‘भग्न प्रेमशाला’ प्रेमको उज्यालो कथन होइन; यो प्रेम नामक संस्थाले जन्माएका मनोवैज्ञानिक, यौनिक र सामाजिक अँध्याराको ‘फिक्सनल पोस्टमार्टम’ हो।
राजकुमार बानियाँ
कथा–साहित्यमा आफूलाई केवल ‘रिक्रुट’ मानेका खगेन्द्र गिरी प्रवेश-पुस्तक ‘भग्न प्रेमशाला’मै खाँटी कथाकारका रूपमा देखा परेका छन्। प्रथम कथासंग्रहमै उनले देखाएको कथ्य र शिल्पगत कौशल अद्वितीय छ। कथाका नाममा घटनावली (मिसिल–मुचुल्का–तमसुक, समाचार-फिचर आदि) फलाक्ने अनि थोत्रो र फितलो कथावाचन गरिरहनेको लस्करमा उनले चयन गरेका विशिष्ट विषय र शिल्प उल्लेखनीय छ।
पत्रकार तथा अनुवादक (एन फ्र्यांकको ‘डायरी अफ अ यङ गर्ल’ को अनुवाद ‘एक किशोरीको डायरी’) को सिर्जनशील परिचय बनाएका गिरीले कथा-साहित्यमा पहिलो संग्रह मात्र दिएका छैनन्, जाज्वल्यमान गोरेटो नै खनेका छन्। विशेष गरी सामान्य पात्रका असामान्य कथाहरू पाएर सिंगो कथा-साहित्य उज्यालिएको छ।
खासमा ‘भग्न प्रेमशाला’ प्रयोगधर्मिताको ‘शान्त, तर असजिलो संस्करण’ हो। गिरीको कथामा विषयभन्दा ज्यादा बनोटमा प्रयोगधर्मिता छ। उनका कथामा स्पष्ट आरम्भ-मध्य-अन्त्यको पुरातन क्रम भंग छ। घटनाभन्दा स्थिति प्रधान छन्। कथाहरू ‘के भयो’ भन्दा ‘किन यस्तो भयो’ मा अडिएका छन्।
पात्र-निर्माणमा प्रयोग छ तर नायकको पूरै अनुपस्थिति। कथामा केन्द्रीय नायक छैन, नैतिक रूपमा ‘सही’ पात्र छैन, सहानुभूति बाँड्न सजिलो पात्र पनि छैन। यो नायकविहीन कथा-संसार सिर्जना गर्नु स्वयं प्रयोगधर्मिता हो, किनकि यसले पाठकको भावनात्मक शान्ति भंग गर्छ। प्रयोगधर्मिता केवल भाषिक चमत्कारमा होइन, भाषिक नियन्त्रणमा पनि सम्भव हुन्छ। ‘भग्न प्रेमशाला’ को असली प्रयोग भनेको पाठकको नैतिक, भावनात्मक र संरचनागत अपेक्षा भत्काउनु हो।
कतिपय कथामा अन्त्य नै छैन। त्यो कमजोरीभन्दा पनि पाठकलाई नै कथा पूरा गर्न विवश पार्ने शिल्प-सचेत निर्णय हो। प्रेमलाई रोमाञ्चबाट निकालेर यथार्थको गेग्य्रानी सडकमा घिसार्नु आफैंमा प्रयोग हो। उनका कथामा यौनिकता सौन्दर्य होइन, असहजता बनेर आउँछ। गिरीले प्रेम र यौनिकताको ‘डि-रोमान्टिसाइजेशन’ गरेका छन्।
‘भग्न प्रेमशाला’मा समाज र प्रणालीप्रति आलोचनात्मक दृष्टि छ। कथामा ठूलो घटनाभन्दा पनि मसिनो अनुभूतिको गहिरो प्रतिध्वनि छ। पात्रहरू प्रायः एक्ला, विस्थापित, मूल्य-संकटमा परेका छन्। तिनले सामाजिक खोक्रोपनलाई उजागर गर्छन्। यथार्थलाई ‘भत्काएर’ देखाउँछन्। कतिपय कथा मनो-स्वप्न वा दुःस्वप्न जस्तो लाग्छन्। गिरीको भाषा भावुकभन्दा पनि संयमी, रोमान्टिकभन्दा निरीक्षणात्मक र करुणाभन्दा बढी तथ्यात्मक छ।
‘भग्न प्रेमशाला’का खगेन्द्र गिरीमा कुमार नगरकोटीको जस्तो फेन्टासी-चेतना, ध्रुवचन्द्र गौतमको जस्तो सामाजिक शल्यक्रिया र परशु प्रधानको जस्तो मनोवैज्ञानिक गहिराइ एकमुस्ट छ। तर उनी कथाकारत्रयका हुबहु प्रतिलिपि होइनन्। ‘भग्न प्रेमशाला’ नेपाली कथा-साहित्यमा यथार्थ र प्रयोगको दशगजामा उभिएको समकालीन हस्तक्षेप हो।
त्यसो त गिरी नगरकोटी जस्तो नेपाली गद्यका डीजे होइनन्। उनी टुक्रा-टुक्रा धुन मिसाएर नयाँ अनुभूति सिर्जनेभन्दा पनि कथाभित्रको फेन्टासीलाई मानवीय पीडा, हिंसा, प्रेम र विस्थापनसँग जोड्छन्। नगरकोटीजति भाषिक जोखिम नलिए पनि फेन्टासीलाई ‘जीवित’ र ‘मानवीय’ बनाउँछन्।
गिरीका कथामा फेन्टासी वा अलौकिक तत्त्वहरू प्रायः मनोवैज्ञानिक र प्रतीकात्मक उद्देश्यले प्रयोग भएका छन्। कथाका केही पात्र वा घटना यथार्थपरक नहुँदा पनि तिनले पाठकलाई पात्रको मानसिक अवस्थासँग जोड्न मद्दत गर्छन्। यी कथाहरूमा फेन्टासी प्रयोग केवल मनोरञ्जनका लागि नभई पात्रको मानसिक अवस्था, भावनात्मक द्वन्द्व र दार्शनिक चिन्तनलाई उजागर गर्ने माध्यमका रूपमा प्रयोग भएका छन्। ‘भग्न प्रेमशाला’ मा फेन्टासी र यथार्थबीच सन्तुलन छ।
कतिपय कथामा ‘मेटाफिजिकल’ चेतना र संवेदना सावधानीसाथ घुसेका छन्। यथार्थ र कल्पनाको सीमारेखा धुम्मिएको छ। अस्तित्व, अर्थ, प्रेम, पीडा, स्मृति, रिक्तता जस्ता प्रश्नहरू सामयिक भएर आएका छन्। पात्रको भौतिकभन्दा बढी मानसिक/अस्तित्वगत भोगाइ छ। यहाँनेर प्रेम केवल सामाजिक सम्बन्ध होइन, अस्तित्वको प्रश्न बनेको छ।
संग्रहको पहिलो कथा ‘निर्मुक्त स्त्री’ प्रेमबाट मुक्त महिलाको कथा होइन; बरु प्रेम नामक संस्थाले नारी देह, चाहना र चेतनामा कसरी सत्ता, दमन र आत्म-विघटन रोप्छ भन्ने दृष्टान्त हो। यसमा प्रेम भावनात्मक सम्बन्ध होइन, सत्ता अभ्यास छ। अझ भन्ने हो भने यो प्रेमको ‘डार्क एनाटोमी’ हो। यो फ्रायडियन फ्रेममा ‘निर्मुक्त स्त्री’ आघातग्रस्त प्रेम-मनोविज्ञान हो भने सिमोन द बोउवारको शब्दमा स्त्री-अस्तित्वको त्रासदीपूर्ण चित्र।
कल्पना आम महिलाको प्रतिनिधि पात्र छिन्। कथामा कल्पनाको संघर्ष र पतिको उदासीनता मार्फत स्त्री-अस्तित्व र पितृसत्ताबीचको द्वन्द्व प्रस्तुत गरिएको छ। ‘निर्मुक्त स्त्री’ पितृसत्ता-विमर्शको सूक्ष्म तर प्रभावशाली कचहरी हो। कथाले पीडाको समाधानभन्दा पनि स्त्री-अस्तित्वको असुरक्षा खुला चोटका रूपमा छाडेको छ।
‘स्माइल प्लीज’ कथामा महिलालाई जबरजस्ती ‘प्रसन्न देखिन’ बाध्य पार्ने पुरुष मनोविज्ञान चित्रित छ। यहाँ स्त्रीको स्वतन्त्रता होइन, अरूलाई खुशी पार्नुपर्ने सामाजिक दबाब चर्को छ। यसमा क्यामेरा, दृश्य, क्षण र ‘फ्रेम’ को नैतिकता, पीडाको दृश्यलाई उपभोग्य बनाउने मीडियाको प्रवृत्ति, ‘स्माइल’ भन्ने आदेश र त्यसभित्रको हिंसा जस्ता प्रश्न उठाइएका छन्। यो कथा दृश्यात्मक सत्ता र संवेदनाको वस्तुकरणमाथिको व्यंग्यात्मक टिप्पणी हो।
‘स्माइल प्लीज’ नारीको सामाजिक अभिनय देखाउने विद्रूप कथा हो। नारी आफू दुःखी भए पनि आकर्षक देखिनुपर्छ, सहज देखिनुपर्छ। उसका निम्ति मुस्कान सामाजिक प्रदर्शन हो, स्वतन्त्र अनुभूति होइन। गिरीका महिला पात्रहरू प्रेम र यौनिकता सम्बन्धी मौनता तोड्न खोज्छन्, ‘सहनशील स्त्री’ को भूमिकाबाट बाहिर निस्कन चाहन्छन्। उनीहरू स्थितिमा प्रश्न गर्छन्, तर संरचना भत्काउन सक्दैनन्।
भयानक हाप्सिलोबाट चिम्पान्जी हुँदै गरेको मान्छेप्रति तीव्र कटाक्ष गरिएको प्रतीकात्मक कथा हो, ‘हाप्सिलो’। कथामा सामाजिक र मानसिक दबाब मार्फत महिला पात्रको उकुसमुकुस देखाइएको छ। यसले अस्थिरता, झट्का, उतार-चढाव वा अचानक परिवर्तनको भावनात्मक अवस्थालाई संकेत गर्छ। अमूर्त बिम्ब, प्रतीक र रूपकको आधिक्यले कतिपय कथा सामान्य पाठकका निम्ति सकसै हुन्छ। त्यसले कथाको सम्प्रेषणीयतामा कहीं कतै बाधा-अड्चन निम्त्याउन सक्छ।
यी कथाहरू न त विशुद्ध नारीवादी घोषणापत्र हुन्, न तटस्थ सामाजिक चित्रण। वास्तवमा यी पितृसत्ताको मनोविज्ञान, भाषा र सम्बन्धभित्र पस्ने आलोचनात्मक यथार्थ हुन्। यसकारण ‘भग्न प्रेमशाला’ ‘सिस्टमको पोस्टमार्टम’ गर्ने कथासँगालो हो। यहाँको सिस्टम केवल एकल संस्था नभएर सामाजिक, सांस्कृतिक, यौनिक, पारिवारिक र मानसिक संरचनाको जालो हो, जसले बाँच्न त दिन्छ, तर मानव भएर बाँच्न दिंदैन।
‘भग्न प्रेमशाला’ का कथाहरूले प्रेम किन मर्छ, सम्बन्ध किन हिंस्रक बन्छ, मानिस किन आत्मविस्थापित हुन्छ जस्ता प्रश्नको आन्तरिक चिरफार गर्छन्। कथाहरूमा अपराधी स्पष्ट हुँदैन; तर संरचना दोषी किटान हुन्छ। यस अर्थमा ‘भग्न प्रेमशाला’ पितृसत्तालाई अनावरण गर्ने कथाहरूको संग्रह हो। यी कथाहरू यथार्थ मात्र होइनन्, असहज यथार्थ हुन्। यसले पितृसत्तालाई चिच्याएर होइन, बिस्तारै उदांगो बनाएको छ।
‘मखमल’ एक निर्दोष युवकको जेलयात्राको कथा हो। कलिलै उमेरमा हत्या अभियोगमा २० वर्ष जेल बसेको उसलाई बाहिर भनेको के हो, त्यो कस्तो हुन्छ, अड्कलै छैन। मखमल महाकाव्यको दुःखान्त नायक जस्तो छ। उसलाई जेल पर्खालहरूको शहर अनि शहर पर्खालहरूको जेल जस्तो लाग्छ। बाहिरबाट हेर्दा कोमल तर भित्रभित्रै कठोर भइरहेको ‘मखमल’ मर्मस्पर्शी कथा हो।
‘अदृश्यः अतः निहत्था’ किमा-पराठा’, ‘चिसो’ कथामा वर्गीय कठोरता र अस्तित्वको लडाइँ नै प्रतीकात्मक रूपमा आएको छ। यिनमा पात्रहरूको अन्तर्मन मात्र होइन, सामाजिक संरचना र इतिहासको प्रभाव समेत चित्रित छ। गिरीका कथाको सबभन्दा ठूलो शक्ति चरित्रको मनोआवरण खोल्ने क्षमता हो। यिनले समकालीन कथाविश्वमा उभिएका गहकिला धारहरूसँग परिचित गराउँछन्।
‘हगनगौंडा’ लेखक पत्रकार आनन्द विष्टको आत्महत्या प्रकरण पटाक्षेप गरिएको कथा हो। मीडिया मालिकले आफ्नो व्यक्तित्वको दुरुपयोग गरेको चरम पश्चात्ताप त्यसमा देखाइएको छ। फेक, फोनी लाइफ, नाटक वा अभिनयबाट उसले मुक्ति चाहेको छ। मीडियाको आवरणमा हुने अपराधका बहुपत्र खोल्न यो कथा सफल छ।
टेलिभिजन पत्रकारिताबाट गुजारा नचलेपछि युट्युबकारितामा हाम फालेको पत्रकार संवित चौलागाईंको जीवनकथा हो– ‘खुकुरी’। संवितलाई मृतकको रिपोर्टरका रूपमा चिनाइएको छ। ऊ जीवित मानिसको अन्तर्वार्ता होइन, असमयमै बितेका विशेष गरी राजनीतिक द्वन्द्वमा मारिएकाहरू–को कथामा केन्द्रित हुन्छ। उसले मृतकहरूले अपूरा सपना, जीवनको क्षणभंगुरता, इतिहासको मौनतालाई कथा सर्रियल तरीकाले खोतल्छ। कथामा संवित पत्रकारका रूपमा मात्र होइन, इतिहासको मौन साक्षीका रूपमा आएको छ।
कथामा ‘खुकुरी’ प्रतीक दुईधारे छ, हिंसा, विद्रोह, व्यवस्था-प्रतिको रोष र मृतक युवाहरूको अन्धकार भविष्य। कथामा मृत्यु र स्मृतिको दार्शनिक पृष्ठभूमि प्रखर छ, समकालीन कथाहरूमा दुर्लभ गहिराइ। पत्रकारहरूले भोग्ने भावनात्मक दबाब, मृत्युका कथाहरू सम्हाल्दा परेको मानसिक चोट र राजनीतिक वास्तविकताले सिर्जित पीडा पनि कथामा गम्भीरतापूर्वक आएको छ। मृत्यु, स्मृति र अस्तित्वबोध बोकेको ‘खुकुरी’ संग्रहकै एक प्रभावशाली कथा हो।
यी ‘भग्न प्रेमशाला’ मा पत्रकारिता, मीडिया-चेतना र न्यूजरूम-संवेदना उत्प्रेरित कथाहरू हुन्। गिरीको कथाकारिता अत्यन्त सूक्ष्म, संवेदनशील र यथार्थपरक छ। उनको लेखन यथार्थवादी कथन, मनोवैज्ञानिक प्रयोग, सामाजिक र राजनीतिक अन्तर्ध्वनि, जर्नालिस्टिक-न्यारेशन, कतै-कतै अलौकिक संकेत सहितको प्रतीकात्मक छ।
यस संग्रहमा नौला कुरा धेरै छन्। अतिरिक्त ‘मेनु’ पात्रको सूची पनि हो। यसमा ५७ पात्रको परिचय पनि समेटिएको छ। संग्रहमा जम्मा नौ कथा छन्। आयामका दृष्टिले यी कथाहरू लामो कथाको समकक्षमा छन्। लामै भए पनि यिनलाई लामो कथा भनेर फूर्ति लगाइएको छैन, यो पनि सुखद पक्ष नै हो। गिरी कथनशैली, पात्र-विधान, संवाद, संरचनात्मक सौन्दर्य, बिम्ब-प्रतीकमा सचेत छन्। उनका प्रायः कथाहरू औपन्यासिक कलेवरमा छन्। भाषामा सुकिलोपन छ। नौलानौला शब्द बनाउने जाँगर पनि चलाएका छन्। पात्रहरूका नामै चम्किलो छ।
गिरीको भाषा सरल तर शानदार छ। कथामा रूपक र दृश्यबिम्ब, मनोवैज्ञानिक आन्तरिक संवाद, संक्षिप्त र तीक्ष्ण वाक्य संरचना यी विशेषताहरूले कथालाई काव्यमय गहिराइ दिन्छन्। भाषा सजावट होइन, भावनाको विस्तार हो। अधिकांश कथाहरूमा न्यून पात्र, एकल घटना वा मनोस्थितिको गहिरो चित्रण, ‘ट्वीस्ट’ भन्दा पनि ‘आभास’ वा ‘अनुभूतिगत क्लाइमेक्स’ रहन्छ।
कतिपय कथामा ‘क्लाइमेक्स’ अत्यन्त सूक्ष्म भएकाले पाठकलाई तत्काल ऊर्जा नदिई भावनात्मक सोचाइमा जान बाध्य पार्छन्। कसैलाई यो न्यून नाटकीयता कमजोर पक्ष जस्तो लाग्न सक्छ। कहिलेकाहीं आत्मालापमा बढी निर्भरता देखिंदा ‘बाह्य क्रिया’ कम भई कथाको गति घटेको अनुभूति हुन सक्छ। तर यी कमजोरीहरू पनि शैलीगत चयन हो, त्रुटि होइन।
‘भग्न प्रेमशाला’मा कथाको रङ उज्यालो छैन, धमिलो छ। अझ भनौं, गहन उदासीमा पोतिएको छ। यस अर्थमा यी ‘डार्क साइड’का कथाहरू हुन्। यसमा अँध्यारो मनोविज्ञान, हिंसा, आत्महत्या, विक्षिप्तता, अस्तित्वगत रिक्तता, दमन, भय, मृत्युसचेतना आदिले भरिएका कथा छन्। सँगसँगै मानव मनको दमित इच्छा, अपराध, पागलपन, शून्यता, अर्थहीनता, सामाजिक दमन (लिंग, वर्ग, सत्ता) र नैतिकताको विघटन आएका छन्। पात्रहरू बाहिरबाट सामान्य छन्, भित्रबाट विखण्डित। यसमा स्त्री-पुरुष सम्बन्धको अँध्यारो राजनीतिको झलक छ।
‘भग्न प्रेमशाला’ प्रेमको उज्यालो कथन होइन; यो प्रेम नामक संस्थाले जन्माएका मनोवैज्ञानिक, यौनिक र सामाजिक अँध्याराको ‘फिक्सनल पोस्टमार्टम’ हो। ‘भग्न प्रेमशाला’ मा प्रेम न फुकोले भने झैं सत्ता-अनुशासनबाट मुक्त छ, न फ्रायडले देखे जस्तो निर्दोष चाहना, न द सिमोन द बोउवारले चेतावनी दिए झैं समान सम्बन्ध। यसले पाठकपंक्तिलाई पक्कै असहज बनाउँछ।
‘भग्न प्रेमशाला’ का कथाहरूमा प्रेम उपचारस्थल होइन, प्रयोगशाला जस्तो छ, जहाँ सम्बन्धहरू टेस्ट गरिन्छन् र अन्ततः भत्किन्छन्। यिनको उद्देश्य प्रेमलाई बचाउने होइन, प्रेमले कसरी घाउ बनाउँछ भन्ने देखाउनु हो। संग्रहमा ‘भग्न प्रेमशाला’ शीर्षकको कुनै कथा छैन, तर समग्र नाम सार्थक छ। उनका कथाहरू कुनै क्रान्तिका नारा होइनन्, न्यायाधीशका फैसला होइनन्; बरू चिरफारपछि बाँकी रहने मौन सत्य हुन्।
गिरी नयाँ समयका भर्भराउँदा कथाकार अवश्य हुन् तर ‘भग्न प्रेमशाला’ मा साई-फाई (साइन्स फिक्सन), पोस्ट-ह्युमन, साइको-टेक आदि विषयवस्तु छैनन्। कृत्रिम बुद्धिमत्ता, रोबोट, एल्गोरिदम, साइबोर्ग आदि प्रत्यक्ष पात्र वा विज्ञान-कथाको केन्द्रीय कथ्य रहेका एआई वा रोबोटिक्स केन्द्रित कथा नलेखे पनि मान्छे संवेदनाशून्य हुँदै जाने, प्रेम, सम्बन्ध, शरीर र चेतना मशीन झैं स्वचालित बन्ने, समाजले मान्छेलाई ‘प्रोग्राम’ जस्तो प्रयोग गर्ने, पात्रहरू भावनात्मक रोबोट झैं देखिने अवस्था भने चित्रित छ। कथामा कुनै रोबोट छैन तर मान्छे स्वयं रोबोटिक व्यवहार गर्छ।
संग्रहका सबै कथा उत्तिकै उत्कृष्ट नहुन सक्छन्। कथाहरूको निपुण संयोजन नै त्यसको आत्मा हुन्छ। कथासंग्रह संगीतको एल्बम जस्तै हो। सबै कथा एकै किसिमका दुःखी, हिंस्रक वा दार्शनिक भए पाठकलाई थकाउने सम्भावना हुन्छ। त्यसैले एउटा गम्भीर कथापछि सास फेर्न मिल्ने कथा राख्नु उचित हुन्छ। एउटै ढाँचाको पुनरावृत्ति सौन्दर्यको वैरी हो। कमजोर अन्तिम कथाले राम्रो संग्रह पनि फिका पारिदिन सक्छ। आगामी कथायात्रामा खगेन्द्र गिरीले यस पाटोलाई पक्कै हृदयंगम गर्नेछन्।