भदौ २३ गते काठमाडौंमा भएको जेन–जी प्रदर्शनमाथि सुरक्षाकर्मीले गोली चलाउँदा १९ जनाको ज्यान गएपछि, भोलिपल्ट भएको देशव्यापी विरोध कार्यक्रम हिंसात्मक बन्न पुग्यो। सिंहदरबार, न्यायालय, संसद् भवन तोडफोड गरेर जलाइयो। छानी छानी नेता र व्यापारिक केन्द्रमाथि आक्रमण भयो। दलका पार्टी कार्यालय जले। विद्यालय जलाइयो। भाटभटेनी जस्ता ‘शपिङ सेन्टर’ र हिल्टन जस्ता तारे होटल तारोमा परे। त्यहाँ आगजनी र लूटपाट गरियो। संघीय राजधानीमा भएको यस्तो विध्वंसबाट सुदूरपश्चिम प्रदेश पनि बँच्न सकेन। तोडफोड र आगजनीले यो प्रदेशले निकै क्षति ब्यहोऱ्यो। विशेष गरी प्रदेश राजधानी धनगढीमा रहेका सरकारी भवनहरूमाथि आक्रमण भयो।
धनगढीमा भएको त्यस दिनको तोडफोड र आगजनीमा विभिन्न स्वार्थ समूह र दलका युवाहरूको संलग्नता ‘डिजिटल फूटप्रिन्ट’ मार्फत खुल्न थालेको छ। बिस्तारै प्रत्यक्षदर्शीहरूले पनि मुख खोल्न थालेका छन्। हिमालखबरसँग कुरा गर्दै नीति तथा योजना आयोगका सदस्य नृप सुनारले आफू बल्लबल्ल मृत्युको मुखबाट उम्किएको अनुभव सुनाए। आन्दोलनकारीले मुख्यमन्त्री कार्यालय घेराउ गर्न थालेपछि पछाडिको ढोकाबाट भागेर ज्यान जोगाएको बताउने सुनार भन्छन्, ‘एकछिनपछि सामाजिक सञ्जालमा भिडियोहरू आउन थाल्यो। त्यसमा नेविसंघ, तरुण दल र युवा संघका भाइबहिनीहरूले आगजनी र तोडफोड गरिरहेका देखिन्थे।’ उनको भनाइमा त्यो भीडमा भरतविक्रम शाह एकदमै उग्र देखिन्थे। उनकी आमा चन्द्रलक्ष्मी शाह नेपाली कांग्रेस, जिल्ला सदस्य हुन्।
एमाले कार्यालय तोडफोड गर्दै निखिल वड‚ मुख्यमन्त्री कार्यालय जलाएर सेल्फी लिंदै भरतविक्रम शाह र तरुण दल सभापति सन्दिप बस्नेत।
मुख्यमन्त्री कार्यालयबाट शुरू भएको त्यो दिनको तोडफोड र आगजनी सरकारी कार्यालय, नेताहरूको घर, सरकारी गाडी र प्रमुख दलका कार्यालयमाथि केन्द्रित थियो। एउटा समूहले धनगढी बजारबाट १६ किमी उत्तरमा पर्ने अत्तरियामा रहेको एमाले पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री लेखराज भट्टको घरमा तोडफोड र आगजनी गऱ्यो। लेखराजका भाइ गोकर्ण भट्टका अनुसार, त्यस दिन आगजनी र तोडफोड गर्ने व्यक्तिहरू राप्रपा र एमालेका कार्यकर्ता सहित केही व्यापारीहरू पनि थिए। गोकर्ण भन्छन्, ‘तोडफोड, आगजनीमा २ वटा घर, ट्याक्टर परे। खाद्यान्न लगायत लत्ताकपडा लूटे। २२ तोला सुनको गहना र तीन लाख नगद गरी पाँच करोडभन्दा बढीको क्षति भएको छ।’
मानव अधिकारकर्मी गोमा आचार्यले त्यस दिनको सामाजिक सञ्जालमा तोडफोड तथा आगजनीका छरपस्ट तस्वीर र भिडियोहरूमा विभिन्न दलका युवाहरू नै अग्रपंक्तिमा देखिन्। कञ्चनपुर, दोधारा–चाँदनी नगरपालिकाको तरुण दलका सभापति सन्दिप बस्नेतले टिकटकमा सार्वजनिक गरेको भिडियोमा नेपाली कांग्रेस पार्टी कार्यालय, एमाले पार्टी कार्यालय, नगरप्रमुख पदम बोगटीको घर, प्रदेश सभा सदस्य प्रकाश रावलको घर र पूर्वनगर प्रमुख सुरेन्द्र विष्टको घर ध्वस्त पारेको स्वीकारेका छन्। उनले त्यही भिडियोमा नेताहरूको घर छानी छानी खोज्ने धम्की दिएका छन्।’ अहिले भने उनले यो टिकटक हटाएका छन्।
धनगढी‚ वडा नम्बर- १ मा रहेको नेकपा एमाले जिल्ला पार्टी कार्यालयमा पनि आक्रमण भएको थियो। त्यस दिन जिल्ला अध्यक्ष यज्ञराज ढुंगाना काठमाडौंमा थिए। उनी भन्छन्, ‘पार्टी कार्यालयमा तोडफोड गर्ने उग्र युवाको भिडियो सार्वजनिक भएपछि को होला भनेर सोधिखोजी गर्दा उनी धनगढी उपमहानगरपालिकाका पूर्वप्रमुख नृप वडको छोरा निखिल वड पो रहेछन्। नृप वड नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन्। ढुंगानाको भनाइमा आन्दोलनमा पार्टीभित्रका असन्तुष्ट कार्यकर्ताहरूको सहभागिता देखिन्छ।
पार्टीका जेन–जी
जेन–जी आन्दोलनमा दलकै युवाहरू किन संलग्न भए? किन ती आफ्नै दलसम्बद्ध भौतिक संरचना र नेताका घर तोडफोड गर्न अग्रसर भए? हेमराज जोशी सहित एमालेका जेन–जी समूहले भदौ २७ गते ‘पार्टी रिफर्म रिभ्योलूसन’ फेसबुक खोलेर दललाई लोकतन्त्रीकरण गर्ने भन्दै अभियान थालेका छन्। यो पेज विभिन्न विषयमाथि गरेको छलफलको निचोड नेतृत्व समक्ष राखेर बहस गर्न भनी खोलिएको हेमराजको भनाइ थियो। जेन–जी आन्दोलनको मर्म मर्न नदिने भन्दै जोशी भन्छन्, ‘पार्टी सुध्रिनु पर्छ। पार्टीभित्र विधिको शासन हुनुपर्छ। पार्टी भ्रष्टाचार रहित हुनुपर्छ भनेर यो अभियान चलाएका हौं।’
हेमराज जोशी‚ एमाले जेन–जी समूहका सदस्य
जोशीको भनाइमा‚ यदि नेतृत्वले गुटगत राजनीति र शक्तिको राजनीतिक स्वार्थसँग मात्रै सरोकार नराखी जनताको समस्या अथवा पार्टीभित्रको फरक मतलाई कसरी व्यवस्थापन गर्ने भनी सोचेको भए भदौ २३ र २४ गतेको अवस्था आउने थिएन। ‘जब बलियो मान्छे अगाडि बढ्न थाल्छ तब असल मान्छे किनारामा पर्दै जान्छ‚ पार्टीभित्र त्यही देखियो। तिनको सवाल सुनिन छाड्यो। आन्तरिक लोकतन्त्र खतम भयो।’ जोशी भन्छन्, ‘सत्ता र शक्तिमा पहुँच नहुनेले दुःख मात्रै पाउन थालेपछि असन्तुष्ट र बेरोजगार युवाहरूले आन्दोलनको बाटो रोजे।’
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) का जिल्ला अध्यक्ष कुबेर खड्का पनि जेन–जी आन्दोलनमा थिए। खड्का भन्छन्, ‘भदौ २३ को आन्दोलनको सवाल एकदमै सान्दर्भिक थियो। तर भोलिपल्ट आन्दोलन ‘हाइज्याक’ भयो र वितण्डा मच्चियो। त्यसको फाइदा दलका कार्यकर्ताले रिसईबी साँध्न पनि उठाएको देखिन्छ।’
कुबेर खड्का‚ अनेरास्ववियू‚ जिल्ला अध्यक्ष
खड्काको भनाइसँग नेपाली कांग्रेसको भ्रातृसंगठन तरुण दलका जिल्ला सदस्य नवीन रावलको कथन मिल्दोजुल्दो छ। रावलका अनुसार, भदौ २४ गतेको भीडमा कोही ‘राजा चाहियो’ भन्दै उफ्रिरहेका थिए भने केहीले अराजकताबाट फाइदा उठाइ लूटपाट गरिरहेका थिए। अधिकांश दल सम्बद्ध युवाहरू भने देशमा भ्रष्टाचार बढेकै कारण रिस पोख्न भदौ २३ गतेदेखि नै आन्दोलनमा सहभागी थिए। उनी भन्छन्, ‘त्यही भएर जेन–जीहरू आफ्नै नेता र दल विरुद्ध सडकमा ओर्लिए। सरकारले दमन गरेर त्यो आक्रोशलाई झन् भड्काइदिएपछि भदौ २४ को घटना भयो।’
नवीन रावल‚ जिल्ला सदस्य‚ तरुण दल
धनगढी नजिकैको कैलारी गाउँपालिकामा भएको एउटा घटनाले पनि त्यस्तै संकेत गर्छ। विभिन्न दलसम्बद्ध युवाहरूले भदौ २३ मा मारिएकाहरूको स्मरणमा गाउँपालिका कार्यालय परिसरमा शोकसभाको आयोजना गरेका थिए। त्यहाँ बेलुकी मान्छेको जमघट भइरहेको थियो। अचानक त्यहाँको वातावरण झगडामा परिणत भयो। कार्यक्रम स्थलमा छिरेका राष्ट्रिय स्वतन्त्र पार्टीका स्थानीय नेता झनक खनाल, नेपाली कांग्रेस क्षेत्रीय सचिव राजु बराल, काङ्ग्रेस कार्यकर्ता एकेन्द्र बोहरा, नागरिक उन्मुक्ति पार्टीका स्थानीय नेता रमित वली, कैलारी गाउँपालिका वडा नं. २ विजयपुरस्थित राष्ट्रिय माविका व्यवस्थापन समितिका अध्यक्ष नवीन बोहरा र नमूना होटलका सञ्चालक तेज बरायल लगायतका व्यक्तिहरू ढोकाभित्र छिरेर निहुँ खोज्दै तोडफोडमा उत्रिए। उनीहरूले गाउँपालिका भवन तोडफोड र आगजनी गरे।
कैलारी गापा तोडफोडमा संलग्न कांग्रेसका स्थानीय नेता नवीन बोहोरा‚ कालो टीशर्टमा
तोडफोड सम्बन्धमा शोकसभा आयोजना गर्ने एक जना दलका स्थानीय कार्यकर्ताको भनाइमा २०७९ सालको स्थानीय निर्वाचनमा आफूलाई गाउँपालिका अध्यक्षको टिकट नदिएपछि दलमा विद्रोह गरेका नवीन बोहराले स्वतन्त्र उम्मेदवारी दिए, तर उनी हारे। अध्यक्षमा नेपाली कांग्रेसकै राजसमझ चौधरीले जिते। त्यसैले नवीनले आफ्ना साथीहरू ल्याई शोकसभा बिथोल्नुका साथै गाउँपालिका नै तोडफोड र आगजनी गरिदिएको नाम बताउन नचाहने ती कार्यकर्ता सुनाउँछन्।
रमित वली‚ स्थानीय नेता‚ नागरिक उन्मुक्ति पार्टी
भदौ २४ गतेको तोडफोड र आगजनीमा सुदूरपश्चिम प्रदेश सरकारले ठूलो क्षति ब्यहोर्नु पऱ्यो। घटनामा ११५ वटा सरकारी कार्यालयमा तोडफोड र आगजनी भयो। १२४ वटा चारपांग्रे गाडी, ६ वटा तीन पाङ्ग्रे, ५५४ वटा, १५ वटा मोटरसाइकल, ६९९ वटा सवारी साधन ध्वस्त पारिएको प्रदेश प्रहरी कार्यालयका डीआईजी डम्मर बिकले जानकारी दिए। उनका अनुसार ३५ वटा सर्वसाधारणको घर, विभिन्न दलका ३४ वटा कार्यालय र १६ वटा प्रहरी कार्यालयमा तोडफोड र आगजनी भएको छ। डीआईजी बिकले आन्दोलनको नाममा अराजक तरीकाले तोडफोड र आगनजीमा संलग्नहरूको पहिचान गर्न सहज होस् भनी भिडियोहरू संकलन भइरहेको जानकारी दिए।
शाेकसभा बिथोलिएकाे कैलारी गाउँपालिका
हिमालखबरले कुराकानी गरेका आन्दोलनमा सहभागी विभिन्न दलमा आवद्ध धनगढी आसपासका युवाहरूका भनाइ सुन्दा अब दलमा लोकतान्त्रिक अभ्यास नगरी नेतृत्वलाई धरै छैन। दलभित्रका युवाहरू आफ्ना नेताका अलोकतान्त्रिक शैली र सरकारी संयन्त्रमा मौलाएको भ्रष्टाचारप्रति आक्रोशित छन्। युवाहरूलाई नेतृत्वमा ल्याउन नचाहने नेताहरूप्रति रुष्ट छन्। हेमराज जोशी भन्छन्, ‘त्यसैले हामी जेन–जीले पार्टी शुद्धीकरण अभियानको थालनी गरेका हौं। हामी चाहन्छौं पाटीभित्र हाम्रा मागहरूको बहस होस्। युवाहरूका विचार आओस्। सक्षम मान्छे नेतृत्वमा पुगोस्। भ्रष्टाचारमुक्त समाज होस्।’