शान्तिपूर्ण रूपमा चलिरहेको जेन-जीको आन्दोलन संसद् भवन गेटमा पुगेपछि एकाएक झडपमा परिणत हुँदा प्रहरीले चलाएको गोली लागेर १६ जनाको ज्यान गएको छ भने १३३ घाइते भएका छन्।
सरकारले सूचीकरण नगरेको भन्दै भदौ १९ गतेदेखि फेसबूक, एक्स, यूट्यूब लगायत सामाजिक सञ्जालका केही महत्त्वपूर्ण प्लेटफर्म ‘निष्क्रिय’ पारिदिएपछि त्यसको विरोधमा ‘जेन-जी’ (सन् १९९७ देखि २०१२ सम्म जन्मिएकाहरू)ले भदौ २३ गते आन्दोलनको घोषणा गरेका थिए। त्यो संरचनालाई पछ्याउँदै हामी माइतीघर मण्डलमा बिहान ९ बजे नै पुग्यौं।
कार्यक्रमस्थल पुग्दा युवाहरू राष्ट्रिय गीतहरू गाउँदै बसिरहेका थिए। भेला हुने क्रम चलिरहेको थियो। धेरै त स्कूल र कलेज ड्रेसमै आएका थिए। जेन-जी नेपाल नामक फेसबूक पेजले बिहान ९ बजे नै सहभागीलाई विद्यालय र कलेज युनिफर्ममा आउन आह्वान गरेको थियो।
त्यो पोस्टमा भनिएको छ, ‘जेन-जीको प्रदर्शनलाई राजनीतिक रङ दिने प्रयास हुँदै छ, घूसपैठ हुने सम्भावना उत्तिकै छ। यसलाई बदनाम गराउने र दबाउने प्रयास पनि हुनेछ। सकेसम्म विद्यालय, कलेजको युनिफर्ममा आइडी सहित आउनुहोला।’
माइतीघर मण्डल भरिएपछि करीब बिहान ११ बजे प्रदर्शनकारी बानेश्वरतर्फ लागे। आन्दोलन शान्तिपूर्ण र सिर्जनात्मक शैलीमा अघि बढिरहेको थियो। प्रदर्शनकारी सरकार विरोधी नारा लगाउँदै अगाडि बढे।
नाराबाजी भ्रष्टाचार लक्षित थियो। विरोध प्रदर्शन सामाजिक सञ्जाल निष्क्रिय र ‘नेपो किड्स’ (नातावादबाट लाभान्वित युवा) विरुद्ध हुने भनिए पनि त्यसो नगरी सरकार लक्षित थियो, नाराबाजी।
आन्दोलनमा कलाकार, कन्टेन्ट क्रिएटर, कमेडियन, अभियन्ता, विभिन्न दल सम्बद्ध विद्यार्थी र युवा नेता पनि सहभागी थिए। एभरेस्ट होटल अगाडि प्रहरीको ब्यारिकेड भएकाले भीड त्यहीं रोकिएर नारा-जुलूस गरिरह्यो। त्यतिन्जेल आन्दोलन शान्तिपूर्ण नै थियो।
त्यति वेलै बानेश्वरतर्फबाट चार-पाँच वटा ‘बुलेट’ र ‘डट’ बाइकहरू माइतीघर मण्डलतिर लागे। ती एकछिनपछि फेरि माइतीघरबाट नयाँ बानेश्वरतिरै फर्किए।
त्यति वेला बाइकको संख्या थपिंदै १५-२० पुग्यो। उनीहरूले नयाँ बानेश्वर-माइतीघर ओहोरदोहोर गरिरहे, संख्या पनि बढ्दै गएको देखिन्थ्यो। यस क्रममा चारैतिरबाट मानिसको भीड पनि बढ्दै थियो। यति वेला मध्याह्न १२ बजेको थियो।
त्यसपछि करीब १२ः३० बजे काठमाडौंका प्रमुख जिल्ला अधिकारीले राति १० बजेसम्मका लागि नयाँ बानेश्वर चोकदेखि पश्चिम एभरेस्ट होटल हुँदै बिजुलीबजार पुलसम्म कर्फ्यू आदेश जारी गरेको सूचना प्रकाशित गरे। यसअघि आन्दोलनकारी र सुरक्षाकर्मीबीच सल्लाह भई आन्दोलनमा घूसपैठ भएको ठहर गर्दै तिनले सबैलाई घर फर्कन फेसबूकबाटै अपील गरेका थिए।
त्यसपछि कर्फ्यू शुरू भयो, प्रदर्शनकारी भने सडकबाट हटेका थिएनन्। विद्यार्थीहरू फर्किन थाले, तर अरू मान्छे थपिंदै गएको देखिन्थ्यो। एक्कासि ब्यारिकेड तोडेर निषेधाज्ञाको पर्वाह नगरी आन्दोलनकारी संसद् भवनतर्फ लागे। उनीहरूमध्ये अधिकांश उग्र तथा आक्रोशपूर्ण देखिन्थे।
आन्दोलनकारीलाई अश्रुग्यास प्रहार र झडप भइरहेका कारण हामी शंखमूल हुँदै फेरि नयाँ बानेश्वर चोक पुग्यौं। त्यहाँ केही प्रदर्शनकारी संसद् भवनको गेटमाथि चढिरहेका थिए भने केही गेट भत्काइरहेका थिए। कोही राष्ट्रिय झण्डा फहराइरहेका थिए। कसैले आगो लगाइरहेको देखिन्थ्यो। तर हरियो घाँस भएकाले संसद् भवनभित्र आगो फैलिन पाएन।
यस वेलासम्म प्रहरीले गोली चलाएको हल्ला पनि प्रदर्शनस्थलमा सुन्यौं। तर के कति घाइते भए? हताहतीमा कति जना परे? त्यो भने तत्काल थाहा हुन सकेन।
संसद् भवन नजीकै रहेको सिभिल अस्पतालमा घाइतेलाई लगेको देखिन्थ्यो। सुरक्षाकर्मीका तर्फबाट अश्रुग्यासका सेल हान्ने र आन्दोलनकारीका तर्फबाट ढुंगामुढा चलिरहेको थियो।
बानेश्वरमा यत्रो वितण्डा मच्चिरहेको थियो, तर प्रदर्शनस्थलमा मानव अधिकारकर्मी, प्रदर्शनकारी, पत्रकार र माइतीघरमा नेतृत्व गरिरहेका जेन-जीका नेताहरू कोही थिएनन्। त्यहीं हामीले सुन्यौं– गोली लागेका केहीको मृत्यु भयो।
सोमबार साँझ ५ बजेसम्म १६ जनाको मृत्यु भएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता शेखर खनालले बताए। आन्दोलनका क्रममा १३३ जना घाइते भएका छन्।
यति ठूलो क्षति कसरी हुन गयो? जबकि प्रहरीले यस्तो सम्भावित घटनाको पहिल्यै सुरक्षा विश्लेषण गर्नुपर्थ्यो। घूसपैठ हुन सक्ने आकलन गर्न सक्नुपर्थ्यो।
VIDEO
जबकि जेन-जीहरूकै फेसबूक पोस्टमा उनीहरूले यस्तो अनुमान जारी गरिसकेका थिए। गत चैत १५ गते तीनकुनेमा दुई जनाको ज्यान गएकोे राजावादीको आन्दोलनबाट प्रहरीले केही नसिकेको जस्तो देखियो।