जेन-जी आन्दोलनका नाममा पोखराको मुख्य चोकमा रहेको प्रथम शहीद लखन थापा मगरको शालिक भत्काई पृथ्वीनारायण शाहको शालिक राखिएकामा पाँच दिनपछि फेरि लखनकै शालिक पुनःस्थापना गरिएको छ।
जेन-जी आन्दोलन शुरू भएको पहिलो दिन भदौ २३ मा संघीय राजधानी काठमाडौंसँगै देशभर प्रदर्शन भयो। पर्यटकीय शहर पोखरामा पनि नयाँ पुस्ता सडकमा ओर्लियो। प्रहरीको गोली लागेर काठमाडौं सहित देशका विभिन्न स्थानमा १९ युवाको ज्यान गएपछि भने प्रदर्शन भड्कियो। त्यसको असर पोखरामा पनि पर्यो।
भोलिपल्ट भदौ २४ गते बिहानैदेखि प्रदर्शनकारीले पोखराका सरकारी कार्यालय, नेताका नाम जोडिएका निजी भवनमा तोडफोड गरे, आगो लगाए। प्रदर्शनकारी तोडफोड र आगजनी गर्दै अघि बढिरहेका थिए।
त्यही क्रममा एउटा समूह पोखराको मुख्य चोक ‘लखन चोक’ मा पुग्यो। सो समूहले मुख्य चोकमा रहेको प्रथम शहीद लखन थापा मगरको शालिकमा आक्रमण गर्यो। ढुंगा र घनले हिर्कायो। डोरीले तानेर शालिक ढलायो।
शहीद लखन थापा मगरको शालिक भत्काउँदै प्रदर्शनकारी। तस्वीर : योगेन श्रेष्ठ
शालिक तोडफोडमा संलग्न व्यक्तिको तस्वीर र भिडिओ सार्वजनिक भएका छन्। तर उनीहरूको परिचय खुल्न सकेको छैन।
उनीहरूले शहीद लखनको शालिक ढलाए लगत्तै पृथ्वीनारायण शाहको प्रतिमा राखे। जेन-जीको प्रदर्शनको आडमा राजतन्त्र समर्थक युवाले लखनको शालिक ढालेको स्थानीय बासिन्दा सुनाउँछन्।
सामाजिक सञ्जालमा राखिएका तस्वीर र भिडिओमा नेपालको झन्डा ओढेर चार-पाँच युवा शालिक उखेल्नतिर लागेको देखिन्छ। शहीदको शालिक उखेलेपछि उनीहरूले पृथ्वीनारायण शाहको प्रतिमा राखेका थिए।
शहीद लखन थापा मगरको शालिक भत्काएको भोलिपल्ट लखन चोक। तस्वीरहरू : दुर्गा राना मगर/हिमालखबर
यति वेला भने शहीद लखनको पुरानो शालिक नै गायब छ। स्थानीय प्रशासन र प्रहरीले पनि शालिकबारे अनभिज्ञता प्रकट गरेका छन्। प्रदर्शनकारीले शालिकलाई सेती नदीमा फ्याँकेको प्रत्यक्षदर्शी सुनाउँछन्।
बल्झिरहने विवाद
पोखराको मुख्य बजार प्रवेश गर्ने बित्तिकै मुख्य चोकका रूपमा लखन चोक रहेको छ। यस चोकलाई कसैले चाइना चोक त कसैले पृथ्वी चोक पनि भन्ने गरेका छन्। समयक्रममा राखिने गरेका शालिकसँगै चोकको नाम पनि फेरिने गरेको छ। शालिककै कारण विवाद पनि उत्पन्न हुने गरेको छ।
यस पटक जेन-जी आन्दोलनको आवरणमा पुनः ‘शालिक विवाद’ शुरू भएको छ। शहीद लखनको शालिक हटाएर पृथ्वीनारायणको प्रतिमा राखेसँगै नयाँ विवाद बल्झिएको हो। यो विवाद अहिलेको होइन। यसको शुरूआत पाँच दशकअघि नै भएको देखिन्छ।
पोखरा महानगरपालिकाको वडा नं. ९ र १० लाई जोड्ने सेती नदीमा एउटा पुल थियो, सेती पुल। २०३१ सालमा चीनको सहयोगमा सेती नदीमा पक्की पुल बन्यो। चीनले बनाएकाले स्थानीय बासिन्दाले सेती पुललाई ‘चाइना पुल’ भन्न थाले। त्यस्तै, पुल रहेको चोकको नाम पनि ‘चाइना चोक’ रहन गयो।
केही वर्षपछि पोखरालाई काठमाडौंसँग जोड्ने पृथ्वी राजमार्ग बन्यो। चाइना चोकमा पृथ्वीनारायणको शालिक राखियो। त्यसपछि बिस्तारै चाइना चोकलाई ‘पृथ्वी चोक’ भन्न थालियो। लामो समय पृथ्वी चोकमा पृथ्वीनारायणको शालिक रह्यो।
२०४६ सालको जनआन्दोलनका क्रममा पृथ्वी चोकबाट पृथ्वीनारायणको शालिक हटाउन खोजिएको थियो। तर राजनीतिक दलका नेताहरूले हटाउन दिएनन्।
२०६२/६३ को जनआन्दोलनका क्रममा पृथ्वीनारायणको शालिक तोडफोड गर्दै आन्दोलनकारी।
२०६२/६३ सालको जनआन्दोलनका क्रममा भने पृथ्वीनारायणको शालिक निशानामा पर्यो। आन्दोलनकारीले उक्त शालिक तोडफोड गरे। त्यसको दुई वर्षपछि २०६४ सालमा शालिक नै हटाइयो। केही समय पृथ्वी चोक शालिकविहीन बन्यो।
पृथ्वीनारायणको शालिक हटाएपछि शहीद लखन थापाको शालिक राख्ने तयारी गरियो। राणाशासन विरुद्ध जनविद्रोह गरेका लखनलाई १९३३ सालमा गोरखामा झुन्ड्याएर मारिएको थियो। आदिवासी जनजाति समुदायले लखनलाई प्रथम शहीद घोषणा गर्न माग गर्दै आएको थियो।
२०५६ सालमा सरकारले लखनलाई शहीद घोषणा गर्यो। आदिवासी समुदायले भने प्रथम शहीद घोषणा गर्नुपर्ने माग राखिरहेको थियो।
२०६२/६३ को जनआन्दोलनका क्रममा पृथ्वीनारायणको शालिक तोडफोड गर्दै आन्दोलनकारी।
२०६२/६३ को जनआन्दोलनपछि यो आवाज झन् बुलन्द भयो। त्यस दौरानमा उनको वीरताको सम्मान गर्दै गोरखा, बुटवल, दाङ र पाल्पामा शालिक निर्माण गरिएको थियो। त्यही क्रममा २०६५ सालमा पोखराको पृथ्वी चोकस्थित खाली रहेको ‘आइल्यान्ड’ मा लखनको अर्धकदको शालिक राखियो। त्यसपछि बिस्तारै पृथ्वी चोकलाई ‘लखन चोक’ भन्न थालियो।
२०६९ फागुन १ मा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले शहीद लखनको शालिकको अनावरण गरे। २०७२ असोज ३ मा सरकारले लखन थापा मगरलाई नेपालको प्रथम शहीद घोषणा गर्यो। त्यतिन्जेल लखन चोक पोखराको मुख्य चोकका रूपमा परिचित भइसकेको थियो। यससँगै शालिकको विवाद पनि टुंगिएको थियो।
२०७४ सालमा पृथ्वीनारायणको शालिक राख्न माग गर्दै प्रदर्शनमा उत्रिएका राजतन्त्र समर्थक। तस्वीर : गीता राना
तर २०७४ असोज ९ मा पोखरा महानगरपालिकाले चोक फराकिलो पार्ने भन्दै लखनको शालिकमा डोजर चलायो। सरोकारवालासँग समन्वय नगरी तत्कालीन मेयर मानबहादुर जीसीले शालिकमा डोजर चलाएपछि चर्को विरोध भएको थियो।
त्यति वेला शहीद पार्कमा शालिक स्थानान्तरण र व्यवस्थापन गरिने भनेर थामथुम पारिएको थियो। तैपनि सरोकारवाला शान्त भएनन्। उनीहरूले २०७५ फागुन १ मा शहीद लखनको पूर्णकदको शालिक स्थापना गरे। त्यसअघि भने अर्धकदको शालिक थियो।
पोखरा महानगरले हटाएपछि २०७४ सालमा पुनःस्थापना गरिएको लखन थापाको शालिकको सुरक्षा गर्दै प्रहरी। तस्वीर : गीता राना
फेरि पृथ्वीनारायण
त्यसको चार वर्षपछि यो विवाद फेरि बल्झियो। २०७९ पुस २७ मा पृथ्वी जयन्तीको अवसर पारेर लखनको प्रतिमा हटाई पृथ्वीनारायणको प्रतिमा राखियो। कमल थापा नेतृत्वको राप्रपा नेपालको अगुवाइमा पृथ्वीनारायणको प्रतिमा राखिएको थियो। तर उक्त प्रतिमा लामो समय रहन पाएन।
२०८० साउन २४ मा आदिवासी दिवसका अवसरमा निकालिएको र्यालीका क्रममा पृथ्वीनारायणको प्रतिमा हटाइयो। आदिवासी जनजाति महासंघले भने आफूहरूलाई यसबारे थाहा नभएको जवाफ दिएको थियो।
त्यति वेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालले विरोध गरेका थिए। दुवै पार्टीले पृथ्वीनारायणको शालिक राख्न दबाब दिएका थिए। तैपनि अन्य राजनीतिक दल र स्थानीय सरकारले वास्ता गरेनन्। शहीद लखनकै शालिक यथावत् थियो।
जेन-जी आन्दोलनका क्रममा लखन थापा चोकमा प्रदर्शनकारी।
यसरी लामो समयदेखि पोखराको मुख्य चोकमा पृथ्वीनारायण र लखनको शालिक राख्ने विषयमा विवाद हुँदै आएको थियो। यस पटक जेन-जी प्रदर्शनको मौका छोेपेर राजतन्त्र समर्थक युवाले शहीद लखनको शालिक हटाएर पृथ्वीनारायण शाहको प्रतिमा राखेपछि फेरि विवाद उत्पन्न भएको हो।
पहिले राप्रपा नेपालकै अगुवाइमा प्रतिमा राखिएको थियो भने यस पटक राजावादी युवा संलग्न थिए। उनीहरूले नै लखनको शालिक हटाएर पृथ्वीनारायणको प्रतिमा राखेको स्थानीय बासिन्दा बताउँछन्।
पाँच दिनमै पुनःस्थापना
यसपालि ‘जेनजी’ आन्दोलनको आवरणमा फेरि शहीद लखनको शालिक हटाइएपछि आदिवासी जनजाति समुदायले विरोध गरेको थियो। नेपाल आदिवासी जनजाति महासंघले प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो।
‘निरंकुश जहानियाँ राणाहरूको परिवारवादका विरुद्ध आवाज उठाउने मुलुककै प्रथम शहीद लखन थापा मगरको शालिकलाई उखेल्दै उक्त स्थानमा पृथ्वीनारायणको शालिक राखेर शहीद लखनको शालिकलाई सेती नदीको खोंचमा मिल्कायो। यही आन्दोलन हो जसले विगतमा बहुदलीय व्यवस्था र लोकतन्त्रका लागि निरंकुश शासकहरूका विरुद्ध लड्ने नेतृत्वको प्रतिमा फुटायो अनि लोकतन्त्र, संघीयता र गणतन्त्रका विरुद्ध नाराहरू लगायो,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाल आदिवासी जनजाति महासंघ यो आन्दोलनका नाममा भएका यस्ता हर्कतहरूको घोर भर्त्सना गर्दै खेद प्रकट गर्छ। साथै प्रथम शहीद लखन थापा मगरको शालिक ससम्मान पुनःस्थापित गर्न माग गर्दछौं।’
भदौ २९ गते राति शहीद लखन थापा मगरको अर्धकदको शालिक पुनःस्थापना गरिंदै।
विवादले चर्काे रूप लिने डरको माहोलमा शहीद लखनको पूर्णकदको शालिक हटाइएको पाँचौं दिनमा आदिवासी जनजाति महासंघको अगुवाइमा अर्धकदको शालिक पुनःस्थापना गरिएको छ। भदौ २९ गते राति महासंघको अगुवाइमा केही युवाले लखनको अर्धकदको शालिक राखेका हुन्।
अहिले चोकमा पृथ्वीनारायण शाहको प्रतिमा भने छैन। जेन-जी आन्दोलनका क्रममा भदौ २४ गते पृथ्वीनारायणको प्रतिमा राखिएको थियो।
शहीद लखन थापा मगर अर्धकदको शालिक पुनःस्थापनापछि भदौ ३० मा लखन चोक।
नयाँ शालिक राखिए पनि विवाद अझै साम्य भएको छैन। पुरानो पूर्णकदको शालिक खोजबिन गर्नुपर्ने र शालिक हटाउनेलाई कारबाही गर्नुपर्ने आदिवासी जनजाति समुदायले माग गरिरहेको छ।
आदिवासी जनजाति महासंघ गण्डकी प्रदेश अध्यक्ष धर्म गुरुङ जेन-जीको आन्दोलनका नाममा शालिक हटाउनु गलत भएको बताउँछन्। नेपाल मगर संघ, कास्कीका अध्यक्ष राम थापा मगर भन्छन्, “प्रथम शहीद लखन एउटा समुदायको मात्र होइन, सबैको हो। त्यसैले शहीदको शालिक हटाइएकोबारे छानबिन गरिनुपर्छ।”