तत्कालीन गोर्खा सैनिकले १८५ वर्षअघि म्याग्दीको पाखापानीमा मारेका स्थानीय विद्रोही युवालाई लेखक चन्द्रप्रकाश बानियाँले ‘तुलु राजा’ उपन्यास मार्फत पुनर्जन्म दिएका छन्।
शक्तिशाली पर्वत राज्यलाई गोर्खाले जितेको ५४ वर्षपछि म्याग्दीको पाखापानी गाउँमा कालीबक्स गणका सिपाही र स्थानीय बासिन्दाबीच लडाइँ हुन्छ। दुई दिनसम्म चलेको लडाइँमा स्थानीय जुझारु युवा तुले रोहानी र उनका बुबा बुधे काटिन्छन्। दुवैतर्फ केही मारिन्छन्, केही घाइते हुन्छन्।
तुले काटिएपछि लडाइँ अन्त्य हुन्छ। पाखापानीका केही बासिन्दा डरले लाखापाखा लाग्छन् भने केही त्यहीं बस्छन्। यही लडाइँ र अन्य कारणले विभिन्न ठाउँमा फैलिएका पाइजाहरूले पाखापानीलाई पुर्ख्यौली थलो मान्छन्।
त्यस घटनाबारे ऐतिहासिक ज्ञानमणि नेपालले नेपालको महाभारत पुस्तकमा लेखेका छन्। पुस्तकमा तुले रोहानीले आफूलाई मलेबमको रौत्यालो (सन्तान), कृष्णको अवतार, राजा भएको, गाउँलेलाई धाकधम्की देखाएको, टक्सार आउने सात भारी खानीको तामा लुटेको, खानीको तामा लिन जाने ढाक्रेहरूको चामल र कोदो गरी १५ भारी लुटिदिएको जिकिर गरिएको छ। त्यस्तै, पशुचौपाया लुटेको, गोर्खाली सुवेदार नरसिंह मल्लका भाइ पदम मल्ललाई विषालु काँडले हानेर मारेको लगायत विषयमा पुस्तकमा उल्लेख छन्। अन्य लेखोटमा पनि तुले रोहानीलाई गाउँको नामूद लुटेराका रूपमा चित्रण गरिएको छ। जसले गर्दा तुलेलाई गोर्खा सैनिकले मार्नुपरेको देखाइँदै आएको छ।
ऐतिहासिक ज्ञानमणि नेपालको पुस्तकसँगै अन्य लेखोटका विषयवस्तुमा चित्त नबुझेपछि लेखक चन्द्रप्रकाश बानियाँले त्यो घटनाबारे थप खोतल्न थाले। तुलेको विद्रोहको खास कारण खोज्दै अध्ययन-अनुसन्धानमा जुटे। लेखक बानियाँले आजभन्दा १८५ वर्षअघिको त्यो घटनालाई ऐतिहासिक उपन्यासका रूपमा ल्याएका छन्, तुलु राजा। यस अर्थमा पाखापानी नजीकै भीरमुनी गाउँमा जन्मे हुर्केका बानियाँले तुले रोहानीलाई ‘तुलु राजा’ का रूपमा पुनर्जन्म दिएका छन्। ऐतिहासिक उपन्यासको उद्देश्य तत्कालीन समाजको सामाजिक-सांस्कृतिक यथार्थलाई पुनःस्मरण गराउनु नै हो। त्यसैलाई लेखक बानियाँले सुन्दर रूपमा चित्रण गरेका छन्।
सुबेदार नरसिंह मल्लका दुई श्रीमती थिए। स्थानीय मगर युवती रूपीसँग तेस्रो विवाह गर्न ठिक्क परेका थिए। तर, रूपीसँग तुलेले विवाह गरिदिए। त्यसपछि सुबेदारले गरेका अनेक षड्यन्त्र र जालझेल उपन्यासका उत्कर्ष र रहस्य दुवै हुन्।
सांस्कृतिक कोणबाट पनि उपन्यासमा विविधता समेटिएको छ। तुलेकी आमाले मृत्युपछि चराको जुनी लिएको प्रसंग रोचक छ। यसले मृत्युपश्चात् आफ्नो वरिपरिको वातावरणमा भएका कुनै न कुनै जीवित प्राणीको जुनी लिने भन्ने विश्वासलाई समेटेको छ। आदिवासी जनजाति समुदायमा प्रकृतिबाट प्रकृतिमै जाने सांस्कृतिक विश्वास पनि छ।
मगर समुदायका महिलाको वर छनोट अधिकारलाई स्वतन्त्र छोडिएको छ। बाबाआमाले ठकुरी समुदायका सुबेदारलाई वचन दिए पनि तुले वा सुवेदारलाई छान्ने अधिकार अन्तत: रूपीलाई नै दिइएको छ। त्यस्तै, गोर्खाली फौजलाई पहिलो दिनको मोर्चामा महिलाले नै असफल पारेको घटनाक्रम यथार्थपरक लाग्छ। खुर्सानीको धूलो, खरानी फ्याँकेर होस् वा ढुंगामुढा गरेर गोर्खाली फौजलाई पराजित गरेको उल्लेख छ। यसरी महिलाको साहसलाई पनि उपन्यासमा महत्त्व दिइएको छ।
लेखकले पात्र मार्फत स्थानीय संस्कृतिलाई प्रतिविम्बन गर्न खोजेका छन्। मुस्ताङको ठिनीबाट झरेका थकाली म्याग्दीको गाउँमा कसरी अर्थोपार्जन गर्थे भन्ने यथार्थ प्रस्तुत गरिएको छ। जस्तो- पाखापानीका साहु थकाली नै हुन्छन्। म्याग्दीमा प्रायः गाउँमा एक-दुई घर थकाली पछिसम्म पनि थिए।
प्राकृतिक स्रोतसाधनलाई स्थानीयबाट कसरी राज्यले आफ्नो नियन्त्रणमा लिएको थियो भन्ने पनि उपान्यासमा पढ्न पाइन्छ। पर्वत राज्य हुँदासम्म परम्परागत रूपमा स्वायत्त तरीकाले भोगचलन गर्दै आएको जंगल, खानी, जमीन, चरिचरन, खोरिया पछि गोर्खा राज्यले अधीनमा लिएका घटनाक्रम चाखलाग्दा छन्। जस्तो- राज्यलाई टक बनाउन तामा चाहिएको छ भने तामा गलाउनका लागि दाउरा काट्दा वन विनाशको आरोपमा कामीलाई राज्यले सताएको उल्लेख छ।
गोर्खा फौजबाट मारिएका व्यक्तिलाई वीर सपूतको संज्ञा दिएर त्यो विद्रोहलाई गौरवका रूपमा लिइएको छ। उपन्यासले तुलेको एकल निर्णयका आधारमा विद्रोह नभएको देखाइएको छ। उनी जनतालाई बचाउन गोर्खाली गौंडामा एक्लै जान र गाउँ छोडेर मुग्लान भासिन पनि तयार हुन्छन्। तर लडे पनि सबै लड्ने, मरे पनि सबै मर्ने, अड्डा गए पनि सबै जाने भन्ने जस्ता कुराले गर्दा तुले जनताको सामूहिक निर्णय मान्न बाध्य भएको उपन्यासमा पाइन्छ। यसले तत्कालीन मगर समुदायको सामाजिक मनोविज्ञान, सामूहिक निर्णय र कार्यान्वयनको पाटो प्रतिविम्बित हुन्छ।
मदन पुरस्कार प्राप्त महारानी उपन्यासमा जस्तै तुलु राजामा पनि पात्रका रूपमा समाजमा अस्तित्वमा रहेका विभिन्न समुदायलाई प्रतिनिधित्व गराउने लेखकको उद्देश्य देखिन्छ। त्यस भेगमा बसोबास गर्ने मगर, छन्त्याल, कामी, थकाली, खस र आर्यको उपन्यासमा उपस्थिति छ। छन्त्यालले तामा खन्ने, कामीले पगाल्ने र मगरले बेनी टक्सारमा भरिया भएर काम गरेको चित्रण छ। सँगसँगै पाखापानी विद्रोहमा पनि सबैको सहभागिता देखाइएको छ।
तुलेलाई पाखापानीकी एक महिलाले प्रिय शब्दले ‘राजा’ भनेको सुनेर उपन्यासको शीर्षक तुलु राजा राखेको लेखकले भनेका छन्। तुलु मुखियासम्म पनि भएका होइनन्। उनीभन्दा जेठो मान्छे मुखिया भएकाले ज्येष्ठताको क्रमभंग गर्न चाहेनन्। बरु त्यति वेला छेलो खेल जित्नेलाई मालको उपाधि दिइन्थ्यो। तुले मेलाहरूमा मालका रूपमा सबैले चिन्ने पात्र थिए। सुबेदारलाई पनि तुलेले जितिदिन्छन्। प्रतिस्पर्धाबाट सबैभन्दा बलियो मान्छेको पहिचान बनाउँछन्। जसले गर्दा तुलेलाई ‘तुलु राजा’ का रूपमा चित्रण गर्न सहज भएको देखिन्छ। व्यक्तिसँगै गाउँको पनि प्रतिष्ठा बढ्ने भएकाले अद्यापि यस खेलले निरन्तरता पाइरहेको छ। म्याग्दीका केही गाउँमा अझै पनि छेलो खेल्ने गरिन्छ।
तुलेलाई गोर्खाली प्रशासकको लिखतमा जसरी एक लूटेरा र अहंकारीका रूपमा चित्रण गरिएको छ, उपन्यासमा भने ठीक विपरीत इमानदार, कसैलाई अन्याय नगर्ने, सामूहिक निर्णय मान्ने, जनताको प्रिय मान्छेका रूपमा प्रस्तुत गरिएको छ। यस अर्थमा तुले मात्रै होइन, तत्कालीन पाखापानी र छिमेकका जनतालाई पनि उपन्यासले न्याय गरेको छ। कुनै घटनालाई शासकले बनाएको लिखित ‘न्यारेटिभ’ भन्दा बेग्लै तरीकाले कसरी न्याय गर्न सकिन्छ भन्ने दृष्टिकोण यो उपन्यासले दिन्छ।
उपन्यासमा तुलेका विषयमा गोश्वारा अड्डालाई कसले चिठी लेख्यो भन्ने कुरा रहस्यमयमै छोडिएको छ। नेपालको महाभारत पुस्तकमा तुलेलाई लगाइएको आरोपबारे लेखकले विचारी भागवत पाठक मार्फत सुबेदारलाई सोधाएका छन्। जस्तो- तुले नामको चिठी साँच्चै तुलेले नै लेखेको होला त?
तुलेको हत्यापछि रूपीले पनि आत्महत्या गर्छिन्। यसअघिको महारानी उपन्यासमा भद्रिबमको हत्यापछि उनकी पत्नी विश्वप्रभा बेपत्ता हुन्छिन्। संयोग नै हुनुपर्छ, बानियाँका दुवै उपन्यास वियोगान्तमा टुंगिन्छन्। महारानीको वियोगान्त मल्लहरूको आन्तरिक शक्तिसंघर्ष हो भने ‘तुलु राजा’ गोर्खासँग प्रत्यक्ष युद्धको परिणाम हो।
अन्य लिखतमा ‘तुले’ भनेर हेयभाव प्रकट गरिएको छ भने यस उपन्यासमा ‘तुलु’ भनेर मायालु भाषा प्रयोग गरिएको छ। त्यस्तै तुलेकी श्रीमतीलाई ‘लाटी’ भनेर लेखिएकामा तुलु राजामा ‘रूपी’ नाम दिइएको छ।
उपन्यासको सरल भाषाले पाठकलाई तान्ने शक्ति बोकेको छ। कौतूहल जगाउँछ। स्थानीय बोलीको शब्दार्थ दिइएकाले बोधगम्य छ। यति हुँदाहुँदै उपन्यासमा घटना, पात्रको संवाद र मनोवादभन्दा परिवेशको वर्णन बढी गरिएको छ।
साधारण भैंसी गोठालो तुलु गोठ छोडी जनताको काम गर्दागर्दै गोर्खा प्रशासकको षड्यन्त्रमा परेर विद्रोही हुन्छ र मारिन्छ। जनताको प्यारो व्यक्तिलाई राज्यले कसरी बलजफ्ती विद्रोही बनाउँछ भन्ने बुझ्न र गोर्खाली प्रशासकको लिखतभन्दा फरक लेखक बानियाँले खोजेका विद्रोहका कारण पहिल्याउन भने उपन्यास नै पढ्नुपर्छ।
त्यो वेलादेखि अहिलेसम्म सामाजिक-सांस्कृतिक रेखाहरू कति चुँडिए, कति तन्किंदै छन्। त्यसको लेखाजोखा गर्न पनि तुलु राजा सहयोगी बन्छ।