२००७ सालमा राणाशासन ढाल्न सम्भव भएको ब्रिटिस सेनाहरूकै सशस्त्र सहभागिताले हो। त्यस अर्थमा ब्रिटिस लाहुरेहरू नेपाली क्रान्तिका सुचालक हुन्।
भोगीराज चाम्लिङ
ब्रिटिस लाहुरेहरूले खेपेका कठिन कहरहरूमध्ये एउटा हो– पानी पतिया। त्यो कहर खेपेका लाहुरेहरूको इतिहासलाई खेप्नु नपरेका पुस्ताका लाहुरे काङमाङ नरेश राईले परम्परागत इतिहास लेखन र शीर्षकीकरण विपरीत पानी पतिया (२०८१) भनेर पुस्तककै नाम दिएका छन्। नत्र त इतिहासका किताब अथवा निबन्धहरूको शीर्षकमा ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह’, ‘श्री ३ प्रधानमन्त्री जंगबहादुर राणा’, ‘प्रधानमन्त्री भीमसेन थापा’, ‘सेन काल’, ‘मल्ल काल’, ‘लिच्छवि काल’, ‘किरात काल’ जस्ता शब्दावली राख्ने गरिएको पाइन्छ। ती लेख्य सामग्री पढ्दा लाग्छ– इतिहास भनेको राजामहाराजा र शासकहरूको हो, किताब या निबन्धको शीर्षकमा पनि ‘उहाँहरू’ नै हुनुपर्छ! लेखक काङमाङले ‘उहाँहरू’लाई होइन, ‘उहाँहरू’ बाट सिर्जित कहरलाई किताबको नाम दिएर परम्परागत इतिहास लेखन र इतिहासको अन्यायप्रति गम्भीर असहमति जनाएका छन्।
खासमा पुस्तक विमोचन लगत्तै यो निबन्ध लेख्ने तयारीका साथ नोट पनि बनाएको थिएँ। मेरो ल्याङफ्याङ तालले गर्दा किताबको अव्यवस्थित रखाइभित्र पानी पतिया कतै लुक्न पुगेपछि मेरो लेखन योजनामा एक्कासि अल्पविराम लागेको थियो। केही समयको गुप्तबासपछि पुस्तकहरूकै जुलूसमाझ महत्त्वपूर्ण यो किताब मेरोसामु फ्याट्ट देखा परेपछि यस निबन्धले ब्युँतिने मौका पाएको छ। संयोगले मैले बनाएका नोटहरू पुस्तकको चेपभित्रै सुरक्षित रहेछ।
मैले यस किताबबारे टिपोटमा लेखेको रहेछु– ‘अनुभव, अनुभूति र इतिहासपरक अध्ययनको त्रिवेणी।’ साहित्यकारका रूपमा परिचित काङमाङ आफैं पनि ब्रिटिस लाहुरे हुनुको नाताले ब्रिटिस गोर्खा भर्तीलाई विगतमा मात्रै नअल्झाएर समकालीन परिवेशलाई इतिहासको मालामा उनिदिएका छन्। यही कुराले पानी पतिया लाई गोरखा भर्ती सम्बन्धी दर्जनौं पुस्तकभन्दा अलग परिचय दिएको छ।
मैले यस किताबबारे टिपोटमा यस्तो पनि लेखेको रहेछु– ‘गोरखा भर्ती सम्बन्धी आजसम्म प्रकाशित पुस्तकहरूको मीठो सारांश।’ हर्क गुरुङले ब्रिटिस गोरखा भर्ती सन् १८१५ मा शुरू भएको ठम्याएको कुरालाई आधार मान्दा काङमाङले २०९ वर्ष (२०८१) लामो इतिहासको समग्र पक्षलाई आफ्नो समयको कुरा थपेर ‘अपडेट’ गरेका छन्।
काङमाङले ब्रिटिस सरकारले ‘गोर्खालीहरू’ प्रति गरेको अन्याय र त्यसविरुद्ध छेडिएको सफल जेहाद त छुटाउने कुरै भएन। किनभने, ‘गोर्खालीहरू’ लाई ‘बहादुर लडाकु’ का रूपमा जति सनसनीपूर्ण बनाइएको छ, त्यस परिचयलाई उनीहरूले अहिले पूरै उल्ट्याइदिएका छन्। त्यो भनेको, बेलायती साम्राज्यलाई एक्काइसौं शताब्दीमा झुक्न बाध्य बनाउने सचेत नागरिक शक्ति पनि ‘गोर्खालीहरू’ नै हुन्। उनीहरूले बेलायत सरकारले आफूहरूमाथि गरेको अन्यायलाई सच्याउन बाध्य पारेका छन्।
साभार : पानी पतिया
त्यसवेला किताब पढिसकेपछि मनमा झ्याप्पै आएको थियो– आहा! ब्रिटिस गोर्खा भर्तीबारे पहिलो वर्णमाला हो, पानी पतिया । कुनै समयमा वर्णमाला पढेर अक्षराम्भ हुन्थ्यो। अक्षरहरू खुट्याउन, अर्थहरू पहिल्याउन र किताबहरू छिचोल्न सक्ने हुन जसरी वर्णमाला जान्नु अनिवार्य हुन्छ, त्यस्तै अपरिहार्य किताब लागेको थियो, पानी पतिया । कुहिरो हटेपछि खुल्ला भएको आकाशजस्तै यो किताब पढेपछि ब्रिटिस गोर्खा भर्तीबारे छ्यांग भइन्छ। मलाई चाहिं त्यस्तो लागेको हो।
काङमाङले पुस्तकका विषयहरूलाई यस्तरी शीर्षकबद्ध गरेका छन् कि ती आफैंमा गोर्खा भर्तीलाई बुझाउने गुदीजस्ता छन्। जस्तो कि– ‘युद्धबाट नफर्किएकाहरू’, ‘नेपाललाई रोयल्टी’, ‘गोर्खा सैनिक : हेराइ र हालत’, ‘आदिवासी गोर्खा सैनिक र अटुट हिन्दूकरण’, ‘गोर्खा आन्दोलनको चुरो कुरो’, ‘नेपालमा लाहुरेको योगदान’।
पानी पतिया लाई राणा शासनकालमा अत्यधिक सामाजिकीकरण गरिएको थियो। काङमाङले पुस्तकमा उल्लेख गरेका छन् कि ब्रिटिस लाहुरेहरू छुट्टीमा घर फर्किंदा नेपालको सिमाना क्षेत्रमा हिन्दू पण्डितद्वारा पञ्चगव्यका रूपमा गाईको गहुँत, गोबर, दूध, दही र घिउले नुहाउन लगाइन्थ्यो र दुई हप्तासम्म यस्तो गरेपछि (पृ.५१) पानी पतिया गरेको कागज दिइन्थ्यो। अनि मात्र नेपालभित्र प्रवेश पाउँथे, ब्रिटिस सेनामा भर्ती भएका नेपालीहरूले। पानी पतियाको यो अभ्यास चन्द्रशमशेर राणाले अन्त्य गरे पनि भैरहवाको पक्लिहवास्थित ब्रिटिस क्याम्पमा सन् १९६० (२०१६ साल) सम्म प्रचलनमा थियो (पृ.५१)।
दोस्रो विश्वयुद्ध र त्यसपछिका युद्धहरू लडेका केही लाहुरे पासुङ (पुर्खा) हरूसँग मैले कुराकानी गरेको थिएँ, त्यो ‘रेकर्ड’ मसँग अझै सुरक्षित पनि छ। उनीहरूले भनेअनुसार पण्डितलाई दक्षिणा दिंदा र अन्य खर्चहरू गर्दा ब्रिटिस सरकारले दिएको पैसा लगभग सकिन्थ्यो र रित्तै जस्तै घर आइपुग्थे।
अर्कोतिर, नेपालभित्र पालेका गाईगोरु लडिमरे, झुन्डिमरे अथवा बिमारी भएर मरे पनि स्थानीय सरकारी अड्डामा ‘मैले मारेको होइन, आफैं मरेको हो’ भन्ने निवेदन दिएर कागज लिनुपर्थ्यो। यो पानी पतियाको अर्को संस्करण थियो र यसलाई पनि पानी पतिया नै भनिन्थ्यो।
पानी पतियालाई हिन्दूकरण, हिन्दू शासक र हिन्दू अधिराज्यप्रति आत्मसमर्पण गराउने बलियो औजारका रूपमा प्रयोग गरिएको थियो। समाजलाई उकुसमुकुस बनाउने यस्तो अभ्यासलाई अझ अहिले त संवैधानिक टाँचा पनि लगाइएको छ। सम्भवतः यस्तै वर्चस्वहरूप्रति रोष प्रकट र प्रतिरोध गर्न काङमाङ नरेश राईले किताबको नाम ‘पानी पतिया’ राखेका हुन्।
खासमा गोर्खा भर्ती के थियो? शासकहरू किन गोर्खा भर्तीप्रति लालायित भएर भर्ती हुन गाउँगाउँमा उर्दी पठाउँथे? यस्ता प्रश्नहरूबारे घोत्लिंदा भेटिने निष्कर्ष हो– गोर्खा भर्ती नेपाली शासकहरूका लागि बेलायती साम्राज्यप्रति चाकरी गर्नु मात्र थिएन, आयआर्जन गर्ने बलियो माध्यम पनि थियो। गोर्खा भर्तीका नाममा शासकहरूले नेपालीहरूलाई बेलायत सरकारसमक्ष बेचेका थिए। ‘गोर्खालीहरू’ ले पहिलो र दोस्रो विश्वयुद्ध लडिदिएबापत बेलायत सरकारले राजा र राणाहरूको खातामा सलामी स्वरूप वार्षिक १४ लाख ५० हजार पाउन्ड पठाउँथ्यो, जुन २०२७ सालसम्म निरन्तर रहेको थियो (पृ.६५)। यस्ता प्रभावशाली तथ्यहरू मार्फत नेपाली शासकहरूको खोटो अनुहारलाई काङमाङले उदांगो बनाइदिएका छन्।
साभार : पानी पतिया
गोर्खा भर्तीका असरहरूका बारेमा प्रशस्तै विमर्शहरू भएका छन्, जुन विमर्शलाई यस पुस्तकमा पनि निरन्तरता दिइएको छ। यद्यपि ब्रिटिस लाहुरेहरू नभइदिएको भए के हुन्थ्यो? अथवा लेखककै भाषामा भन्नुपर्दा, ‘नेपालमा लाहुरेको योगदान’ के हो? यसबारे चाहिं सघन विमर्शहरू हुनसकेका छैनन्। ब्रिटिस लाहुरेहरूबारे गरिने अबका छलफलहरू यतातिर केन्द्रित हुनुपर्छ जस्तो लाग्छ। काङमाङले यसलाई केही आकार दिएका छन् र ब्रिटिस गोर्खाली सेनाहरूको राजनीतिक, शैक्षिक, सञ्चार, समाजसुधार र साहित्य-संगीत सम्बन्धी योगदानहरूबारे छलफल गरेका छन्।
मेरो ठम्याइमा ब्रिटिस गोर्खाली सेनाहरूले सर्वोत्कृष्ट योगदान राजनीतिक आन्दोलनमा गरेका छन्। उनीहरू नभएको भए नेपाली राजनीतिक क्रान्तिका क्षेत्रमा एक/दुई कुरा चाहिं नहुने निश्चित थियो। पहिलो हो, राणा शासन ढाल्न सशस्त्र क्रान्ति हुँदैनथ्यो। २००७ सालमा सशस्त्र क्रान्तिका जनमुक्ति सेनाहरू ब्रिटिस लाहुरेहरू थिए।
दोस्रो हो, राणा शासन २००७ सालमा ढल्दैनथ्यो। राणा शासन कुनै दिन त अवश्य ढल्थ्यो नै। तर, सत्ता ढाल्ने गरी नेपाली जनता राजनीतिक रूपमा संगठित भइनसकेको त्यस परिवेशबीच २००७ सालमै राणा शासन ढाल्न सम्भव भएको ब्रिटिस सेनाहरूकै सशस्त्र सहभागिताले हो। त्यस अर्थमा ब्रिटिस लाहुरेहरू नेपाली क्रान्तिका सुचालक हुन्। यद्यपि, राजनीतिक इतिहासमा यो कुरा पूरै ओझेलमा छ र उही निश्चित नेता र राजनीतिक पार्टी वरिपरि सीमित छ- इतिहास लेखन। यसप्रति थोरबहुत विमर्श शुरू गरेका छन्, काङमाङले। अब यसबारे पनि सघन विमर्श हुनुपर्छ।
‘लाहुरेहरू भनेका बन्दुके हुन्, बौद्धिक हुँदैनन्’ भने झैं गरी हेर्ने सामाजिक चश्मालाई आधुनिक राजनीतिक चेतनाबाट लैस भएका ब्रिटिस लाहुरेहरूले २००७ सालको क्रान्तिमै जवाफ दिइसकेका हुन्। थुप्रै लाहुरे लेखक तथा चिन्तकहरूले बलियो साहित्य र दार्शनिक चिन्तनहरू मार्फत जवाफ दिइरहेका छन्। इतिहास विधाको पानी पतिया मार्फत काङमाङ नरेश राईले अर्को खुड्किला थप गरेका छन्।