जेन-जी आन्दोलनमा निहत्था युवालाई गोली हानेको घटनाको छानबिन हुँँदा मिडियामा भएको आक्रमणको पनि पक्कै छानबिन गर्ला, राज्यले।
भदौ २३ गतेको जेन-जी आन्दोलनमा जसरी राज्यले बर्बर दमन गरेको थियो, त्यसबारे रिपोर्टिङ, सम्पादकीय र टिप्पणी लेख्ने काम गरिरहेका थियौं। रातभरि जाग्राम रही काम गर्यौं। दमनको विरोधमा जनता बाहिर निस्कन्छन्, निस्कनुपर्छ भन्ने हाम्रो भनाइ थियो।
त्यसैले भदौ २४ गते बिहानै हामी कार्यालय आइसकेका थियौं। अब नागरिक आन्दोलन कसरी अगाडि बढ्छ र त्यसमा सरकारको रूप कस्तो हुन्छ? दमन गर्ला कि नगर्ला भनी छलफल गरेर त्यही बमोजिम रिपोर्टिङमा जाने योजना बनाएका थियौं।
.jpg)
तर हेर्दाहेर्दै जेन-जीको आन्दोलन ‘हाइज्याक’ गरेर अर्को समूह तोडफोड र आगजनीमा उत्रियो। सबैतिर आक्रमण भइरहेको थियो। हाम्रो कार्यालयमा पनि आक्रमण गर्न सक्छन् भन्ने आकलन गरेर सबैलाई घरैबाट काम गर्ने गरी बिदा दियौं। नभन्दै हामी हिंडेको दुई घण्टापछि थापाथलीस्थित कान्तिपुर कार्यालयमा तोडफोड र आगजनी गरियो।
त्यसैगरी तीनकुनेमा रहेको कान्तिपुर टेलिभिजन कार्यालयमा पनि तोडफोड र आगजनी गरियो। हामी हिंडिसकेकाले थापाथलीस्थित कान्तिपुर दैनिकका पत्रकार साथीहरूलाई चोटपटक त लागेन, तर कान्तिपुर टेलिभिजनका साथीहरू आन्दोलनको ‘लाइभ’ गरिरहेकाले कार्यालयमै थिए। साथीहरूलाई हमला भयो। केही साथीहरू घाइते भए।
.jpg)
आज कान्तिपुर टीभी ७२ घण्टापछि प्रत्यक्ष प्रसारणमा आएको छ। सम्पादक विजय पौडेलले जलेको स्टुडियोबाटै लाइभ कार्यक्रम गर्नुभयो।
हाम्रो कार्यालय सबै ध्वस्त भएकाले सर्भर डाउन हुन गयो। क्षति धेरै भएको छ। ४८ घण्टापछि मात्रै ई-कान्तिपुर सञ्चालन गर्न सक्यौं। त्यतिन्जेल आफ्नो सामाजिक सञ्जालबाट समाचार अपडेट गर्यौं।
.jpg)
यत्रो समयसम्म मिडिया हाउसलाई समाचार प्रसारण गर्न रोकियो। कुनै पनि समाचार माध्यममा समाचार प्रसारण गर्न अवरोध हुने गरी नै आक्रमण भएको छ, त्यो नै सबैभन्दा ठूलो क्षति हो। यद्यपि डिजिटल सर्भर डाउन भए पनि हामीले कान्तिपुर पत्रिका चाहिं आक्रमणको दिन पनि प्रकाशित गर्यौं। सबै साथीहरू मिलेर पत्रिका निकाल्न सफल भयौं।
.jpg)
जेन-जीले भ्रष्टाचार विरुद्ध आवाज उठाएका थिए। तिनले पारदर्शिताको पक्षमा उठाएको आन्दोलनमा सबैको सहयोग र साथ थियो। तर यो आन्दोलनमा स्वार्थ समूहहरूले सक्दो अराजकता फैलाए। यो आन्दोलनको मौका धेरैले उठाए। राज्यले पक्कै पनि एक दिन यसको अनुसन्धान गर्ला नै।
आगजनी र तोडफोडबाट हाम्रो कार्यालयमा कति क्षति भयो अहिले भन्न सक्ने अवस्थामा छैनौं। आकलन नै गर्न सकेका छैनौं।
.jpg)
हामीलाई कसले आक्रमण गर्यो भनेर पनि अहिले भन्न सकिंदैन, तर डिजिटल ‘फुटप्रिन्ट’ हरू छन्। भदौ २३ गते निहत्था युवालाई गोली हानेको घटनाको छानबिन हुँँदा मिडियामा भएको आक्रमणको पनि पक्कै छानबिन गर्ला, राज्यले। यसमा जिम्मेवार रहेकालाई पक्कै पनि कानूनले सजाय दिने नै छ।
.jpg)
कान्तिपुरमा भएको आक्रमण नियोजित हो कि होइन भन्ने सम्बन्धमा म के भन्न चाहन्छु भने, सरकारलाई पनि जवाफदेह बनाउने आस्थाको धरोहर सर्वोच्च अदालतमा आक्रमण भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा आगो लागेको छ। जेन-जीले सजाय दिनुपर्छ भनेका भ्रष्टाचार सम्बन्धी फाइलहरू अख्तियारमा थिए, त्यहाँ आगो लगाइएको छ।
.jpg)
भूटानी शरणार्थी प्रकरण, ललिता निवास काण्ड, गिरीबन्धु टी-इस्टेट प्रकरणका समाचार लेख्ने, प्रचण्ड र रवि लामिछानेको समाचार लेख्ने मिडिया हाउसमा आक्रमण भएको छ भनेपछि कसले गरेको होला भनेर आकलन गर्न गाह्रो छैन। त्यसैले मलाई यो आगजनी ‘रेन्डम्ली’ भएको हो भन्ने लाग्दैन।
(उर्मिला गम्वा थारूले गरेको कुराकानीमा आधारित।)