सरकारले शहीद घोषणा गरेको जेन-जी प्रदर्शनमा ज्यान गुमाएका ४२ मध्ये २२ जना विदेश उड्ने तयारीमा थिए। सुशासनको नाममा गोली थाप्ने तिनको नाममा रजाइँ चाहिं अर्कैले गरे।
मंसीर २९ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा जारी प्रेस नोटमा भदौ २३ र २४ मा भएको जेन-जी प्रदर्शनका क्रममा मृत्यु र घाइते भएकाहरूका परिवारका सदस्यले वैदेशिक रोजगारीमा जान चाहेमा निःशुल्क पठाउने र आन्तरिक रोजगारी चाहेमा सीपमूलक तालीम दिने उल्लेख गरिएको छ। जेन-जी प्रदर्शनको जगमा बनेको अन्तरिम सरकारले नवयुवाको माग विपरीत विदेश जान मार्ग खोलिदिएको भन्दै यस निर्णयको शहीद परिवारले विरोध गरिरहेका छन्। आफ्ना सन्ततिले वैदेशिक रोजगारीमा जानका लागि नभई देशभित्रै रोजगार सिर्जना होस् भनी आहुति दिएको तिनको भनाइ छ।
भदौ २३ र २४ को दुई दिने उथलपुथलमा ७६ जनाको ज्यान गयो, २५ सयभन्दा बढी घाइते भए। मारिएका मध्येका ४५ जनालाई सरकारले शहीद घोषणा गरेको छ। मारिनेमध्ये धेरै ३० वर्षमुनिका छन्।
हिमालखबर ले सरकारले शहीद घोषणा गरेको ४५ (तीन जना नेपाल प्रहरी) जनाको पारिवारिक पृष्ठभूमि र घटनाका दिन उनीहरू स्वयं के गरिरहेका थिए भनी सोधखोज गरेको थियो। देशमै रोजगारी होस्, भ्रष्टाचारको अन्त्य होस् र सुशासन कायम होस् भनेर सडकमा गोली खाएकाहरूमध्ये २२ जना रोजगारी र अध्ययनका निम्ति विदेश उड्ने तयारीमा थिए।
मृतकका परिवार, साथीसंगी र आफन्तजनसँग गरिएको कुराकानीको आधारमा ती २२ जनामध्ये कतिपयको भिसा लागिसकेको थियो भने केही विभिन्न देशका भाषा सिक्दै थिए। विदेशिन तयारी गरिरहेकामध्ये धेरैजसो उपत्यका बाहिरबाट आई काठमाडौंमा संघर्ष गरिरहेका थिए।
यस रिपोर्टमा प्रदर्शन स्थलमा मारिएका विदेश उड्न तयारी गरिरहेका २२ जना कुन गाउँ-ठाउँ-जिल्लाबाट काठमाडौं आएका थिए र ती कसरी घटनास्थल पुगेका थिए भनी सोधखोज गरेको छ।
श्रीयम चौलागाईं (१७)
जिल्ला : मोरङ
भदौ २३ गते कलेजको पोशाकमा गोली लागेर ज्यान गुमाएका ग्लोबल कलेज नयाँ बानेश्वरका विद्यार्थी श्रीयम चौलागाईंको हृदयविदारक भिडिओ र तस्वीर इन्टरनेट हुँदै संसारभर फैलियो। त्यो भिडिओ श्रीयमका बुवा गणेशको मोबाइलमा पनि आइपुगेको छ। गणेश भन्छन्, “त्यो भिडिओ म हेर्न सक्दिनँ। ”
मोरङ‚ बेलबारी नगरपालिका-९ स्थायी घर भएका गणेश काठमाडौंको गोठाटारमा बस्छन्। उनका छोरा ग्लोबल कलेजमा कक्षा-१२ मा व्यवस्थापन संकायमा अध्ययनरत थिए। त्यो दिन दिउँसोको साढे दुई बजेतिर कसैले गणेशलाई फोन गरेर श्रीयमलाई गोली लागेको खबर दियो। उनी हतारहतार सिभिल अस्पताल पुगे। सबैतिर हेरे‚ कतै भेटेनन्। चिनेजानेको आफन्तलाई विभिन्न अस्पतालमा खोज्न लगाए। घाइतेहरूलाई वीर अस्पतालको ट्रमा सेन्टरमा लगेको समाचार सुनेपछि उनी त्यतै दौडिए। ट्रमामा मान्छेको भिड लागेको थियो। कसैलाई भित्र जान दिइएको थिएन।
एक हुल मान्छे गेटमा थिए। सूचनापाटीमा ठेलमठेल गरेर हेरिरहेका थिए। त्यो दिन सम्झिंदै गणेश भन्छन्, “म पनि भिडमा पसें। मृतकको लिष्ट रहेछ। १ नम्बरमा श्रीयम चौलागाईं भनेर लेखिएको थियो। मेरा खुट्टा लल्याकलुलुक भए, त्यहींनेर थचक्क बसें। अरूले भित्र जानु भन्थे। भित्र जाने आँट आएन। एक जना आफन्तलाई बोलाएँ अनि सिधै घर गएँ।” उनका दिदीहरू पनि त्यहीं वरपर थिए। घटनाबारे घरमा श्रीयमकी आमालाई भनिएको थिएन। श्रीमतीले बंकु आएन भनेर सोधिन्। श्रीयमलाई घरमा बोलाउने नाम बंकु थियो। उनले पहिलो दिन झूट बोले। भन्छन्, ‘टाउकोमा चोट लागेको छ भनेर टालटुल पारें।’
गणेशलाई ग्लोबल कलेज प्रशासनसँग रिस उठेको छ। उनी प्रश्नहरूको लामो सूची बोकेर त्यसको जवाफ खोज्दै हिंडिरहेका छन्। जस्तैः त्यो दिन स्कूल प्रशासनलाई नयाँ बानेश्वरमा जेन-जी प्रदर्शन रहेको थाहा हुँदाहुँदै किन विद्यार्थी बोकेको बसलाई विद्यालय परिसरबाहिर जान दियो?
गणेशले संकलन गरेको सूचना अनुसार, त्यो दिन विद्यालय परिसरबाट निस्किएको बस प्रदर्शन स्थल पुगेपछि रोकियो। गणेशलाई विद्यालय प्रशासनले दिएको जवाफ अनुसार, श्रीयमले ‘म एकछिनमा आइहालें’ भनेर बसबाट ओर्लिए। प्रदर्शन स्थलमा पुगेका श्रीयमलाई प्रहरीले प्रहार गरेको गोली छातीमा लाग्यो। विद्यालय प्रशासनसँग गणेशको प्रश्न छ– ‘प्रदर्शन स्थलमा विद्यार्थीलाई किन बसबाट निस्कन ढोका खोलियो? यदि ऊ बलजफ्ती निस्कन खोजेको भए, अभिभावकलाई किन सम्पर्क गरिएन?’
श्रीयमकी दिदी जर्मनीमा छिन्। गणेश भन्छन्, ‘छोरा श्रीयम पनि पढाइ सकाएर बाहिर जाने भन्दै तयारी गरिरहेको थियो। उसलाई लिएर हामीले देखेको सपना चकनाचुर भयो।’ छोराको दुर्घटनाले विरक्तिएका यातायात व्यवसायी गणेशले छोराको मृत्युपछि व्यवसायबाटै हात झिकेको बताउँछन्।
सुवासकुमार बोहरा (२३)
जिल्ला : बझाङ
बझाङ‚ खप्तड छान्ना गाउँपालिका-७ का २३ वर्षीय सुवास बोहराको जेन-जी प्रदर्शनमा भदौ २३ गते संसद् भवनअगाडि प्रहरीको गोली लागी ज्यान गयो। उनको घाँटीमा गोली लागेको हो। दुई वर्षअघि काठमाडौं आएका उनी जापान जाने अन्तिम तयारीमा थिए। सुवासको बुवा दीपक बेपत्ता भएपछि उनलाई जापान पठाउने पैसा जोहो गर्न उनकी आमा कैलीदेवी एक वर्षदेखि बेंगलोरमा काम गरिरहेकी थिइन्। उनी भन्छिन्, “सुवासका बुवा एकाएक सम्पर्कविहीन भएपछि परिवारको जिम्मा काँधमा आयो। कान्छो सन्दिप पनि वैशाखदेखि दाइसँग बसेर काठमाडौंमै पढिरहेको छ।’ दुई भाइ कीर्तिपुरमा डेरा लिई संघर्षरत थिए।
सुवासले गाउँकै सत्यवादी माध्यमिक विद्यालयबाट एसईई दिएका हुन्। त्यसपछि उनले कक्षा-११ र १२ मा कानून विषय लिएर कैलालीको एलेक्स कलेजमा अध्ययन पूरा गरे। कैलाली बहुमुखी क्याम्पसमा बीए एलएलबी दोस्रो वर्ष पढिरहेका थिए। आर्थिक अभावमा उनको पढाइ रोकिएको थियो। “पैसा भएन विदेश जान्छु भन्थ्यो,” उनले सुनाइन्।
सुवासले २०८० साउन १८ गते पासपोर्ट बनाएको देखिन्छ। कन्सल्टेन्सीले उनलाई रु.१७ लाख मागेकोमा उनी आफैंले रु.८ लाखको जोहो गरिसकेका थिए। गाउँमा कैलीदेवीले विभिन्न व्यक्तिसँग रु.२ लाख ऋण काढेकी थिइन्।
भिसा लागे दशैंपछि उड्ने तयारीमा थिए, तर पैसा जोहो हुन सकिरहेको थिएन। आवश्यक पैसा जुटाउन नसक्दा ढिला हुने हो कि भनेर कैलीदेवी तनावमा थिइन्। सुवासका भाइ सन्दिप भन्छन्, “जापान जाने पैसा नभए खाडी मुलुक भए पनि यो वर्षभित्र कमाउन जान्छु भुन्नुहुन्थ्यो।” भाइ सन्दिपका अनुसार दाइ सुवासले कन्सल्टेन्सीमा भिसाका लागि प्रक्रिया अगाडि बढाएको बारेमा जानकारी भए पनि बाँकी कुरा कुन तहमा पुगेको थियो भन्ने चाहिं थाहा नभएको बताउँछन्।
साथी पुष्प बोहराका अनुसार, विदेश जाने पैसा जुटाउन नसकेर सुवास मानसिक तनावमा थिए। आमाले दुःखजेलो गरेर खर्चपर्च पठाइरहेकी थिइन्। उनले कुन कन्सल्टेन्सीबाट विदेश जाने प्रक्रिया बढाएका थिए, उनलाई पनि थाहा छैन। पुष्प भन्छन्, “हामी कीर्तिपुरमा सँगै हुन्थ्यौं, त्यो दिन भिडमा ऊ कसरी पुगेछ!”
प्रवीण कुलुङ (२२)
जिल्ला : संखुवासभा
संखुवासभा‚ सिलिचोङ गाउँपालिका-३ का बलकिशोर कुलुङका छोरा प्रवीण कुलुङ कोरिया जाने तयारीमा थिए। उनी भाइ मौसम कुलुङसँग कपनमा डेरा गरी बस्थे। उनले ईपीएसका लागि आवेदन दिएका थिए। बुवा बलकिशोरले बताए अनुसार उनी केही दिनमा हुने परीक्षाको तयारी गरिरहेका थिए। पशुपति क्याम्पसमा स्नातक अध्ययनरत भए पनि उनको ध्याउन्न कोरिया जानेमै थियो। बलकिशोर भन्छन्, “ऊ त भाइसँग विदेशको तयारीमा थियो। त्यो दिन आन्दोलनमा पुगेछ।”
भाइ मौसमका अनुसार प्रवीण भदौ २३ को प्रदर्शनमा सहभागी थिए। प्रदर्शनमा उनका केही साथीलाई चोटपटक लागेको थियो। भदौ २३ मा १९ जना मारिएकाले प्रवीण निकै आक्रोशित थिए। दोस्रो दिन पनि प्रर्दशनमा सहभागी २२ वर्षे प्रवीण सदाका लागि ढले। गौशाला चोकमा प्रदर्शनरत उनलाई दायाँ छातीमा गोली लागेको थियो। उनको घटना स्थलमै ज्यान गएको हो। मौसम भन्छन्, “मैले त राति मात्रै थाहा पाएँ, दाइ बितिसक्नु भएको रहेछ।”
बलकिशोरले गाउँमा खेतीकिसानी गरेरै दुई छोरालाई काठमाडौंमा पढाइरहेका थिए। प्रवीण जतिसक्दो चाँडो विदेश गयो, त्यति नै छिटो परिवारको आर्थिक अवस्था उकासिने सोचिरहेका बलकिशोर भन्छन्, ‘ऊ गयो, हाम्रो सपना पनि सधैंलाई हरायो।’
रसिक खतिवडा (२२)
जिल्ला : काभ्रेपलाञ्चोक
पुरुषोत्तम खतिवडाको स्थायी घर पनौती नगरपालिका-१०, काभ्रेमा पर्छ। छोराछोरीको उज्ज्वल भविष्यका लागि उनीहरू सपरिवार काठमाडौं आएको २२ वर्ष भइसकेको छ। टेलिकमका जागिरे पुरुषोत्तमका दुई सन्तानमध्ये एक छोरा रसिक होटल म्यानेजमेन्टमा प्लस टु सकाएर ठमेलस्थित नातेदारको होटेलमा काम गरिरहेका थिए। रसिककी दिदी रसिला अष्ट्रेलियामा छिन्। श्रीमती रचनाले टेकुमा किराना पसल चलाउँछिन्। खतिवडा दम्पतीले जतिसक्दो रसिकलाई पनि बाहिर पठाउन खोजिरहेको थियो। पुरुषोत्तम भन्छन्, “हामीले उसलाई उहिल्यै विदेश जा भनेका थियौं, ऊ तपाईंहरू एक्लो पर्नुहुन्छ पछि जान्छु भनेर बस्यो।”
२३ वर्षका रसिक भदौ २३ गते प्रहरीको गोली छातीमा लागेर संसद् भवन सामुन्ने ढले। त्यो दिन पुरुषोत्तम धादिङमा थिए। उनलाई लाग्छ, छोरालाई त्यो वेला नै विदेश पठाउन सकेको भए आज यो दिन देख्न पर्दैन थियो।
यता‚ काठमाडौंमा आमा रचना र रसिक मात्रै थिए। रसिकका साथीहरू घरमा आएछन्। रसिकका बुवा थप्छन्, “यो हाम्रो आन्दोलन हो ममी भन्दै त्यो दिन काममा पनि नगईकन माइतीघर गएछ, छोरो।”
एउटा बाईकमा चढेर तीन जना माइतीघर गएका थिए। साँझ चार बजे फर्कंदा दुई जना मात्रै थिए। उनका साथीहरूले यथार्थ लुकाएर भनेछन्, ‘रसिक क्याफेतिर गयो।’ उनीहरू रसिकका ज्याकेट र मोबाइल घरमा छाडेर फर्किए।
रसिकलाई दिउँसै गोली लागे पनि परिवारले भने बेलुका सात बजे थाहा पायो। “विदेशबाट छोरीले भनेपछि मात्रै हामीले थाहा पायौं”, पुरुषोत्तम सुनाउँछन्। विभिन्न अस्पताल धाएपछि उनको श्रीमतीले राति दश बजे शव शिक्षण अस्पताल महाराजगन्जमा भएको थाहा पाइन्। रसिकलाई छाती र कोखामा गोली लागेको थियो। नौ दिनपछि मात्र शव उठाउन परिवार सहमत भयो।
ऋण काढेर घर बनाएका पुरुषोत्तमले छोराले विदेशबाट कमाएर पठाएपछि ऋण तिर्ने योजना थियो। उनको भनाइमा विदेश जाने भनेरै छोराले स्नातक अध्ययन गरेका थिएनन्। विदेशबाट दिदी रसिलाले दशैंपछि उड्ने गरी भाइको लागि प्रक्रिया चालेकी थिइन्।
हरेक दिन आमालाई चिया पकाएर खुवाउने छोरा त्यसरी मारिएपछि घरमा ठूलो रिक्तता छाएको छ।
योगबहादुर श्रेष्ठ (२२)
जिल्ला : सिन्धुपाल्चोक
सिन्धुपाल्चोक‚ बाह्रविसे नगरपालिका-६ का २२ वर्षीय योगबहादुर श्रेष्ठ माल्टा जाने तयारीमा थिए। उनले पासपोर्ट र रु.२ लाख कन्सल्टेन्सीलाई बुझाइसकेका थिए। वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति भइसकेको थियो। भिसा लाग्न मात्र बाँकी थियो। योगबहादुरलाई भदौ २३ गते दिउँसो संसद् भवनअगाडि प्रहरीको गोली कोखामा लाग्यो।
बुवा तिलकका अनुसार, योगबहादुर पुतलीसडकमा आफन्तकहाँ बसेर विदेश जाने तयारी गर्दै थिए। साथै, अनलाइन व्यापार पनि गरिरहेका थिए। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले सामाजिक सञ्जालमाथि बन्देज लगाएपछि उनको व्यापारमाथि पनि असर पर्यो। बुवा तिलक भन्छन्– “अनलाइन व्यापार भन्थ्यो। केको व्यापार हो, हामीलाई थाहा छैन। उसले खर्चपर्च पठाएर गर्जो टारिराखेकै थियो। सबै राम्रो थियो। तर, किन हो, ऊ पनि आन्दोलनमा गएछ।”
गाउँमा खेतीपाती गर्ने श्रेष्ठ परिवार काठमाडौंमा आउन पनि सकेनन्। यहींको एक जना आफन्तले सबै प्रक्रिया पूरा गरिदिए। तिलक भन्छन्, “विदेश जाला भनेर काठमाडौं पठाएका थियौं। कहिल्यै घर नफर्किने गरी गयो।”
महेश बुढाथोकी (२२)
जिल्ला : दोलखा
रोजगारी र छोराछोरीको पढाइका लागि विगु गाउँपालिका-३‚ दोलखाका केशव बुढाथोकी एक दशकअघि राजधानी छिरेका थिए। ललितपुरको इमाडोलमा बस्ने केशव काठमाडौंको धुम्वाराहीमा रहेको ग्यास स्टोरमा काम गर्छन्। उनले दुवै छोरालाई इमाडोलस्थित गम्भीर विद्यालयमा कक्षा-१२ सम्म पढाए।
जेठो छोरा महेश विदेश जाने तयारीमा थिए। विदेश जाने पैसा जोहो गर्न उनी पठाओ चलाउँथे। कान्छो छोरा उमेश कक्षा-१२ सकाएर नयाँ बानेश्वरमा काम गर्छन्। महेशको भिसा आइसकेको थिएन। क्यान्सरको बिरामी आमालाई अस्पतालमा फलोअपका लागि उनले नै लग्ने गरेका थिए।
भदौ २४ मा महेशले ‘आज आन्दोलन छ, बुवाको विदा होला नि!’ भनी सोधे। केशव त्यो दिन महेशलाई भनेको वाक्य दोहोऱ्याउँछन्, “बाबु‚ सरकारी जागीर भए पो विदा हुन्छ, प्राइभेट जागीरमा कहाँ छुट्टी!” अघिल्लो दिन १९ जना विद्यार्थी मारिएकाले छोरालाई बाहिर ननिस्कन सुझाव दिएर केशव कामतिर लागे।
दिउँसो आमा र छोरा महेश मात्रै कोठामा थिए। त्यो दिन पठाओ चलाउने अवस्था थिएन। आमासँग रु.एक हजार मागेर महेश स्कूटर बनाउँछु भनेर निस्किए। बेलुकासम्म महेश घर नफिरेपछि परिवारले खोजतलास गरे तर कतै भेटिएनन्। मीडियामा एकपछि अर्को ज्यान गएको समाचार आइरहँदा परिवारमा चिसो पस्न थालेको थियो। खोज्दै जाँदा किष्ट अस्पतालमा उनको शव भेटियो। खासमा महेशलाई दिउँसै कोटेश्वर चोकमा प्रहरीको गोली लागेको रहेछ। केशव भन्छन्, “कसरी कोसँग त्यहाँ पुग्यो, अझै हामीलाई थाहा छैन। इमाडोलस्थित कृष्ण मन्दिरको छेउमा स्कूटर राखेको भेटियो।”
महेशको मृत्युपछि बुढाथोकी परिवार इमाडोलबाट बसाइँ सरेको छ। केशव भन्छन्, “महेश त्यही कोठामा बसेर हुर्केको थियो। कोठामा सधैंजसो सँगै हुने छोरा मारिएपछि त्यहाँ बस्न मनै लागेन। अहिले भक्तपुर सरेका छौं।”
अभिषेक चौलागाईं (२२)
जिल्ला : दोलखा
शैलुङ गाउँपालिका-४, दोलखाका दिनेश चौलागार्इं छोरालाई पढाउन गाउँबाट भक्तपुरमा डेरा गरी बसिरहेका थिए। उनी नेपाल प्रहरीमा कार्यरत थिए। होटल म्यानेजमेन्टमा प्लस टु गरेका छोरा अभिषेकले पढाइ सकाएर भारतमा ‘सेफ’को तालीम लिइवरी ठमेलको एउटा होटलमा काम गर्न थालेका थिए। साथै, उनले बेलायतको भिसा प्रक्रिया पनि अघि बढाइराखेका थिए। “छोरो बाहिर गए म जागीर छोड्ने तरखरमा थिएँ। छोराले कमाउन थाले सहज होला भन्ने थियो”, उनले आफ्नो त्यो वेलाको योजना सुनाए।
जेन-जी प्रदर्शनमा परी भदौ २४ गते अभिषेकको ज्यान गएको छ। त्यस दिनको स्मृतिदंशले दिनेशलाई सधैं पोलिरहन्छ। छोरा प्रदर्शनकारी भएर बानेश्वरमा उभिएका थिए। बुवा तिनै प्रदर्शनकारी नियन्त्रण गर्न तीनकुनेमा तैनाथ थिए। उनी भावुक हुँदै भन्छन्, “मलाई के थाहा! मेरो जस्तै बर्दी लगाएको प्रहरीबाट छोरा मारिनेछ भनेर!”
दिनेशको ‘पोस्टिङ’ नगरकोटमा थियो। भदौ २३ गते प्रदर्शनले उग्र रूप लिएपछि काठमाडौं आएका उनी तीनकुनेमा तैनाथ थिए। पछिल्लो दिन आक्रामक भिड बढेपछि प्रहरीलाई नै ज्यान जोगाउन कठिन भयो।
बिहानैदेखि सडकमा तनाव थियो। काममा जान्छु भनेर घरबाट निस्केका अभिषेक त्यहाँबाट बानेश्वर आएका रहेछन्। बिहान ‘गूड मर्निङ बाबा’ भनेर म्यासेज पठाएका अभिषेकको साँझ मृत्युको खबर आयो। त्यो खबर दिनेशको कानमा परेपछि उनले आफ्नै जागीरलाई धिक्कारे। उनी एकछिन चेतनाशून्य भए। उनको शरीर काँप्यो। उनले तत्काल जागीर छाड्ने प्रण गरे। प्रहरी हेडक्वार्टरमा राजीनामापत्र पेश गरेर छोराको काजक्रियामा सामेल भए। “मैले २१ वर्षसम्म जुन संगठनमा सेवा गरें। त्यही संगठनबाट मेरो छोरा मारियो। मलाई सहनै गाह्रो भो”, उनले भने।
ओझन बुढा (२१)
जिल्ला : बाजुरा
भदौ २४ गतेदेखि ओझन बुढाको मोबाइलमा फोन लाग्न छाडेको थियो। सामाजिक सञ्जालमा उनी हराएको खबर जताततै फैलियो। दुई दिनपछि मात्रै बीएण्डबी अस्पतालमा उनको शव भेटियो। उनको टाउकोमा पछाडीबाट गोली लागेको थियो।
बाजुरा स्वामीकार्तिक खापर गाउँपालिका-२ का ओझन बुढा घर नगएको दुई वर्ष भइसकेको थियो। भदौ २१ गते दाइ कपुर बुढालाई उनले फोनमा वाचा गर्दै भनेका थिए, ‘दशैंमा जसरी पनि घर आउँछु।’ कपुरका अनुसार, परिवारले पढाउन नसकेर कक्षा-३ देखि अर्काको घरमा बसेर काम गर्दै पढिरहेका थिए, ओझन। उनले कक्षा-८ सम्म बाजुराको कोल्टीस्थित जनप्रकाश माध्यमिक विद्यालयमा अध्ययन गरेका थिए। आफूले आश्रय लिएको परिवार काठमाडौं सरेपछि ओझन पनि उनीहरूसँगै आए। कक्षा-१२ सकाएपछि भने ओझन काठमाडौंको कोटेश्वरमा एक्लै डेरामा बस्ने गरी उक्त परिवारबाट अलग भए।
कपुर भन्छन्, “सधैं उसलाई अरूको घरमा बस्न मन लागेन। आफैं कमाएर बुवाआमालाई पाल्छु भन्ने लाग्न थाल्यो। त्यही भएर ऊ विदेश जाने प्रक्रियामा थियो।” ओझनले साउदी अरब जान म्यानपावर कम्पनीमा पासपोर्ट पेश गरेका थिए। तर, कुन म्यानपावरबाट प्रक्रिया अघि बढाइएको थियो भन्नेबारे परिवार बेखबर छ। दाइ कपुरलाई रु.एक लाख ऋण खोजिदिन भनेका ओझन कोटेश्वरमा कहाँ बस्थे, अझैसम्म पत्ता लागेको छैन।
बाजुराका अधिकांश मान्छे भारतमा ज्याला मजदूरी गरेर परिवार धान्ने गर्छन्। ओझन परिवारको अवस्था पनि त्यस्तै थियो। ओझन शहीद भएपछि परिवारको आर्थिक अवस्था हेरेर उनका बुवालाई चितवनको एक संस्थानमा करार सेवाको जागीर लगाइएको छ।
दिपेश सुनुवार (१८)
जिल्ला : सिन्धुली
सिन्धुली‚ तीनपाटन नगरपालिका-६, का १८ वर्षीय दिपेश सुनुवार जेन-जी प्रदर्शन हुनुभन्दा तीन महीनाअघि काठमाडौं आएका थिए। उनको उद्देश्य विदेश जान भए पनि त्यसका लागि उनको उमेर १८ वर्ष पूरा नभइसकेकोले अहिले यतै काम गर्छु भन्दै बसिरहेका थिए। बुवा ढकबहादुर सुनुवार भन्छन्, “बानेश्वरअगाडि भइरहेको प्रदर्शनको भिडिओ मोबाइलबाट खिचिरहेको रहेछ, त्यही वेलै गोली लागेछ।” आफूहरू गाउँमै भएकाले छोरा कोसँग कसरी प्रदर्शन स्थलमा पुग्यो, ढकबहादुरले अझै थाहा पाउन सकेका छैनन्।
आर्थिक अभावका कारण दिपेशले एसईईपछिको पढाइलाई निरन्तरता दिन सकेका थिएनन्। केही समय काम गर्छु र उमेर पुगेपछि विदेश जान्छु भन्ने उनको योजना यथावत् थियो।
पहिले पनि गाउँमा गाडीको सहचालक भएर केही समय काम गरिसकेका दिपेशले काठमाडौं आएर गाडी चलाउन सिके। उनले ललितपुर महानगरपालिकाको फोहर उठाउने अटोमा काम गरिरहेका थिए।
भदौ २३ को प्रदर्शनका कारण सबै काम ठप्प थियो। त्यसैले उनी पनि फुर्सदमा थिए। “हामीलाई पनि पछि मात्रै थाहा भो। बुढेसकालको लौरो भाँच्चिएछ।’ ढकबहादुर भन्छन्, “उसैले कमाएर घरखर्च टारेको थियो। हाम्रो त सबथोक रित्तियो।”
सौरनकिशोर श्रेष्ठ (३८)
जिल्ला : बागलुङ
सात दशक कटेका बागलुङ नगरपालिका-४ का वसन्तकिशोर श्रेष्ठका लागि मुख्य सहारा थियो– छोरा सौरनकिशोर। पाँच वर्ष कोरियामा बसेर फर्किएका सौरनले काठमाडौंस्थित वनस्थलीमा घर बनाएपछि १४ वर्षअघि सपरिवार गाउँबाट शहर छिरेको थियो।
६ वर्षे एक छोराका पिता सौरन एकातिर रोजगारीका लागि क्रोएसिया जाने प्रक्रियामा थिए भने हाल बुवाको व्यवसाय सम्हालेर बसेका थिए। सरकारले सामाजिक सञ्जाल निष्क्रिय बनाएपछि उनको काम पनि प्रभावित भएको थियो। त्यसैले उनी भदौ २३ को प्रदर्शनमा गएको उनकी श्रीमती रोजिता बताउँछिन्। त्यस प्रदर्शनमा सौरनलाई छातीमै गोली लाग्यो।
घटनाको दिन सौरनका बुवाआमा नेपालमा थिएनन्। छोरीसँग अमेरिकामा थिए। भदौ २३ गते बेलुकी सौरन मारिएको समाचार तारन्तार प्रसारित भएपछि अमेरिकामा रहेका वृद्ध आमाबुवा र यता श्रीमती रोजिता अचेत जस्तै भए।
बुढ्यौली लागिसकेका आमाबुवा धेरै काम गर्न सक्ने अवस्थामा छैनन्। छोराको मृत्युपछि नेपाल फर्केका वसन्त अचेल दिनहुँजसो सिंहदरबार चहार्छन्। उनले २३ गते गोली चलाउन आदेश दिने तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीमाथि कारबाही हुनुपर्ने माग उठाउँदै आइरहेका छन्। बबरमहलमा रहेको शहीद परिवार सम्पर्क कार्यालयमा भेटिएका वसन्तले भक्कानिंदै भने, “नातिको मुख हेरेर मन बुझाइरहेको छु।”
गौरव जोशी (२२)
जिल्ला : कैलाली
धनगढी उपमहानगरपालिका-५, कैलालीका गौरव जोशी बेलायत जाने तयारीमा थिए। कक्षा-१२ सम्मको अध्ययन पूरा गरेका उनी भक्तपुरमा डेरा गरी बस्थे। अंग्रेजी भाषा-कक्षाको तयारी गरिरहेका थिए। आमा माया जोशीका अनुसार गौरवले क्यानडा र अस्ट्रेलिया जान प्रयत्न गरेका थिए। तर, ती देशको भिसा नलागेपछि बेलायत जाने तयारी गरिरहेका थिए। परिवारले रु.१५ लाख ऋण खोजिसकेको थियो। श्रीमान् वासुदेवलाई धनगढीमै छाडेर काठमाडौं आएकी माया भन्छिन्, “छोरालाई सजिलो होस् भनेर छोरीलाई पनि अस्तिको वैशाखमा यहीं ल्याएँ।”
गौरवकी बहिनी आइसाका अनुसार, टिकटकमा जेन-जी प्रदर्शनको प्रचारप्रसारले गौरव उत्साहित थिए। यो प्रदर्शन विद्यार्थीको भएकोले सबै सहभागी हुनुपर्ने बताइरहेका थिए। भदौ २३ गते बिहान पुतलीसडकमा भाषा कक्षा सकाएर उतैबाट प्रदर्शनमा सहभागी भए। फर्किहाल्छु भन्दै गएका गौरव आएनन्। उनलाई भदौ २३ गते गुप्तांगमा गोली लागेको परिवार बताउँछ।
एक्लो छोरो मारिएपछि माया काठमाडौं बस्ने कि गाउँ फर्किने द्विविधामा छिन्।
दीपक साउद (१९)
जिल्ला : बैतडी
शिवनाथ गाउँपालिका–२, बैतडीका दीपक साउद गत वर्षदेखि डेरा गरी कीर्तिपुरमा बस्थे। गाउँमै प्लस टु सकाएपछि कोरियाली भाषा सिक्न बैतडीबाट काठमाडौं आएका उनका दुई दाइ र दुई भाइ छन्।
जेठो दाइ वीरेन्द्र साउदले भारतमा मजदूरी गर्दै भाइलाई पढाइका लागि खर्च पठाउँथे। १९ वर्षीय दीपकले यो वर्ष कोरियाली भाषा परीक्षा दिएर जापानी भाषा पनि सिक्दै थिए। एक वर्षअघि पासपोर्ट बनाएका दीपकले गाउँकै साथीहरूसँग डेराडन्डा जमाएका थिए।
भदौ २४ गते कालिमाटीको प्रदर्शनमा दीपकको आँखामा प्रहरीको गोली लाग्यो। परिवारका अनुसार उनको घटनास्थलमै चोला उड्यो। दाजु वीरेन्द्र सम्झिन्छन्, “पाँच दिनअघि मात्रै कुराकानी हुँदा भाषाको कक्षा राम्रो चल्दै छ, पैसा खोजिराख्नु है दाइ भन्दैथ्यो।”
पढेर पनि भनेजस्तो जागीर नपाउने भएकोले परिवारले नै विदेश पठाउने योजना बनाएको उनी बताउँछन्।
अभिषेक श्रेष्ठ (२३)
जिल्ला : सुनसरी
सुनसरी‚ इनरुवा नगरपालिका-६ का २३ वर्षीय अभिषेक श्रेष्ठ भदौ २८ गते साउदी अरब उड्दै थिए। भदौ तेस्रो साता म्यानपावर कम्पनीलाई रु.८० हजार भुक्तानी गरेका थिए। माइजू तारा श्रेष्ठका अनुसार, टिकट हात लागेपछि थप रु.एक लाख बुझाउने सम्झौता भएको थियो। विदेश जाँदा चाहिने लुगाफाटा किनिसकेका थिए।
कक्षा-१० पढ्दापढ्दै स्कूल छाडेका अभिषेक सानैदेखि मावलीमा हुर्के/बढेका हुन्। मावलीले नै विदेश पठाउँदै थियो। उनले इटहरीको एउटा बर्गर हाउसमा काम गरिरहेका थिए।
विदेश जाने पक्का भएकोले नोकरी छाडेर काठमाडौं आउने तयारी गरिरहेका अभिषेक भदौ २३ गते रेष्टुरेन्टमा हिसाबकिताब गर्न र साथीहरूसँग भेट्न घरदेखि हिंडेका थिए। उनलाई इटहरी उपमहानगरपालिकाको कार्यालय नजिक छाती र नाकमा गोली लाग्यो। अस्पताल लग्दालग्दै उनको प्राण उड्यो।
तारा रुँदै भन्छिन्, “प्रदर्शन एक हप्ता ढिला भइदिएको भए आज यस्तो दिन देख्नु पर्ने थिएन।”
आयुश थापा (१९)
जिल्ला : बाँके
नेपालगञ्ज उपमहानगरपालिका-१, बाँकेका १९ वर्षीय आयुश थापा फ्रान्स जाने तयारीमा थिए। काठमाडौं‚ धापासीमा आफन्तसँग बसेर तयारी गरिरहेका उनको भिसा लागिसकेको थियो। अनलाइन अन्तर्वार्ता दिएका उनको भदौ दोस्रो साता भिसा लागेको थियो। बुवा सुशील थापाका अनुसार परिवारले रु.६ लाख ५० हजार कन्सल्टेन्सीलाई बुझाइसकेको थियो। भदौको अन्तिम साताभित्र उड्ने तयारी थियो। त्यसैका निम्ति आयुश भदौ ३ गते काठमाडौं आएका थिए। भदौ २३ गते छातीमा गोली लागि उनको ज्यान गयो।
आयुशले ६ महीना पोखरामा बसेर ब्रिटिस आर्मीका लागि तयारी गरेका थिए। उनी असफल भए। त्यसपछि उनी फ्रान्स जाने तयारीमा जुटेका थिए।
छोरीको विवाह भइसकेको छ। भेरी यातायात समितिबाट अवकाशप्राप्त सुशीलको घरमा मुखबोला साथी भन्नु श्रीमती पुनम मात्रै छिन्। थापा दम्पतीको एक्लो सहारा गुमेको छ। उमेर छ दशक पार गरिसकेका दम्पती अझै शोकबाट तंग्रिन सकेका छैनन्।
शुलभराज श्रेष्ठ (२३)
जिल्ला : बाँके
कलेज पोशाकमै प्रहरीको गोली लागेका शुलभराज श्रेष्ठ अमेरिका जाने तयारीमा थिए। नेपालगञ्ज उपमहानगरपालिका-१, बाँकेका २३ वर्षीय शुलभलाई भदौ २३ गते बानेश्वरको संसद् भवनअगाडि टाउकोमा गोली लाग्यो। त्यस दिनदेखि बुवा नरेन्द्र श्रेष्ठ र आमा बिना खड्का विक्षिप्त छन्। उनीहरू कसैसँग बोल्न चाहँदैनन्। छिमेकी समेत रहेका नातेदार सुशील थापाका अनुसार नरेन्द्र श्रेष्ठ दम्पतीका एक मात्र सन्तान थिए।
इन्जिनियरिङ अध्ययन गरिरहेका शुलभराज काठमाडौंमा सानीमाको घरमा बस्थे। सुशील भन्छन्, “बाबुले पढाइ सक्न आँटेको थियो। उसले पढाइसँगै अमेरिका जाने तयारी पनि अघि बढारहेको थियो।”
बुवा नरेन्द्र बाँकेको भेरी इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल हुन्। आमा बिना शिक्षक हुन्। कसैसँग बोलचाल नगर्ने श्रेष्ठ दम्पती घरबाट बाहिर समेत निस्किरहेका छैनन्।
सन्तोष राई (४८)
जिल्ला : उदयपुर
चौदण्डीगढी नगरपालिका-३‚ उदयपुर घर भएका सन्तोष उपनामका सारकुमार राईको भदौ २४ गते गौशालामा गोली लागी ज्यान गयो। उनलाई कन्चटमा गोली लागेको थियो। श्रीमती सुनिता राईका अनुसार उनी रङरोगनको काम गर्थे। कपनमा डेरा गरेर बसेका राई दम्पतीका १४ र १९ वर्षका दुई छोरी छन्।
सन्तोषकै कमाइमा चार जनाको परिवार पालिएको थियो। त्यति कमाइले खर्च नचलेपछि विदेश जानका लागि म्यानपावर कम्पनीहरूमा धाइरहेका सन्तोष भिसा पर्खिंदै थिए। “कतार, दुबई, मलेशिया जता भए पनि जाने भन्नुभएको थियो।” सुनिता भन्छिन्, “हामी कसरी बाँच्नु अब?”
पहिला सुनिता काठमाडौंमा श्रीमान्सँगै बस्थिन्। विदेश जाने भनेपछि पैसाको जोहो गर्न उनी छोरी लिएर चितवन गइन्। त्यहाँको एउटा स्कूलको क्यान्टिनमा सरसफाइको काम थालिन्। श्रीमान् बितेपछि उनी काम छाडेर काठमाडौं फर्किएकी छन्, जेठी छोरी कमाउन जान्छु भन्दै भारततिर लागेकी छन्।
पाँच दाजुभाइमध्ये सन्तोष साइँला हुन्। आमाबा पहिले नै बितिसकेका छन् भने अरू दाजुभाइ अलगअलग भइसकेका छन्। छोरीहरूको पढाइ सम्बन्धी तारतम्य र आफूलाई जागीर मिलाइदिन अनुरोध गर्दै सुनिता भन्छिन्, “उहाँ नरहेपछि हामी बिचल्लीमा परेका छौं। सरकारले छोरी पढाइदिए सजिलो हुन्थ्यो।”
असहाव आलम ठकुराई (२४)
जिल्ला : पर्सा
वीरगंज महानगरपालिका-१२, पर्साका २४ वर्षीय असहाव आलम ठकुराई विदेश जानका लागि काठमाडौं आएका थिए। सीटीईभीटी अन्तर्गत रहेको होटल म्यानेजमेन्टमा डिप्लोमा गरेका थिए। चाबहिलमा डेरा गरी बस्ने उनी दुबई जान भिसा कुर्दै थिए। संसद् भवनअगाडि जेन-जी प्रदर्शनमा भदौ २३ गते पेटमा गोली लागी ज्यान गुमाए।
भाइ मुमाद आलमका अनुसार असहाव जतिसक्दो चाँडो विदेश जान चाहन्थे। उनका बुवा र दुई दाइ पनि विदेशमा छन्। आलम भन्छन्, “दाइलाई गोली लागेपछि बुवा र दाइहरू कतारबाट नेपाल आउनुभयो।”
ईश्वत अधिकारी (२७)
जिल्ला : काठमाडौं
काठमाडौं महानगरपालिका-११, स्थायी घर भएका २७ वर्षीय ईश्वत अधिकारी पब्लिक युथ कलेजमा स्नातकोत्तर अध्ययनरत थिए। पहिला नै अंग्रेजीमा मास्टर सकाएर उनी फेरि मनोविज्ञान पढिरेहका थिए। थप अध्ययन गर्न बेलायत जान प्रक्रिया अघि बढाइरहेका थिए।
उनका बुवा ईश्वर अघिकारी वनस्थलीमा व्यवसाय गरिरहेका छन्। घरमा जेठो दाइ छन्। बुवा ईश्वर अधिकारीका अनुसार, घटनाको केही दिनअघि मात्र जिल्ला प्रशासन कार्यालय गएर उनले पासपोर्ट नवीकरण गरेका थिए। ईश्वर भन्छन्, “आयल्समा ७.५ अंक ल्याएको थियो।”
पढाइमा मेधावी ईश्वतको अवसानसँगै परिवारमा सन्नाटा छाएको छ।
विमलबाबु भट्ट (२२)
जिल्ला : गोरखा
गोरखा‚ बारपाक सुलिकोट-५ का विमलबाबु भट्ट दाजु अनिलबाबु कोटेश्वरमा सँगै मामाघरमा बस्थे। विमल बौद्धमा प्लस टु तहको व्यवस्थापन संकायमा अध्ययनरत थिए। खाली समयमा विमलले मामा हरिराम भट्टको इमाडोलमा सञ्चालनमा रहेको व्यवसायमा सघाउँथे।
मामा हरिरामका अनुसार, आर्थिक अवस्था कमजोर भएकाले भान्जा विमललाई उनी आफैंले कक्षा-९ सकाएपछि काठमाडौंमा ल्याएर पढाएका थिए। कक्षा-१२ सकाएपछि दुवै दाजुभाइलाई रोमानिया पठाउने उनको तयारी थियो। त्यसका निम्ति प्रक्रिया गरेको पनि एक वर्ष भइसकेको थियो। दुई दाजुभाइका लागि भनेर रु.सात लाख बुझाइसकेका थिए। एक महीनाभित्र उनीहरूलाई उडाउने आश्वासन म्यानपावरले दिएको थियो।
भदौ २३ गते चार बजे म्यानपावरमा बोलाइएको थियो। मामा हरिराम भन्छन्, “मैले ११ बजेतिर फोन गरेर भान्जा म्यानपावरमा जानुपर्छ भनेको थिएँ। मामा आज जेन-जी प्रदर्शनमा जान्छु अनि त्यतैबाट म्यानपावरमा जान्छु भनेका थिए।”
नचिनेको नम्बरबाट १:१० मा हरिरामलाई एउटा फोनकल आयो। फोनमा भनियो, ‘तपाईंको मान्छेलाई गोली लागेको छ।’ उनीहरू हतारहतार सिभिल अस्पतालमा पुगे। त्यहाँ पुग्दा विमलको मृत्यु भइसकेको थियो। उनी भन्छन्, “विमलको टाउकोमा १ नम्बर लेखिएको थियो। प्रदर्शनमा पहिलो गोली लागेर ज्यान गुमाएको विमल रहेछ।” छाती र पाखुरामा गोली लागेको रहेछ।
विमलको घरमा जानकारी दिन गाह्रो भयो। गाउँमा वृद्धा आमालाई सात दिनसम्म समाचार सुनाउन नसकेको हरिराम बताउँछन्।
अनिश पराजुली (४२)
जिल्ला : गोरखा
पालुङटार नगरपालिका-३, गोरखा स्थायी घर भएका अनिश पराजुली काठमाडौंस्थित तार्केश्वरमा कार्पेट पसल चलाउँछन्। गाउँमा राम्रो पढाइ हुँदैन भनेर अनिशले श्रीमती मञ्जुलाई अघिल्लो वर्ष काठमाडौं बोलाएका थिए।
मन्जुको भनाइमा यहाँ व्यापार राम्रो नभएकाले १३ वर्ष कतार बसेर नेपाल फर्केका अनिश फेरि बाहिरै जान खोजिरहेका थिए। भदौ २४ गते महाराजगञ्जमा प्रहरीको गोलीका कारण उनको ज्यान गयो। अनिशलाई काँधमा गोली लागेको थियो। प्रदर्शन हेर्न भनेर पसल बन्द गरेर निस्केका उनको उतै प्राण गयो।
वृद्ध अवस्थाका आमाबुवाका साथै १४ वर्ष र २२ महीनाका दुई छोरा विचल्ली परेका छन्। मञ्जु भन्छिन्, “पसल चलाउन सकेको छैन। मेरो त सर्वस्वहरण भएको छ। दुई छोरालाई कसरी पढाउनु मैले?”
सन्तोष बिक (३०)
जिल्ला : उदयपुर
वेलका नगरपालिका-४, उदयपुरका ३० वर्षका सन्तोष बिक पुरानो बानेश्वरस्थित सुन बनाउने ठाउँमा कालीगढका रूपमा काम गरिरहेका थिए। उनको कमाइले चार जनाको परिवार पालिएको थियो। श्रीमती अम्बिका, १० वर्षीय छोरा र ८ वर्षीया छोरीलाई पढाउन भनेर गत वर्षदेखि सपरिवार काठमाडौंमा बस्न थालेका हुन्। छोराछोरी हुर्किएसँगै खर्च धान्न धौ-धौ भएकोले सन्तोष विदेश जाने योजनामा थिए। अम्बिका सम्झिन्छिन्, “पहिले देशमै केही गरौं भन्ने मान्छेले अब त विदेश पो जानुपर्छ होला भन्नुहुन्थ्यो।”
सन्तोषको भदौ २३ गते बानेश्वरमा गोली लागी ज्यान गयो। उनलाई कुममुनि गोली लागेको थियो। उनको मृत्युपछि बिक परिवार नै सहाराविहीन बन्न पुगेको छ।
धिरज श्रेष्ठ (२४)
जिल्ला : नुवाकोट
नुवाकोट‚ तादी गाउँपालिका-३ का स्थायी घर भई हाल बालाजु बस्दै आएका नारायण श्रेष्ठका कान्छा छोरा २४ वर्षीय धिरज मारिएपछि श्रेष्ठ परिवार अझै शोकबाट उत्रिन सकेको छैन। नारायण शहीद परिवारका लागि न्याय माग्दै दिनहुँ सिंहदबारका ढोका-ढोका चहार्दैछन्। सिंहदरबार आउजाउ गर्नु उनको दैनिकी भएको छ।
यदि यो प्रदर्शन नभएको भए धिरज दाजु धिरनसँगै अष्ट्रेलियामा हुन्थे। नारायणले दुई छोरालाई शिक्षादीक्षा दिन कुनै कसर बाँकी राखेका थिएनन्। उनलाई छोराहरूले देशमै केही गरून् भन्ने लागेको थियो। तर, दुवै छोराले विदेशको सपना देख्न थाले। नारायणले पनि त्यसलाई स्वीकार गरिसकेका थिए।
धिरजले प्लस टु तहमा होटल म्यानेजमेन्ट अध्ययन पूरा गरेका थिए। स्नातक पढ्दापढ्दै विदेश जाने तयारीमा थिए। उनको अस्ट्रेलियाका लागि भिसा लागिसकेको थियो। दशैंअगाडि नै टिकट लिने भनिएको थियो। वर्किङ भिसा पाएका धिरजको भदौ २७ गते शुक्रबार बायोमेट्रिक हुने मिति तय भएको थियो।
नारायणका अनुसार, उनले छोराको लागि म्यानपावरमा रु.४० लाख बुझाइसकेका थिए। धिरजले आफूलाई चाहिने लुगा र सरसामान समेत किनमेल गरिसकेका थिए। सबै प्रक्रिया मिलिसकेकाले विदेश उड्ने अन्तिम तयारीमा थिए।
भदौ २३ गते उनको नजिकको साथी जेन-जी प्रदर्शनमा घाइते भएकोले भेट्न स्रोह्रखुट्टे जाने भन्दै निस्केका थिए। अघिल्लो दिन नै हिंसात्मक प्रदर्शन भएकोले नारायणले उनलाई त्यता नजान भनेका थिए। उनी सम्झिन्छन्, “कतै चोटपटक लाग्दा पनि विदेश जान नमिल्ला नजानू बाबु भनेको थिएँ।” उनी केही हुँदैन भन्दै साथीलाई भेट्न घरबाट निस्केका थिए।
साथीलाई भेट्न नपाउँदै बालाजुको प्रहरी वृत्तअगाडि गोली लागेर धिरजको ज्यान गयो। उनलाई घाँटीमा गोली लागेको थियो। बुवा नारायण भन्छन्, “घरबाट निस्केको २० मिनेटमै छोरालाई गोली लागेछ।”
अवसरवादीहरूकै रजाइँ
काठमाडौंमा सत्ता परिवर्तन हुने गरी हरेक दशकको अन्तरालमा हुने आन्दोलन/विद्रोहमा सधैं नवयुवा अग्रपंक्तिमा हुने गर्दछन्। भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनमा परी ज्यान गुमाएका युवाको पृष्ठभूमि विश्लेषण गर्दा ती देशका दूरदराजबाट काठमाडौंमा आई संर्घष गरिरहेका देखिन्छन्।
२०४६ सालको परिवर्तन विशेष गरी माओवादी द्वन्द्वपछि बढेको आप्रवासनले संघीय राजधानी अवसरको खोजीको केन्द्र बन्यो। आप्रवासनमा प्राज्ञिक अध्ययन गरिरहेका समाजशास्त्री गणेश गुरुङको विश्लेषणमा बेरोजगारीका कारण युवा माओवादी सशस्त्र संघर्षमा आकर्षित भएर लागे। तर शान्ति सम्झौतापछि बेरोजगारी समस्या हल भएन। तिनै युवा अवसर खोज्दै काठमाडौंमा थुप्रिए। उनी भन्छन्, “सरकारी तथ्यांकले ११ प्रतिशत जनसंख्या बेरोजगार रहेको देखाउँछ। अर्धबेरोजगारी धेरै छ। यस समस्याको समाधान हुन सकेन तिनै युवा सडकमा आए।”
पछिल्लो केही वर्षयता काठमाडौं नवयुवाका लागि विदेश जाने ‘ट्रान्जिट पोइन्ट’को रूपमा विकसित भइरहेको छ। यही कारण काठमाडौं उपत्यका मानिसहरूको चहलपहल हुने नेपालको सबैभन्दा ठूलो राजनीतिक, प्रशासनिक, व्यावसायिक र शैक्षिक केन्द्र बन्न पुगेको छ। वैदेशिक रोजगारीमा जाने प्रकियामा विभिन्न ठाउँमा हण्डर-ठक्कर खाएकाहरू नै प्रदर्शनमा होमिएको समाजशाास्त्री गुरुङको निष्कर्ष छ।
जनसंख्या अध्येता चेतन अधिकारीले काठमाडौं उपत्यकाको जनसांख्यिकीलाई मसिनो गरी केलाएका छन्। त्यस अध्ययनमा उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरको कुल जनसंख्या ३० लाख २५ हजार ३८६ देखिन्छ। काठमाडौंमा मात्रै २० लाख ४१ हजार ५८७ जना बस्छन् भने ललितपुरमा ५ लाख ५१ हजार ६६७ र भक्तपुरमा ४ लाख ३२ हजार १३२ जनाको बसोबास छ। यीमध्ये काम गर्न सक्ने सक्रिय उमेर समूह (१५-६४ वर्ष) को जनसंख्याको ठूलो हिस्सा काठमाडौं उपत्यकामा नै थुप्रिएको छ। नेपालको कुल जनसंख्यामा यो उमेर समूहको संख्या ६५ प्रतिशत छ भने काठमाडौंमा ७५.१ प्रतिशत। त्यस्तै भक्तपुर र ललितपुरमा तिनको संख्या क्रमशः ६६.८ र ६५ प्रतिशत छ। यसको अर्थ संघीय राजधानी उपत्यकामा पाल्नुपर्ने भन्दा कमाउने उमेर समूहका मानिसको संख्या ठूलो छ। यही जनसंख्या जेन-जी प्रदर्शनमा सडकमा उत्रिएको देखिन्छ।
चेतन अधिकारी लेख्छन्, ‘बसाइँसराइमा सबैभन्दा धेरै सहभागी यो समूह उमेरका कारणले पनि धेरै महत्त्वाकांक्षी हुन्छ। आफ्ना आकांक्षा पूरा नहुँदा तत्काल विद्रोही चरित्र देखाउने उनीहरूको स्वभाव नै हुन्छ। त्यसै कारण पनि गत भदौको प्रदर्शनमा जेन-जी मात्र होइन, त्योभन्दा ठूलो उमेर समूहका धेरै मानिसको सहभागिता देखियो।”
पहिले जस्तै यसपालि पनि गरीब, उपेक्षित र दूरदराजबाट काठमाडौं आई संघर्ष गरिरहेका युवाले बलिदानी दिए। तर फाइदा चाहिं टाठाबाठा– काठमाडौंलाई आधार बनाई वर्षौदेखि राज्यबाट फाइदा लिइरहेका अवसरवादीहरूले उठाएको अर्का समाजशास्त्री नारायणी देवकोटाको विश्लेषण छ।
‘आन्दोलनमा कतिपय नेता देखिंदैनन्। त्यो वेला उनीहरू सुरक्षित ठाउँमा बस्छन्। फाइदा लिने वेला चाहिं ती फुत्त बाहिर निस्कन्छन्।’ समाजशास्त्री देवकोटा दलहरूले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक सूचीको उदाहरण दिंदै भन्छिन्, ‘प्रदर्शनमा सहभागी हुने‚ कुटाइ खाने निम्न वर्गका मान्छे थिए, पछि नेता बन्ने दौडमा हुनेखानेहरू देखिए।’
छोरा सौरनकिशोर श्रेष्ठ गुमाएका बुवा वसन्तकिशोर न्याय माग्दै दिनहुँ सिंहदरबारको चक्कर लगाइरहेका छन्। उनी भन्छन्, “हाम्रा छोराहरूले रगत बगाए, नेता तिनै हुनेखाने भए।”
VIDEO