कुनै वेला गंगामाया अधिकारीलाई न्यायकी देवी भनेकी प्रधानमन्त्री सुशीला कार्कीले उनको स्वीकृतिमा नन्दप्रसाद अधिकारीको शव दाहसंस्कार गर्न अग्रसर हुनुपर्छ।
भदौ २३ र २४ ले जन्माएको उलटपलटमाझ द्वन्द्वकाल र त्यससम्बन्धी ज्यादतीको जवाफदेही खोज केही समयको लागि ओझेलमा परेको छ। तर, संक्रमणकालीन न्यायलाई कुनै पनि बहानामा किनारा लगाउनु हुँदैन। गठन भएका बेपत्ता आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगले आफ्नो काम निर्धक्क अगाडि बढाउनुपर्छ। किनकि, २०५२ देखि २०६२ सालको कहालीलाग्दो कालखण्डको लेखाजोखा नहुने हो भने फेरि हिंसाको राजनीति अगाडि बढ्नेछ। यसै त, माओवादी नेतृत्व न जवाफदेही भए न पश्चाताप गरे र पनि यतिका वर्ष राजनीति गर्न पाएका छन्, नयाँ-नयाँ आवरणमा प्रस्तुत हुँदै।
द्वन्द्वकालको दौरान एकातर्फ राज्यका सुरक्षा अंग र अर्कोतर्फ माओवादी विद्रोहीबाट ज्यादती भयो। गैरन्यायिक हत्या, यातना, बलात्कार, बेपत्ता, विस्थापन अनेकन् हृदयविदारक घटना भएका छन्, बिर्सनै नहुने जुनसुकै घटनास्थलको नाम मात्र लिए पुग्छ– बाँदरमुढे, दोरम्बा, नौमुले, फुजेल।
न्यायिक समाजमा विश्वास राख्ने गोरखा फुजेल गाउँका नन्दप्रसाद र गंगामाया अधिकारीले माओवादी हिंसात्मक कार्यको विरोधमा अडान राखेपछि उनका परिवार निशानामा परे। २०६४ जेठ २४ गते हजुरआमा भेट्न चितवन पुगेका १६ वर्षीय छोरा कृष्णप्रसाद अधिकारीलाई माओवादी कार्यकर्ताले टाँडीको बकुलर चोकमा यातना दिंदै, कुट्दै मारे। न्यायको खोजीमा अधिकारी दम्पती प्रशासन, अदालत, राजनीतिक दलका कार्यालय धाए, तर मात्र निर्ममता व्यहोरे। माओवादीलाई खुला राजनीतिमा भित्र्याउने हतारोमा रहेका लोकतान्त्रिक पृष्ठभूमिका नेताले समेत वास्ता गरेनन्।
गंगामाया र नन्दप्रसाद मानव अधिकारकर्मीको नजरबाट पनि ७–८ वर्ष बाहिरै रहे, एक्लै आफ्नो कुरा राख्ने, धर्नामा बस्ने, मागपत्र बुझाउने गरे। त्यस अवधिमा अधिकारी दम्पतीलाई राज्यले कहिले थानकोट कटाइदियो, कहिले लगनखेलको मानसिक अस्पतालमा सुई दिएर राख्यो, कहिले ती वीर अस्पतालको इमर्जेन्सी बाहिरको भुइँमा पछारिए।
वीर अस्पतालको शैयामा आमरण अनसन बसेका अधिकारी दम्पति/तस्वीर: कनकमणि दीक्षित
अन्त्यमा, मानवअधिकार जगतले बालुवाटार बाहिर धर्नामा बसेको वेलामा गंगामाया र नन्दप्रसादको पहिचान गऱ्यो र बुझ्यो कि निर्मम राज्यमाथि उनीहरूको माग यति मात्र थियो– विधिको शासन र न्यायिक राज्यको सिद्धान्त अनुसार कृष्णप्रसादको हत्यामा अनुसन्धान र हत्यारामाथि कारबाही होस्! यति नै वेला मेरो पनि मानव अधिकारकर्मी सुशील प्याकुरेलका साथ उहाँहरूसँग भेट हुन पुग्यो।
एकपछि अर्को सरकारले अधिकारी दम्पतीको मागलाई आलटाल र बेवास्ता गऱ्यो, राजनीतिक लेनदेन र शान्ति प्रक्रियाको नाममा एउटा किशोरको हत्यालाई अनुसन्धान गर्ने चाहना नै देखाएन। अधिकारी दम्पती धर्नामा बसे। त्यसले केही नलाग्ने देखेपछि अनशनमा बसे। उनीहरू न्यायका लागि बाँची नै रहनुपर्छ भनी विभिन्न अधिकारकर्मी (लगायत यस पंक्तिकार) ले आग्रह गरे तर राज्यलाई दबाब दिने एउटा मात्र उपाय ती दम्पतीले देखे। त्यो थियो– आफ्नै ज्यान जोखिममा राखेर आमरण अनशनमा बस्ने ।
अधिकारकर्मी चरण प्रसाईं, सुबोधराज प्याकुरेल, अधिवक्ता बाबुराम गिरी लगायत हामीले धेरैचोटि नन्दप्रसाद र गंगामायालाई अनशन नबस्न सम्झाउथ्यौं। सरकारको आश्वासन र कहिलेकाहीं हाम्रो आग्रहमा गंगामाया र नन्दप्रसादले अनशन तोड्थे तर फेरि शुरू गर्थे। २०७० को अन्त्यतिर हो जस्तो लाग्छ, कमजोर भएकी गंगामायाले भनेको सम्झन्छु– ‘‘अब त मरिने भो क्यार, न्याय पाइने भएन । ..... न्याय पाएको हामीले शायद माथिबाट हेरौंला अब । ..... हरेक चोटि कृष्णप्रसादको याद आउँछ र मुटुमा कीला रोपे जस्तो हुन्छ....”
गंगामायाको ज्यानको पीर भइरहेको बेला एक्कासि नन्दप्रसाद कमजोर हुँदै गए। अशक्त हुँदै जाँदा उनलाई रक्तनलीद्वारा पोषण पदार्थ दिंदै बचाइराख्न वीर अस्पतालका चिकित्सकहरूले अनेक प्रयास गरे। २०७१ असार २१ को बिहान राम्ररी सम्झन्छु, हामी अस्पताल पुग्दा जहिल्यै आँखामा तेज बोक्ने प्रखर स्वभावका नन्दप्रसाद निर्बल देखिन्थे, उनका आँखा धमिला देखिन्थे।
आईसीयू कक्ष बाहिर सुशीला कार्कीसँग लेखक
भेटपछि मैले साउन ६ गते सेतोपाटी डटकममा ‘अधिकारी दम्पतीको ज्यान गयो भने...?’ भन्ने लेख लेखें। त्यसमा दम्पतीको स्वास्थ्य अवस्थाको चित्रण छ, ‘मुखबाट खाना नछिरेको २७० दिन भइसक्दा जीउ मात्र छालाले मोडेको हाडमा परिणत छ। घाँटीको नसाबाट ‘टोटल प्रोटिन न्यूट्रिसन’ दिन सम्भव थियो तर गंगामायाको त्यो प्रसारण गर्ने ‘सेन्टर लाइन’ नली पनि टालिएको छ। नन्दप्रसादको उक्त नली खुला छ तर लिन मानेका छैनन्, नर्सका अनुसार ‘नन्दप्रसाद र गंगामायाको अवस्था हेर्दा कुनै पनि वेला शरीरको कुनै अंगको ‘अर्गन फेल्योर’ हुन सक्छ, चिकित्सक भन्छन्। ’
असोज ६ गते नन्दप्रसादको ज्यान गयो। देहावसान हुन नपाउँदै उनको शव प्रहरीले बोकेर गयो। अधिकारकर्मी सुबोधराज प्याकुरेल र म विभिन्न अस्पतालको शवगृह चहाऱ्यौं र अन्त्यमा नन्दप्रसादको शवलाई फेला पाऱ्यौं, शिक्षण अस्पतालको मोर्गको बक्सा नं. ४ मा। त्यसपछि शुरू हुन्छ, नन्दप्रसादको शवको मार्मिक यात्रा र आजसम्मको अवस्था। केही वर्षपछि शव बक्सा नं. ४ बाट गायब भयो। पत्रकार जेबी पुन मगरले शिक्षक मासिकको सह–प्रकाशन नीति विमर्श का लागि अनुसन्धान गर्दा शिक्षण अस्पतालको शव कक्षभित्र मार्करले नाम लेखिएको प्लास्टिक बोरा ‘सुक्खा मोर्ग’ मा फेला पऱ्यो। २०७६ चैत १ गते प्रकाशित पुनको ‘लङ्फर्म स्टोरी’ मा मन दुख्ने तस्वीर छापियो। एउटा ‘बडी ब्याग’ छ, जसमा टाँसिएको स्टिकरमा लेखिएको छ, ‘२०७१–६–६ गते, जिल्ला गोरखा, फुजेल गाउँ- ७ बस्ने नन्दप्रसाद अधिकारी।’
एकपछि अर्को लोकतान्त्रिक तथा माओवादी नेतृत्वको सरकारले उक्त शवलाई अन्तिम संस्कार गर्ने सोच बनाएन। माओवादीलाई त आम जनतालाई द्वन्द्वकालीन ज्यादतीको सम्झना दिलाउने केही गर्नु थिएन नै; केपी ओली, माधवकुमार नेपाल र सुशील कोइरालालाई पनि नन्दप्रसादको शव बोरामै रहिरहनु नै उचित लागेको देखियो।
उता गंगामाया र नन्दप्रसाद अधिकारीले सँगै शुरु गरेको न्यायको लडाइँ नन्दप्रसादको निधनपश्चात् गंगामायाले निरन्तर लड्दै गइन्, वीर अस्पतालको शय्याबाट। अनशन बसेकै वेला स्वास्थ्य नाजुक हुँदै जाँदा एक दिन पूर्वप्रधानन्यायाधीश सुशीला कार्की उनलाई भेट्न वीर अस्पताल पछाडिपट्टि रहेको ‘आईसीयू’ गइन्। कक्ष पस्नुअघि भेला भएका हामीलाई उनले भनिन्, “गंगामाया न्यायकी देवी हुनुहुन्छ।” मिति थियो– २०७१-०३-२१। सुशीला कार्कीको उक्त बोली टिपोट गर्दै मैले दिउँसो ट्वीट गरें– ‘हो पनि, विधिको शासन, कानूनी राज र न्यायिक सर्वोच्चताका लागि गंगामाया जस्तो लड्ने अरू को छ?’
आईसीयू कक्षमा गंगामायालाई भेट्न पुगेकी सुशीला कार्की र अहिलेका गृहमन्त्री ओमप्रकाश अर्याल
कार्कीको त्यो भनाइ र नन्दप्रसाद बितेको पनि ११ वर्ष भइसक्यो। अहिले सुशीला कार्की प्रधानमन्त्रीको पदमा छिन्। उनले अधिकारी दम्पतीले राख्दै आएको माग बमोजिम न्यायिक अनुसन्धान र दोषीलाई कारबाहीको प्रक्रिया अगाडि बढाऊन्। फौजदारी मुद्दामा सत्य निरुपण तथा मेलमिलाप आयोगको बाटो हेर्नु परेन।
अरू धेरैले देखावटी अनशन गरेको हामीले देखेका छौं। कसै कसैले त अर्थ न बर्थको ‘रिले अनशन’ पनि गरी बस्छन्। थोरै व्यक्ति हुन्छन्, जसले आत्मबल र आँटका साथ राज्य संयन्त्रलाई पूरा चुनौती दिने गरी अनशनमा प्रस्तुत हुन्छन्, जसको बोलाइ र गराइमा फरक खाँदैन। राज्य र एकपछि अर्को सरकारले छोरा कृष्णप्रसादको हत्यामा केही नगरेपछि नन्दप्रसादको हाँक यस्तो थियो जस्तो लाग्छ– ‘केही गर्दैनौ भने मेरो मरणको जिम्मा पनि तिमीहरूको।’
हुन पनि त्यस्तै भयो, नन्दप्रसाद बितेर गए। उनको र गंगामायाको न्यायको माग पूरा गर्ने त परको कुरा, शवको सद्गत गर्ने सोच र अठोटसम्म राज्यको रहेन। गंगामाया वीर अस्पतालको शैयामै छिन्, नन्दप्रसादको शव शिक्षण अस्पतालको शव कक्षमा। कृष्णप्रसादका हत्याराहरू खुलेआम हिंडिरहेछन्।
अहिले सुशीला कार्की प्रधानमन्त्रीको कुर्सीमा छिन्। गंगामायासँग स्वीकृति लिई नन्दप्रसादको शवको सद्गत गर्न प्रम कार्की लाग्नेछिन् भन्ने आश गर्न सकिन्छ। जबकि, अरू सबैसँग यस सम्बन्धमा आश मरिसकेको छ।