डेढ दशकदेखि बिरामी जाँच्ने र औषधि सिफारिश गर्ने काम गरिरहेका पाथीभरा आयुर्वेदिक अस्पतालका सञ्चालक बीपी तिम्सिनासँग लाइसेन्स नै नभएको खुलेको छ।
काठमाडौंको बत्तीसपुतलीमा रहेको पाथीभरा आयुर्वेदिक अस्पतालमा उपचार गर्नेहरूको लाम कहिल्यै कम हुँदैन। बालबालिकादेखि वृद्धवृद्धासम्म टाढा टाढादेखि उपचारका निम्ति पाथीभरा धाउने हुनाले सधैं भीड लाग्ने गरेको छ। २०६६ सालमा खुलेको यस अस्पतालका सञ्चालक हुन्, बिजुलीप्रसाद (बीपी) तिम्सिना।
आफूलाई आयुर्वेद चिकित्सक बताउने तिम्सिनाले बिरामी जाँच्नेदेखि औषधि सिफारिश गर्नेसम्मका सबै काम गर्दै आएका छन्। डेढ दशकदेखि आयुर्वेद चिकित्सक भनेर उपचार गरिरहेका तिम्सिनासँग भने चिकित्सकको लाइसेन्स नभएको खुलेको छ।
वर्षौंदेखि चिकित्सक भनेर उपचार गर्दै आएका उनले आयुर्वेद चिकित्सकको लाइसेन्सका लागि भर्खरै आवेदन दिएका छन्। आयुर्वेद चिकित्सा परिषद्, नेपालले आयुर्वेद चिकित्सक अर्थात् आयुर्वेद स्नातक (बीएएमएस)को लाइसेन्सका लागि भदौ ११ गतेदेखि आवेदन खोलेको छ। असोज ३ गते परीक्षा तोकिएको छ।
लाइसेन्सका लागि तिम्सिनाले पनि आवेदन दिएका हुन्। उनले भदौ ११ गते नै लाइसेन्सका लागि आवेदन बुझाएको परिषद्का सूचना अधिकारी दीपक भण्डारी बताउँछन्। “उहाँ (बीपी तिम्सिना)ले लाइसेन्सको आवेदनका लागि कागजात बुझाउनुभएको छ,” भण्डारी भन्छन्।
यसअघि उनले वैद्य सरह मात्र अध्ययन गरेको थिए। तर चिकित्सक भनेर उपचार गर्दै आएका थिए। यस विषयमा हिमालखबरमा रिपोर्ट प्रकाशन भएको थियो।
उनले लाइसेन्सका लागि भारतको बाबासाहेब भीमराव अम्बेडकर बिहार विश्वविद्यालयबाट आयुर्वेदमा स्नातक (बीएएमएस) गरेको कागजात बुझाएका छन्। यसअघि गत चैतमा पनि लाइसेन्सको परीक्षाका लागि आवेदन दिएका थिए। त्यति वेला उनको अध्ययनबारे समाचार आएकाले परिषद्ले प्रमाणपत्रबारे छानबिन थालेको थियो।
त्यति वेला छानबिनकै क्रममा रहेकाले गत वर्ष परीक्षा दिन नपाएको र यस पटक सबै कागजात पुर्याएको परिषद्का सूचना अधिकारी भण्डारीको भनाइ छ। “गत वर्ष पनि उहाँले लाइसेन्स परीक्षाका लागि आवेदन दिनुभएको थियो। भारतमा अध्ययन गरेकाले हामीले बाबासाहेब भीमराव अम्बेडकर बिहार विश्वविद्यालयमा पत्राचार गर्यौं। त्यहाँ अध्ययन गरेको अभिलेखमा भेटियो,” भण्डारी भन्छन्, “नेपाल बाहिर अध्ययनका गरेका हकमा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता लिनुपर्छ। यस पटक उहाँले यी सबै प्रक्रिया पुर्याएर आवेदन पेश गर्नुभएको छ।”
यस विषयमा तिम्सिनासँग पनि सम्पर्क गरेका थियौं। आयुर्वेद चिकित्सकको लाइसेन्स विनै यतिका समय कानून विपरीत उपचार गरिरहेको विषयमा प्रश्न गर्दा उनी झोक्किए। “वैद्यले बिरामी चेक गर्नु हुँदैन भनेर कुन कानूनमा लेखेको छ?” तिम्सिना भन्छन्, “तपाईंलाई के खाँचो? जेसुकै गरौं।”
उनले २०६५ साउन २७ मा सहायक आयुर्वेदिक स्वास्थ्य कार्यकर्ताको अनुमति लिएका थिए। उनको लाइसेन्स नम्बर ४०४ छ। आयुर्वेद चिकित्सा परिषद्को अभिलेखमा उनी १५ महीने तालीमप्राप्त आयुर्वेद चिकित्सा व्यवसायी द्वितीय तह भनेर उल्लेख गरिएको छ।
उनले भने ग्यास्ट्रिक, नशा च्यापिएको, क्यान्सर, रक्तचाप, पायल्स लगायत विभिन्न रोगको उपचार गर्दै आएका छन्। विभिन्न कार्यक्रममा गएर आफू आयुर्वेद चिकित्सक भएको दाबी गर्दै आएका थिए। त्यति वेला उनी आयुर्वेद कविराज सरह पनि नभई वैद्य मात्रै थिए।
लाइसेन्स नभए पनि आयुर्वेद चिकित्सक भनेर बिरामी जाँच्ने तथा औषधि सिफारिश गरिरहेका थिए। आयुर्वेदमा स्नातक तह उत्तीर्णलाई मात्र आयुर्वेद चिकित्सक मानिन्छ। बिरामी जाँच्न र औषधि सिफारिश गर्न आयुर्वेद चिकित्सा परिषद्बाट अनुमति पनि लिनुपर्छ।
आयुर्वेद चिकित्सा परिषद् ऐन, २०४५ को दफा ४.२ ले चिकित्सकको योग्यता तोक्दै ‘मान्यताप्राप्त शिक्षण संस्थाबाट आयुर्वेद विज्ञानमा आयुर्वेदाचार्य वा वैद्यरत्न वा आयुर्वेद स्नातक वा सो सरह उत्तीर्ण’ गरेको हुनुपर्ने व्यवस्था गरेको छ। त्यससँगै आयुर्वेद चिकित्सा परिषद् नेपालमा दर्ता भएका व्यक्तिलाई चिकित्सक भन्ने गरिन्छ।
त्यस्तै, नेपाल मेडिकल काउन्सिल ऐन, २०२० को दफा २ ले पनि ‘चिकित्सक’ भन्नाले मान्यताप्राप्त शिक्षण संस्थाबाट आधुनिक चिकित्सा प्रणाली अन्तर्गत चिकित्साशास्त्रमा स्नातक उपाधिप्राप्त गरी सो सम्बन्धी व्यवसायमा लागेको व्यक्ति भनी उल्लेख गरेको छ।
यसैगरी, आयुर्वेद चिकित्सा ऐन, २०४५ को दफा ५.१ मा आयुर्वेद चिकित्सा परिषद्मा दर्ता नभएका चिकित्सकले व्यवसाय गर्न नपाउने उल्लेख छ। यद्यपि ऐनले आयुर्वेद विज्ञानमा आयुर्वेदशास्त्री वा वैद्यभूषण, आयुर्वेदमा प्रमाणपत्र वा सो सरह, सहायक आयुर्वेद कार्यकर्ता वा सो सरहको शैक्षिक योग्यता हासिल गरी स्वतन्त्र रूपमा चिकित्सा व्यवसाय गर्न चाहने वा नेपाल सरकारको सेवामा रहेको आयुर्वेद समूहका प्राविधिकले आयुर्वेद परिषद्बाट गठित उपसमितिको रजिस्ट्ररमा दर्ता गराई आयुर्वेद चिकित्सा व्यवसाय गर्न मिल्ने व्यवस्था गरेको छ। तर तिम्सिनाले यो कानूनी प्रावधान अनुसार समेत अनुमति लिएको अभिलेखमा देखिंदैन।
आफैं औषधि बनाउने र बेच्ने
तिम्सिनाले बिरामी जाँच्ने र उपचार गर्ने मात्र नभई औषधि बनाएर बिक्री पनि गर्दै आएका छन्। आफैंले बनाएको दाबी सहित औषधिका पुरिया र धूलो बिक्री गर्दै आएका छन्। कानून अनुसार औषधि व्यवस्था विभागमा दर्ता नभई कसैले पनि औषधि बनाएर बिक्रीवितरण गर्न पाउँदैन। औषधि ऐन, २०३५ ले औषधि उत्पादन गर्न सिफारिश लिएर उद्योग स्थापना गर्नुपर्ने, उत्पादन अनुज्ञापत्र (प्रोडक्ट लाइसेन्स) लिनुपर्ने, औषधि दर्ता गराएर मात्र बिक्रीवितरण गर्नुपर्ने व्यवस्था गरेको छ।
औषधि बिक्रीवितरण गरेको सूचना पाएपछि २०७७ असोजमा औषधि व्यवस्था विभागले उनको अस्पतालमा छापा पनि हानेको थियो। त्यति वेला उनले कोभिड-१९ सम्बन्धी औषधि पत्ता लगाएको भन्दै बिक्री गरेको पाइएको थियो। त्यसपछि औषधि व्यवस्था विभागले उनलाई औषधी बिक्री गर्न प्रतिबन्ध लगाएको थियो। अस्पतालमा औषधिको प्रकार, मूल्य, उपभोग मिति, उत्पादक आदि लेबल नराखिएको भन्दै विभागले कारबाहीको प्रक्रिया अघि बढाएको थियो। तर पछि बीचमै सामसुम पारियो।
तिम्सिनाले उपचार र औषधिबारे भ्रम पनि फिजाउँदै आएका थिए। राइसकुकरमा खाना पकाएर खाँदा थाइराइड, क्यान्सरदेखि मिर्गौला बिग्रिनेसम्मका रोग लाग्ने दाबी गरेका थिए। जबकि यसमा कुनै वैज्ञानिक आधार छैन।
त्यस्तै, संसारभर कोभिड-१९ फैलिरहेका वेला उनले उपचार गर्ने पद्धति पत्ता लगाएको दाबी गरेका थिए। बाटुलेपाते, जौ, मरिच मिलाएर बनाएको औषधि, गाईको गहुँतले रोगीलाई छिटो निको बनाउने उनको जिकिर थियो। यस्तो भ्रम टेलिभिजनबाटै फैलाउने गरिएको थियो। यस्तो अन्तर्वार्ता मार्फत भ्रम फैलाएपछि नेपाल आयुर्वेद चिकित्सक संघले उनको झूटो दाबीको २०७७ भदौ १८ मा प्रेस विज्ञप्ति जारी गरेर खण्डन गरेको थियो।
आयुर्वेद चिकित्सा परिषद्का सूचना अधिकारी भण्डारी अहिलेसम्म तिम्सिना चिकित्सक नभएको बताउँछन्। त्यसो भए उनलाई अहिलेसम्म किन कारबाही भएन त? “अस्पताल खोल्न डाक्टर नै पढेको हुनुपर्छ भन्ने होइन। खोल्न मिल्छ, तर उपचार गर्न पाइँदैन,” भण्डारी भन्छन्, “अस्पतालमा गएर जाँचबुझ गर्दा तीन जना डाक्टर पनि रहेको भेटियो। अर्को, उनले नै बिरामीको उपचार र औषधि सिफारिश गरेको भनेर उजुरी आएको छैन, कसैले उजुरी दिए कारबाही गर्छौं।”
यो पनि पढ्नुहोस् : नक्कली डाक्टर बीपी तिम्सिनाको फर्जी उपचार