सबै ठीकठाक हुन्थ्यो भने सुनसरीका २३ वर्षीय अभिषेक आज साउदी अरब उड्ने थिए। तर जेन–जी आन्दोलनका कारण अभिषेक त उड्न पाएनन्, बरु छोराको अन्त्येष्टि गर्न बुबा आजै दुबईबाट काठमाडौं ओर्लिएका छन्।
बर्गर हाउसमा काम गरेको पैसा लिन सुनसरीका २३ वर्षीय अभिषेक श्रेष्ठ भदौ २३ गते बिहान ११ बजेतिर घरबाट निस्केका थिए। तर दिनभर घर फर्किएनन्। भेटघाटमा अलमलियो होला भन्ने सोचेर आफन्तजनले पनि सोधिखोजी गरेनन्।
अचानक साँझ ७ बजेतिर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट फोन आयो। स्वास्थ्यकर्मीले फोनमा भने, “अभिषेकको मृत्यु भयो, प्रतिष्ठानमा शव राखिएको छ।”
त्यसयता अभिषेकको परिवार सम्हालिन सकेको छैन। उनको घरमा मात्र होइन, मामाघरमा पनि रुवाबासी चलिरहेको छ। उनले मामाघरमै बसेर लेखपढ गरेका थिए।
सुनसरी जिल्लाको इनरुवास्थित घरमा आमा र दुई भाइबहिनी छन्। बुबा वैदेशिक रोजगारीमा दुबई पुगेका थिए। सानैदेखि अभिषेक इटहरी उपमहानगरपालिका-१६ स्थित मामाघरमा बसेका थिए। मामाघरबाटै लेखपढ गरेर कक्षा १० उत्तीर्ण गरेका थिए।
त्यसपछिको पढाइ भने अघि बढाउन सकेनन्। इटहरीकै एउटा बर्गर हाउसमा काम थाले। त्यहाँ चार वर्ष काम गरे।
त्यहाँको कमाइले गुजारा चल्न मुश्किल देखेपछि विदेश जाने योजना बनाए। काम गर्दागर्दै साउदी अरबको भिसा लगाए। नभन्दै भिसा पनि लाग्यो। अनि साउदी अरब जाने तयारी गरिरहेका थिए।
मेनपावर कम्पनीले टिकट आइसक्यो भनेपछि उनले केही दिनअघि मात्र बर्गर हाउसको काम छोडेका थिए। त्यहाँबाट केही पारिश्रमिक लिन बाँकी नै थियो। भदौ २५ गते काठमाडौं पुग्ने योजनामा थिए। खर्चपर्च मिलाउन सजिलो होला भनेर बर्गर हाउसतिर गएका थिए। “बर्गर हाउसबाट पैसा मागेर ल्याउँछु भनेर गएका थिए,” माइजू तारा श्रेष्ठ भन्छिन्।
अभिषेकका आफन्त बाजे लोकेन श्रेष्ठका अनुसार बर्गर हाउस पुग्दा सञ्चालक रहेनछन्। त्यसपछि पारिश्रमिक नलिई घर फर्किंदै थिए। “फर्किंदै गर्दा गोली लागेछ,” लोकेन्द्र भन्छन्, “नाकमा लागेको गोली टाउको पछाडिबाट निस्केको रहेछ। हिंड्दाहिंड्दै ढलेछ।”
जेन-जीले भदौ २३ गते देशैभर प्रदर्शन गरेको थियो। इटहरीमा दिउँसो २ बजेसम्म शान्तिपूर्ण रूपमा प्रदर्शन भएको थियो। जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रवक्ता योगराज खतिवडाका अनुसार इटहरीमा पनि दिउँसोसम्म प्रदर्शन शान्तिपूर्ण थियो।
त्यसपछि भने आन्दोलन उग्र बन्दै गयो। इटहरी उपमहानगर अगाडि आगजनी गरियो। लगत्तै इलाका प्रहरी कार्यालय, इटहरीमा पनि ढुंगामुढा भयो। अनि प्रहरीले अश्रुग्यास प्रहार गर्यो। गोली पनि चलायो। त्यही क्रममा दुई जनाको मृत्यु भएको खतिवडा बताउँछन्।
तिनैमध्ये एक थिए, अभिषेक। उनलाई कसरी गोली लाग्यो भन्ने खुलेको छैन। उनी आन्दोलनमा सहभागी थिए कि थिएनन् भन्ने यकीन नभएको खतिवडा बताउँछन्।
जेन-जी आन्दोलनका क्रममा भदौ २३ गते १९ जनाको मृत्यु भएको थियो। अहिलेसम्म आन्दोलनमा सहभागी र सुरक्षाकर्मी गरी मृत्यु हुनेको संख्या ५१ पुगेको छ।
प्रहरीका अनुसार साँझ ५ बजे दुई जनालाई गोली लागेको थियो। दुवैलाई तत्कालै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। अस्पताल पुर्याउने बित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए। अभिषेकसँगै इटहरी उपमहानगर-१४ का ४० वर्षीय मोहन सदाको पनि मृत्यु भएको हो।
दुवै जनाको शव प्रतिष्ठानको शवगृहमा राखिएको छ। छोराको मृत्युपछि अभिषेकका बुबा दुबईबाट आजै नेपाल फर्किएका छन्।