जेन–जी प्रदर्शनको क्रममा भदौ २३ गते १९ जना प्रदर्शनकारी मारिएपछि भोलिपल्ट शुरू भएको तोडफोड, आगजनी र लुटपाटमा मिडिया हाउसहरू पनि निशानामा परे। यसरी तारोमा पर्नेहरू– अग्रणी निजी सञ्चार गृह कान्तिपुरदेखि अहिलेसम्म आक्रमणमा नपरेका सरकारी सञ्चार माध्यम नेपाल टेलिभिजन र रेडियो नेपालसम्म थियो।
समाचार कक्ष आफैं समाचार बनेको भदौ २४ गतेको यस्तो विध्वंस पाठक/श्रोता/दर्शकलाई समाचार सुनाउँदै आइरहेका सञ्चारकर्मीहरूकै आँखा अगाडि भयो। जेन–जीका नाममा सञ्चारकर्मीमाथि पनि आक्रमण भयो। तिनले कुटाइ खाए। नेपालको इतिहासमा मिडियामाथि यो स्तरको भौतिक आक्रमण कहिल्यै भएको थिएन, छैन। मिडिया हाउसहरूमाथि छानी–छानी किन आक्रमण गरियो? कसको योजना र उक्साहटमा यी सबै कुकृत्य भए? यस्ता तथ्यबाट भविष्यमा पर्दा खुल्दै जाला ! तर, त्यस दिन सञ्चार गृहहरूमा आन्दोलनकारीले कसरी आक्रमण गरे, के–कसरी विध्वंस मच्चाए? त्यस्तो आतंकित वातावरणमा सञ्चारकर्मीले कसरी ज्यान जोगाए? हामीले आक्रमणका प्रत्यक्षदर्शीहरूसँग सम्बन्धित मिडिया हाउसमै पुगेर कुराकानी गरेका थियौं। यो रिपोर्ट त्यसैमा केन्द्रित रहेर प्रस्तुत गरिएको छ :
‘७२ घण्टापछि जलेकै स्टुडियोबाट प्रत्यक्ष प्रसारण सुचारु गऱ्यौं’
भदौ २४ गते कान्तिपुर टेलिभिजनका प्रधान सम्पादक विजय पौडेल दुई बजेको समाचार वाचन गर्न स्टुडियो छिर्नुअघि उनले सबै सहकर्मीलाई भनेका थिए, ‘साथीहरू, हामी तयारी अवस्थामा बस्नुपर्छ है ! हामीलाई एउटा ढुंगा मात्रै हानियो भने पनि हामी यहाँबाट निस्कनुपर्छ। तर हामीमाथि आक्रमण नहुन्जेलसम्म काम गरिरहनुपर्छ।’ सहकर्मीहरूलाई सजग गराएर स्टुडियो छिरेका पौडेलले स्टुडियोभित्रबाटै फोन र मोबाइलमार्फत देशभरिको आन्दोलनको जानकारी लिइरहेका थिए। त्यतिबेलै स्थलगत रिपोर्टिङमा खटिएका पत्रकारहरूबाट सूचना आयो ‘कान्तिपुर जलाउनुपर्छ भन्दैछन्, चनाखो रहनुहोला।’
विजय पौडेल‚ प्रधान सम्पादक‚ कान्तिपुर टेलिभिजन
चैत १५ गते राजावादीको आन्दोलनमा तीनकुनेस्थित कान्तिपुर टेलिभिजनमाथि आक्रमण भएकोले यसपालि पनि त्यस्तो सम्भावनाबारे अघिल्लो दिन नै आकलन गरिएको थियो। भदौ २३ गते १९ जना प्रदर्शनकारीको गोली लागेर मृत्यु भएपश्चात् भदौ २४ गते बिहानैदेखि कर्फ्यू जारी गरिएको थियो।
पौडेलका अनुसार २४ सै घण्टा ‘अनएयर’ भएर जनतालाई सुसूचित गराउने मिडियाको धर्म भएकोले आक्रमणको आकलन गरेर बस्न मिलेन। उनले भने, ‘अप्ठ्यारो परिस्थितिमा त मिडियाले झनै थप भूमिका निर्वाह गर्नुपर्ने हुन्छ। त्यसैले अन्य दिनभन्दा पत्रकारहरू त्यस दिन निर्धारित समय अगावै काममा खटिएका थिए।’
अपराह्न २ बजेको समाचार शुरू हुन मात्र लागेको थियो, पौडेलको मोबाइलमा ‘बाहिर आगो लागिरहेको छ’ भन्ने खबर आयो। पौडेल स्टुडियोबाट बाहिर निस्किए। स्टुडियो भवनको छेवैमा रहेको प्रशासनिक भवनमा आगो दन्किसकेको थियो। दुई भवनलाई जोड्ने पुलबाट प्रशासनिक भवनका कर्मचारीहरू स्टुडियो भवनमा पुगे। स्टुडियो भवनको झ्यालबाट हामफालेर अरूको घरमाथि पुग्ने ठाउँ भए पनि सबैले त्यसो गर्न सक्ने स्थिति थिएन। स्टुडियो भवनको भुइँतलामा रहेको एकमात्र ढोका पनि बाहिरबाट ताला लगाउने गरिएको थियो। पौडेलले भने, ‘मैले छेवैमा भएको फलामले ढोकाको सिसा फुटाएँ। ढोका फुटाउँदा हात काट्यो। ढोका त जसोतसो फुट्यो, त्यतिन्जेलसम्म त्यहाँ पनि आन्दोलनकारी जम्मा भइसकेकाले बाहिर निस्कन सक्ने अवस्था भएन।’
पौडेल भन्छन्, ‘आन्दोलनकारीहरू कसैले बोतलमा पेट्रोल बोकेका थिए, कसैले फलामको रड अनि कोहीको हातमा खुकुरी थियो। केहीले हेलमेट लगाएका थिए। प्रशासनिक भवन जलिरहेको थियो। उनीहरूले अन्य ठाउँमा पनि आगो झोसिरहेका थिए।’ उनी सुनाउँछन्, ‘त्यतिबेला हामी सबै आत्तिएका थियौं। कोही–कसैलाई पहिचान गर्नेभन्दा पनि त्यहाँबाट निस्कने र ज्यान बचाउने एक मात्र उद्देश्य थियो।’
कैदीहरूले प्रहरीसामु आत्मसमर्पण गरेझैं आन्दोलनकारीमाझ उनीहरूले हात माथि उठाएर याचना गरे। ‘साथीहरू हो मान्छे निस्कन देऊ, बाँकी जे गर्छौ गर!’ भनेपछि आन्दोलनकारीहरूले कान्तिपुर टेलिभिजनकर्मीहरूलाई बाहिर निस्कन दिए।
निस्कँदै गर्दा समाचार उपप्रमुख रुपेश श्रेष्ठ, संवाददाता नारायण किलम्बु र भिडियो पत्रकार विनोद कोजुमाथि कुटपिट भयो। कार्यालयका र व्यक्तिगत गाडी तथा मोटरसाइकलहरू जलाइए। जिल्ला डेस्क संयोजक डीपी उपाध्यायले आफ्नो गाडी निकाल्न खोज्दा आन्दोलकारीले गाडीभित्रै जलाउँछौं भनेपछि उनले त्यो गाडी उनीहरूलाई नै बुझाएर निस्कनु पऱ्यो। उनीहरूमध्ये कोही छिमेकीकोमा, कोही पसलमा लुकेर बसे र त्यहींबाट फोन र मेसेजद्वारा एक–अर्काबारे सोधपुछ पनि गरिरहे।
पौडेल भने सिसाको झ्याल फुटाउँदा काटिएको हातको रगत रोकथाम गर्न औषधि पसल खोज्नतर्फ लागे। नजिकैको एक औषधि पसलेले हतपत उनलाई पसलभित्र छिराई औषधि लगाएर ब्याण्डेज गरिदिए। केही समयपछि बाहिर निस्किएर आफ्नो कार्यालयतर्फ हेर्दा अझै पनि एउटा समूह आगजनी गर्दै थियो भने अर्को समूह आगजनी नहोस् भनेर गाडी ठेलेर बाहिर लगिरहेका थिए। केही कान्तिपुरकर्मीले आफ्ना गाडी निकाल्न खोजिरहेका थिए। तर चाबी रिसेप्सनमा थियो, रिसेप्सन जलिसकेको थियो।
पौडेलको गाडीको चाबी भने गोजीमै थियो। उनले आगो छल्दै आफ्नो गाडी निकाल्न भ्याए। त्यतिन्जेलसम्म पनि केही गाडी सद्दे नै थिए। केही भ्यानहरू बाहिर राखिएका थिए। त्यतिबेला उनलाई त्यहाँ भएका प्रदर्शनकारीमध्येका केहीले भने, ‘यहाँ नबस्नुस्, यहाँ सुरक्षित हुनुहुन्न, तपाईंलाई पिट्छन्।’ यो सुनेपछि पौडेल त्यहाँबाट निस्केर त्यही आसपासबाट त्यहाँको दृश्य नियालिरहे।
फेरि अर्को समूह आइपुग्यो। बाँकी रहेका मोटरसाइकलमा आगो लगाउँदै गयो। अघिल्लो समूहले बाहिर निकालेका गाडीहरूमा पनि आगो लगायो। ‘अलिक पर राखिएको गाडी पनि ठेलेर ल्याएर आगो लगाए,’ उनी भन्छन्, ‘त्यो सबै मैले नजिकैबाट हेरिरहें, कसैले मास्क लगाएका थिए, कसैले थिएनन् तर कसैलाई चिनिनँ। एक जना कर्मचारीले त्यो आगो निभाउन खोजेका थिए, तर उनलाई निभाउन दिएनन्।’ हेर्दाहेर्दै पौडेलको आँखाअगाडि कान्तिपुर टेलिभिजन जल्यो। सबै पत्रकार, कर्मचारीका गाडी र बाइकहरू जलेर ध्वस्त भए। पल–पलको खबर संसारमाझ पु¥याउने कान्तिपुर आफैं समाचार बनिरहेको थियो। उता थापाथलीमा रहेको कान्तिपुर राष्ट्रिय दैनिकको कार्यालय पनि उसै गरी जलिरहेको थियो।
केही समयपछि अर्को उत्तेजित समूह आइपुग्यो। जलिरहेको टेलिभिजन कार्यालय हेर्दै ‘अझै पनि सबै सकिएको रहेनछ’ भन्दै त्यो जत्थाले जेनेरेटर कक्षमा आगो झोस्यो। वरपरका घरसँग जोडिएको स्टुडियो बाँकी थियो। तेस्रो समूहले त्यहाँ पनि आगो लगाउन अघि बढ्यो। त्यहाँ आगो लाग्दा पछाडिका घरहरू सँगसँगै जल्ने निश्चित थियो। त्यो देखेर छेउछाउका घरधनीहरू छटपटाउन थाले। ती सबै क्रियाकलाप हेरिरहेका पौडेलले छिमेकीहरूलाई सल्लाह दिए, ‘तपाईंहरू यसरी छटपटाउनु भन्दा सक्नुहुन्छ भने उनीहरूलाई सम्झाउनुहोस् न, मानी पो हाल्छन् कि?’ अनि ती घरधनीहरूले डराइडराइ त्यहाँ आगजनी गरिरहेकालाई त्यसो नगर्न अनुनय गरे। प्रदर्शनकारीहरू त्यस्तो अनुनय सुन्ने मुडमा थिएनन्। तिनीहरूले छेउको मोटरसाइकलहरू लडाए, तोडफोड गरे। केहीले कम्प्युटर लगायतका सामान लिएर हिंडे।
अपराह्न २ देखि साँझ साढे ६ बजेसम्ममा सबै ध्वस्त भयो। करीब ७ बजेसम्म पौडेलले लुकेर त्यो दृश्य नियालिरहे। त्यसपछि उनी उपचार गर्न बीएण्डबी अस्पतालतर्फ लागे। रातको लगभग ११ बजे उनी घर फर्किए।
आन्दोलनकारीले सबै ध्वस्त बनाइदिएपछि ७२ घण्टा टेलिभिजन प्रसारण बन्द भयो। थापाथलीस्थित कान्तिपुर कार्यालय पनि जलेर ध्वस्त भएपछि सामाजिक सञ्जालबाट कान्तिपुर मिडिया ग्रुपले सूचना दिने काम गऱ्यो। पौडेल भन्छन्, ‘७२ घण्टापछि जलेकै स्टुडियोबाट हामीले प्रत्यक्ष प्रसारण शुरू गऱ्यौं।’
छिमेकीले बचाए अन्नपूर्ण पोष्ट
भदौ २४, बिहानैदेखि अन्नपूर्ण मिडिया नेटवर्कका सबै शाखा रेडियो, अन्नपूर्ण राष्ट्रिय दैनिक, दि अन्नपूर्ण एक्सप्रेसमा धमाधम काम भइरहेको थियो। अपराह्न ३ बजेतिर कान्तिपुरमा आक्रमण भयो भन्ने खबर आयो। त्यस लगत्तै आन्दोलनकारीहरू अन्नपूर्णतर्फ आउँदैछन् भन्ने सूचना प्रशासन प्रमुखलाई आयो।
अन्नपूर्णका कर्मचारीहरू बाहिर निस्कने बित्तिकै एउटा समूह आइपुग्यो। त्यस समूहमा अधिकांश युवाहरू नै थिए। अन्नपूर्ण मिडिया नेटवर्कका व्यवस्थापक मनोज बस्नेतका अनुसार उनीहरू उच्छृङ्खल र उत्तेजित देखिन्थे। कार्यालय अगाडि रहेको पेट्रोल पम्पबाट कार्यालयमाथि ढुंगामुढा प्रहार भयो। त्यस प्रहारबाट कार्यालयका सिसाहरू फुटे। भीड थपिंदै गयो। आन्दोलनकारीहरू भवनतिर बढे।
तोडफोड गरिएको अन्नपूर्ण पोष्टको कार्यालय‚ तीनकुने
कार्यालय प्रवेश गर्ने ढोकामा सटर लगाइएको थियो। त्यसैले आन्दोलनकारीहरू सजिलै कार्यालयभित्र छिर्न सकेनन्। अगाडि पेट्रोल पम्प भएकाले आगजनी गर्दा अन्नपूर्ण पोष्ट मात्र नभई सबै ध्वस्त हुने भएकाले वरिपरिका छिमेकीहरू भेला भएर आन्दोलनकारीहरूलाई सम्झाउन थाले। स्थानीयको आग्रहलाई आन्दोलनकारीले सुनेपछि आगजनी गरेनन्, तोडफोड मात्र गरे।
मनोज बस्नेत‚ व्यवस्थापक‚ अन्नपूर्ण मिडिया नेटवर्क
अन्नपूर्णको कार्यालय भएको भवनको पहिलो तलामा ‘काठमाडौं बेकरी’ खुलेको दुई दिन मात्रै भएको थियो। आन्दोलनकारीहरू त्यहाँ पसेर तोडफोड गर्दै खानेकुरा खान थाले। व्यवस्थापक बस्नेतले केही आन्दोलनकारीको हातमा हथौडा र चक्कु लगायतका हतियार देखे। ती हतियारधारीमध्ये चार जना अन्नपूर्णको कार्यकक्षमा उक्लिए। त्यो दिन सुरक्षा गार्ड सादा पोशाकमा थिए। उनले आन्दोलनकारीकै समूहमा सामेल भएजस्तो गरे। केही जत्थाले भवनको छैटौं तलामा रहेको रेडियो र दि अन्नपूर्ण एक्सप्रेसको कार्यालयमा छिरी कम्युटर लगायतका सबै सामग्री जम्मा पारेर जलाइदिए। ‘दि अन्नपूर्ण एक्सप्रेस’ का सम्पादक कमलदेव भट्टराईको कार्यकक्षमा पनि आगो लगाइदिए। आगोको ज्वाला फैलिंदै थियो। तर भवनको हरेक तलामा आगो निभाउने सुरक्षा संयन्त्र भएकोले आगो सर्वत्र फैलन नपाउँदै सुरक्षा गार्डले नियन्त्रण गरे। सबैतिर पुग्ने गरी पानी खोलिदिए। त्यसैले आगोले ठूलो रूप लिन नपाउँदै निभ्यो। यता सातौं तलामा पुगेकाहरूले व्यवस्थापकीय कार्यकक्ष तोडफोड गरी आगो लगाएर निस्किए। भवनको आठौं तलामा कर्पोरेट कार्यालय थियो, नवौं तलामा अन्नपूर्ण पोष्ट दैनिकको समाचार कक्ष। सातौं तलाबाट आन्दोलनकारीहरू माथि उक्लिन खोजिरहेका थिए। तिनै आन्दोलनकारीको समूहमा रहेका सुरक्षा गार्डले ‘त्यो भन्दा माथि त अरू नै कार्यालयहरू छन्, अन्नपूर्णको कार्यालयहरू सकियो, यति नै हो’ भनिदिए। आन्दोलनकारीले आफूजस्तै ठानेका सुरक्षा गार्डको कुरा सुनेर त्यहींबाट फर्किए।
नेपाल टेलिभिजन र रेडियो नेपाल : सरकारी सञ्चार माध्यमले भोगेको पहिलो आक्रमण
२०४१ सालमा स्थापित नेपाल टेलिभिजनले २०४२ साउनदेखि प्रसारण शुरू गरेको थियो। त्यसयता भएका व्यवस्था परिवर्तनका विभिन्न आन्दोलनको साक्षी नेपाल टेलिभिजन कहिल्यै आक्रमणको तारो भएन तर यसपालि सरकारी स्वामित्वको टेलिभिजनले पहिलो पटक आक्रमणको सामना गर्नु पऱ्यो।
भदौ २४ मा सिंहदरबार छिरेका भीडले सधैं कडा सुरक्षा घेरामा रहने सिंहदरबारभित्र अवस्थित नेपाल टेलिभिजन र रेडियो नेपालमा पनि आक्रमण गऱ्यो। सिंहदरबारभित्र कडा सुरक्षा घेरामा रहेको नेपाल टेलिभिजन र रेडियो नेपालमा असुरक्षा होला भन्ने कसैले सोचेका थिएनन्।
तोडफोडपछि सफा गरिएको नेपाल टेलिभिजनको भवन
केही समयसम्म त सिंहदरबारको मूलद्वारबाट भित्र प्रवेश गरेका मान्छेलाई सुरक्षाकर्मीहरूले सञ्चार माध्यममा क्षति पुऱ्याउन दिएनन्। तिनलाई सम्झाउँदै पठाउन थाले। सुरक्षाकर्मीहरूले ‘यो सार्वजनिक सेवाको रूपमा रूपान्तरण भएको छ, यसले जनताको पक्षमा काम गर्छ। सरकारको मात्रै समाचार दिंदैन, जनताको आवाज पनि बोल्छ’ भनेर सम्झाएपछि आन्दोलनकारीहरू फर्किएको नेपाल टेलिभिजन तथा रेडियो नेपालका अध्यक्ष डा. महेन्द्र विष्टले सुनाए। उनले भने, ‘आक्रमण नै गर्न चाहेको भए हामीले रोक्न सक्ने थिएनौं।’ तर सिंहदरबार नै जलाउन तत्पर भीडलाई कतिन्जेल रोक्ने? ३ बजेपछि स्थिति बिग्रियो।
महेन्द्र विष्ट‚ अध्यक्ष‚ नेपाल टेलिभिजन
एक टोली फर्किए पनि केही समयपछि अर्को टोलीले सिंहदरबारभित्र रहेका विभिन्न निकायमा आक्रमण शुरू ग¥यो। प्रधानमन्त्रीको कार्यालय, गृह मन्त्रालय जल्न थालेपछि रेडियो नेपाल र नेपाल टेलिभिजनमा पनि आन्दोलनकारीहरूको प्रवेश हुन थाल्यो। साढे ३ बजेतिर नेपाल टेलिभिजनका धेरै कर्मचारी घर फर्किसकेका थिए भने केही कर्मचारी मात्रै कार्यालयमा थिए। एउटा समूह कार्यालयभित्र छिऱ्यो र प्रशासन तर्फको कम्प्युटर लगायत विभिन्न मशीनरी सर–सामानहरू फुटाए। केहीले सामान बोकेर लगे।
विष्टको भनाइमा त्यहाँ आउनेहरू प्राविधिक ज्ञान र सीप भएका देखिन्थे। कुन सामग्री केका लागि काम लाग्छ भन्ने छुट्याउन सक्ने थिए। त्यसैले छानि–छानि ती सामानमा क्षति पु¥याइरहेका थिए। त्यो कहालीलाग्दो क्षण सम्झँदै अध्यक्ष विष्टले भने, ‘महत्वपूर्ण हार्ड डिक्स र कागजातहरू जति लिएर गए।’
सीसीटीभी र क्यामराहरू पनि फुटाए, केही लिएर गए। हार्ड डिक्ससहित केही कम्प्युटरहरू पनि लिएर गएको उल्लेख गर्दै अध्यक्ष विष्ट भन्छन्, ‘निजी तथा सार्वजनिक गाडीहरू तोडफोड गरे। अन्य सञ्चार माध्यमहरूमा बेला–बेला सानोतिनो आक्रमण हुन्थ्यो तर नेपाल टेलिभिजन र रेडियो नेपालमाथि यस्तो आक्रमण पहिलो पटक भएको हो।’
रेडियो र टेलिभिजनका केन्द्रीय स्टुडियो तोडफोड भएकोले प्रसारण बन्द हुन पुग्यो। भदौ २४ मा केन्द्रीय स्टुडियो सिंहदरबारबाट ३ बजेको समाचार प्रसारण भएपछि प्रसारण नै अवरुद्ध भयो। भोलिपल्ट दिउँसो १ बजेको समाचार बुलेटिनबाट मात्र पुन : केन्द्रीय स्टुडियो सुचारु गरियो। यद्यपि, केन्द्रीय प्रसारण अवरुद्ध भए पनि इटहरी प्रसारण केन्द्रबाट भने निरन्तर समाचार प्रवाह भइरहेको थियो। अध्यक्ष विष्ट भन्छन्, ‘करोडौंको क्षति भएको प्रारम्भिक अनुमान छ।’
थाहा सञ्चार : विध्वंसले तर्सेको मन
भदौ २४ गते सडकमा ग्याँस सिलिण्डर पड्किएको आवाज सुनिन्थ्यो। मोटरसाइकलहरू जल्दै थिए। जिल्ला अदालत, सरकारी वकिलको कार्यालय, विशेष अदालतमा आगजनी भइरहेको थियो। यी दृश्यहरू कार्यकक्षबाट हेरिरहेका थिए, थाहा खबरका सम्पादक नरेन्द्र सापकोटा। उनको कार्यालय प्रदर्शन स्थलको रूपमा चिनिएको माइतीघर मण्डल र नयाँ बानेश्वरको बीचमा रहेको मूल सडकमा छ।
थाहा खबर कार्यालय‚ माइतीघर
यी हिंसात्मक घटनाहरू रेडियोले ‘लाइभ’ जानकारी दिइरहेको थियो। थाहा खबर डटकमका पत्रकारहरू पनि उसैगरी खबर सम्प्रेषण गर्न व्यस्त थिए। हेर्दाहेर्दै छेवैमा रहेको सडक विभागको कार्यालय जल्न थाल्यो। त्यहाँको आगोको राप र धूवाँको मुस्लोले उनको कार्यकक्ष ढाक्दैगयो।
आन्दोलनकारीको ठूलो भीड थाहाखबरको कार्यालयतर्फ उक्लिरहेको थियो। उनीहरूले कुर्सी, ग्याँस सिलिण्डर जस्ता सामान बोकेका थिए। सीसीटीभीमा यी सबै दृश्य हेरिरहेका थिए, सम्पादक सापकोटा। भीडमै भएकामध्ये केहीले एक–अर्कालाई सम्झाइरहेको देखिन्थ्यो। ‘मिडियामा आक्रमण नगरौं’ भन्नेहरू पनि त्यही भीडमा थिए, शायद।
नरेन्द्र सापकोटा‚ सम्पादक‚ थाहा खबर
यता आगोको राप र धूवाँको मुस्लोले कार्यालय ढाकेको छ, उता तलबाट ढुंगा प्रहार भइरहेको छ। माथिबाट पूरै शहर जलिरहेको जस्तो देखिन्थ्यो। राज्य र सुरक्षा संयन्त्र कहीं थिएन। त्यसले झनै असुरक्षित महसूस गरायो। ‘त्यसपछि ज्यानभन्दा ठूलो केही होइन भन्ने लाग्यो। ज्यान रह्यो भने मात्रै सूचना प्रवाह गर्न सक्छौं भनेर हामी जोगिनतर्फ लाग्यौं’ सम्पादक सापकोटाले सुनाए ‘तर जोगिएर निस्कन सजिलो थिएन। जसोतसो एक एक गरेर बाहिर निस्कियौं।’
माइतीघर नजिकै भएकोले थाहा खबरमा २३ गते नै ढुंगा प्रहार भएको थियो। विभिन्न ठाउँमा जिल्ला प्रशासन कार्यालयले कफ्र्यू घोषणा गरे पनि आन्दोलनकारीले कफ्र्यूलाई टेरेका थिएनन्। करीब साढे ४ बजे ढुंगामुढा गरिरहेका युवाहरूलाई प्रहरीले माइकिङ गर्दै लेखेट्यो। युवाहरूले गरेको ढुंगामुढाले थाहा खबरको कार्यालयका सिसाहरू फुटेका थिए। उनीहरूले दुई वटा सीसीटीभी फुटाए, एउटा लिएर गए। निरन्तर ढुंगा बर्साइरहे पनि तिनीहरूमध्येकै केहीले भीडलाई आगजनी गर्नबाट रोके।
सापकोटा भनछन्, ’करीब ६ बजेसम्म हामी सबै जना आन्दोलनकारीकै समूहमा मिसिएर ज्यान जोगायौं। आन्दोलनकारीहरू त्यहाँबाट निस्किएपछि मात्रै आफ्नो कार्यकक्षमा उक्लियौं। तर जताततै पड्किएको आवाज, धूवाँ र आगोको रापले काम गर्ने अवस्था थिएन।’
‘एक जना भाइले ज्यान जोगाइदिए’
करीब १ बजेको थियो। प्राइम टेलिभिजनको गाडीले पत्रकार कमलमणि पोखरेललाई जरङ्खुबाट लिएर आउँदै थियो। चालकसहित चार जना गाडीमा थिए। आन्दोलनकारीको भीडले सडक भरिएको थियो। भीड छल्दै सुस्त गतिमा गाडी अगाडि बढिरह्यो। विभिन्न ठाउँमा टायर बालिएको थियो। भीडले ‘कतिपय ठाउँमा गाडी रोकेर हामी मिडियाको मान्छे रिपोर्टिङका लागि आएको’ भनेपछि बाटो छाडिदिन्थे। भ्यान माछापोखरी हुँदै चक्रपथ, नारायणगोपाल चोकमा पुग्दा त्यहाँ तोडफोड र गोली प्रहारको घटना भइसकेकोथियो। पोखरेल चढेको गाडी नारायणगोपाल चोकबाट करीब ५० मीटर अगाडि बढेको थियो। त्यहाँ हातमा लाठी बोकेका एक युवाले सोधपुछ गर्न थाले। पोखरेलले आफू पत्रकार भएको र कामकै सिलसिलामा निस्किएको बताए। तर यसपालिचाहिं उनको कुरा सुनिएन।
प्राइम टीभीको कार्यालय र नारायणगोपाल चोक-चप्पल कारखानाको बीच बाटोमा जलाइएको प्राइम टीभीको गाडी।
मिडियाको नाममा सामान ओसारेको भन्दै गाडी खानतलासी भयो। खानतलासी गर्दा केही नभेटिएपछि ती आन्दोलनकारीले छाडे। तर भीड उस्तै थियो। अगाडि बढ्नै लाग्दा अघिका युवासहित एक जत्था फेरि आइपुग्यो। करीब २८/२९ वर्षीय युवाले खुकुरीले गाडीको सिसामा हाने। पत्रकार पोखरेल सुनाउँछन्, ‘चारैतिरबाट हान्न थालेपछि हामीले केही गर्ने अवस्था नै भएन।’
कमलमणि पोखरेल‚ पत्रकार‚ प्राइम टेलिभिजन
सबै सिसा फुटिइसकेका थिए। चालकको छेउमा बसेका एक जनालाई सिसाले लागेर निधार काट्यो। जसोतसो सबै जना बाहिर निस्किए। तीन जना निस्केर भागे। पोखरेलले भने भाग्ने मौका पाएनन्। उनको टाउकोमा लट्ठी प्रहार हुनथाल्यो। ढाडमा लात्तीले हाने। तिनै आन्दोलनकारीमध्येका करीब २२÷२३ वर्षीय एक युवाले मिडियाको कार्ड देखाउन लगाए। त्यसपछि ती युवकले ‘मिडियाको भएकाले केही नगर्न ‘ भन्दै सुरक्षा दिने प्रयास गरे। ‘ती भाइ नभएका भए त्यहाँबाट उम्किन मुश्किल हुन्थ्यो’ पोखरेलले सम्झिए, ‘ती भाइले छेक्दाछेक्दै पनि कुटपिट गरे, तर तिनकै कारणले ज्यान जोगियो।’ सञ्चारकर्मीहरूमाथि नै आक्रमण भएपछि भय र त्रासका कारण प्राइम टेलिभिजनको प्रसारण करीब ११ घण्टा बन्द भयो।