देशभरि धेरै जनसंख्या नवयुवा अर्थात् जेन-जीको देखिन्छ। भदौ २३ र २४ गतेका घटनाको कारक ठानिएको यो उमेर समूहको उपस्थिति काठमाडौं उपत्यकामा झन् बढी छ। राज्यले नवयुवा लक्षित विशेष कार्यक्रम ल्याई यो ऊर्जालाई उचित व्यवस्थापन गर्न ढिलाइ गर्न हुँदैन।
चेतन अधिकारी
भदौ २३ र २४ गतेपछि नेपाली समाजमा एउटा नयाँ शब्दावली चलेको छ– ‘जेन-जेड्’, जसलाई धेरैले ‘जेन-जी’ पनि भनेका छन्। यो शब्दावली अमेरिकाबाट आएको हो। जहाँ केही दशकअघि सन् १९६५ देखि १९८० बीचमा जन्मिएका ‘सामाजिक-पुस्ता’ लाई ‘जेनेरेशन एक्स’ अर्थात् पुस्ता ‘एक्स’ नामकरण गरियो। यसैको सिलसिलामा अंग्रेजी भाषी पश्चिमा मुलुकहरूमा सन् १९८१ देखि १९९६ सम्म जन्मिएकालाई ‘जेन-वाई’ र सन् १९९७ देखि २०१२ सम्म जन्मिएकालाई ‘जेन-जेड्’ अर्थात् अमेरिकी उच्चारणमा जेन-जी भनिन्छ। पश्चिमा सन्दर्भमा र धेरै हदसम्म हाम्रैमा पनि १३-२८ वर्ष उमेर पुगेको यो समूहको पहिचान के हो भने उनीहरू ‘डिजिटल नेटिभ्स’ हुन् अर्थात् जन्मजातै इन्टरनेटका रैथाने। पृष्ठभूमि जे होस्, ‘जेन-जी’ शब्दले समाजको नवयुवा पुस्तालाई चिनाउँछ। यो उमेर समूहको नाममा आज देशमा अकल्पनीय राजनीतिक उलटपुलट र ध्रुवीकरण भइरहेको छ। यसले नेपालको राजनीतिको वर्तमान अवस्था र भावी स्वरूपलाई नै अन्योलको मझधारमा धकेलिदिएको छ।
भदौ २३ र २४ पछि नेपालका जेन-जी अर्थात् नवयुवाका विषयमा धेरैतिर खोजीनिती हुन थालेको छ। उनीहरू कति संख्यामा छन्, उनीहरूको ठूलो संख्या कहाँ छ भन्ने चासो बढेको छ। २०६२-६३ को जनआन्दोलनको सफलतापछि राज्यका हरेक निकायमा समावेशी नीति अवलम्बन गरिए झैं अहिले समाजदेखि सरकारसम्म र पार्टीदेखि क्लबसम्म जेन-जीको खोजी हुन थालेको छ।
यस्तो बृहत् र दूरगामी राजनीतिक उथलपुथल ल्याउन सक्ने १३ देखि २८ वर्षे उमेर समूहका नवयुवा नेपालमा कति होलान् र मुलुकको राजनीतिमा तिनको प्रभाव के होला? यस आलेखमा नेपालको जनसंख्याको बनावटमा जेन-जी सहित युवा जनसंख्याको अवस्थाबारे विश्लेषण गर्ने प्रयास गरिएको छ।
आप्रवासनको आयाम
काठमाडौंका गल्लीमा देखिने भीडमा कस्ता मानिस हुन्छन् भनेर कहिल्यै ध्यान दिनुभएको छ? यहाँका बजार, शपिङ मल वा सार्वजनिक स्थलमा देखिने अधिकांश अनुहार को-कस्ता हुन्, हामीले खासै वास्ता गर्ने गरेका छैनौं। भदौ २३ अघिसम्म यस्ता ठाउँमा देखिने भिडभाडलाई धेरैले ध्यान दिंदैनथ्यौं वा दिए पनि युवा हुन् भन्थ्यौं होला। तर भदौ २४ पछि यस्ता प्रश्नमा हाम्रो ध्यान जान र तिनको जवाफ खोजिन थालेको छ। मान्छेको भिडभाड हुने ठाउँमा देखिने अनुहार पहिचान गर्नतिर हामी लागेका छौं अनि भन्ने गरेका छौं– ‘जेन-जी’।
भ्रष्टाचारको अन्त्य र सुशासनको मूल माग सहित नेपालका नवयुवाले भदौ २३ मा गरेको प्रदर्शन एकाएक रणमैदानमा परिणत भयो, ७६ जनाको ज्यान गयो। यसै दुर्घटनासँग जोडिएर भोलिपल्ट भदौ २४ मा मञ्चन भएको हिंसा र विध्वंसमा देशका महत्त्वपूर्ण संरचना सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, शीतल निवास, प्रहरी कार्यालय, शैक्षिक संस्था, औद्योगिक-व्यापारिक प्रतिष्ठान, राजनीतिक दलका कार्यालय र नेताका व्यक्तिगत निवासहरू खरानी भए।
भदौ २३ अघिसम्म नेपाली समुदायले एकदमै कम जानेका-सुनेका तर भदौ २४ पछि सर्वाधिक प्रयोग गर्न थालेका शब्द भएको छ– जेन-जी। उनीहरूको प्रदर्शन राजनीतिक थियो वा थिएन, प्रहरीको प्रतिकार गर्ने निहुँमा जेन-जीको ब्यानरमा २४ गते भएको विध्वंसपछि उनीहरूका माग सम्बोधन भए वा भएनन् त्यो अलग्गै बहसको विषय हो। तर यी घटनापछि सामाजिक, जनसांख्यिक र मानवशास्त्रीय अध्ययनका लागि एउटा नयाँ विषय प्राप्त भएको छ– जेन-जी।
सन् २०२१ (२०७८) को जनगणना अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ छ। तीमध्ये १३ देखि २८ वर्षका ३१.१ प्रतिशत (९० लाख ७० हजार १८३) छन्। यो तथ्यांकले देशको जनसंख्याको सबैभन्दा ठूलो हिस्सा नवयुवाकै देखाउँछ। यही कारण समाजका विभिन्न तप्काका साथै सार्वजनिक सेवा प्राप्त गर्ने ठाउँहरूमा पनि यही समूहको बाहुल्य देखिन्छ।
काठमाडौं उपत्यकाका नवयुवाको जनसंख्या केलाउँदा यहाँ तिनको उपस्थिति राष्ट्रिय औसतभन्दा अझ बढी हुन आउँछ। जनगणना अनुसार उपत्यकाभित्र ९ लाख ५९ हजार १३८ अर्थात् यहाँको कुल जनसंख्याको ३३.४ प्रतिशत १३ देखि २८ वर्ष उमेरका छन्। राष्ट्रिय तथ्यांक कार्यालयले गरेको प्रक्षेपण अनुसार सन् २०२५, २०३५ र २०४५ मा भने उपत्यकामा यो उमेर समूहको संख्या क्रमशः घट्दै जानेछ– २०२५ मा ९ लाख ५० हजार ७२१; २०३५ मा ८ लाख ५५ हजार ७५१ र २०४५ मा ८ लाख १० हजार ६४१। (विस्तृत : हेर्नुहोस् तालिका)
उपत्यकाको यो जनसंख्यालाई उमेरका आधारमा चार उपसमूहमा विभाजन गरेर हेर्दा सबैभन्दा तल्लो १३-१६ वर्षको उपसमूहको संख्या सबैभन्दा कम देखिन्छ। पछिल्ला केही दशकदेखि घट्दै आएको प्रजनन दरका कारण यस्तो भएको हो। काठमाडौंका तीन वटा जिल्लामा यो उमेर समूहको कुल जनसंख्या १ लाख ९० हजार ९२४ छ– जसमा पुरुष १ लाख १ हजार ००४ र महिला ८९ हजार ३२० जना छन्। यो उपसमूहले उपत्यकाको कुल जनसंख्याको ६.३ प्रतिशत अंश ओगट्छ।
१७-२० वर्ष उमेर उपसमूहको जेन-जी जनसंख्या चाहिं अघिल्लो (१३-१६) भन्दा बढी २ लाख ५४ हजार ९४२ छ– जसमा पुरुष १ लाख ३५ हजार ४३० र महिला १ लाख १९ हजार ५१२ छन्। त्यस्तै अर्को उपसमूह २१-२४ वर्षको जनसंख्या पनि यही हाराहारी छ– २ लाख ५३ हजार ०५९; जसमा पुरुष १ लाख २७ हजार ५६० र महिला १ लाख २५ हजार ४९९ जना छन्। यी दुवै उपसमूहले उपत्यकाको कुल जनसंख्याको ८.४/८.४ प्रतिशत ओगटेका छन्।
जेन-जीको अन्तिम उमेर उपसमूह २५-२८ वर्षको जनसंख्या सबैभन्दा बढी २ लाख ६० हजार २३१ छ। उपत्यकाको कुल जनसंख्याको ८.६ प्रतिशत हिस्सा ओगटेको यस उपसमूहमा १ लाख २६ हजार ६७० पुरुष र १ लाख ३३ हजार ५४३ महिला छन्।
जेन-जी जनसंख्याको यो एउटा रोचक पाटो हो– अघिल्ला तीन वटा उपसमूहमा महिलाभन्दा पुरुष बढी र पछिल्लो २५-२८ वर्षको उपसमूहमा महिला बढी देखिनु। यसको कारण हामी अनुमान गर्न सक्छौंः २५ वर्षभन्दा कम उमेरका पुरुषहरू काठमाडौंमा अध्ययन, प्राविधिक सीप वा पेशासँग सम्बन्धित अन्य सीप हासिल गर्न ठूलो संख्यामा आउँछन् र २५ वर्ष नाघेपछि अध्ययन वा सीप हासिल गरेर थप अध्ययन वा पेशागत जीवनमा प्रवेश गर्छन्। तीमध्ये धेरै उच्च अध्ययनका लागि विदेश वा कामका लागि वैदेशिक रोजगारीमा जान्छन्। पुरुषको दाँजोमा महिला अध्ययनको सिलसिलामा काठमाडौं आउने पनि कम छ र पछि विदेश जाने पनि कम छ।
काठमाडौंमा युवा वर्चस्व
जेन-जीसँगै खप्टिने अर्को उमेर समूह युवाको हो। अहिलेसम्म आम रूपमा १६-४० वर्ष उमेर समूहलाई युवा मानिंदै आएकोमा नेपाल सरकारले गएको भदौ २ मा राष्ट्रिय युवा नीति जारी गरेर युवाको उमेर १८-३५ वर्ष कायम गरेको छ। यसले गर्दा पहिले मानिंदै आएको युवा जनसंख्याको प्रतिशत धेरै घटेको छ।
सन् २०२१ कै जनगणना अनुसार राज्यले युवा मानेको (१६-४० वर्ष) जनसंख्या ९२ लाख २० हजार ७१२ अर्थात् कुल जनसंख्याको ३१ प्रतिशत छ। यो गणनामा पनि काठमाडौं उपत्यकाको युवा जनसंख्या नै बढी छ– १३ लाख ३३ हजार १३९, उपत्यकाको कुल जनसंख्याको ४३.३ प्रतिशत। यसले उपत्यकाको आधार जनसंख्या युवाकै देखाउँछ।
युवा समूहको जनसंख्या तीव्र रूपमा रोजगारीको खोजीमा छ। यसमा पढ्दै कमाउँदै गर्नुपर्छ भन्ने धारणा बोकेर देशका विभिन्न भागबाट संघीय राजधानी पसेकाहरूको पनि बाहुल्य छ। बसाइँसराइमा सबैभन्दा धेरै सहभागी यो समूह उमेरका कारणले पनि धेरै महत्त्वाकांक्षी हुन्छ। आफ्ना आकांक्षा पूरा नहुँदा तत्काल विद्रोही चरित्र देखाउने उनीहरूको स्वभाव नै हुन्छ। त्यसै कारण पनि गत भदौको प्रदर्शनमा जेन-जेड् मात्र होइन त्योभन्दा ठूलो उमेर समूहका धेरै मानिसको सहभागिता देखियो।
काठमाडौं उपत्यका मानिसहरूको चहलपहल हुने नेपालको सबैभन्दा ठूलो राजनीतिक, प्रशासनिक, व्यावसायिक र शैक्षिक केन्द्र हो। यहाँका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरको कुल जनसंख्या ३० लाख २५ हजार ३८६ छ। यसमध्ये काठमाडौंमा मात्रै २० लाख ४१ हजार ५८७ जना बस्छन् भने ललितपुरमा ५ लाख ५१ हजार ६६७ र भक्तपुरमा ४ लाख ३२ हजार १३२ जनाको बसोबास छ।
यसबाहेक काम गर्न सक्ने सक्रिय उमेर समूह (१५-६४ वर्ष) को जनसंख्याको ठूलो हिस्सा पनि काठमाडौं उपत्यकामा नै थुप्रिएको छ। नेपालको कुल जनसंख्यामा यो उमेर समूहको संख्या ६५ प्रतिशत छ भने काठमाडौंमा ७५.१ प्रतिशत। त्यस्तै भक्तपुर र ललितपुरमा तिनको संख्या क्रमशः ६६.८ र ६५ प्रतिशत छ। यसको अर्थ संघीय राजधानी उपत्यकामा पाल्नुपर्ने भन्दा कमाउने उमेर समूहका मानिसको संख्या ठूलो छ।
स्रोत : राष्ट्रिय तथ्यांक कार्यालय
काठमाडौंमा प्रत्येक सय जनामा ज्येष्ठ नागरिक र बालबालिका गरी करीब ३४ जना आश्रित छन्। ललितपुरमा आश्रितको संख्या ३५.३ र भक्तपुरमा ३६.२ प्रतिशत छ। जबकि समग्रमा नेपालको आश्रित उमेरका अनुपात ५३ प्रतिशत छ। यसले देशको जनसंख्या बुढ्यौलीतिर ढल्किरहेको वेला काठमाडौं उपत्यका लक्का जवान अवस्थामा भएको देखाउँछ। यसको कारण देशभरका युवा विभिन्न सम्भावनाको खोजी गर्दै यही शहरहरूमा प्रवेश गर्नु हो।
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार नेपालबाट विदेश गएको कुल जनसंख्यामध्ये करीब आधा (४९.४ प्रतिशत) २०-२९ वर्ष उमेर समूहको छ। त्यस्तै ३०-३९ वर्ष उमेर समूहको १९.५ प्रतिशत छ। यसलाई अझ फराकिलो पारेर हेर्ने हो भने कुल विदेश गएकामध्ये १५-३४ वर्ष उमेर समूहको ७५.८ प्रतिशत हुन्छ। यो संख्याको गहिरो सम्बन्ध जेन-जेड् प्रदर्शनसँग पनि गाँसिएको छ।
जेन-जेड् प्रदर्शनमा गोली लागेका, घाइते भएका र पक्राउ परेकामध्ये केही विदेश जाने तयारीमा थिए। कसैको उडान निश्चित भइसकेको, कोही पासपोर्ट बोकेर उडान मिति पर्खिरहेका त कोही त्यही सुर कसिरहेका थिए। यसबाट प्रदर्शनमा होमिनेहरूमा रोजगारी वा अध्ययनका लागि विदेश उड्न चाहनेहरूको संख्या पनि उल्लेख्य थियो भन्ने पुष्टि हुन्छ।
आधा जनसंख्या उपत्यका बाहिरका
पछिल्ला दशकमा काठमाडौं उपत्यकाको जनसंख्या अभूतपूर्व रूपमा बढेको छ। देशले संघीय शासन प्रणाली अवलम्बन गरेपछि शक्ति र स्रोतको विकेन्द्रीकरण हुने अपेक्षा गरिएको थियो। गाउँबाट शहरको बसाइँसराइ एक हदसम्म रोकिने विश्वास गरिएको थियो। तर तथ्यांकले त्यस्तो देखाएन। अवसर र सम्भावनाको खोजीमा काठमाडौं नै देशभरिका मानिसको गन्तव्य बन्यो। बसाइँसराइको यो उभारले यहाँको जनसंख्या प्राकृतिक वृद्धिदरले भन्दा बसाइँ सरेर आउने क्रमले धेरै भएको छ।
देशको औसत जनसंख्या वृद्धिदर ०.९२ प्रतिशत हुँदा काठमाडौंको झन्डै दोब्बर १.५१ प्रतिशत छ। ललितपुरको अझ केही बढी १.५८ प्रतिशत छ भने नयाँ बस्ती विस्तार भइरहेको भक्तपुरको त झन् ३.३५ प्रतिशत छ। भक्तपुर देशकै सबैभन्दा बढी जनसंख्या वृद्धिदर भएको जिल्ला हो।
जनगणनाको नतीजाले शहरी क्षेत्रको कुल प्रजनन दर प्रतिमहिला १.९ भन्दा कम देखाए पनि अधिकांश शहरी बस्ती भएको काठमाडौं उपत्यकाको जनसंख्या वृद्धिको ग्राफ बढ्नुको कारण बाहिरी जिल्लाबाट भइरहेको अत्यधिक बसाइँसराइ नै हो। राष्ट्रिय तथ्यांक कार्यालयले सन् २०२१ को जनगणना तथ्यांकका आधारमा प्रकाशन गरेको ‘इन्टरनल माइग्रेशन इन नेपाल-२०२५’ प्रतिवेदनका अनुसार कुल जनसंख्यामा २९.२ प्रतिशत अर्थात् ८५ लाख १६ हजार ५७ जनाले आफ्नो थातथलो छाडेर नयाँ ठाउँमा बसाइँ सरेका छन्। बसाइँसराइ तीव्र भएको शहरका रूपमा चिनिएका काठमाडौं महानगरपालिकाका बासिन्दामध्ये आधाभन्दा बढी अन्तै जन्मेर यहाँ आएकाहरू छन्। प्रतिवेदन अनुसार, काठमाडौंको जनसंख्यामा ५७.२ प्रतिशत बसाइँ सरुवा छन्। यहाँ बसोबास गरिरहेका २० लाख ४१ हजार ५८७ जनामध्ये ११ लाख ६७ हजार ७८८ जना अन्य जिल्लाबाट बसाइँ सरेर आएका हुन्। त्यस्तै, ललितपुरका ५ लाख ५१ हजार ६६७ बासिन्दामध्ये २ लाख ५४ हजार ४६९ जना (४६.२ प्रतिशत) तथा भक्तपुरका ४ लाख ३२ हजार १३२ बासिन्दामध्ये २ लाख १६ हजार ९३० जना (५०.२ प्रतिशत) बसाइँ सरेर आएका छन्।
देशभर सबैभन्दा बढी जनसंख्या वृद्धिदर भएका मुख्य पाँच नगरपालिका काठमाडौं उपत्यकामै छन्। तीमध्ये सबैभन्दा उच्च जनसंख्या वृद्धिदर भएको कागेश्वरी-मनोहरा नगरपालिकाको वार्षिक जनसंख्या वृद्धिदर ७.४१ प्रतिशत छ। यही हिसाबले जनसंख्या बढ्ने हो भने २०७८ सालदेखि १० वर्ष नपुग्दै कागेश्वरीको जनसंख्या दोब्बर हुनेछ। त्यस्तै ललितपुरको महालक्ष्मी नगरपालिकाको वार्षिक वृद्धिदर ६.५६, काठमाडौंको तारकेश्वरको ५.९६, भक्तपुर सूर्यविनायकको ५.५६ र काठमाडौंकै नागार्जुनको ५.१६ प्रतिशत छ।
माथिका तथ्य केलाउँदा काठमाडौं उपत्यकामा देशभरिको साधन स्रोत र शक्ति केन्द्रित भएजस्तै मानव स्रोत पनि केन्द्रित भएको देखिन्छ। गाउँमा बाबुआमा छाडेर यहाँका शहरमा भविष्य खोज्न आउने युवाको आगमन अझै दशकौंसम्म यस्तै रहने प्रक्षेपणले देखाएको छ।
सन् १९९७-२०१२ को बीचमा जेन-जीहरू जन्मिंदा नेपालमा बहुदलीय प्रजातन्त्र स्थापना भएर राज्यले आम जनताका लागि शिक्षा र स्वास्थ्यमा पहुँच बढाइरहेको थियो। जनसंख्या नियन्त्रणका लागि परिवार नियोजन कार्यक्रमको व्यापक कार्यान्वयन गरेको समय पनि थियो। तथापि त्यस वेला पनि नेपालको प्रजनन दर उच्च नै थियो।
राष्ट्रिय जनगणना २०७८ (सन् २०२१) अनुसार, नेपालमा प्रतिमहिला कुल प्रजनन दर (टीएफआर) १.९ मात्र छ। यसको अर्थ एक नेपाली महिलाले सरदर दुईभन्दा कम बच्चा जन्माउँछन्। तर आजभन्दा तीन दशकअघि सन् १९९७ (२०५३-०५४ साल) तिर नेपालमा एक महिलाले सरदर पाँच बच्चा जन्माउने गर्थे। जन्मँदै बढी भएकाले त्यस आसपासका शिशु (आजका जेन-जी) को जनसंख्या आउने पुस्ताहरूभन्दा बढी छ।
उच्च प्रजनन दरमा गुज्रिरहेको नेपालमा यो दर नाटकीय रूपमा घटेर राष्ट्रिय जनगणना २०६८ (सन् २०११) अनुसार प्रतिमहिला २.५२ मा झऱ्यो। यी बालबालिकाले नेपाल सरकारको उल्लेख्य मातृ तथा शिशु स्वास्थ्य सेवा प्राप्त गर्न पाए। युनिसेफका प्रतिवेदन अनुसार, सन् १९९७ आसपास प्रतिहजार ६८.५ रहेको नेपालको शिशु मृत्युदर २०१२ मा ३३.५ मा झरेको थियो। सूचना र प्रविधिसँगै जन्मिएका भाग्यमानी पुस्ता भनेर चिनिने नवयुवाका लागि यो एउटा अर्को सौभाग्यको अवधि थियो; जसले गर्दा ऊभन्दा अघिका पुस्ताले जस्तो यो पुस्ताले सरुवा रोग र कुपोषणबाट ग्रसित भएर तथा विभिन्न रोग प्रतिरोधी खोप नपाएर अकालमा ज्यान गुमाउनु परेन। यो पुस्ताले त्यो वियोगान्त निकै कम मात्र भोग्नु परेकोले पनि जनसंख्या पिरामिडमा यो उमेर समूहको उपस्थिति बलियो देखिएको हो।
आउने वर्षहरूमा देशका अन्य भू-भागमा जेन-जी र युवा जनसंख्यामा व्यापक गिरावट हुँदा काठमाडौंमा सामान्य गिरावट मात्र हुन्छ। यसको अर्थ काठमाडौं उपत्यकामा फेरि पनि कुनै वेला युवा विद्रोह भड्किने/भड्काउने वातावरण छ। राज्यले देशभरिबाट काठमाडौं आउने युवाका भावना, आवश्यकता र चाहनालाई समयमै बुझेर त्यसको उचित व्यवस्थापन गर्न सक्नुपर्छ।
घना जनसंख्या राज्यको ठूलो शक्तिसँगै उस्तै तहको चुनौती पनि हो। त्यसैले घना जनसंख्याले क्षणभरमा निम्त्याउन सक्ने दंगाबाट उत्पन्न हुने क्षतिको आकलन गरेर त्यसै अनुसारको अवसर र सुरक्षा प्रबन्ध गर्नु जरूरी देखिन्छ।