जलवायु संकट, सिंचाइको समस्या, बाटोघाटोको बेहाल, कालीगण्डकीको छेकबार, वन्यजन्तुको जोखिम लगायत दूरको बस्तीका अनेकौं चुनौतीसँग जुधेर देशकै उत्कृष्ट किसान बनेका छिरिङ दम्पती हिमालपारिको स्याउबारीमा रमाइरहेका छन्।
कति वेला सिमसिम पानी त कति वेला चर्को घाम। कति वेला डम्म बादल त कति वेला निलो आकाश। साँझ-बिहान चिसो हावा त दिउँसो चर्को घाम।
मनसुन भित्रिएयता दैनिकजसो मुस्ताङको मुक्तिनाथ क्षेत्रमा मात्रै होइन, कागबेनीबाट झन्डै साढे दुई किलोमिटर परको तिरीगाउँमा पनि यस्तै फरक फरक परिदृश्य देखिन्छ। दिउँसोपख चरक्क लागेको घाममा तिरीगाउँकी छिरिङ ढोका गुरुङ बारीबाट ल्याएको आलु पखाल्दै आँगनमा सुकाउँदै छिन्। आलुका दाना लोभलाग्दा छन्। तैपनि छिरिङको ध्यान आलुका दानामा होइन, स्याउबारीतिर छ। घरछेउकै स्याउबारी देखाउँदै उनी भन्छिन्, “यो वर्ष स्याउ राम्रो फलेको छ, रङ पनि बसेको छ।”
स्याउको यही आकर्षक रङले छिरिङ दम्पतीलाई तिरीगाउँमै बाँधेर राखेको छ। धेरैजसो आफन्त विदेशतिर गइसके पनि उनीहरू भने स्याउबारीमै रमाइरहेको छिरिङ सुनाउँछिन्। १५ घरपरिवार रहेको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ स्थित तिरीगाउँमा छिरिङ र उनका पति आङ्ग्या गुरुङले दुई दशकदेखि स्याउखेती गर्दै आएका छन्।
मुस्ताङको तिरीगाउँ।
स्याउखेतीले नै छिरिङलाई देशकै उत्कृष्ट कृषक बनाएको छ। गाउँमा कृषि गरेरै उद्यमी बनेका उनीहरू अरूलाई रोजगार समेत दिइरहेका छन्।
छिरिङ दम्पतीले सहजै स्याउखेती गर्न पाएका भने होइनन्। त्यसअघि रोजगारका लागि गाउँदेखि सामान बोकेर तिब्बत छिर्ने गर्थे, आङ्ग्या। २० वर्षअघि मुस्ताङमा सडक सहज रूपमा पुगिसकेको थिएन। स्याउका बिरुवा रोप्ने क्रम बिस्तारै बढिरहेको थियो। आङ्ग्याले बुबालाई ‘स्याउ रोपौं’ भनेर आग्रह गरे। त्यति वेला बुबाले बेस्सरी हकारेको उनी स्मरण गर्छन्। “स्याउ रोपेर के हुन्छ भनेर बुबाले भनेको अझै सम्झन्छु,” आङ्ग्या भन्छन्।
त्यति वेला उवा, फापर, सिमी फल्थ्यो। स्याउ रोप्ने र त्यसबाट आम्दानी हुने तिरीगाउँका कसैले सोचेका थिएनन्। बुबाले हकारेपछि उनले गाउँमा स्याउ फलाउने विचार त्यागे।
छिरिङ दम्पतीको स्याउबारी।
मुस्ताङमा चिनेजानेका साथीभाइले स्याउ फलाएर राम्रै आम्दानी गरेको देखेका थिए। बुबा छउन्जेल उनले स्याउतिर ध्यानै दिएनन्। बुबा बितेपछि भने आङ्ग्या दम्पतीले बारीमा स्याउका बोट रोप्न थाले।
दुई रोपनी जति जग्गा थियो। शुरूआतमा थोरै ठाउँमा स्याउका बोट रोपेको छिरिङ सुनाउँछिन्। स्याउ फलेको वर्ष राम्रै आम्दानी भयो। “आफैंले गरेर पैसा हात पर्दा त खुशी लाग्ने रहेछ,” उनी भन्छिन्।
अहिले छिरिङ दम्पती बर्सेनि ६० रोपनी जग्गामा स्याउ फलाउँछन् र लाखौंको व्यापार गर्छन्। उनीहरू आफ्नो जग्गा बाहेक भाडाको जग्गामा पनि स्याउ फलाइरहेका छन्। शुरूआतमा परम्परागत रूपमा कृषि गरेका उनीहरू पछिल्लो समय व्यावसायिक बनाउनतिर लागेका छन्।
केही वर्षअघि मात्र उनीहरूले ङवाङ हिसी कृषि तथा पशुपन्छी अर्गानिक फर्म दर्ता गराएका छन्। यस वर्ष त्यही फर्ममा एक हजार ५०० बोटमा हाइब्रिड स्याउ र हजार बोट स्थानीय स्याउ फलिरहेको छ। घर नजीकै रहेको स्याउबारीमा लटरम्मै भएर फलेका रातो स्याउका दाना देखाउँदा छिरिङको अनुहार चहकिलो बन्यो।
स्याउसँगै च्यांग्रा
छिरिङ दम्पती आफैं खेतमा जोतिन्छन्। कडा परिश्रम र मिहिनेत गर्छन्। उनीहरू कि त घरछेउको खेतमा कि लेकमा रहेको कृषि फर्ममा मात्रै भेटिन्छन्। कामदार र उनीहरूमा कुनै फरक छैन। कामदारसँगै खटिएर काम गर्छन्।
स्याउखेती बाहेक ५०० भन्दा बढी च्यांग्रा र बाख्रा पनि पालेका छन्। दशैं नजिकिंदै जाँदा लेकमाथि चरनमा रहेका च्यांग्रा बिस्तारै तल झर्दै छन्। केही दिनमा च्यांग्रा र बाख्रा पोखरा, काठमाडौं, विराटनगर लगायत शहरतिर पठाइनेछ, दशैंका लागि।
कागबेनी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल भए पनि नजीकैको तिरीगाउँ भने सुनसान छ। होमस्टे भए पनि पर्यटक नै आउँदैनन्। आउनु पनि कसरी? कागबेनीदेखि तिरीगाउँलाई छुट्याइदिने कालीगण्डकी बाधक बनेको छ।
तिरीगाउँ जोड्ने कालीगण्डकीको झोलुंगे पुल।
कालीगण्डकी तर्न एउटा झोलुंगे पुल मात्र छ। पुलबाट मान्छे हिंड्न र दुईपांग्रे सवारी वारपार गर्न मिल्छ। पक्की पुल नहुँदा पर्यटकलाई आकर्षित गर्न नसकिएको स्थानीय बासिन्दा सुनाउँछन्।
पुल तरेपछि साँघुरो कच्ची सडक छ। त्यही सडक भएर पुगिने तिरीगाउँ नै त्यस भेगको अन्तिम गाउँ हो। बस्ती सानो भएका कारण विकास नपुगेको होला ठान्छन्, तिरीगाउँका बासिन्दा।
सडक नजोडिएका कारण नै सामान ओसार्न निकै समस्या छ। छिरिङ पनि सडक नभएका कारण स्याउ ओसार्न कठिनाइ हुने गरेको बताउँछिन्। स्याउ किन्न गाउँमा आउने व्यापारीलाई पनि गाह्रो हुने गरेको छ। “व्यापारीले बारीको स्याउ किनिसक्नुभयो। आफैं लिन आउनुहुन्छ,” उनी भन्छिन्, “तर निकै घुमेर तीन-चार घण्टाभन्दा बढीको बाटो उकालो-ओरालो गर्दै आउनुपर्छ। कागबेनीसँग जोडिने बाटो भइदिएको भए त १५ मिनेटमै गाउँ आउँथ्यो।”
छिरिङ दम्पतीको बारीमा फलेको स्याउ।
बाटोघाटो बाहेक हावापानीले पनि हिमाली क्षेत्रका कृषकलाई चुनौती थपिदिन्छ। झन् मौसममा परिवर्तन आउन थालेदेखि त खेतीपाती जोगाउनै धौधौ हुने गरेको उनी सुनाउँछिन्। घरीघरी फेरबदल भइराख्ने मौसमले स्याउमा समस्या थपिदिएको छ। “स्याउको फूल फुल्ने वेला हुरीबतास, पानी आएर फूल नै झारिदिन्छ,” छिरिङ भन्छिन्, “अहिले गर्मी बढेको छ। स्याउमा रोगहरू लाग्ने रहेछन्। पहिला हुँदैनथ्यो। मिहिनेतले काम गर्यो तर घाटा हुन्छ!”
अर्कातिर, हिमाली क्षेत्रमा सिंचाइ पनि सहज छैन। निकै दुःखले खेतमा पानी ल्याउने गरेको उनी बताउँछिन्। अहिले गाउँमा पालो लगाएर सिंचाइका लागि पानी दिने गरिन्छ।
लेकमा बस्तुभाउलाई हिउँ चितुवाबाट बचाउनै मुश्किल हुन्छ। तल गाउँ झारेपछि खोरमा राख्दा कुनै रोग लाग्ला भनेर पनि निकै ध्यान दिनुपर्ने उनी सुनाउँछिन्।
यतिका दुःख र चुनौती झेलेर कृषि कर्म गर्नुपर्दा कहिलेकाहीं त उनलाई दिक्क लाग्छ। तैपनि खेतबारीमा हुने उत्पादनले यताउता जान दिंदैन। “काम गर्दा कति दुःख भयो भन्ने हुन्छ। फेरि त्यही बेचेपछि एक-दुई पैसा हात पर्दा भने सन्तोष लाग्छ,” छिरिङ केही गम्भीर हुँदै थप्छिन्, “त्यत्तिकै बसेर त कहाँबाट हुन्छ! सकेसम्म त काम गर्छु भन्ने नै लाग्छ।”
देशकै उत्कृष्ट किसान
छिरिङका आफन्त जति विदेशमा छन्। उनीहरूलाई पनि विदेशतिरै आउन आफन्तजनले सल्लाह दिइराख्छन्। तर उनलाई अर्काको ठाउँमा नोकरी गर्नुभन्दा आफ्नै गाउँमा दुःख गर्नु ठीक लाग्छ। त्यसैले उनीहरू गाउँठाउँमै परिश्रम गरिरहेका छन्। स्याउका नयाँ नयाँ प्रजाति भित्र्याउन लागेका छन्।
गण्डकी प्रदेशकी कृषिमन्त्री पद्मा जीसीबाट उत्कृष्ट किसानको पुरस्कार पाएपछि छिरिङ र आङ्ग्या गुरुङ।
दम्पतीले पछिल्लो समय हाइब्रिड स्याउ पनि रोपिरहेका छन्। तीन वर्षमा २० हजार किलोग्राम स्याउ उत्पादन गरेको आङ्ग्या बताउँछन्। जहाँ गए पनि मिहिनेत गर्नै पर्ने सुनाउँदै उनी कृषिले नै आफूहरूलाई सबै कुरा पुगेको बताउँछन्। आङ्ग्याले कुराकानी गरिरहँदा छिरिङ थप्छिन्, “मभन्दा पनि श्रीमान् धेरै खटिनुहुन्छ।”
कसैसँग कुनै आश नगरी छिरिङ दम्पती आफ्नै रहरले कृषि कर्ममा लागेका हुन्। ढकमक्क स्याउका फूल फुल्दा खुशी हुन्छन्, दाना लाग्दा दंग पर्छन्। यस वर्ष भने उनीहरूको खुशी अझ बढेको छ। किनकि छिरिङले राष्ट्रपति उत्कृष्ट किसान पुरस्कार पाएकी छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले दुई लाख रुपैयाँ नगद सहित पुरस्कार प्रदान गरेका थिए। पुरस्कार थाप्न उनी काठमाडौं पुगेकी थिइन्।
राष्ट्रपति रामचन्द्र पौडेलबाट उत्कृष्ट किसानको पुरस्कार थाप्दै छिरिङ ढोका गुरुङ।
यससँगै गण्डकी प्रदेश र वडामा पनि उत्कृष्ट किसानका रूपमा सम्मान पाइन्। “कृषि फर्म हेर्न आउनेहरूले ‘तपाईंको मिहिनेत र दुःखको फल पाउनुहुन्छ’ भन्नुहुन्थ्यो। अहिले सम्मान पाउँदा खुशी लागेको छ,” आङ्ग्या मुस्कुराउँदै भन्छन्।
राष्ट्रपति उत्कृष्ट कृषक मात्र होइन, उनीहरूले थुप्रै सम्मान र पुरस्कार पाइसकेका छन्। अहिले उनीहरूको घर सम्मानपत्रले भरिएको छ। कोठाभरि सजाएर राखेका सम्मानपत्र देखाउँदै छिरिङ भन्छिन्, “सम्मान पाएपछि अझै काम गर्नुपर्छ भन्ने हुने रहेछ।”
VIDEO