भदौ २३ को जेन-जी प्रदर्शनले सत्ता त परिवर्तन गऱ्यो, तर त्यसले नेपालीको दशा र दिशामा कस्तो परिवर्तन ल्याउँदैछ? अनाथ बालबालिका र छिन्नभिन्न परिवारहरूले अहिले एउटै प्रश्न सोधिरहेका छन्– यति ठूलो बलिदानपछि अब सुशासन आउँछ कि यो पनि अर्को अधुरै अध्याय हुनेछ?
२०८२ मंसीर १६ गते बिहान १० बजे। भक्तपुर‚ पेप्सीकोला, धुन्चेपाखा टोलस्थित डेरा गरी बस्ने १३ वर्षीय रेकजन राईले भने, “आन्दोलन त नराम्रो हुँदो रहेछ!” घरको भित्तासँगै अड्याइएको कुर्सीमा अडेस लागेका उनको बोलीमा कुनै आवेग थिएन।
“किन त्यस्तो लाग्यो?” मैले सोधें। भुईंतिर निहुरिंदै मधुरो स्वरमा उनले भने– “मेरो बाबा बित्यो नि, अस्तिको आन्दोलनमा।”
चार महीनाअघि भएको जेन-जी प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु भएका ४२ जनामध्ये एक थिए– रेकजनका बुवा, ४२ वर्षीय साजन राई। रेकजन र उनका ६ वर्षे भाइ जिमीका लागि बाबा– खाना, नाना, स्कूल खर्च र भविष्यको भरोसा समेत थिए।
बुवा बित्नुभन्दा २२ महीनाअघि उनीहरूकी आमाको मृत्यु भएको थियो। त्यसयता रेकजन र जिमीको संसार भनेकै साजन थिए।
धरानका साजन पेप्सीकोलामा बसेर मजदूरी गर्थे। उनको ठूलो सपना पनि थिएन– दुई छोराको पढाइ र गरिखाने सामान्य जीवन बाँच्नु थियो। तर, जेन-जी विद्रोहले त्यो जीवन चुँडिलग्यो। यसपछि दुई बालकको रेखदेख साजनका भतिज भरतले गरिरहेका छन्।
निम्नवर्गीय परिवारका भरतलाई अहिले दुई बालकको हेरचाह र शिक्षा-दीक्षाको चिन्ता परेको छ। पारिवारिक जिम्मेवारीले भोजपुरतिर बस्ने भरत भाइहरूको व्यवस्था मिलाउन वेलाबखत काठमाडौं आउजाउ गर्छन्।
“हामीलाई बिस्कुट ल्याइदिन्थ्यो, विदामा घुमाउन लान्थ्यो” बुवा गुमाएको ८५ औं दिनमा रेकजनले सम्झिए, “अब हामीसँग बाबा छैन, आमा पनि पहिल्यै बितिगयो।” छेवैमा खेलिरहेका जिमीले कुराकानीको भेउ पाइरहेका थिएनन्।
“कस्तो परिस्थिति आइलाग्यो; बाउ छैन, आमा छैन। आन्दोलनबाट सबैभन्दा ठूलो क्षति यी बच्चालाई पुगेको छ” भरतले भने, “अरूका लागि त एउटा मान्छे मरेको भन्ने लाग्ला, हाम्रो परिवारका लागि त सबथोक गुम्यो।”
को मरे, किन मरे?
देशभर फैलिएको दण्डहीनता, भ्रष्टाचार र राजनीतिक बेथितिबाट आजित नवयुवाले भदौ २३ मा विद्रोहको बाटो रोजे। सरकारले फेसबुक सहित २६ वटा सामाजिक सञ्जाल एकसाथ बन्द गरेको निर्णय युवा आक्रोशको ‘ट्रिगर’ बन्यो। माइतीघर मण्डलमा शान्तिपूर्ण शुरू भएको आन्दोलन नयाँ बानेश्वर पुगेपछि रणमैदानमा बदलियो।
भीड नियन्त्रणका न्यूनतम मापदण्ड समेत ख्याल नगरी जथाभावी बल प्रयोग गर्दा केही घण्टाभित्रै नयाँ बानेश्वरमा २१ जना को गोली लागेर मृत्यु भयो। तर प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको तथ्यांकमा त्यो दिन नयाँ बानेश्वरमा १७ र इटहरीमा २ गरी १९ जनाको मृत्यु भएको उल्लेख छ।
भोलिपल्ट २४ भदौमा देशभरि आन्दोलन, तोडफोड, लुटपाट र आगजनी मच्चियो। त्यही दिन काठमाडौं, ललितपुर, भक्तपुर र झापामा गरी कुल २१ जनाको प्रहरीको गोलीले मृत्यु भयो।
प्रहरी प्रधान कार्यालयका अनुसार जेन-जी प्रदर्शनका क्रममा ७६ जनाको ज्यान गयो। पोष्टमार्टम रिपोर्ट, सञ्चारमाध्यममा प्रकाशित सामग्री र मृतक परिवार तथा आफन्तहरूसँग गरिएको कुराकानीका आधारमा तीमध्ये ४२ जना निहत्था नागरिक प्रहरीको गोलीले मारिएका थिए।
हाम्रो अध्ययनमा, गोली लागेर मृत्यु भएकामध्ये १४ जना युवा विदेश जाने तयारीमा थिए। अन्य १० जना धरानका साजन जस्तै मजदूरी गरेर जीविका चलाउनेहरू र १० जना विद्यार्थी थिए। ६ जना साना उद्यमी र बाँकी मूर्तिकार तथा चित्रकार र एक जना विदेशबाट फर्केका युवा थिए। मृतकमध्ये पाँच जना काठमाडौं उपत्यकाका र बाँकी ३७ जना काठमाडौंबाहिर घर भई पढाइ वा रोजीरोटीका लागि राजधानीमा बसिरहेका थिए।
२४ भदौमा हुलहुज्जत गर्नेहरूले कुटपिट र धारिलो हतियार प्रहार गरेर तीन जना प्रहरीको ज्यान लिए। अरू २१ जनाको व्यापारिक भवन, निजी घर र प्रहरी कार्यालयमा भएको आगजनीमा परेर मृत्यु भयो। तत्कालीन विषम सुरक्षा चुनौतीको मौका छोपेर भाग्न खोज्ने कैदी नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा १० जना कैदीबन्दीको मृत्यु भयो। आन्दोलनका क्रममा देशभर २४ सय २९ जना घाइते भएको स्वास्थ्य मन्त्रालयको अभिलेख छ।
सामान्य लेखपढ गरेका साजन ज्याला मजदूरीका लागि हरेक बिहान डेराबाट निस्कन्थे र बेलुकी आठ बजेतिर मात्रै फर्कन्थे। उनी राजनीतिक कार्यकर्ता थिएनन्। भतिज भरतका अनुसार उनी गुजाराकै लागि १७ वर्षदेखि काठमाडौंमा थिए। उनलाई देशको राजनीतिप्रति आक्रोश थियो। “हामीले दुःख मात्रै पायौं” चुनाव आउँदा भोट हाल्न नचाहने काकाको भनाइ सम्झँदै भरत भन्छन्, उहाँमा राज्यप्रति निकै आक्रोश थियो। मेरो एक भोटले देश बिगार्ने अर्को मान्छे कुर्सीमा पुऱ्याउनु छैन भन्नुहुन्थ्यो।”
“राज्यको विभेदकारी नीति र भ्रष्टाचारको मार निम्न र मध्यम वर्गमा बढी पर्छ, पीडाबाट मुक्ति खोज्दै सडकमा आउने पहिलो समूह पनि उनीहरू नै हुने भएकाले दमनको असरमा उनीहरू नै बढी पर्छन्।” त्रिभुवन विश्वविद्यालय (त्रिवि) मानवशास्त्र विभागका सहप्राध्यापक जनक राई भन्छन्, “जीवन निर्वाहका लागि भौंतारिइरहेका, विदेशिन खोजेका युवा, विद्यार्थी, मजदूर, चालक, सह-चालक, जो पहिल्यै सडकमै छन्; राज्यले दमन गर्दा मर्ने पनि उनीहरू नै हुनसक्छन्।”
प्रहरीको गोली प्रहारबाट मृत्यु हुनेमध्ये १९ देखि २८ वर्ष उमेर समूहका २६ जना छन्। जेन-जी विद्रोहका क्रममा प्रहरीको गोलीबाट मृत्यु हुनेहरूमध्ये सबैभन्दा बढी यही उमेर समूहका पर्छन्। यसैगरी २९ देखि ४० वर्षका ९ जना र ४१ देखि ६३ वर्ष उमेर समूहका ७ जना छन्। तीमध्ये ४१ पुरुष र एक जना महिला छन्।
लेखक तथा स्वतन्त्र अनुसन्धाता कैलाश राईका भनाइमा जसको हार्नलाई जीवनमा केही बाँकी हुँदैन, ऊ सडकमै हुन्छ, सडकबाटै असन्तुष्टि पोख्छ, उही दमनको घानमा पर्छ। “जेन-जी विद्रोहका सहभागीमध्ये जसका अभिभावक, परिवार र शुभचिन्तकले फोन/म्यासेज गरेर वेलैमा सुरक्षित ठाउँमा जान भने उनीहरू कम प्रभावित भए।” उनी भन्छिन्, “जसका बाआमा र परिवार गाउँमा छन्, जसलाई छोराछोरी आन्दोलनमा गएको थाहै छैन, उनीहरूका छोराछोरी परे।”
२३ भदौमा साजन दिनभर डेरामै थिए। आफ्नो माइलो भाइलाई साउदी पठाउन आएका भरत पनि त्यतिखेर काठमाडौंमै थिए। “त्यसवेला टिकटक मात्रै चलेको थियो, हामीले प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको पनि टिकटकबाटै थाहा पायौं। हामीलाई रिस उठ्यो, डर पनि लाग्यो।” भरत सम्झन्छन्– “बेलुका खाना खाँदै गफ गर्दै थियौं, काकाले मेरा पनि दुइटा छोरा छन्, त्यसरी नै मारिदियो भने... भन्नुभएको थियो।”
भोलिपल्ट बिहान ९ बजे भरत साथीहरूसँग पेप्सीकोला चोकतिर गए। त्यहाँबाट जुलूसमा मिसिएर नयाँ बानेश्वर पुगे। त्यहाँ तोडफोड र आगजनी हुन थालेपछि दिउँसो दुई बजे फर्किए। “म पेप्सीकोला फर्किसकेको थिएँ, काका मलाई खोज्दै कोठाबाट निस्किनु भएको रहेछ”, भरतले सुनाए।
डेराबाट करीब डेढ किलोमीटर पर सानोठिमी प्रहरी वृत्तनेर पुगेका वेला प्रहरीले चलाएको गोली लागेर साजन ढलेछन्। भरतले साँझ करीब ५ बजे मात्र उनको काकाको शव मध्यपुर ठिमीस्थित नेपाल कोरियामैत्री अस्पतालमा राखिएको खबर पाए।
भरत भन्छन्, “काकाको छाती गोलीले वारपार छिचोलेको थियो, अस्पतालले दिएको मृत्यु प्रमाणपत्रमा ‘गन शूट’ लेखेको छ।” साजनको अन्त्येष्टि भदौ ३० गते धरानमा भयो।
गोलीको वर्षा
२३ भदौमा माइतीघरबाट नयाँ बानेश्वरतर्फ अघि बढेको युवाको जुलूस एभरेष्ट होटल नपुग्दै प्रहरीले राखेको ब्यारिकेडनेर रोकियो। जुलुस करीब ११ बजेतिर त्यहाँ पुगेको त्यो दिन रिपोर्टिङमा खटिएका पत्रकार दिनेश गौतम बताउँछन्। तर, जुलूस धेरैबेर रोकिएन, प्रहरीसँग घम्साघम्सी चल्न थाल्यो।
११:३३ बजेतिर ब्यारिकेडनेरकै छक्कुबक्कु मार्ग र वरपरबाट पनि युवा ओइरिन थाले। “धेरै चाहिं स्कूल र कलेज ड्रेस लगाएका विद्यार्थी थिए” दिनेश भन्छन्, “माइतीघर तर्फबाट आएको जुलूस रोक्न बल गरिराखेको प्रहरी टोली चारैतिरबाट भीड आउन थालेपछि छरियो।”
अन्दाजी ११:३५ बजेतिर प्रदर्शनकारी समूह ब्यारिकेड तोडेर संसद् भवनतर्फ अघि बढ्यो। प्रहरीले शुरूमा पानीको फोहोरा हान्यो, त्यसलगत्तै अश्रुग्यास। त्यसबाट पनि प्रदर्शनकारी रोकिएनन्।
आन्दोलनमा भाग लिन बनेपाबाट नयाँ बानेश्वर आएका २६ वर्षीय ऋषिजंग थापा भन्छन्, “म र साथी बानेश्वरको आकाशेपुल कटेर एभरेष्ट अस्पतालसम्म मात्र के पुगेका थियौं, अर्कोतिरबाट ब्यारिकेड तोडेर आएकाहरू संसद् भवनतिर दौडँदै थिए।” उनी पनि त्यही भीडमा मिसिएर संसद् भवनको दक्षिणी गेट अघिल्तिर पुगे।
“कोही गेट चढ्न खोज्दै थिए, कोही रेलिङ र पर्खाल भत्काउन थाले, प्रहरीले अश्रुग्यास हान्थ्यो, साथीहरू भुईंमा खस्न नपाउँदै टिपेर प्रहरीतिरै फाल्थे”, उनले भने।
ऋषिजंगले सुनाए अनुसार, उनीसँग भीडमा कसैबाट लिएको हातेमाइक थियो। भन्छन्, “मैले त्यसबाटै आह्वान गरें– साथीहरू संसद् भवन नछिरौं, यही गेट अगाडि बसेर आन्दोलन गरौं। तर, कसैले कसैलाई सुन्ने अवस्थै थिएन।”
आन्दोलनका सहभागी र प्रदर्शनकारीबाट प्राप्त भिडियो फुटेज अनुसार एभरेस्ट होटल पुग्नुअघि नै प्रहरीको ब्यारिकेड तोडेका प्रदर्शनकारी लाठी, अश्रुग्यास र पानीको फोहोराका बावजूद पाँच मिनेटमै करीब ११:४० बजे संसद् भवनको दक्षिणी गेट अगाडि पुगिसकेका थिए।
प्रहरीको जथाभावी बल प्रयोगबाट उत्तेजित प्रदर्शनकारीले १२:२० बजेतिर संसद् भवन बाहिरको पर्खालमा प्वाल पारेर परिसरमा छिरे। त्यस दिनको प्रदर्शनमा सहभागी दलप्रसाद कार्की भन्छन्, “छिनभरमै के के भयो, नसोचेकै अचम्म भयो।”
यसैबीच काठमाडौं जिल्ला प्रशासन कार्यालयले १२:३० बजेदेखि लागू हुने गरी कर्फ्यू आदेश जारी गऱ्यो। प्रहरीले कर्फ्यूको यो सूचना माइकिङ गरेर प्रदर्शनकारीलाई सुनायो। तर, प्रहरीको प्रतिकारमा उत्रेका प्रदर्शनकारीमध्ये कतिपयले कर्फ्यू आदेशबारे थाहा पाएनन्, थाहा पाउनेले बेवास्ता गरे। न्यून संख्यामा फर्किए पनि।
चारै दिशाबाट प्रदर्शनकारी थपिने क्रम बढ्यो। संसद् भवन प्रदर्शनकारीको घेरामा पऱ्यो। स्थिति थप चर्किंदै जाँदा संसद् भवन गेट अघिल्तिरका प्रदर्शनकारीमाथि प्रहरीले गोली प्रहार गऱ्यो।
हामीले सिभिल अस्पतालतर्फ भागेका प्रदर्शनकारीबाट प्राप्त गरेका भिडियो फुटेजहरू विश्लेषण गर्दा गोली लागेर रगताम्य घाइते बोकेको एम्बुलेन्स १२:४१ मा अस्पताल पुगेको देखिन्छ। यसको चार मिनेटमै घाइतेको संख्या ह्वात्तै बढ्यो।
“एक घण्टा जति लगातार गोली बर्सिइरह्यो। घाइते बोक्ने एम्बुलेन्सको अभाव भएपछि बाइकबाट र त्यो पनि नहुँदा बोकेरै घाइतेलाई अस्पताल पुऱ्याउन थालियो”, दलप्रसादले भने।
दुई बजे प्रदर्शनकारीको मृत्यु भएका समाचारहरू प्रसारित भएपछि प्रदर्शन झन् उग्र हुँदै गयो। ऋषिजंगले भने, “प्रहरीले अश्रुग्यास, रबर बुलेट, छर्रा र मेटल गोली एकैचोटि बर्साइरहेको थियो, एकछिन शान्त हुन खोज्थ्यो, फेरि गोली पड्कन्थ्यो। यो क्रम चलिरह्यो।” सिभिल अस्पतालका कर्मचारीहरूका अनुसार पहिलो दिन उक्त अस्पतालमा मात्रै २५० जना घाइते भर्ना गरिएका थिए।
‘संसद् भवनको सुरक्षार्थ खटिएको विशेष सुरक्षा कार्यदलले एसएलआर, इन्सास र पेस्तोल जस्ता घातक हतियार चलाउन थालेपछि दिउँसो १२:३० देखि १:०० बजेबाट नै प्रदर्शनकारीको मृत्यु हुनथालेको’ मानव अधिकारको क्षेत्रमा काम गर्दै आएको एम्नेष्टी इन्टरनेशनलले २२ मंसीरमा सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ।
“त्यस दिन प्रहरी ज्यादती भनिसाध्य थिएन, हामी तीन जना साथीहरू भाग्दै थाहा सञ्चारको भवननेर पुगेका थियौं, बीचको एक जना साथी त्यहीं पुक्लुक्कै ढल्यो” ऋषिजंग भन्छन्, “उठाउन खोज्दा हातभरि गिदी आयो।”
प्रहरीको दमन र प्रदर्शनकारीको प्रतिकार कम भएन। केही घाइते प्रदर्शनकारी निजामती अस्पतालमा उपचार गराएपछि फेरि प्रदर्शनमा फर्किएका थिए। सिभिल अस्पतालमा प्राथमिक उपचारपछि हातमा पट्टी बाँधेर फेरि प्रदर्शनमा आएका एक युवाको गोली लागेर एउटा आँखा गुम्यो।
संसद् भवनतिर ढुंगा हान्दै गरेका अर्का एक जनालाई आफूले दुई पटकसम्म तानेर ल्याएको तर, तेस्रो पटकमा संसद् भवन परिसरतर्फबाट आएको गोली लागेर ढलेको ऋषिजंग बताउँछन्।
प्रहरीले प्रदर्शनकारी तितरबितर पार्ने बहानामा निजामती अस्पतालको आकस्मिक कक्षभित्र प्रवेश गर्न थाल्दा कर्मचारीले ढोका बन्द गरेर रोक्नु परेको एम्नेष्टीको रिपोर्टमा उल्लेख छ।
नेपाल प्रहरीको प्रतिवेदन अनुसार २३ र २४ भदौमा देशभर १३ हजार १८२ पटक गोली चलाइएको थियो। जसमा २ हजार ६४२ धातुका र १ हजार ८८४ रबरका गोली थिए। यसैगरी २ हजार ३७७ पटक चेतावनीमूलक फायर र ६ हजार २७९ सेल अश्रुग्यास प्रहार गरिएको थियो। उक्त प्रतिवेदन अनुसार सबैभन्दा धेरै गोली (धातुका १ हजार ३२९ र रबरका १ हजार ४२०) काठमाडौंमा चलाइएको थियो। काठमाडौंमा मात्रै १ हजार ४६ राउण्ड चेतावनीमूलक फायर गरिएको थियो भने ३ हजार ९६ सेल अश्रुग्यास प्रहार गरिएको थियो।
रत्नराज्य लक्ष्मी क्याम्पसमा स्नातक तहमा अध्ययनरत काभ्रे, बेथानचोकका ऋषिजंग बनेपा बस्छन्। उनी भ्रष्टाचार, बेथिति र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध विरुद्ध साथीहरूसँगै तीन दिनअघिदेखि प्रदर्शनको तयारीमा जुटेका थिए। उनको जिम्मामा नारा लेख्ने काम परेको थियो।
“रचनात्मक आन्दोलन भनेर मास्क, रुमाल, पानी केही नबोकी प्रदर्शनतिर लागेको थिएँ।” उनले भने, “नसोचेको परिस्थिति भइदियो, उद्धारमा लाग्दा घाइते र मृतकको रगतले मेरै शरीर निथ्रुक्क भएको थियो।”
एम्नेष्टीको प्रतिवेदनले सरकार संविधानप्रदत्त शान्तिपूर्ण भेला हुने तथा विरोध प्रदर्शन गर्न पाउने अधिकारलाई सुनिश्चित गर्न विफल भएको निष्कर्ष निकालेको छ। एम्नेष्टीले आन्दोलनको पहिलो दिन १९ जनाको मृत्यु र ३०० जनाभन्दा बढी घाइते भएको प्रतिवेदनमा जनाएको छ।
“त्यस दिन अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डको ठाडो उल्लंघन हुने गरी आन्दोलनकारीहरूमाथि हतियारको दुरुपयोग तथा बलको गैरकानूनी प्रयोग भएको पाइयो” अध्ययनमा संलग्न एम्नेष्टीको नेपालस्थित सचिवालयका निर्देशक निराजन थपलियाले भने, “भीड नियन्त्रण गर्ने चरण हुन्छन्, हाम्रो अध्ययनले पानीका फोहोरा सिधै संवेदनशील अंगमा हानिएको, अश्रुग्यास जथाभावी फालिएको, सबैले सुन्ने गरी पूर्वचेतावनी नदिईकनै गोली हानिएको पाइयो।”
नेपाल प्रहरीका पूर्वप्रहरी नायव महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरीको बुझाइमा २३ भदौको प्रदर्शनमा सम्भावित क्षति हुन नदिनका लागि सरकार र सुरक्षा संयन्त्रले तयारी नै गरेका थिएनन्। तयारी विना भीडमा पठाइएको सुरक्षा दस्ताले अत्तालिएर जथाभावी हतियार चलाउँदा केही घण्टामै १९ जनाको मृत्यु भयो, धेरै घाइते भए।
“कमभन्दा कम बल प्रयोग गरेर भीडलाई तितरवितर गर्न सुरक्षाकर्मीलाई तालीम, पर्याप्त मात्रामा सुरक्षा सामग्री र गैर-घातक हतियार चाहिन्छ” उनले भने, “तर त्यस दिन त्यस्तो देखिएन। जब भीड आक्रामक भयो, सुरक्षामा खटिएका प्रहरीहरू आत्तिएर आफूसँग जे थियो त्यहीबाट प्रहार गर्न थाले।”
गोली लागेर मृत्यु हुने ३५ जनाको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पोष्टमार्टम गरिएको थियो। फरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीका अनुसार यीमध्ये १२ जनाको टाउकोमा गोली लागेको थियो। १६ जनाको छातीमा, ४ जनाको पेटमा र ३ जनाको घाँटीमा गोली लागेको थियो। अन्य ७ जनाको ललितपुर, भक्तपुर, सुनसरी र झापामा पोष्टमार्टम गरिएको थियो। सञ्चारमाध्यममा प्रकाशित समाचार र मृतकका आफन्तका भनाइमा यीमध्ये दुई जनाको छातीमा, अन्यको टाउको, पेट, घाँटी, कुम र ढाडमा गोली लागेको थियो।
कोटेश्वरस्थित मामाघरमा बसेर ११ कक्षा पढ्दै गरेका गोरखाका २४ वर्षीय विमलबाबु भट्ट एक वर्षदेखि वैदेशिक रोजगारीका लागि प्रयासरत थिए। साथीहरूसँगै प्रदर्शनमा गएका उनको संसद् भवन अगाडि प्रहरीको गोली लागेर भदौ २३ गते मृत्यु भयो।
विमलबाबु भट्ट‚ जसको स्मरणमा जेन-जी चोक बन्यो।
“भान्जालाई आन्दोलनमा नजाऊ भन्दाभन्दै पनि मानेनन् र साथीहरूसँग गए” मामा हरिराम भट्टले भने, “११:३० बजेतिर घरबाट निस्केछन्, १२:५८ तिर गोली लागेछ। हामी खोज्दै सिभिल अस्पताल पुग्दा सास थिएन। ठ्याक्कै निधारमा लागेछ, प्रहरीले चलाएको ७.२ एमएमको गोली।”
उनका बुवाआमा गोरखामै छन्। “अलि टाठो थियो। रोमानिया या पोर्चुगल जान्छु भनेर पासपोर्ट पेश गरेको थियो” हरिरामले भने, “घरको टेको बन्छु भन्ने नै गयो।”
माइलो दाजु अनिलका अनुसार सरसापट गरेर जुटाएको रु.७ लाख र पासपोर्ट विमलबाबुले सिनामंगलस्थित एशियन म्यानपावर कम्पनीमा बुझाएका थिए। अहिले उनीसँगै विदेश जाने तयारीमा रहेका साथीले पासपोर्ट फिर्ता ल्याइदिएका छन्। वरपर छिमेकीले मिलेर मामाघर नजिकैको चोकलाई ‘जेन-जी चोक’ नामकरण गरेका छन्।
जेन-जी प्रदर्शन र उद्धारमा सक्रिय रहेका ऋषिजंग भन्छन्, “पहिलो दिन सरकारका तर्फबाट त्यस्तो ठूलो दमन नभएको भए, देशले यति ठूलो क्षति व्यहोर्नु पर्दैनथ्यो होला, आन्दोलनमा धेरैजसो मजस्तै शान्तिपूर्ण आवाज उठाउनेहरू थिए। म धन्नैले बाँचे। शहीद हुनेहरू फर्किने छैनन् तर, देशमा सुशासन कायम भो र जनताले वास्तविक लोकतन्त्र प्राप्त गर्न सके भने शहीद परिवारले केही राहत महसूस गर्ला कि!”
जलेका १२ अज्ञात
व्यापारिक भवन, निजी घर तथा प्रहरी कार्यालयमा आगजनीमा परेर मृत्यु भएका २१ मध्ये १२ जनाको अझै पनि सनाखत हुनसकेको छैन। चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटमा भेटिएका ७, धरानको भाटभटेनीमा भेटिएका ४ र विराटनगरको भाटभटेनीमा भेटिएको १ शवको सनाखत हुन नसकेको हो।
तीमध्ये चुच्चेपाटीको भाटभटेनीमा भेटिएका सातवटै शवको अवशेष महाराजगञ्जस्थित शिक्षण अस्पताल पुऱ्याइएको छ। “हड्डी समेत जलिसकेको अवस्थामा संकलन गरेर पोका-पोका ल्याइएको छ, सनाखत हुनसकेको छैन” फरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीले भने।
सनाखत भएका नौ जनामध्ये रामेछापको खाँडादेवी-६ घर भई काठमाडौंमा स्नातक दोस्रो वर्ष अध्ययनरत २२ वर्षीय विकास रसाइलीको शव कोटेश्वर भाटभटेनीको चौथो तलामा फेला परेको थियो। साथीहरूका अनुसार उनी दुवै दिन प्रदर्शनमा सक्रिय थिए। २४ भदौ बेलुकाको खानापछि डेराबाट साथीहरूसँग निस्किएका उनको शव असोज १ गते जलेको अवस्थामा भेटिएको थियो। रसाइलीले प्रयोग गर्ने मोबाइल र जल्नबाट बचेको सानो टुक्रा कपडाबाट उनको सनाखत भएको थियो।
तत्कालीन माओवादी नेतृ गंगा दाहालको ललितपुरस्थित घरभित्र जलेको अवस्थामा भेटिएको थियो– काभ्रे भुम्लुका २४ वर्षीय सरोज खत्रीको शव। डोजर चालकको काम गर्ने खत्री ललितपुरकै सुनाकोठीमा परिवारसँग बस्दै आएका थिए। उनी पनि हुलदंगा गर्नेहरूकै समूहमा मिसिएर हिंडेका थिए।
२४ गते बिहानको खाना खाएर प्रदर्शनमा सहभागी हुन भनी घरबाट निस्किएका काठमाडौं चन्द्रागिरि-५ का ४० वर्षीय महेन्द्र परियारको शव प्रदर्शनकारीले आगजनी गरेको चन्द्रागिरिकै विशाल समूहको भवनमा भेटिएको थियो। उनी ज्यालादारीमा सिलाइ-कटाइ र घर बनाउने लगायत काम गर्थे।
पोखरामा जिल्ला प्रहरी कार्यालय तोडफोडपछि भएको आगजनीमा परेर तनहुँका ४२ वर्षीय विजय लामाको मृत्यु भयो। तनहुँको शुक्लागण्डकी-११ घर भएका उनी पोखरा बस्दै आएका थिए। यस्तै कामविशेषले पोखरा पुगेकी दोलखाकी ३६ वर्षीया स्वस्थानी खड्काको पनि पोखराको व्यापारिक भवनमै जलेको अवस्थामा शव भेटियो। २४ गते प्रदर्शनकारीले अंशुभरा स्क्वायर भवनमा ढुंगामुढा गर्न थालेपछि उनी त्यहाँबाट निस्किइन्। तर, भवनमा आगो लाग्न थालेपछि आफ्नो छुटेको सामान फिर्ता लिन पुगेकी उनी त्यसमै परेर जलिन्।
प्रदर्शनकारीको आगजनीमा नेपाल अटोमोबाइल एशोसिएशनका पूर्वकेन्द्रीय अध्यक्ष ध्रुवबहादुर थापाको घर पनि जल्यो। काठमाडौंस्थित उक्त घरमा ५० वर्षीया कान्छी नगरकोटीको पनि जलेर मृत्यु भयो। उनी ती व्यापारीको घरमा कामदार थिइन्।
कांग्रेस केन्द्रीय सदस्य एवं व्यवसायी अनिल रुँगटाको वीरगञ्जस्थित घरमा प्रदर्शनकारीले लगाएको आगोमा परेर स्थानीय ४५ वर्षीया सोसिलादेवी पासवानको मृत्यु भयो। उनी पनि घरेलु कामदार नै थिइन्। भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीको घरमा तोडफोड र आगजनीका कारण पड्किएको ग्यास सिलिण्डरको टुक्राले लागेर त्यही ठाउँका १९ वर्षीय सरोज गुरुङको मृत्यु भयो।
काठमाडौंस्थित हायात होटलमा भएको आगलागीमा परेर ६७ वर्षीय भारतीय पर्यटक राजेशसिंह गोलाले पनि ज्यान गुमाए।त्यसवेला परिस्थितिको फाइदा उठाउँदै जेलबाट भाग्न खोजेका कैदीलाई प्रहरीले गोली प्रहार गर्दा १० जनाको मृत्यु भयो। यीमध्ये २४ भदौमा बाँके नौबस्ता बालसुधार गृहका १९ देखि २१ वर्षका पाँच जना, २५ भदौमा धादिङ कारागारका ३६ र ६१ वर्षका दुई जना र २६ भदौमा रामेछाप कारागारका ४०, ५१ र ५८ वर्षका तीन कैदी प्रहरीको गोलीबाट मारिए।
खोज पत्रकारिता केन्द्रसँगको सहकार्यमा