काठमाडौंका स्टूडियोहरूमा तयार भइरहेका लोकशैलीका गीतहरू– चलचित्र, रियालिटी शो, मेला-महोत्सव र डिजिटल प्लाटफर्म माध्यमहरूमा निकै चर्चित भइरहेका छन्। त्यसले कलाकारको अर्थोपार्जन पनि बढाइदिएको छ।
यदि युट्युबमा सुनिएको/हेरिएको आधारमा प्रसिद्धि नाप्ने हो भने केही वर्षयता लोकलयका गीतले उधुम मच्याइरहेका छन्। असोज २५ गते सार्वजनिक प्रकाश दुतराजको ‘छैन र माया’ ले २६ दिनमा करोडमाथि भ्युज पायो। माघको पहिलो सातासम्म यस गीतले २ करोड ५८ लाखभन्दा धेरै भ्युज बटुलिसकेको छ। दुतराजकै यसअघिको ‘रिमै’लाई ५ करोड पटक हेरिएको/सुनिएको छ। त्यस्तै ‘रेशम’, ‘जाम भो माइली’, ‘घर कता हो बहिनीको’ लगायतका गीतले पनि करोडमाथिका भ्युज पाएका छन्। असोज ३० गते सार्वजनिक भएको बाबुकृष्ण परियार र शान्तिश्री परियारको आवाजमा रहेको गीत ‘जुनेली’लाई पनि १ करोड ८ लाखभन्दा धेरै पटक हेरिएको छ। गत कात्तिक २५ गते सार्वजनिक भएको अर्जुन सापकोटा र मेलिना राईको आवाजमा रहेको ‘झलिको’ गीतले एक महीनामै १ करोड १६ लाखभन्दा बढी भ्युज पाएको छ।
२०८० माघ ४ गते ‘बाबुकृष्ण युट्युब च्यानल’बाट सार्वजनिक भएको बाबुकृष्ण परियार र दीपिका बयम्बूको आवाज रहेको ‘कश्मीरे पछ्यौरी’ ले १० करोडभन्दा बढी भ्युज पाएको छ। त्यस्तै‚ केही वर्षअघिको ‘सालको पात टपरी’, ‘पिरिम नलाउने’ ‘गोर्खे खुकुरी’, ‘गलबन्दी’ लगायतका गीतले करोडौंको भ्युज बटुलेका छन्। माघ २३ गते रिलिज हुन लागेको चलचित्र कुमारीमा पनि लोकशैलीको गीत राखिएको छ। तीन हप्ताअघि युट्युबमा सार्वजनिक भएको ‘डोको बुन्ने’ बोलको गीतमा केहर सिंह लिम्बूको आवाज रहेको छ। शब्द सागर लामिछाने मगर र सुमन तामाङको रहेको छ भने कम्पोज सुमन तामाङ र केहर सिंह लिम्बूले गरेका छन्। उक्त गीत अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
युट्युब र रिल्समा दर्शक श्रोताको भ्युजलाई मात्रै हेर्दा पनि लोकभाकाका गीत-संगीत लोकप्रिय बन्दै गएको देखिन्छ। यी पछिल्ला उदाहरणले लोकगीत र लोकशैलीका भाकाप्रति दर्शक-श्रोताको अभिरुचि बढ्दै गएको देखिन्छ।
द्वन्द्वको प्रभाव
गीत-संगीतको इतिहासलाई देशको राजनीतिक घटनाक्रमले पनि असर पारेको देखिन्छ। माओवादी द्वन्द्वपछि मानिसहरू गाउँ छाडेर शहर पस्ने लहर आयो। गाउँबाट आएका मानिसले लोकभाका पनि सँगसगै लिएर आए। त्यस वेलादेखि शहरमा लोकशैलीका गीत सुन्नेहरू बढे। शहर छिरेका मान्छे बिस्तारै देशको सीमा नाघेर विदेश उडे। आप्रवासनको यस प्रवृत्तिले मान्छेलाई गाउँघरका लय र कथा कहने गीत-संगीतले ‘नोस्टाल्जिक’ बनाएपछि सामाजिक सञ्जालमा यस्ता गीतहरू रुचाइन थाले। त्यसमाथि प्रविधि र आधुनिकता पनि यस्ता गीतमा मिसाइन थालियो। लोकसंगीत अध्येता मणिराज गुरुङ भन्छन्, “यसरी फैलिरहेको लोकगीतले दुई दशकदेखि पछाडि फर्किनु परेको छैन।”
एक समय थियो– रेडियो नेपालबाट बज्ने केही गीतलाई नै नेपाली संगीत मानिन्थ्यो। त्यो समय रेडियो नेपालमा अनुरोध गरिएका, धेरै बजेका र श्रोताको रोजाइमा परेका गीतहरू हिट भएको मानिन्थ्यो। सीमित कलाकार थिए। गीत गाउन रेडियो नेपालमै धाउनुपर्थ्यो। तर, त्यो समयमा पनि लोकशैलीका गीतहरू नबनेका होइनन्। र, नबजेका होइनन्।
संवत् १९८० को दशक ग्रामोफोनको जमाना थियो, त्यति वेला मित्रसेन थापा, रत्नदास प्रकाश, धर्मराज थापाहरूले लोकसंगीतलाई अगाडि बढाएका थिए।
२००७ सालमा रेडियो नेपालको स्थापनापछि आधुनिक गीतको वर्चस्व भयो। २०२० र २०३० को दशकमा धर्मराज थापा, हीरादेवी वाइबा, गंगा राणा, कमला श्रेष्ठ, ज्ञानु राणा, तारा थापाहरूका लोकगीतहरू थिए। अलि मियाँलाई त लोककवि नै भनिन्छ। तर, त्यस समयमा लोकगीत बनाउने होइन, संकलन गर्ने गरिएको निर्देशक तथा संगीतकार प्रकाश सायमी बताउँछन्। “गाउँ गाउँमा जाने, जुन परिवेश र ठाउँको लोकगीत हो, त्यही ठाउँमा गाएर लोकगीत ल्याउने गरिन्थ्यो‚” उनी सम्झन्छन्।
‘कोठे लोकगीत’
२०४० को दशकपछि कोठे लोकगीतको शुरूआत भएको भनिन्छ। प्रकाश सायमी भन्छन्, “गाउँका भाका भए पनि काठमाडौंकै कोठामा लोकगीत बनाउन थालियो, त्यस्ता गीतलाई ‘कोठे लोकगीत’ भन्न थालियो।” कोठे लोकगीतको शुरूआत भएपछि लोकगीतमा आधुनिक र पप मिसिन थालेको उनको बुझाइ छ।
२०५० को दशकमा शम्भुजित बाँस्कोटाले लोकशैलीका थुप्रै गीत गाए। ‘अच्छा लेकिन लन्डनको चिसोले’, ‘मास्टर साहेब’, ‘जाऊँ न ठमेलमा’, ‘चट्ट रुमाल क्या मालुम’ लगायतका गीतहरू चर्चित भए। तीमध्ये धेरै गीत चलचित्रमा पनि अटाए।

त्यति वेला गीत-संगीतको बजारमा वितरण गर्ने संयन्त्रको कमी थियो। रेडियोमा जुन गीत बज्यो, त्यही नै सुन्नुपर्ने बाध्यता थियो। जसले नेपाली संगीतलाई साँघुरो दायरामा राखेको थियो। तर, अहिले त्यो अवस्था पुरानो कथा भइसकेको छ।
लोकशैलीलाई व्यावसायिक रूपमा सफल बनाउनुको कारण माध्यम पनि हो। अहिले डिजिटल प्रविधिको सहज पहुँच, युट्युब, टिकटक र फेसबुक जस्ता प्लाटफर्मको विस्तारले पनि कलाकारको सिर्जनालाई श्रोतासम्म पुग्न सजिलो बनाएको छ। कलाकारले युट्युबमा आफ्ना सिर्जना साझा गर्ने बित्तिकै सिधै स्रोता/दर्शकसामु पुग्छ।
मानिसहरू प्रत्यक्ष जोडिने माध्यमको सहज पहुँचका कारण गीत चर्चित भएको र व्यावसायिक दायरा बढेको कलाकार तथा गायक प्रकाश सपुत बताउँछन्। उनी भन्छन्, “अहिले युट्युबमा कलाकारले सजिलै आफूलाई जोड्ने र ‘पफर्म’ गर्ने गर्छन्।” उनले अगाडि भने, “जस्तो कुनै गीतमा कसैले टिकटक बनायो भने कलाकारका अरू गीत पनि सुन्छन्।”
अहिले गीत चल्ने प्रमुख माध्यम बनेको छ– ‘टिकटक’ र ‘रिल्स’। टिकटकको भिडियो र रिल्स हेरेर दर्शक/श्रोता गीत खोज्दै युट्युबसम्म पुग्छन्। कुनै गीतमा श्रोता/दर्शकले टिकटक बनाइदिए भने त्यो गीत चलेको मानिने गायक तथा संगीतकार दीपक जंगम बताउँछन्। भन्छन्, “पहिला मोबाइल थिएन, सीमित स्रोतहरू थियो। अहिले कोठामा बसेर टिकटक बनायो भने पनि चल्छ।”
चलचित्रमा लोकशैलीका गीत
२०८२ वैशाख १५ गते सार्वजनिक भएको झुमा लिम्बू र सुजन चापागाईंले गाएको लोकशैलीको गीत ‘काफ्ले’ चलचित्र ऊनको स्वीटर को हो। चलचित्र वैशाख २६ गते रिजिल भएपछि चलचित्रको जति चर्चा चल्यो, त्योभन्दा अघि नै चर्चित भइसकेको थियो ‘काफ्ले’ गीत। चलचित्र चलाउनमा यस गीतले ठूलो भूमिका खेल्यो।
त्यसपछि गत कात्तिक १५ गतेदेखि चलेको पूर्णबहादुरको सारङ्गी चलचित्रको गीत ‘रैया चाँदीको’ले पनि खुबै चर्चा पायो। नवराज पन्तको शब्दलाई आशिष अविरल र मेलिना राईले आवाज भरेका छन्। यस गीतका कारण धेरै मानिस सिनेमा हलसम्म गएका थिए।
‘रुकुम मैकोट’ धेरैको मनमा बसेका कारण चलचित्र खुश्मालाई उचाइमा पुऱ्याउन गीतको योगदान रहेको मान्नुपर्छ। सुरेन्द्र रानाको शब्द‚ एसडी योगी र शान्तिश्री परियारको आवाज रहेको यो गीत अचेल चल्तीको भाषामा भन्नु पर्दा ‘भाइरल’ नै भयो। हालसम्म यस गीतलाई १६ करोडभन्दा धेरै पटक सुनिएको, हेरिएको छ।
पछिल्लो समय बनेका चलचित्रमा लोकशैलीका गीत अनिवार्य जस्तै बनेका छन्। दर्शक/श्रोताको अभिरुचिलाई व्यावसायिक सिनेकर्मीले प्राथमिकतामा राखेका छन्।

८ वर्षअघि सार्वजनिक भएको दुई रुपैयाँ चलचित्रले खासै राम्रो व्यापार गर्न नसके पनि त्यस चलचित्रमा समाविष्ट गीत ‘कुटुमा कुटु सुपारी दाना’ले गीत-संगीतको बजारमा निकै चर्चा कमायो। यो गीतले हालसम्म २३ करोडभन्दा बढी भ्युज पाएर कीर्तिमान बनाएको छ। राजनराज शिवाकोटीको शब्द तथा संगीत रहेको यस गीतमा शिवाकोटीसँगै मेलिना राई र राजन इसानको आवाज छ।
१० वर्षअघि चलचित्र वडा नम्बर ६ को लोकशैलीमा आधारित ‘सुर्के थैली खै’ गीतले धेरैको मन जित्यो। राजनराज शिवाकोटीकै शब्द तथा संगीत र आवाज रहेको गीतमा गायिका अन्जु पन्त र राजु विश्वकर्माले पनि साथ दिएका छन्। यस गीतले ६ करोड भ्युज पाएको छ। गीतसँगै शिवाकोटीले पनि चर्चा पाए। यसपछि लगातार निकै चलचित्रमा उनको लोकशैलीको गीत समावेश भयो।
चलचित्र छक्का पञ्जा मा ‘पूर्व पश्चिम रेल’, ह्याप्पी डेज को ‘चेप्टे चेप्टे पेरुङ्गो’, चलचित्र कान्छी को ‘चरी चट्ट परी’, कमलेको बिहे चलचित्रको गीत ‘टाकनटुकुन’ले सर्वाधिक चर्चा पाए। यसपछिका चलचित्रहरूलाई हेर्ने हो भने अधिकांशमा लोकशैलीका गीतहरू राखिएका छन्। यस्ता गीतको प्रसिद्धिले पनि लोकलयप्रति नयाँ पुस्तामा बढ्दै गएको आकर्षणको ‘ग्राफ’लाई इंगित गर्छ।
लोकगीतको यो लोकप्रियता चलचित्रमा मात्रै होइन, रियालिटी शोसम्म पनि पुग्यो। द भोइस अफ नेपालको सिजन ६ देखि लोकगायक खेम सेन्चुरीले निर्णायक सीटमा प्रवेश पाए। अहिले सिजन ७ मा पनि उनी नै एक निर्णायक छन्। त्यस्तै भोइस अफ किड्स सिजन ४ मा पनि उनी निर्णायक मण्डलको समूहमा देखिए। रियालिटी शोमा लोकगायक मात्रै अटाएनन्– लोकगीत गाउनेहरूको संख्या पनि बढ्न थाल्यो। प्रतिस्पर्धीहरूले नवराज घोरासइनीको ‘घुम्तीनिर लेट भयो, धर्मराज थापाको ‘हरियो डाँडामाथि’देखि नवपुस्ता प्रकाश दुतराजको ‘घर कता हो बहिनीको’ गीतहरू गाएर दर्शक/श्रोतालाई झुमाए।
गायनमा स्थापित कुन्ती मोक्तानका अनुसार पहिले पहिले जसले पनि गाउन सक्ने ठानेर लोकगीतलाई खासै स्थान दिइँदैनथ्यो। तर, अहिले तिनै लोकगीतले राम्रो ठाउँ पाएका छन्।
शैलीको मिश्रण
पछिल्लो समयका लोकगीतमा नयाँपन आएको छ। कतै लोकशैलीमा पप गीतको मिश्रण छ, त कतै आधुनिकमा लोक। कतै पप गीतमा पनि लोक बाजाहरू राखिएका छन्। जस्तै, विशाल सोनीको गीत ‘मकै बारी दर्याम दर्याम’ पप गीत जस्तो पनि सुनिन्छ र लोकगीत जस्तो पनि। त्यसैले यस्ता गीतहरूलाई ठ्याक्कै लोकगीत नभनेर लोकशैलीका भन्दा उपयुक्त हुन्छ। अहिलेका युवा सर्जकले पुराना लोकगीतलाई आधुनिकमा ढालेर नयाँ स्वाद दिएका छन्। यही नयाँपनले लोक-संगीतको क्षेत्रलाई व्यापक बनाएको लोकगीतमा विद्यावारिधि गरेका भक्त राईको बुझाइ छ। लोकलयलाई आधुनिकमा ‘फ्युजन’ गर्ने चलन बढेको राई बताउँछन्।
पराम्परागत लोकभाकालाई अत्याधुनिक बाजागाजा, आधुनिक प्रस्तुतिमा दर्शकमाझ पस्किंदा श्रोताले लोकलय र लोकशैलीलाई रुचाइदिएको उनको बुझाइ छ। ट्याम्को, धिमे, च्याब्रुङहरूमा गाउने गीतलाई नयाँ पुस्ताले ड्रमसेट, स्याक्सोफोन प्रयोग गरेर गाइरहेका छन् र आधुनिक बाजागाजामा गाउने गीतहरू पनि परम्परागत बाजागाजा प्रयोग गरी लोकशैली मिसाएर प्रस्तुत गर्दा दर्शक/श्रोताले फरक स्वाद पाएका छन्।
गायक कोमल ओली परम्परागत लोकभाकालाई युवापुस्ताले समय र माग अनुसारको नयाँपन, आधुनिक किसिमले प्रस्तुत गरेकाले दर्शक/श्रोताले फरक स्वादलाई रुचाइदिएको बताउँछिन्। उनी भन्छिन्, “तामाङ सेलोलाई सम्पूर्ण भूगोल, समुदायलाई छुने गरी आधुनिकतामा ढालेर सर्जकले पस्किदिएका कारण दर्शक/श्रोताले फरक स्वाद पाए, सजर्कलाई पनि आर्थिक रूपले सजिलो भयो।”

दर्शक/श्रोतालाई मनोरञ्जन दिने खालका लोकशैलीका गीतको लहर चलेको गायक तथा संगीतकार शम्भुजित बाँस्कोटा स्विकार्छन्। भन्छन्, “रमाइलो अनि अलिकति लोकशैलीको स्वाद आउने, आधुनिक गीतमा पनि लोकशैली आउने, लोकशैलीका पप गीतहरू आइरहेका छन्। शब्द र भावार्थ नयाँ किसिमका आएका छन्, यस्ता गीतहरू चलिरहेका पनि छन्।”
विदेशमा पनि नेपालीपनप्रति आकर्षण
५० को दशकमा अंग्रेजी, हिन्दी र नेपाली पप तथा रक गीतमा रमाउने रसुवा उत्तरगया-३, ठूलोगाउँका खेम गुरुङ अचेल लोकशैलीको गीत धेरै सुन्न थालेको बताउँछन्। उति वेला उनी नवीन के भट्टराई, मोहन भुसाल, ओमविक्रम विष्ट, निमा रुम्बा, धिरज राई, कबवेब, रविन एन्ड लुजः, जिमी ह्यान्ड्रिक्स, कर्ट कोबिन लगायतका गीतहरू सुन्थे। एफएम रेडियोमा पनि तिनै गीतहरू धेरै बज्थे। तर, अचेल उनी खेम सेन्चुरी, अर्जुन सापकोटाका गीत सुनिरहेका छन्।
वैदेशिक रोजगारीको सिलसिलामा जब लामो समय दुबई बसे, तब उनी बिस्तारै लोकशैलीका गीततिर ढल्किन थाले। संगीतका पारखी उनी पहिले गाउँमा छँदा एफएममा बज्ने गीतहरू नोटकापीमा टिपेर गुनगुनाउँथे। आफ्नो कोठाका भित्तामा बब मार्लीको रंगीन पोस्टर झुन्डाउँथे। कुनै वेला गायक बन्ने सपना देखेका उनले गीत रेकर्ड पनि गराएका थिए। यदाकदा गीत लेख्ने उनी आफ्नो पुरानो संगीत स्वादबाट अचेल लोकलयमा आधारित गीत-संगीतमै रमाउन थालेका छन्। उनी भन्छन्, “परदेशमा रहँदा आफ्नो गाउँघर सम्झँदा डाँडाँपाखामा गुन्जिने लोकभाकाको झल्कोले गाँज्यो मलाई। र, घरपरिवारको न्यास्रो मेट्न लोकलय सुन्न थालें। हृदयमा गढिरहेका तिनै भाकाहरू पछि फ्युजन भर्सनमा आएपछि मलाई झन् मन पर्न थाल्यो।” उनी सुनाउँछन्, “मैले घर आउँदा त्यस्ता गीतका सीडीहरू किनेर लान थालें।” हिजोआज रेडियो तथा युट्युबमा पनि आफूले लोकशैलीकै गीतहरू खोज्न थालेको उनी बताउँछन्।
रसुवाका खेम गुरुङलाई उदाहरणकै रूपमा हेर्दा– पछिल्ला दशकमा रोजगारी तथा अध्ययनका सिलसिलामा विदेशमा रहेका लाखौं नेपाली युवाले आफ्नो गाउँठाउँको सम्झनामा पनि लोकशैलीकै संगीत सुन्न थालेको बुझ्न कठिन पर्दैन।
लोक-संगीतका अध्येता मनिराज गुरुङका अनुसार पछिल्लो समय परिवार सहित विदेश उड्ने प्रवृत्ति बढिरहेको छ। त्यहाँ पुगेका नेपालीहरूमा लोकगीत प्रतिको मोह झनै बढेको छ। उनी भन्छन्, “घरमै बसिरहने वृद्धवृद्धाहरू मोबाइलमा लोकशैलीका गीतहरू नै खोज्छन्, लोकशैलीका गीतहरू नै सुन्छन्, हेर्छन्।”
विदेशमा बसेका नेपालीहरूले नेपालीपन बोकेको गीत खोजिरहेका हुन्छन्। लोकशैलीले आफ्नोपन र आफू गाउँमै भएको महसूस गराउँछ। जहाँ भए पनि लोकभाका गीत बजेपछि सुनौं सुनौं, नाचौं नाचौं लाग्ने हुन्छ। विदेशतिर हुने सांगीतिक कार्यक्रम, मेला, महोत्सवले पनि नेपाली लोकशैली खोज्छ, त्यसैले यसको विस्तार भएको गायक कुन्ती मोक्तान बताउँछिन्।
गीत चर्चित हुनु भनेकै कलाकार पनि चर्चित हुनु हो। आर्थिक रूपले पनि समृद्ध हुनु हो। युट्युबबाट मात्रै नभएर कलाकारले मेला, महोत्सव, कन्सर्ट, विज्ञापनबाट पनि व्यावसायिक सफलता पाइरहेका छन्। पछिल्लो उदाहरणका रूपमा प्रकाश सपुतलाई लिन सकिन्छ। युट्युब र अरू सामाजिक सञ्जालको माध्यम त छँदैछन्, मेला महोत्सवमा पनि गीत गाउन पुगेका हुन्छन्। विज्ञापनहरूमा पनि देखिन्छन्। पछिल्लो समय लोकगीत संगीतका कलाकारहरू आर्थिक रूपमा बलियो हुन थालेको अध्येता मनिराज गुरुङ बताउँछन्।
कोमल ओली भन्छिन्, “अहिले जताततै लोकशैलीका कलाकारहरूले ढाकेका छन्। यसले आर्थिक रूपमा पनि ती कलाकारहरूलाई मजबूत हुन सहयोग पुगेको छ।”