अग्निगर्भा को ‘ब्वारी नानी’ कुनै करुणाको पात्र होइन, ऊ इतिहासकी सर्जक हो। ऊ आफ्नो श्रम, सीप र आत्मनिर्णय मार्फत पहिचान पुनःनिर्माण गर्न सक्ने शक्ति हो।
विनिता सुब्बा
चिरकालदेखि पुरुषकेन्द्री, एकल लिंगीय र पुरुषसत्तात्मक धारणाले बनाएको सामाजिक संरचनाप्रति असहमति जनाउने चेतनाको औपचारिक अभिव्यक्ति सन् १९६० को दशकमा नारीवादी विचारधाराका रूपमा प्रकट भयो। तर, यो केवल कुनै ऐतिहासिक क्षणको उपज मात्र थिएन; यो सभ्यताले सदियौंदेखि चूप लगाइएको स्त्री-अस्तित्वको चिच्याहट थियो। नारीवादले साहित्यमा पुरुषद्वारा स्थापित नारी सम्बन्धी धारणा, मान्यता, पूर्वाग्रह र स्थिर छविको मात्र विरोध गरेन; यसले स्त्री स्वयंलाई आफ्नो अनुभव, भाषा, दृष्टि र सत्य बोल्ने अधिकार फिर्ता गरायो। यसले सोध्यो- स्त्री जीवन-जगत्लाई कसरी बुझ्छे? प्रेम, यौन, श्रम, सत्ता, राष्ट्र, युद्ध, शान्ति र मानवताबारे उसको दृष्टि के हो? उसका अनुभूतिहरू किन सदैव पुरुष दृष्टिकोणको छायामा मात्र परिभाषित भइरहे?
त्यही वैचारिक निरन्तरतामा अर्चना थापाको उपन्यास अग्निगर्भा उभिएको छ। लेखक थापाका साहित्यिक रचनाको केन्द्रमा नारी रहँदै आएको छ। खासगरी लोकतन्त्र, सामाजिक न्याय र नागरिक अधिकारप्रति समर्पित थापाका साहित्य वैचारिक कोणबाट सशक्त हुने गर्छन्। उनको भर्खरै प्रकाशित अग्निगर्भा पनि कुनै भावनात्मक नारीकथा मात्र होइन, यो भान्साबाट उठेको राजनीतिक घोषणापत्र हो। भान्सालाई समाजले स्त्रीको ‘प्राकृतिक क्षेत्र’ भनेर परिभाषित गरिदियो, त्यही भान्सा सभ्यताको दीर्घकालीन, मौन र सबैभन्दा अपमानित श्रमस्थल हो। भान्सामा पकाएको खाना खाएर मानिस शिक्षक, प्रशासक, प्रहरी, लेखक, वकील, चिकित्सक, नेता र अर्थशास्त्री बन्छन्। तर, त्यही अर्थशास्त्रीले नियम बनाइदिन्छ– भान्साको काम अनुत्पादक श्रम हो। यहींबाट पुरुषसत्ताको क्रूरतम व्यंग्य शुरू हुन्छ– जसको श्रमले समाज चल्छ, उसैको श्रमलाई मूल्यहीन घोषित गरिन्छ।
भान्सालाई केवल घरेलु कामको स्थलका रूपमा बुझ्नु आफैंमा राजनीतिक अज्ञानता हो। भान्सा श्रम हो, इतिहास हो, सत्ता संरचनाले नियन्त्रण गरेको उत्पादन प्रणाली हो। भान्सामा स्त्रीले गरेको श्रम युगौंदेखि ‘प्रकृतिप्रदत्त जिम्मेवारी’ को नाममा लुटिंदै आएको छ– न त्यसको आर्थिक मूल्य तोकिएको छ, न त त्यसलाई सामाजिक सम्मान प्राप्त छ। त्यसैले भान्सालाई साहित्यको केन्द्रीय विषय बनाउनु भनेको भावनात्मक करुणा पोख्नु होइन, यो राजनीतिक हस्तक्षेप हो। अग्निगर्भा यही हस्तक्षेपको नाम हो।
हामी धेरैले कहिल्यै आफैंसँग सोधेनौं– भान्सामा गरिने श्रमलाई किन श्रम मानिंदैन? किन यसलाई उत्पादनको श्रेणीमा राखिंदैन? किन यसको मोल तोकिंदैन? किन यसको सम्मान हुँदैन? र‚ किन यो श्रम प्रायः महिलाको भाग्यका रूपमा थोपरिन्छ? साहित्यमा यस प्रश्नलाई केन्द्रीय बनाउनु भनेको समाजको मूल संरचनामाथि प्रश्न उठाउनु हो। थापाले यही साहस गरेकी छन्। त्यस अर्थमा अग्निगर्भा एउटा उपन्याससँगै वैचारिक हस्तक्षेप हो– भान्साबाट उठेको विद्रोह।
नारीवादी साहित्यको शक्ति यही छ कि– यो करुणामा होइन, चेतनामा उभिन्छ। यो पीडालाई रोदनमा होइन, राजनीतिक प्रश्नमा रूपान्तरण गर्छ। थापाको लेखनले यही काम बलशाली शैलीमा गरेको छ। उनले स्त्रीलाई निरीह पात्रको रूपमा होइन, इतिहाससँग संवाद गर्ने अस्तित्वशील पात्रको रूपमा उभ्याएकी छन्। भान्सा यहाँ आँसु झार्ने थलो होइन, सत्तालाई चुनौती दिने मोर्चा हो।
अग्निगर्भा ले देखाएको स्त्री कुनै दयापात्र होइन, ऊ इतिहासकी सर्जक हो। ऊ आफ्नो श्रम, सीप र आत्मनिर्णय मार्फत पहिचान पुनःनिर्माण गर्न सक्ने शक्ति हो। यहींबाट यो उपन्यास साहित्यिक रचनाभन्दा माथि उठेर राजनीतिक दस्ताबेज बन्छ। यस उपन्यासले प्रश्न गर्छ– यदि भान्साको श्रम मूल्यवान् होइन भने सभ्यताको आधार के? स्त्रीको श्रम अनुत्पादक हो भने समाजको उत्पादन कसले गऱ्यो?
यसरी अग्निगर्भा नारीवादको भावनात्मक निरन्तरता मात्र होइन, वैचारिक उत्कर्ष हो। उपन्यासले भान्सालाई सौन्दर्यशास्त्रको विषय नबनाई अर्थतन्त्र र सत्ता संरचनाको केन्द्रमा राख्छ। यहींबाट यसको राजनीतिक शक्ति शुरू हुन्छ।
‘ब्वारी नानी’ केवल पात्र होइन, उनी युगौंदेखि चलिआएको पुरुषसत्ताजनित क्रूरताको प्रतिनिधित्व हुन्। विवाहपछि आफ्नो जन्मघरमा प्राप्त सामान्य नामको अस्तित्वसम्म उनले गुमाएकी छन्। उनी बुहार्तनको दबाब र घरको नियमहरूमै विलीन भएकी छन्। उनका जीवनका निर्णय, भावनात्मक स्पन्दन, अधिकार– सबै अर्काको हातमा सीमित छन्। नाम मात्र नभएर पहिचान, आत्मसम्मान र अस्तित्व नै पुरुषसत्ताले हरण गरेको छ।
‘ब्वारी नानी’को कथा कुनै स्वैरकाल्पनिक घटना होइन, यो युगौंदेखि नेपाली महिलाले भोग्दै आएको वास्तविकता हो। घरभित्र रहँदा पनि उनी मृत्युको छायामा जीवन घिसार्दै छिन्। आमाले तोकिदिएको नाम छैन, समाजले दिएको स्वतन्त्रता छैन र आफ्नो अस्तित्वको मूल्य उनी आफैंले खोजिरहेकी छन्। यस्तो जीवन कागजको टुक्रा जस्तो छ– सुगठित छैन, मूल्यहीन छ। तर, शाब्दिक रूपमा अस्तित्वमा छ।
पुरुषसत्ताले यस प्रकारको जीवनलाई सामान्य र स्वाभाविक बनाएको छ। कथाहरू, धार्मिक ग्रन्थ र सांस्कृतिक धाराहरूले पुरुषलाई अलौकिक, शक्तिशाली नायकको रूपमा प्रस्तुत गर्छन्। चिमामाण्डा अदिचीको शब्दमा– “कुनै पनि कुरा दोहोऱ्याइरहे त्यो सामान्य लाग्न थाल्छ। एउटै चीज देखिरहे त्यो पनि सामान्य हुन जान्छ।” यही कारण समाज लगातार छोरा, पुरुष र पुरुषकेन्द्रित उपलब्धिमा मात्र मूल्य देख्छ।
तर ‘ब्वारी नानी’को कथाले यस प्रणालीलाई चुनौती दिन्छ। उनी देखाउँछिन्– महिलाको सुख, सफलता, उन्नति र अस्तित्व केवल पुरुषसँग सम्बन्धित छैन। यसले स्त्रीको आत्मनिर्णय, सीप, श्रम र संघर्षमाथि आधारित व्यक्तिगत अधिकारको महत्त्व उजागर गर्छ।
यस उपन्यासमा चार पिंढ़ीका महिलाहरू उपस्थित छन् र ‘ब्वारी नानी’ पहिलो पिंढ़ीको प्रतिनिधित्व गर्छिन्। उनी बुहारी भएर मात्र होइन, पुरुषसत्ताको पोषणकर्ता हजुरीको नजरबाट पनि दबाइन्छिन्। हजुरीले छोरा नपाए वा घरव्यवहार ठीकसँग चलाएन भन्ने आरोप लगाउँछिन्। तर, सन्तानको उत्पादन मात्र पुरुषसत्तामा मूल्यवान् छ। ‘ब्वारी नानी’ले छोरी जन्माएको भए पनि पुरुषसत्ताले यसलाई नगण्य मान्छ। यहींबाट स्त्री-अस्तित्वमाथिको राजनीतिक दमन स्पष्ट हुन्छ।
‘ब्वारी नानी’ले आफ्नो अस्तित्व गुमाएर पनि चेतना गुमाएकी छैनन्। उनी हामीलाई प्रश्न सोध्न बाध्य पार्छिन्– यदि जीवनको मूल्य केवल पुरुष र पुरुष सन्तानमा मात्र छ भने स्त्री जीवनको अधिकार कहाँ रहन्छ? नाम, पहिचान, श्रम र आत्मसम्मानको मूल्य छैन भने समाजको न्याय र सभ्यताको आधार के हो?
यसरी ‘ब्वारी नानी’ उपन्यासको मात्रै पात्र नभई पुरुषसत्ता विरुद्ध स्त्री-अस्तित्वको राजनीतिक प्रतीक बनिन्। उनी इतिहासको मौन प्रतिरोध हुन्, जसले हामीलाई चेतना र प्रश्नको मार्गमा तानेर लैजान्छिन्।
तेजश्री केवल पात्र होइन, उनी अवसाद र दमनको अन्तिम सीमा पार गर्दै उठेकी चेतना हुन्। विवाहपछि उनले कल्पना गरेको संसार पूरा हुँदैन। बुहार्तनको भार, पति-पत्नीबीचको बेवास्ता, भविष्यको अनिश्चितता, सन्तानको उदासीनता र परम्परागत पहिचानले उनलाई गलित-थकित बनाउँछ। तर, मृत्युबोध र जीवनको क्षणिकताको पृष्ठभूमिमा उनी भ्रम र जन्जिरबाट मुक्त हुँदै आफ्नो आत्मपहिचानलाई पुनःनिर्माण गर्न लाग्छिन्।
‘ब्वारी नानी’बाट ‘तेजश्री’ बन्ने यात्रा केवल नाम परिवर्तन होइन। यो यात्रा सत्ता विरुद्धको विद्रोह, आत्मनिर्णय र श्रमको राजनीतिक घोषणापत्र हो। उनी भान्सामा आफ्नो अधिकार स्थापना गर्दै, परिवार र समाजले थोपरेका सीमिततासँग लडेर आफ्नो अस्तित्वलाई पुनःसिद्ध गर्न सफल भएकी छन्।
उपन्यासमा ‘तेजश्री’को भान्सा केवल पाकस्थल होइन, यो सत्ता संरचनालाई चुनौती दिने मोर्चा हो। भान्सामा भएको प्रत्येक श्रम, कदम, निर्णयमा उनी आफ्नो अधिकार र सम्मानका लागि खडा हुन्छिन्। उनले आफ्नो मिहिनेत र सीपमा आधारित स्वतन्त्रता र पहिचान खोजिरहेकी छन्।
तेजश्रीको संघर्षले देखाउँछ कि स्त्रीले आफ्नो भविष्य आफैं लेख्न सक्छ। घर, समाज र परम्परागत मान्यताबाट बाँधिएको जीवनलाई तोड्दै तेजश्रीले आफ्नो श्रम, आत्मनिर्णय र धैर्यबाट आत्म-सिद्धि हासिल गर्छिन्।
यस खण्डले स्पष्ट पार्छ– भान्सा केवल घरेलु कामको स्थल होइन, स्त्रीको राजनीतिक र सामाजिक शक्ति प्रदर्शन गर्ने क्षेत्र हो। तेजश्रीको भान्सा, उनको श्रम र संघर्ष, पुरुषसत्ताको मौन प्रतिरोधको प्रतीक हो।
‘अनुश्री’ केवल ‘तेजश्री’को सन्तान वा अर्को पात्र होइनन्; उनी नयाँ पुस्ताको चेतना र विद्रोहको प्रतीक हुन्। ‘म यो गर्न सक्छु, म यस्तो हुन्छु वा म यस्तो हुदिनँ’ भन्ने दृढ संकल्पले उनी आफ्नो अस्तित्वलाई परिभाषित गर्छिन्। ‘अनुश्री’ आत्मविश्वासी, साहसी र पारम्परिक मूल्यको कठोर परीक्षण गर्ने पात्र हुन्।
अनुश्रीका क्रियाकलाप केवल व्यक्तिगत नभई सामाजिक र राजनीतिक सन्दर्भमा अर्थपूर्ण छन्। उनले आफ्नो अधिकार र स्वतन्त्रता मात्र खोज्दिनन्, आवश्यक परे त्यसको लागि चुनौती, विरोध र विध्वंसको बाटो पनि अपनाउँछिन्। उनी आफूले पाउनुपर्ने माया र सम्मानका लागि ढुक्क छैनन्, आवश्यक पर्दा उनी पुरुषसत्ताको संरचनालाई ध्वस्त गर्न तयार छिन्।
अनुश्रीले देखाउँछिन् कि आधुनिक स्त्रीले आफ्नो जीवनलाई परम्परागत सीमाभित्र सीमित राख्नु हुँदैन। ऊ आफ्नो अधिकार, शिक्षा, माया र आत्मसम्मानका लागि सक्रिय हुनुपर्छ। यसले पाठकमा चेतना जगाउँछ– स्त्री समाजको मूल्यांकनमा मात्रै आधारित नभई आफ्नो आत्मनिर्णय, श्रम र साहसमा आधारित स्वतन्त्र अस्तित्व हो। त्यसैले अनुश्रीलाई भविष्यको सम्भावना, विद्रोह र चेतनाको प्रतीक मान्नुपर्छ। उनका कदमहरूले बताउँछन् कि पुरुषसत्ताले दबाएको आवाज कुनै वेला उठ्न सक्छ अनि भान्सा, घर र समाजबाट शुरू हुने विद्रोह विश्वव्यापी चेतनामा परिणत हुन सक्छ।
अर्चना थापाको अग्निगर्भा केवल कथावस्तुको प्रस्तुतिले सबल बनेको होइन; भाषिक चयन, संरचनागत विशिष्टता र उपकथासँगको समन्वयले नै यस उपन्यासलाई सम्पुष्ट पारेको हो। भाषा सरल नभए पनि उपन्यास दार्शनिक र राजनीतिक रूपमा सशक्त छ। उपन्यासमा छोटा वाक्यहरू, स्थानीय उखान-टुक्का र मधुर शब्दहरूको सन्तुलित मिश्रण छ, जसले पाठकलाई रस र अनुभव दुवै प्रदान गर्छ। उपन्यासको भाषिक संरचनाले भावनात्मक र वैचारिक घनत्व थपेको छ। जाडोमा आँत न्यानो बनाउने, गर्मीमा जरुवाको पानीको काम गर्ने भाषा यहींबाट जन्मिएको छ। यसलाई नेपाली साहित्यमा दुर्लभ तर प्रभावशाली प्रयोग भन्न सकिन्छ।
रैखिकको सट्टा अरैखिक ढाँचाको प्रयोगको कारण कथा थप पठनीय, सजीव र गतिशील बनेको छ। आदि, मध्य र अन्त्यको सामान्य लयमा बाँध्नुको सट्टा थापाले समय र घटनालाई विचार-तर्कको लयमा पुनःसंगठित गरेकी छन्। यसले पात्रगत विकास र वैचारिक बहस दुवैलाई सशक्त बनाएको छ।
उपन्यासका उपकथाहरूले मुख्य कथासँग गहिरो सम्बन्ध राख्छन्। घरेलु औषधि, भान्सा, पुरुषसत्ता र समाजका विविध आयामहरूलाई जोड्ने उपकथाहरूले कथाको बहुआयामिक दृष्टिकोण प्रस्तुत गर्छन्।
पात्र चित्रणमा थापाको दक्षता प्रशंसनीय छ। यस उपन्यासमा महिलाहरू मात्र केन्द्रमा छैनन्; पुरुष पात्रहरू पनि पुरुषसत्ताको संरचनामा कसरी कार्यरत छन् भन्ने देखाइएको छ। तर महिलाहरूको गतिशीलता, चेतना, विद्रोह र आत्मनिर्णयलाई जोड दिने तरीका अनौठो छ। तेजश्री, अनुश्री र ब्वारी नानीलाई पात्रतामा बन्धक नबनाई स्त्री-अस्तित्व, संघर्ष र चेतनाको प्रतीक ठहऱ्याइएको छ।
यस उपन्यासको भाषिक र संरचनात्मक शैलीले देखाउँछ– अग्निगर्भा केवल घटनावली होइन, सामाजिक चेतनाको व्यावहारिक प्रयोग हो। थापाको लेखनशैलीले पाठकलाई कथाको पात्रसँग सहानुभूति मात्रै दिलाउँदैन; यसले सोच्न, प्रश्न सोध्न र पुरुषसत्ता, श्रम र स्त्री-अस्तित्वबारे गम्भीर विमर्श गर्न बाध्य पार्छ।
अर्चना थापाको अग्निगर्भा सशक्त र प्रभावशाली भए पनि पूर्ण होइन भन्ने कुरा स्वीकार गर्नुपर्छ। केही उपकथाहरू पाठकलाई कहिलेकाहीं अलिकति अधुरा वा विचलित लाग्न सक्छन्। विशेष गरी घरेलु औषधि र पारम्परिक उपचार पद्धति सम्बन्धी प्रसंगहरू पाठकलाई मुख्य कथाबाट केही विचलित गराउन सक्छन्। तर, यी मामिला पनि उपन्यासको बहुआयामिक दृष्टिकोणलाई समृद्ध बनाउने पक्ष हुन्।
यस उपन्यासले स्पष्ट पार्छ– स्त्रीको अस्तित्व पारम्परिक भूमिका, सामाजिक अनुमोदन वा घरेलु दायरामा सीमित छैन। तेजश्री, अनुश्री, ब्वारी नानी जस्ता पात्रहरूले देखाउँछन् कि स्त्रीले आफ्नो अधिकार, श्रम, शिक्षा, माया र आत्मसम्मानका लागि संघर्ष गर्न सक्छ। यसका लागि स्वतन्त्र निर्णय र प्रयास मार्फत अघि बढ्नु पर्छ, पुरुषसत्ताले तोकेको सीमाभित्र टिकेर हुँदैन।
भान्साको श्रम, परिवारको दबाब, समाजको पूर्वाग्रह, आर्थिक संकट– यी सबै चुनौती हुन्। तर, ती चुनौतीले स्त्रीको शक्ति र चेतनालाई कम गर्न सक्दैनन्। उल्टै, ती बाधाले स्त्रीको साहस, आत्मविश्वास र विद्रोहलाई उजागर गर्छन्। थापाले यसलाई तीखो, दार्शनिक र राजनीतिक भाषामा प्रस्तुत गरेकी छन्।
थापाको लेखनले पाठकलाई कथामा रम्नुका साथै विचार, चेतना र सामाजिक द्वन्द्वको कक्षामा प्रवेश गराउँछ। उपन्यासले देखाउँछ कि साहित्य केवल मनोरञ्जनको माध्यम होइन; यो सामाजिक चेतना, राजनीतिक हस्तक्षेप र स्त्री-अस्तित्वको दस्ताबेज हुन सक्छ।
अग्निगर्भा नारीवादको भावनात्मक निरन्तरता मात्र होइन, श्रमको मूल्यांकन, आत्मनिर्णय र सत्ता विरुद्धको वैचारिक घोषणा हो। यसले देखाउँछ कि स्त्री पुरुषसत्ताको शिकार होइन; ऊ शक्ति, चेतना र संघर्षको स्रोत पनि हो। तेजश्री, अनुश्री र ब्वारी नानीको कथाले हामी सबैलाई प्रश्न गर्न बाध्य पार्छ– यदि सभ्यता, न्याय र मानवताको मूल्य केवल पुरुष र पुरुषकेन्द्रित संरचनामा आधारित छ भने स्त्रीको स्थान कहाँ हुन्छ?
निचोडमा भन्न सकिन्छ– थापाकृत अग्निगर्भा संघर्षको प्रतीक, अग्रगामी चेतनाको दस्ताबेज र परिवर्तनकामी चाहनाको साहित्यिक हस्ताक्षर हो।