बालेन्द्र शाहको देश दौडाहामा मतदातालाई भन्दा मठ-मन्दिरलाई प्राथमिकतामा राखिएको छ। संविधान मान्छौं भनी दाबी गर्ने रास्वपाका प्रस्तावित प्रधानमन्त्री शाहको यस्तो गतिविधि धर्मनिरपेक्ष संविधानको मर्म विपरीत देखिन्छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ सालमा सार्वजनिक गरेको ‘हामी र हाम्रो वाचा’ घोषणापत्र (बुँदा नम्बर ६) ले संघमा ‘जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री’ र प्रदेशमा ‘जनताद्वारा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री’ रहने शासकीय स्वरूपको परिकल्पना गरेको छ। त्यही लिखित प्रतिबद्धता बमोजिम रास्वपाले संसदीय व्यवस्थामा समेत राष्ट्रपतीय निर्वाचन शैलीमा चुनावी ‘क्याम्पेन’ अर्थात् प्रचार अभियान गर्दै आइरहेको हो। यसपालिको निर्वाचनमा यस दलले बालेन्द्र शाहलाई प्रधानमन्त्रीको रूपमा प्रस्ताव गरी देश दौडाहामा निकालेको छ। रास्वपाले आफ्नो आदर्शमा “संवैधानिक समाजवाद (समाजवाद उन्मुख संविधानवाद) को दिशामा मुलुकलाई अगाडि बढाउनु” नै आफ्नो प्रतिबद्धता भएको जनाएको छ। दलले लेखेको छ– ‘संविधानप्रतिको सम्मान भाव कायम राखी संवैधानिक मर्म र भावनाको पालना गर्दै नागरिकको हक-अधिकारको संरक्षण र स्वतन्त्रताको रक्षा गरी संवैधानिक सर्वोच्चता भएमा संविधानवाद कायम हुन्छ।’
रास्वपाको लिखित प्रतिबद्धतामा संवैधानिक प्रावधानलाई पालना गर्ने लेखिए पनि यस दलमा संविधानका चार स्तम्भ– संघीयता, समावेशी लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षतामा नीतिगत अन्योल देखिन्छ। नीतिगत प्रस्टता नभएकै कारण होला रास्वपाले यी विषयमा मौनता साँध्दै आइरहेको छ। यद्यपि, व्यवहारबाट यसका नेताहरूले आफ्नो पक्षधरता देखाउँदै आइरहेका हुन्, जुन यसपालिको चुनावी प्रचार अभियानमा पनि बालेन्द्र शाहले देखाइरहेका छन्।
काठमाडौं महानगरपालिकाको प्रमुखबाट माघ ४ गते राजीनामा दिएपछि एउटा मन्दिरमा दर्शन गर्न गएको प्रचारबाजी गर्दै बालेन्द्रले काठमाडौं उपत्यका छाडे। त्यही साँझ उनी जनकपुर पुगे। माघ ५ गते बिहानै जानकी मन्दिर पुगेर त्यहाँका महन्तसँग भेटघाट गरी आशीर्वाद लिए। यी सबै ‘डिजिटल प्लाटफर्म’बाट संयोजित रूपमा प्रचारप्रसार गरियो। उनले त्यसै दिन दिउँसोको आमसभामा मैथिलीमा बोल्दै आफूलाई मधेशको छोराको रूपमा प्रस्तुत गरे। काठमाडौं महानगरपालिकाको मेयर पद जित्न ‘डिजिटल प्लाटफर्म’मा ठकुरी शाहको रूपमा प्रस्तुत गरेका बालेन्द्रका चुनावी रणनीतिकारले यसपालि उनलाई जनकपुरमा मधेशी साहको रूपमा पेश गरे। संघीयताको विरोध जनाउन २०७९ मा सम्पन्न निर्वाचनमा प्रदेश सभाको उम्मेदवारलाई मतदान नगर्ने बालेन्द्रले संघीयताको समर्थनमा भाषण मात्र गरेनन्, संघीयता प्राप्तिको लागि भएको मधेश आन्दोलनमा शहीद भएका रमेश महतोको लहानस्थित शालिकमा माल्यार्पण पनि गरे। संघीयताको मेरुदण्ड प्रदेश सभामा उम्मेदवारी नदिने र मतदान बहिष्कार गर्ने रास्वपाका सभापति रवि लामिछाने र बालेन्द्र शाहको वैचारिक गठबन्धनमा आएको परिवर्तन हो यो? मतदाताले गहिरो नजर राखिराख्न जरूरी छ।
तीर्थाटन जस्तो चुनावी अभियान
जनकपुरधामको आमसभापछि बालेन्द्र माघ ६ गते झापा पुगेर मनोनयन दर्ता गरे र भोलिपल्ट पूर्वी पहाड उक्लिए। त्यहाँ पनि पाथीभरा/मुक्कुमलुङ जस्ता तीर्थस्थल प्राथमिकतामा परे। पाथीभरा देवीको दर्शन गरेको तस्वीर सार्वजनिक गरे। त्यहाँबाट उनी काठमाडौं फर्किए। अहिले नेपालगन्ज हुँदै सुदूरपश्चिमका जिल्लाहरू घुमिरहेका छन्। तर जनकपुर बाहेक अन्य स्थानमा बालेन्द्रले मतदातालाई सम्बोधन गरेका छैनन्, बरु पूर्वराजा ज्ञानेन्द्रको शैलीमा गाडीको ‘मुनरूफ’बाट टाउको निकालेर हात हल्लाउँदै अभिवादन फर्काइरहेका छन्। रास्वपाले र आफूले जितेपछि के-कस्ता नीति तथा कार्यक्रममाथि काम गर्छन्? आफ्ना विमति रहेका संविधानका प्रावधानहरूलाई के-कसरी व्यवस्थापन गर्छन्? उनलाई के आधारमा मतदाताले मतदान गर्नुपर्छ? अहिलेसम्म मतदाताले सार्वजनिक वृत्तमा यसबारे उनका अभिव्यक्ति सुन्न पाएका छैनन्। झापाका घरदैलोमा खिचिएको भनिएका केही सार्वजनिक ‘क्लिप्स’हरू सञ्जालमा फैलाइएका छन्, जसमा उनी टाउको हल्लाइरहेका देखिन्छन्।
रास्वपाका प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाहको देश दौडाहा चुनावी अभियानभन्दा बढी देखावटी तीर्थाटन जस्तो लाग्छ। माघ ४ यताका यात्राक्रमलाई हेर्दा उनी पुगेका अधिकांश स्थानमा मन्दिर दर्शन पहिलो प्राथमिकतामा परेका छन्। उनको यो शैली भारतमा चुनावी अभियानको क्रममा धार्मिक आस्थालाई राजनीतिक भावनासँग जोड्दै मठ-मन्दिरबाट यात्रा शुरू गर्ने मोदी प्रवृत्तिसँग तुलना गर्न थालिएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले धर्मको नाममा मतदातालाई आकर्षित गर्ने रणनीतिले त्यहाँ सामाजिक सद्भाव बिथोलिएको छ।
आमसभामा नीति, कार्यक्रम र वैचारिक एजेन्डा सहित जनतासँग प्रत्यक्ष बहसमा उत्रिनुभन्दा धार्मिक स्थल केन्द्रित यात्राबाटै चुनावी माहौल बनाउने चाहना बालेन्द्र शाहको रणनीति हो कि भन्ने प्रश्न उठ्न थालेको छ। दलका कार्यकर्तालाई ‘झोले’ भन्दै मानमर्दन गर्ने बालेन्द्रका सामाजिक सञ्जाल व्यवस्थापकहरूले उनी सहितका रास्वपाका नेताहरूलाई यति देवत्वकरण गरिरहेका छन् कि मतदातालाई तिनले भक्तजनमा परिणत गर्ने अभियान थालेका छन्। यसमा बालेन्द्र समर्थकहरूको मौन सहमति देखिन्छ।
व्यक्तिगत आस्था
व्यक्तिगत आस्थाका कारण धार्मिक स्थलमा जानु स्वाभाविक मानिए पनि बालेन्द्र शाह रास्वपाबाट प्रस्तावित प्रधानमन्त्रीका रूपमा चुनावी प्रतिस्पर्धामा छन्। भोलि उनी जित्छन्, हार्छन् त्यो अर्कै विषय हो तर बहुधार्मिक देशको प्रस्तावित प्रधानमन्त्रीले बहुसंख्यामा रहेको एउटा निश्चित धर्मको पक्षधरता देखाउने गरी मठ-मन्दिर धाउनु के त्यो राजनीतिक पक्षधरता होइन? के त्यसले अल्पसंख्यक रूपमा रहेका अन्य धर्मावलम्बीहरूलाई आश्वस्त तुल्याउँछ? यो प्रश्न किन प्रासंगिक छ भने अहिलेको समय दक्षिणतिर चर्किएको धर्म-राजनीतिको विषालु हावा हाम्रो समाजमा पनि फैलाउने प्रयत्न भइरहेको छ। यस्तो विषाक्त राजनीतिले मधेश-तराईमा केही वर्षयता समुदायमाझ द्वेष भावना फैलाउँदै लगिरहेको छ।
बालेन्द्रबाट मतदातालाई पाँच वर्षे कार्ययोजना, संविधान संशोधनबारे धारणा, शिक्षा, स्वास्थ्य, यातायात, आवास, रोजगारी जस्ता जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा स्पष्ट एजेन्डा सार्वजनिक हुने अपेक्षा थियो। तर‚ अहिलेसम्म ती विषयभन्दा बढी तीर्थयात्रा मार्फत उनको सार्वजनिक छवि निर्माण गर्न थालिएको छ– जुन घातक छ। आफूलाई वैकल्पिक शक्ति दाबी गर्ने रास्वपाले बहुल-समाजमा विद्वेष फैलाउने धर्म-राजनीतिबाट अलग राख्न सक्नुपर्छ।
बालेन्द्र शाहको पछिल्ला चुनावी गतिविधिले उनको राजनीतिक दिशाबारे गम्भीर प्रश्नहरू जन्माएको छ। उनी राजतन्त्रात्मक व्यवस्थामा ‘विष्णुको अवतार’को रूपमा प्रचार गरिए जस्तो एउटा धर्मलाई प्रश्रय दिने शाह वंशीय राजा बन्न खोजेका हुन् कि बहुसांस्कृतिक समाज (गणतान्त्रिक देश)को नेता छानिन खोजेका हुन्? राजनीति र धर्मलाई मिसाउने काम कसैले गर्नु हुँदैन भन्ने पाठ हामीले छिमेकी देशबाट सिक्नुपर्छ। अहिलेसम्म रास्वपाले यस विषयमा स्पष्ट रूपमा मुख खोलेको छैन। पार्टीका लिखित दस्ताबेजहरूमा पनि धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताप्रतिको समग्र दृष्टिकोण प्रस्ट देखिंदैन। यी प्रश्नहरूको उत्तर शब्दभन्दा बढी व्यवहारले दिनेछ, दिनुपर्छ। चुनावी प्रतिस्पर्धामा उत्रिएको प्रस्तावित प्रधानमन्त्रीका उम्मेदवारको हकमा यस्ता प्रश्न उठाइरहनु लोकतान्त्रिक बहसको अनिवार्य हिस्सा मानिन्छ।
VIDEO