म पश्चिमी सीमान्त शहर महेन्द्रनगरबाट यो लेख लेखिरहेको छु। महेन्द्रनगर, जसलाई गणतन्त्रपछि भीमदत्तनगर नामकरण गरियो, त्यही शहर हो जसले महाकाली र सेती पहाडका हजारौं मानिसलाई पूर्वाधार सहित बसोबासको ठाउँ दिएको छ। यहाँ व्यवस्थित ढंगले ठूला सडकदेखि साना गल्लीसम्म ‘नम्बरिङ’ गरिएको छ। पूर्वदेखि पश्चिमसम्मका मानिसको बसोबास थलो हो महेन्द्रनगर। दक्षिणी नेपालको आउजाउ गर्ने हुलाकी सडकको संगम पनि हो यो शहर।
पहाडमा जतिवेला जनसंख्या वृद्धिले खाद्यान्न संकट निम्त्याइरहेको थियो‚ त्यो वेला तराईमा घना जंगल थियो। राजा महेन्द्रले नयाँ मुलुकको एउटा हिस्साको रूपमा कञ्चनपुरको सीमान्त जग्गामा आफ्नै नाममा शहर बसाए। २०१८ सालमा महेन्द्रनगर भन्दा करीब ६ किलोमीटर उत्तरमा रहेको ब्रह्मदेव बजारलाई घुसुडीमा सार्न आदेश दिंदै यो शहरको नाम महेन्द्रनगर राखे। त्यही शहरको पश्चिमी विन्दु गड्डाचौकीबाट काकडभिट्टा जोड्ने राजमार्ग खन्न लगाए। महेन्द्रनगरमा अहिले करीब १ लाख २५ हजार मानिसको बसोबास छ। चौडा सडक, ठूल्ठूला भवन, भौतिक सुविधायुक्त यो शहरको समृद्धिको सम्भावना अझै बढिरहेको छ। त्यसको कारण हो शहरको पश्चिम किनारमा निर्माण भएको पक्की सडक। सँगसँगै महाकाली नदीमाथि निर्माण भएको पक्की पुल र नदीपारिको नेपाली भूमिमा भारतले निर्माण गरिरहेको सुक्खा बन्दरगाह। अहिले त्यहाँ रूख कटानको काम सकिएर बन्दरगाह बन्दैछ।
डेढ दशकअघि महाकालीमाथि बनेको झोलुङ्गे पुलले यो शहरको चहलपहल मात्र बढाएको थिएन, भारतीय बाटो भएर नेपाल आउनुपर्ने बाध्यतामा रहेका दोधारा चाँदनीका नेपालीलाई ठूलो राहत मिलेको थियो।
२०२८ सालतिरै राजा महेन्द्रले पहाडका मानिसहरूलाई कञ्चनपुरमा बसाइ सर्न आमन्त्रण गरे पनि पहाडबाट मानिसहरू त्योभन्दा पहिल्यैदेखि तराई झर्न थालेका तथ्यांकहरू पाइन्छन्। पश्चिम डडेल्धुराबाट आजभन्दा सात दशकअघि मानिसहरू तराई झरेको आँकडा नेपाली कांग्रेसका तत्कालीन केन्द्रीय सदस्य एन.डी. प्रकाश चटौतले आफ्नो डायरीमा उल्लेख गरेका छन्। पहाडका मानिस मधेश हिंडेको एक दिन (२०१२ मंसीर २६ गते ) को तथ्यांक समेटिएको उनको डायरीले बसाइ-सराइँको प्रवृत्ति बुझ्न सघाउँछ। उनले डायरीमा टिपोट गरेका छन्, ‘आज यो बाटोबाट मधेशतर्फ जानेहरूको तालिका- पुरुष ३९०, महिला ५०, केटाकेटी १५ जना र घोडा ११ वटा। मधेशबाट घर फर्की आउनेहरूको तालिका- पुरुष १०४ र महिला ५ जना।’ (‘एन.डी. प्रकाश र उहाँका डायरी’, पृ.४३०, २०८१ मा प्रकाशित ) पहाडमा निकै कष्टका साथ खोलिएका विद्यालयमा पढ्ने विद्यार्थीको कमी भएपछि चटौतले बसाइ-सराइँको अध्ययन गरेर समस्या बुझ्न खोजेका थिए।
एन.डी. प्रकाशले पहाडतिरबाट धेरै मानिस मधेश झरेर बसोबास गर्न थालेपछि पहाड रित्तिने भय प्रकट गरेको डेढ दशकपछि राजा महेन्द्रले पुनर्वास कार्यक्रम सञ्चालन गरे। उनले सीमान्त शहरमा पहाडतिरका मानिसहरूलाई जग्गा बाँड्दै नेपाल–भारत सिमानामा तैनाथ गर्ने नीति लिए। यस नीति अन्तर्गत महेन्द्रनगर वरपर करीब १० हजार बिघा क्षेत्रफल आवादी गर्न अनुमति दिए। महेन्द्रले देशैभरिबाट प्राकृतिक विपत्तिमा परेका र स्वेच्छिक रूपमा यहाँ आएर बसोबास गर्न चाहनेहरूलाई पहिलो चरणमा चार बिघा खेतीयोग्य जग्गा र १० कट्ठा घडेरी दिने योजना सार्वजनिक गरे। उनको आमन्त्रणलाई स्वीकार्दै हजारौं मानिस महाकाली र सेती पहाडबाट कञ्चनपुर झरे। भोजपुर, धनकुटा, धादिङ, ताप्लेजुङ, झापा लगायतका ठाउँहरूबाट पश्चिमी शहरमा बसोबास गर्न पुगे।
वि.सं. १८१५ मा जंगबहादुर राणाले लखनऊ विद्रोह दबाउन इष्ट इन्डिया कम्पनी सरकारलाई साथ दिएवापत नेपाललाई कैलाली, कञ्चनपुर, बाँके र बर्दिया प्राप्त भएपछि यी चार जिल्ला ‘नयाँ मुलुक’ को रूपमा चिनिन थाल्यो। नयाँ मुलुकका नयाँ बस्तीले हरेकलाई नयाँ परिचय दिएको छ। नयाँ मुलुकमा बसाइ सरेर आउनेहरू एक्लाएक्लै थिएनन्। त्यहाँ रैथाने राना थारू सहित आप्रवासी समाज थियो, आफूजस्तै टाढाटाढाबाट आएका मानिसहरू थिए। जस्तैः धादिङको झार्लाङमा २०३५ सालमा आएको पहिरोले विस्थापित भएका करीब ४० घर-परिवार एकैपटक कञ्चनपुर पुगेका थिए। भोजपुर, धनकुटा र झापाबाट मानिसहरू ‘भात खाने खेत सरकारले दिन्छ रे!’ भन्ने सुनेर भारतको बाटो हुँदै यहाँ आइपुगेका अनुभव सुनाउँछन्। त्यसले भिन्न जाति, भाषा, संस्कार, रीतिथिति एकै ठाउँ देखिन थाल्यो। भोजपुरका मान्छेको छिमेकी बझाङ्गी भए। बैतडीबासीको छिमेकी इलामे भए। झापालीका छिमेकी दार्चुलाबासी भए। हुँदाहुँदा यी सबैका छिमेकी बर्मेली पनि भए। राजा महेन्द्रले धेरै संख्याका नेपाली मूलका बर्मेलीलाई यसै शहरमा खेती गर्ने जमीन सहित घडेरी उपलब्ध गराए। यसरी अन्य ठाउँबाट मानिसहरू आएर बसोबास गरेपछि कैलाली, कञ्चनपुरमा पुस्तौंदेखि बसोबास गर्दै आएका राना थारू आफ्नै ठाउँमा अल्पसंख्यक बन्न पुगे र केही हदसम्म विस्थापित पनि भए। उनीहरू र दाङबाट बसाइ सरेर आइसकेका डगौरा थारू बन्दै गएको मिश्रित समाजको हिस्सा हुन पुगे। कञ्चनपुरमा सघन रूपमा पुनर्वास गराइएका मानिसहरूको बसोबास भएको ठाउँलाई पञ्चायत कालमा ‘पुनर्वास पञ्चायत’ भनियो। बहुदलमा यो ‘पुनर्वास गाउँपालिका’ भयो र अहिले आसपासका गाविसहरू मिलाएर ‘पुनर्वास नगरपालिका’ बनाइएको छ।
आकाशबाट हेर्दा महेन्द्रनगर । ड्रोन तस्वीर : मदन गिरी
पहाडमा त्यसवेला जनसंख्या विष्फोट हुने अवस्थामा पुगिसकेको थियो र यसले भोकमरी बढ्दै गइरहेको थियो। यहीवेला तराईका जिल्लाहरूमा पूर्व-पश्चिम राजमार्ग निर्माण र औलो नियन्त्रणका कारण पहाडबाट लाखौं मानिस तराईतिर झरे। यस्तो बसाइ-सराइँ सरकारको पनि प्राथमिकतामा पर्न गयो। २०२८ सालतिर करीब ५४ प्रतिशत बासिन्दा पहाडमा बस्थे। ३५-३६ प्रतिशत मानिस तराईमा छरिएर बसेका थिए। आवाद भूमिमा जंगल थियो। पहाडका मानिसलाई विकेन्द्रीत नगरे सरकार विरुद्धको विद्रोह चर्कन सक्ने त्रासमा शासकहरू थिए। पहाडेहरू तराई झर्ने क्रम बढेपछि पाँच दशकमा नेपालको जनसंख्याको भौगोलिक स्वरूप उल्टियो।
५० वर्षअघि ५४ प्रतिशत बसोबास रहेको पहाडमा अहिले ४० प्रतिशत मात्र जनसंख्या अडिएको छ भने तराईका २२ जिल्लामा ५४ प्रतिशत जनसंख्या पुगेको छ। बसाइ-सराइँले कञ्चनपुरको छिमेकी पहाडी जिल्ला डडेलधुराको जनसांख्यिक बनावट कति बदलियो भन्ने एउटा उदाहरण २०३१-३२ सालमा प्रकाशित ‘रिजनलिजम् एण्ड नेशनल युनिटी इन नेपाल’ पुस्तकमा अमेरिकी अनुसन्धानकर्ता फ्रेडरिक एच. गेजले उल्लेख गरेका छन्। उनले त्यसवेलाको कञ्चनपुरको जनघनत्व ३१ प्रतिवर्गकिलोमीटर हुँदा डडेलधुराको १४६ प्रतिवर्गकिलोमीटर थियो भनी उल्लेख गरेका छन्। कञ्चनपुर अहिले ५ लाख ३७ हजार ५३७ जनसंख्या सहित ३१९ प्रतिवर्गकिमीटर जनघनत्वमा छ भने डडेलधुरा १ लाख ३९ हजार ६०२ जनसंख्या सहित ९१ प्रतिवर्गकिलोमीटर जनघनत्वमा झरेको छ।
दैलेख, बझाङ, बैतडी आदि सुदूरपश्चिम र आसपासका मानिस मात्र होइन, सुदूरपूर्वको ताप्लेजुङबाट आएर बसोबास गरेका मानिसहरूको संख्या पनि यो नगरपालिकामा उल्लेख्य छ। यहाँ सुदूरपूर्वको ताप्लेजुङ थातथलो भएका किशोर लिम्बू दोधारा चाँदनी नगरपालिकाको मेयरमा निर्वाचित भएका छन्। लामो दूरी पार गरेर आएका आन्तरिक बसाइ सरुवाहरू राजनीतिक नेतृत्वमा पुग्ने लिम्बू मात्र उदाहरण होइनन्। कञ्चनपुरभरि यस्ता उदाहरण धेरै छन्। ताप्लेजुङबाट पुनर्वासी भएर कञ्चनपुर पुगेका सोम मिश्र २०५४ सालमा बेलौरी गाविसको उपाध्यक्ष थिए। धादिङे तारा लामा कञ्चनपुरबाट कहिले संघीय त कहिले प्रदेश सभामा चुनाव जित्ने नेता हुन्। भोजपुर थातथलो भएका ऋषिराज लुम्साली त सुकुम्बासी आयोगका अध्यक्ष नै भए। २०५१ सालमा सुकुम्बासी समस्या समाधान आयोगको अध्यक्ष भएका लुम्सालीलाई अहिले पनि धेरैले सम्झिन्छन्। लालबहादुर विश्वकर्मा भोजपुरबाट भविष्य खोज्दै पुनर्वासी भएर कञ्चनपुर पुगेका हुन्। कालान्तरमा उनी यसै जिल्लाबाट राष्ट्रिय सभा सदस्य हुँदै मन्त्री समेत भए। सोलुखुम्बु पुर्ख्यौली घर भएका लाहुरे बाबुकी छोरी बिना मगरले २०७४ सालमा संघीय संसद्को चुनाव जितिन्। अहिले पनि उनी त्यहींको राजनीतिमा सक्रिय छिन्। यसरी कञ्चनपुर र महेन्द्रनगर बनाउन पुनर्वासीहरूको ठूलो योगदान छ।
यो शहरले मानिसलाई बस्न निम्ता दिने मात्र होइन‚ यसैको पल्लो किनारबाट वर्षेनी लाखौं नेपालीलाई रोजगारीका लागि भारत पनि पठाइरहेको छ। यो शहरले रोजगारी, बास, शिक्षा, आर्थिक स्रोत जुटाइदिन नसकेकाहरू भारतमा कुल्ली र ज्यामीको काम गर्न ताँती लागेर हरेक वर्ष महाकाली तर्न बाध्य छन्। गड्डाचौकी नाकामा लालाबाला सहित लस्कर लागेका युवा र महिला देख्दा सुदूरपश्चिम पहाडका धेरै मानिसलाई महेन्द्रनगरले आश्रय दिनसकेको रहेनछ भन्ने लाग्छ। यो शहर बसाइ-सराइँको गन्तव्य मात्र नभई श्रम आप्रवासनको लागि छिमेकी भारत पस्ने ‘ट्रान्जिट शहर’ पनि हो।
(लेखक जनसंख्याका अध्येता हुन्।)