म्यानपावर कम्पनी ‘टेस्ला ओभरसिज प्रालि’बाट लगिएका कामदार साउदीमा ९ र दुबईमा १७ जना अलपत्र छन्, उद्धार गर भन्दै गुहार मागिरहेका छन्, तर सरोकारवाला कोही सुनिरहेका छैनन्।’
यही कात्तिक २२ गते शनिवार दिउँसो ३ बजे म्यासेन्जरमा रिङ टोन बज्यो। उताबाट फोन गर्ने सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ४ मधुवापुरका सरोजकुमार मण्डल थिए, जो साउदीको दमामबाट बोलिरहेका थिए। मण्डलको आवाज भक्कानिएको थियो– ‘दिदी, मैले तीन दिनदेखि केही खाएको छैन, तलब पनि पाएको छैन। मलाई छिटो उद्धार गरिदिनुस्।’ मण्डललाई उनको नाता पर्नेले मलाई सम्पर्क गर्न भनेका रहेछन्। मण्डलसँग अरू पनि थिए। तिनीहरूमध्ये गोरखाका ३० वर्षीय नवराज गुरुङ बोले– ‘हामी पानी पिएर बाँचेका छौं, छिटो नेपाल फर्किन चाहन्छौं।’ सरोज र नवराज सहित ११ जना (९ नेपाली २ भारतीय) लाई कात्तिक १३ गतेदेखि दमामको साँघुरो कोठामा थुनेर राखिएको भन्दै तिनी रोइरहेका थिए। उनीहरूलाई मैले समस्या कसरी शुरू भएको हो, विस्तारमा कुरा राख्न अनुरोध गरें।
कथा यस्तो छ–
बिहान-बेलुका हातमुख जोर्न धौधौ पर्ने आर्थिक अवस्थाका २९ वर्षीय मण्डलले सात महीनाअघि विदेश जाने निधो गरे। सप्तरी कंचनरुप नगरपालिका वडा नं. २‚ बरमझियाका विदेश पठाउने ‘एजेन्ट’ मोहम्मद हुल्ला र उनका छोरा असरद मार्फत गाउँका धेरै साथी अरब गइसकेका थिए, उनले पनि त्यसै गरे। आठ वर्षका छोरा र चार तथा दुई वर्षकी छोरीलाई राम्ररी पढाउने योजना सहित ७ महीनाअघि मण्डल काठमाडौं हिंडे।
असरदले काठमाडौंको सिनामंगल–९ स्थित म्यानपावर कम्पनी ‘टेस्ला ओभरसिज प्राइभेट लिमिटेड’सँग सम्पर्क गराइदिए। साउदीमा ‘एलिट नीट अपरेसन एण्ड मेन्टिनेन्स इस्टाब्लिस्मेन्ट’ कम्पनीमा ‘क्लिनर’का रूपमा काम गर्न रु.२ लाख ३० हजार लाग्ने भनियो। मण्डल घर फर्किए, छिमेकी र आफन्तसँग सयकडा तीन रुपैयाँ ब्याजमा रु.तीन लाख ऋण काढीवरी काठमाडौं फर्किए।
उनलाई म्यानपावर नजिकै रहेको ‘लाइफ ट्रस्ट मेडी डाइग्नोस्टिक प्राइभेट लिमिटेड’ मा लगेर मेडिकल गराइयो। मेडिकल गरेपछि पहिलो किस्ता रु.६० हजार र दोस्रोमा रु.४० हजार गरी एक लाख नगद मोहम्मद हुल्लालाई बुझाए। मण्डल भन्छन्, ‘मैले बैंक मार्फत दिन्छु भन्दा उनले नगद नै मागे।’ मेडिकल गरेको १५ दिनपछि उनको भिसा आयो।
१४ अप्रिल‚ २०२५ मा उनलाई साउदी उडाइने भयो। १३ तारिखमा असरदले अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सिनामंगलमा रहेको म्यानपावर कम्पनीमा लगी निर्देशक विनोद बिष्टसँग चिनाजानी गराइदिए। त्यहाँ मण्डल जस्तै साउदी उड्न तम्तयार भई बसेका गोरखाका नवराज गुरुङ सहित २४ जना युवा थिए। त्यस रात बुझाउन बाँकी रहेको रु.१ लाख ३० हजार नगद असरदलाई दिई भोलिपल्ट नवराज २५ जनाको टोलीसँग साउदीका लागि उडे। ती सबैलाई रियादस्थित रोजगारदाता कम्पनी ‘एलिट नीट अपरेसन एण्ड मेन्टिनेन्स इस्टाब्लिसमेन्ट’ का निम्ति अनुबन्ध गरिएको थियो।
सम्झौता छ, काम छैन
रियाद विमानस्थलबाहिर कम्पनीका दुई जना मान्छे पर्खिरहेका थिए। मण्डलका अनुसार, उनीहरूले ती सबैको पासपोर्ट नियन्त्रणमा लिए। त्यसपछि सबैलाई दुई वटा कोठामा लगेर राखियो। तीन महीनासम्म उनीहरूलाई न काम दिइयो, न तलब। खाना खर्च भन्दै हप्तामा १० रियाल (रु.३७७) दिइन्थ्यो। मण्डल भन्छन्, ‘त्यतिले खान पुग्दैन थियो। हामीले पटक पटक एजेन्टलाई भन्यौं, जहिले पनि एडजस्ट गर मात्रै भन्थ्यो, कम्पनीले पनि सुनेन।’ पासपोर्ट कम्पनीले राखेको हुनाले बाहिर निस्कन मिल्ने अवस्था थिएन। साउदीको नियम अनुसार बाहिरबाट काम गर्न गएकाहरूसँग पार्सपोर्ट हुनुपर्छ वा कम्पनीको कार्ड चाहिन्छ। तीन महीनापछि कम्पनीले अस्थायी कार्ड बनाइदियो। त्यसपछि ९ जना नेपाली र २ जना भारतीय नागरिक गरी ११ जनालाई साउदीको दमाममा पुऱ्याई चार महीना सम्झौता विपरीत बाटो सफा गर्ने काममा लगाइयो।
दाङका प्रेमबहादुर घर्ती मगरसँग सबै कागजात छ‚ काम छैन।
जुलाई महीनामा २९ दिन काम गरेको ९६० (रु.३६ हजार) रियाल दियो। अगस्ट महीनामा ३० दिन काम गरेको १‚२०० (रु.४५ हजार) रियाल दियो। सेप्टेम्बर र नोभेम्बरको तलब नपाएको बताउने नवराज गुरुङ भन्छन्, ‘हाउस किपिङ भनेर ल्याएको हामीलाई बाहिरको तातो घाममा जोताए पनि काम गर्यौं। तर, कम्पनीले त्यही काम पनि दिएन।’
हिमालखबर लाई प्राप्त कागजात अनुसार, कम्पनीले कामदारसँग गरेको सम्झौता पत्रमा कार्यालय र सरसफाइको काम दैनिक ८ घण्टा‚ हप्ताको छ दिन गरी ४८ घण्टा गर्नुपर्ने भनिएको छ, जसबापत मासिक न्यूनतम तलब १ हजार रियालका साथै स्वास्थ्य बिमा लगायत अन्य बिमा, खान र बस्ने सुविधा छ। करार अवधि दुई वर्षको राखिएको छ। करार अवधि समाप्त भएपछि हवाई टिकट निःशुल्क दिइने भनिएको छ। त्यसको आधारमा वैदेशिक रोजगार विभागले सन् २०२५ अप्रिल ७ मा स्वीकृति दिएको देखिन्छ, जसको अन्तिम मिति सन् २०२७ अक्टोबर ३ तारिखसम्म छ।
८ जनाको कागजपत्र हेर्दा कामदारले सबै प्रक्रिया पूरा गरी श्रम स्वीकृति लिएको देखिन्छ। सरसफाइ सम्बन्धी काममा जान भनी २०२५ अप्रिल ७ मा मण्डल सहित गुल्मीका श्यामबहादुर विक, बर्दियाका सरोज गुरुङ, गोरखाका नवराज गुरुङ, गुल्मीका गोविन्द विश्वकर्मा, झापाका प्रकाश उप्रेतीले विभागबाट श्रम स्वीकृति लिएका छन्। महोत्तरीका सरफराज अहमद र दाङका प्रेमबहादुर घर्ती मगरले अप्रिल २० मा विभागबाट श्रम स्वीकृति पाएका छन्, जसमा करार अवधि २०२७ अक्टोबर १७ सम्म छ।
VIDEO
म्यानपावर भन्छ, ‘फ्री’
साउदीमा बिचल्लीमा परेका ९ जना युवा विभिन्न ‘एजेन्ट’का माध्यमबाट ‘टेस्ला म्यापावर’सँग जोडिन आइपुगेका थिए। गुल्मीका श्यामबहादुर विक र गोविन्द विकले गुल्मी‚ पुर्कोटका अरुण भुसाललाई रु.२/२ लाख, बर्दियाका सरोज गुरुङ र दाङका प्रेमबहादुर घर्ती मगरले दाङकै टेकबहादुर मल्ललाई २/२ लाख, गोरखाका नवराज गुरुङले गोरखाकै कृष्ण सुनारलाई रु.२ लाख १० हजार, झापाका प्रकाश उप्रेतीले झापा बिर्तामोडका रोशन उप्रेतीलाई रु.२ लाख ५० हजार र महोत्तरीका सरफराज अहमदले महोत्तरीकै हाल काठमाडौं नयाँ बजार बस्ने अदीप शाहलाई रु.१ लाख ७५ हजार नगद बुझाएको बताउँछन्।
पीडितका कुरा सुनिसकेपछि कात्तिक २५ गते म सिनामंगलस्थित म्यानपावर कार्यालय पुग्दा निर्देशक बिष्ट २०–२५ जना युवासँग ‘डिल’ गरिरहेका थिए। कोही अन्तर्वार्ताका लागि लाइनमा थिए, बिचल्लीमा परेर फर्किएकाहरू आफ्ना गुनासा सुनाइरहेका थिए।
राजेश्वर यादव र विनोद बिष्ट (दायाँ).
एकछिनपछि उनले मलाई भित्रपट्टि रहेको गोप्य कोठामा लगे, जहाँ कम्पनीका अध्यक्ष राजेश्वर यादव बाहिर भइरहेका गतिविधि सीसीटीभी क्यामेरामा नियाल्दै बसिरहेका थिए। मेरो प्रश्न सुन्नासाथ यादवले जंगिदै भने– ‘कुनै समस्या छैन, समाधान भइसक्यो।’ मैले उनलाई बिचल्लीमा परेकाहरूसँगको संवादबारे बताएपछि आक्रोशित हुँदै भने– ‘पहिला वैदेशिक रोजगार विभागबाट अनुमति पत्र लिएर आउनोस्, त्यसपछि मात्र कुरा गर्छु।’
त्यहाँ निर्देशक बिष्टले गत हप्ता रियादस्थित कम्पनी खारेज भएर २४ घण्टा मात्र समस्या आएको र अहिले सबै काममा लागिसकेको बताए, जबकि हिमालखबरको सम्पर्कमा रहेकाहरू अहिलेसम्म अलपत्र छन्। तिनलाई दमामबाट कात्तिक २४ गते राति १२ बजे रियाद फिर्ता गरेर कोठामा थुनिएको छ, तर काममा लगाइएको छैन।
बिष्टले साउदीमा बिचल्लीमा परेका युवासँग कुनै शुल्क नलिएको र म्यानपावरको कुनै एजेन्ट नभएको दाबी गरे। उनले भने– ‘नेपाल सरकारले पैसा नलिई पठाउनु भनेको छ, हामीले कहाँ पैसा लिनु?, फ्रीमा पठाएको हो, हाम्रो कुनै एजेन्ट छैन।’ तर मण्डलका ‘एजेन्ट’ हुल्ला र नवराज गुरुङका ‘एजेन्ट’ कृष्ण सुनार आफूहरूले लिएको रकमबाट केही ‘कमिशन’ राखेर सबै म्यानपावरलाई बुझाएको बताउँछन्। हुल्लाले फोनमा भने– “पैसा नपाई म्यानपावरले कहाँबाट उडाउँछन्!”
श्रम तथा रोजगार मन्त्रालय (राज्यमन्त्री स्तरीय) निर्णयबाट २०७२ जेठ २६ मा निर्णय भई खाडीका ६ मुलुक र मलेशियाका लागि ‘फ्री टिकट र भिसा’ लागू भए पनि कामदारहरू लाखौं रकम तिर्न बाध्य छन्। वैदेशिक रोजगार सम्बन्धी परियोजनामा लामो समय काम गरेका अधिवक्ता सुदीप देवकोटा पनि नियमअनुसार कामदारबाट सेवा शुल्क बाहेक रकम लिन नमिल्ने भएकाले कारबाहीबाट पन्छिन तेस्रो व्यक्ति मार्फत रकम असुल्ने गरेको बताउँछन्। यसैगरी वैदेशिक रोजगार विभागका प्रवक्ता चन्द्रबहादुर शिवाकोटी भन्छन्– “नेपाल सरकारको निर्णय अनुसार कामदारबाट वैदेशिक रोजगार सेवा शुल्क बापत रु.१० हजार मात्रै लिन पाइन्छ, त्यो बाहेक अन्य कुनै पनि शुल्क लिन मिल्दैन।”
कामदार पठाउने मुलुकका एजेन्ट र म्यानपावर व्यवसायीले टिकट र भिसा बापतको खर्च भन्दै वैदेशिक रोजगारमा जाने कामदारसँग मोटो रकम असुल्दै आएका छन्। गैरकानूनी रूपमा लिएको यस्ता रकम म्यानपावर कम्पनीले सिधै नलिई एजेन्ट मार्फत लिन्छन्। ती एजेन्टले कामदारबाट नगद लिन्छन्। बैंकिङ प्रक्रियाबाट पैसा लिंदा भविष्यमा कामदारलाई समस्या आइपर्दा कानूनी प्रक्रियामा जाने हुँदा त्यसबाट बच्न म्यानपावर कम्पनीले तेस्रो व्यक्तिबाट पैसा लिने गर्छन्। ‘टेस्ला ओभरसिज प्राइभेट लिमिटेड’ले त्यही बाटो अपनाएको देखिन्छ।
उजुरी नै उजुरी
२०८० जेठ २५ गते दर्ता भएको टेस्ला म्यानपावर कम्पनी विरुद्ध ठगी सम्बन्धी उजुरी आएको यो पहिलो घटना भने होइन। साउदी, कतार, मलेशिया, यूएई, कुवेत र ओमनमा कामदार पठाउने यस कम्पनी विरुद्ध उजुरीका चाङ नै छन्।
टेस्ला विरुद्ध वैदेशिक रोजगार विभागमा यस्ता थुप्रा उजुरी परेका छन्।
२५ गते मंगलबार सिनामंगलस्थित कम्पनीको कार्यालय पुग्दा साउदीमा दुःख पाएर एक हप्तामै फर्किएका गुल्मीका अन्दाजी २२ वर्षीय विनोद अर्याल र परिचय खुलाउन नचाहने एक जना त्यस्तै पीडित भेटिए, जो अलपत्र परेपछि एक सातामै स्वदेश फर्किएका थिए, त्यसै दिन। पैसा फिर्ता माग्न म्यानपावर आइपुगेका विनोदले भने, “यो कम्पनीले राम्रो काम लगाइदिन्छु भनेर ठग्यो।”
त्यही दिन कम्पनी परिसरमा सिरहा नगरपालिका–९ का पाण्डे यादव भेटिए, जो ९ महीनादेखि रकम फिर्ता लिन कम्पनीमा धाइरहेका छन्। २९ वर्षीय यादवलाई २०८१ पुसमा होटेलको ‘क्लिनर’ को रूपमा काम गर्न भनी साउदी लगिए पनि त्यहाँ उनलाई भारी बोक्ने काममा लगाइएको थियो। उनी भन्छन्, “त्यही काममा पनि राखिएन, २५ दिनमा नेपाल फर्काइदियो।” त्यतिवेला पाण्डेले सयकडा रु.३ का दरले (३६ प्रतिशत) ब्याजमा रु.२ लाख २५ हजार ऋण काढेर सिरहा नगरपालिका–१८ का एजेन्ट पवन भन्ने सन्तोष यादवलाई रकम बुझाएका थिए। उनले भने– “पैसा फिर्ता माग्दा न म्यानपावरले दिन्छ, न त एजेन्टले नै सुन्छ।”
टेस्लाबाट रोजगारीका लागि गएका दुबईको आवुधावीमा ३ महीनादेखि अलपत्र परेका महोत्तरीका ३४ वर्षीय राजेशकुमार साहका भाइ रवीन्द्र कात्तिक २५ गते विभागमा म्यानपावर कम्पनी विरुद्ध उजुरी दर्ता गराउन आइपुगेका थिए। २६ गते राति ह्वाट्सएपमा कुरा गर्दै दुबईबाट राजेशले भने– “दुई जना बंगालीले कोठामा ल्याएर राखिदिए, न नोकरी छ, न त कम्पनी चिनेका छौं।” त्यसरी बिचल्लीमा पर्ने ४५ जनामध्ये १७ जना टेस्ला मार्फत गएका राजेशले बताए।
यसअघि गत असोज ७ गते विभागमा टेस्ला विरुद्ध वैदेशिक रोजगारीमा कतार र साउदी पठाएर करार अनुसार काम, तलब सेवा-सुविधा नदिएर बिचल्लीमा परेकोले उद्धार गरी क्षतिपूर्तिको मागदाबी सहित छुट्टाछुट्टै उजुरी परेको छ। त्यस्तै कात्तिक २० गते पनि सो कम्पनी विरुद्ध उजुरी परेको छ। वैदेशिक रोजगार विभागको राहत तथा उद्धार समन्वय शाखाका अधिकृत ध्रुव देवकोटाका अनुसार, विभागमा म्यानपावर कम्पनी टेस्ला विरुद्ध १३ वटा उजुरी परेका छन्, जसमा दर्जनौं मान्छेलाई विदेशमा लगी बिचल्ली पारिएको छ। धेरै उजुरी परेपछि गत कात्तिक २० गते म्यानपावर कम्पनीले वैदेशिक रोजगार विभागमा पत्र पठाइ दुबईको ‘नेसनल प्रोजेक्ट सर्भिस’ भन्ने कम्पनीमा पठाएको कामदारलाई परेको समस्या ४५ दिनभित्र समाधान गरिदिने भन्दै प्रतिबद्धता पत्र पठाएको छ, जसमा टेस्ला मार्फत गएका १७ जना युवा अलपत्र छन्। तर कम्पनीका निर्देशक विनोद बिष्ट भने कम्पनी विरुद्ध कुनै उजुरी नपरेको दाबी गर्छन्।
भ्रष्टाचार बढेकोले सुशासन ल्याउन भन्दै नवयुवा सडकमा ओर्लिएको धेरै भएको छैन। तर, मासिक रु.३० हजारका निम्ति दुई/तीन लाख ऋण काढेर घरपरिवार पाल्न खाडी मुलुक जाने गरीब नवयुवा पाइला-पाइलामा ठगिएका छन्, पैसा तिरेर काम गर्छु भन्दा समेत पाइरहेका छैनन्। टेस्ला जस्ता म्यानपावर कम्पनीहरूले खुल्लमखुला ठग्दा समेत सरोकारवालाहरूको ध्यान यसमा पुगिरहेको देखिंदैन। २६ गते राति म्यासेन्जरमा कुरा गर्दा नवराज निकै आत्तिएका सुनिन्थे। उनले भने– “मुदिर (मालिक) ले फोन उठाउँदैन। काम नदिने भए घर फर्काइदेऊ भन्दा कम्पनीले हामीलाई उल्टै थर्काउँछ। अब अति भयो। नेपाल फर्काएन भने भागेर भए पनि निस्किन्छु।’