विसं २०२३ मा जिल्ला पुनर्संरचना गर्दा बखानपुर गाउँ पञ्चायतलाई टुक्राएर गुञ्जनगर र शारदानगर गाउँ पञ्चायत बनाइयो। अर्थात्, पञ्चायती रजगजमा बखानपुर नामेट बनाएर शारदानगर नामकरण गरियो।
सहकारी अभियानका अगुवा, चितवनको बस्ती विकास र लोकतान्त्रिक आन्दोलनसित प्रत्यक्ष जोडिएका ऐतिहासिक पात्र हुन्– बखानसिंह गुरुङ। नेपाली सेनाको कप्तान उनी विद्रोह गरेर २००७ सालको जनक्रान्तिमा होमिए। पद्मशमशेरको दरबारमा कार्यरत भएकै वेला गोरखास्थित मकैसिं ब्यारेक सरुवा भए, त्यहाँ पुगेपछि राणाले थमाएको बन्दुक मिल्काएर क्रान्तिकारीहरूको पक्षमा उभिए।
१९५६ सालमा तनहुँ, पुलिमराङमा जन्मिएका उनको बाल्यकाल छिप्के लेकको रनवन, चरिचरन, घाँसदाउरा र गोठालो गर्दै बित्यो। अलि ठूलो भएपछि बन्दीपुर पढ्न बसे। केही वर्ष बन्दीपुरमा बिताएपछि काठमाडौं लागे। नेपाली सेनामा कार्यरत दाजुले उनलाई दरबार हाई स्कूलमा भर्ना गरिदिए। म्याट्रिक उत्तीर्ण गरेपछि उनी पनि सेनामै भर्ना भए। जागीरे हुनासाथ गाउँ फर्केर विवाह गरे। उनले दुई घरबार जोडे; जेठी विष्णुमाया र कान्छी मनकुमारी। विष्णुमायालाई गाउँमा मागी बिहे गरेको, मनकुमारीलाई पद्मशमशेरको विशालनगर दरबारमा कार्यरत हुँदा मन पराएर भित्र्याएको। जेठीपट्टिबाट १९८२ माघ १५ मा लालध्वज र अर्को वर्ष धर्मध्वज दुई छोरा जन्मिए। कान्छीबाट जौजहान भएनन्।
२०१३ सालमा बखानसिंहले बखानपुरमा प्रयोग गरेको पहिलो डोजर।
लोकतान्त्रिक आन्दोलनका जिउँदो-जाग्दो योद्धा हुन्, बखानसिंह। उनको परिवारका सबै सदस्य प्रजातान्त्रिक आन्दोलनमा होमिए। जहानियाँ राणा शासन विरुद्धको क्रान्तिमा २००७ सालमा कान्छा छोरा धर्मध्वजले बन्दीपुरको मोर्चामा सहादत प्राप्त गरे। उनीसँगै उत्तरकुमार श्रेष्ठ, चन्द्रबहादुर सार्की, खड्गबहादुर गोदार, सन्तबहादुर रानामगर, धर्मराज बतासले पनि बन्दीपुर कब्जाको क्रममा सहादत प्राप्त गरे। क्रान्तिमा छोरा गुमाउनु परेको पीडाले बखानलाई निकै विचलित तुल्यायो। छोराको निधनपछि पुलिमराङको घरमा उनीहरूलाई उखरमाउलो छुट्न थाल्यो। घरभित्र पस्दा होस्, या बाहिरफेर हेर्दा– धर्मध्वजकै झझल्कोले सताउन थाल्यो। तैपनि, उनी सम्हालिएर अगाडि बढे। छोरा गुमाएको पीडा मनभरि बोकेर प्रजातन्त्र आइसकेपछि विसं २००९ माघको जाडोयाममा पुलिमराङबाट औलोघारी चितौन बसाइ सरे। साथमा बुहारी हस्तकुमारी अर्थात् धर्मध्वजकी श्रीमती र नाबालक नाति लिएर उनी चितौन बसाइ सरेका थिए।
नेपालको पहिलो सहकारी संस्था।
चितौन झरेपछि बसोबासका लागि निकै संघर्ष गरे। औलो लाग्ने घारी फाँडेर छाप्रो हाले। बुहारी र नातिलाई बासको व्यवस्थासँगै गाँसको जोहो गर्न थारू बस्तीतिर छिरे। औलोसित जुधेर जीवन धानिरहेका रैथाने थारूहरूसित सम्बन्ध बढाए। बिस्तारै उनको परिवार भित्री मधेशको परिवेश र रहनसहनसित एकाकार हुन थाल्यो। बल्ल, जीवन अलि सहज भएको महसूस गर्न थाले। दुई वर्षपछि उनी फेरि जेठीको परिवारलाई लिन पुलिमराङ फर्के। विष्णुमायासित धर्मध्वज गुमाउनु परेको पीडा सम्झिएर भक्कानिए। विष्णुमायाले पति बखानलाई सम्हालिन आग्रह गर्दै सम्झाइछन्, ‘तपाईंले केको वैराग्यको कुरा गर्नुभएको? हाम्रो छोरा देशका लागि शहीद भएको हो। भिरबाट लडेर मरेको हो र! दुःख मान्ने? त्यो त देशका लागि लड्दा सहादत प्राप्त गरेको हो। त्यसैले छोराको सहादतमा हामीले हीनता होइन, गौरव गर्नुपर्छ। नेपाली छोराहरूले बलिदानी दिएका थिएनन् भने देशमा प्रजातन्त्र आउने थिएन।’ (बखान, पृ.६८)
चितौन झरेपछि बखानले जंगल फँडानी गरेको मुद्दा झेल्नु पऱ्यो । रु.१३ लाख जरिवाना पनि तिर्नु पऱ्यो। जे जे परिआउँछ, सामना गर्दै उनी अगाडि बढिरहे। तिनताक पहाडतिर बाढी-पहिरोका कारण मानिसहरू चितौन ओइरिने क्रम बढेको थियो। २००८ सालमै उनलाई राजा त्रिभुवनले सल्लाहकार सभा सदस्य मनोनीत गरेका थिए। २०१२ सालमा नेपाली कांग्रेसको केन्द्रीय योजना समिति सदस्य बने उनी। चितौनको बस्ती विकासमा यस्तरी लागे कि मानौं उनी कुनै आधुनिक शहरको प्रारूप तयार पार्दैछन्। त्यसै वेला चितौनमा राप्ती दुन विकास परियोजना पनि शुरू भयो। पश्चिम चितौनको बखानपुर, भुवन बस्ती, चनौली, चन्द्रनगर, दिव्यनगर, रामपुर लगायत ठाउँमा व्यवस्थित बसोबासका लागि राप्ती दुन परियोजनाले काम थाल्यो। सदरमुकाम उपरदाङगढीमा भएका जिल्लाका अड्डा, अदालत बिस्तारै भरतपुर सार्न थालियो। परियोजनाकै सहयोगमा चितौन हाई स्कूल, शारदा हाई स्कूलहरू खुले। चितौन गुलजार हुँदै गयो।
बखानपुर नाम परिवर्तन गरिए पनि बखानचोक अझै जीवित।
अनि ‘बखान बा’ को ध्यान नयाँ बस्तीमा नयाँ घरजम बसालेकाहरूको आयआर्जन कसरी बढाउने भन्नेतिर खिचियो। बेलायतस्थित म्यान्चेस्टर शहरमा स्थापित एक सहकारी संस्थाले सस्तो र गुणस्तरीय खाना उपलब्ध गराएको कुरा उनले सेनामा छँदा सुनेका थिए। त्यही सुनेको कुराले उनको दिमागमा नयाँ सोच फुऱ्यो। २०१३ चैत २० गते उनकै निर्देशनमा ‘बखान सहकारी ऋण समिति’ स्थापना गरियो। योभन्दा ३ वर्षअघि नै सहकारी विभाग खडा भइसकेको थियो। नेपालका सन्दर्भमा, उनी सहकारीका पिता नै हुन्। भलै, गणतान्त्रिक नेपालमा भने संस्थाको सदस्य नै नरहेका चट्टु र चटकेहरूले गरीब सर्वसाधारणले दुःख जिलो गरेर पेट काटीकाटी २/४ हजारका दरले सहकारीमा जम्मा गरेको कोष जथाभाबी खाइदिए। र, सहकारीलाई बदनाम गराए। तर, सहकारीको उद्देश्य यस्तो होइन।
२०१५ सालको पहिलो महानिर्वाचनमा बखानसिंहले प्रतिनिधिसभा सदस्यका लागि चितौनबाट उम्मेदवार बन्ने इच्छा प्रकट गरे। पार्टी पंक्तिमाझ उनको पकड राम्रो थियो। यद्यपि, चितौनमा विश्वबन्धु थापाले टिकट पाए। त्यसले चितौनका स्थानीय कांग्रेस नेता/कार्यकर्ता ज्यादै खिन्न भए। हरिकुमार श्रेष्ठ र मैयाँदेवी श्रेष्ठले त स्वतन्त्र उम्मेदवारी नै दर्ता गरे। विश्वेश्वरप्रसाद कोइरालाको आग्रहमा उनीहरूले उम्मेदवारी फिर्ता लिएर विश्वबन्धुलाई सघाए। पार्टीले बखानलाई महासभामा लैजाने निर्णय गऱ्यो। त्यस निर्वाचनमा विश्वबन्धु ६ हजार ८२९ मत प्राप्त गरी विजयी बने भने बखान महासभा सदस्यमा मनोनीत भए। निर्वाचनमा नेपाली कांग्रेसले दुई तिहाइ सीट जितेर विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा सरकार बनायो। बिर्ता उन्मूलन लगायत जनपक्षीय काम हुँदै थियो। राजा महेन्द्रले २०१७ पुस १ गते प्रजातन्त्र अपहरण गरे; २२ गते निर्दलीय पञ्चायती व्यवस्थाको न्वारान गरे र प्रत्यक्ष शासन थाले।
लोकतन्त्र अपरहरण गरेर प्रधानमन्त्री, विपक्षी दलका नेता, मन्त्रीहरू लगायत नेताहरूलाई जेल हालेपछि विरोधमा कांग्रेसले २०१८ सालमा सशस्त्र क्रान्तिको आह्वान गऱ्यो। कांग्रेस नेता सुवर्णशमशेर लगायत धेरै भारत प्रवासमा थिए। पार्टी सभापति विश्वेश्वरप्रसाद कोइराला सुन्दरीजलस्थित सैनिक जेलमा थुनिएकाले कार्यवाहक सभापतिको रूपमा सुवर्णले त्यो सशस्त्र क्रान्तिको नेतृत्व सम्हाले। शाही ‘कू’ पछि थुनामा समेत परेका बखानसिंह पनि स्वदेशमा बस्ने स्थिति नभएपछि भारत पुगे। २००७ सालमा जनमुक्ति सेनाबाट बन्दीपुर ब्यारेक कब्जा गर्दा कान्छो छोरा गुमाएका बखानको जेठो छोरा लालध्वज पनि २०१८ माघमा भएको सशस्त्र विद्रोहमा भरतपुर कब्जाको क्रममा मारिए। आक्रमण सफल भयो; कांग्रेसका सशस्त्र विद्रोहीहरूले भरतपुर विमानस्थल कब्जा गरिसकेका थिए। विद्रोह सफल भएपछि विजयोत्सव मनाइरहेका वेला एक्कासि राजाको सेनाले घेराबन्दी गऱ्यो। पश्चिम एक नम्बर नुवाकोटका कांग्रेस सभापति जगतप्रकाशजंग शाह लगायत २६ जना लडाकुलाई राजाको सेनाले ठाउँको ठाउँ सफाया गऱ्यो। त्यहाँबाट उम्केका लालध्वज भने पुलिमराङमा सुरक्षाकर्मीबाट पक्राउमा परे। त्यसपछि कोत्रेखोलामा ल्याएर उनको हत्या गरियो।
शहीद लालध्वज गुरुङ, २०१८, माघमा भरतपुर कब्जा गर्ने क्रममा मारिएका थिए।
राज्यले सर्वस्वहरण गऱ्यो। बखनापुरको उनको घरमा सेनाले आगो लगाइदिएपछि परिवार, जहान-बच्चाको बिजोग भयो। उनी भागेर भारत पसे; उतै नरकटियागञ्जमा बस्न थाले। त्यसपछि साँच्चै शुरू भयो, बखानसिंहका अझै दुःखका दिन। न लाउने खाने कुरा छ, न त बस्ने बास। यता घरमा आगो लगाइदिएपछि जहान परिवार चिलबिल सबैलाई उतै पुऱ्याए। नरकटियागञ्ज पुऱ्याएपछि अब कसरी पाल्ने त्यत्रो परिवार? निकै कष्टसाथ जीवन गुजारा गर्न थाले, दिनहरू बित्दै थिए।
बखानपुरस्थित बखानसिंहको घर, जहाँ हाल उनका नाति बस्छन्।
भारत प्रवासमै रहेका वेला २०२३ सालमा जिल्ला पुनर्संरचना गर्दा बखानपुर गाउँ पञ्चायतलाई टुक्राएर गुञ्जनगर गाउँ पञ्चायत र शारदानगर गाउँ पञ्चायत बनाइयो। अर्थात्, पञ्चायती रजगजमा बखानपुर नामेट बनाएर शारदानगर नामकरण गरियो। आज चितवनमा ‘बखान बा’ को बखानपुर त्यति सुनिंदैन, जति शारदानगर सुनिन्छ।
२०२५ जेठ २ गते कांग्रेस कार्यवाहक सभापति सुवर्णशमशेरले कलकत्ताबाट विज्ञप्ति जारी गरे। त्यस बखत राजा महेन्द्र बिरामी भएकाले ‘भक्तिपूर्वक सरकारमा सहयोग टक्र्याउने’ भनी आएको राणाको उक्त विज्ञप्तिपछि कात्तिकमा विश्वेश्वरप्रसाद, गणेशमान लगायत बन्दी बनाइएका नेताहरू रिहा भए; भारत निर्वासनमा रहेका सम्पूर्ण नेता/कार्यकर्तामाथि लगाइएका मुद्दा खारेजको निर्णय गर्दै आममाफी दिने घोषणा गरियो। त्यसपछि बखानसिंह परिवार सहित चितौन फर्के। फर्केको दिनको वर्णन ‘बखान’ मा यसरी गरिएको छ, ‘मलाई लिन चितौनबाट मुक्तिलाल चुके, टेकप्रसाद गुरुङ लगायत साथीहरूले विलियम जीप लिएर आएका थिए। उनीहरूले रक्सौलमा मेरो भव्य अबिर जात्रा गरे।’ (पृ.१८७-१८८)
भरतपुर फर्केको केही महीनापछि उनको राजा महेन्द्रसित दियालो बंगलामा भेट भयो। राजाले उनलाई चितवन राष्ट्रिय निकुञ्ज स्थापनामा सहयोग गर्न आग्रह गरे। उनले निकुञ्ज स्थापनासँगै बस्ती, वन र वन्यजन्तु संरक्षणको प्रस्ताव गरे। निकुञ्ज स्थापना कार्य शुरू भयो। अनि, निकुञ्ज नाप-जाँचमा खटिएका तत्कालीन फरेस्टर कर्ण शाक्य र रामप्रित यादवसित मिलेर उनले धेरै काम गरे।
२०३७ वैशाख २० गतेको जनमत संग्रहसम्म बहुदलको पक्षमा उभिएका बखानसिंह २०३८ सालमा राष्ट्रिय पञ्चायत सदस्य उठे; चितवनबाट विजयी भए। त्यो चुनावअघि तत्कालीन कांग्रेस महामन्त्री परशुनारायण चौधरी लगायत ३८ जनाको समूह पञ्चायत प्रवेश गरेका थिए। कांग्रेसमा यस समूहलाई ‘३८ से भाइ’ भनिन्थ्यो, जसमा बखानसिंह, अर्जुननरसिंह लगायत थिए। ती ‘३८ से भाइ’हरूमध्ये ३६ जना २०३८ वैशाख २७ गते सम्पन्न राष्ट्रिय पञ्चायत निर्वाचनमा उम्मेदवार बने। बखानसिंह, परशुनारायण, अर्जुननरसिंह लगायत केही भने चुनाव जितेर मन्त्री पनि बन्न सफल भए। २०३९ सालमा सूर्यबहादुर थापा प्रधानमन्त्री बनेपछि ८४ वर्षको उमेरमा बखान पहिलोचोटि कानून, न्याय तथा भूमिसुधार मन्त्रीमा नियुक्त भए। २०४० सालमा लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री बने; त्यस मन्त्रिपरिषद्मा पनि उनी कानून मन्त्रीमा नियुक्त भए।
यस पुस्तकमा बखानसिंहको बखान मात्र छैन। तनहुँ, लमजुङ, गोरखा, चितवन आदि स्थानको भौगोलिक ज्ञानका साथै सामाजिक, आर्थिक र २००७ देखि २०४० सालसम्मको राजनीतिक उतारचढावको वर्णन छ।
आज चितवन जुन रूपमा गुलजार भएको छ, त्यसमा तिनै ‘बखान बा’ को पसिना सिञ्चित छ भन्ने यथार्थ उपन्यास पढिसकेपछि छर्लंग हुन्छ। चितवनको बस्ती विकास, चितवन राष्ट्रिय निकुञ्जको स्थापना‚ थारू जातिको जीवनशैली, शिकारका कुरा र मलेरियासित जुधेर बाँचेकाहरूको जीवनशैलीको चित्रण पुस्तकको अर्को महत्त्वपूर्ण पाटो हो। वसन्त पराजुलीले ‘बखान बा’लाई प्रमुख पात्र बनाएर सरल शैलीमा सिर्जना गरेको यो ऐतिहासिक उपन्यास पठनीय छ।
तनहुँ पुलिमराङस्थित बखानसिंहको जन्म गाउँमा निर्माण गरिएको शहीद पार्क।
शिखा बुक्सले बजारमा ल्याएको यस ऐतिहासिक उपन्यास ‘बखान’ सरल, सरस र सलिल शैलीमा आत्मपरक ढंगले रचिएको छ। यति सरल भईकन पनि यो उपन्यास आद्योपान्त पढिसक्दा पृष्ठ ७३ को तेस्रो अनुच्छेदमा ‘२००८ सालमै महासभा सदस्य’ उल्लेख गरिनु त्रुटिपूर्ण छ। उही त्रुटि पृष्ठ २३७ को अन्तिम अनुच्छेदमा पनि दोहोरिएको छ। त्यस बखत बखानसिंह महासभामा मनोनीत नभई सल्लाहकार सभामा मनोनीत भएका थिए। पृष्ठ १०२ को तेस्रो अनुच्छेदमा पनि त्रुटि रहेको छ, त्यहाँ जगतप्रकाशसिंह शाह भनिएको छ, खासमा जगतप्रकाशजंग शाह हुनुपर्ने हो। पृष्ठ ११३ को दोस्रो अनुच्छेदमा ‘ट्राफिक तामाङ’ भनिएकोमा ‘टापी तामाङ’ हुनुपर्छ। पृष्ठ २२८ को अन्तिम अनुच्छेदमा बेलायती भारतीय शासक ‘गर्ड माउन्ड बेटेट’ नभई ‘लर्ड माउन्ट बेटन’ हुनुपर्छ। यसै गरी एकाध ठाउँमा मुद्रा राक्षसले सताएको सुधी पाठकले सहजै अनुभूति गर्छन्। यी कमीकमजोरीका बावजूद २००७ देखि २०४० सालसम्मको इतिहासलाई लेखकले पढूँ–पढूँ लाग्ने गरी पस्केकोमा साधुवाद।