भदौ २४ गते प्रदर्शनकारीको तारो बनेका प्रहरीलाई जोगाउन सेना र सशस्त्र बल अगाडि नआएपछि, हेर्डक्वार्टरले पनि ‘ज्यान जोगाउन’ भनेपछि बिचल्लीमा परेका प्रहरीले बुद्धिमत्ता र साहसका साथ संकटको सामना गरेको पाइएको छ।
भदौ २३ गतेको जेन–जी प्रदर्शनमा सुरक्षाकर्मीको गोली लागेर १९ जना नवयुवा मारिएपछि विरोधमा भोलिपल्ट भएको प्रदर्शनमा काठमाडौंभित्र ३ जना प्रहरी मारिए, प्रहरी चौकीबाट १२ सय हतियार लुटिए, जलाइए। देशभरबाट १४ हजार ५५६ कैदीबन्दी फरार भएकोमा उपत्यकाबाट मात्र ५ हजार ८२ कैदी र ७१९ जना थुनुवा छुटाइए। तोडफोड र आगजनीबाट देशभरका ११८ वटा प्रहरी संरचना ध्वस्त भए, ३४७ संरचना क्षतिग्रस्त भए। ६ घण्टासम्म लगातार आक्रमण हुँदा प्रहरीलाई ‘ब्याकअप’ दिने दायित्व बोकेका सशस्त्र प्रहरी र नेपाली सेना संकटमा फसेकालाई बचाउन आएनन्।
काठमाडौं, ललितपुर र भक्तपुरका २७२ वटा प्रहरी इकाई सञ्चालन र परिचालन गर्ने काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले प्रहरीलाई ‘गोली नचलाउन र ज्यान जोगाउन’ आदेश दियो। आन्दोलनकारीको हातमा पुगेको सञ्चार-सेटबाट यस्तो सूचना फैलिएपछि प्रहरी चौकीहरूमाथि आक्रमण बढ्यो। उपत्यकाभरका प्रहरीलाई आवश्यक पर्ने हातहतियार राखिने र ११ हजारभन्दा बढी दरबन्दी सहितको ‘कन्ट्रोल रूम’ रहेको संवेदनशील वृत्त रानीपोखरीमा ३०–४० जनाको समूहले आगजनी गऱ्यो, अर्को समूह आएर हतियार लुट्यो। रानीपोखरीबाट सबैभन्दा बढी हतियार लुटिएको रानीपोखरी स्रोत बताउँछन्। भदौ २४ गते प्रहरी संगठनको मनोबल गिराउने गरी भएका आक्रमणबाट ती अझै तङ्ग्रिएका छैनन्, जसलाई फागुन २१ गतेका लागि घोषणा भएको निर्वाचनको तयारी गर्नु छ। तर, भदौ २४ गते अनेकन प्रतिकूलताका बावजूद प्रहरीका केही ‘कमाण्डर’ ले आफ्ना सहकर्मी, प्रहरी संरचना, थुनुवा र हतियार बचाउन खेलेको भूमिकाले भने तिनको मनोबल उकास्ने ठानिएको छ।
याचनाको जवाफ आएन
भदौ २४ गते बिहानदेखि नै काठमाडौंका चोकचोकमा जम्मा भएका प्रदर्शनकारीले नेताहरू विरुद्ध उग्र नारा लगाइरहेका थिए। करीब १० बजे यस्तै एक हुल मान्छे काठमाडौं महानगरपालिका–३‚ महाराजगञ्जस्थित प्रहरी वृत्तअगाडि पुगे र नाराबाजी गर्दै भवनमाथि ढुंगा बर्साउन थाले। प्रहरी वृत्त नजिकैकी एक स्थानीयको भनाइमा त्यस दिन बिहानैदेखि केही युवा वृत्त वरपर ओहोरदोहोर गरिरहेका थिए। ‘हामीलाई उनीहरूको व्यवहार शंकास्पद लागिरहेको थियो।’ ती महिलाले भनिन्, ‘पछि उनीहरूले नै चौकीमाथि ढुंगामुढा गर्न मान्छे उक्साइरहेका थिए।’
हिमबहादुर बिक‚ प्रहरी नायव निरीक्षक
त्यस दिन प्रहरी निरीक्षक सुदर्शन पन्थी सहित ११ जना प्रहरी जवान बूढानीलकण्ठस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा र प्रहरी निरीक्षक लक्ष्मण देवकोटा सहित ११ जना प्रहरी जवान महाराजगञ्जस्थित राष्ट्रपति निवासमा खटिएकोले वृत्तमा सहायक निरीक्षक हिमबहादुर बिक सहित ४५ जना सुरक्षाकर्मी थिए। ११ बजेदेखि चौकीमाथि ढुंगामुढा शुरू भयो। सवारीसाधन जलाउन थालेपछि प्रहरीले १२ बजेदेखि अश्रुग्याँस र हवाई फायर गर्दै भीड नियन्त्रण गर्न खोज्यो। उग्र प्रदर्शनकारीको संख्या बढ्दै गएपछि जिन्सी शाखाका इन्चार्ज समेत रहेका सहायक निरीक्षक बिकले वाकीटकीबाट काठमाडौं उपत्यका प्रहरी कार्यालय‚ रानीपोखरी समक्ष प्रहरी ‘ब्याकअप’ माग्न थालिसकेका थिए। तर, काठमाडौं, ललितपुर र भक्तपुर उपत्यका हेर्ने ‘कन्ट्रोल रूम’ रानीपोखरीबाट कुनै सहयोग पठाइएन। बरु त्यही अवधिमा त्यताबाट वाकीटकीमा एउटा सन्देश आयो- ‘अप्ठेरो परे थुनुवा छाड्नू, हातहतियार सुरक्षित राख्नू र आफ्नो ज्यान जोगाउनू।’ त्यस सन्देशले ‘ब्याकअप’ मागिरहेका प्रहरीहरूलाई निराश बनायो।
करीब दुई बजे सयौंको संख्यामा रहेको भीड वृत्तको भवनभित्र छिर्न थाल्यो। केहीले कार्यालयको छेउमै आगो लगाए। वृत्तमा १०६ जना थुनुवा थिए। तिनलाई थुनामुक्त गरियो। हातहतियार र प्रहरी युनिफर्म लगायतका सरसामान लुट्न शुरू भयो। प्रहरीहरू ज्यान जोगाउन सादा पोशाक लगाएर तितरवितर भए। उम्कन नसकेका प्रहरीहरूमाथि हातपात हुन थाल्यो। तिनलाई लछारपछार गर्दै सडकमा ल्याइयो।
साढे दुई बजे प्रहरी सहायक निरीक्षक मिलन रायलाई हिरासतबाट निस्किएका थुनुवाले ‘यो पुलिस हो ठोक’ भन्दै चिनाएपछि भीडले गेटबाहिर घिसार्दै ल्याई कुटीकुटी मारे। प्रहरी जवान उत्तम थापा ज्यान जोगाउन सादा पोशाक लगाएर पछाडिपट्टिको ढोकाबाट निस्कन खोजिरहेका थिए, उनलाई पनि ‘यो डीएसपी हो’ भन्दै कुटीकुटी मारियो। महाराजगञ्ज प्रहरी वृत्तले दिएको जानकारी अनुसार, भीडको कुटपिटबाट २५ जना प्रहरी गम्भीर घाइते भए।
एकातर्फ आँखाअगाडि आफ्नै सहकर्मीहरूमाथि साङ्घातिक हमला भइरहेको थियो, अर्कातिर भवन पनि जलिरहेको थियो। २५ वर्षको प्रहरी सेवाकालमा थुप्रै आन्दोलन भोगेका सहायक निरीक्षक हिमबहादुर बिकको भनाइमा यस्तो अवस्था उनले पहिलोपटक भोगिरहेका थिए। तैपनि वृत्तभित्र उनीसहित २२ जना प्रहरी हातहतियार र ज्यान जोगाउन भीडसँग जुधिरहेका थिए, नेतृत्वसँग सहयोग पनि मागिरहेका थिए।
भीडको अगाडि २२ जनाको जोर चलेन। चार घण्टाभन्दा बढी लड्दा पनि ब्याकअप नआएपछि ती सबै भवनको छतमाथि चढे। तलबाट आगो दन्किरहेको थियो। धूवाँको मुस्लोले अत्याइरहेको थियो। त्यो पल बिकले सबैका अनुहारमा मृत्युको डर देखे। विकको भनाइमा करीब तीन बजे उनीहरूले एउटा सल्लाह गरे- रानीपोखरीलाई अन्तिम सन्देश पठाउने। उनीहरूले एउटा सन्देश लेखे र त्यसलाई सहायक निरीक्षक बिकले वाचन गरे-
“किलो वान सरले पनि सुन्नुस्, किलो फोर सरले पनि सुन्नुस्, हाम्रा पुलिसका हाकिम सबैले सुन्नुस्, हामी मर्ने अवस्थामा छौं, तपाईंहरूले हामीलाई ‘रेस्क्यु’ गर्नुस्, हाम्रो अन्तिम आवाज सुन्नुस्, हाम्रो सेटबाट। तपाईंहरू आफू मात्रै सुरक्षित हुनुस्, हामी मर्ने अवस्थामा छौं पाँच मिनेटभित्र मरिजान सक्छौं, हाम्रो अन्तिम आवाज सुनाइदेओ, ए साथी हो!” बिकले यति बोलिसकेपछि सेटमै चिच्याए, ‘हो कि होइन साथी हो?’ उनीसँगै २१ जनाले एकै स्वरमा चिच्याए, ‘हो सर!’
माथि ‘कोड’ मा बोलिएको ‘किलो वान’ जिल्ला परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीलाई र ‘किलो फोर’ अप्रेशनल कमाण्डर डिएसपी सुन्दर तिवारीलाई सम्बोधन गरिएको हो। यसअघि बिकले बारम्बार सहयोग मागे पनि सान्त्वना बाहेक केही पाइरहेका थिएनन्। उनीहरूले एक बजेदेखि नै ‘हामी आफ्नै पैसा तिर्छौं। तर, जसरी हुन्छ, हामीलाई हेलिकप्टर पठाइदिनोस्’ भन्दै गुहार मागिरहेका थिए। यसपालि पनि प्रहरी प्रमुख चन्द्र कुवेर खापुङ र काठमाडौं उपत्यका प्रहरी कार्यालयका इन्जार्च डीआइजी दानबहादुर कार्की एक शब्द बोलेनन्। एकछिनमा प्रमुख खापुङको अंगरक्षकको जवाफ आयो- ‘तिमीहरू नआत्तिनू, एकछिनमा रेस्क्यू टीम आउँदै छ।’ त्यसको आधा घण्टापछि सेनाको हेलिकप्टर आयो, तीन खेपमा २२ जनालाई जलिरहेको भवनको छतबाट उद्दार गऱ्यो। सडकमा बेवारिसे दुई मृतक र घाइतेलाई सेनाको बख्तरबन्द गाडीले उठाएर लग्यो। प्रत्यक्षदर्शी महिलाको भनाइमा त्यसपछि केही मान्छेले वृत्तभन्दा ५० मीटर उत्तर-पूर्वमा रहेको भाटभटेनी शपिङ सेन्टरमा गएर आगो लगाए।
जिन्सी शाखाका इन्चार्ज बिकले त्यहाँ राखिएका खरखजाना बचाउन नसके पनि आफ्ना २१ जना सहकर्मीलाई मृत्युको मुखबाट जोगाएको भन्दै नेपाल प्रहरीले असोज ३१ गते प्रहरी दिवसको अवसरमा प्रहरी नायव निरीक्षकमा पदोन्नति गऱ्यो।
हवाई फायरले बचायो
मालीगाउँ वृत्तको कमाण्ड सम्हालिरहेका प्रहरी नायव उपरीक्षक सुनिलजंग शाहलाई एक किलोमीटरपूर्व रातोपुलमा रहेको कांग्रेस महामन्त्री गगन थापाको घर बचाउन जान आदेश आयो। साढे १२ बजे थापाको घरमाथि आक्रमण भएको रानीपोखरीको सूचना सहित शाहको नेतृत्वमा २० जनाको टोली उनको घर पुग्दा भीडले आगो लगाइरहेको थियो।
सुनिलजंग शाह‚ प्रहरी नायव उपरीक्षक
शाहले भीड तितरबितर बनाउने प्रयास गरिरहे। त्यतिवेलै रानीपोखरीबाट आफ्नो वृत्त सुरक्षित गर्ने आदेश आयो। उनी फर्किए। वृत्तमा ६० जनाको टोली थियो। हिरासतमा १६ जना थुनुवा थिए। शाहले पनि रानीपोखरीबाट आएको ‘अप्ठेरो परे थुनुवा छाड्नू, हातहतियार सुरक्षित राख्नू र आफ्नो ज्यान जोगाउनू’ भन्ने सन्देश सुनेका थिए। तर, थुनुवा छाड्दा आफूहरूमाथि आक्रमण हुने आकलन गरी तिनलाई छाडेनन्।
शाहको भनाइमा साढे १ बजेतिर लगभग पाँच सय जति आन्दोलनकारी वृत्तदेखि ५० मीटरको दूरीमा आई ढुंगा प्रहार गर्न थाले। शाहले माइकबाट अगाडि बढे बल प्रयोग गर्ने चेतावनी दिए। तर, भीड रोकिएन। उनले अश्रुग्याँस र हवाई फायरको आदेश दिए। भीड तितरबितर भयो। तिनले नजिकै गौचरणस्थित विद्युत् प्राधिकरणको कार्यालय तोडफोड र आगजनी गरे। आधा घण्टापछि फेरि करीब आठ सय जनाको समूह आयो। उसैगरी ढुंगामुढा गर्न थाले। जवाफमा प्रहरीले अश्रुग्याँस र हवाई फायर गऱ्यो। यसपटक तितरबितर भीडले कालोपुलको सडकमा आगो बाल्यो। वृत्तमाथि आक्रमण रोकिएन। करीब साढे ४ बजे १४/१५ सयको संख्यामा आएका आन्दोलनकारीले ‘वृत्त खाली गरेर भाग’ भन्दै ढुंगा प्रहार गर्न थाले। त्यतिन्जेल भीडले वृत्तदेखि करीब छ सय मीटर दक्षिण-पश्चिममा रहेको हिल्टन होटल जलाइसकेको थियो। असोजको पहिलो साता ट्राफिक प्रहरी महाशाखा बग्गीखानामा सरुवा भएका शाहले हिमालखबरसँग भने, ‘हामी कुनै हालतमा पछाडि नहट्ने, अन्तिमसम्म लड्ने दृढ निर्णयका साथ बसेका थियौं। हवाई फायर गरिरह्यौं। अघि बढ्न दिएनौं। केही समयपछि भीड पछि हट्यो।’
दानबहादुर कार्की‚ प्रहरी अतिरिक्त महानिरीक्षक‚ काठमाडौं उपत्यका प्रहरी कार्यालय
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीमाथि भदौ २३ र २४ को घटनालाई लिएर गृह मन्त्रालयले अनुसन्धान थालेपछि उनले भदौ २४ मा भद्रकाली परिसर बचाउन देखाएको कुशल नेतृत्व ओझेलमा परेको प्रहरी अधिकृतहरू सुनाउँछन्। त्यस दिन अधिकारी परिसरमै थिए। आन्दोलनकारी पटक-पटक आक्रमण गर्न आउँदा अधिकारीले शुरूमा चेतावनी दिए, नमानेपछि हवाई फायर गर्न लगाए। ‘आन्दोलनकारीले कब्जामा लिएको सशस्त्र प्रहरीको ट्रक ल्याएर दुईचोटि गेटमा ठोके। विश्व सरले नभाग्न र गोली नसकिंदासम्म हवाई फायर गरिराख्न भन्नु भो।’ भदौ २४ गते ड्युटीमा रहेका एक जना अधिकृतले हिमालखबरसँग भने, ‘हामीले हवाई फायर नरोकेपछि भीड पछाडि हट्यो र परिसर बच्यो।’ ती अधिकृतको भनाइमा त्यो भीड परिसर नजिकै रहेको सिंहदरबार र सर्वोच्च अदालत जलाउन गयो। केही साताअघि मात्र रानीपोखरीमा रहेको उपत्यकाभरिको सीसीटीभी र सञ्चार-सेट सहितको ‘कन्ट्रोल रूम’ परिसरमा सारिएको थियो। ती अधिकृत भन्छन्, ‘रानीपोखरीमा भएको भए करोडौं मूल्य पर्ने ती सामान जल्ने रहेछ। विश्व सरका कारण ती उपकरण सहित हातहतियार बचे।’
विश्व अधिकारी‚ तत्कालीन जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी
तालिमे प्रहरी परिचालन
महाराजगञ्जस्थित कान्ति बाल अस्पतालअगाडि प्रहरी टोली र त्यसको पछाडि सशस्त्र प्रहरीको टोली ‘ब्यारिकेड’ लगाइ तैनाथ थियो। करीब ३ बजेतिर बाइकमा आएका आन्दोलनकारीहरूले ब्यारिकेड तोडे। आक्रमण बढ्न थालेपछि प्रहरीहरू अस्पताल नजिकै रहेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परिसरभित्र शरण लिन पुगे। आन्दोलनकारी प्रतिष्ठान नजिक रहेको राष्ट्रपति भवन जलाउन गयो। प्रहरी वरिष्ठ उपरीक्षक वेद बिष्ट भन्छन्, “लगभग डेढ घण्टाजति समय लगाएर तिनले राष्ट्रपति भवन जलाए।”
त्यस दिन प्रतिष्ठान परिसरका कुल २०० मध्ये ८० जना प्रहरी फील्डमा खटिएका थिए, प्रतिष्ठानभित्र १५० जना प्रशिक्षार्थी थिए, जसमध्ये ८० जना प्रहरी निरीक्षकको तालिम अन्तिम चरणमा पुगेको थियो। ब्यारिकेड तोडेर राष्ट्रपति भवन जलाउने समूह फेरि फर्केर आउने अडकल गरी प्रतिष्ठानले सुरक्षा व्यवस्था थप बढायो। प्रशिक्षार्थी प्रहरीलाई पनि तयार पारियो। ‘तिनको तालिम अन्तिम चरणमा पुगेकोले हातहतियार चलाउन सिपालु भइसकेका थिए’, वरिष्ठ प्रहरी उपरीक्षक बिष्ट भन्छन्, ‘सबैलाई हतियार बाड्यौं।’
साढे ५ बजे चार सय जनाजतिको भीड प्रतिष्ठानको मुख्य गेटअगाडि आइपुग्यो। प्रतिष्ठानमा प्रवेश गर्ने तीन वटा गेट छन्। १ नम्बर भनिने मुख्य गेट फुटाएर चार जना आन्दोलनकारी भित्र पसे। प्रतिष्ठानले रानीपोखरीबाट आएको ‘ज्यान जोगाएर भाग्न’ दिएको आदेश पालना नगरी भित्रबाट तीन घण्टासम्म अश्रुग्याँस र हवाई फायर गरिरह्यों। भित्र प्रवेश गरेका चार जनालाई पनि बाहिर निकाल्यौं। आन्दोलनकारीको जोर चलेन‚ तिनीहरू फर्किए। वरिष्ठ प्रहरी उपरीक्षक बिष्ट भन्छन्, ‘प्रहरीले तालिमबाट भीड नियन्त्रण गर्ने तरीका सिकिसकेकाले हामीले प्रतिष्ठान जोगाउन सक्यौं।’
नमस्कारले जोगिएको अदालत
भदौ २४ गते लुम्बिनी प्रदेश राजधानी दाङ पनि आन्दोलनको चपेटामा थियो। जिल्ला अदालत कार्यालय दाङको सुरक्षामा खटिएकी प्रहरी सहायक हवल्दार संगीता अधिकारी बिहान ११ बजेदेखि नै आन्दोलनकारीलाई हात जोडेर तोडफोड नगरिदिन अनुरोध गर्दै फर्काइरहेकी थिइन्। परिसरभित्र छ जना न्यायाधीश, तिनका छ जना अंगरक्षक र केही कर्मचारी थिए। अदालतको सुरक्षामा पाँच जना प्रहरी खटिएका थिए। एक बजेतिर तीन सयजतिको संख्यामा आएका आन्दोलनकारीले करीब एक सय मीटरको दूरीमा रहेको नगरपालिका भवन जलाए। छेवैमा रहेको जिल्ला समन्वय समितिको कार्यालयमा आगजनी गरेपछि ती अदालत परिसरतर्फ बढे। न्यायाधीशहरूलाई अंगरक्षकले आ-आफ्ना निवासतर्फ लगे, कर्मचारीलाई पनि घर पठाइयो। त्यतिन्जेल अधिकारीलाई प्रहरी सहायक निरीक्षक दीपक चन्दले ‘सकिन्छ कार्यालय जोगाउनू, नसके आफ्नो जिउज्यान र हातहतियार जोगाउनू’ भनिसकेका थिए।
संगीता अधिकारी‚ प्रहरी हवल्दार
अदालत परिसरमा न्यायाधीशलाई सुरक्षा दिन राखिएको हातहतियारको भण्डार थियो। ती आन्दोलनकारीले कब्जा गरे झनै जोखिम बढ्ने भएकोले ती हतियारलाई ब्यारेकतिर लगिएकाले सहायक हवल्दार अधिकारी निशस्त्र थिइन्। केही आन्दोलनकारीले अदालतको तलामाथि चढेर फूलका गमला झारिदिए। न्यायाधीशको तस्वीर सहितको ब्यानर बाहिर फ्याँकिदिए।
‘यसमा क्षति पुऱ्याएर तपाईंहरूले केही पाउनुहुन्न, छाडिदिनुस् बिन्ती छ, यो तपाईं हाम्रै सम्पत्ति हो भन्दै हात जोडे।’ सहायक हवल्दार अधिकारी भन्छिन्, ‘यहाँ अपराधका धेरै फाइल छन्, धेरैले न्याय पाउँन बाँकी छ। भाइ प्लिज गइदिनुस् भन्दै बिन्ती गरेपछि ती फर्किन थाले।’ त्यस दिन भीडले दाङको मालपोत कार्यालय, नापी कार्यालय, सडक विभाग लगायतका ५८ वटा सरकारी कार्यालयमा आगजनी तथा तोडफोड गऱ्यो, जसमध्ये १५ वटा पूर्णरूपमा ध्वस्त भयो। अदालत बचाउने साहस देखाएको भन्दै अधिकारीलाई हवल्दार पदमा पदोन्नति गरिएको छ।
हिमालखबरले खोजीनीति गरेका यी केही प्रतिनिधिमूलक घटना मात्र हुन्। भदौ २४ मा चौतर्फी प्रतिकूलता बावजूद देशभरि विशेषगरी उपत्यकामा खटिएका प्रहरीले डटेर संकटको सामना गरेका थिए‚ भनिन्छ। प्रहरी संगठन नै धराशायी बनाउने गरी आक्रमण हुँदा समेत तिनलाई सुरक्षा दिन सेना र सशस्त्र प्रहरी बल किन आएन? प्रहरी नेतृत्वले सैनिक मुख्यालयमा शरण लिएर ज्यान जोगाए। तिनले किन ‘आत्मरक्षाका निम्ति मातहतका प्रहरीलाई गोली चलाउन दिएनन्? किन थुनुवा छाड्न र ज्यान जोगाएर भाग्न निर्देशन दिए? त्यसमाथि गृहमन्त्री भइसकेपछि ओमप्रकाश अर्यालले आफ्नै मातहतको संगठनमाथि भएको आक्रमण, लुटपाट र आगजनीबारे किन अनुसन्धान नगर्न निर्देशन दिए? यी र यस्ता गम्भीर प्रश्नहरू थिए- जुन त्यस दिन मैदानमा डटेकाहरूले हामीसामु बारम्बार उठाए, जसको जवाफ तत्काल हामीसँग थिएन।