कुनै जिम्मेवार मध्यस्थता विना स्ट्याटस, फोटो, भिडिओ, पोडकास्ट र मीमको भरमै लोकप्रियतावादी नेताका सिद्धान्तहीन र उत्तेजक विचारहरू ‘एको-चेम्बर’मा एकोहोरिएका लाखौंसम्म पुग्छन्। डिजिटल लोकप्रियतावादलाई उत्पीडितकेन्द्री आलोचनात्मक चेतले मात्रै चुनौती दिन सक्छ।
रिता बरामु
सन् २०२३ मा ९ महीनासम्म टिकटक प्रतिबन्ध गरी नियमनको दायरामा ल्याएको सरकारले २०२५ मा पुनः फेसबुक, ह्वाट्सएप जस्ता करीब २६ प्लाटफर्मलाई सूचीकृत नगरुन्जेल निष्क्रिय गर्दा सत्ता नै पल्टिने परिस्थिति बन्यो। यसले डिजिटल प्रविधिको पहुँच, प्रभाव र शक्ति कति छ भन्ने कुरा प्रस्ट पार्छ।
डिजिटल प्लाटफर्मको यही शक्ति टेक्नो-पपुलिजम् अर्थात् डिजिटल लोकप्रियतावाद मौलाउन प्रयोग हुँदै आएको देखिन्छ। सञ्चारका लागि इन्टरनेट र प्रविधिको प्रयोग बढिरहँदा यो अझै व्यापक हुन्छ।
डिजिटल लोकप्रियतावाद
लोकप्रियतावाद व्यक्ति केन्द्रित, बौद्धिक सोच विरोधी र समतामूलक राजनीति विरोधी हुन्छ र यसले कुनै शत्रुको परिकल्पना गरेर त्यसको खिलाफमा आफ्नो प्रचार अगाडि बढाउँछ। यो कुनै राजनीतिक विचारधारा नभई सस्तो तरीकाले लोकप्रिय हुने र सत्ता कब्जा गर्ने रणनीति र शैली हो।
आजको विश्व परिदृश्यमा दक्षिणपन्थीहरूले लोकप्रियतावादको बढी दुरुपयोग गरेको भेटिन्छ। संयुक्त राज्य अमेरिकामा आप्रवासीलाई खेद्ने योजना सहित उदाएको ट्रम्प प्रशासन होस् या भारतमा इस्लामद्वेषी भावना प्रवर्धन गर्दै फैलिएको मोदीराज दुवै दक्षिणपन्थी लोकप्रियतावादी नमूना हुन्। नेपालको सन्दर्भमा लिपुलेक, कालापानी र नागरिकताको मुद्दा लिएर भारत विरोधी राष्ट्रवाद फैलाउने काम लोकप्रियतावादका उदाहरण हुन्। राजतन्त्र सहितको हिन्दू राष्ट्रको माग राख्नेहरूले पनि यही शैली अपनाएका छन्।
लोकप्रियतावादको डिजिटल संस्करण प्राज्ञिक क्षेत्रमा विभिन्न दृष्टिकोणबाट अध्ययन गरिएको छ। लेखक तथा डिजिटल कल्चर र सोसाइटीका प्राध्यापक पाउलो जेरवाडो तीव्र आर्थिक संकट र प्राविधिक परिवर्तनका कारण धनी र गरीबबीच बढेको खाडलबाट असन्तुष्ट तर डिजिटल रूपमा सक्रिय जनतालाई आकर्षित गर्दै डिजिटल पपुलिजम्को उदय भएको कुरा गर्छन्। राजनीतिशास्त्रका प्राध्यापक म्यानुएल माल्दोनादो समकालीन लोकप्रियतावादको बहसमा डिजिटल प्रविधिको प्रयोगलाई छुटाउनै नहुने प्रस्ताव गर्छन्। विश्वमै सामाजिक सञ्जाल सूचना आदानप्रदान तथा विचार विस्तारको मुख्य साधन भएकोले यो प्रस्ताव स्वाभाविक देखिन्छ। सारतः लोकप्रियतावाद विभिन्न डिजिटल र भौतिक पक्षसँगको अन्तरसम्बन्धमा विस्तार हुँदै जान्छ र डिजिटल लोकप्रियतावादमा परिणत हुन्छ।
नेपाली शक्ति समीकरण
नेपालमा डिजिटल माध्यमहरूको प्रयोग बढेसँगै डिजिटल लोकप्रियतावादको भरपुर उपयोग हुँदै आएको देखिन्छ। तर, यस विषयमा खासै व्यवस्थित बहस भएको छैन। कुनै ठोस राजनीतिक सिद्धान्त र कार्यदिशा विनै स्थापित दलका नेताहरूका कार्यशैली, जवाफहीनता, कुशासनमाथि प्रश्न गर्दै आफूलाई वैकल्पिक दाबी गर्ने शक्तिहरू यस्तै परिपाटीबाट चर्चामा आएका उदाहरण हाम्रो सामुन्ने प्रशस्तै छन्। यी राजनीतिक पात्रहरूले आफ्नो लाखौं फलोअर्स भएको सोशल मीडियालाई नै प्रस्थान विन्दु बनाएर आफ्नो पकड जमाउँदै आएको देखिन्छ।
फलतः वस्तुस्थिति यस्तो देखियो कि समस्याग्रस्त राजनीतिक परिवेशबीच जनताको लोकतान्त्रिक संस्थाप्रतिको विश्वसनीयता गुम्दै गएको अवस्थामा उद्धारक या मसिहा जस्ता पात्रहरू हाम्रै वरिपरि उदाइरहेका छन्। अर्कोतिर पुराना भनिएकाहरू भ्रष्टाचारमै लिप्त थिए, देशको परिवेश बदल्न युवा उपस्थिति अपरिहार्य छ भन्ने भाष्य उनीहरूले जबरदस्त स्थापित गर्दै गए, जसले गर्दा ‘युवा भर्सेस् वृद्ध’ को माहौल जन्मियो। एजिजम् अर्थात् उमेरवादलाई बढावा दिइएको अवस्था छ, जसमा पुराना पुस्तामा धेरै समस्या भए पनि उनीहरूका अनुभव, ज्ञान र योगदान औचित्यहीन हुने जस्तो भाष्य फैलाइयो।
सरकारी कार्यालयमा सीसीटीभी प्रविधि जडान, विभिन्न एप लञ्च गरेर होस् या महानगरपालिकाको बैठक लाइभ गरेर सुशासन तथा पारदर्शिताको दाबी गर्नु जस्ता स्टन्टमा कुनै न कुनै हिसाबले लोकरिझ्याइँको झलक भेटिन्छ। यसमा स्वतः डिजिटल पक्ष जोडिएको हुन्छ।
भ्रष्टाचार र सुशासनकै मात्र कुरा गर्ने हो भने पनि सत्तामा रहँदा तलब-भत्ता त्याग्ने या वैकल्पिक राजनीतिमा आउन लाखौंको विदेशी जागीर र स्थायी बसोबास छाडेर आएको प्रचारबाजी गर्ने, विपन्नभन्दा सम्पन्नले राजनीति गर्दा मात्र भ्रष्टाचार हुँदैन भन्ने जस्ता अभिव्यक्तिहरू डिजिटल प्लाटफर्महरूमा छ्यापछ्याप्ती भेटिन्छन्। जबकि, भ्रष्टाचारको अर्थ-राजनीतिक पाटो नखोतली गरिएका यस्ता सतही स्टन्टहरू लोकरिझ्याइँभन्दा बढी केही होइनन्।
पुराना र नयाँ सबै खाले पात्रले कुनै न कुनै तरीकाले लोकरिझ्याइँ गरे पनि नयाँहरू प्रविधिको प्रयोगमा अगाडि देखिन्छन्। नयाँ भनिएकाहरूले लोगो, रङ र कन्टेन्टको एकनासे संयोजन र क्युरेटेड फीडसँगै अनलाइन उपस्थिति बलियो देखाइरहेका छन्। भलै पुरानाहरू पनि सिक्दै छन्। किनकि पुरानिएका शक्तिमा पनि युवा समूहको उपस्थिति नहुने होइन। त्यसैले झट्ट हेर्दा राजनीतिक बहस र सन्देशहरू अचेल कुनै विशाल डिजिटल मार्केटिङ जस्तो देखिने अवस्था छ। जुन लोकप्रियतावादकै एउटा सानो डिजिटल झलक हो। तसर्थ, राजनीति र समाजशास्त्रका सहप्राध्यापक जुल्यानो बोब्बा लोकप्रियतावादी नेताहरू अरूभन्दा डिजिटल माध्यममा अभ्यस्त हुने बताउँछन्। यो प्रक्रिया डिजिटल प्लाटफर्महरूको विशिष्टता र अधिकतम प्रयोगबाट सम्भव बन्न पुगेको हो।
उक्साउने प्लाटफर्म
डिजिटल प्लाटफर्मले जनतासँग प्रत्यक्ष-परोक्ष साक्षात्कार नहुनेलाई पनि संवाद गराउँछ। यो लोकप्रियतावादीहरूका लागि निकै उपयोगी हुन्छ। नेताका अभिव्यक्तिलाई प्लाटफर्महरूले थोरै र छोटो समयमा लाखौंको मासमा पुऱ्याउन सक्छन्। मूलधारे मीडियाको मध्यस्थता, कुनै अन्तर्वार्ता या पत्रकार सम्मेलन विनै स्ट्याटस, फोटो, भिडिओ, पोडकास्ट र मीमको भरमै उनीहरूका सिद्धान्तहीन तर उत्तेजक विचारहरू लाखौंसम्म पुग्नु र देशको राजनीतिक केन्द्रलाई चुनौती दिंदै आफू शक्तिकेन्द्रमा पुग्न सक्नेसम्म बन्नु चानचुने कुरा होइन। अझ तिनै स्ट्याटसहरू आधिकारिक धारणा जसरी भारी मात्रामा मूलधारे मीडियामा समेटिनु, लाखौंका लागि चिया गफ या फेसबुक स्ट्याटसको विषय बन्नुलाई साधारण मान्न सकिंदैन। यसरी व्यक्त भएका धारणासँग फेरि जनताको दोहोरो संवाद नहुनु र जवाफदेहिता शून्यप्रायः हुनु अर्को विडम्बनाको कुरा हो।
आजको भ्रामक, मिथ्या, गलत सूचना र षड्यन्त्रपूर्ण सिद्धान्तहरू सम्प्रेषण भइरहेको र समुदाय लक्षित घृणायुक्त अभिव्यक्ति (हेट स्पीच), अनलाइन हिंसा मौलाइरहेको अवस्थामा डिजिटल लोकरिझ्याइँ अझ तीव्र गतिमा फैलने सम्भावना छ। अन्तर्राष्ट्रिय सन्दर्भमा गलत सूचनाको प्रयोग र सीमान्तकृत समुदाय लक्षित घृणायुक्त अभिव्यक्तिको अभ्यास गर्दै लोकरिझ्याइँ मार्फत दक्षिणपन्थी समूहले आफ्नो अर्थ-राजनीतिक स्वार्थ पूरा गर्दै आएका उदाहरण हाम्रा सामुन्ने छँदै छन्। सन् २०१७ मा नेदरल्याण्डको चुनावी अभियानमा मुस्लिम विरोधी नेता गिर्ट वाइल्डर्सले प्रतिद्वन्द्वी अलेक्जेन्डर पेचटोल्डलाई शरिया कानूनको वकालत गर्दै गरेको भ्रामक फोटो पोस्टलाई उदाहरण मान्न सकिन्छ। नेपालमा पनि राजनीतिक दलका एक नेताले महाधिवेशनको वेला एआई फोटोको प्रयोग गरी आफ्ना समर्थकहरूको महाभिड देखाउन खोजेको घटना ताजै छ।
अर्कोतर्फ‚ सोशल मीडिया अल्गोरिदमले नै डिजिटल लोकप्रियतावादलाई फैलाउने काम गर्छ। प्लाटफर्महरूले अल्गोरिदम बनाउँदा फरक विचारलाई प्रयोगकर्ताको फीडमा बन्देज हुने तरीका अपनाएका हुन्छन्। यस्तो व्यक्तिपिच्छे सूचनाको प्रवाहले विचार, सिद्धान्त र राजनीतिक ध्रुवीकरणलाई बढाउँछ। व्यक्तिगत पूर्वाग्रहलाई बलियो बनाउँदै लैजान्छ। मानिसले आफ्नो रुचि र विचार मिल्ने कन्टेन्टलाई नै लाइक, कमेन्ट, सेभ गर्दै जाँदा उसको सोशल मीडिया अकाउन्ट तिनै रुचि र विचार समर्थितहरूको सँगालो बन्दै जान्छ। किनभने सोशल मीडिया अल्गोरिदमले प्रयोगकर्ताको छनोट अनुरूपकै रुचि र विचार मात्र देखाउँदै लान्छ। फरक विचार प्रयोगकर्ताको अकाउन्ट बाहिरै रहन्छन्।
जब कहिल्यै आफ्नोभन्दा फरक विचार सुन्न, देख्न, बुझ्न पाइँदैन, तब व्यक्ति साँघुरो बन्दै जान्छ। यिनै साँघुरा कोठाहरू लोकप्रियतावादको विशाल खेल्ने मैदान बन्न पुग्छन्। किनकि भिडलाई कसरी उत्तेजित बनाउने, उनीहरूको भावनालाई कसरी प्रयोग गर्ने, विषयहरूलाई कसरी थप सनसनीपूर्ण बनाउँदै आफू अनुकूल भाष्य स्थापित गर्ने भन्ने कुरा लोकप्रियतावादीहरूले जानेका हुन्छन्।
मीडिया र इन्फ्ल्युएसरको कनेक्सन
डिजिटल लोकप्रियतावाद यतिको मौलाउनुमा सोशल मीडियाको भूमिका र यसको रणनीतिक प्रयोग भइरहेको त स्पष्ट छ। तर, यसलाई थप मौलाउने वातावरण मूलधारे मीडिया र कन्टेन्ट क्रियटर/इन्फ्ल्युएन्सरहरूले तयार पारेका हुन्। मीडिया पहिलेदेखिकै शक्तिशाली माध्यम हो भने सामाजिक सञ्जालको आगमनसँगै उदाएका कन्टेन्ट क्रियटर/इन्फ्ल्युएन्सरहरूको शक्ति र प्रभावलाई पनि कम आँक्न मिल्दैन।
अहिलेको ध्यानकेन्द्री अर्थतन्त्र (अटेन्शन इकोनमी) मा मानिस भ्युज बढाउने र भाइरल हुने दाउमा जस्तोसुकै उत्तेजक अभिव्यक्तिलाई पनि प्रचारप्रसारमा ल्याउँछन्। आलोचनात्मक चिन्तकलाई भन्दा लोकप्रियतावादी पात्रलाई छानी-छानी स्थान दिन्छन्। र, कस्तो लोकप्रियतावादलाई स्थान दिने भन्ने कुरा उनीहरू आफू कस्तो चिन्तनबाट ग्रसित छन् र कुन ‘एको-चेम्बर’मा फसेका छन्, त्यसमा भर पर्छ। त्यसैले त नयाँ तथा पुराना पात्रहरूको समस्याग्रस्त फेसबुक स्ट्याटस्हरू समेत मूलधारका समाचार बन्छन्। तर, वर्गीय र जातीयसँगै सबै खाले उत्पीडन विरुद्ध वैकल्पिक विचार निर्माण गरिरहेको पार्टी या व्यक्तिको आवाज भने मूलधारे मीडिया या इन्फ्ल्युएन्सरहरूको कन्टेन्टमा अटाउन सक्दैन। यो निकै खेदजनक अवस्था हो।
आगामी बाटो
लोकरिझ्याइँ चाहे डिजिटल माध्यममा देखियोस् या भौतिक दुनियाँमा, यसको जरा अर्थ-राजनीतिक व्यवस्थामा खोज्नुपर्ने हुन्छ। उदारवादी अर्थव्यवस्थामा डिजिटल साधनको उपयोगले यो बढी फैलिन्छ। जसको प्रविधि र मीडियामाथि पकड छ, उसैले बढी फलोअर्स् बटुल्न सक्ने सीप र क्षमता राख्छ। त्यसमाथि लोकरिझ्याइँको एजेन्डा बोकेपछि सोशल मीडिया इन्गेजमेन्ट बढाउनका लागि लोकरिझ्याइँ नै प्रयोग गर्नु स्वाभाविकै हो। यिनै खेलको आधारमा अर्थ-राजनीतिक शक्ति र सत्ता कब्जा गर्न खोजिन्छ।
डिजिटल लोकप्रियतावादको प्रभाव सबैमा परे पनि सीमान्तकृत र उत्पीडितहरूलाई यसले बढी हानि पुऱ्याउँछ। किनभने यसको प्रकृति नै यथास्थितिको शक्ति संरचनालाई भत्काउने होइन, बढवा दिने हुन्छ। सन् २०२३ मा टिकटक प्रतिबन्ध गर्दा पनि टिकटकले सामाजिक मर्यादामा आँच पुऱ्याउने काम गरेको तर्क अघि सारिएको थियो। जबकि मर्यादा भन्ने सामाजिक अवधारणा सत्ता र शक्तिमा रहेकाले आफ्नै अनुकूल निर्धारण गरेका हुन्छन्। र, यो अवधारणा शक्ति संरचनाको पिंधमा रहेकाहरूमाथि झनै हिंसा गर्ने किसिमको बन्न सक्छ।
लोकप्रियतावादले बहुसांस्कृतिक पहिचानहरू चिन्दैन र कुनै एक निश्चित तप्कालाई दुश्मन करार गर्दै जनमानसमा डरको राजनीति फैलाउने गर्छ। जस्तो कि भूराजनीतिक कारण देखाई सीमान्तकृतहरूले आफ्नो पहिचानको परीक्षा सधैं दिइराख्नुपर्ने बोझलाई बढाउँछ। सोशल मीडियामा डंका पिट्नका लागि देखावटी हिसाबले सीमान्तीय र उत्पीडित प्रतिनिधिहरूलाई समानुपातिक उम्मेदवारको ललिपप दिन्छ र फेरि भूराजनीतिक चासोको डर देखाई निरंकुश तवरले तिनै सीमान्तकृतको उम्मेदवारी खोस्छ। अर्कोतर्फ पूँजीविहीनहरू राजनीतिमा आए भने भ्रष्टाचार बढ्छ भन्ने मनगढन्ते गफ दिंदै सीमान्तकृतहरूको राजनीतिक कदमलाई छेकबार लगाउने प्रयास जारी छ। समग्रमा यो उत्पीडित वर्ग र समुदायको लागि घातक अवस्था हो।
लोकप्रियतावाद र यसको दक्षिणपन्थी दुरुपयोगको निराकरण भनेको सीमान्तकृत र उत्पीडितकेन्द्री आलोचनात्मक चेतमै छ। जसको लागि डिजिटल तत्त्वलाई पनि बहस र प्रयोगमा ल्याउनुपर्छ। उत्पीडित वर्गले डिजिटल माध्यमको प्रयोग गर्दै निरंकुशहरूको लोकरिझ्याइँलाई प्रतिवाद नगरेको होइन तर यस्तो विरोधको मात्रा कम छ। त्यसमाथि उनीहरूको प्रयास समग्र व्यवस्थाले नै प्रत्युत्पादक बनाइरहेको हुन्छ। नातावाद र कुशासन लगायत समस्याको विरोध गर्दै उदाएको जेन-जी विद्रोहले समेत सीमान्तकृतका सवाल ओझेल पार्दै सत्ता वरपरका विशेषाधिकारप्राप्त अनुहारलाई नै स्थापित गर्न पुग्यो। यो त्यही प्रत्युत्पादकताको उदाहरण हो। आलोचनात्मक चेत सहितको संगठित प्रतिरोध नै अनलाइन र अफलाइनमा हुने लोकप्रियतावादलाई परास्त गर्ने जुक्ति हो।
(बरामु अष्ट्रेलियन नेशनल युनिभर्सिटीमा मास्टर्स अफ टेक्नोलोजी गभर्नेन्सका विद्यार्थी हुन्।)