देशको पुरानो लोकतान्त्रिक दलले महाधिवेशन चुनावअघि कि पछि भन्दै समय खेर फाल्न छाडेर समयमै महाधिवेशन गरी निर्वाचनमा होमिन ढिलाइ गर्नु हुँदैन।
मुलुकको राजनीति अन्योलमा फसेको छ। संस्थाहरू काम गर्न नसक्ने भएका छन्। एउटा संस्था र एक ठाउँ सुधार गरेर हुनेवाला छैन। जताततै भ्वाङैभ्वाङ परेको छ। नयाँ दलको लर्को लागे पनि आम मानिस आश्वस्त हुन सकिरहेका छैनन्। स्थापित राजनीतिक दलका ‘मशिनरी’ मा खिया लागेको छ। खिया लागेका पार्टी ‘माशिनरी’मा पाइन चढाएर अर्जाप्ने चुनौती छ। नेकपा एमाले यसै महीना महाधिवेशन सम्पन्न गर्ने गरी जुटिसक्दा पनि मुलुकको ‘ग्रान्ड वर्ल्ड पार्टी’ अर्थात् नेपाली कांग्रेस डेढ महीनादेखि विना निष्कर्षको केन्द्रीय समिति बैठकमा अल्झिरहनु लाजमर्दो कुरा हो।
२०७८ मा सम्पन्न १५औं महाधिवेशनको चार वर्षे म्याद यही महीनाको २९ गते सकिंदैछ। यसको अर्थ महाधिवेशनबाट छानिएका वडादेखि केन्द्रसम्मका समितिहरूको वैधानिकता समाप्त हुँदैछ। पार्टीको वैधानिक हैसियत बचाउन पनि मंसीर मसान्तभित्र महाधिवेशन नगरी हुँदैन; नगर्ने भए म्याद थप्नुपर्छ।
महाधिवेशन विशेष होस् कि नियमित? जसरी पनि म्यादभित्र महाधिवेशन हुनुपऱ्यो; चुनावअघि नै नयाँ नेतृत्व चयन हुनुपऱ्यो। आफू नतंग्रिई भाँडिएको समाजलाई सम्हाल्न सकिंदैन। नियमित र विशेष महाधिवेशनको रडाको; चुनावअघि कि पछि? यी सब बकवास हुन्। म्याद सकिइसकेपछि केको अघि र पछि? केको नियमित कि विशेष? फास्ट ट्रयाकबाट संविधान बनाउन सक्नेहरूले पार्टी महाधिवेशन किन गर्न सक्दैन? अनावश्यक बहसमा समय बितिसकेकोले म्याद त थप्नैपर्ने भयो। एक महीना मात्र यो कार्यसमितिको म्याद थपेर पुस मसान्तभित्र नियमित महाधिवेशन गर्नु उचित हुन्छ।
विधानमा तोकिएको समयमा महाधिवेशन गरेर नयाँ नेतृत्व सहित पार्टीको वैधानिकता जोगाउनु लोकतन्त्रवादीको पहिलो कर्तव्य हुन्छ। आफू लोकतान्त्रिक नभई अरूलाई लोकतान्त्रिक उपदेश भट्याउन मिल्दैन। महाधिवेशन सम्पन्न गर्नु कांग्रेसको पहिलो संवैधानिक दायित्व हो। सभापति, उपसभापति, महामन्त्री को बन्ने, कसको गुटमा को संलग्न हुने र कुन पद सुरक्षित गर्ने छिनाझपटीको टुङ्गो लगाउने थलो भनेकै महाधिवेशन हो। महाधिवेशन सामना नगर्नेहरू नेता हुँदैनन्; बदलिंदो समाजको नेतृत्व गर्न सक्दैनन्। विषम परिस्थितिमा आगामी फागुन २१ को चुनावको सामना गर्न पनि सक्दैनन्।
संघीय लोकतान्त्रिक गणतन्त्रप्रति पार्टीमा सैद्धान्तिक विमति देखिंदैन। सैद्धान्तिक विमति नरहेपछि किन खिचातानी? कसलाई कुन पद भन्ने हानाथापीमा केन्द्रीय कार्यसमितिको बैठकलाई महीना दिनभन्दा बढी अनिर्णयको बन्दी बनाइयो। जनताले शान्ति र सुशासन खोजिरहेका वेला कांग्रेसहरू सधैं केन्द्रीय समिति बैठक भनेर सानेपामा दन्तबझानमा व्यस्त हुनु जगहँसाइ सिवाय केही होइन।
फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा सहभागी बन्न सभापति शेरबहादुर देउवाले असोज २८ गतेको केन्द्रीय समिति बैठकमा गरेको प्रस्ताव र त्यसपछि समितिबाट सर्वसम्मत पारित हुनु लोकतन्त्रका लागि सही गन्तव्य हो। चुनावका लागि असहमत पक्षहरूलाई पनि सहमत गराएर अघि बढ्नु कांग्रेसको दायित्व हो। किनकि, ऊ अघिल्लो निर्वाचनमा मतदाताद्वारा सबैभन्दा बढी रुचाइएको लामो लोकतान्त्रिक इतिहास भएको दल हो। अब कांग्रेस नयाँ नेतृत्व सहित निर्वाचनमा होमिन ढिलाइ गर्नु हुँदैन।
पछिल्लो पुस्ताले सुशासनको सवाल जोडतोडले उठाएको छ। स्थानीय, प्रादेशिक र संघीय संरचनामा कति कर्मचारी चाहिने हुन्? मुलुकलाई कति (निजामती र जङ्गी) कर्मचारी आवश्यक छ? तिनलाई कसरी जनताको सेवामा समर्पित गराउने? सेवासुविधा कसरी जनताको घरदैलोमा सहज पुऱ्याउने? समानुपातिक समावेशीलाई कसरी व्यावहारिक बनाउने? संविधानको दश वर्षे समीक्षा गर्दा पार्टीले केके सुधार चाहेको हो? शासकीय स्वरूपमा परिवर्तनका कुरा पनि उठेका छन्, यसप्रति पार्टीको धारणा के हो? यी विषयमा महाधिवेशनमा छलफल हुनु आवश्यक छ। गुट जमाएर संख्या मिलाएर आउने नेतृत्वले यी समस्या समाधान गर्न मुश्किल छ। चुनावमा संलग्न हुन पार्टीभित्र सर्वसम्मति भइसकेपछि महाधिवेशन पहिलो आवश्यकता हो र माथि उल्लेखित सवालहरू समाधान गर्न सक्ने नेतृत्व अहिलेको खाँचो हो। यो खाँचो महाधिवेशनले चुन्ने नेतृत्वले मात्र पार लगाउन सक्छ।
नेतृत्वको लागि तीन वटा नाम बढी सुनिंदैछ। महामन्त्री गगन थापा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइराला। २०३९ साउन ६ गते विश्वेश्वरप्रसाद कोइरालाको निधनपश्चात् कांग्रेसमा ‘नेता त्रय’ को अवधारणा आएको थियो। सर्वोच्च नेता गणेशमान सिंह, कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराई र महामन्त्री गिरिजाप्रसाद कोइराला त्यो भूमिकामा प्रकट भए। यद्यपि, बहुदल आएको ३/४ वर्षमै महामन्त्री कोइरालाले सर्वोच्च नेता सिंह र कावा सभापति भट्टराईलाई ‘ग्रास रूट’देखि नै कमजोर तुल्याएर एकछत्र शासकीय शक्ति प्रयोग गरे। अहिले पनि पूर्णबहादुर खड्का, शेखर कोइराला र गगन थापामध्ये महामन्त्री थापा स्पष्ट देखिएका छन्। उनी बारम्बार भनिरहेका छन्, ‘चुनावअघि नियमित महाधिवेशन गरौं। हामी महाधिवेशन गर्न सक्षम छौं, चुनाव सामना गर्न तयार छौं। यही सन्देश बोकेर नयाँ नेतृत्वले निर्वाचनको रथ हाँक्न सक्छ।’ उनले कांग्रेसभित्र जसरी गिरिजाप्रसाद कोइरालाले महामन्त्री हुँदा आफ्नो पकड जमाएका थिए, त्यसरी नै पकड जमाएका छन्। गणतन्त्रयता सडक, सदन र सञ्जाल तीनै स्थानमा थापा नै मुखर सुनिए, आफूलाई नेतृत्वमा स्थापित गरे।
२० वर्षअघि लोकतान्त्रिक गणतन्त्र स्थापना निम्ति गगनले राजशाहीसँग पौंठेजोरी खेले। नेपाली कांग्रेसलाई गणतन्त्रमा प्रवेश गराउन सडकबाट खबरदारी गरे। तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले ‘नरहरि र गगन दरबारबाट सञ्चालित छन्’ भन्दा पनि त्यसको कुनै पर्बाह नगरी गणतन्त्रका लागि आवाज उठाइरहे। गिरिजाप्रसादलाई आफ्नो एजेन्डामा सहमत गराइछाडे। पार्टीलाई गणतन्त्रमा प्रविष्ट गराए।
मंसीर १५ को केन्द्रीय समिति बैठक १४औं महाधिवेशनपछिको अन्तिम र निर्णायक बैठक हुन सकोस्। महाधिवेशनको मिति तोकोस्। जो नेतृत्वमा आए पनि उसलाई आगामी निर्वाचनको अगुवाइ गर्ने अभिभारा सुम्पोस्।