संकटकाल अवधिमा सुरक्षाकर्मीद्वारा बेपत्ता पारिएका बर्दियाका २६८ व्यक्तिमा अधिकांश पुरुष र थारू समुदायका छन्। संकटकालको सास्ती भोगेकाहरू अहिले सामाजिक बहिष्करण समेत भोगिरहेका छन्।
गत साउन ३१ गते बिहान ९ बजे ठाकुरबाबा नगरपालिका-८, भुरकैया गाउँ पुग्दा मञ्जु थारू कृष्ण जन्माष्टमीको पूजाआजा सकाएर बसिरहेकी थिइन्। मञ्जुसँग थिए थप तीन महिला, जसका आफन्त बेपत्ता पारिएका थिए।
उनीहरू आआफ्ना घरमा पूजापाठ सकाएर भेला भएका थिए। हिमालखबर को टोली पुग्नासाथ उनीहरू आफूले भोगेका द्वन्द्वकालका अँध्यारा पाटा कोट्याउन थाले। माओवादी द्वन्द्वकालमा परिवारका सदस्य गुमाएका उनीहरूले सुनाएका कथाव्यथाका आधारमा यो आलेख तयार पारिएको छ।
वैराग्यपूर्ण नयाँ साल
२०५८ चैत २९ गते भुरकैया गाउँमा निकै चहलपहल थियो। मञ्जु थारूको घरमा भतेरको तयारी थियो। चाडपर्वको वेला थारू गाउँमा बंगुरको मासु र रक्सी नभई नहुने मञ्जु सुनाउँछिन्।
नयाँ वर्षको स्वागतका लागि ठाउँ ठाउँमा बंगुर काटिएका थिए। तर गाउँमा चलेको यस्तो उल्लास क्षणभरमै सन्त्रासमा बदलियो। किनकि ठाकुरद्वारा ब्यारेकबाट सेनाको गाडी गाउँभित्र छिरेको थियो।
प्रायः गाउँमा सेनाले घर घरमा पसी खानतलासी गर्ने, धम्क्याउने, पिट्ने, मान्छे पक्रेर लैजाने गरेका कारण सेनाका गाडी छिर्नासाथ गाउँ नै त्राहिमाम् हुन्थ्यो। सबै घरभित्रै लुक्थे। मञ्जु पनि अरू झैं घरमा छेलिएर बसिन्।
दिउँसो करीब साढे २ बजेको हुँदो हो, सेनाको गाडी मञ्जुकै घर अगाडि आएर रोकियो। एक जना सैनिकले ‘हिरामणिको घर यही हो?’ भनेर सोधे। मञ्जुले ‘हो’ भनिन्। फेरि अर्काे प्रश्न सोधियो, “खोइ हिरामणि?” मञ्जुले फेरि जवाफ फर्काइन्, “काम गर्न गएका छन्।”
हिरामणि दहित छिमेकी गाउँमा फर्निचर उद्योगमा काम गर्न जान्थे। त्यो दिन पनि बिहानै हिंडेका थिए। त्यस दिन उनी भुरिगाउँमा नागरिकता बनाउन ‘फोटो खिचाउनु छ’ भन्दै गएका थिए। तर मञ्जुलाई के थाहा! घर अगाडि रोकिएको गाडीभित्र उनकै पति हिरामणिलाई राखिएको छ भनेर। घर फर्कंदै गरेका हिरामणिलाई बाटोबाट पक्राउ गरी कमिज खोल्न लगाई त्यसैले आँखामा पट्टी बाँधी गाडीभित्र हुलिएको थियो।
‘घरमा को को छन्?’ भन्दै एक जना सैनिक घरभित्र पसेर कुनाकाप्चा खोलखाल पार्न थाले। अर्काले मञ्जुकी १६ वर्षीया नन्दलाई भित्र बोलाए। “मैले ‘केटी मान्छेलाई किन भित्र बोलाएको? हिरामणिको सामान हेर्नु छ भने म देखाउँछु भन्दै नन्दको पछिपछि भित्र पसें र उनलाई बाहिर पठाएँ,” मञ्जु भन्छिन्, “यो त निकै छुच्ची आइमाई रहिछ, धेरै बोल्दो रहिछ भन्दै एक जना सेना बाहिर निस्कियो। अर्को सेनाले नयाँ वर्षको लागि राखेको दुई बोतल रक्सी ‘माओवादीलाई खुवाउन राखेको हो?’ भन्दै फुटाइदियो।”
बेपत्ता पारिएका आफन्तको तस्वीर देखाउँदै मञ्जु थारू।
सैनिक टोली घरबाट हिंडेपछि मञ्जुले हिरामणिलाई सतर्क बनाउन ससुरालाई फर्निचर उद्योगमा पठाइन्। ससुरा त्यहाँ पुग्दा हिरामणि चाड मनाउनु छ भनी कामबाट चाँडै हिंडिसकेको बताइयो। साँझपख सासू नाता पर्ने प्रत्यक्षदर्शीले हिरामणिलाई सेनाले गाडीमा लगेको वृत्तान्त रुँदै सुनाइन्।
त्यसपछि दहित परिवारको त्यो रात जाग्राममै बित्यो। बिहान हिरामणिको खोजबिनका निम्ति मञ्जु ठाकुराद्वारा ब्यारेकतिर लागिन्। तर गाउँलेले ‘तिमीलाई पनि खतरा हुन्छ’ भन्दै बीच बाटोबाटै उनलाई फर्काइदिए।
पछि बुझ्दै जाँदा मञ्जुले पत्तो पाइन्, घोराहीमा काम गरिरहेका हिरामणिलाई ‘त्यहाँ खतरा हुन्छ, गाउँ बोलाऊ’ भनेर डाक्न लगाउने आफ्नै माइतीका साथी झकप्रसादको सुराकीमा पो हिरामणि पक्राउ परेका रहेछन्। मञ्जु भन्छिन्, “मेरो साथी भएर पनि तिमीले मेरा बुढालाई किन पक्रन लगायौ भनी सोध्दा ‘तिम्रो बूढा माओवादी थियो, त्यसैले समात्न लगाएको हुँ’ भन्यो।”
हिरामणि पुस २७ गते घोराहीबाट घर फर्किएका थिए। श्रीमान् पक्राउ पर्दा उनको काखमा ६ महीनाकी छोरी थिइन्। हिरामणि बेपत्ता भएको २४ वर्ष पुग्यो। उनले नखोजेको कतै छैन, तर सरकारले अहिलेसम्म केही जवाफ दिएको छैन। उनी भन्छिन्, “मरेका छन् कि जिउँदो, अत्तोपत्तो छैन। न काजकिरिया गर्न पाएका छौं, न घरको सम्पत्ति अंशबन्डा गर्न पाएका छौं। अंशबन्डा गर्न र ब्यांकबाट ऋण लिन मृत्युदर्ताको प्रमाणपत्र माग्छन्। हामीलाई धेरै अप्ठ्यारो छ।”
एकै रात पाँच जना बेपत्ता
मञ्जुले श्रीमान् गुमाएको तीन महीना नबित्दै २०६९ जेठ २५ मा माहिला देवर पनि गुमाउनुपर्यो। देवर रामबहादुर दहितलाई सुतिरहेको वेला घरबाटै राति १ बजे सेनाले उठाएर लगेको थियो। अहिलेसम्म उनको अत्तोपत्तो छैन। त्यति वेला रामबहादुर १८ वर्षका थिए।
जेठ २५ को रात भुरकैया गाउँका लागि कहिल्यै नबिर्सने रातका रूपमा अंकित हुन गयो। त्यो रात सेनाले रामबहादुर सहित प्रदेशनी थारू (१६ वर्ष), सुशीला थारू (१५ वर्ष), सन्चुराम थारू (३० वर्ष) र कलावती थारू (१४ वर्ष)लाई लगेको थियो। प्रदेशनी बाहेक सबै प्रौढ शिक्षा पढिरहेका थिए। सबैका घर पनि लहरै थिए।
स्यानी थारू।
स्यानी थारूले भर्खर प्रौढ शिक्षा सकाएकी छोरी प्रदेशनीलाई कक्षा ३ मा भर्ना गरिदिएकी थिइन्। स्यानीका ६ छोरी र तीन छोरा थिए। त्यो रात सबै दिदीबहिनी एउटै कोठामा सुतेका थिए। “ढोकामा लात्तीले हाने। चार पटक लात्ती हानेपछि ढोका टुट्यो। म ढिकीछेउमा सुतेकी थिएँ। सेनाले प्रदेशनीलाई हात समातेर बाहिर निकाल्यो। ‘बाबा महिन सिपहिया पकरके लैजाई लागल बचाउ’ भन्दै छोरी खूब रोई। म रुँदै छोरीलाई बचाउन गएँ। एउटा सिपाहीले मलाई बन्दूकको कुन्दाले पिट्न थाल्यो,” त्यस रातको घटना सुनाउँदै स्यानी भन्छिन्, “श्रीमान्लाई पनि धेरै पिट्यो। कुटाइ खाएर उनको कानको जाली नै फुट्यो। छोरी चिच्याउँदै थिइन्। गाडी हुइँक्याइहाल्यो। त्यो रात हामी कोही सुतेनौं।”
स्यानीले भोलिपल्ट बिहानै श्रीमान्को उपचार गराइन्, तर श्रीमान्को चोट निको भएन। त्यहाँबाट थलिएका श्रीमान्को केही वर्षपछि मृत्यु भएको उनी सुनाउँछिन्।
सुशीला चौधरीकी ६२ वर्षीया आमा कुली थारूको अनुभव पनि स्यानीसँग मिल्दोजुल्दो छ। त्यो रात सुशीला दिनभरि माछा मारेर घर फर्किएर खाना खाईवरी सुतेकी थिइन्। राति घरअगाडि गाडी रोकियो। सेतो हाफपाइन्ट र सेतो टी-शर्ट लगाएका एक जना मान्छे घरमाथिको झ्यालबाट भित्र छिरे। उनी स्थानीय हवल्दार प्रसु कुमाल थिए।
केही सैनिक लात्तीले ढोका फोरेर घरभित्र पसे। कुली भन्छिन्, “हामी बुढाबुढी बहरी (बैठक कोठा)मा सुतेका थियौं। छोरीलाई कोठाबाट निकाल्यो। छोरी ‘बाबा म माओवादी होइन, मलाई लैजान लागे, बचाऊ’ भन्दै चिच्याइन्, तर कसैलाई बाहिर निस्कन दिइएन। हामी रातभर सुतेनौं।”
त्यसरात पहिला सन्चुराम थारूको घरमा पसेको सैनिक टोली त्यसपछि सुशीला हुँदै कलावती, प्रदेशनी र रामबहादुरलाई पक्राउ गर्न घर घर छिरेको थियो। त्यसपछि सेनाको भ्यान ठाकुरद्वारातिर हानिएको थियो। सबैलाई माओवादी भनेर लगिए पनि उनीहरू कुनै पनि संगठनमा लागेका थिएनन्।
कुलीलाई अहिले पनि स्मरण छ, छोरी सुशीलालाई लगेको एकछिनपछि घनघोर वर्षा भएको थियो। हुरीबतास सहितको वर्षा भएपछि सेनाको गाडी ठाकुरद्वाराको एउटा घरमा ओत लागेको थियो। संयोगले त्यो घर मालिक्नीको माइतीघर भुरकैया भएकाले उनले सेनाले गाडीमा ल्याएका पाँचै जनालाई चिनिछन्। ती महिलाले भोलि बिहान माइतीघरमा आएर सुनाएको खबर बताउँदै कुली भन्छिन्, “छोरीले काँप्दै जाडो भयो भन्दा सिपाहीले अहिले तातो गोली खाएपछि न्यानो हुन्छ भन्दै हप्काउँथे रे!”
कुली थारू।
ठाकुरद्वारास्थित मन्दिरका पुजारीले जंगलमा शौच गएका वेला देखेको भन्दै त्यति वेला पीडित परिवारका कानसम्म एउटा दुःखदायी खबर आइपुग्यो। त्यो खबर थियो, ‘पाँचै जनालाई बिहान गाउँको दक्षिणपट्टिको जंगलछेउमा लगेर पालैपालो गोली हानेर मारियो।’
मन्दिरका पुजारी मन्ठा थारूले शौच गर्न गएको वेला देखेको दृश्य गाउँमा बताएका थिए। सेनाले आँखामा पट्टी बाँधेर लगिएका पाँचै जनालाई पालैपालो गोली हानेर मारेको देखेको कुली सुनाउँछिन्। उनी भन्छिन्, “पुजारीले भने अनुसार मेरी छोरीले गोली चलाउने बेला ‘मलाई नमार्नु भन्दै सिपाहीलाई च्याप्प अँगालो हाल्थी रे!’ त्यसरी तीन पटक गरिछ। त्यो सिपाहीले नमारौं भन्दा अर्को सिपाहीले मानेनछ र चौथो पटकमा गोली हानेछ।”
यति बोलिसक्दा कुलीको गला अवरुद्ध भयो। धरर आँसु चुहियो। तैपनि उनी छोरी फर्किने आशैमा छिन्। उनीसँगै बेपत्ता परिवारका सदस्यको एउटै भनाइ छ, “नदेखेको कुरा कसरी पत्याउनु? सरकारले हामीलाई सत्य के हो जवाफ दिनुपर्यो नि!”
तारो राजापुर
ठाकुरद्वारामा मात्र होइन, राणाकालदेखि नै चर्चामा रहेको बर्दियाकै दक्षिण भेगमा अवस्थित राजापुरमा एकै रात दर्जनभन्दा बढी सर्वसाधारणलाई बेपत्ता पारिएको थियो। राजापुरमा २०५९ कात्तिक ३ र ४ गते सबैभन्दा बढी सर्वसाधारण बेपत्ता पारिएको राजापुर नगरपालिका-७ का वडाध्यक्ष राजकिरण थारु बताउँछन्।
त्यति वेला बेपत्ता पारिएका वसन्त चौधरीकी श्रीमती बाँधी चौधरी एकैदिन एक दर्जनभन्दा बढी मान्छेलाई लगेको सुनाउँछिन्। बाँधी राजापुर नगरपालिका-५, जयपुर गाउँकी हुन्। सेनाले उनका श्रीमान्सँगै सोही गाउँका अन्य तीन जना लौटन थारू, फरारे थारू र बगाले थारूलाई रातको ३ बजेतिर गिरफ्तार गरेको थियो।
त्यसै रात राजापुर-९, विक्रमपुरबाट राधेश्याम थारू, राजकुमार थारू तथा राजापुर-६, मानपुर टपरास्थित जमुनाबोझी गाउँका फूलराम थारूलाई पनि गिरफ्तार गरेर अस्थायी ब्यारेक बनाइएको टपरास्थित स्थानीय विद्यालयमा राखिएको थियो। बाँधीको भनाइमा त्यो रात जयपुर, झप्ती, जमुनाबोझी, विक्रमपुर, मौहुवाफाँट, नयाँगाउँबाट एक दर्जन बढी मान्छे गिरफ्तारीमा परेका थिए। “हाम्रा गाउँका कोही माओवादी थिएनन्। मेरा श्रीमान् मिल चलाउनुहुन्थ्यो। बगाले स्कूल पढ्थ्यो। लौटन र फरारे ज्यालामजदूरी गर्थे,” बाँधी चौधरी भन्छिन्।
बाँधी चौधरी।
बाँधीकी सासू र उनले गाउँको मान्छेसँग धेरै गुहार मागे। तर सेनाको डरले कसैले सहयोग गर्नै मानेन। सासू-बुहारी टेपरा स्कूलमा बसेका सेनासँग बुझ्न जाँदा ‘सोधपुछका लागि मात्रै ल्याएका हौं’ भन्थे। “सासू-बुहारी स्कूलमा जाँदै बिन्ती गर्थ्यौं। म एक महीनाकी गर्भवती थिएँ। गिरफ्तार भएको तेस्रो दिन लुकेर झ्यालबाट हेर्दा श्रीमान्लाई उभिएको देखें,” बाँधी भन्छिन्, “त्यसपछि सासूलाई भनें। म जोर जोरले रुन थालें। हाम्रो मान्छेलाई छाडिदेऊ भनेर खूब बिन्ती गरें। तर उल्टै हामीलाई गालीगलौज गर्दै बन्दूकको कुन्दाले कुटे। त्यसै दिन मेरा बूढालाई त्यहाँबाट बेपत्ता बनाए।”
त्यति वेला गर्भमा भएको छोरा पनि बुबा बेपत्ताको कथा सुन्दै अहिले २३ वर्षको भइसक्यो। छोरा देख्दा लोग्नेसँग छुट्टिएको दिनको झल्को आउने गरेको उनी सुनाउँछिन्।
सुत्केरीको बयलगाडा
बाँधीका श्रीमान्लाई लगेकै रात मानपुर टपरास्थित जमुनाबोझीका शिव थारूका श्रीमान् फूलराम थारूलाई पनि गिरफ्तार गरी स्कूलको अस्थायी ब्यारेकमा तीन दिनसम्म राखे। त्यति वेला चार छोरीकी आमा शिवको तीन महीनाको गर्भ पनि थियो। फूलरामलाई सेनाले ‘बाटो देखाइदिन’ भनेर लगेका थिए, तर उनी फर्किएनन्।
त्यसपछि शिवको थाप्लोमा थुप्रियो- पारिवारिक लाञ्छना, हेला, अपमान, सामाजिक विभेदसँगै छोरीहरूको जिम्मेवारी। जब शिवलाई प्रसवपीडा शुरू भयो, त्यति वेला परिवारका सदस्यले बयलगाडामा राखेर अस्पताल त पुर्याइदिए, तर कुरुवा बसिदिने कोही भएन। पाँचौं सन्तान पनि छोरी जन्मिएपछि परिवारजनले फर्केर हेरेनन्। बच्चालाई लगाइदिने एकसरो लुगा पनि उनीसँग थिएन। अस्पतालबाट डिस्चार्ज हुँदा एक्लै रहेको शिव सुनाउँछिन्।
शिव थारू।
दुई दिनकी सुत्केरी आफैंले बयलगाडामा पराल बिछ्याई बच्चालाई सुताइन् र सकीनसकी बयलगाडा हाँकेर घर पुगिन्। “हामी सबै परिवार सगोलमा थियौं। मलाई ‘तेरो लोग्ने छैन, तेरो काम गर्ने पनि कोही छैन’ भन्दै घरबाट छुट्याइदिए,” उनी भन्छिन्।
त्यसपछि सबै जिम्मेवारी एक्लैले सम्हालेको उनी बताउँछिन्। तीन वर्षदेखि खुट्टा दुख्ने रोगबाट पीडित उनी भन्छिन्, “बाटो देखाइदिन लगेको आफ्नो मान्छेको न लास पाएकी छु, न सास पाएकी छु।”
‘कमरेड ढोका खोल्नोस्’
२०५८ चैत २९ गते राति ३ बजे राजापुर, मंगलपुरस्थित घरमा सुतिरहेका खैरी गाउँमा पाल्पा मेडिकल सञ्चालन गरिरहेका पतिराम थारूलाई कसैले ढोकामा उभिएर ‘कमरेड ढोका खोल्नोस्’ भनिरहेको थियो। पतिराम र श्रीमती लोटनकुमारी आश्चर्यमा परे, ‘दबाई लिन आउनेले त नाताले बोलाउँछन्, आज को आयो कमरेड भन्दै?’
दम्पतीले ढोका नखोल्ने सल्लाह गरे। तर बेस्सरीे हान्न थालेपछि पतिरामले उठेर ढोका खोले। चार वर्षीय छोरा सागर पनि बाबासँगै सुतेका थिए। उनी पनि जागे।
सेनाका तीन जवान घरभित्र छिरे। दुई जनाले बन्दूक र अर्काेले वाकीटोकी बोकेका थिए। बाँकी बाहिर उभिरहेका देखिन्थे। तिनले पतिरामलाई ‘तिम्रो नाम पतिराम हो? तिमीले खैरीमा मेडिकल खोलेका छौ?’ भनेर सोधे। ‘हो’ भनेपछि उनलाई कपडा लगाएर हिंड्न भनियो।
“श्रीमान्लाई लैजाने वेला म जान दिन्नँ भन्दै आफ्नो अँगालोमा बेरेर जोरले समातें। सेनाले जबर्जस्ती मेरो हात छुटाए। मेरो यति सानो छोरा छ। मेरो छोरालाई कसले पालिदिन्छ? कसले पढाउँछ, लेखाउँछ भन्दै रुन थालें। छोरा पनि पनि बाबा! बाबा! भन्दै रुन थाल्यो। म ढोकामा उभिएँ। तर मलाई त्यहाँबाट हुत्याइदिए। त्यसपछि कहाँ लगे, थाहा भएन,” उनी भन्छिन्। यति बोल्दा उनी भावुक बनिन्। केही बेर चूप लागिन्।
लोटनकुमारी चौधरी।
त्यो रातको घटना विवरण सुनाउँदै लोटन थप्छिन्, “मैले ससुरालाई हाते टर्च लिएर माइतीघरसम्म हेर्न पठाएँ। मेरो माइतीघर पनि नजीकै हो। मेरो दाइ-भाउजू माओवादीमा थिए। श्रीमान् चाहिं माओवादीमा लाग्नुभएको थिएन। तर गाउँको गण्यमान्य मान्छेभित्र पर्नुहुन्थ्यो।”
त्यो रात सेनाले लोटनकी भाउजूलाई पनि लैजान खोजेका थिए। सानो बच्चा छ भनेर भाउजूलाई चाहिं छाडिदिएको उनी बताउँछिन्। त्यो रात कक्षा ६ मा पढ्ने उनका जेठाजुका छोरा केशवलाई पनि लिएर गए। “गाउँमा श्रीमान्लाई मारेको हल्ला थियो। कोही सत्तीको जंगलमा मारे भन्थे भने कोही टीकापुरमा मारे भन्थे। तैपनि हाम्रो चित्त बुझेन। उनीहरू निर्दोष हुन्। केही बिगार गरेका छैनन्। किन मार्छन् र भन्दै हामी टीकापुर चौकीमा दुई पटक गयौं। त्यहाँ समातेका मान्छेका फोटाहरू थिए,” लोटन भन्छिन्, “हामीलाई त्यो फोटो हेर्न लगाए। तिमीहरूका श्रीमान् माओवादी हुन् भन्दै गाली गर्थे। तेरो श्रीमान् यहाँ छैन भनेर हप्काएर पठाउँथे।”
रिसइबी साध्न सुराकी
सशस्त्र द्वन्द्वकालमा राजापुर नगरपालिकाभित्र मात्र बेपत्ता र मारिनेको संख्या १०९ छ। ७५ जनाको ज्यान गएको छ भने ३४ जना बेपत्ता परिवारका छन्। राजापुर नगरपालिकाले उपलब्ध गराएको तथ्यांकमा विद्रोही पक्षबाट सात जना मारिएका छन् भने दुई जनालाई बेपत्ता पारिएको छ। बाँकी ६८ जना राज्य पक्षबाट मारिए भने ३२ जनालाई बेपत्ता बनाएको देखिन्छ। १०९ जनामध्ये ९४ जना थारू समुदायका छन् भने १५ जना गैरथारू समुदायका।
राणाकालदेखि कांग्रेसको झन्डामुनि संगठित भई जमीनदार विरुद्ध लड्दै आएका थारू किसानहरू २०५० सालको दशकपछि माओवादीप्रति आकर्षित भएका थिए। माओवादीको नारा ‘जसको जोत उसको पोत’ मा आफ्नो मुक्ति देखेका थिए। त्यसैले गाउँका टाठाबाठाले आफ्ना प्रतिद्वन्द्वी र सोझासाझालाई रिसइबी साध्न पनि सुराकी गरी पक्राउ गर्न सहयोग गरिरहेका थिए।
त्यसैले बर्दियामा द्वन्द्वकालमा सबैभन्दा बढी मान्छे बेपत्ता पारिएका छन्, जसमा सुरक्षाकर्मीबाट धेरै बेपत्ता भएका छन्। ठाकुरद्वारा, बारबर्दिया र राजापुरमा सेनाको अपरेशन बढी केन्द्रित देखिन्छ।
जिल्ला प्रशासन कार्यालय, बर्दियाका अनुसार द्वन्द्वकालमा २९९ जनाको मृत्यु, २४५ जना घाइते र २६८ जनालाई बेपत्ता पारिएको छ। त्यसैगरी ७९३ जना विस्थापित बनेको तथ्यांक छ। मृत्यु हुनेमा पुरुष २६६ जना, महिला ३३ जना छन्, जसमध्ये विद्रोही पक्षबाट सबैभन्दा बढीको हत्या (१३५ जना) भएको देखिन्छ।
व्यक्ति बेपत्ता पार्ने सूचीमा बर्दिया पहिलो नम्बरमा छ। जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा २६८ जनाको बेपत्ता सूची राखिएको छ भने संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्च आयोग (यूएनएचसीआर)को रिपोर्टमा चाहिं २३० जना बेपत्ता पारिएको देखाइएको छ। २०५८ फागुन २३ देखि २०५९ कात्तिक ७ गतेसम्म सबैभन्दा बढी १५९ जना (पुरुष १३५ र महिला २४) बेपत्ता पारिएका छन्।
अजोध्या थारू र किरण केसी मिलेर सुराकी गरी आफ्नो श्रीमान्लाई गिरफ्तार गर्न लगाएको लोटनको आरोप छ। उनका अनुसार गाउँमा देवरले ऋण तिर्न नसक्दा ब्यांकले जग्गा लिलाम गर्न थालेपछि पतिरामले ऋण तिरिदिएका थिए। पछि सोही विषयमा विवाद हुँदा उनीहरूले रिसइबी साध्न पतिरामलाई माओवादी भनी सुरक्षाकर्मी समक्ष सुराकी गरेका थिए। लोटन भन्छिन्, “किरण केसीले पुलिस बोलायो। विनितिया थारू र अजोध्या थारूले घर देखाइदिएका हुन्। पछि यो कुरा उनीहरू स्वयंले स्वीकार गरे।”
पतिरामसँगै सोही रात गेरुवा लौरंगाबाट पनि आठ जना गिरफ्तार भएका थिए। सेनाले लगेका आफन्तलाई खोज्न लोटनसँगै ११ घरपरिवार हिंडेरै टीकापुर चौकीसम्म पुग्थे। त्यो वेला घना जंगलमा छिर्न पनि गाह्रो अवस्था थियो। उनीहरू डराईडराई राजापुरबाट निस्कन्थे। घरबाट बिहान ४ बजे निस्केर साँझको ८ बजे आइपुग्थे।
पैदलै हिंडेर आउजाउ गर्नाले सबै जनाको खुट्टा सुन्निएको हुन्थ्यो। उनीहरू कहिले गुलरिया, कहिले नेपालगन्जसम्म हिंडेरै पुग्थे। जहाँ जहाँ चौकी, ब्यारेक छ, त्यहाँ त्यहाँ पुग्ने गरेको उनी सुनाउँछिन्। बेपत्ता आफन्त खोज्न जाँदा उनीहरू खाना र कपडा साथै बोकेर जान्थे। उनी भन्छिन्, “त्यो वेला मसँग ५० रुपैयाँ पनि हुन्नथ्यो। माइतीबाट पैसा सापटी मागेर जान्थें। कर्णाली नदी पार गर्न पुल थिएन। दौलतपुर घाटमा डुंगा चल्थ्यो। संकटकालको समयमा डुंगा पनि नियमित चल्दैन। डुंगा चलाउनेलाई जबर्जस्ती चलाउन लगाउँथ्यौं। डुंगा चढे बापत ५० रुपैयाँ तिर्नुपर्थ्यो।”
दश लाखको सास्ती
हामीले भेटेका बेपत्ता परिवारका सदस्यहरू प्रायः सबैको एउटै पिरलो हुन्थ्यो- उनीहरूलाई राज्यले त सास्ती दियो नै, परिवारले समेत सामाजिक रूपमा अवहेलित बनायो। राजापुर नगरपालिका-२, बाला बजारकी रविना चौधरीका श्रीमान् क्रिमकुमार चौधरीलाई २०५८ फागुन २३ गते गिरफ्तार गरी बेपत्ता पारियो। चौधरी नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा स्नातक पहिलो वर्षमा अध्ययनरत थिए।
त्यो दिन उनी नेपालगन्जदेखि रुपैडिया जाने क्रममा जमुनिया चौकी नजीकैबाट गिरफ्तारीमा परे। रविना भर्खर १८ वर्षकी थिइन्। विवाह भएको एक वर्ष पूरा नहुँदै श्रीमान्सँग छुट्टिनुपर्यो। २० जनाको संयुक्त परिवारमा राम्रोसँग घुलमिल हुन नपाउँदै एक्लिनुपरेको उनी सुनाउँछिन्। रविना भन्छिन्, “मलाई परिवारले कुनै सहयोग गरेन। घर बाहिर न आफू खोज्न गए, न मलाई जान दिए। मलाई एक्लै हिम्मत पनि आउँदैनथ्यो। एक दिन चित्त नबुझेपछि दिदीसँग पैसा सापटी मागेर नेपालगन्जसम्म एक्लै खोज्न निस्कें।”
२०६२ सालमा अन्य पीडित परिवारहरूसँग ‘आफ्नो मान्छे’ को रिहाइको माग गर्न उनी काठमाडौं गइन्। त्यो वेला उनीहरूलाई लट्ठी बर्साइयो। केहीको टाउको फुट्यो। कसैको दाँत भाँच्चियो। पीडितहरूले न्यायको आवाज उठाएर लड्दै गएपछि सरकारले ‘क्षतिपूर्तिस्वरूप’ किस्ताबन्दीमा १० लाख रुपैयाँ दियो।
त्यस पैसाले एक कट्ठा जमीन किनेको रविना बताउँछिन्। तर त्यही पैसा रविनाका लागि अभिशाप जस्तै भयो। जग्गा किनेपछि घरमा द्वन्द्व निम्तियो। रविनालाई मानसिक तनाव दिन थालियो। चरित्रप्रति प्रश्न उठाउन थालियो। “श्रीमान् बेपत्ता भएको सात वर्षमै मलाई घरबाट छुट्टयाइदिए। अहिले म एक्लै छु। अंश माग्दा दिंदैनौ भन्छन्। तिमीलाई त सरकारले सहयोग गरेको छ नि भन्छन्। श्रीमान् नहुँदा पारिवारिक तनाव, आर्थिक संकट, सामाजिक लाञ्छना कति सहें, हिसाबकिताब छैन,” उनी भन्छिन्।
यति बोल्दा उनका आँखा रसाए। केही बेर चूप लागिन्।
रविना जस्ता राजापुरका द्वन्द्वपीडितले संघीय सरकारबाट क्षतिपूर्ति बापत १० लाख रुपैयाँ पाएका छन् भने राजापुर नगरपालिकाले जनही एक लाख रुपैयाँका दरले सहयोग गरेको छ। त्यस बाहेक नगरपालिकाले निःशुल्क स्वास्थ्य बीमा र बेपत्ताहरूका श्रीमतीलाई आजीवन भत्ता भनेर महीनाको दुई हजार रुपैयाँ सहयोग गर्दै आएको छ, जुन सहयोगमा रविनाको परिवारले आँखा लगाइरहेको छ। उनी भन्छिन्, “सरकारले श्रीमान् बेपत्ता बनाएको पनि २४ वर्ष भयो। आसैआसमा बस्दाबस्दै ४२ वर्षकी भएँ। एकातिर त्यो तनाव छ, अर्कातिर घरपरिवार, छिमेक र समाजबाट मानसिक तनाव भोग्नुपरिरहेको छ। अहिले म मानसिक तनाव कम गर्ने औषधि खाइरहेकी छु।”
आफ्ना श्रीमान्हरूको रगत र पसिनाले देशले आजको दिन देखेको बताउने रविना सरकारले आफू जस्ता द्वन्द्वपीडितलाई कि त जीवनभर गाँस, वास र कपासको व्यवस्था गरिदिनुपर्ने कि छिटो ‘आफ्नो मान्छे’ को अवस्था सार्वजनिक गरिदिनुपर्ने बताउँछिन्। उनी भन्छिन्, “हामीलाई सम्मानपूर्वक बाँच्ने वातावरण बनाइदिनुपर्यो।”
कुशको प्रतिमाले काजकिरिया
विक्रमपुरका सुजन थारूका बाबा राजकुमार थारूलाई २०५९ कात्तिक ३ गते राति ३ बजे सेनाले लैजाँदा उनी चार वर्षका थिए। मुक्त कमैया राजकुमार गाउँका सचेत नागरिक थिए। उनका बुबा पहिले कमैया कमलरी प्रथा विरुद्धको आन्दोलनमा पनि सक्रिय थिए। बुबालाई सेनाले लैजाँदा सुजन सँगै थिए। “म पनि बुबासँग जान खोजें। तर सेनाले म र आमालाई बन्दूक तेर्स्यायो। अनि आमाले मलाई समात्नुभयो,” उनी सुनाउँछन्।
बुबालाई बेपत्ता बनाएदेखि सैनिक जवान घरमा आएर दिदीलाई दुर्व्यवहार गर्न थालेको उनी बताउँछन्। त्यसपछि उनकी दिदी पनि भूमिगत भइन्।
हीरा थारू।
२५ जनाको परिवारमा उनका बुबा जेठा थिए। घरमूलीलाई नै सेनाले बेपत्ता पारिदिएपछि उनको परिवारलाई घरबाट अलग गरियो। त्यसपछि आमा हीरा थारूले धेरै दुःख गरेर आफूहरूलाई हुर्काएको सुजन सुनाउँछन्। सुजन बाल्यकाल स्मरण गर्दै भन्छन्, “हाम्रो सानो घरवास बाहेक केही थिएन। आमा दिनभरि अर्काको घरमा काम गर्नुहुन्थ्यो। त्यहाँबाट चामल र तरकारी लिएर आउनुहुन्थ्यो र पकाएर खुवाउनुहुन्थ्यो।”
हीराले संघसंस्थाको सहयोगमा सानो पसल खोलिन्। अहिले उनी त्यही पसल चलाएर जीविकोपार्जन गरिरहेकी छन्। तर छुट्टिएर बस्दा पनि सुख थिएन। सामाजिक दबाब निकै पीडादायी थियो। “अंशबन्डा गर्न, पूजापाठ गर्न अप्ठ्यारो भएको भन्दै काकाहरूले आमालाई बुबाको किरिया गर्न निकै दबाब दिए। तेरो बूढाको आत्मा भड्किएर दुःख दियो भन्दै कचकच गरिरहन्थे,” सुजन भन्छन्, “हामीले न लास देखेका छौं, न सास देखेका छौं, कसरी किरिया गर्ने? तर हाम्रो केही जोर चलेन। हामीले बुबाको कुशको प्रतिमा बनाएर काजकिरिया गर्यौं।”
सुजनको भनाइमा अशुभ हुन्छ भन्दै बेपत्ता परिवारका सदस्यलाई शुभकार्यमा बोलाउनै छाडिएको थियो। बोलाए पनि तिनलाई अछूत झैं राखिन्थ्यो। भान्सा छुन दिइँदैनथ्यो। सगुन पनि छुन दिइँदैनथ्यो। यसले द्वन्द्वबाट आफ्नो सर्वस्व गुमाएका महिलामा मानसिक समस्या बढ्दै गएको देखिन थाल्यो। राजापुर नगरपालिकामा द्वन्द्वपीडित परिवारका सदस्यलाई मनोसामाजिक परामर्श दिंदै आएका सुजन भन्छन्, “द्वन्द्वको घाउ पुरिन धेरै लामो प्रक्रियाबाट गुज्रिनुपर्दाे रहेछ।”
VIDEO