पश्चिमा मुलुकहरूमा प्रियतावादी दक्षिणपन्थले जरा गाड्दै गएकोमा जरा नै उखेल्ने गरी प्रस्तुत माम्दानीको प्रयोग विश्वभरिकै राजनीतिज्ञ र विश्लेषकका लागि हेर्न अनि बुझ्न लायक छ।
अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले उग्र, अराजक, एकलकाँटे राजनीति गरिरहँदा समेत विपक्षी नेताहरूले उनलाई प्रतिरोध गर्न नसकिरहेको वेलामा न्यू योर्क शहरमा एउटा युवा राजनीतिज्ञ उदाए– जोहरान क्वामे माम्दानी। युगान्डामा जन्मिएका दक्षिण एशियाली मूलका माम्दानी संयुक्त राज्य अमेरिकाको न्यू योर्क राज्यमा भुइँ तहको राजनीति गर्दै अगाडि बढेका हुन् र आज न्यू योर्क शहरको मेयरका दावेदार छन्।
माम्दानीले ‘सोसल डेमोक्रेसी’लाई आफ्नो राजनीतिक दर्शन भन्छन्। नेपालको सन्दर्भमा यस दर्शनलाई विश्वेश्वरप्रसाद कोइराला लगायतले प्रतिपादन गरेका थिए। माम्दानी लोकतान्त्रिक धारको हुँदाहुँदै पनि ट्रम्पदेखि मेयरका प्रतिस्पर्धीले उनलाई ‘कम्युनिस्ट’ भन्दै आएका छन्, जुन शब्दलाई अमेरिकी मूलधारको राजनीतिमा लाञ्छनाको रूपमा लिइन्छ। फलस्तीनको गाजामा इजरायलले गरेको आम सफायाबारे निर्धक्क बोल्ने उनलाई ‘यहुदी विरोधी’ भन्ने धेरै छन्। माम्दानीले विपन्न, असहाय, बालबालिका र वृद्धको आवश्यकतालाई सम्बोधन गर्ने शहरी व्यवस्थापनको चर्चा गरिरहँदा प्रतिस्पर्धीहरूले धनाढ्यहरूबीच हाउगुजी सिर्जना गरेर उनलाई हराउने प्रपञ्च रचिरहेका छन्।
सबैभन्दा महत्त्वपूर्ण कुरा– माम्दानीले आफ्ना विरुद्ध आएका कडा सवालमा समेत शालीनताका साथ हाँसीहाँसी वाक्चातुर्य र तर्क सहित स्पष्ट उत्तर दिन्छन्। सार्वजनिक टेलिभिजन बहसबाट उनी हच्कँदैनन् भने पत्रकारसामु सदैव खुला छन्, आम नागरिकसँग सडकमा स्पष्ट सवाल-जवाफ गर्न पछि हट्दैनन्। गालीका झटाराहरूलाई पनि सहजै सामना गर्छन्। विषयवस्तु, दर्शन र सिद्धान्तमा उनको पकड, बलियो सार्वजनिक सम्पर्क र नवीनतम सामाजिक सञ्जालको चुस्त प्रयोगले उनको निर्वाचन अभियान प्रखर ढंगले अघि बढिरहेको छ।
लोकरिझ्याइँ र अधिनायकवादले नेपाल मात्रै होइन, विश्वराजनीति नै एक किसिमले संक्रमित छ। यस्तो वैश्विक परिवेशबीच माम्दानीको राजनीतिक कौशलले सही र लोकतान्त्रिक बाटो देखाएको भान हुन्छ। नेपालमा एकातर्फ नवयुवाको राजनीतिक चासो ‘जेन्जी आन्दोलन’ यता बढिरहेको छ भने स्थापित दलका दोस्रो र तेस्रो तहका नेता अग्रपङ्क्तिमा बढ्ने होडमा छन्। यस सन्दर्भमा सात समुद्रपारका माम्दानीका तौर-तरीकामा हाम्रा लागि पनि अनुकरणीय केही कुरा हुन सक्छन्। मुख्यतः आफ्नो राजनीतिक दर्शनमा प्रस्टता, सवाल-जवाफमा स्पष्टता, तथ्य, इतिहास र समाजशास्त्रमा पकड तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिको सुझ। माम्दानी जस्ता नयाँ-पुराना नेता अरू पनि नभएका होइनन्, तर आज पश्चिमा मुलुकहरूमा ‘पपुलिस्ट’ दक्षिणपन्थले जरा गाड्दै गएकोमा जरा नै उखेल्ने गरी प्रस्तुत माम्दानीको प्रयोग विश्वभरिकै राजनीतिज्ञ र विश्लेषकका लागि हेर्न अनि बुझ्न लायक छ।
कुनै मानिसको व्यक्तित्व, स्वभाव र विचार निर्माणमा उसको बाल्यकालको वातावरण अत्यन्त महत्त्वपूर्ण हुने कुरामा धेरैको विमति नहोला। माम्दानीको व्यक्तित्वमा पनि पारिवारिक स्याहार, विद्यालयमा पाएको आत्मविश्वास र सीप प्रशिक्षणले टेवा दिए। यसमा विवेक र लगनशीलता जोडिएपछि उनी संवेदशील र कठिन कार्य गर्न सक्षम भएका छन्।
शहरका प्रिय पात्र
जोहरान माम्दानीको कथा यस्तो व्यक्तिको हो, जो पारदर्शिताप्रति प्रतिबद्ध छन्, अरूका कुरा राम्रोसँग सुन्ने धैर्य राख्छन्, आफ्नो काममा उत्कृष्टता देखाउँछन् र न्यून आयस्रोतमा निर्भर अधिकांश न्यू योर्कवासीको पक्षमा वकालत गर्छन्। ३४ वर्षीय माम्दानी ४ नोभेम्बर, २०२५ मा हुने न्यू योर्क शहरको मेयर-निर्वाचनमा अग्रणी उम्मेदवार हुनपुगेका छन्। एक वर्षअघिसम्म धेरैका लागि अपरिचित राजनीतिज्ञ माम्दानी अहिले न्यू योर्क, अमेरिका र विश्वभर चर्चाको विषय बनेका छन्, किनभने जुलाई २०२५ मा न्यू योर्कको डेमोक्रेटिक पार्टीको मेयर उम्मेदवार छान्ने प्रारम्भिक चुनाव जितेका उनले अनुभवी नेता एन्ड्र्यू कुवोमो र वर्तमान मेयर एरिक एडम्सलाई निकै पछाडि पारेका थिए।
माम्दानीका चुनावी अभियानका चार सरल र प्रभावकारी वाचा छन्– एक, सबै न्यू योर्कवासीका लागि छिटो र निःशुल्क सार्वजनिक बस सेवा। दुई, सरकारी आवासमा चार वर्षसम्म भाडा वृद्धि स्थगन (रेन्ट फ्रीज)। तीन, न्यू योर्क शहरका पाँचै नगरमा सरकारद्वारा सञ्चालित सुपथ मूल्यका किराना पसल स्थापना। चार, छ हप्तादेखि पाँच वर्ष उमेरसम्मका सबै बालबालिकालाई निःशुल्क हेरचाह (युनिभर्सल फ्री चाइल्ड केयर) सुविधा।
एउटा मुसलमान र दक्षिण एशियाली पृष्ठभूमिको युवा नेताले संयुक्त राज्य अमेरिकाको राजनीतिमा कसरी हलचल ल्याएका छन् र कसरी डोनाल्ड ट्रम्पको जथाभावी तन्त्रका दाँजोमा आफ्नै स्वतन्त्र विचारले राजनीतिमा नाम कमाउँदैछन् भन्ने विवेचनामा जानुअघि हामीले उनको बाल्यकाल र हुर्कंदाको वातावरणलाई पनि नियाल्नुपर्ने हुन्छ।
माम्दानीको बाल्यकाल
माम्दानीको जन्म युगाण्डाको कम्पालामा ख्यातिप्राप्त फिल्म निर्माता मीरा नायर र हाल कोलम्बिया युनिभर्सिटीको मानवशास्त्र र राजनीतिशास्त्रका प्राध्यापक मेहमुद माम्दानीको परिवारमा भयो। माम्दानी सात वर्षको छँदा उनको परिवार न्यू योर्क शहरमा बसाइ सऱ्यो। त्यहाँ उनले बैंक स्ट्रीट स्कूल फर चिल्ड्रेन, ब्रोंक्स हाई स्कूल अफ साइन्स र बोडोइन कलेजमा अध्ययन गरे। उनी बैंक स्ट्रीटको सामाजिक शिक्षा अन्तर्गत राजकाज सम्बन्धी पाठ्यक्रममा निकै चासो राख्थे। उनले कक्षा-८ का विद्यार्थीहरूका लागि तयार गरिएको राजनीतिक ‘सिमुलेसन’ मा डेमोक्रेटिक पार्टी वा रिपब्लिकन पार्टीका उम्मेदवारबीच मात्रै छनोट हुने अवस्थामा विद्रोह गर्दै आफू स्वतन्त्र उठ्ने घोषणा गरे र उनी कक्षा-७ को विद्यार्थी भए पनि उम्मेदवारी दिने निर्णय गरे। कक्षा-८ का विद्यार्थीहरूले रिपब्लिकन वा डेमोक्रेट भएर भोट मागे, माम्दानीले भने स्वतन्त्र भएर। उनले चुनाव जिते। यो कुरा बैंक स्ट्रीटमा एक प्रकारको कहिल्यै नबिर्सिने कथा बन्यो। यसरी हेर्दा, माम्दानीलाई कम्तीमा १२ वर्षको उमेरदेखि नै प्रतिस्पर्धात्मक राजनीतिमा गहिरो रुचि र दख्खल समेत विकसित भएको देखिन्छ। र, भेदभाव, समावेशिता र आर्थिक विविधताका मुद्दाहरूमा उनको गहिरो लगाव देखिन्छ।
न्यू योर्कमै रहँदा र नेपाल फर्केका दशकमा बैंक स्ट्रीट स्कूलसँग राम्रै सम्बन्ध राखेकी शिक्षाकर्मी हुँ म। बालकको आत्मविश्वास र स्वाभिमानलाई प्राथमिकता दिई हुर्काउन यस विद्यालयले अग्रणी भूमिका खेलेको छ, न्यू योर्कमा। एक शिक्षाकर्मीको रूपमा, म माम्दानीले हुर्कँदै गर्दा पाएको वातावरणको प्रशंसा गर्छु र लालायित पनि हुन्छु। सामाजिक रूपमा प्रतिबद्ध र परिपक्व अभिभावकहरूको सान्निध्यमा हुर्कंदा, ९/११ आक्रमण जस्ता घटनाबारे उनका जिज्ञासु प्रश्नहरू घरमै छलफल र बुझाइको माध्यम बनेका हुन्। समाजमा रहेका असमानताहरूलाई सुधार्ने चाहनाले माम्दानीलाई राजनीतितर्फ आकर्षित गऱ्यो। उनको पारदर्शिता, निरन्तर प्रयास जारी राख्ने क्षमता, मिलनसार स्वभाव, भाषण कला र सञ्चार कौशल केवल पछिल्ला केही वर्षयता विकसित भएका होइनन्, यी क्षमता उनले बाल्यकालदेखि जोगाउँदै र विकास गर्दै आएको देखिन्छ। जब उनले राजनीतिमा प्रवेश गर्ने निर्णय गरे, उनकी आमाले सोधिन्– ‘के तिम्रो स्नातक उपाधि पर्याप्त हुन्छ त?’ माम्दानीलाई पढाइ मात्रै सबै कुरा होइन, गरेर र भोगेर धेरै सिकिन्छ र त्यसबाट योगदान पनि गर्न सकिन्छ भन्ने पुष्टि गर्ने मौका मिल्यो।
विशेष चुनावी वाचा
माम्दानीका चार वटा चुनावी घोषणा साधारण जस्ता लाग्न सक्छन्, तर यही कुरा ती विशाल संख्याका मानिसका लागि अत्यावश्यक हो, जो माम्दानीको शहरमा जीविकोपार्जनका लागि संघर्ष गरिरहेका छन्। माम्दानीले आफ्ना एजेन्डा कम्प्युटर अगाडि बसेर वा कृत्रिम बुद्धिमत्ताको सहयोगमा तयार गरेका होइनन्। उनले शहरमा बस्ने मानिसहरूको धड्कन महसूस गरेका थिए र यसै अन्तर्गत आफ्नो घोषणापत्र तयार गरे।
माम्दानीले न्यू योर्कका बासिन्दासँग प्रत्यक्ष कुराकानी गरेका थिए। त्यस क्रममा उनले पत्ता लगाए, धेरै मानिसले २०२४ को राष्ट्रिय चुनावमा ट्रम्पलाई भोट दिनुको कारण ट्रम्पले वाचा गरे अनुसार उनीहरूको जीविकोपार्जन सस्तो बनाइदिनेछन् भन्ने थियो। तर, त्यसको परिणाम विपरीत भयो। माम्दानीले ती नागरिकहरूलाई सोधे– ‘तपाईंहरूलाई के चाहिन्छ?’ उनीहरूले जवाफ दिए– ‘बस सेवा, आवास र शिशु स्याहार।’ त्यसैले माम्दानीले यी विषयलाई नै आफ्नो चुनावी वाचा बनाए। किनभने यिनै कुरा ती जनताका लागि महत्त्वपूर्ण थिए, जसको नेतृत्व गर्न उनले आफूलाई तयार पारेका थिए।
संसारकै सबभन्दा धनी शहर मानिने न्यू योर्कमा मजदूरलाई जीविका चलाउन नसक्ने अवस्था किन आयो भन्ने प्रश्नले माम्दानीलाई निकै पिरोल्यो। माम्दानीले धनाढ्यहरूको पैसाबाट होइन, सर्वसाधारणको ठूलो जमातको विश्वास लिएर मेयरको ‘प्रारम्भिक चुनाव’ जित्ने रणनीति तयार गरे। प्रारम्भिक चुनावमा उनका ५० हजार स्वयंसेवक थिए भने ४ नोभेम्बरको चुनावका लागि त्यो संख्या बढेर ९० हजार पुग्यो– जो घर-घर गएर नागरिकलाई भोट दिन प्रेरित गरिरहेका छन्। जुन २०२५ मा प्रारम्भिक चुनाव जितेपछि माम्दानीले आफ्नो युवाशक्ति र स्वयंसेवकहरूको ऊर्जा पूर्णरूपमा प्रयोग गर्दै आफ्नो अभियानलाई झनै तीव्र बनाए।
माम्दानीका मान्यताहरू
माम्दानी एक अमेरिकी मुसलमान हुन् र आफूलाई लोकतान्त्रिक समाजवादी भनेर परिचय दिन्छन्। उनी भन्छन्, समाजमा ‘अर्बपतिहरू हुनुहुँदैन’। असमानता र आर्थिक अन्यायको कारणले मात्रै सीमित व्यक्तिका हातमा यसरी पुँजी थुप्रिन्छ। यसैकारण उनले अमेरिकी राजनीतिमा निर्धक्क वाम उम्मेदवार भएर हलचल नै ल्याएका छन्। माम्दानीको प्रतापले गर्दा उनलाई जबर्जस्ती ‘कम्युनिस्ट’ बिल्ला लगाउने डेमोक्रेट र रिपब्लिकन दुवै तर्सिएका छन्।
मुस्लिम हुनु सजिलो छैन, अहिलेको अमेरिकामा। ट्रम्प र रिपब्लिकनले मानिसलाई डर देखाएर विश्वास दिलाउने प्रयास गरिरहेका छन्, माम्दानी मेयर भएपछि इस्लामी आतंकवादको पक्षमा उभिनेछन्। न्यू योर्कको मेयर बन्ने माम्दानीको सोच ट्रम्पलाई मन परेन र उनले वर्तमान मेयर एरिक एडम्सलाई चुनावबाट उम्मेदवारी फिर्ता लिन आग्रह गरे, ताकि माम्दानी विरुद्धको मत एकीकृत भएर एन्ड्र्यू कुवोमोले जित्न सकून्। यसले कुवोमोलाई मत दिनेको संख्यालाई केही हदसम्म बढाएको छ, तर मत सर्वेक्षणहरू अनुसार, माम्दानी अझै पनि कुवोमोभन्दा ६.६ प्रतिशतले अगाडि छन्।
यहुदी समुदायको संख्या धेरै भएको न्यू योर्कमा एक मुसलमान उम्मेदवार हुनु माम्दानीका लागि चुनौतीपूर्ण छ नै। तर गाजा नरसंहारको विरुद्ध र फलस्तीनीको पक्षमा निर्धक्क बोल्ने माम्दानीले आफ्नो प्रस्ट मानवीयताका कारण धेरै यहुदीको मन जिते। माम्दानीले भनेका छन्, मेयर बनेपछि यदि इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहु न्यू योर्क आए भने अन्तर्राष्ट्रिय कानून मातहत उनलाई पक्राउ गरिनेछ। चुनावको मुखमा अमेरिकाको परिवेशमा अन्य राजनीतिज्ञले मनमा राखे पनि बोल्न आँटै गर्न नसकेको यस्तो अभिव्यक्ति एउटा साहसी र प्रस्ट वक्ताले मात्र दिन सक्छ। यसैकारण उदार प्रवृत्तिका धेरै यहुदीले माम्दानीलाई समर्थन गर्छन् र उनको चुनावी अभियानमा सक्रिय रूपमा काम पनि गरिरहेका छन्। विशेषगरी, गाजापट्टीमा इजरायलले गरेको जनसंहारले अमेरिका र इजरायलबीच जोडिएको सैन्य-सम्बन्धलाई उजागर गरेको छ र ६० प्रतिशत अमेरिकी जनता त्यससँग असहमत छन्। गार्डियन पत्रिकामा हालै प्रकाशित रिपोर्ट अनुसार, ४४ वर्षमुनिका ६७ प्रतिशत यहुदी न्यू योर्कवासीहरूले माम्दानीलाई समर्थन गरेका छन् र कुल यहुदी मतदातामध्ये ४३ प्रतिशतले उनलाई समर्थन गर्छन्। शरूआतमा कोही डर र अनिश्चिततामा थिए तर माम्दानीको खुला संवाद र समस्या समाधानमा सँगै काम गर्ने प्रतिबद्धताका कारणले उनीहरूले विचार बदलेका छन्।
न्यू योर्क शहरमा संसारको अन्य शहरहरूको दाँजोमा सबैभन्दा धेरै अर्बपति बस्छन्। अर्बपतिप्रति माम्दानीको दृष्टिकोण उनीहरूलाई स्वीकार्य हुँदैन। केही मानिसलाई अत्यधिक सम्पत्ति सञ्चय गर्ने अवसर मिल्ने र अरूले रात-दिन काम गरे पनि आफ्नो दैनिक आवश्यकतालाई पूरा गर्न नसक्ने अमानवीय अवस्थालाई नै परिवर्तन गर्न आएका छन्, माम्दानी। उनले यो गहन र महत्त्वपूर्ण बहसलाई सार्वजनिक गराएका छन्, असमानता कायम गर्ने नीतिहरूलाई उजागर गरेका छन्, जसले धनीहरूको आर्थिक लाभ सुनिश्चित गर्छ।
आफ्नो राजनीतिक जीवनमा माम्दानीले इमानदारी, नैतिकता र पारदर्शिताप्रतिको प्रतिबद्धता दृढतापूर्वक देखाउँदै आएका छन् । साथै, उनी न्यायका पक्षमा बोल्न पनि उत्तिकै निडर छन्। उनले ‘ग्लोबलाइज दि इन्टिफादा’ भन्ने नाराको प्रयोगको निन्दा भने गरेका छैनन्। यो शब्दावली यहुदी विरुद्धको रूपमा व्याख्या हुनसक्ने भएकाले प्रयोग नगर्ने सहमति जनाएका छन्। तथापि, फलस्तीनी अनुभवको दृष्टिकोणबाट हेर्दा यसले विश्वभर मानव अधिकारको विस्तारलाई इंगित गर्छ। डेमोक्रेटिक पार्टीका अन्य नेताहरू यति बलियो र स्पष्ट भएर प्रस्तुत हुनसकेका छैनन्।
आफ्नो कुनै योजनाले हार दिलाउने सम्भावना भए व्यावहारिक हुँदै माम्दानीले रणनीति फेरबदल गर्ने गरेका छन्। तर, मूल एजेन्डामा उनी चुकेका छैनन्। माम्दानी शुरूदेखि नै न्यू योर्कको प्रहरीको खर्च घटाउने पक्षमा थिए। अहिले उनले यस अडानमा परिवर्तन गरेका छन् र पुलिससँग हातेमालो गरेर काम गर्ने प्रतिबद्धता जनाएका छन्। तर, उनको प्रस्ट बुझाइ छ, प्रहरी-बललाई विस्तार गर्नुभन्दा अपराधीकरण घटाउने सामाजिक कार्यमा खर्च गर्नुपर्छ।
डेमोक्रेटिक सोसलिस्ट हुनुको अर्थ
माम्दानी गान्धीवादी अमेरिकी नेता मार्टिन लुथर किङ जुनियरका शब्द प्रयोग गर्दै भन्छन्, “यसलाई लोकतन्त्र भन्नुहोस् या लोकतान्त्रिक समाजवाद भन्नुहोस्, सबै ईश्वरका बालबालिकामा धनको उचित वितरण हुनुपर्छ।” विश्वको अर्थतन्त्र विस्तार हुँदाहुँदै न्यू योर्क शहरमा धनको असमान वितरण अझ गहिरो भएको छ। यति धेरै गरीबीको बीचमा सम्पत्ति केवल केही व्यक्तिको हातमा केन्द्रित हुनु उचित होइन। माम्दानीले न्यू योर्कमा मात्र नभई पूरै अमेरिकाका राजनीतिज्ञलाई फरक कोणबाट सोच्न बाध्य पारेका छन्। उता अर्बपतिहरू अब पहिले जस्तो सहज महसूस गर्ने छैनन्, किनभने माम्दानीसँग स्पष्ट योजना र दृष्टिकोण छ, जसका लागि उनले धेरै समर्थन पाएका छन्।
३४ वर्षीय ‘मिलेनियल पुस्ता’ का माम्दानी सामाजिक सञ्जालमा सहज छन् र आफ्नो अभियानका लागि यसलाई प्रभावकारी रूपमा प्रयोग गरेका छन्। उनले धेरै इन्फ्लुएन्सरहरूसँग बैठक गरेका छन्, जो उनलाई समर्थन गर्न इच्छुक मात्र छैनन्, चुनावी वाचा पूरा हुने सुनिश्चितता पनि खोजेका छन्। यी समर्थक मान्छन्, राजनीतिज्ञहरूलाई केवल उच्च स्थानमा राख्नु हुँदैन; उनीहरूलाई जवाफदेही र उत्तरदायी बनाउनुपर्छ। माम्दानी भन्छन्, आफ्नो वरिपरि प्रश्न गर्ने र चुनौती दिने अनुभवी र इमानदार मानिसहरू चाहिन्छन्, न कि सही थप्ने हजुरिया।
जनतामाझ जानु नै सबैभन्दा उत्कृष्ट चुनावी उपाय ठान्ने माम्दानीले आफ्नो अभियान शुरू गर्दा नगरहरूमा पैदल हिंड्दै नागरिकको कुरा सुन्ने काम गरेका थिए। उनी अहिले पनि घर-घर गएर जनताको विचार सुन्ने काम जारी राखिरहेका छन्, किनभने मानिसहरूसम्म पुग्ने सबैभन्दा प्रभावकारी तरीका हो, यो। उनले प्रविधिको प्रयोग र जनताको वास्तविक अवस्था बुझ्ने अनुभवलाई उत्कृष्ट रूपमा संयोजन गरेका छन् र यही भएर नै कठिन परिस्थितिमा पनि उनले राम्रो गरिरहेका छन्।
माम्दानीले आफ्नो चुनावी घोषणालाई कसरी मूर्त रूप दिन्छन्, कहाँबाट पैसा ल्याउँछन्? उनले कर ठगी र खर्च चुहावटलाई कडाइका साथ रोक्ने र दायरामा नआएका राजस्व संकलन गर्ने योजना बनाएका छन्, तर यसबाट एक अर्बभन्दा कम मात्र रकम संकलन हुनेछ। उनका चुनावी वाचा पूरा गर्न करीब ६ अर्ब डलर आवश्यक पर्नेछ। उनी यो रकम उठाउन न्यू योर्कका धनाढ्यहरूलाई करको दायरा बढाउने योजनामा छन्। शीर्ष १ प्रतिशत आम्दानीवालाहरूको आयकर १ प्रतिशतले वृद्धि गर्ने, तीमध्ये वार्षिक आम्दानी दश लाख डलरभन्दा बढी हुनेहरूलाई २ प्रतिशत कर वृद्धि गर्ने र छिमेकी राज्य न्यू जर्सीको नीतिसँग मेल खाने गरी कर्पोरेट कर दर ७.२५ बाट ११.५ प्रतिशतसम्म बढाउने योजना सार्वजनिक गरेका छन्।
यसरी माम्दानीले करीब १० अर्ब डलर उठाउने योजना बनाएका छन्, जुन शहरको सस्तो बसोबास, बाल हेरचाह, सार्वजनिक बस र सुपथ मूल्यका किराना पसल जस्ता एजेन्डा पूरा गर्न प्रयोग हुनेछ। उनी भन्छन्, यसले अर्बपति सहित शहरका हरेक व्यक्तिको जीवन रूपान्तरण गर्नेछ। यो रकम उठाउन उनले न्यू योर्ककी गभर्नर क्याथी होकुलको साथ लिनुपर्छ र गभर्नरले उनलाई समर्थन गरिसकेकी छन्। तर, यदि उनी अन्य स्रोतबाट पर्याप्त रकम उठाउन सफल भए भने उनले सुझाएको अनुसार कर उठाउने छैनन्।
डोनाल्ड ट्रम्पले आफ्नो चुनावी वाचा पूरा नगरेकोमा माम्दानी असन्तुष्ट छन्। उनी भन्छन्, ‘उनको ध्यान केवल क्रूरता र सजाय दिने आफ्ना एजेन्डाका पाटाहरूमा मात्रै छ। धेरै अमेरिकीलाई उत्साहित तुल्याएको सस्तोमा जीवनयापन गराउने र सस्तो किराना उपलब्ध गराउने पाटोप्रति कुनै चासो छैन।’
भोटिङको दिन ४ नोभेम्बर आई नै सक्यो। प्रतिस्पर्धा, नैतिकता र शिष्टाचारबाट बाहिर गई शत्रुवत् व्यवहार गर्ने प्रतिद्वन्द्वी पत्रकार, इन्फ्लुएन्सर र टोलबासीहरूलाई प्रतिनिधित्व गर्ने क्षमता पनि माम्दानी राख्छन्। एकातर्फ, राष्ट्रपति ट्रम्पले माम्दानी आए न्यू योर्कलाई केन्द्रबाट दिइने राशि कटौती गर्ने धम्की न्यू योर्कका जनतालाई दिइरहेका छन् भने प्रहरीले अमनचयन राख्न नसकेको भन्दै न्यू योर्कमा अमेरिकी नेसनल गार्ड र सेना पठाउने भन्दैछन्। अर्कोतर्फ, मेयरका दावेदार एन्ड्रू कुवोमो र कर्टिस सिल्वाले मतदातालाई तर्साउने काम गर्दैछन्। भन्दैछन्, माम्दानी मेयर भएर आए भने सबै धनाढ्य शहरबाट भाग्नेछन्, न्यू योर्क आप्रवासी र गैरकानूनी आप्रवासीको अखडा बन्नेछ र शहरलाई माम्दानीको योजनाले रुग्ण बनाउने छ। तर यसको जवाफमा माम्दानी भन्छन्, ‘न्यू योर्क शहरले ट्रम्प सरकारले तर्साएका आप्रवासीलाई आश्रयस्थल दिनेछ।’ आफूले ल्याउने नीति र योजनाले शहर झनै समृद्ध हुने उनी बताउँछन्। उनलाई आफू गैरश्वेत हुनुको एकरति पनि चिन्ता छैन। वास्तवमा आज प्रस्ट बोल्नेले कठिन परिस्थिति झेल्नुपर्ने हुँदाहुँदै पनि माम्दानी कडा प्रश्नको कडै र तार्किक जवाफ दिने नेता बनेका छन्।
माम्दानीबाट सिक्नलायक पाठहरू धेरै छन् र खुशी हुनुपर्ने कारण पनि धेरै छन्। माम्दानीको प्रभाव केवल न्यू योर्क वा संयुक्त राज्यमा मात्रै सीमित छैन। जीविकोपार्जनका लागि संघर्ष गर्ने र विभिन्न चुनौतीको सामना गरिरहेका मानिसहरू बस्ने संसारका जुनसुकै क्षेत्रमा माम्दानीको उम्मेदवारी एउटा सुखद र अनुकरणीय घटना हो।
नेपालमा पनि विभेदकारी र अधिनायकवादी विचार बोक्नेहरू हाबी भइरहेको परिवेशमा आगामी निर्वाचनहरू (संघीय, प्रदेश, स्थानीय) का लागि यी समुद्रपारका नेताको उम्मेदवारी शैली उदाहरणीय हुन सक्छ।