नियोजित रूपमा छिमेकीको घर लूटपाट, तोडफोड र आगजनी हुँदा समेत खुच्चिङ गर्ने यो हाम्रो कस्तो संवेदना हो?
२०८२ भदौ २४ गते देशभर स्थापित दलका नेताका घर र पार्टी कार्यालयहरूमा आगो झोसियो। हिमालखबरका संवाददाता अर्चना परियारले गरेको संकलन अनुसार, सबैभन्दा बढी नेकपा एमालेको १५० नेता/कार्यकर्ताका घर र सम्पत्ति नष्ट गरिएको छ। ६५ जिल्लाका पार्टी कार्यालयमा तोडफोड र आगजनी गरिएको छ। नेपाली कांग्रेसका ४० नेता/कार्यकर्ताका घर र ४८ जिल्ला पार्टी कार्यालय जलाइएको छ। पूर्वमाओवादीका २० नेता/कार्यकर्ताका घर र २६ पार्टी कार्यालयमाथि क्षति पुऱ्याइएको छ। नेकपा एकीकृत समाजवादी, राप्रपा, जनता समाजवादी पार्टी (अशोक राई र उपेन्द्र यादव समूह), जनमत पार्टीका कार्यालय र नेताका घरमा पनि आक्रमण भएको छ। विभिन्न दलका नेताका २३९ घर र १५८ पार्टी कार्यालय नियोजित रूपमा जलाइएका छन्। यस तथ्यांकले देखाउँछ, भौतिक हिंसाले राजनीतिक, सामाजिक र आर्थिक तहमा निकै असर पुऱ्याएको छ।
नेताका घरमा छानीछानी आक्रमण गरेपछि तिनका परिवार अहिलेसम्म लुकेर बस्न बाध्य छन्। कतिपयले नातेदार वा परिचितको घरमा शरण लिएका छन्। परिवार छिन्नभिन्न भएर बस्नु परेको छ। बालबालिका, बूढाबूढी र अन्य सदस्य फेरि त्यस्तै घटना दोहोरिने आशंकामा भयभीत छन्। पीडित नेताहरू त्यस दिनको ‘ट्रमा’बाट अझै बाहिर निस्कन सकिरहेका छैनन्।
भदौ २४ को तोडफोड, लूटपाट र आगजनीबाट राजनीतिक दलका कार्यालय‚ नेता तथा कार्यकर्ताको भौतिक सम्पत्तिमा पुगेको क्षति-विवरण

मौन देउवा‚ मुखाले ओली
भदौ २४ मा कांग्रेस सभापति शेरबहादुर देउवा आक्रमणको तारो भए। दम्पतीमाथि हातपात भयो। उनको घर जलाइयो। दम्पतीले जसोतसो ज्यान जोगाउन सके। सबैभन्दा धेरै क्षति बेहोरे पनि देउवा यसबारे केही बोलिरहेका छैनन्। यति ठूलो विपत्ति बेहोरेका देउवाको सभापति पद समेत गुमेको छ। निर्वाचन आयोगले विशेष महाधिवेशन पक्षधरलाई मान्यता दिएपछि मुद्दा सर्वोच्च अदालतमा पुगेको छ। शायद यही कानूनी सीमाभित्र अड्किएका देउवा निकै अप्ठेरो स्थितिबाट गुज्रिरहेका छन्।
लामो समय लगानी गरेको पार्टीबाट चुनावकै मुखमा बहिर्गमन हुन बाध्य पारिनु र व्यक्तिगत सम्पत्तिमा समेत क्षति पुग्नुले उनी तनावपूर्ण अवस्थामा पुगेका हुन्। विशेष महाधिवेशनअघिसम्म एमालेलाई समेत चुनावमा सहभागी हुन प्रेरित गरिरहेका देउवा यतिवेला चुनावी गतिविधिबारे मौन छन्।
भदौ २४ मा सर्वाधिक क्षति बेहोरेका एमाले कार्यकर्ताको नैतिक साहस निकै खस्केको छ। किनकि, एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले १९ जना युवा मारिंदा त्यसको नैतिक जिम्मेवारी आजसम्म लिएका छैनन्। परिणाम– कार्यकर्तामा भय र असुरक्षा बढाएको छ। यसले एमालेका समर्थकहरू चुनावी प्रचारप्रसारमा जान हिचकिचाइरहेका छन्।
देउवा मात्र होइन, कांग्रेसका कैयौं नेता यसपालिको निर्वाचनमा मौन बसेका छन्। तिनलाई बोल्न अप्ठेरो छ, धर्मसंकटमा छन्। गगन थापा नेतृत्वको ‘नयाँ कांग्रेस’लाई अवैधानिक भन्दै अदालतको ढोका ढक्ढक्याउन पुगेका छन्। चुनाव प्रचार गर्न समेत मुश्किल छ। विरोधमा बोल्दा कांग्रेस कमजोर हुने डरले देउवा लगायत नेताहरू चूप छन्।
हाम्रो संवेदनहीनता
मधेशी दल र भदौ २३-२४ पछि बनेको नेपाली कम्युनिष्ट पार्टीमा पनि यस्तै स्थिति देखिन्छ। तिनको मनोबल अझै उकासिन सकेको छैन। हिंस्रक समूहले नियोजित रूपमा छानीछानी जलाएको नेताका घर र बिचल्लीमा परेका तिनका परिवारप्रति राज्यले सुरक्षा, राहत र पुनर्निर्माणमा ठोस कदम चालेन। राज्यको बेवास्ताले नागरिक र नेताहरूमा थप भयको वातावरण सिर्जना गऱ्यो। राज्यले त उपेक्षा गऱ्यो गऱ्यो, समाज पनि उनीहरूलाई सान्त्वना दिन चुक्यो। जसको घर जलाइयो, जतिले सांघातिक आक्रमणको सामना गर्नुपऱ्यो, उनीहरूप्रति संवेदनशीलता समाजमा कम देखियो।
राज्यले सबै नागरिकको जीवन र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्नुपर्छ। त्यसका लागि आवश्यक नीति तय गर्नुपर्छ। समाजले पनि सहिष्णुता र संवेदनशीलता कायम राख्नु अनिवार्य छ। सामाजिक सञ्जालमा हिंसाका सनसनीपूर्ण प्रस्तुतिलाई त्यागेर सद्भावपूर्ण सन्देश प्रवाह गर्नुपर्छ। छिमेकीको घर जल्दा खुच्चिङ गर्ने परपीडक होइन, नेपाली समाज। तर, यसपालि त्यस्तै कुरूप चित्र समाजमा देखिनु दुर्भाग्यपूर्ण छ।
घर ध्वस्त हुँदा भौतिक सम्पत्ति मात्र मासिंदैन, सामाजिक पुँजी र मानवीय मनोबल पनि तहस-नहस हुन्छ भन्ने कुरा बुझ्न जरूरी छ। राजनीतिक हिंसाले सामाजिक भरोसा, आर्थिक सुरक्षा, न्यायप्रतिको विश्वास र लोकतान्त्रिक संस्कृतिमा धेरै असर पारेको छ। भदौरे हिंसाले देखाएको छ– नेपाली समाजले संवेदनशीलता गुमाउँदै छ। सहिष्णुता, न्याय र सामाजिक सद्भाव कमजोर हुँदै गएको छ। हिंसाप्रति समाजको प्रतिक्रिया सनसनीपूर्ण वा मनोरञ्जनात्मक रूपमा प्रस्तुत हुनु चिन्ताजनक छ। भविष्यमा यस्ता घटना राजनीतिक क्षति मात्र नभई सामाजिक अस्थिरता र सांस्कृतिक क्षयको कारण बन्न सक्छ। यस्ता घटनाबाट सिर्जित भयले भविष्यमा कार्यकर्ता र नेताहरूको सक्रियता घटाउँछ, दलहरू कमजोर बन्छन् र लोकतान्त्रिक पद्धति रुग्ण बन्छ।
सन्देश स्पष्ट छ– राजनीति‚ सामाजिक सहिष्णुता र राज्यको सुरक्षा सँगसँगै अघि बढ्नुपर्छ। केवल प्रचारप्रसार र चुनावी प्रतिस्पर्धामा सीमित रहँदा लोकतन्त्र मजबूत हुन सक्दैन। संवेदनशीलता, न्याय र सहिष्णुताले मात्र भविष्यमा हिंसाबाट समाजलाई सुरक्षित राख्न सक्छ।