प्रकृतिका सम्पूर्णतामाथि मान्छे मात्रको अधिकार रहेजस्तै दोहन गर्दै जाने हो भने एक समय मान्छे मात्रै होइन, पृथ्वी नै नरहन सक्छ। अतः प्रकृति जोगाउने प्रमुख दायित्व हामी मानवकै हो।
लेखक सुब्बा
मानव इतिहासमा खानाको स्थान सधैं उँचो छ तर मान्छेको खाना–इतिहासका मोडबारे साङ्गोपाङ्गो वर्णन गर्नु उति सहज काम होइन। विस्तृत र गम्भीर अनुसन्धान विना खाद्य–संस्कृति पर्गेल्न सकिंदैन। मानव सभ्यताले इतिहासका चरणमा भौगोलिक र ऐतिहासिक आवश्यकता अनुसार अनेक ज्ञान, मान्यता र संस्कृतिको विकास गरेको छ। पछिल्लो समय मासु खानु ठीक हो कि होइन भन्नेबारे नयाँ बहस उठ्ने गरेको छ। एक पात्रको माध्यमबाट यही बहसमा भाग लिएकी छन्, कोरियाली लेखक हान काङले। लेखकले उपन्यास ‘द भेजिटेरियन’लाई माध्यम बनाइ मांस–विमर्श गरेकी छन् तर उपन्यास मांसाहार-बहसमा मात्रै सीमित छैन।
सन् २०१६ को ‘द म्यान बुकर इन्टरन्याशनल प्राइज’ पाएसँगै थाहा पाएकी हुँ, हान काङद्वारा लिखित उपन्यास ‘द भेजिटेरियन’ र पात्र योङ्ह्येबारे धेरथोर चर्चा सुनेपछि उपन्यास पढ्ने हुटहुटी बढेको थियो। कोरियाली भाषामा लिखित उपन्यासलाई बेलायती अनुवादक डेबोरा स्मिथले अंग्रेजी भाषामा अनुवाद गरेपछि यस उपन्यासको चर्चाको दायरा फैलियो। प्रवीण अधिकारीद्वारा नेपाली भाषामा अनूदित ‘भेजिटेरियन’लाई बुकहिलले बजारमा ल्याएसँगै नेपाली पाठकमाझ यी लेखक र उनको उपन्यास विमर्शका विषय बनेका छन्। तीन छुट्टाछुट्टै शीर्षक सहितको खण्डमा संरचित उपन्यासमा सामान्य जनको जीवन असामान्य ढंगले बिथोलिएको छ जसको सामना गर्न ठूलै साहस, धैर्य र मानवता चाहिन्छ।
‘द भेजिटेरियन’ उपन्यासकी मुख्य पात्र योङ्ह्येले जनावरका रगत र मासुबीच जेलिएको परिदृश्यमा आफूलाई पाशविक रूपमा पाएको शृंखलाबद्ध सपनाका कारण उनले आफ्नो जीवनशैली शाकाहारी मार्गतिर लैजाने निर्णय त गर्छिन् तर यो बाटो परिवारका लागि स्वीकार्य हुँदैन। उनलाई मासु खानका लागि फकाउने र सम्झाउने काम गरिन्छ, करकाप नै गरिन्छ। कुनै खाना खाने या नखाने जस्तो वैयक्तिक चाहना र अधिकारको कुरामा पनि परिवारले दिएको दबाब हामी पाठकका लागि अनौठो प्रतीत हुन्छ। उपन्यासमा उनीहरूको संवादसँगै पाठक जब अघि बढ्दै जान्छ, यस्तो लाग्छ–सम्बन्धित पात्रहरूको समुदायगत देशकाल तथा परिवेशमा मासु नखानु अपराध वा कुनै अनौठो घटना हो। पारिवारिक पहल जतिसुकै बलियो रहे पनि योङ्ह्येले मासु खानेबारे नकारभाव प्रकट गरिरहन्छिन्। उनले आगतमा मासु नखाने संकल्प त गरिन् नै, साथै विगतमा मासु खाएका दृश्यहरू सम्झना गर्दा मात्रै समेत उनलाई हृदयमा अदृश्य पीडाबोध हुन थाल्छ, जलन हुन थाल्छ। मांसाहारको रूपमा प्रयोग गरिएका जनावरका ‘आत्मा’ आफूभित्र जेलिएको भानले उनको मानसिकतालाई निकै नमिठोसँग गिजोल्छ। एकप्रकारको जटिल मानसिक अवस्था झेल्न विवश हुन्छिन्। यस जटिल मनोद्वन्द्वको समाधान कसैले गर्न नसक्ने निष्कर्षमा पनि पुग्छिन्। एक दिन पारिवारिक खानपिन कार्यक्रममा जंगली जनावरलाई लगाम लगाए झैं उनलाई समातेर जबरजस्ती मुखमा मासु कोचाउने प्रयत्न गरिन्छ। योङ्ह्येका स्वभाव खुला खालको हुन्छ। कतिपय भित्री लुगाले आफूलाई बाँधिएको महसूस गर्ने हुँदा सार्वजनिक भेटघाटमा समेत बन्धनतुल्य त्यस्ता लुगा नपहिरिने उनका लागि पाखुरा समातेर जबरजस्ती मुखमा मासु ठोसिदिनु असह्य हुन्छ र प्रतिक्रिया स्वरूप आफ्नो नाडी काटेर विद्रोह गर्छिन्। यस दृश्यले पाठकलाई समेत पीडा महसूस गराउँछ।
‘नीलडाम’ शीर्षकको दोस्रो खण्डमा योङ्ह्येको भिनाजु मुख्य पात्रका रूपमा आएर कथाको बहावलाई गति दिएका छन्। कला-साहित्य पढेका, चित्र बनाउने र भिडियोग्राफरका रूपमा वर्णन गरिए पनि उनले लामो समयसम्म कुनै सिर्जना गर्न सकेका छैनन्। जब आफ्नी पत्नी मार्फत सालीको बर्थमार्कबारे थाहा पाउँछन्, उनीभित्रको निराकार नीलो कलाले आकार लिन्छ। सिर्जनात्मक महत्त्वाकांक्षाले आफ्नो विगतको सिर्जनाप्रति हुने स्वतन्त्रता र स्पष्टतालाई एकाएक खुम्चाएर राखिदिन्छ। उपन्यास विधाको पाठक हुनुको नाताले मेरा लागि त्रासद अनुभूतिको कारण पनि उनै हुन्। मनमा उठेको योङ्ह्येप्रतिको भाव प्रेम हो वा अरू नै केही भन्ने निश्चितता उनमा छैन। नेपाली समाजमा प्रचलित ‘साली मन पर्ने’ प्रकारको मनोविज्ञान निकट लाग्छ, उनको भाव। सालीबाट ऊर्जा प्राप्त भएको ठान्छन् उनी। पत्नीको तुलनामा ‘कुरूप’ भए पनि उनको समग्रताले आकर्षित हुन्छन्। अर्कातिर सालीको बर्थमार्क थाहा पाउनुभन्दा अगाडि सालीको उपस्थिति-अनुपस्थितिले केही फरक पारेको छैन।
काेरियाली लेखक हाङ काङ / तस्वीर : काश्मिरलाइफडटनेट
‘ज्वलन्त रूखहरू’ शीर्षक खण्डमा योङ्ह्योकी दिदी इन्ह्ये मुख्य चरित्रका रूपमा आएकी छन्। मानसिक सन्तुलन गुमाएपछि परित्यक्त योङ्ह्येलाई केवल उनले स्वीकार गरेकी छन्। बहिनीप्रति उनको अथाह प्रेम, सहानुभूति र कर्तव्यपरायणता मानव सभ्यताका लागि उदाहरणको रूपमा पेश गर्न सकिन्छ। एक पटक योङ्ह्ये अस्पतालबाट हराउँछिन्। दिनभरि पानी परिरहेको समय योङ्ह्येलाई वनमा भेट्टाइएको खबर फोनबाट आउँछ। दिनभरिको झरी त्यस वनमा पनि निरन्तर होला भन्ने कल्पेर बहिनी सम्झँदै निथ्रुक्क हुन्छिन्। उन्नाइस वर्षकै उमेरमा जीवन र भविष्य पहिल्याउन दक्षिण कोरियाको राजधानी शहर सोल हिंडेकी इन्ह्ये जीवनप्रति सकारात्मक ऊर्जा भएकी संघर्षशील पात्र हुन्। उनको प्रेम, तार्किकता र अस्तित्वचेतले ऊर्जा सिञ्चित गर्छ, पाठकको हृदयभरि। उनी असल पात्र हुन्, तर उनको असलपन पनि अपराध जस्तो लाग्छ। उनले हरेक भूमिकामा आफूलाई उत्कृष्ट साबित गरेकी छन्, यतिसम्म कि– भूमिगत रेलको छोटोभन्दा छोटो दूरीको यात्रीका हैसियतमा पनि। उपन्यासको अन्तिम पृष्ठमा आफ्नी बहिनीको कानैमा भन्छिन्, ‘मैले पनि सपना देख्छु, बुझ्यौ? सपना... र आफूलाई तिनमा बिलाउन सक्थें मैले पनि, तिनलाई हावी हुन दिन सक्थें... तर पक्कै पनि सपना मात्रै सबैथोक होइन होला। कुनै वेलामा पुगेर हामी सपनाबाट ब्युँझिनु पनि पर्छ नि, हैन? किनभने... किनभने नत्र त... !’ अति स्वैरकाल्पनिक उपन्यासको वास्तविक र जीवन्त पात्र हो, इन्ह्ये।
सामान्य विषय वा घटनाबाट शुरू भई क्रमिक रूपमा गहिरो पीडाबोध गराउने स्वैरकाल्पनिक उत्कर्षतिर बढ्दै जाँदा संवादहरूमा विचलन जस्तो महसूस हुन्छ। कारण के होला भनी गम खान्छु। अनुवाद भएर आउँदा कहीं भावहरू खण्डित त भएनन्? कि पाठकका रूपमा मेरो बोधात्मकता बोधो भयो? उपन्यासको दोस्रो खण्डमा भएको घटना र विषयलाई कतिपय पाठकले सहजै अनुमान गर्न सक्छन्। पत्नीबाट यौनेच्छा पूरा नहुनाले आफूलाई पीडित महसूस गर्ने चियोङ महिलालाई भोग्यावस्तु र कुशल भान्छेको रूपमा मात्र स्वीकार गर्ने पुरुषप्रधान समाजको प्रतिनिधि पात्र हो। लाग्छ, उनका लागि जीवन औपचारिता हो जसलाई केवल पूरा गर्नुछ। उनले आफ्नो पत्नीको अन्तर्य बुझ्न चाहेका छैनन् कहिल्यै। कथाकी मुख्य पात्र योङ्ह्येले स्वतन्त्रता चाहेकी छन् र त्यसका लागि विद्रोह पनि गरेकी छन्। यसकारण एउटा असल मान्छेको जीवन तहसनहस भएको छ, त्यस्तो स्वतन्त्रता र विद्रोह केका लागि? उनैको जीवन सम्झना गर्दा मस्तिष्क र मांसपेशी दुखेर आउँछ। योङ्ह्येले माछामासु त्याग्नु सामान्य होला तर दैनिक जीवनमा सहभागी नहुनु, आफूभित्रै आफूलाई कैद गर्नु सोचनीय छ। उनी मानसिक अस्पताल भर्ना भएकी छन्। कालान्तरमा उनको अवस्था हृदयविदारक बनेको छ। अबोध मनस्थितिले भोगेको विभेद र वैयक्तिक स्वतन्त्रता माथिको हस्तक्षेप कति प्रत्युत्पादक बन्छ भन्ने यथार्थ राम्रोसँग उजागर गरेको छ, ‘भेजिटेरियन’ले।
जीवनदेखि विरक्तिएर शाकाहारी बनेकी केटीको बारेमा लेखिएको उपन्यास भनेर यो किताब पढ्न उत्साहित पाठकलाई योङ्ह्येको क्रियाकलापले निराश बनाउँछ तर उपन्यासले हिंसा, मान्छेले पर्यावरणमाथि गरेको दोहन विरुद्ध हामीलाई विचार गर्न परोक्ष आह्वान गर्छ। प्रकृतिका सम्पूर्णतामाथि मान्छे मात्रको अधिकार रहेजस्तै दोहन गर्दै जाने हो भने एक समय मान्छे मात्रै होइन, पृथ्वी नै नरहन सक्छ। अतः प्रकृति जोगाउने प्रमुख दायित्व हामी मानवकै हो। हान काङले यस उपन्यास मार्फत हामीलाई गरेको अपील यही हुनुपर्छ। ‘भेजिटेरियन’का पात्र, संवाद र स्वैरकल्पना सबै निमित्त मात्रै हुन्।