्नेलाई रु.एक लाखसम्मको जरिवाना, उम्मेदवार भए उम्मेदवारी रद्द गरिने, निर्वाचन कसूर तथा सजाय सम्बन्धी ऐन-२०७३ बमोजिम कारबाही हुने र कसूर अनुसारको सजाय हुने व्यवस्था छ।
‘निर्वाचन आचारसंहिता-२०८२’ लागू भएयता हालसम्म ३४४ वटा निर्वाचन आचारसंहिता उल्लंघनका उजुरी दर्ता भएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए।